जन्म उस्तै मृत्यु उस्तै भोक प्यास उस्तै
उस्तै लाग्छन् घामजून हावापानी उस्तै
काटे रगत रातो उस्तै हाँसो रोदन उस्तै
तर मान्छे मान्छे नै हो, किन छैन उस्तै ?

शारीरिक बनावट तथा भावनाका हिसाबले मान्छेको जाति एउटै हो भन्ने कुरा निर्विवाद छ । दुःखमा आत्तिने र सुखमा खुसी हुने स्वभाव सबै मान्छेमा एकै रूपमा लागु हुन्छ । आमाबाटै जन्मने, भोकतिर्खा उस्तै हुने, रगत सबैको रातो हुने, जन्मेपछि मर्नुपर्ने जस्ता कुराहरू सबै मानिसमा समान हुन्छन् । यति भएर पनि मानिस मानिस बिच एउटै जाति हुनुको व्यवहार छैन । ऊँच र नीच भन्दै आफूजस्तै मान्छेले अर्को मान्छेलाई छिःछिः र दूर दूरको व्यवहार गरिरहेको छ । कतै वर्ग, लिङ्ग, क्षेत्र, धर्म अनि भाषाको लडाइँ छ भने कतिपय ठाउँमा जातीय विभेदको कडा दुर्गन्ध । मान्छेले मान्छेमाथि नै गर्ने यो खालको विभेद सर्वथा निन्दनीय छ ।

सामाजिक संरचनामा श्रम विभाजनबाट सुरु भएको यो जातीयताको पर्खाल अहिलेसम्म आइपुग्दा धर्मसंस्कारको पहिचानसँग जोडिएर अगाडि बढिरहेको छ । व्याख्याताले आफू अनुकूल अपव्याख्या गरी यसलाई अझ क्रूर र अमानवीय बनाउँदा यो प्रथा यस अवस्थामा आइपुगेको हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यो जातीय विभेद केवल उच्च र निम्न जातिका बिचमा मात्र देखिएको छैन, यो त कथित उच्च उच्चका बिचमा र निम्न निम्नका बिचमा पनि झन् चर्को छ । यहाँ न त आफूलाई दलित हुँ भन्नेले अर्को दलितलाई होच्याउन छोडेको छ न त उच्च भनाउँदाहरूको जात माथिको राजनीतिमा शिथिलता आएको छ ।

बाहुनभित्र जैसी र उपाध्याय बिचको लडाइँ कायम छ । क्षत्रीयभित्र पनि शुद्ध क्षत्री, ठकुरी वा खसहरूको उपल्लो र तल्लो जात आदि भन्ने कित्तामा विभाजित छ । आजको यो आधुनिक युगमा आइपुग्दा पनि हामी सचेत नागरिक बिचमा समेत यसको यस किसिमको जातीय विभेदको लेस बाँकी रहनु भनेको लज्जाको विषय मात्रै होइन, मानव सभ्यताकै कलङ्कको रूपमा बुझ्न सकिन्छ । साँच्चै नै जातीय विभेद अक्षम्य अपराध हो भन्ने जान्दाजान्दै पनि यो हाम्रो तनमनबाट हट्न सकेको छैन । अझ विभेदले रुवाएका कथा र व्यथाहरू पढ्दा र सुन्दा मात्रै त हामी सुन्नेलाई यस्तो पीडा हुन्छ भने जीवनभर भोगेर र सहेर बाँच्नेलाई कस्तो पीडा भएको होला ? सोच्दा पनि कहाली लाग्छ ।

घरको भान्छामा धोती फेरेर मात्रै खाने बाहुनको छोरो बाटो लागेपछि एउटा सफा थकालीको भोजनालयमा निर्धक्क भोजन गर्छ । शहर पुगेपछि सबै जातिले काम गर्ने ठाउँमा रमाउँदै खाजा खान्छ । आफन्त आउँदा शुद्ध छु भन्ने स्वाङ पार्छ तर उनै आफन्तले कर गरेपछि आधुनिक रसरङ्गमा रमाउन पछि पर्दैन । जब ऊ घर पुग्छ, तब आमासँग जनै मागेर भिर्छ अनि हजुरबाका अगाडि उहाँको संस्कारी नाति बनिरहन्छ । जब कि ऊ आफैलाई यो आडम्बर ठिक लाग्दैन, आफ्नै साथीलाई भेदभाव गर्न मन पर्दैन । यो ऊभित्रको युवा सोचको उपज हो र पनि ऊ अझैसम्म परम्पराको फेरो समातेर जातीय विभेदको घेराभित्र बाँधिएको बाँधियै हुन्छ । सुन्दा पनि अचम्म लाग्छ ।

हरेक मान्छेले आफ्नो जाति र संस्कारमा रमाउन सक्नुपर्छ । पेसागत पहिचानमा गर्व गर्न सक्नुपर्छ यसका साथमा यदि कसैले विभेद गरेको पाइएमा तर्कसङ्गत हिसाबले कानूनत: विद्रोह पनि गर्नुपर्छ । यदि कसैले तपाईँले छोएको खाँदैन भने तपाईँले पनि उसले छोएको नखाने धैर्य गर्न सक्नुपर्छ ! हुन त समयसँगै झिनो परिवर्तन नदेखिएको पनि होइन तैपनि म उच्च कुलीन हुँ भन्नेको मानसिकतामा जातभातको शेष मर्न सकेको छैन र यही दम्भले सबैलाई नजानिँदो ढङ्गले हेपिरहेको छ । यति हुँदाहुँदै पनि शिक्षा र चेतनाको स्तरसँगै यसको असर क्रमशः कम हुँदै गइरहेको भने पक्कै छ ।

भारतीय समाज सुधारक डा. भीमराव अम्बेडकरले भोगेको जस्तो जातीय विभेदको पीडादायी अवस्था त अहिले पक्कै पनि छैन । नेपाली सङ्गीतज्ञ रामशरण दर्नालले राष्ट्रसेवाका क्रममा यस्तै खालका विभेदसँग एक्लै लडेको यो  देशमा जातीय विभेदबिरुद्ध कानून बन्नुपूर्व पनि योगमाया, षडानन्द, तुलसीमेयर, प्रपन्नाचार्यले समेत समानताको बिगुल फुकेको कुरा विभिन्न लेख रचनामा पढ्न र सुन्न पाइन्छ ।

तैपनि, सुध्रने क्रमचाहिँ घडीको घण्टा सुइभन्दा पनि लोसे गतिमा छ । बागमतीमा कति पानी बगिसक्यो तर हामीभित्र गढेर बसेको संस्कार उस्तै छ । सबैलाई थाहा छ : यो मानवतावादी चेतनाले हट्छ तैपनि हटिसकेको छैन । त्यसैले सबैले जात भनेको कुनै ऊँचनीचको पहिचान होइन भन्ने कुरा बुझ्नुपर्छ । आफ्ना लागि आफ्नो जात भनेको पुर्खाको मेहनत र पहिचानको नासो हो भन्ने बुझ्नुपर्छ । साँच्चै भन्नुपर्दा जातीय पहिचानसँग जोडिएका हाम्रा जीविकोपार्जनका उपायहरू नै मानव सभ्यताको विकास क्रमका घरेलु प्रविधि हुन् । कुनै न कुनै जातिसँग जोडिएका यी प्रविधि हाम्रो मौलिक पहिचानका परिचायक पनि हुन् । जातीय पेसाका रूपमा विकसित यी प्रविधिलाई सम्मानका साथमा संरक्षण गर्नु जरुरी देखिन्छ । अझ नेपालमा रहने सबैले यो त हाम्रो मौलिक सिप र संस्कृति हो भनेर गर्व गर्न जान्नुपर्छ । समस्याबाट भाग्दा समस्या झन् बल्झन्छ । आज ठुला वा साना भनेर मानिएका सबै जातिका मान्छेहरू यो विभेद हटाउने अभियानमा दिल खोलेर लागेका भेटिन्छन् । यो हाम्रा लागि खुसीको विषय हो ।

‘जातीय विभेद’ मानिसले मानिसमाथि गरेको अन्याय हो । हिंसाको चरम रूप हो । पापधर्मकै कुरा गर्ने हो भने पापको निकै तल्लो अवस्था हो । वेदलाई नै विभाजन गर्नसक्ने, पुराणहरूका रचनाकार वेद व्यासले समेत सबै पुराणहरूको निचोड निकाल्दै भनेका छन् :

अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकारः पुण्याय पापाय परपीडनम् ।”

अर्थात् ‘धर्म’ भनेको उपकार वा भलाइ हो भने ‘पाप’ भनेको अर्कालाई दुःख दिनु हो । यो दुःखभित्र अर्कामाथि गरिने अन्याय, हिंसा वा चोट पर्दछन् । यो ‘विभेद’ पनि त्यही हिंसाभित्र पर्ने कुरा हो । ‘विभेद’ भन्ने कुरा कुनै कानुनमा लेखेर वा जबर्जस्ती परिवर्तन गर्न चाहेर हट्ने भए यो समाज उहिल्यै विभेदमुक्त भइसक्थ्यो । विभेदको जरा नै नकाटी कानुन मात्रैले केही गर्न सक्दैन । कडा सजायका समाचारले पत्रिकाका पाना रङ्गिएको थुप्रै भइसक्यो तैपनि, खै त विभेदको अन्त्य भएको ! त्यसैले यो विभेद चेतनाले हट्छ र हटाउनुपर्छ । यो त आपसी मेलमिलाप, सम्मान र भाइचाराले हट्छ अनि असल शिक्षाको ज्योतिले हट्छ भन्ने कुराको चुरो बुझ्नैपर्ने अवस्था यहाँ छ ।

हुन त अहिले आधुनिकतासँगै जातीय विभेद बिस्तारै कम हुँदै गएको अवस्था छ तर भूगोलका कुनाकाप्चा र मस्तिष्कको कुनामा भने जरा गाडिएरै बसेको छ । देशमा कानून बनेको र छिटपुट कारबारी भएका समाचार सुन्न थालेको पनि धेरै भइसक्यो तैपनि यस्ता कुरीतिको असर भने गाउँदेखि शहरसम्म कुनै न कुनै रूपमा अभिव्यक्त भइरहेको छ । विभेदले मानवलाई मानवबाटै अलग गर्छ भन्ने कुरा छर्लङ्ग हुँदाहुँदै पनि यसको अन्त्य नहुनुमा हामी सबैको उत्तिकै दोष छ । त्यसैले यसको अन्त्यका लागि कडा कानून मात्रै पर्याप्त छैन; मानवकै शिक्षा र चेतनामा परिवर्तन ल्याउनु जरुरी देखिन्छ । एकातिर वर्गीय खाडल पुर्न आरक्षण र राहतको व्यवस्था गरिनुपर्छ भने अर्कातिर जातीय, लैङ्गिक तथा अन्य यस्तै विभेदको अन्त्यका लागि शिक्षा र चेतनामा नै परिवर्तन आउनुपर्छ । कानून त लिखित कुरा मात्रै हो, हाम्रो नियत पवित्र छ भने विभेदको अन्त्य त्यति टाढा छैन ।