महिनावारी भात खाने ठाउँ । शनिवार । खाना त खाइन्छ बिहानको चिया पनि खाइहेरूँ न त भनेर पसेको छु । साहुनी मोबाइलमा भनिरहेकी छ, ‘मोना त मेरी दिदी नि । उसलाई कसले सक्ने ? उल्ले त जे पनि गर्न सक्छे । बाबाले अरूलाई भन्दा उसलाई बढी गर्नुहुन्थ्यो । मोनाको भर छैन है ! तर उसैले यस्तो गर्ली भन्ने कसैको मनमा थिएन । बाबा त गइहाल्नुभो, देख्नसुन्न परेन ।’
साहुनीको कुरा सुनिरहूँ जस्तो भइहाल्यो । मेरी पनि एउटी दिदी छिन् । तर कता छिन् मलाई थाहा छैन अहिलेसम्म । आसामतिरको केटोसँग बिहे गरिदिएको हो । तर मोनाले केही समस्या खडा गरेजस्तो थियो । साहुनीका कुराले त्यही झल्किरहेथ्यो । फोन राखेपछि सोध्नुपर्ला । साहुनीले अन्तिम वाक्यमा यो भनी, ‘मोनाको केही भर छैन ।’
मोना निकै बोल्ड थिई जस्तो लाग्यो तर अहिले यो निष्कर्ष टिकाउ नहुन पनि सक्छ । पहिले साहुनीसँग सोधूँ, मोनाबारे । साहुनीको घाँटी पनि खसखसाइरहेको हुनसक्छ – मोनाको बारे विस्तारमा कुरा गर्न । यो मेरो अनुमान हो, नहुन पनि सक्छ । ‘उसो भए त्यता के भइरहेछ थाहा दिने गर्नोस् है !’ यति भनेर साहुनीले फोन राखी ।
मोना साहुनीको दिदी हो भने कुन उमेरकी हो ? साहुनीले भनी, ‘हामी जुम्ल्याहा, पाँच मिनेटपछि म जन्मेको हुनाले ऊ दिदी म बहिनी ।’ उसो भए साहुनी जत्तिकै मोनाको उमेर होला । साहुनी यही पच्चीस–छब्बिसकी लाग्थी । उमेर बढाएर मैले सोचिन । सोच्न सक्थें– साहुनी पच्चीस–तीसकी होली । उमेर नबढाएर सोच्नुको कारण यो थियो– साहुनी कलिलो उमेरकी लाग्थी । राम्री पनि थिई हिरोइन जस्ती ।
म महिनावारी खाना खान आकर्षित भएको यो एउटा कारण हुन सक्थ्यो । तर उसको होटेल अलि कुनामा पर्थ्यो । तैपनि म यहाँ आएँ । उसको लोग्ने हाम्रै कार्यालयमा सहायक थियो । बाहिरबाट आएका कर्मचारीहरूलाई त्यतै खाइदिन अनुनय—विनय गर्थ्यो । भन्थ्यो— ‘सर मेरो होटेलमा खाइदिनोस् । दुई पैसा भए पनि मलाई हुन्छ । म स्टाफ नै त हुँ सर ।’
त्यसपछि साहुनीलाई देखेपछि बाहिरबाट आएको कर्मचारी अन्यत्र जाँदैनथ्यो ।
यो मोनाको कथा थियो यद्यपि मोना देखिएकी थिइन । मोना अदृश्य थिई तर साहुनी उसको कुरा निस्केपछि फुरुङ्ग हुँदिरहिछ । मैले पनि मौका छोपेर भनिहालें, ‘यो मोना अहिले कहाँ छे साउनी ?’
मेरो उत्सुकता देखेर साहुनीले भनी यद्यपि साहुनी उसको उमेर र जीउडाल हेरी साहुनी सम्बोधन अलि गह्रुँगो लाग्थ्यो ।
साहुनीले भनी, ‘खै के थाहा ?’
थाहा नहुनु अलि रहस्यमय लाग्यो ।
‘तर तपाईंले त उसलाई बुवाले असाद्धे पुलपुल्याएर पाले जस्तो गरी कुरा गर्नु हुँदै थियो फोनमा ?’
‘त्यसैको परिणामको कुरा गर्दै थिएँ नि त म ।’
‘तर एउटा कुरा के साहुनी, उसको नाम मुना भए राम्रो सुनिने थियो, हैन ?’
साहुनी एकछिन घोत्लिई, मेरो बसेको कोणबाट हेर्दा ऊ अझ राम्री देखिई । तर मैले यो सोध्न सक्दिनथेँ, ‘साहुनी के मोना तपाईं जत्तिकै सुन्दर थिई ?’ यस प्रश्नले अर्कै आशय दिन सक्थ्यो । मोना सुन्दर त थिई नै होला तर प्रकारान्तरले साहुनीलाई राम्री छौ भनेर फुर्काएजस्तो पनि हुने थियो । एक अधिकृत स्तरको व्यक्तिले त्यस्तो भन्नु स्वाभाविक देखिएन, शंकास्पद हुन सक्थ्यो ।
उसमाथि साहुनी आफ्नै कार्यालयको सहायककी पत्नी । धर्म संकट थियो । साहुनीको सुन्दर रूपले बेलाबेला मलाई उसको सुन्दरताको तारिफ गर्न उमाल्न खोज्थ्यो जसलाई म बलजफती दबाएर राख्न विवश थिएँ ।
भनी, ‘अहिले यता आएर थाहा भयो मुना नाम उसको हुनुपर्ने रहेछ । तर बाबा जो थिए उनी इन्डियन आर्मीबाट रिटायर्ड भएका हवलदार थिए । त्यसको के भने इन्डियातिर मोना भन्ने बढी चल्दो रहेछ । म त नेपालमै जन्मेको ।’
‘त्यसो भए मोना इन्डियामै जन्मेकी हो ।’
साउनीले उत्तरमा भनी, ‘इन्डियामै जन्मेको भए पनि ऊ नेपालमै हुर्केबढेकी हो । पढेकी पनि यहीं हो । डिप्लोमा गरेकी पनि हो । तर…।’
तरपछि साहुनी मौन भई । शनिवारको दिन थियो र म जस्तै महिनावारी खाना खान आउनेहरू ढिलै आउने थिए । तरपछि साहुनी अलि गम्भीर भई । उसको अनुहार अलि उदास भयो । तर भित्री कुरा लुकाउनु पर्ने हुनाले उसले तरपछि अरू कुरा थपिन ।
‘अनि बिहे पनि त नेपालमै भयो होला ।’
‘त्यो त हुने कुरै भो ।’ साहुनी कस्तो बेकुफ प्रश्न गरेको भन्ने आशय जनाउन फिस्स हाँसी ।
‘केटी यहीँ हुर्कीबढी भनेपछि उसको बिहे यहीँ हुने भएन र ?’ साहुनीले प्रश्न उल्टै मतिर तेर्स्याई ।
‘तपाईंको पनि बिहे यतै भएको होला ?’
‘धत् ! यो पनि सोध्ने हो ? मेरा श्रीमान् त तपाईंकै कार्यालयमा काम गर्नुहुन्छ भनेपछि….।’
त्यसमा प्रश्नोत्तर हुन सक्तैनथ्यो ।
‘बाबा अहिले कहाँ हुनुहुन्छ ? तपाईंको माइत कहाँ हो ?’
‘बाबा अहिले माथि गइसक्नुभो ।’ साहुनीले पुष्ट गोरो चोर औंलोले माथितिर देखाई । पोटिलो गोरो चोर औंलामा चाँदीमा मोतीको ठिक्कको दाना जडिएको अत्यन्त सुहाइरहेको औंठी थियो । औंठी साहुनीको पोटिलो गोरो औँलाका कारण गौरवान्वित थियो । नङमा धपक्क बल्ने तर मृदु रङको रातो नेलपालिस थियो ।
‘बाबा नै नभएपछि माइतको के कुरा ?’
‘दाइभाइ त हुँदा हुन् ?’
‘यो इन्टरभ्युको के फाइदा ? तपाईं मलाई सुहाउँदो जागीर लगाइदिनुहुन्छ ?’ यति भनेर साहुनी खितित्त हाँसी । हाँस्दा भन्न सकिन्थ्यो, साहुनी झन् राम्री देखिई ।
‘मोनाको के भएको हो नि ?’ मैले सोधेँ ।
‘के कुरा ?’ साहुनी काउन्टरपछाडि थिई, टाउको उठाएर मतिर हेरी ।
‘त्यै, मोनाले त्यसो गर्न नहुने भन्दै हुनुहुन्थ्यो नि अगि फोनमा ।’
‘एउटा कुरा के सर,’ उसको लोग्नेको सम्बोधनको देखासिकी उसले पनि मलाई ‘सर’ नै भन्थी । सरको सम्बोधनले म अलि खस्कन्थेँ । उमेरमा केही वर्ष अरू थपिएझैं हुन्थ्यो । खान बसेको भए पनि काम गर्ने केटोलाई अराउँथी, ‘ए सरलाई खाना थप् । मासुको रस ? दाल ?’
मलाई अनौठो लाग्थ्यो, साहुनीले सर भनेर सम्बोधन गर्दा । कममा पनि मेरो नाम लिएर सम्बोधन गर्न सक्थी । म अलि अझ तन्नेरीपन अनुभव गर्ने थिएँ होला । मैले यो पनि भनिन, ‘मेरो नाम कोमल हो साहुनी । यसै नामले बोलाउँदा हुन्छ साहुनी ।’ तर एउटा स्मरणीय कुरो यो थियो, मैले अझैसम्म साहुनीको नाम सोधेको थिइन । होटेलको नाम त थियो ‘सनम होटेल’ ।
के साहुनीको नाम सनम हो ? उसको नाममा होटेल स्थापना गरिएको हो ? सनम नाम पनि ठीकै हो । नाम अझ मधुरो हुन सक्थ्यो, तर भएन । पक्कै पनि यो साहुनीको न्वारनको नाम हुन सक्दैन । हवलदार बाउले राखिदिएको बोलाउने नाम हुन सक्छ— सनम । ‘सनम तेरी कसम….’ हवलदार यो गीतबाट प्रभावित हुनसक्छ ।
‘मोनाको के भएको भन्नु नि सर, ऊ पढ्दापढ्दै पोइल हिंडी । बाबा कति रुनुभो । आमा त हामी जन्मेको केही समयपछि बित्नुभएको हो । के गर्ने अभागी रहेछौं ।’
साहुनीले थपी, ‘बाबा पनि उसकै पीरले जानुभो, के के न बनाउँछु भनेकी छरीले नै यसो गरी भनेर । बाबाको पेन्सनको जम्मै रकम बाबाको इलाजमा खर्च भयो । अहिले न पेन्सन छ न बाबा । किस्मतको कुरा । छोरोले त्यसो थगरेको भए अर्के कुरा हुने थियो । बुहारी भित्रिई भनेर बाबाले चित्त बुझाउने कुरा पर्थ्यो होला ।’
साहुनीले थप्न खोजेको अर्को कुरो याचे थियो होला, ‘छोरा र छोरीमा फरक यही छ ।’ पुरानो मान्यता कति दोहोर्याउनु सोची होला ।
मलाई झड्का लाग्यो । मोना पोइल हिंडी भने साहुनी के टिक्ली ? मनमा कुतकुती भए पनि मैले केही भनिन । तर यो मेरो सरोकारको विषय थिएन ।
‘तपाईंका कति वटा छन् सन्तान ?’ मैले मोना पोइल हिंड्नुको सन्दर्भ टिकाएर उसको सन्तान हुनु नहुनुको प्रश्न उठाएको लाग्न सक्थ्यो । तर उसले त्यसतिर ध्यान दिइन । लागेको हुँदो हो, यो प्रश्न सबैले सोध्छन्, आशय जे भए पनि ।
साहुनीले उज्यालो मुख लगाएर भनी, ‘एउटा छ । ऊ यता देखा पर्दैन । काकाको घरमा बसेर पढ्छ । खर्च हामी भर्छौं । हामीले नै भनेका छौं यता होटेलमा नआइज । अनेक थरी मानिस आउँछन् । दारुपानी, झैझगडा । होटेल थापेपछि सहनैपर्ने रहेछ, सर । सरले कत्तिको पिउनुहुन्छ ?’
म झसङ्ग भएँ । तर यो भन्न सकिन— छोराकी आमा जस्ती त लाग्नुहुन्न यद्यपि साहुनीको एउटा मात्र छोरो थियो । एउटाले स्त्रीको रूप खुइल्याउने र जीउडाल खुकुल्याउन सक्दैन कि ?
साहुनीको मान्यतामा म पनि पिउनेमा पर्दो रहेछु । तर मैले हाँस्दै भनें, ‘साहुनी म पिउँदिन । अहिलेसम्म रक्सी छोएको छैन । तर हेर्नोस्, त्यस्तै परेमा पिउने काम सिक्न सकिन्छ ।’
साहुनीले मेरा कुरातिर ध्यान दिइन । आशय समात्नतिर पनि लागिन । तर मोनाको प्रसङ्ग अझै सकिएको थिएन । मैले दारुपानीका कुरा पन्छाएर सोधें, ‘अनि अहिले मोनाले के गरिछ त ? त्यस्तो के चिन्ता पर्यो तपाईंलाई ?’
‘चिन्ता के हुनु ? आफ्नै जुम्ल्याहा दिदी । उसले गरेको कर्तुतले हामी पनि लज्जित हुन सक्छौं नि सर ।’
साहुनी इज्जतदार देखिई ।
‘के गरिछ त्यस्तो ?’ मैले तैपनि सोधें । साहुनीले आवाज अलि तल झारी तर मैले सुन्ने गरी भनी, ‘फेरि पोइल हिंडिछ ।’
साहुनी थोरै हाँसी । मोना मेरा आँखाअगाडि पटाक्षेप भई । कथा सकियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।