दिव्य गिरी

ऊ छोरोलाई तेल घसिरहेकी थिई । बच्चा भर्खर छ महिना पुगेको थियो । मखमली पनि आएर छेउमै बसी । आज नेपाल बन्द भएकोले ऊ काममा जान सकेकी थिइन । उसले भनी, ‘दिदी यो बाबुको नाक अली चुच्चो रहेछ ।’

मखमलीको कुरा सुनेर उसले मखमलीतिर कर्के नजरले हेर्दै भनी, ‘तँलाई कति जान्नी हुनु परेको । नाक चुच्चो त हुन्छ नि !’

‘अँ, भनेको माथि बस्ने विवेक सरकोजस्तै पो छ त,’ मखमलीले फेरि भनी ।

उसलाई मलमलीको कुरा सुनेर झन रिस उठ्यो अनि झर्किँदै भनी, ‘तँलाई आउँदो रहेछ कुरा । कति न जान्नी भएकी । तेरो नाक पो थेप्चो छ त ! जन्मनेबित्तिकै मुड्कीले थिचेजस्तो ।’

मखमलीले आफ्नो नाक छामी अनि बच्चाको नाकमा यसो छोएकी मात्र थिई बच्चा च्याँ…गरेर रोयो ।

‘लौ हेर, नाकै निमोठी दिई,’ भन्दै मखमलीको पिठ्यूमा प्याट्ट हिर्काई र छोरोलाई काखमा लिएर दुध चुसाउन थाली ।

सुत्केरी भएको भोलिपल्ट नै कतारमा रहेको लोग्नेले फोनमा सोधेको थियो, ‘छोरा तँजस्तो छ कि मजस्तो ?’

‘छोरा पनि आमाजस्तो हुन्छ? काटिकुटी तपाईंजस्तै छ नि,’ जबाब सुनेर लोग्नेचाहिँ निकै खुशी भएर हाँसेको थियो ।

तर आज मखमलीले उसको मन खिन्न पारिदिई । छोराको नाकको कुरा गरेर । हुन त उसलाई पहिले पनि छोराको नाक देखेर कस्तोकस्तो लागेकै थियो । आज विवेकको अनुहार, आँखा र नाक सम्झिन थाली ।

यत्तिकैमा घरबेटीआमा पनि आइपुगिन् ।

‘ए, नानी त्यसरी बच्चालाई दुधमा धेरै टाँसेर दुध ख्वाउनु हुन्न, नाक थेप्चिन्छ ।’

पहिलो छोरो थियो । उसलाई के थाहा यस्ता कुरा ।

उसले घरबेटी आमालाई हेरी अनि मुसुक्क हाँसी ।

‘किन हाँसेको दिदी?’ मखमलीले सोधी ।

‘तँलाई किन चासो?’ यति भन्दै ओढनेले छाति छोपी अनि पहिलेको जस्तै टाँसेर छोरालाई दुध चुसाउन थाली ।

 

(मधुपर्क मासिकले २०७३ सालमा आयोजना गरेको अधिराज्यव्यापी लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त लघुकथा)