उकुसाले जागिर गर्न थालेको पनि पन्ध्र वर्ष पुगेछ । गाडीभाडा, खाजा र सामान्य शृङ्गारका लागि चाहिने खर्चबाहेक त्यहाँको कमाइबाट केही पैसा बचत होला भनेर चिताउनै पर्दैनथ्यो । तैपनि, गुजाराका लागि उसले जागिर गरेकै थिई । त्यहाँ यसरी गुजारा गर्ने ऊजस्तै थुप्रै मानिसहरू थिए ।

सहरको बसाइ, सानो कमाइले ठुलो खर्च धान्न गाह्रै थियो उकुसालाई । लोग्नेको ठेक्कापट्टाको काम कहिले चल्थ्यो कहिले चल्दैनथ्यो । विकल्प अर्को थिएन र पनि सहरमा टिक्नै पर्छ र केटाकेटीलाई ठुलै मान्छे बनाउनुपर्छ भन्ने धारणाचाहिँ उसले पालेकी थिई । यति चाहँदाचाहँदै पनि धन कमाउने कुनै उपाय नसुझ्दा साह्रै चिन्तित थिई ऊ । चुनावको बेला थियो । ऊसँगै काम गर्ने कतिपय कर्मचारी चुनावप्रचारमा लागेर पैसा कमाउँदै अफिसपछिको समयको सदुपयोग गर्थे । तर, उकुसा भने कुनै उपाय नसुझेर उकुसमुकुस भएकी थिई ।

सुनेकी थिई, अलिकति हिम्मत नगरेसम्म कमाउन र रमाउन सकिन्न । यस्तो लुते जागिरमा झुन्डिएर बस्ने हो भने एक दिन साँच्चैको डोरीमा झुन्डिएर मर्ने अवस्था आउन सक्छ । यस्तो ठानेर उसले एकाएक चुनावमा भाग लिने विचार गरी । ऊ निर्वाचन आयोगमा पुगी र त्यहाँको पुरानो पार्टीको उमेदबारका विरूद्धमा ‘बागी उमेदवार’का रूपमा उमेदवारी दिएर फर्की । त्यहाँ उकुसाले जित्ने निश्‍चित नभए पनि चर्चित उमेदबारलाई हराउने कुराचाहिँ निश्‍चित थियो । त्यसैले उसलाई धेरैले गाली पनि गरे । धम्की पनि दिए । तैपनि उसले आफ्नो विचारमा अडिग भएको अभिनय गरिरही । केही उपाय नलागेर त्यस चर्चित नेताले उकुसालाई धनको प्रलोभन देखाएर नाम फिर्ता लिन फोनबाटै अनुरोध गर्‍यो । उकुसा फेरि पनि उमेदबारी फिर्ता नलिने कुरामा अडिग रही ।

यदि बाँकी दुई दिनभित्रमा उकुसाले नाम फिर्ता नलिए आफूले स्वत: हार्ने भएपछि उक्त नेताले पार्टीको केन्द्रीय कार्यालयको सहयोग लिएर उकुसालाई ठुलै रकम दिने निर्णय गर्‍यो । घरमै आएर फकाएपछि नमान्ने त कुरै भएन तैपनि उकुसाले सुरूमै लेनदेन गर्नुपर्ने सर्त राखी । नभन्दै, आफू र आफ्ना छोराछोरीको नाममा रकम डिपोजिट गरेको भौचर पनि पाई अनि उमेदवारी पनि फिर्ता लिई । त्यसपछि त उही ठुलो नेताकी विश्‍वाससपात्र मात्रै बनिन, आफूले काम गर्दै आएको अफिसको अधिकांश सेयर खरिद गरेर त्यसको मालिक पनि बनी । साथै पन्ध्र वर्षमा गर्न नसकेको उन्नति पन्ध्र घन्टामा गरेर पनि देखाई ।