दिव्य गिरी

यहाँ दुधले नुहाएर आएको कोही छैन
मंगल धुन सुनाएर आएको कोही छैन ।

आज चारैतिर असुरक्षाको हाहाकार छ
शान्ति-गीत गुन्गुनाएर आएको कोही छैन ।

हरबखत अनुहारमा उदासीपन छ
आँखामा गुराँस फुलाएर आएको कोही छैन ।

जाली, झेली र कपटीको घेरोमा पर्नुभयो
कुत्सित स्वार्थ भुलाएर आएको कोही छैन ।

सत्ताको स्वादमा रमाउने धेरैधेरै भए
देशको निम्ति जुर्मुराएर आएको कोही छैन ।

तिमी भन्छौ, राम हराम हुँदैछ हिजोआज
प्यूँदै नपिई ढुन्मुनाएर आएको कोही छैन ।

महालक्ष्मी नगरपालिका, वडा नं. ५
टीकाथली, ललितपुर