गुरुङ भाइको हातमा सीमाले चिठी पठाई । दिलबहादुरले  बडो व्यग्रताका साथ चिठी खोलेर एकै सासमा पढ्यो :

“प्रिय दिल, माफ गर है ! हेर न के गर्नु ! गरिब भएँ । तिमी नि गरिब भयौ । यै गाउँमा गरिबीमै जाने भो हाम्रो जुनी त । त्यसैले मैले त सहरबाट आएको बमकाजीलाई रोजेँ । ऊसँग भागेर सहर जाँदै छु । उइसँग घरजम गर्छु र उतै बस्छु । हेर न, आफूलाई त फिटिक्कै पढ्ने मन पनि थिएन । अबदेखि क्याम्पस गेट अगाडिको दुनोट पसलमा मेरो प्रतीक्षा नगर्नू ल ! सरी । तिम्री हुन नसकेकी, सीमा ।”

खबरले दिलबहादुरको मुटु चुँडियो । हामफाल्नलाई यै बेलामा खोलो नि सुकेको छ । झुन्डिनलाई घर छेउको दुधिलोको रुख पनि कफलो छ । झुन्डेको बेलामा हाँगा पिरिक्कै भाँचियो भने ? त्यसैले दिलबहादुर मर्न पाएन । अधमरो जिन्दगी बाँचिरह्यो । सीमाले धोका दिएकीले पुरै क्याम्पसमा उसको नाक काटियो ।

केही हप्तापछि गाउँघरमा फेरि सीमा देखा परी । मानिसहरूको गाइँगुइँ हल्ला दिलबहादुरको कानमा पनि ठोक्किन आइपुग्यो ।

“बमकाजी सीमालाई केही रातको मात्रै दुलही बनाएर सहरमै बेपत्ता भयो रे । सीमा बेस्सरी दुःख पाएर फर्केर आएकी रे !” दिलबहादुरलाई नमिठो लाग्यो ।

एकदिन गुरुङ भाइको हातमा फेरि सीमाको चिठी आयो ।

लेखिएको थियो “प्रिय दिल, सबै कुरा भुलेर के फेरि मलाई स्वीकार गर्छौ ? तिम्री हुन चाहने, सीमा ।”

दिलबहादुरलाई सारै रिस उठेर आयो र गुरुङ भाइको हातमा तत्क्षण ठूला ठूला अक्षरमा लेखिपठायो :

“लाज सरम छैन हगि ? यो सब भएर पनि फेरि सम्बन्धको आशा राख्नु ? यस्तो नि कहीँ हुन्छ ?”

भोलिपल्टै हस्याङ फस्याङ गर्दै फेरि गुरुङ भाइ हातमा प्रतिउत्तर लिएर आइपुग्यो । सानो चिर्कटोमा लेखिएको थियो, “के हुन्छ त ! मनै त हो !”

छेउबाट गुरुङ भाइले पनि चिठी देखि पठाएछ ।

ऊ सुरुमा मुसुमुसु हाँस्दै थियो । एकै छिनमा अलि ठूलो स्वरमा हाँस्न थाल्यो । ‘मनै त हो’  लेखिएको छेउमा लिपस्टिकको ओठे छाप पनि पठाएकी रै छ । त्यो देखेर त ऊ झन् थुचुक्क बसेर पेट मिचिमिची हाँस्न थाल्यो ।

“के रे ? के रे ? मनै त हो रे ?” गुरुङ भाइ अनियन्त्रित हाँसो हाँस्दै  दूबोको मैदानमा लुटुपुटु गर्न थाल्यो ।