बरालगाउँ अब गाउँ रहेन । शहर भयो तर नाउँ भने ‘गाउँ’ नै रह्यो । केही पुरानो मनस्थिति पनि यथास्थितिमा ग्रामीण नै रहिरह्यो ।
सिमन्टीले बनेको ठूलो भवनको अप्ठेरो ठाउँमा उम्रिएका झारजस्तो थियो त्यो मनस्थिति । त्यसलाई शहरिया प्रभावले छुनसमेत सकेको थिएन । परिवर्तनलाई सकेसम्म स्वीकार नगरीकनै बाँकी जीवन भुक्तान गर्ने प्रयासमा थियो त्यो मनस्थिति ।
जोरपाटी चोकको मूल सडकसँगै जोडिएको छ बरालगाउँ । गाउँको बाहिरी घेरोमा जोडिएको थियो तोरीखेत । तोरी उम्रने खेतमा बिस्तारै घरहरू उम्रन थाले । त्यही खेतमा उसका बाले पनि एउटा घर उमारे । बरालगाउँ छोडेर उसको परिवार तोरीखेत सर्यो ।
उसैको घरमा आड लगाएर तामाङहरूले आफ्नो धार्मिक आस्थाको प्रतीक स्वरूप एउटा गुम्बा उमारे । बिस्तारै ठाउँको नाम नै ‘तामाङगुम्बा’ प्रचलित भयो । मान्छेहरूले तोरीखेतलाई भुसुक्क बिर्सिए ।
बिहान जागीरमा जाने जागीर तामाङगुम्बाबाट पूर्ण गतिमा निस्किन्छ उसको दुई पाङ्ग्रे तर मूल सडक समातेपछि नै कुँजो हुन्छ । भनेजसरी स्वच्छन्द रूपमा गुड्नै पाउँदैन । ट्राफिक जाममा परिहाल्छ । बिस्तारैबिस्तारै घिस्रिंदै यात्रीलाई गन्तव्यमा पुर्याउनु प्रत्येक सवारीको बाध्यता बनिदिन्छ । उसलाई पिठ्यूँ सवार गराउने दुई पाङ्ग्रेको पनि नियति उही हो ।
आज बिहान पनि पछाडिको भीडले ठेलिए जसरी उसको दुई पाङ्ग्रे सडकमा घिस्रिरहेको थियो । त्यति नै जागीर उसको खल्तीको मोबाइलले बोलाउन थाल्यो । सजिलै पाखा लाग्न सक्ने अवस्था दुई पाङ्ग्रेको थिएन ।
जागीरमा पुग्दासम्म उसको मोबाइलले दुई पटक आवाज दिइसकेको थियो । तैपनि उसले वास्ता गरेको थिएन ।
काममा पुगेर मोबाइल हेर्यो, दुई मध्ये एक पटकको फोन आमाले गरेकी रहिछन् । अर्को पटक सुम्निमाले गरेकी थिई । ‘एकछिनमा फोन फर्काउँछु’ भन्ने सोचेर काममा खटियो तर आमा नै पहिला भइन् । उसले फोन उठाउँदा उठाउँदै उनले भनिन्, “बाबु ! भरे आउन ढिलो त हुँदैन नि ?”
“हुँदैन, आमा । केही थियो र ?”
“खास त केही छैन । भरे कुरा गरौंला नि ! मिले अलि छिटै आइज ।”
आमाले फोन काटिन् । आमाले ‘खास केही छैन’ भने पनि केही त पक्कै थियो । कामका जागीर अनावश्यक कुरामा फोन गरेर कसैलाई पनि अल्झाउन हुँदैन भन्ने चेतना उसकी आमा र सुम्निमा दुवैमा थियो ।
बढ्दो शहरीकरणसँगै खेतीपाती र गाईबस्तु विस्थापित भए । मेलापर्मले जोडेका समकालीन दौँतरीहरू सामाजिक सम्पर्कबाट छुट्टिए । उसकी आमा जस्तै धेरै आमाहरूको रमाउने बाटो बन्द भएको थियो । आआफ्नै घरभित्रै गुम्सिन थालेका थिए । उसकी आमाको सुखदुःखका कुरा साटासाट गर्ने एक मात्र साहारा बा थिए । कोरोना कहरले उसका बाआमाको जोडी छुट्याइदियो । घरका चार भित्तामा थुनिएकी आमा एक्ली भइन् ।
उसले आमालाई साथीको रूपमा मोबाइल ल्याइदियो । बासँगको बिछोडले विक्षिप्त भएकी आमाको मनस्थितिमा लगाउने मलम बन्यो मोबाइल । विद्युतीय सामाजिक सञ्जालमा जोडिन पाउँदा आमा खुशी नै थिइन् ।
खाजा खाने समयमा बल्ल उसलाई फुर्सद मिल्यो । फेसबूक खोल्यो । मोबाइलको पाना तलतल सार्दै थियो । आमाको पोस्ट देख्यो । गाईका ससाना बाच्छाहरूका भिडिओ आमाले शेयर गरेकी रहिछन् । मनमा प्रश्न उब्जियो, “मनलाई बहलाउने यो फेसबूक नभएको भए ? के गर्थिन् होला मेरी आमा ?”
आफ्नो मनको बह कसैलाई फुकाउन मन गर्यो । सँगैको सहकर्मीतिर हेर्यो र भन्यो, “यो फेसबूकले सबैभन्दा धैरै चाहिं बूढाबूढीलाई दिन कटाउन साह्रै सजिलो भको छ है ?”
मोबाइलमा पब्जी खेलिरहेको सहकर्मीले ऊतिर हेर्दै ओठ मात्र तन्कायो । केही बोलेन । शायद यो दोष उमेरको थियो । सहकर्मी केटोको सामाजिक परिबन्दमा जेलिने उमेर भइसकेको थिएन । थोरै जेलिएको थियो त केवल प्रेमिकाका घुर्की र नखराहरूमा । अन्य व्यावहारिक कुराहरूमा बेखबर देखिन्थ्यो ।
० ० ०
कुनै कालखण्डमा ऊ पनि त्यस्तै मनमौजी थियो ।
ऊ चढ्दो उमेरको थियो । बाआमा ढल्दो उमेरका थिए । शहरीकरणको महामारीले गाउँलाई छोप्दै थियो । खेतीपातीमा काम गर्ने खेतालाहरू घट्दै थिए । जग्गा भाडामा माग्नेहरूको संख्या दिनदिनै बढ्दो थियो ।
“वर्षदिन दु:ख गरेर आउनेभन्दा त डब्बल पैसा आउने भयो । त्यसमाथि आफ्नो लगानी र दु:ख त चोखो बच्ने । कत्ति घोटिन्छेस् ? हुन्दे ! दिऊँ भाडा,” हिसाबकिताब गर्दै बाले आमालाई सम्झाए । आमाले नाइँनास्ति गरिनन् । शायद आमा पनि खेतीमा परेको परिश्रम र लगानीदेखि वाक्क भइसकेकी थिइन् ।
तैपनि शर्त अगाडि सारिन्, “यो गाई एउटा चैं पाल्नैपर्छ । चाडबाडमा लिपपोत गर्नी गोबर खोज्न कता जानु ? छेकथुनमा चोखिन गहुँत पनि चाहिन्छ । सधैं पूजा गरी राखेकी गाई ! … गाईबिना त म कुँजो हुन्छु । मैले सकुन्जेल त जसरी नि पाल्छु ।”
“गाई पन्छाउने कुरा कसले गर्या छ र ? तँलाई मन लागुन्जेल पाल् न । कसले रोक्या छ र ? यो खेती पो पीर भो त । भालुको कनपट ।”
बा गाई पाली राख्न सहमत भए । उनीहरूको जिब्रोमा गोरसको टक बसिसकेको थियो । काम गर्ने जाँगर भने थिएन तर खाँटी दूध खाने लोभ बाँकी नै थियो ।
समय एकनास रहेन । एकातिर आमाको शरीर गल्दै गयो, अर्कोतिर शहरीकरणले मिच्न थाल्यो । बा र ऊ मुख मात्र चलाउँथे । हातखुट्टा भने आमाले मात्र चलाउनुपर्थ्यो । गाईको सम्पूर्ण भार आमामा मात्र केन्द्रित थियो । बिस्तारै गाईसँग आमा पनि झिँझिँन थालिन् । भन्थिन्, “… न चराउने ठाउँ छ ! न घाँस काट्नी ठाउँ । साह्रै घाँडो भयो यो डाम्नो ।”
ऊ र उसका बालाई भने गाई पाल्नु र नपाल्नुसँग खास ठूलो सरोकार थिएन । सरोकार थियो त केवल सधैं सुत्ने जागीरको एक गिलास तातो खाँटी दूध । बाउछोराले कुनै प्रतिक्रिया नजनाएपछि फेरि सम्हालिंदै आमा भन्थिन्, “गाई पाल्या घरमा सधैं सह हुन्छ । लक्ष्मीले बास गर्छिन् । सकेसम्म पाल्नैपर्छ ।”
शायद उसकी आमालाई गाईको स्याहार गर्ने बुहारी आउँछे भन्ने भ्रम थियो तर समयको सुई आमाको चाहनाविपरीत घुम्यो । ऊ अन्तर्जातीय विवाहतर्फ मोडियो । किरात धर्म र संस्कारकी सुम्निमा बुहारी बनेर भित्रिएपछि आमाको असन्तुष्टि र निराशा विद्रोहमा परिणत भयो ।
गाई लैजाने मान्छे खोज्न थालिन् । पटकपटक बासँग आमाले गरेको गुनासो उसको कानमा ठोकिएको थियो, “… सुङुरलाई चोखो मान्नेकी छोरी पो हो त ! गाईको दूध ख्वाएर पाल्न सक्दिनँ म ।”
घरभित्र मुख्य समस्या बन्यो सुम्निमाको जातीय समुदाय । बालाई खासै वास्ता थिएन । थाप्लोमाथि खसेको आकाशले आमा मात्र थिचिएकी थिइन् । सुम्निमाले पूजाकोठा र भान्सामा जाने अनुमति पाइन ।
उसमा भने सुम्निमालाई जित्ने आँट र रहर दुवै थिएन । आमाबाको अगाडि उनीहरूसँग डराए जस्तो त गर्थ्यो तर पछाडि वास्ता गर्दैनथ्यो ।
गाई नपठाउँदासम्म सधैं बेलुका आठ बजे आमाले तातो दूध भरिएका दुई वटा गिलास उसको कोठाको ढोकाअगाडि राखिदिन्थिन् । कान थापेर बसेकी सुम्निमा आमा फर्किएपछि गिलास लिएर भित्र पस्थी । सुम्निमा दूधसँग अभ्यस्त थिइन र हुन पनि चाहिन । दुवै गिलास ऊ नै रित्याउँथ्यो । बेखबर आमा चित्त बुझाउने प्रयास गर्दै भन्थिन्, “राईकी छोरी भए पनि कमसेकम अमृतको महत्त्व चैं बुझेकी रैछ ।”
केही महीनापछि नै गाई लखेटियो । गोठ भाडामा लाग्यो । त्यही भाडाको पैसाले चिया खान पुग्ने दूध किन्न पुग्थ्यो । दूध तताउने गरेको किटको ठूलो कुँडे पनि विस्थापित भयो र सानो सिलाबरे डेक्ची भित्रियो तर सधैं बेलुकाबेलुका खाने गरेको तातो दूधको तलतल भने बाउछोराबाट कहिल्यै विस्थापित हुन सकेनन् ।
अझै पनि कुराउनी डढेको दूधको बास्ना र आमाको हातको ठूलो गिलासको सम्झनामै उसको प्रत्येक साँझ बित्ने गर्छ ।
उसको एक मात्र सन्तान हो सुहाङ । कुनै हिन्दू देवताको नामबाट नातिको नाम राख्न आमाबाले निकै प्रयास गरेका थिए, ‘प्रद्युम्न’ राखे । सुम्निमा सहमत हुन सकिन र ‘सुहाङ’ राखी । सासूससुराकै अगाडि पनि सुम्निमाले छोरालाई कहिल्यै ‘प्रद्युम्न’ भनिन, ‘सुहाङ’ मात्र भनी । ऊ भने छोरालाई सुम्निमाको अगाडि ‘सुहाङ’ भन्थ्यो भने आमाबाको अगाडि ‘प्रद्युम्न’ । बिस्तारै छोरोको नाम ‘सुहाङ’तिरै ढल्कियो । अझ पढ्न जान थालेपछि त कसैले ‘प्रद्युम्न’ भनेर छोरालाई बोलायो भने एकछिन अलमलिएर यताउति हेर्न थाल्यो ।
सुहाङको संस्कार पनि बाबुतिरको भन्दा आमातिरको नै आउन थाल्यो । दशैंमा राता टीका र जमरा लगाएर घरबाट निस्किएका सुम्निमा र सुहाङ बेलुका सेतो टीका लाएर फर्कन्थे । अझ सुहाङले त टाउकोमा सेतो फेटा पनि गुथेको हुन्थ्यो ।
ऊ भने ससुरालीबाट बाहिर निस्केपछि नै फेटा फुकालेर सुम्निमालाई दिन्थ्यो र सेतो टीका मेट्थ्यो । घरभित्र पस्दा उसको निधार खाली हुन्थ्यो । आमाले उसलाई फेरि दोहोर्याएर टीका लगाइदिंदै भन्थिन्, “दशैंको दिन पनि निधार खाली राख्छन् त लाटा ?”
० ० ०
बेलुका जागीरबाट फर्कंदा पनि बिहानकै सकस दोहोरियो । बराल पम्पबाट जोरपाटी मूलबाटो छोडेर भित्री बाटो समात्यो । निरीह बाहुनधारा सुकेको मुख प्याक्क बाएर बटुवाहरूलाई हेरिरहेको थियो । त्यही ढुङ्गेधारोबाट बगेको पानीमा ऊ निस्सासिंदै नुहाउने गर्थ्यो । अर्घौतेश्वर महादेवलाई दायाँ पारेर घुम्दै ऊ घर पुग्यो ।
सुम्निमा र सुहाङ दुवै थिएनन् । आमाको कोठातिर हेर्यो । मोबाइलमै रमाउँदै थिइन् । उसलाई देख्नासाथ भनिन्, “ए ! आइपुगिस् ? ल हिंड्, म खाजा दिन्छु ।”
आमा भान्सातिर लागिन् । ऊ पछि लाग्यो । फ्रिजबाट एक गिलास मोही झिकिन् । भुटेको मकैले थाल भरिन् । दुई चिरा मुला छेउमा राखिदिइन् । उसले सोध्यो, “तपैँले खानुभो त आमा ?”
“अघि दिउँसो गुम्बाँ लास ल्याइरछन् । के खानु र ? अब लगेपछि खाऊँला ।”
ऊ केही नबोली मकै खान थाल्यो । सँगैको मेचमा बस्दै मोबाइल खोलेर देखाउँदै आमाले भनिन्, “हेर् त, बाबु । कति राम्रा गाई ।”
उसले आमाको मोबाइलतिर हेर्यो । त्यही भिडिओ थियो जुन आमाले फेसबूकमा पोस्ट गरेकी थिइन् । भन्यो, “दिउँसै देखें, आमा ! बाच्छाबाच्छी रैछन् ।”
“काँबाट बाच्छाबाच्छी हुनु । यी सप्पै हुर्किसकेका हुन्,” आमा पूर्णिमाको जूनजस्तो अनुहार बनाएर उत्साहित भइन् ।
आमाका कुराले उसका पनि कान ठाडा भए । चासो दिएर आमाको हातबाट मोबाइल लियो र हेर्न थाल्यो । डेढदुई फीट उचाइका थुप्रै गाईहरू थिए । कृषि वैज्ञानिकहरूले नयाँ नस्ल विकास गरेका रहेछन् । भारत आन्ध्र प्रदेशको पुङ्गानूरमा विकास भएकाले नस्लको नाम नै पुङ्गानूर राखिएको रहेछ ।
ती साना र छरिता पुङ्गानूर गाईहरू गोठमा नभएर घरभित्रका बैठककोठामा डुलिरहेका थिए । ऊ अचम्म मानेर ती गाईहरू हेर्न लाग्यो ।
“कति रहर लाग्दा है, बाबु ?” आमाले उत्साहित हुँदै भनिन् ।
“घरभित्रै पाल्न मिल्छ रे । गोठ पनि नचाहिने । कुकुर जेमराज पाल्नुभन्दा त यस्ता लक्षिमी पाल्न धेरै जाती । धन्न तिमर्ले मेरो मनपेट बुझेका छौ र आजसम्म कुकुर ल्याका छैनौ,” आमाको उत्साह झन्झन् बढ्दै थियो ।
उसको उत्साह भने स्वाट्टै घट्यो ।
“हेरिराख्, अब सप्पैले कुकुर पाल्न छोडेर यै गाई पाल्न थाल्छन् । आफ्नो कुल र धर्मको ख्याल सप्पैलाई हुन्छ,” आमा भन्दै गइन् ।
“दिनको दुई लिटर दूध पनि दिन्छिन् रे । अरू गाईको भन्दा असाद्धे पोस्टिक पनि हुन्छ रे ।”
ऊ आमाको मनसाय बुझ्दै थियो । केही बेलेन ।
“यति सानालाई पाल्न त केही गाह्रो हुन्न, बाबु ।”
ऊ अझै केही बोलेन ।
“इन्ड्यामा किन्न पनि पाइन्छ रे । ल्याउनपर्यो बाबु एउटी गौमाता,” आमाले मुख फोरेरै भनिन् ।
ऊ अझै बोलेन तर आमा रोकिइनन् ।
“यीँ मेरै कोठाँ एउटा कुनाँ पालम्ला । लागेको खर्च सप्पै मै बेहोर्छु । तेरा बाको आधा पिन्सिन आकै छ । म मरेपछि बाह्रौँमा त्यसैको पुच्छर समातेर मलाई बैतर्नी तार्लास् । पुरेतले दङ्ग परेर लगिहाल्छन् । मन लागे दान नदिएर आफै पाले नि भैगो । आखिर मेरो नि किर्रे त गरिहाल्लास् । बाउको गरेको देखेकै हो ।”
उसको उकुसमुकुस बढ्दै थियो । भन्यो, “त्यस्ता विकासेको पुच्छर समातेर के वैतरणी तरिएला र आमा ?”
“चुप् लाग् ! जे भए नि गाई त गाई नै हो नि । जर्सीका चैँ पूजा नगर्या हुन् र ? फेरि दूध खान पनि त पाइन्छ । प्रद्युम्न पनि दूध खान पाको दिन अन्वारै उज्यालो बनौछ । तैं जस्तो छ । तँ पनि त सानामा दूध नखाँको दिन निन्द्रै लाग्दैन भन्थिस् ।”
“त्यो त हो आमा । तर नयाँ कुरा बुझ्न समय लाग्छ । त्यसका खाने कुरा, औषधिउपचार फरक होलान् । फेरि टाढाको यात्रा गराउन मिल्दैन होला । मिले पनि कसरी ल्याउनु ?” ऊ तर्कले नै आमालाई मनाउने प्रयासमा थियो ।
“मैले तेरो मन बुझ्न मात्रै खोज्या हो । तँ ‘हुन्छ’ मात्रै भन् । बाँकी कुरो म मिलौँछु । भोलेकी आमाले राधे गुरुसँ कुरा गरिसकिन् । … आन्द्रापर्देसै गएर ल्याउँला भन्या छन् गुरुले ।”
आमाले कम्मर कसिसकेकी थिइन् । ऊ अक्क न बक्क भयो ।
एकछिन रोकिएर भन्यो, “त्यसो होइन आमा । भोलि याँ ल्याएपछि हाम्ले पाल्या नमिलेर बिरामी भयो भने ! तेसका डाक्टर कता खोज्नु ? अझ मर्यो नै भने झन् गौहत्या गरेबराबर नै पाप भएन ?” आमालाई सम्झाउने प्रयास गर्यो ।
आमा सम्झन तयार देखिइनन् ।
“मैले त गाई भन्नी देख्दै नदेख्या जस्तो कुरा गर्छ ए ! याँ तेत्रा पशुका डाक्टर छैनन् ? तँ नजन्मँदैदेखि गाईको स्याहार गर्या हुँ । तँलाई था भर हाम्रा गोठाँ कति वटा गाई मरे ? ल भन् ?”
ऊ कालोनीलो भयो । केही बोल्न सकेन ।
“राधे गुरु भोलि ब्यानै इन्ड्या जाँदै छन् । दशौटा गाई ल्याउने जिम्मा लिइसके । पचास हजार ऐले बैना दिन पर्नी । बाँकी एक लाख गाई ल्याएसि दिनी । तँ ऐले मलाई जसरी नि पचास हजार दे । अनि भोलि ब्याङ्काँ हिँड् । मेरो पिन्सिनको पैसो निकालेर तँलाई दिम्ला । भैगो ।”
“हैन यो राधे गुरु भन्ने चैँ को हो फेरि ?” उसले शङ्का गर्यो ।
“यीँ अर्गौत्या पाटीमा आएर बस्या छन् । आको पनि छ मैना भैसक्यो । साह्रै सत्यका गुरु छन्,” आमाको मनमा भने गुरुप्रति कुनै शङ्का देखिएन ।
“ओहो ! त्यो जोगी ? त्यो त सबलाई गाँजा बेचेर बस्छ । अनुहार हेर्दै ठग जस्तो छ । त्यस्तालाई त पैसा दिनहुन्न आमा ! खाएर भाग्छ,” उसले दृढ हुँदै भन्यो ।
“त्यस्ता सिद्ध साधुलाई जथाभाबी बोल्छस् ? खाएर भागेछन् नै भने नि भागून् । मेरो पैसा खाने हुन् । दान गरेको सम्झिऊँला । ‘तपैँको पैसा हो, आफ्नो खुशी गर्नू, हामीलाई चाहिन्न’ भनेकै छौ ! अब त सधैं गाईलाई नढोगी खाँदै खान्न ।”
आमाको गल्ने छाँट देखिएन । ऊ पनि आमाको पैसा “लुटाउने” पक्षमा देखिएन ।
धेरै बेरसम्म आमाछोराको गलफती चलिरह्यो । दुवै टसमस भएनन् ।
बाहिर सुहाङ बोलेको सुनियो । सँगै सानो स्वरमा कुकुर पनि भुकिरहेको थियो । सुहाङ कुकुरको नयाँ छाउरो बोकेर भित्र पस्यो । बाउलाई देखेर खुसी हुँदै चिच्याएर भन्यो, “पापा ! डग ।”
उसले आमाको अनुहारमा हेर्यो । पूर्णिमाको जूनलाई खग्रास ग्रहणले छोपिसकेको थियो ।
सुहाङले उसको काखमा कुकुरको छाउरो राखिदियो । कुकुरले उसको मुख चाट्न थाल्यो ।
आमा जुरुक्क उठिन् र सानो स्वरमा भनिन्, “अब एउटा कालो सुँगुर पनि पाल । बरु स्याहार मै गरौँला ।”
त्यति नै खेर गुम्बामा बजेको लामाबाजाको चर्को आवाज सुनियो । आमा आफ्नो कोठातिर गइन् ।
उसले कुकुर सुम्निमालाई थमाउँदै भन्यो, “खोइ, मेरो एटीएम ल्याइदेऊ त ।”
० ० ०
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।