
म झसङ्ग बिउँझें । कसैले हामीलाई बोलाउँदै ढोका ढकढक गरिरहेका रहेछन् ।
“मनोहर भैया ! ए मनोहर भैया !! उठियौ हौ !”
नवनीतको स्वर रहेछ । नवलकिशोर शाहको ठूलो छोरो हो नवनीत । इनरुवा क्याम्पसमा बीबीएस पढ्छ । भलादमी छ । कुनै जटिल काम नपरी मध्यरातमा उठ्न भनेर यसरी मलाई बोलाउनु नपर्ने हो ।
“कथि भेलै ? रुक् । उठैछियौ ..। हेहे …। कथिके हल्ला छिये राइतबिराइत ?” यसो भन्दै म उठें ।
सर्वत्र निस्पट्ट अँध्यारो थियो । वातावरणमा अनौठो कडा गन्ध फैलिएको रहेछ । यस्तो गन्ध एकदम धमिलो बाढी आउँदा मात्र फैलन्थ्यो । हडबडाउँदै झूल पन्छाएर म ओछ्यानबाट फुत्त निस्कें । भुइँमा टेक्ता त पानीमा छप्लङ्ग !
स्विच अन गरें, बिजुली अगि नै गइसकेको रहेछ । सिरानीमुनि छामछुम गर्दा टर्चलाइट भेटें । टर्चलाइट बालेर हेरें – भुइँमा पानी टिलपिल थियो । थालबटुका र भाँडाकुँडा पौडी खेलिरहेका थिए ।
म चिच्याएँ– “सुहानी ! बाइढ येलै ! बाइढ !”
सुहानी बुरुक्क उफ्री । उसले केही नबोली मनोजलाई पातलो कपडामा गुटुमुटु पारेर छातीमा च्यापी । मैले हडबड गर्दै भए पनि दराज खोलेर जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणपत्र, अरू महत्त्वपूर्ण कागजात, नगद रुपियाँ आदि भएको सानो बक्सा बोकिहालें । खै कसरी हो, आपतमा यिनको रक्षा गर्नुपर्छ भन्ने होश आएछ । केही कपडा पनि बोकिहालें ।
“जल्दी बाहर निकलू !” ढोकामा आइसकेपछि भित्र टर्चलाइटको उज्यालो घुमाउँदै मैले सुहानीलाई कराएँ । पसलमा नअटाउने भएकाले यस कोठाको कुनामा चामलका बोरा, साबुनका कार्टन र अनेक सामान थिए, सबै भिजेका रहेछन् । सबै बर्बाद भएको थियो ।
हामी ओसरामा निस्क्यौँ । दुचुलियामा समेत पानी पस्न थालेको रहेछ । टर्चको उज्यालामा चुलियामाथि राखेका भाँडा र तिनमाथि गोरहन्डी र चिपरी मिलाएर राखेका देखिए ।
गोरहन्डी र चिपरी निकै अग्लो ठाउँमा हुनाले भिज्ने डर थिएन । कुनै कारणवश ती भिजिहाले भने भोलिदेखि खाना पकाउने कुनै उपाय छैन, मैले सोचेँ ।
गोरहन्डीमाथि बसेका हाँस र कुखुरा हाम्रो बेमौकाको चहलपहलले बिच्केर होला, फ्याटफ्याट गर्दै थिए ।
म निहुरिँदै ओसराबाट आँगनमा ओर्लें । सुहानी पनि ओसराको होचो छानामा टाउको नठोक्कियोस् भनेर मैले जस्तै गरी निहुरेर तल ओर्ली । आँगनमा त पानी झन्नै कम्मर–कम्मर रहेछ ।
ओसराको डिलको लिउन गलेर उप्कँदै थियो सायद । हिजोदेखि परेको पानी अझै झमझम परिरहेकै थियो । सुहानी स्याँस्याँ गर्दै थिई ।
नवनीतसँग टोलका अरू दुई जना केटाहरू पनि आएका रहेछन् । सगुनलाल र सन्तलाल । तीनै जना भित्र पसे । जो सकेको लुगाफाटो टाउकामा राखेर ती तुरुन्तै निस्के ।
“हँ ! कोसी ! बाँध फुटलै ! जल्दी भागू !!” म जोडले कराएँ । बाढीको पानीको गन्धबाटै स्पष्ट भयो, कोसी फुटेकै हो । अब के हुने हो भन्ने त्रासले मेरा हात–गोडा काम्न थाले । सुहानी क्वाँक्वाँ रुन थाली ।
पानी दर्किरहेको थियो । हामी अनुमानको भरमा हिंड्दै थियौं । सडक छाडेर नालातिर लागे डुबिन्थ्यो । अब कसो गर्ने हो र कहाँ जाने हो भन्ने गुन्दै थिएँ म ।
मैले सुहानीलाई कराएँ, “ऐठम निक जकाँ पकडू ।”
सुहानीले रुँदैरुँदै मेरो पाखुरामा एक हातले दरो गरी पक्री । हामी बिस्तारै पानी बगेको दिशामा हिँड्यौँ ।
सहजै नवलकिशोर शाहको घरमा पुग्न सफल भयौँ हामी । त्यही मात्र त हो पक्की घर गाउँभरिमा । यो घर अलि उच्च जमीनमा बनाइएको थियो । घरघडेरीका वरिपरि बलियो कम्पाउन्ड वाल थियो ।
हामी पुग्दा त्यहाँ गाउँभरिका मानिस भेला भएका थिए । कल्लू मोची, बन्ठा कोइरी, पन्नालाल चौधरी, पण्डित भवनाथ शर्मा, खुलना माझी अनि हाम्रा र अरू सबैका परिवार एकै ठाउँ भेला भएर बसेका थिए । हाम्रा माई–बाप र भाइहरूका परिवार पनि आइसकेका रहेछन् । रामभरोस शाह, सर्वेश्वरनाथ महतो र तपनकुमार रायको घरका मानिस सबैभन्दा पछि आइपुगे ।
नवलकिशोर आफैँ हातमा बिजुली–लालटेन बोकेर सबैलाई बस्न पुग्दो ठाउँ छ–छैन घुमीघुमी हेरिरहेका थिए । गाउँलेले आफूसँग बोकेर ल्याएका कागजपत्र र बहुमूल्य सामानका पोका उनी आफैँले जिम्मा लिएर दराजमा थुने ।
उनले सान्त्वना दिँदै सबैलाई भने, “अगर जियैके रहते त सब साथे जिवैत । मरेके हेतै त सब साथे मरवै । कथिला चिन्ता करैछियै ?”
“मालिक ! हब सब बैच जेवै ?” रामभरोस बूढो सबैभन्दा डराएको थियो । ऊ सुँक्कसुँक्क गर्न थाल्यो ।
“देखी, सब के एक दिन मरैये के छै । आई नहियो मरवै तहियो ।” नवलकिशोर अत्यन्त भावुक भएका थिए ।
रामभरोस नवलकिशोरका गोडामा आएर बस्यो । खुलना माझी खैनी पड्काएर धुलो उडाउन थाल्यो । सुर्तीको खारले छतको छेउमा उभिएको तपनकुमार हाच्छिउँ गर्न थाल्यो । भुइँमा टुक्रुक्क बसेका स्त्रीजातिले सारीको सप्को तानेर मुख छोपे ।
रामभरोस जुरुक्क उठ्यो । ऊ परिस्थितिको आँकलन गर्न छतको छेउसम्म पुग्यो । डरले उसका आँखा एकदम ठूला र रसिला देखिएका थिए ।
कम्पाउन्ड वाल एकदम चौडा, अग्लो र बलियो थियो । त्यो नाघेर बाढी पस्ने डर नभए पनि मूलगेटको खुला ठाउँबाट भल पस्न थालिसकेको थियो । संसारै डुबे पनि त्यस घरभित्र बाढी पस्ने सम्भावना भने थिएन ।
“हम एक बेर घर पहुँच क आवैछि । भाँडा बरतन, लत्ता कपडा आ दोकान के सामान मचान पर राइख आवैछि ।” मैले सुहानीलाई भनेँ । घडी हेरेँ– रातको सवा दुई बजेको थियो ।
“नै ! नै !” सुहानी एकदम चिच्याई । भाग्छ कि भनेझैँ गरेर उसले मेरो हात पक्री ।
उसले रिस देखाउँदै भनी– “दुनियाँ दाहा रहलछै । अइन समयमें कथिला जेवै ? आब जे होई । जान बैच गेलै, एतवे काफी छै ।”
बाढी झन्झन् बढ्दै रहेछ । पानी दर्किरहेकै थियो । केटाकेटी र बूढाबूढी जाडोले थर्थर काम्न थाले । कम्पाउन्ड वालभित्रको भाग पनि पोखरीझैँ देखियो । केहीबेरमा कम्पाउन्ड वाल त भकाभक ढल्न पो थाल्यो ।
मानिस कहालिन थाले । अब के हुन्छ र कसो हुन्छ भनेर सबै आत्तिए । सप्तकोसीको मूल भँगालो नै यस गाउँमा पसेको हो भनेर स्पष्ट भयो । केहीबेर चुपचाप उभिएर प्रकृतिको विचित्र लीला हेरिरहेको रामभरोस बूढो एकदम हडबडायो । ऊ घाइते भएझैँ बटारिन थाल्यो ।
तपनकुमार अझै हाच्छिउँ गरिरहेकै थियो । आफ्नो गम्छाले मुख छापेर ऊ बिराईबिराई हाच्छिउँ गर्थ्यो ।
चारैतिरबाट अचम्मको स्वाँ… र छालबाट निस्कने ध्वार्रध्वार्र आवाज आइरहेको थियो, लेदो पानीको कडा गन्ध पनि बढ्दै थियो । युवकहरू उद्धारका लागि मानिस कोही छुटेको पो छ कि भनेर खोज्न जताततै टर्चलाइटको उज्यालो फालिरहेका थिए । टोलभरिका लगभग सबै मानिस एकै ठाउँमा थियौं ।
टर्चको उज्यालामा मैले देखें, हाम्रो टोलको बाटो डरलाग्दो र उग्र नदी बनेको थियो । पूर्वपट्टिको विशाल खेतदेखि हाम्रो गाउँसम्मको भागबाट नदीको मूल धार बगेको अनुमान भयो । माथिबाट बगेर आएका घरका छाना, गुवाली, बार–बेरा आदि सबै बगेर उँधोउँधो जान थालेका थिए । केराका थाम, परालका माच, गोबरका रास र दाउराका थुप्राहरू पनि पानीको छल्कोसँगै तलमाथि–तलमाथि गर्दै बग्दै आएर दक्षिणतिर गइरहेका थिए ।
कतैकतै गाईगोरु र राँगाभैँसी बगेजस्तो देखिन्थे तर अँध्यारो हुनाले यसै हो भन्न सकिँदैनथ्यो ।
“कथिला फिकर करैछि ? हमसब सबके ग्या माल तखने खोइल देलियै ।” पक्की घरको छतबाट कोही चिच्यायो । हाम्रो घरमा गाईबस्तु थिएनन् । हाम्रो खेतीपाती सानो थियो र टोलभरिमा हाम्रो मात्र पसल थियो । तर हाम्रो पसलका कुनै सामान बचेका थिएनन् ।
झन्नै एक ट्र्याक्टर नूनका बोरा आँगनमा थुपारेका थियौँ । मैले सोचेँ, ती पनि अब त पग्लेर सकिए होला ।
“हाँस मुर्गा आ बकरी सब दाहा गेल हेतै ।” दमन्ती रुन थाली । उसले दुइटा खसी र दुई माउ बाख्रा पालेकी थिई । दुवै माउ बाख्रा भर्खरै ब्याएका थिए । एउटाले दुइटा पाठैपाठा पाएको थियो र अर्कोले तीनवटा पाठापाठी पाएको थियो । उसले केही हाँसकुखुरा पनि पालेकी थिई ।
उसका हाँसले हाम्रो आँगनमा आएर फोहोर पारिरहन्थे र हाँसकुखुराका कारण दमन्ती र सुहानीको भनाभन समेत हुनेगथ्र्यो ।
म भन्थें– “हल्ला नै कर् । छोइड दही । अँगना के फाटक लगा देबही त नै येतौ ।”
तर आँगनको फाटक बन्द गरे पसलमा आउने ग्राहकलाई असजिलो हुन्थ्यो ।
यत्रो बाढी छ, ती हाँसकुखुरा बच्ने सम्भावना अलिकति पनि थिएन । सुँगुर र खसीबाख्रासमेत बाँधेको ठाउँमै डुबेर मरिसकेका हुनसक्थे ।
बाढीको बढ्दो गन्ध र चढ्दो आवाज सबैतिर फैलिइरहेको थियो । कोही कसैको कुरा सुन्दै थिएन, तर पनि सबै जना आफ्नो कुरा अरूलाई भन्न कराइरहेका थिए ।
“हे कोसी माई ! हे राम ! हे भगवान् !” मानिसहरू भगवान्लाई पुकारिरहेका थिए । कोसीको बाढी झनभन्दा झन् रिसाहा स्वभाव देखाइरहेको थियो ।
नवलकिशोरको घरअगाडि उनकै भतिजा वृजमोहनको घर थियो । टर्चको उज्यालामा देखियो– त्यो घर सबैभन्दा पहिले ढल्यो । हेर्दाहेर्दै त्यो घर बग्यो । गुवाली र धनसार एकैसाथ बगे । अनि सन्तलाल दासको घर पनि ढल्यो । बिस्तारै त्यो बग्न थाल्यो ।
मानिसहरू कराए– “हे कोसी मैया ! हे जलदेवी मैया ! हे परमेश्वर भगवान् !”
त्यसपछि रामभरोसको परालको माच ढल्यो । अनि गुवाली पल्टियो । उसको घरलाई पनि बाढीले मर्कायो । हेर्दाहेर्दै त्यो बग्न थाल्यो । रामभरोस बूढो काउसो खन्याएको मानिसका झैँ उफ्रन र कराउन थाल्यो ।
“हमरा जियैके कोनो मतलब नै छै । अई छत स कुइद क मर दे हमरा । जी क कि हेतै ? अही ठम स कुइद क मर परतै । आब हमर धियापुता कत राखबै ? काइल स ई धियापुता कत राखबै ? आब हम मइर जेबौ ।” रामभरोस बूढो रुँदै छतको डिलतिर गयो । बूढाले हाम फालेर आत्महत्या गर्यो भने अर्को आपत् आउने देखेर नवनीतले उसलाई तानेर भुइँमा थ्याच्च बसायो ।
समस्या त उसलाई मात्र होइन नि, सबै गाउँलेलाई एकैचोटि र उस्तै गरी परेको थियो । घाँटीमा ढुङ्गो अड्केझैँ भएर सबै जना निसास्सिन थालेका थिए । मानिसहरू आफ्नो सर्वनाश भएको दृश्य रसाएका आँखाले टुलुटुलु हेर्न थालेका थिए ।
अनि छेदीलालको घर ढल्यो । अस्ति जेठमा मात्र बनाएको त्यो घर पनि हामी सबैका आँखाअगाडि कर्याक्क गर्दै ढल्यो । कसैले उसको कम्मर बटारिदिएर छिनालेझैँ गरी छेदीलाल यता परक्क बटारियो । तर उसले मुखबाट ऐयासम्म भनेन । हेर्दाहेर्दै त्यो घर पनि सलल बग्यो । सर्वलालको दोमहला घर त एकै चोटमा बर्लङ्गै पल्टियो र बग्न थालिहाल्यो । सर्वलालको पनि सर्वस्व भएको थियो । घरबाहेक उसको सम्पत्ति केही थिएन तर सर्वनाशको यस दारुण समयमा उसले आफूलाई चुपचाप सम्हाल्यो ।
घरहरू कतै देखिन छाडे । हेर्दाहेर्दै त्यत्रो गाउँ बसेको ठाउँ त सबैतिर उघारो र खुला देखियो । सबै सपनाजस्तो लागिरहेको थियो । परपर बाँसका झाङ जोडजोडले हल्लिरहेका देखिए । मानौँ ती बाँसका झाङ कोसीको भेलसँग सकीनसकी लडिरहेका हुन् ।
लोग्नेमानिसले रामराम भनिरहे । स्वास्नीमानिस भुइँमा बसेका थिए, छतको वरिपरिको डीलका कारण उनीहरूले आफ्नै आँखाले बर्बादीको त्यो दृश्य हेर्नुपरेन । नहेरे पनि उनीहरू स्वतः त्यो सबै प्रष्ट थाहा पाउँथे । उनीहरू रोदनमिश्रित भजन गाउन थाले ।
हेर्दाहेर्दै त्यत्रा बत्तीस–तेत्तीस घर छिनभरमा एकएक गर्दै ढल्दै बगेर गए । एकएक गर्दै घरहरू बगेको दृश्य नवलकिशोरको छतबाट हेरिरहेका गाउँलेहरू प्रकृतिको ताण्डवको पटाक्षेप भएको ठानेर होला बिस्तारैबिस्तारै शान्त बन्दै गए । उनीहरूको रोदन, क्रन्दन र बैचैनी क्रमशः कमजोर हुँदैहुँदै अन्त्यमा घाइते जनावर मरेपछि स्थिर बन्न पुगेजस्तै शिथिल र शान्त देखियो ।
बेलाबेला टर्चको उज्यालो र बिजुली चम्केको प्रकाशमा हाम्रो घर देखिँदै थियो । अब नवलकिशोरको घर, युवा क्लबको पक्की भवन र हाम्रो घर मात्र बाँकी रहेका थिए । हाम्रो घरको उत्तरपट्टि चारपाँच झाङ बाँस थिए । हरिहर महतोका बाँसझाङ । ती बाँसका कारण हाम्रो बारीमा तरकारी कम फल्थ्यो । ती बाँसमा साँझबिहान रुप्पी कराउँथे र सुहानी झर्कन्थी । तर अहिले तिनै बाँसझाङका कारण हाम्रो घर बचेको थियो ।
बिजुली चम्किरहेकै थियो र बिजुलीको उज्यालामा झलारी र कुटकैला गाउँ भएतिर पानी मात्र देखिन्थ्यो । त्यतातिर घर त के आँप–लिचीका रूख र बाँस–झाङसमेत देखिन छाडेका थिए ।
“कुटकैला त कतौ नै छौ !” सुहानी रुन थाली । बिजुली चम्केको बेला कुटकैला गाउँ भएको ठाउँमा मानिसभन्दा अग्ला छाल उर्लिएको देखिन्थ्यो ।
“झलारी गाम कत गेलै ? कतो देखाई नै परैछै ! एनाहियो भ सकैछै ? आब कि हेतै ?” सुहानी अर्धपागल झैं बर्बराउँदै मनेर आई । उसले रुँदैरुँदै दक्षिणपट्टिको आफ्नो माइती गाउँ झलारीतिर आँखा फेरि डुलाई । झलारीदेखि उतापट्टि बरमपुरा थियो । यहाँबाट बरमपुरा कहिल्यै देखिँदैनथ्यो । तर आज बरमपुराको राजपोखरीको डिलको त्यो ठूलो सिमल गाछी अँध्यारैमा प्रष्ट देखिन थालेको थियो ।
उत्तरबाट घरका छाना, काठ, टिन, फर्निचर, पातपतिङ्गर, मेटेका, परालका माच, दाउराका थुप्रा र पटुवाका बोझाहरू बग्दै आइरहेका थिए । शायद मधुराही र सिमरवना गाउँ पनि अब बाँकी थिएनन् । कोसीले सबै बगाएको थियो ।
बाँध फुट्नसक्ने हल्ला त अगिल्लै दिनदेखि चलेको हो, तर मानिसले त्यस्तो समाचारलाई पत्याएका थिएनन् । रेडियोले दिएको चेतावनीलाई उनीहरूले वाहियात समाचार भनेर खिल्ली उडाएका थिए । यस्ता चेतावनी वर्ष, दुई वर्ष बिराएर जहिल्यै आउँथे । त्यै भएर उनीहरू बाँध फुटेर पानी गाउँमा पस्न नथालुन्जेल ढुक्कले आफ्नै घरमा बसेका थिए ।
यतिबेला जून निकै माथि हुनुपर्ने थियो तर बादलले आकाश ढाकेकाले त्यसको उज्यालो देखिने कुरा थिएन । आकाश जतिसुकै ढाकिए पनि अलिअलि चाहिं उज्यालो आउने हुँदो रहेछ ।
मलाई घर पुगूँपुगूँ भएर आयो । केही त गर्न सकिन्थ्यो कि, यसरी यहाँ बसेर रमिता मात्र के हेर्नु भन्ने लाग्यो । म बाढीमा पसें । सुहानी एकदम रुँदै आई । तर म पर पुगिसकेको थिएँ । मलाई रोक्न अब ऊ सक्तिनथी । पछाडि फर्केर हेरें– उसले मलाई फर्काउन सगुनलाललाई रुँदै अनुरोध गर्दै रहिछ ।
सगुनलाल हाम फालेर मेरा पछिपछि आयो । हामी हेलिँदैहेलिँदै हाम्रो घरनेर पुग्यौं । कोसीको बाढीको कडा गन्ध पुनःपुनः आलो भएर नाकमा पस्थ्यो ।
केटाकेटी उमेरमा मलाई यो गन्ध खूब मन पर्थ्यो ।
मैले बुझें, घरभित्रका सबै सामान बगेर गइसकेका छन् । आँगनको टाटी अघि नै बगिसकेको थियो । परेवाको खोर सुरक्षित देखिए पनि घर लचकलचक गर्न थालिसकेको थियो । अब हाम्रो घर टिक्तैन भन्ने भएपछि मैले सगुनलाललाई कराएँ– “चल । आब अई ठाम रहैके कौनो काम नै छौ । आब सब चीज खतम भ गेलै । मनोहर शाह आब खतम भ’ गेलै …। ओम्हरे चल आब ।”
हामी सडकमा निस्क्यौं । सडकमा पानी त घाँटी–घाँटीसम्म मात्र आइरहेको थियो तर यसको कडा धारले हिंड्न दिइरहेको थिएन । जून मध्य आकाशमा पुगिसकेको थियो शायद । तर आकाशमा बाक्लो बादल र झरीले गर्दा जूनको उज्यालो भेलमा खसेन ।
हामी हेलिँदै फर्क्यौं । म अघिअघि पौडिँदै थिएँ र सगुनलाल पछिपछि थियो । एकपल्ट ठूलो बिजुली झल्ल चम्क्यो र उज्यालामा हेरेँ, हाम्रो घर भएको ठाउँ ऐले खाली थियो । त्यहाँ पानी मात्र टिलिल्ल टल्क्यो ।
हाम्रो घर भएको ठाउँमा त मानिसभन्दा अग्लाअग्ला छाल बटारिँदै बग्दै रहेछन् ।
बाँसका झाङको पनि नामोनिशान थिएन । सगुनलाललाई केरा र बाँस आदिले बटारेर बेरेको थियो । ऊ त्यस अल्झोबाट उम्कन प्रयास गर्दै थियो । युवा क्लबको घर भएको ठाउँमा पानी ठूलो भुमरी बनाएर घुम्दै थियो । पानीले उसलाई त्यसै भुल्कामा हुत्यायो । त्यहाँ पुगेपछि सगुनलाल एकपल्ट भेडाले झैं भ्या गरेर जोडले करायो ।
त्यसपछि ऊ देखिएन । पौडिनमा माछाजस्तो सिपालु मानिस थियो सगुनलाल, बगेर गयो ।
मलाई ठीक त्यसैबेला कसैले टाउकामा हिर्काएजस्तो भयो । म एकदम जोडले चिच्याएँ ।
मैले थाहा पाउँदा सुनें, सन्तलालकी बूढी कराइरहेकी थिई– “होसमें येलै ! होसमें येलै ! सुहानीके घरबला होसमें चइल एलै !!”
ब्युँझँदा म घरको छतमा लडाइएको रहेछु । टोलका मानिस मेरा वरिपरि घेरा लागेर बसेका थिए । दमन्तीले मनोजलाई बोकेकी थिई । सुहानी इन्तु न चिन्तु भएर उतापट्टि लडिरहेकी थिई । सन्तलालकी बूढी उसलाई पङ्खा हम्किरहेकी थिई ।
मलाई पानी छदाएछन् । अब म धेरै होशमा आए पनि परिस्थितिको आँकलन गर्न सकिरहेको रहेनछु । मलाई के भएको हो, कहाँ छु र यी सबै किन यसरी मेरा वरिपरि भेला भएका हुन् भन्ने कुरा त निकै बेरपछि मात्र थाहा पाएँ ।
उज्यालो भइसकेको रहेछ । गाउँका सबैको घर बगाएछ । पानी पर्न छाडे पनि नदी उसै गरी बहिरहेको थियो । म टुक्रुक्क बसेँ । टाउको एकदम चड्किरहेको थियो । तिर्खाले घाँटी सुकेको थियो ।
हामी बसेको घरको छत पनि एकदम ढल्केको रहेछ । पूर्वपट्टि लगभग दुई फिट नै होचिएको रहेछ । मानिस हिँडडुल गर्दा यो घर हल्लिएजस्तो लाग्थ्यो । घरको छतको होचिएको भागबाट मानिसहरू सरेर अग्लोपट्टि थुप्रन थालेका थिए ।
उद्धारकर्ताले मानिसलाई डुङ्गामा चढाएर धमाधम यहाँबाट अन्यत्र लग्दै रहेछन् । छतमा मानिसहरू अगिभन्दा निकै कम थिए । तर को थियो र को थिएन मलाई याद भएन ।
सुहानी होशमा आई । तर उसलाई घाँटी रसाउन पुग्नेगरी खुवाउनका लागि समेत पानी थिएन । संसारैभरि पानी हुँदा मानिसले खानेपानी नपाउने हुँदो रहेछ ।
कोही करायो– “हेलिकोप्टर एलै !”
हो रहेछ । उद्धारार्थ हेलिकप्टर आएको रहेछ । त्यो हामी बसेको घरको वरिपरि एक फन्का घुम्यो र फेरि उडेर गयो ।
सगुनलाललाई बाढीले बगाएर लगेकै हो रहेछ । मलाई चाहिं बग्दै आएको एउटा काठले टाउकामा हिर्काएछ । म चिच्याउँदै डुबेको दृश्य सुहानीले देखिछ र एकदम कराइछ । सगुनलाललाई नभेटे पनि नवनीत र अरू युवाहले मलाई समात्न सकेछन् ।
दिउँसो दश बजेतिरको कुरा, प्लास्टिकको रातो डुङ्गा हामी बसेको ठाउँतिर आयो । उद्धार–टोली रहेछ । छतमा बसेका मानिसहरू चटपटाए । घर एकदम हल्लियो । कुनै पनि बेला यो घर पुर्लुक्क पल्टन सक्थ्यो र यस घरसँगै हामी सबै जनाको प्राणपखेरु उड्न सक्थ्यो । मानिसहरू डराउँदै–डराउँदै एक–एक गरेर घरबाट निस्के ।
उद्धारकर्ताहरूले त्यहाँ बाँकी रहेका हामी सबैलाई डुङ्गामा चढाए । अन्तिममा नवलकिशोर र उनका छोरा नवनीत चढे । सबै जना चढियो भन्ने भएपछि डुङ्गा हेलिँदै सुरक्षित स्थलतिर बढ्यो ।
बाढी उर्लिरहेकै भए पनि पानीको सतह केही कम भएको देखियो । छालहरू उसैगरी बटारिँदै, उचालिँदै र छचल्कँदै आइरहेकै थिए । साधुहरूले लगाउने गेरुवा वस्त्रजस्तो रङको पानीमा अहिले केराका थाम, बाँस र रूखबिरुवाहरू फाट्टफुट्ट मात्र बग्दै आउँथे ।
डुङ्गामा चढेर हामी अलिकति पर्तिर मात्र पुगेका थियौं, सर्पले गोडामा बेरेझैं सुहानी, मेरी माई, दमन्ती र काकीहरू चिच्याए । के भयो भनेर पछाडि फर्केर हेर्यौं । सबै जना महिला नवलकिशोर शाहको घरतिर हेर्दै रोइरहेका थिए ।
हामीलाई आश्रय दिने नवलकिशोर शाहको त्यो घर निकै ढल्किइसकेको रहेछ । हेर्दाहेर्दै त्यो घर अलिकति हल्लियो, अलिक बढी ढल्कियो । तर तुरुन्तै त्यो स्थिर भयो । त्यतातिर निर्निमेष हेरिरहेका हामी सबै शान्त भयौँ, नढले पनि अब त्यो घर कुनै किसिमले काम नलाग्ने भइसकेको थियो ।
केही बेरपछि त्यो घर एकपल्ट फेरि हल्लियो, उत्तरपट्टि अलिकति बटारिएजस्तो पनि गर्यो र त्यतैतिर बिस्तारै ढल्कियो । अनि क्रमशः त्यो पानीतिर निहुरिन थाल्यो । अब चाहिँ त्यो पक्का घर पक्कै ढल्ने देखियो । एकतमासले त्यतै आफ्ना आँखा जोतिरहेका गाउँलेहरू अचानक ईश्वरको नाम लिँदै चिच्याए– “हे प्रभु ! हे ईश्वर ! हे राम ! हे कोसी मैया !”
तर घर अझभन्दा अझ झुक्यो । गाउँलेहरू अझ चिच्याए– “रामराम ! रामराम !!”
गाउँलेहरूको रामराम शब्द घरले सुन्यो कि सुनेन, त्यो क्रमशः बाढीको प्रवाहसँग एकाकार हुन लाग्यो । सुहानी फेरि कहालिई, तर घर आफ्नै सुरमा देखियो । न कुनै आवाज न विशेष छाल, कोसीको विशाल भेलमा कुनै प्रतिरोध वा हुङ्कार नगरी बिस्तारै त्यस घरले शान्तिपूर्वक जल–समाथि लियो ।
“कोसी माईले हामी सबैलाई बचाउने कार्य सम्पन्न गरिसकेकी छन् । यति गरिसकेपछि उनले हाम्रो घरलाई पनि आफ्नो गर्भमा विलीन हुन आह्वान गरेकी हुन् ।” नवलकिशोर दार्शनिकका झैँ गम्भीर देखियो । मानौँ ऊ कुनै दुःखान्त नाटकमा घर ढलेको दृश्य हेरिरहेको थियो ।
बाबुबाजेका पालादेखि सबैभन्दा धनी–महाजन भनेर चिनिन्थ्यो नवलकिशोर शाहको परिवार । केही वर्षदेखि भने दुष्ट र शोषक परिवार भनेर चिन्न थालेका थिए । उनीहरूका अत्याचारको विषयमा नाटक, गीत र कविता रचिएका थिए । यिनीहरूको ‘अत्याचार’बाट मुक्तिको कामना बोकेर केही गाउँले युवाहरू भूमिगत रूपमा सशस्त्र युद्ध गर्ने पार्टीका कार्यकर्ता पनि भएका थिए । तर आज तिनैको घरले सबैको ज्यान बचाएको थियो । अनि ती पनि आज हामीसँगै घरबारविहीन भएका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

