भित्र सर्वदलीय बैठक, बाहिर चर्को नारा !

“हाम्रो माग – पूरा गर ।” भन्दै युवाहरूको समूहले एकोहोरो नारा लगाइरहेका थिए । उता बैठक कक्षमा खैलाबैला मच्चियो !

युवाहरूको समूहले, चारैतिर घेरा हालिसकेको थियो । यो खबर भित्र छिर्‍यो !  बाहिर गगनभेदी नारा गुन्जिरहेको थियो ।

भित्रबाट युवाको प्रतिनिधिलाई आफ्ना कुरा राख्न बोलावट भयो ।

चार पाँच जनाको प्रतिनिधि टोली बैठक कक्षमा प्रकट भए ।

गृहमन्त्रीले प्रश्न गरे, “तपाईंहरू किन शान्ति भङ्ग गर्दै हुनुहुन्छ, तपाईँहरूको माग के हो ?

युवाका प्रतिनिधिले माग प्रस्तुत गरे, “हाम्रो माग  देशभरिका झ्यालखानाको क्षमता दोब्बर बनाइ‌योस् र सुविधा सम्पन्न वातानुकूलित पनि बनाइयोस् भन्ने हो !

यो सुनेर बैठकमा उपस्थित सबै नेता गलल्ल हाँसे ।

तुरुन्तै प्रधानमन्त्रीले प्रतिप्रश्न गरे, “तपाईंहरूको यो कस्तो अनौठो माग हो ? मैले त युवाहरूले के के न माग लिएर आए भनेको त यस्तो खुद्रा माग पो बोकेर आएछन् ! सोचेको थिएँ रोजगारी मागेका होलान्, विकास मागेका होलान् भनेको त ! होइन तपाईंहरूलाई किन चाहियो सुविधा सम्पन्न झ्यालखाना ?”

युवाले जवाफ फर्काए, “तपाईंहरूको शासन अब धेरै दिन टिक्ने वाला छैन । युवाहरूको सरकार आएपछि सबै दलका भ्रष्ट नेता जति जेलभित्र हुनेछन्, हामीले तपाईंहरूकै सुविधाको लागि यस्तो माग गरेका हौँ ।”