नारायणा कोइराला

आवाज सुनेर रोडमुनी पुग्दा उनको योनीबाट रगत बगिरहेको थियो । रोडमा रोकिएको कार भने अगाडि दौडियो ।

मलाई देख्नेबित्तिकै उनी झन् डराइन् । सकीनसकी उठाएर रोडमा ल्याउँदा मेलोपातो गरी गाउँलेहरू आउँदै थिए । गाउँलेको सहयोग लिएर बाइकमा राखियो । बाइकको सिटभरी रगत लत्पतियो । गाउँलेहरू के भयो भन्दै थिए । उनलाई उनैको चुन्निले मेरो कम्बरमा बाँध्न पठाएँ । बाइक कुदाएँ । बाइक अगाडि बढ्दै गर्दा पहिला देखेको कार पनि पल्टिएको थियो । एकैपल्ट दुइटैलाई सहयोग गर्न म असमर्थ थिएँ।

हस्पिटल पुग्दा सासले बोल्दै केही भन्न खोज्दै थिइन् । नर्सले बोल्न दिएनन् । रातभर कुरिरहेँ । बिहान रिपोर्ट आयो । म आत्तिएँ । बेडको छेउमा बसेँ । अनुहार हेरिरहेँ । उनका आँखामा आँसु थिए । भन्न खोजेको कुरा रिपोर्टले बताइसकेको थियो । डाक्टर पनि डराए । उनको अनुहार पढेर जिम्मा लिने भरोसा जताए । डाक्टरहरु मान्न तयार भए ।

टुहुरी भएकाले उनलाई हस्पिटल भेट्न कोही आएनन् । गाँउ फर्केर आउँदा के भएको हो, भनेर हल्ला गर्ने धेरै भए । उनले बलात्कार भनेर चिच्याउन चाहन्थिन् । तर मेरो मुखबाट झ्वाट्ट आवाज आयो, “रजस्वला ।” गाउँलेहरूले उनलाई सम्मानित आँखाले हेरे ।