हलो जोत्ने भोकै पर्दा
लुगा बुन्ने नाङ्गै पर्दा
साह्रै दुःख लाग्दोरहेछ
काम गर्ने नै मर्नुपर्दा
।१।

दुःख गर्ने दु:खी हुँदा
महङ्गीले आकाश छुँदा
साह्रै पीडा हुँदोरहेछ
दुःख गर्ने भोकै हुँदा
।२।

घर बनाउने ज्यामीदाइको
ओत लाग्ने बासै छैन
जसका लागि काम गर्छन्
ऊबाट क्यै आशै छैन
।३।

दुःखीलाई छान्दोरहेछ
दैवले नि दुःख थप्न
त्यही दुःखीले पर्दोरहेछ
दु:खमाथि दु:ख खप्न
।४।

दैवको यो संसारमा
हर्ताकर्ता उनै हुँदा
किन यति निष्ठुरी खै !
आफ्नै सन्तान दुःखी हुँदा
।५।

लीला रच्ने दैव हो कि
पीडा दिने प्रणाली हो
थाहा छैन दुःख पाउनु
दुःखीको यो नियति हो
।६।

जसले दुःख गर्छ यहाँ
उसले न्याय पाउनै पर्छ,
काम गर्नेलाई सम्मान गर्ने
यस्तो चलन आउनै पर्छ ।
।७।