“आगाको आँच ठुलो भयो कि क्या हो बुढा ! रोटीको बाहिरी भाग त सबै डढ्यो नि ! आगो घटाउनुस् भो !” पहिलो सेलरोटी सहिद भएको देखेर नसलाले हातमा सिन्का समातेर कराईबाट रोटी निकाल्दै गरेका आफ्ना बुढालाई अह्राई ।

बुढाले निहुरेर रेगुलेटरतिर हात लम्काए र ग्यास घटाए ।

“यो त झन् गोलो आकारकै भएन ! सिन्काले मिलाउनू न !” दोस्रो रोटी पनि बिग्रिएपछि त नसला झन् सोचमा परी ।

“छ्या, यो त बिनाकामको टटरो पो भयो । आगाको आँच बढाउनुभो बुढा !” रोटीहरू सहिद हुने क्रम नरोकिएपछि नसला चिन्तित भई अनि रूद्री पूजामा व्यस्त पवित्रा दिदीलाई सोध्न गई ।

“दिदी ! पिठोमा के के हाल्नुभएको हो ?”

पवित्रा दिदीले पनि सम्झेजतिका कुरा सबै भनिन् । नसलालाई पनि आफ्नो सिप र सामाग्रीमा कुनै कुरा नपुगेको जस्तो लागेन ।

नसला भान्छातिरै फर्की र उनै सेल घुमाउने काममा लागी । तर, फेरि पनि उस्तै हालत भएपछि उसले बुढालाई अलिकति तेल थप्न भनी । तैपनि, कुनै सुधार आएन । रोटीहरूले बिचित्रका रूप धारण गरिरहे । एउटा रोटी पनि सेल रोटी भनेर देखाउन लायक भएनन् । आफूले पहिले पहिले पकाउँदा त यस्तो कहिल्यै भएको थिएन त्यसैले ऊ गहिरो सोचमा परी ।

गाउँमा आमाले रोटी पकाउँदा पनि कहिलेकाहीँ यसरी नै बिग्रेको सम्झी । बोक्सी लाग्दा पनि रोटी बिग्रन्छन् भन्दै आँखा फुटाउन भुङ्ग्रोमा डल्ले खुर्सानी डढाएको कुरा पनि सम्झी । तर, सहरमा त आफूले चिनेकामध्ये कोही पनि गरिब, विधवा, असहाय थिएनन् त्यसैले बोक्सी हो कि जस्तो कोही पनि लागेन । तैपनि, कागजको टुक्रो बालेर एउटा सुकेको डल्ले खुर्सानी आगामा जलाई । त्यसलाई फाल्ने ठाउँ कतै भेटिन अनि हात धुने बेसिनमा लगेर झ्वाइँय्यँ पारेर बोक्सी बुझाई । भान्छामा धुवाँ र पिरोको खार लागेर बसिनसक्नु भयो ।

अब त कसो नबन्लान् र भन्दै फेरि रोटी पकाउन बसी तर केही पनि परिवर्तन भएन । निराशै-निराशाका बिचमा टटरा र टटरी रोटीको थुप्रो लाग्यो । उता पूजा पनि सकियो । जस्ता टटरा र डाम्ना भए पनि ती रोटीहरू तत् तत् ठाउँमा पुगे ।

पूजाको सबै काम सकियो । अफिस सकेर निम्तो मान्न भनी आएका पाहुनाहरू थपिए । त्यसैले, बेलुका फेरि अलिकति दिउँसो बाँकी रहेको पिठोमा थपथाप गरेर सेल पकाउने कुरा भयो । त्यतिबेला थपेको पिठोमा मिसाउने ‘दाउन’का लागि घिउ खोज्दा पो थाहा भयो, दिउँसो सेल पकाउने बेला पिठोमा घिउको दाउन हालेर फाउन बिर्सिएको रहेछ ।

अहिले चाहिँ सोचेजस्तै राम्रा रोटी बने । ऊ आफैँले पकाएका रोटी देखेर नसला मख्ख परी । काम सकी । हात धुन बेसिनमा गई । त्यहाँ बेसिनमा अघि डढाएर फ्याँकिएको कागजको टुक्रो र आधा डढेको खुर्सानी थियो । तर उसका रोटी बिगार्ने कुनै बोक्सीका फुटेका आँखा भने कतै थिएनन् ।