“तिमीलाई के पुगेको छैन ? मोटो-मसिनो जे जस्तो भए पनि दुई छाक टरेकै छ । डेरै होस् तर ओत छँदैछ । बच्चाहरू बोर्डिङमा नभए पनि स्कूल गइरहेकै छन् । योभन्दा बढी के खोजेको ? ठूलाठूला बङ्गला, गाडी, शानसौकत हेर्छौ भने, भोकप्यासले अँचेटेका र सुत्नका लागि पाटी पनि नपाउने मानिसहरूलाई पनि हेर्ने गर, कस्ती असन्तोषी ।” अलि चर्को स्वरमा दिवाकर बोल्यो ।
मानिसलाई उसकै अपुरुषार्थ र अक्षमताको कोर्राले कसैले हिर्कायो भने खपिनसक्नु हुन्छ । सीताले यस्तै कुनै घाउ चलाइदिएकी थी । दिवाकरको झोंक सुनी चकटीमा बसेकी सीताको मुख झन् निदाउरो भो । निधारमा गाँठा पार्दै काखमा बसेकी छोरीलाई डड्रङ्ग खाटमा लडाई र आफू पनि भित्तातिर मुख फर्काएर पल्टी सुत्ने स्वाङ पार्न थाली ।
दिवाकरको कन्सिरी तातेर आयो, तर उसलाई समयले पढाएका पाठहरूमध्ये ‘आवेगहरूलाई रोक्नुपर्दछ’ भन्ने पनि हो । त्यस्तो स्थितिमा मन तुरुन्त आर्कोतिर मोडिहाल्नुपर्छ भन्ने उसलाई थाहा छ । उसले चुरोट झिक्यो र रिसले कामिरहेको हातले सलाई कोरी सल्कायो, अनि झ्यालनिर उभिई बाहिर हेर्न थाल्यो । सडकमा मानिसहरू साहै पातलो भैसकेका थिए । रात धेरै गइसकेको होइन, भदौको आकाशमा बादलका झुप्पाका झुप्पा झुम्मिएका थिए, मच्चिँदै थिए र पानी अब चुहियो तब चुहियो जस्तो भएको थियो । वर्षाकै आशङ्काले मानिसहरूले आ-आफ्नो ठेगानामा ओत लिइसकेका थिए ।
दिवाकरले आँखामा जोर दिई चिन्यो, सडकमा नजरमान लडखडाउँदै हिडिरहेको थियो सदाझैँ कराउँदै । आज उसको विषय कुश्ती परेछ क्यारे ! “लड्छस् ? आइज, मुक्का भने मुक्का कराँते भने कराँते, कुश्ती भने कुश्ती आइज” भन्दै आफ्ना काल्पनिक र अदृश्य प्रतिद्वन्द्वीलाई हाँकका हाँक दिँदै आइरहेको थियो नजरमान ।
दिवाकरले सोच्यो, हरेक साँझमा देखापर्ने नजरमानको यस भूमिकाले एकछिनका लागि भए पनि टोलबासीहरूको जीवनमा वैविध्य ल्याउँछ । साँझतिर उसको स्वर सुनिएन भने “बिचरो नजरमानले आज एक ट्वाँक पिउने पनि पैसा पाएनछ” भन्ने चुकचुकी सबैको मनमा हुने गर्छ । चिसो हावाको झोंकाले उसको उमस मेटियो । तन्किएका नसाहरूले शैथिल्य महसूस गर्यो र उसको मनमा एउटा रमाइलो विचार उठ्न थाल्यो ।
उसलाई लाग्यो, सत्याग्रह, हडताल, असहयोग आदि आज प्रचलनमा आएका सम्पूर्ण विधाहरू जो संसारमा यति बिधिका परिवर्तन ल्याउँदै आइरहेका छन्, एक्कासि स्वर्गबाट पृथ्वीमा अवतरित भएका होइनन् । यिनका आविष्कारक तत्त्व परापूर्वकालदेखि नै हरेक घर वा परिवारमा रहिआएका छन् । त्यस तत्त्वलाई हामी ‘स्वास्नीमान्छे’ भन्ने गर्दछौँ ।
लौ हेर, सीताले अरू कुरो त छाडौं मुखसम्म खोलेकी होइन; मुख बुटारी, गर्दन तेर्बो पारी खाटमा पल्टेकी मात्र हो । यस ‘मात्र’ ले दिवाकरको मनमा कति ठूलो आक्रोश उब्जाइदिएको थियो । उसलाई कसैले थप्पड हानेको भए पनि रीस त उठ्थ्यो होला तर यतिबिधि रन्किएर होइन । दिवाकरको मनमा यो कुरो सीतासँग भनी जिस्किने विचार आयो तर हिम्मत भएन । झन् सारो पीठ फर्काई दी, अथवा मुन्टो नै बटारी भने रिसको अर्को आवेगले किन पोल्लिनु ? के फाइदा ?
उसले सोच्यो, ‘यो पति-पत्नीको सम्बन्ध पनि ठीक एक हलगोरुको जस्तो सम्बन्ध हो, काँधको जुवाले छुट्टिन दिँदैन, तर एकसँग अर्काको हिंडाइ मिलिराखेको हुँदैन । एकको मसडको अर्कोले नसही र एकको हिंडाइमा आर्कोले सकीनसकी नघस्री धर पाइंदैन ।’ ऊ एकछिन उभिरह्यो, अनि बत्ती निभाई पल्ट्यो ।
झ्याउँकीरीको हो कि उसको मस्तिष्ककै स्वर हो, ‘झिउँझिउँ’ को स्वर सुनिन थाल्यो । निद्रा पर्छ जस्तो भएको बेला फेरि ऊ सोच्न थाल्यो, ‘मानिसका इच्छा र आकाङ्क्षाहरूको त कुनै सीमा हुँदैन, आकाङ्क्षाको स्तरमा बाँच्न कसैले पनि सक्तैन, शायद मानिसमा पाइने क्षोभ, निराशा, कुण्ठा र दुःखको कारण यही हो, तर मानिस कतै न कतै सम्झौता गरी बाँचेको नाटक गर्दछ नै ।’ ऊ बुझ्दछ कि ‘जिन्दगी एउटा जिन्सी राखिएको बोरा जस्तै हो, जसले एक गोदामबाट अर्को गोदाममा पुग्नैपर्छ; सबुत वा रूप फेरिएर होस्, ट्रकमा होस् वा घस्सारिँदै होस् । जिन्दगीको नियम यही हो भने अपवाद हुन पाइएन भनी सीताजस्तै फतफताइरहनु त ?’
‘तर’ उसको सोचाइमा फुलस्टप लागेजस्तो भो, कोल्टे फर्की ऊ फेरि सोच्न थाल्यो, ‘तर आकाङ्क्षा र प्राप्तिका बीचको यति ठूलो खाडल, के मानिसलाई मानिस रहन दिन्छ त ?’ उसको मन कताकता दुख्न थाल्यो । आफ्ना आकाङ्क्षा र भोगेको प्राप्तिबीचको अन्तर सम्झी आफैमाथि टीठ लाग्न थाल्यो ।
एक्कासि ऊ सम्झन थाल्यो, जब उसलाई जिन्दगी हावामा उडिरहेका सिमलका भुवाजस्तै हलुङ्गो र स्फूर्तिदायक लाग्दथ्यो, त्यस बखतका सूर्य र चन्द्रमा आजजस्ता एक्कै काम गर्दागर्दा थाकी दिक्किएका जस्ता लाग्दैनथे । प्रातःकालीन सूर्यले आफ्ना तीखातीखा जीवन्त किरणहरूले मुटुमा नौला उमङ्ग र शक्ति भरिदिन्थ्यो। पूर्णिमाको चन्द्रमाको त के कुरा, सम्पूर्ण मनमस्तिष्कमा अमृत वर्षा गरिरहेको जस्तो लाग्थ्यो। चन्द्रमा, सूर्य र यो पृथ्वी आज फेरिएका त नहोलान्, यिनीबाट तन्नेरीहरू आज पनि त्यही खालका उमङ्गहरू पाइरहेकै होलान्, फेरिएको त वास्तवमा उसको मन हो । उसको हृदयका सम्पूर्ण उमङ्ग र उत्साहहरू पानीका फोकासरह नै बैलाएका छन्, एउटा ठूलो शून्य मात्र त्यहाँ बाँकी छोडिदिएर ।
सत्र-अठार वर्षदेखि लगातार उसको क्षति हुँदै आएको छ, सम्पत्तिको क्षति, प्रियजनहरूको क्षति, प्रतिष्ठाको क्षति । यी सबैभन्दा ठूलो तर नदेखिने हो मनको क्षति । आज उसको मन हाहाकार गर्दै सोध्दछ ‘कहाँ गए ती दिनहरू ? कहाँ गयो त्यो उमङ्ग र हलुङ्गोपन ? कहाँ गए ती प्रेरिका र प्रेमिका ? संक्षेपमा जिन्दगी नै कता हरायो ? कहाँ गए ती सबै आफन्त भनाउँदाहरू ?’
यी प्रश्नहरूको जवाफ तीता र अरुचिकर छन् । आज उसले एउटा ठूलो खल्लोपनलाई काँधमा बोकी हिंडिरहनुपरेको छ । खान-लाउन पुगिरहेकै छ तर एक किसिमको धौधौले कुनै बेला पनि छोड्दैन । दिवाकर सोच्न थाल्यो, कहाँ ऊ मित्रमण्डलीमा जम्ने हँसौडे तथा साहित्य, कला, गायन, वादन आदि गुणहरूमा आफ्नो वरपरबाट सधै प्रशंसा पाइराख्ने व्यक्ति, कहाँ आजको स्थिति । आज उसले कोठाबाट निस्केकै दिन वर्षमा कति भनी औंलामा गन्न सकिन्छ । बिहान दश बजे अड्डा पुग, दिनभरि बेमतलबमा हाकिमहरूको झपार खाऊ अनि पाँच बजे घर फर्क, बस यत्ति हो उसको दिनचर्या । भन्दा र सम्झिँदा पनि मन खल्लो भएर आउँछ । ‘कोल्हूको गोरु’ भन्ने उखान उसले सुनेको हो, आज त्यो के हुँदो रहेछ भन्ने कुराको उसले अनूभूति प्राप्त गरेको छ ।
कुनै कुरामा पनि मन लाग्दैन । हुँदाहुँदा अखबार पढ्न, रेडियो सुन्नसमेत मन लाग्दैन । बोल्न पनि के बोल्ने ? जहिले पनि कुरा गर्न थाल्यो, उही अभावका कुराहरू श्वास रोकिदिएजस्तो गरी उकुसमुकुस पारिदिन्छन् । केहीकेही कुरा त साह्रै नकटा र घुसपैठी हुँदा रहेछन् । बारम्बार ठ्याम्म उभिइदिने, बिर्सन जति खोजे पनि नहुने ।
सीताको त ओठको टुप्पोमा त्यस्तै खालका कुराहरू बसेका हुन्छन् । चिनजानमा बसी कुरा गर्दै कनाडा, अमेरिकाका कुरा उठे पनि ती घुम्दाघुम्दै ज्ञानेश्वर, उसको आफ्नै कोठा, आफ्नै जीवनको कथा त्यो पनि फेरि वर्तमानको अभावमाथि आई ठ्याम्मै बसिदिन्छन्, बाजले चल्लो छोपेझैँ । यसैले ऊ कछुवा भैदिएको छ । सारा सम्बन्धलाई कऱ्यापकुरुप खुम्च्याएर ठोक्रोभित्र राख्तछ । जाने पनि कता ? निरुद्देश्य डुल्न जाऊँ भने अब आलस्य जागेर आउँछ । कसैकहाँ गए ऊ पनि आइदेला !
चियासम्मको व्यवस्था गर्दा सीताले ‘केही पनि छैन’ भन्दै निदाउरो मुख लाइदिन्छे कि भन्ने त्रास । परिवारसँग डुल्न जाऊँ भन्दा खल्तीमा पैसो हुँदैन । केटाकेटी छन् कि जे देखे पनि ऱ्याल काढ्न थालिहाख्छन् । ‘किनिदेऊ न’ भनी सीतालाई भन्दा ऊ हिसाबका बही नै पेश गर्न थाल्छे, जसमा निकास सान्तै ठूलो तर मूल साहै सानो हुन्छ ।
उसलाई चाहा छ कि उसको बजेटको नियति सधै घाटामा नै बसिराख्ने हो । मन्त्रिपरिषद् नोट छापेर घाटाको बजेट पूर्ति गर्छ र शानसौकत र गर्वका साथ अगाडि बढिराखेको हुन्छ । तर उसको भने घाटा खेप्ने कुनै उपाय छैन । ऊ नोट छाप्न पनि सक्तैन । सोच्न थाल्दा क्रमबद्ध रूपले मात्र सोचिंदैन, सानातिना दृश्यहरू एकले आर्कालाई उछिन्दै आइरहेका हुन्छन् । दिवाकरले त्यस्तो महसूस गर्यो र एकछिन खोकेर ऊ दायाँतिर कोल्टे पल्ट्यो, अनि आफ्नो लागि उपयुक्त उपमा के होला त भनी सोच्न थाल्यो । उसको कथा असीम नीलो गगनमा प्वाँख तन्काई मस्त भै उडिरहेका पन्छीको कथा हो, जसलाई समयले सानो फलामे पिंजडामा कैद गरिदिएको छ । जीवित छैन भन्न मिल्दैन, श्वास जोगाइराख्नसम्म दानापानी पनि छैन भन्दा झुट्टो हुन्छ । तर यस जीवनलाई के भन्ने ? खालि मृत्युको लागि मात्र पर्खेको जीवन ? अथवा यो नै मृत्यु हो ? र खानापुरी गर्न अर्थात् आधिकारिक रूपले घोषणा हुन मात्र बाँकी रहन गएको हो ?
अब ऊ सोझो पल्टी अँध्यारोमा दलिन हेर्ने प्रयास गर्न थाल्यो । फेरि एक्कासि आफ्नो किशोरावस्था सम्झिन थाल्यो । त्यो परिवेश सम्झ्यो, जसको पैसामा धेरै मूल्य नहोला तर उसका लागि त अमूल्य नै थियो । सानो गाउँघरको त्यो विस्तृत आँगन, बेलाबेला धोती र आडरो फेर्दै मुस्काइरहने खोलापारिकी बनरूपी सुन्दरी, पाटनहरू, सङ्गीत छर्दै बग्ने सानो सफा खोलो, कहाँ त्यो र कहाँ यो पिंजरो अर्थात् परेवाको खोरजस्तो कोठा ! यहाँ पनि ढुक्क भै बस्न पाइने होइन, कुन बेला घरपट्टी रुष्ट नै निस्क भनिदिने हो, अपवा बहाल बढाइदिने हो कि भन्ने एउटा निरन्तर बोकिराख्नुपर्ने कसक, ठीक एलर्जीको जस्तो पीडा । अहा ! कति साङ्ङ्ग्रिएको, ढोकाबाहिर त एक रती अस्थायी अधिकार पनि छैन । कोठैमा लुकी बस्ता पनि छरछिमेकीका सनकको शिकार हुनुपर्ने । आधीरातमा जोरले कसैको क्यासेट बजाएको स्वर उन्मुक्त हास्य अथवा रुदनको स्वरले बारम्बार सम्झाइराख्तछ, ‘यहाँ तिम्रो आफ्नो कोही छैन; तिम्रो कसैलाई वास्ता पनि छैन ।’
यो सम्झीसम्झी उसको श्वास अड्किन थालेजस्तो हुन्छ । र, उसको मनमा आफ्नो गाउँको उन्मुक्त परिवेशमा दगुरेर पुग्ने लहड बारम्बार उठ्दछ जहाँ उसका शैशव र युवाकालका सम्पूर्ण सपनाहरू गाडिएका छन् । त्यहाँ पुगी ती क्षतविक्षत सपनाहरूलाई प्रेमले मुसार्ने उत्कण्ठाले उसको मुटुलाई आकुल नै पार्न थाल्दछ । हुन त दुःखको प्रारम्भ पनि त्यहीं छँदा भएको हो, दुई वर्षभित्र आमा, बाबु, बैनी र सानो भाइको एकपछि एक देहान्त भै ऊ एक्लो रहन गएको थियो । अरूभन्दा पनि निर्बोध बालक भाइलाई मृत्युले आइलाग्दा कस्तो सकस पर्यो होला भन्ने कुराले आज पनि दिवाकरको मुटुलाई बेला-कुबेला गिजोलिराख्तछ । यस्तो दुःखद स्थितिमा जब साधनाको पनि अन्तै बिहे भो, उसलाई आफ्नो भविच्यको अन्त नै भएजस्तो लागेको थियो ।
अन्त त भएन, हो एक अध्यायको अन्तचाहिं भएकै हो । त्यो अध्याय जहाँ सपनाहरू थिए, आशा, उमङ्ग र उत्साह थिए, जित्नका निम्ति अघिल्तिर विशालविशाल संसार नै थियो । यसको पटाक्षेप दुःखान्त भए पनि ऊ बाँचिरह्यो र क्षतिका अनुभूतिहरूको तीव्रता पनि बिस्तारै कम हुन थाल्यो । बेलाबेलामा मुटुमा चसक्क बिझ्ने एउटो कसक भने हराएको थिएन । यसै पीडालाई भुल्न उसले आफूलाई सामाजिक कामहरूमा आकण्ठ डुबाउने निर्णय गरेको थियो ।
बी. ए. को जाँच दिई परीक्षाफल पनि नपर्खी शहरबाट गाउँ पुग्नासाथ एक विद्यालयको स्थापनापट्टि ऊ लाग्यो । भवन-निर्माणका लागि चन्दा माग्न जान, विद्यार्थीहरूलाई पढाउन, उनीहरूलाई विभिन्न खेलहरू खेलाउन र यसबाट फुर्सद भए गाउँगाउँ गै शिक्षाको महत्त्वबारे सम्झाउन र गाउँलेहरूसँग छोराछोरी पढ्न पठाउन आग्रह गर्नु, दिनभरको व्यस्ततापछि लखतरान भै ओछ्यानमा पल्टिंदा दिवाकर ‘करुणा अथवा दयाले जसमाथि दया गरिन्छ उसको मात्र भलो हुँदैन, दया गर्नेको पनि भलो हुन्छ’ भन्ने शेक्सपियरको उक्ति सम्झिन्थ्यो ।
निःस्वार्थ भावले थालेको एउटा सानो कर्मले अरूलाई फाइदा होला नहोला तर उसलाई भने जुन सन्तोष र शान्ति प्राप्त भएको छ, त्यो कुनै पनि मानिसका लागि बहुमूल्य होइन, अमूल्य उपलब्धि हो भन्ने महसूस गर्थ्यो ।
ऊ समय निकालेर विद्यार्थीहरूको टोली साथमा लिई सफाइअभियान चलाउँथ्यो, प्राकृतिक इलाज गर्दथ्यो र वर्षमा दुई-तीन चोटि नाटकहरू पनि देखाउँथ्यो । यी सब क्रियाकलापहरूले गर्दा गाउँलेहरूले उसलाई ठूलो सम्मान र स्नेह गर्न थालेका थिए ।
अचानक परिस्थिति फेरियो । जिल्लाको एक महत्त्वपूर्ण पदमा रामधन निर्वाचित भए । निर्वाचनप्रति दिवारकको कुनै चासो त थिएन तर रामधनजी भोट माग्न गाउँमा आएको बेला एक घटना घटेको थियो । रामधनजीको भुकुण्डे भुँडी, साना कुटिल आँखा र कुनै पनि अनुशासनमा बस्न नमान्ने जुँगा देख्नासाथ नै उसको मनमा वितृष्णा उब्जेको थियो । त्यसैमा थप छरछिमेकमा उसको प्रभावको सुइँको पाएर रामधनजी चुनावमा मद्दत गर्न आग्रह गर्न आइपुगे र प्रलोभन दिने कुरामा आर्थिक प्रलोभनसम्म कुरो पुगेपछि खपिनसक्नु भएर दिवाकरले उसलाई कोठाबाट निकाली नै दिएको थियो । पद पाएपछि रामधनले यो कुरो बिर्सेन, दिवाकरको टोलीले प्राकृतिक इलाज गरेको एउटा बिरामी असाध्य रोग लागेकोले मर्यो । लाइसेन्सबिना नै इलाज गरेको भनी रामधनले उनीहरू सबैलाई केही दिन त थुनुवा नै राख्न लगायो । यसैबीच गाउँका नकारात्मक प्रवृत्तिका केही मानिसहरूले रामधनको इशारामा दिवाकरको एक जना कर्मठ विद्यार्थीलाई पानीसम्बन्धी परेको झुट्टा अपवाद लगाई उसको पानी रोक्का गर्ने प्रयास गरे । दिवाकरले यस असत्यको मुकाबिला गरी यसो हुन दिएन तर यस काण्डलाई लिएर गाउँमा पुख्यौली हाँगाहरूको आधारमा एउटा गुटबन्दी खडा भैसकेको थियो । रामधनका मानिसहरूले गाउँका जुवाडी, सराबीहरूलाई सङ्गठित गरिसकेका थिए, जो दिवाकरको विरुद्ध अनेक किसिमका दुष्प्रचार गरी हिंड्ने गर्दथे । रामधनसँग ऊ मुकाबिला गर्न डराउँदैनथ्यो । ऊ सामना गर्न तयार थियो, तर सर्वसाधारणले स्नेह र सम्मान गर्दागर्दै पनि जब रामधनको इशारामा चल्ने मुखालेहरूले उसलाई पगपगमा बाधा पुऱ्याउन थाले, अपमानित गर्न थाले, उसलाई असह्य भो र आखिर गाउँ नै छोडेर हिँडिदिएको हो ।
दिवाकर सोच्न थाल्यो, यहीं समाप्त भएको थियो उसको जीवनको दोस्रो अध्याय, जो दुःखान्त भए पनि कर्म गर्ने उत्साह र त्यसबाट प्राप्त शान्तिले ओतप्रोत थियो ।
तेस्रो अध्यायमा उल्लेखनीय नै के छ र ? सदर आई गोटा चारेक जोर जुत्ता फटाइसकेपछि बल्ल यो नोकरी पाइयो, र कुनै विचारै नगरी सीतासँग बिहे भो । अनि… सीता अहिले निक्कै घुर्न थालेकी थी, उसको मन विह्वल हुन थाल्यो । ऊ जुरुक्क उठी खाटमा बस्यो ।
‘किन हँ ?’ एउटा तीतो सवाल उसको अगाडि उभिन पुग्यो । सबैको भलो होस् भन्ने चाहना राख्ताराख्तै र सकेसम्म आर्काको भलो गर्न खोज्दाखोज्दै पनि उसले जहाँ पनि मार खानैपर्ने ‘आखिर किन ?’ आक्रोशित भै ऊ सोच्न थाल्यो । साधनालाई उसले सम्पूर्ण हृदयले प्रेम गरेको थियो, उसको खुशीको लागि आत्मबलिदान पनि गर्न सक्तथ्यो । तर आर्कोसँग बिहे गरी जान लाग्दा ‘मेरो सुखको लागि तिमीले दुःख बोकी हिँड्नुपर्ने भो’ सम्म पनि उसले भनी त ?
ग्रामीण समाजको सुख र समृद्धिका लागि उसले जीवनै खपाइदिन खोजेको हो, तर उसको निःस्वार्थ भावलाई कसैले बुझिसम्म पनि दियो त ? केही व्यक्तिहरूले हुनसम्म गरी उसलाई आफ्नो दोस्रो प्रेम (ग्रामीण समाजको सेवा) त्याग्न बाध्य गरे । यस्ता घटना त सम्झने हो भने कति छन् कति छन् । ‘किन मैले बिनाकसूर दुःख भोग्नुपर्ने ? किन बन्चरोले सधैंभरि मेरै घुँडो ताक्नुपर्ने ?’ ऊ आक्रोशले स्तब्ध जस्तै भै खाटमा बसिरह्यो ।
निक्कैबेरपछि उसले झ्यालबाट बाहिर हेर्यो, वर्षा थामिई आकाश सफा भै ताराहरू टिमटिमाइरहेका थिए । एउटा चम्किलो तारा त नगीचै हातले समात्न हुने जस्तै गरी चम्किरहे जस्तो लागिरहेको थियो । एकछिन हेर्दाहेर्दै उसलाई एक गूढ र महत्त्वपूर्ण सवालको जवाफ एक्कासि नै पाएजस्तो लाग्यो । गत सत्र-अठार वर्षदेखिन् निरन्तर दुःख पाएको त अकारण रहेनछ, यसको पछिल्तिर कारण रहेछ, एकदमै वैज्ञानिक कारण । ज्योतिषहरू भन्छन् कि अठारवर्षे राहुको दशा आउनु नै दुःखको कारण हो । उहिले उसको चिठा (जन्मपत्री) हेर्दा सबैले सातै असल ग्रह छन् भन्थे । आजभोलि भने ती ज्योतिषहरू नै “के गर्नु ग्रह नै राम्रा परेनन्, त्यसैमा दशा पनि ठीक छैन” भन्छन् ।
उनीहरू आफैले उहिले गरेको भविष्यवाणी बिर्से पनि दिवाकरले त बिर्सेको छैन । यी अवसरवादी कथन सुन्दा दिवाकरलाई सक्नुहुन्छ भने भएजतिका दुष्ट ग्रह मेरै जन्मपत्रीमा राखिदिनोस् भन्ने रन्कट (फोक) बेला-बेलामा नउठ्ने होइन, तर अहिले आएर भने उसका सारा तर्क र विवेकले समेत जन्मपत्रीको भर पर्नुबाहेक अरू उपाय देखेको छैन, ग्रहचक्रमाथि उसको मनले पूरा विश्वास गर्न थालेको छ ।
ज्योतिषहरू भन्छन् कि अब गएर राहु दशाका अठार वर्ष भुक्तान हुन आँटेका छन् । राहुपछि बृहस्पतिको दशा आउने भएकोले यस शुभ दशामा राहुले जति हरेको छ त्यसको भरिभराउ मात्र नभै केही थप प्राप्ति पनि हुनेछ भनी उनीहरू ठोकुवा गर्छन् । ‘दशाले दिने कसले दिन्छ र !’ सबै ज्योतिषहरूको मुखबाट निस्किन्छ । यो भनिसकेपछि सबैले भन्ने कुरो एउटै हो, ‘ग्रहको पूजा’ दुष्ट ग्रहको पूजा शान्तिका लागि र असल ग्रहको पूजा फल वृद्धिका लागि ।
कहिलेकाहीं सङ्कोच त लाग्छ तर दिवाकर आफूले ज्योतिषशास्त्रमा अन्धविश्वासको हदसम्म गै भर पर्न थालेको महसूस गर्दछ । उसले गाउँकै ज्योतिषबाट कुण्डली लेखाई राखेको थियो । त्यसको आधारमा ज्योतिष शुक्रनारायणले दशा-चक्रको टिपोट बनाई दिएको छ । ऊ दिनदिनै त्यस टिपोटलाई हेर्ने गर्दछ, र असल दशा आउने समयको मिनेट सेकेन्डसम्म हिसाब गरी प्रतीक्षा गरी बस्दछ । दशा सप्रेपछि उसको अहिलेसम्म रोकिएको प्रमोशन (पदोन्नति) हुन सक्छ । आफूभन्दा मुन्तिर बसेकाहरू फटाफट माथि उक्लेका र आफू जहाँको तहीं हुँदा भोग्नपरेको नैराश्य र हीनताको, प्रमोशनले अन्त गरिदिनेछ ।
‘मैनावारी तलबमा वृद्धि पनि त होला नि’ ऊ सोच्ने गर्छ । गाउँको पैतृक सम्पत्तिको जग्गा त्यसै सरकार लागेको छ, मुआबजाका लागि गरिएको निवेदन आदेश र टिप्पणीको भुमरीमा परी अथाह गहिरोमा डुबेको छ । दशा सुध्रेर त्यो मुआबजा पाए, काठमाडौंको छेउछाउमा एउटा स-स्यानो वासस्थान बनाउन सकिन्थ्यो । ऊ सोच्दछ कि ग्रहदशाले दिनै थाले कृपणता किन देखाउला र ? फेरि यी ठूल्ठूला पद ओगटेका महोदयहरू पनि कुनै महायुद्धमा बहादुरी देखाएर त्यहाँ पुगेका त होइनन् । धेरैसँग दाँजिंदा त ऊ बरु आफूलाई नै असल र बुद्धिमान् ठान्ने गर्छ । के लाग्यो र, ती महानुभावहरूको बृहस्पतिको दशा छिट्टै आइदिएछ । उसको हकमा त्यो दशा आउने उपक्रम बल्ल सुरु हुने भएको छ ।
अर्को बिहानीपख उसलाई आफ्नै जीउ हलुङ्गो लाग्यो । टिपोटको हिसाबले आजको दिनभरि मात्र राहुको दशा रहनुपर्ने हो ।
उसले सीतालाई पहिले नै सचेत गर्दै भन्यो, “हेर म जरूरी कामले बाहिर जाँदैछु कहाँ कता भनेर नटोक्नू, सुरुक्क दश रुपैयाँ दाम दिइहाल ।” सीताले पनि धेरै दिनपछि उसको हँसिलो मुहार देखेर मुस्काउँदै दश रुपैयाँ दिई। ऊ फुर्तिलो चालले ज्योतिष शुक्रनारायणकहाँ पुग्यो, तर उनीचाहिं कुनै नजिकको नाताको जन्तीमा सामिल हुन गाउँतिर गएका रहेछन् । “भरेभोलि पुग्नुहोला” भनी ज्योतिषिनी बज्यैले भनिन् । उसको खल्तीको दश रुपैयाँ र चिठाको उतारले उसलाई तुलबुलाउन थाल्यो । अतः ऊ ज्योतिषहरूको खोजी गर्दै हिंड्यो ।
हिंड्दै जाँदा सडकको दाहिनेपट्टि ठूलो बोर्ड झुन्डिएको देख्यो ‘पं. सोमनाथ शास्त्री, त्रिकालज्ञ, ज्योतिषाचार्य’ दिवाकर भित्र पसिहाल्यो । ज्योतिष सोमनाथले तलदेखि माथिसम्म हेर्यो, दक्षिणा मोटो आउने आशा नदेखेर हो कि “बस्नोस्” पनि नभनी “भन्नोस् के काम ?” भनी सोधे । कुण्डली हेर्दै नहेरी जन्ममिति, समय र वर्ष सोधेपछि निक्कै बेर हिसाबकिताब गरी, निधार खुम्बाई भने, “ओहो ! तपाईंको दशामा पोहर सालदेखि राहुले प्रवेश गरेको छ । हरेक काममा जोगिएर बस्नुपर्दछ । शान्तिस्वस्ति नगरेको भए तुरुन्त गरिहाल्नोस्, नत्र ठूलोठूलो विघ्न पर्न सक्छन् ।
दिवाकरलाई आफूले सुनेको कुरामा पत्यार भएन । “होइन आजै राहुले छोड्ने पो हो, एकपल्ट राम्ररी हेरिदिनोस् त” भन्दै आफ्नो कुण्डलीको टिपोट देखायो । ज्योतिषले कुण्डलीको टिपोट एकछिन हेरे र हिक्का ठोक्दै भने, “कसले भन्छ ? तपाईं आफू पनि ज्योतिष हो भने आउनोस् छलफल गरौं । तपाईंको नक्षत्र यस टिपोटमा गलत लेखिएको छ, मैले तपाईंको जन्मवर्षको पात्रो भर्खर त हेरें, पोहर साल यसै बेलादेखि तपाईंको दशामा मङ्गल गएर राहुको प्रवेश भएको छ ।”
“खै ! धेरै ज्योतिषहरूलाई देखाएको हुँ, सबैले छिट्टै बृहस्पतिको दशा आउँछ भनेका हुन् ।”
“ती ज्योतिषहरू पसले हुन्, नून तेल बेचेजस्तै ज्योतिषशास्त्र पनि बेच्छन् । यो पहाडजस्तो गल्तीको पनि थाहा पाउन सकेनन्” झोक्किएर सोमनाथजीले भने ।
दिवाकरको श्वास अड्केला अड्केला जस्तो हुन थाल्यो, मुटु धुकधुक गर्दै हल्लिन थाल्यो । मन यो कुरो मान्न तयारै भएन र बडो प्रयाससाथ उसले सोध्यो, “होइन, त्यसो भए त मैले गत वर्षसम्म त आराम र सफलता पाउनुपर्ने हो, करीब सत्र-अठार वर्ष भो ठूलो दुःख पाइरहेको छु । ठूलो खति खेपेको छु । राहुको दशा पोहर सालदेखि मात्र लागेको भए त्यसअघि त दुःख पाउनु नपर्ने ।”
एकछिन घोरिएपछि सोमनाथजीले भने, “राहुभन्दा अघि सात वर्ष त मङ्गल थियो, त्यसमा असल हुने कुरो भएन । त्योभन्दा अगाडि दश वर्ष चन्द्रमाको दशा थियो, त्यो दशामा…” एकछिन अडी कुण्डलीलाई फेरि हेरेपछि ठूलो अविष्कार गरेझैँ उत्साहित स्वरमा भने, “तपाईंको कुण्डलीमा चन्द्रमा नीचो छ र कमसल ठाउँमा बसेको पनि छ, यसकारण चन्द्रमाले पनि खराब फल नै दिएको हो । अब एक वर्ष बित्यो, सत्र वर्षपछि तपाईंको दशा खूप सप्रिन्छ” भन्दै सोमनाथजी मीठो पाराले मुस्काए, मानौँ, सत्र वर्ष भनेको सत्र सेकेन्ड होस् ।
दिवाकर एकछिन टोलाइरह्यो अनि केही नभनी बाहिर जान थाल्यो । ज्योतिष बाजेले सम्झाएपछि मात्र दक्षिणाको दश रुपैयाँ दाम भेटी राखी निस्क्यो ।
दिवाकरलाई खुट्टा चलाउन गाहो हुन थाल्यो, मानौँ, कुनै रूखको चुफुरी (चुच्चो) मा बसेका बखत त्यो रूख नै जड-उपाड भएको (जरो उखेलिएको) होस् । उसलाई ज्योतिषले ज्यान सजाय सुनाइदिएको जस्तो लाग्यो । यी अठार वर्षहरू उसले महिना, दिन, घण्टा यहाँसम्मन् कि सेकेन्डमा हिसाब गरी बिताएको थियो । एक श्वास फेर्दा एक सेकेन्ड घट्यो होला भनी सन्तोष लिने गरेको थियो । त्यसपछि त सबै कुरा ठीक होला भन्ने आशैआशामा ऊ बाँचिरहेको थियो । अब पूरा सत्र वर्ष त्यै यातना सहने कसरी ? ऊ भारी मनले पेटीमा हिंडिरहेको बेला दायाँपट्टिको झ्यालबाट कसैले उसको नाउँ लिई बोलायो, शुक्रनारायणजी रहेछन् ।
उनले भने, “पाल्नोस्, पाल्नोस् भर्खर आइपुगें । मलाई खोज्दै हुनुहुन्थ्यो रे, त्यस्तो के पर्यो ?” दिवाकर ठिङ्ग उभियो, जाऊँ कि नजाऊँ भन्ने द्वन्द्व उसको मनमा चलिरहेको थियो । फेरि सधैं हेरिराख्ने ज्योतिष त शुक्रनारायण नै हुन्, सोमनाथ भगवान् त हैनन्, गल्ती गर्न पनि सक्छन् भन्ने विचार मनमा आउनासाथ ऊ छिटोछिटो भित्र पस्यो र शुक्रनारायणजीलाई सोमनाथ ज्योतिषले गरेका कुरा सुनायो । यसैबीच बज्यैले एक एक गिलास चिया दुइटैको अगाडि बिसाइन् ।
“अहँ, त्यस्तो त नहुनु पर्ने” भनी शुक्रनारायणजीले जन्मपत्रीको टिपोट हेरे । हेदहेर्दै उनको मुख मलिन हुँदै गयो र भने, “हो राहुले भर्खर गत वर्षदेखि मात्र प्रवेश गरेको रहेछ । मैले पनि विचारै गरिनँ, तपाईंले घरबाट ल्याउनुभएको टिपोट नै गलत रहेछ, कुनै अनाडीले टिपोट गरेको रहेछ । सक्कल चिना नहेर्दा यस्तै अलमल पर्छ ।
एकछिनपछि फेरि “सत्र वर्ष अझै बाँकी छ, शान्तिस्वस्ति गरौं, त्यसपछि त साह्रै असल दशा आउँछ” भन्दै उनी पनि मीठो पाराले मुस्काए । दक्षिणा दिन भनी हो कि किन हो दिवाकरले कोटको दाहिने तर्फको भित्री खल्तीमा बायाँ हात पसाल्यो । त्यसपछि मात्र दश रुपैयाँ खर्च भइसकेको र पैसा नभएको कुराको उसलाई ज्ञान भो । त्यसपछि किन हो किन उसले कोटको बायाँतिरको भित्री जेबमा दायाँ हात पसाल्यो । हात बाहिर निस्केनन् । खुट्टाहरू पनि आफआफैँ झन्झन् खुम्चिन थाले र दिवाकरलाई आफू कछुवा भइरहेजस्तो लाग्न थाल्यो । ज्योतिषबाजे कहिले खल्तीमा पसेका हातहरूतिर र कहिले दिवाकरले भर्खर चिया पिएको रित्तो गिलासतिर पालोपालो गरी हेर्न थाले ।
दिवाकर अबेर घर पुग्यो “खान मन छैन” भनी ओछ्यानमा पल्टयो ।
सिराननिर एउटा बन्द खाम थियो तर त्यसलाई खोली पढ्नेसम्म पनि मन लागेन । निक्कै बेरपछि ‘राहुको दशामा कुन खराब खबर फेरि सुन्नपर्ने हो’ भन्ने ठानी सशङ्क भई उसले चिट्ठी खोल्यो । हेर्दा त उसले प्रमोशन पाएको सूचना पो रहेछ । अहिलेसम्म ठ्याम्मै अडेको हावा फेरि चल्न थाल्यो ।
उसलाई लाग्यो, जुनेली रातमा सागरको तीरमा एउटा कछुवा ठोक्रोबाहिर निस्केर बिस्तारै हिंड्न थालेको छ, खुशी भएर ।
(लोकेन्द्रबहादुर चन्दको कथासंग्रह ‘विसर्जन’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० कार्तिक २०८२, बिहीबार 










