उनीहरू आए । साथी भनेर आएपछि नआऊ भन्न पनि सकिएन । यता आफ्नो भने तनावले टाउको फनफनी थियो ।
पत्नी र छोरासँगै बसिरहेको ठाउँबाट एक्कासी उछिट्टिएर यो दुर्गममा पुगेको थिएँ । उनीहरूलाई सँगै ल्याउने स्थिति पनि थिएन । घरमा वृद्ध
बा–आमा हुनुहुन्थ्यो । उता पठाउने सम्भावना पनि थिएन, किनकि बाबुको स्कूल बिचमै छुटाउन पनि भएन । तीन तिरको चूह्लो बाल्न आफ्नो तलबले भ्याउन सकस परिरहेको थियो । त्यसैमाथि बुबाको बेलाबेलाको उपचार खर्च र नियमित सेवन गर्ने औषधि ।
कार्यालयको कार्यबोझ त छँदै थियो, त्यसमा पनि थेगिनसक्नु राजनीतिक दबाब ।
जस्तै परिस्थिति भए पनि आइसकेका उनीहरूलाई समस्या देखाएर पन्छिनु उचित थिएन ।
रमाउने उद्देश्यले घुम्न आएका साथीहरूलाई गच्छे अनुसार सत्कार गरियो । घुमघामको व्यवस्था पनि मिलाइयो ।
अपेक्षित आतिथ्य र घुमघामले प्रफुल्ल हुँदै उनीहरूले भने, “कति भाग्यमानी यार ! यस्तो सुन्दर ठाउँमा बस्न पाएको छस् । मोज गर् साथी ।”
“कसैलाई यी हिमाल, यी पहाड र झरनाहरू अनि यो सिरेटो सुन्दर लाग्छ त कसैलाई समुद्र किनार र छालहरू। दुबई र राजस्थानको मरुभूमिमा पनि वर्षेनी हजारौँ पर्यटक रमाउन पुग्छन् । मान्छेलाई जे आफूसँग हुँदैन, त्यसकै महत्व बढी हुने रहेछ,” मेरो मनमा लागेको कुरा प्वाक्क फुत्कियो ।
“त्यो त हो यार !” रुपेशले सही थाप्यो ।
“मनमा प्रसन्नता छ भने प्रकृतिको हरेक सृष्टि, हरेक ठाउँ सुन्दर लाग्ने रहेछ । तनावपूर्ण जिन्दगी छ भने जस्तै सुन्दरतामा पनि मन नरमाउने रहेछ !”
दौलतले मेरै मनको कुरा बोले जस्तो लाग्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० कार्तिक २०८२, बिहीबार 









