चौबिसै घन्टा खुल्ने मार्टअगाडि एकै कम्पनीमा काम गर्ने युवाहरूको भेला छ । शनिबारको साँझ भएकाले सबै रक्सी र बियरको नशामा छन् । विदेशमा अलि अलि नपिई दिन कट्दैन भन्ने ठम्याइँ छ । एक जना अपरिचित रातो टोपी लगाएको नेपाली भाइ बिजुलीको पोल फेदमा मातेर बेहोस सुतिरहेको छ ।

दिलबहादुर दाइ बोले, “कम्पनीको कुरा कसैले गर्ने हैन यहाँ । कम्पनीभित्रको कुरा काम गरिन्जेल कम्पनीभित्र मात्रै गर्ने हो । बाहिर त रमाइलो पो गर्ने हो । ए भानु भाइ, तिमी हिजो मसँग किन सन्केको हँ ? जाबो अलि एकछिनमा मात्र कफी पिउन जानू है भाइ भन्दा त्यत्रो एटिट्यूड ?”

भानु भाइ बोल्यो, “कम्पनीको कुरा बाहिर निकाल्ने हैन है साथी हो । यो दिले दाइले मलाई नयाँ भनेर हेपेको ? म त फेरि सिधामा सिधा बाङ्गोमा बाङ्गो छु नि । भन्द्या छु ।”

शान्तिराम सोल्टी पनि उफ्रिन थाले, “झ्याक्नेहरू ! निहुँ खोजेको हो ? खबरदार ! कम्पनीको कुरा कसैले नझिक यहाँ । हिजो साहुले मलाई गाली गर्दा यो आशिषे मुसुमुसु हाँस्दो र’छ । साला साहुको पाल्तु !”

आशिष आसेङ झनै चर्कियो, “कम्पनीको कुरा कम्पनीमै बिर्सनु पर्छ । यो नाथे शान्तेलाई म एक ताल हाने भने दुई ताल हान्नु पर्दैन । हान्दिऊँ ?”

एकैछिनमा हानाहान मारामार पर्यो । झगडा भएपछि प्रहरी आए । सबैलाई समातेर गाडीमा हाले । झगडै नगरेको त्यो अपरिचित रातो टोपी लगाएको भाइ पनि हुलमुलमा समातिए । बिचराको रक्सी अलि उत्रेछ, कसो प्रहरीलाई भन्दै थिए, “धरोधर्म, सत्तेहोला प्रहरी दाइ ! मैले कम्पनीको कुरा निकालेकै छैन ।”

बाँकी केटाहरु गलल हाँसे ।