स्वदेश फर्किने दिन नजिकिंदै थियो सुरजको । जम्मा पचास दिनको छुट्टी ! गर्नुपर्ने धेरै काम र छुट्टीको तालमेल मिलिरहेको थिएन । भेट्नुपर्ने, दिनुपर्ने कामकुरा गनेर साध्यै थिएन ।

त्यसमाथि सम्हाल्नै नसकिने गरी उसको मन आफ्नालाई भेट्न हतारिएको थियो । हतारमा रोमाञ्चित पनि मिसिएको थियो । कारण उसकी नवदुलही ! बिहे गरेको पन्ध्र दिनमै छोडेर आएको थियो दुलहीलाई । मागी विवाह भए पनि दिनरातको फोनको कुराकानीले गर्दा स्मीता र सुरज वर्षौंभरिका प्रेमीप्रेमिमा जत्तिकै भइसकेका थिए ।

के खाली हात जानु भनी सबैको लागि उपहार दिने तरखरमा धेरै शपिङ गर्‍यो उसले । भ्याइनभ्याइ गर्‍यो शपिङ हप्तौं बिताएर । दिदीबहिनी, दाइभाउजू, भाइ भाञ्जाभाञ्जीको माग पनि कहाँ कम थियो र ? कसैलाई मोबाइल चाहियो रे, कसैलाई ज्याकेट, कसैलाई घडी त कसैलाई ल्यापटप । सबैले चाहे अनुरूप नै उपहार किने पनि उसकी श्रीमती स्मीताले भने केही माग गरेकी थिइनन् लाजले हो वा अप्ठ्यारो लागेर हो ।

आफ्नै श्रीमानसँग पनि केको अप्ठ्यारो ? – ऊ मनमनै प्रश्न गर्थ्यो । माग नगरेकैले उसलाई झन् उपहार के लाने भन्ने तनाव भएको थियो । तैपनि उसले स्मीतासँगको कुराकानीका आधारमा उसलाई मन पर्ने थुप्रै सामान किनिसकेको थियो । उपहार भन्दा पनि उपहार स्मीताको हातमा राखिदिए पछिको उसको मुहारमा झल्किने खुशीको कल्पना गर्थ्यो सुरज अनि पुलकित हुन पुग्थ्यो ।

निर्धारित समयमा सुरज स्वदेश फर्कियो ।

परदेश छँदा स–सानो चाडबाडमा पनि घर सम्झेर नोस्ट्याल्जिक हुने ऊ, विवाहपछि श्रीमतीलाई एक्लै छोडेर जानुपर्दा कम्ता भक्कानिएको थिएन । एयरपोर्टबाट बिदाइ हुँदैगर्दा आफूलाई सम्हाल्नै गाह्रो परेको थियो उसलाई । पितृसत्ताको गह्रुँगो भारले अरूका अगाडि आँसु खसाल्न पनि सकस बनाउँदो रहेछ । पहिले पहिले परदेश फर्किंदा कहिल्यै नरोएको ऊ, बिहेपछि स्वास्नीको मायाले परिवर्तन भएको आरोप लाग्ने डर । त्यसैले लगेज चेकजाँच गर्ने ठाउँमा पुगेर यताउता हेर्दै बल्ल उसले रुमालले आफ्ना आँसु पुछेको थियो ।

आज घर फर्किंदा उसको मन त्यसै त्यसै फुरुङ्ग भइरहेको थियो । त्यही एयरर्पोटबाट डिर्पाचर हुँदा सैयौंका आँखा रसाउँछन्, क्रन्दनका स्वरहरू गुञ्जन्छन् । वातावरण निरस लाग्छ । कोलाहलमा पनि सन्नाटा छाउँछ । तर स्वदेश आउने क्रममा अराइभलमा चाहिं आफ्नाहरूको भेटघाटको गज्जबको दृश्य देख्न पाइन्छ । सबैको मुहारमा खुशीको भाव देख्न पाइन्छ । मान्छेको चहलपहल नै बेग्लै किसिमको भए झैं लाग्छ । पर्यटकहरू पनि नेपाल घुम्न पाउँदा भाग्यमानी महसूस गरिरहेका हुन्छन् । पर्यटकलाई रिसिभ गर्ने होटलका कर्मचारीहरूको बाक्लो उपस्थितिले वातावरणलाई थप जीवन्त बनाइरहेका हुन्छन् ।

ऊ सधैं सोच्थ्यो, उसका नयनमा यहाँकै यही सुखद दृश्य मात्र आइरहोस्, आफ्नाहरूसँगको भेटघाटको, मिलनको, मायाको अनि खुशीको । तर तेस्रो मुलुकका जनताहरूलाई यस्तो सपना देख्ने अनुमति कहाँ छ र ? उनीहरूले त खालि रोदनको, बिछोडको, दुःखको गीत मात्र गाउनु परेको छ । गरीबी र अभाव होस् वा सुन्दर भविष्यको कल्पनाले होस्, अथवा देशको बिग्रँदो परिस्थितिले, उनीहरूलाई बारबार एयरर्पोटको डिपार्चरतिरै धकेल्छन् । बिछोडको आँसु जति बगाए पनि पुछिदिने कोही छैनन् । आफ्नाहरूसँग होइन, उनीहरूको यादहरूसँग मात्र बाँच्ने बानी नै परिसकेको छ शायद अधिकांश नेपालीलाई ।

छुट्टिंदा आफ्नी श्रीमतीको अगाडि रुन नसके झैं भेट्दा पनि उसलाई अँगालिहाल्न सकेन । फेरि त्यही समाज तगारो भइदियो । अर्काले के भन्छन् भन्ने संकोचले उसले माया पनि दर्शाउन सकेन । बुबाआमा दिदीबहिनीका अगाडि कसोकसो धौ लाग्यो उसलाई ।

“जसरी भएपनि एयरर्पोट आऊ है, सबैभन्दा पहिले तिमीलाई नै हेर्न मन छ ।” हप्तौंदेखि ऊसँग सुरजले यही वाक्य दोहोर्‍याउने गरेको थियो भिडियो कलमा । स्मीता पनि के कम, भाउ खोज्न केही कसर बाँकी राख्दैन थिई । सुरजलाई जत्तिकै उसलाई पनि एकअर्कालाई भेट्ने हतारो थियो तर थरीथरीका बहाना बनाउन ऊ पनि सिपालु थिई । जति नै बहाना बनाए पनि दुई वर्षपछिको भेटलाई सार्थक बनाउन ऊ पनि लालायित नै थिई । तर जब भेट भयो प्रेमले हार्‍यो, लाज र संकोच नै जीत भयो ।

घर पुगेर शुरू भयो उपहारको सिलसिला । दिनरात बडो मिहेनत गरेर खरिद गरिएका उपहारहरू सुरजले ज–जसलाई ल्याएको थियो उनीहरूको हतमा सप्रेम राखिदियो । घरमा जम्मा भएका सबैले केही न केही पाए पनि खुशी भने उनीहरूको मुहारमा त्यति झल्किएन जति सुरजले सोचेको थियो । सुटकेशभरिका सामान घरका प्रत्येक जनालाई एउटा एउटा दिंदा सुटकेश एकैछिनमा रित्तियो । ऊ आफैंलाई पनि उपहार कम पो ल्याएँ भन्ने नै पर्यो । उताबाट हिंड्दा तौल बढी होला भनेर ऊ निकै सर्तक थियो । ल्याउन मिल्ने जत्तिको नै उसको लगेज थियो । ह्यान्ड क्यारी पनि चाहिने जत्तिकै तौलको थियो ।

चाहेर पनि उसले त्यसभन्दा बढी सामान ल्याउन मिल्ने थिएन । हो, उसले आफूलाई चाहिने सामान पनि प्रशस्त ल्याएको थियो । आखिर उसलाई पनि स्मीताको अगाडि ह्यान्डसम बनेर नै हिंड्न मन थियो उसको नेपाल बसाइँभरि । एउटा मात्र मोबाइल ल्याउन मिल्ने भएकोले उसले आमाको लागि भनेर ल्याएको थियो । आमाको हातमा उसले मोबाइल राखेको मात्रै के थियो ११ वर्षको भान्जाको रुवाइ शुरू भइहाल्यो । उसलाई मोबाइल चाहिएको थियो भनेर मेसेज पनि गरेको थियो । एउटा जाबो मोबाइल त भिनाजुले सजिलै किनिदिन सक्थे तर त्यसो भएन ।

“तँलाई भनेको थियो रे यसले एउटा मोबाइल ल्याइदिनु भनेर ।” भान्जालाई दिदीले सम्झाउलिन् भनेर बसेको सुरजको मन भाँच्चियो दिदीको वाक्याशंले । के गर्ने योजना के भयो ! चिटचिट पसिना बग्न थाल्यो । स्थिति प्रतिकुल हुन लागेको आभास हुनेबित्तिकै आमाले त्यो मोबाइल नातिलाई दिइहालिन् । भान्जाको रुवइ बन्द भए पनि सुरजको आत्मा भने रुन थाल्यो । कति प्रेमले उसले आमालाई त्यो मोबाइल ल्याएको थियो । आमाको आफ्नै मोबाइल भएपछि उहाँसँग कुरा गर्न उसलाई सजिलो हुनेथियो । आमासँग कुरा गर्न मन लाग्दा बुबाको फोनमै गर्नुपर्थ्यो जुन उसलाई सारै संकोच लाग्थ्यो । स्वतन्त्रतापूर्वक आमासँग कुरा गर्न पाइने एकाएक सेलाउँदै लग्यो परिस्थितिले । उसको त्यो सपना चकनाचुर हुँदै गयो भान्जाको जिद्दी र दिदीको लापरबाहीले गर्दा ।

अरू उपहार पनि ज–जसलाई जे ल्याइदिएको हो उनीहरूलाई मन परेन रे । कोही अरूसँग कलर साट्न थाले । कसैले सामान हातमा उठाउन त के होला वास्तासम्म गरेनन् । शायद उनीहरूले बहुमूल्य उपहारको अपेक्षा गरेका थिए । हुन पनि किन्दाखेरि समय र पैसा जोहो गर्न गाह्रो भए पनि लिनेलाई अहिले हातमा पर्दा केही न केहीको सामान्य चीज मात्र हुने रहेछन् । उपहार सानो भए पनि कृतज्ञता ठूलो कुरा हो । माया र सम्झना ठूलो कुरा हो । बुझ्नु पर्नेले बुझिदिंदैनन् । आफूलाई पर्दा चाहिं त्यही कुरा पहाड लाग्छन् । अरूको ठाउँमा आफूलाई राखेर कसले बुझिदिने ?

अलि टाढाबाट यो सब नियालिरहेकी स्मीताले भने सुरजको मनोविज्ञान बुझिसकेकी थिई ।  सुरज आउने तयारी गरिरहँदा हरेक दिन भिडियो कलमा कसै न कसैका लागि सामान किनिएको उसले सुनिरहेकी हुन्थी । उसको प्रेम, पैसा र समयको कसैले कदर गरे जस्तो उसलाई पनि लागेन । सबैलाई सुरजसँग अलि धेरै कुरा अनि अलि विशेष कुराको अपेक्षा रहेछ । कस्तो अचम्म ! परदेशमा एक्लै हड्डी घोटिरहँदा उसलाई एक कल वा “के छ  ?” भनेर मेसेजसम्म गर्न फुर्सदै नहुने आफन्तहरूलाई उपहार चाहिं रोजेकै चाहिने । तर त्यही आफन्तको भीडमा कसैले उसकी स्वास्नीलाई चाहिं के ल्याइदियो भनेर प्रश्न सोध्नसम्म सम्झेनन् ।

दिनभरिको शारीरिक र मानसिक थकानले चुर भएर कोठामा छिर्दा सुरजको हालत खराब भइसकेको थियो । उसले स्मीतालाई ल्याइदिएको उपहार पनि बिर्सियो ।

भोलिपल्ट पो त उसलाई आफ्नो गल्ती महसूस भयो । बिहान उठ्ने बित्तिकै स्मीताको हातमा उसले सबै उपहार राखिदियो । मुखले चाहिंदैन भने पनि उपहार देखेपछि उसका मुहारमा खुशीका लहर दोडिन थालिहाले । एउटा छुट्टै सुन्दर झोलामा उसले स्मीताको लागि कस्मेटिक्सका सामान, ह्यान्डब्याग, सुगन्धित परफ्युम, टिसर्टहरू ल्याएको थियो । उपहार भन्दा पनि आफूलाई सम्झिदिएकोमा ऊ अझ धन्य भई ।

खाना खाएर उनीहरू पारिवारिक माहौलमा गफिंदै के थिए, सुरज आएको थाहा पाएर ठुलोबुवा, ठुलोमुवा भेट्न आउनु भएछ । आफैं भेट्न जाने उसको इच्छा थियो तर उहाँहरू आफैं आउनुभएछ । परिवारमा अझ धेरै खुशी छायो । फेरि कुरा आयो उपहारकै । उसले ठुलोबुवा-आमालाई पनि सम्झिएर उपहार किनेको थियो । त्यो पाएर दुवैजना खुशी नै हुनुभयो ।

एवं प्रकारले दिन बित्दै गयो । आफन्त भेटघाटको क्रम यति बाक्लिएको थियो कि आफ्नै लागि समय भएन उनीहरूसँग । त्यसमाथि यो साल उसलाई ससुरालीपट्टि पनि भार थपियो । सबैसँग भेटघाट गर्नै पर्‍यो । खाली हात जाने कुरा भएन । आफूले परदेशबाट आउँदा सबैको सम्झना उसलाई पटक्कै भएन । कामको चटारोले गर्दा बसेर सोच्ने समय पनि थिएन । स्मीताले आफ्नै लागि त केही माग गरिन भने उसको आमाबाबुको लागि गर्ने प्रश्न नै आएन । नयाँनयाँ ज्वाइँ पहिलोपल्ट स्वदेश फर्किंदा केही विशेष त दिनैपर्थ्यो । त्यसैले राम्रो सामान काठमाडौंमै किनेर दिने विचार गर्‍यो ।

यो क्रम यत्तिकैमा कहाँ रोकियो र ? मामामाइजू, सानीआमा, ठूलीआमा, फुपूफुपाजु, उनीहरूका छोराछोरीहरू सबैलाई केही दिनै पर्‍यो  । छैन भनेर टक्टकिन पनि भएन । सबैले उपहारको माला जपी आउँछन् घर र ऊ आफै पनि उपहार नदिई नसक्ने थियो ।

हुन त ऊ माया पोखिरहने मान्छे हो । सबैको लागि माया, समय र साथ उसमा प्रशस्तै थियो । यो उसको विशेषता भनौं या कमजोर । दिदीबहिनी भनेपछि ऊ पहिलेदेखि नै भुतुक्क हुने गर्थ्यो । जसलाई पनि मद्दत गर्न तत्पर भइहाल्थ्यो । उनीहरूका जाँच पर्दा उसले नै मोटरसाइकलमा राखेर पुर्‍याउने, ल्याउने गर्दथ्यो । गाडी किनेपछि पनि सानीआमा ठुलीआमा सबैलाई राखेर मन्दिर दर्शन गर्न पनि लगेकै हो । अहिले पनि उहाँहरूलाई के दिऊँ के दिऊँ भयो । ल्याएका उपहारहरू रित्तिसकेका थिए ।

उसले आमासँग सल्लाह गरेर परिवारका सबै महिला सदस्यहरूको लागि साडी, कुर्ता सुरुवाल किनिदियो । उनीहरूलाई  घरमै खाना खान बोलायो । एक जोर कुर्ता सुरुवाल मात्र दिंदा कम भए जस्तै आभास भयो । अब अरू फेरि के दिनु ? ऊ सोच्दै थियो  स्मीताले आफूलाई ल्याइएको कस्मेटिक्सबाट मेक अपका सामानहरू दिनलाई सुझाई । श्रीमतीलाई बडो प्रेमले किनेका सामान उसलाई दिन मन थिएन तर बाध्यता यस्तै पर्‍यो । यसैगरी घरमा आएका पाहुनाहरूलाई स–साना उपहार गर्दागर्दै उसले मनन गर्‍यो कि स्मीतालाई ल्याइएका उपहारको झोला पनि उसले प्रयोग गर्न नपाउँदै रित्तिसकेका थिए ।

अब उता फर्केर स्मीताको लागि छिट्टै विशेष उपहार र आमाको लागि मोबाइल किनिहाल्ने मनस्थितिमा ऊ पुगेको थियो । कति छिटो फर्किने बेला पनि भइसकेछ । पचास दिनको छुट्टी पचास मिनेटमा नै सकिएझैं लाग्यो उसलाई । न त उसले आफ्नी श्रीमतीसँग राम्रो समय बिताउन पायो न त परिवारका अरू सदस्यको मन नै राखिदिन सक्यो । सबैको आँखामा श्रीमतीले गर्दा परिवर्तन भयो भनेर धब्बा लागिछाड्यो जबकि स्मीता यस कुरामा निर्दोष थिई ।

आफूले कत्रो दुःखले कमाएको पैसाले  किनेको उपहारको अवमूल्यन भएको आफ्नै आँखाले देखेकै हो उसले । अब बिस्तारै कुराहरू सुन्न पनि थालेको छ । उसको पछाडि उसको उपहारको खिल्ली उडाइँदो रहेछ । उसले ल्याइदिएका ज्याकेट, टिसर्टहरू फीट भएनन् रे अनि अरूलाई नै दिएको रे ! साडी अनि कुर्तासुरुवाल सस्ता भए रे, एकैचोटिमा रङ खुइलियो रे । कुनै सामान ड्यामेज पर्‍यो रे । लिपस्टिकका रङ मन परेन रे आदि आदि । यस्ता कुराहरूले उसको मन भरिएको छ । सामान मन परेनन् त के भयो, उसको परिवार र आफन्तप्रतिको प्रेमको त कदर हुनुपर्थ्यो तर भएन । गरीब देशका बेरोजगार जनताको पनि कति धेरै माग ! उसले त आफू हुर्किएर विवाह हुँदासम्म आफन्त र परिवारका कुनै सदस्यबाट एउटा पनि उपहार पाएको छैन । न त कसैबाट चियाखाजा खाने निमन्त्रणा नै ।

यतिसम्म कि पाहुनालाई गाडीमा राखेर ड्रप गर्नजाँदा चिया खाएर जाऔं सम्म भन्न कसैले सकेनन् । आफ्नो छोरो, भान्जो, भतिजोलाई एक कप चिया पिलाउन नसक्नेले उल्टै उसले दिएको उपहारको अवमूल्यन गर्दा उसको चित्त नदुखोस् पनि कसरी ?

आफ्नै मातृभुमीमा बस्ने मन कसलाई नहुँदो हो ! मनभरि घरको माया हुँदाहुँदै उसले फेरि परदेशिनु परेको छ । यहीं बसेर केही गर्ने वातावरण नै छैन । खर्च गर्नेबाहेक आम्दानी गर्ने बाटाहरू छैनन् । जसलाई हेर्‍यो आफैमाथि आश गरेर बसेको देख्छ ऊ । उपहारका पनि स्तर तोकिएका छन् । सबैलाई राम्रो अनि महँगो नै उपहार चाहिएको छ । जुन अनुपातमा काठमाडौं बसाइको खर्च छ, त्यसलाई पूरा गर्ने आम्दानीका स्रोतहरू शून्य छन् यहाँ । महँगीले आकाश छोएको छ । सम्बन्धहरू पहिले जस्तै कसिला छैनन् । बिस्तारै सम्बन्धका परिभाषाहरू परिवर्तन हुँदैछन् ।

सम्बन्धको गहिराइ मायाप्रेमले, सहयोग र सद्भावले होइन, पैसाका मुठाले निर्धारण गर्ने भइसकेको छ । सबैमा स्वार्थ हाबी छ । यति विरक्ति त उसलाई परदेशमा एकोहोरो काम गर्नुपर्दा पनि हुँदैनथ्यो जति उसलाई आफ्नै धर्तीमा टेकेर भइरहेको छ । जुन आफन्तहरूसँगको भेटघाट, मायाप्रेम, चाडबाडहरू सम्झेर ऊ तड्पिन्थ्यो त्यो त बेकार रहेछ । आफ्नो छुट्टी बढाएर यतै काम गर्ने वातावरण बनाउने वा उतै फर्किएर आफ्नो श्रीमती आमाबुवालाई पनि झिकाउने भन्ने दुविधा थियो उसको मनमा । अब त्यो सकिएको छ । आफ्ना आमाबुवा र श्रीमतीलाई उतै बोलाएर बाँकी जिन्दगी उनीहरूका साथ बाँच्ने मनोकाङ्क्षा बढ्दैछ उसको ।