मलाई देख्ने बित्तिकै ऊनका रसिला दुई ओठ बिस्तारै फुक्छन् र गमलाको फुल्नलाई तम्तयार लज्जावती झैँ लजिलो पाराले मुस्कुराउँछन् । दिनु पर्ने प्रतिक्रियाको अपेक्षाका गुलाबहरू फुल्दछन् अनुहारमा । बाबुका दुवै हात हमेशा मेरो अँगालोमा आउन आतुर हुन्छन् तर मेरो स्वीकारोक्तिको पर्खाइले मौन अधर छटपटिन थाल्दछ । ऊनी उमेरले भर्खर दश महिना पुग्दै छन् । तर फुच्चे साथी सूचनामा यति दख्खल छन् कि मेरो आवाज फोनबाट नै चिन्दछन् । ऊनी सांकेतिक भाषामा मुस्कानको उपहार सहित मलाई अभिवादन गर्छन् ।
मेरो नातिको स्पर्श बोधले होला मेरो खुशी फुक्दछ, पठेग्रोका झैँ गोडा दरिन्छन् र जाइफलको स्वादले दिएको तागत एक्कासि आएझैँ ऊनलाई बोक्न तन तंग्रिन्छ । ऊनलाई देखे पछि मेरो दिनचर्याको लगाम रोकिन्छ र ऊनैको प्रेमालयमा मेरो तन्मय एकाकार हुन्छ ।
हाम्रो नाति कति हो कति ज्ञानी बनेका छन् आजभोलि । विगत तीन सय दिनमा ऊनले यो धरतीबाट अथाह ज्ञान आर्जन गरिसकेका छन् । पुस्तक वा कागज समात्दा ऊनी अधिक रमाउँछन् र गीत सुनाउँदा गलाबाट वसुधाको सुमधुर कम्पन निस्कन्छ । कागज नाजुक हुन्छ भन्ने कुरा थाह छ ऊनलाई । जतनले पढ्छन् ऊनको भाषामा । क, ख ग -ज्ञ सम्म, ABCD र १ देखि १० सम्म अक्षर अंक चिनिसकेका छन् ।
उनले मेरा गाला मुसार्दा सोच्दा हुन्, ’यी बुढा किन मलाई असीम माया गर्दछन् ? यी बुढा मित्र मेरो जीवनका केही न केही अंशियार हुनुपर्छ ।’
‘हो नि त ऊनको गर्भावस्था देखिको रेखदेख कर्ता हुँ म ।’ मलाई लाग्छ ऊनको र मेरो आत्मिक तरंगमा त्यही बेला देखिको परिचय छ । मेरो तेस्रो पुस्ताको पहिलो फूल, कान्छी छोरी पुजाका रक्तंश ।
मेरो नाति मुस्कानको ज्योतिले चम्किंदा हिमाल हेर्न नेपाल जानु पर्दैन । शिशु साथीले मलाई जति आत्मीयताले मुसार्छन् सायद त्यसको अनुभवले मात्र पनि म दिनभर प्रफुल्लित हुन्छु । बाबुलाई धर्तीमा स्पर्श गर्नु पूर्व आमाको सृष्टि मन्दिर भित्रको बसाईं केही जटिल थियो । प्रिय छोरीको संवेदनशीलतामा म पिल्लर बनेर मेरो सानो साथी गमलाको फूल झैं जोगाएको हुँ ।
नाति पिउस उत्तिकै जिज्ञासु छन् । तातो-चिसोको ज्ञान छ ऊनलाई । ऊनले कसैले केही गर्न लागेको कर्म ध्यानपूर्वक हेर्दछन् । त्यसबाट केही न केही नक्कल गर्दछन् । माया र गाली दुवै बुझ्दछन् । घरमा कोही अलिक गम्भीर वा चिन्ताग्रस्त देखियो भने ऊनी अति गम्भीर हुन्छन् । ऊनले मानिसका अनुहारमा देखिने आकृति गजबले पढ्न जानेका छन् । खुशी र दुख दुवै बुझ्दछन् । ऊनले बुझ्नेसंग आफ्नै शारीरिक प्रतिक्रियाले कुरा गर्दछन् । ऊनको भाषा स्पष्टसँग बुझ्ने म बाहेक को होला र !
आजभोलि बाबु अनुभवले थिरिन खोज्दै छन्, झोला खोल्न र बन्द गर्न सिक्दैछन् । मेरो सिकारु नाति काठको घोडामा बसेर मच्चिन सिकेको दुई महिना भन्दा बढी भयो । लाग्छ, भविष्यको संवेदनशील समयमा केटो पूर्ण प्रतिस्पर्धाले खारिएर हरेक चुनौतीको यसरी नै सामना गर्नेछन् ।
म अलिक दुखी जस्तो देखिंदा ‘तपाईंलाई के भएको हो मेरो ठूलो साथी ?’ ऊनले आँखा र मुखाकृतिबाट मलाई सोधेको प्रश्न मैले बुझ्दछु । तर अरूले बुझ्छन् कि के गर्छन् थाह भएन । म मुस्कुराएँ भने ऊनी पनि मुस्कुराएर मेरो अन्तर जीवलाई आनन्दित बनाउँछन् । म चर्को बोलेँ भने मलाई रुँदै सोध्छन्, ’कारण ?’ ऊनको कारण सोध्ने तरिका मलाई मात्र थाहा छ ।
म मायाले ऊनलाई अँगाल्दा ऊनी यति खुशी हुन्छन् कि त्यसको अनुभव कपासको सिरानीमा शिर राखेर झप्के झैँ अपार आनन्द दिने खालको हुन्छ ।
मलाई देख्दा बचेरा चराले उड्न खोजे झैं ऊनी गदगद हुँदै दुवै हात तलमाथि गराई रहन्छन्, अनुहारको मन्दाकिनी बिहानीको शीतबिन्दुमा बालख सूर्यको किरणले रंग भरे झैं ऊनको अनुहार जीवनको कलिलो ज्योतिले चम्केको देखिन्छ ।
हामी बिच केको स्वार्थ होला र ! उमेरको फरक नै बाउन्न वसन्तको छ । मेरो सानो मित्र ‘पिउस’ को उमेरले बैंस भरिसक्दा म पहेँलो भएर झर्न तयार भैसकेको हुनेछु । ऊनी मेरो सहारा बन्ने बेलामा म निभ्ने बेलाको रोगी, अधीर र जीर्ण । अथवा मृत्यु नै पो भै सक्ला । एक अर्कामा सहाराको लोभ भन्दा परको बाल सुलभ प्रेम कति हो कति कञ्चन ।
सहारा र भरोसाको लागि मानिसले छोरा नातिमा आशा गर्छन् । तर ऊनलाई भरोसा दिउञ्जेल उमेरको चापले मेरो सेवा भुली सकेको हुनेछ । ऊनको भरोसा पाउने बेलासम्म म घिनलाग्दो र जीर्ण भै सक्ने छु । त्यसैले भनेको, हामीबीच त्यति धेरै अपेक्षा के होला र ! केही छैन । यो सम्बन्ध लालचको नभएर प्रेमको हो, प्राकृतिक र अनुवांशिक हो ।
मनमा कुरा खेलिरहन्छ, ऊनको जीवनका संघर्षपूर्ण दिनहरू मैले देख्न पाउँछु कि पाउँदिन ? ऊनको भावी दिनको सहजताको लागि के पो योगदान गर्न सकिएला र । अधिक भर त ऊनले आफ्नै आमाबुवाको गर्नु पर्ने होला । तै पनि खै किन हो, ऊनलाई देखिन भने मेरो कलेजा दुख्न थाल्छ । घर वा काममा उसकै अनुहारको चमकले समयको गति बिर्सन पुग्दछु । मलाई के भएको होला ईश्वर !
वर्ष दिन भित्र एक शिशुले आफ्नो कलिलो मस्तिष्कमा एकाध महिना पुरानो कुरा सम्झन सक्छ । म कतै अलप भै हालें भने मलाई त्यस्तै एकाध महिना ऊनले सम्झन सक्लान् । त्यसपछि सम्झना भर्न फेरि समीप्यको अर्को सहअभ्यास हुनु पर्छ । दुई वर्ष पछि भने आफन्तको सम्झना वर्ष वा त्यो भन्दा बढी रहने हो ।
तर शिशु नातिले कोरोना संक्रमणको कारण केही महिना पछिको भेटमा पनि मलाई चिने, मुस्कुराए र तुरुन्तै अँगाले । अद्भुतको छ मेरो नातिको पहिचान कला र स्मरण शक्ति । शिशु साथी ! खेल्दा थाके भने ज्वालामुखीले झैं श्वास फ्याँक्दै मेरो छातीमा निदाउँछन् । श्वानको जस्तो पातलो निद्रा छ ऊनको । निदमै उठेर हेर्छन्, साथमा कोही देखे भने तन्द्रालाई तुरुन्तै निद्रामा बदलेर मस्तराम, नजिक कोही छैन भने नारा सहित आन्दोलन शुरू भै हाल्छ ।
मुखमा चुसाउने रबरको नक्कली थुन कहिल्यै रुचाएनन् शिशु सखाले । मुखमा नक्कली थुन राख्यो कि फालिदिन्छन् ।
मलाई लाग्छ, ऊनी आफू जन्मेको केही महिनापछि नै शिशु हुन इन्कार गरिदिए ! ऊनले सबैको अनुहार हेरे, अरूको मुखमा नक्कली थुन देखेनन् अनि अरूसँग समान देखिन त्यो रबरको डल्लो मिल्क्याइ दिए । नक्कली थुन जस्तै अन्य खेलौनाहरू पनि कहिल्यै मन पराएनन् बाबुले ।
ऊनी बोल्न नजानेर के भो त लयमा गीत गुनगुनाउँछन् । ऊनको दाँत नभएर के भो त रोटी गिजाले मिहिन बनाएर खान सिकिसके । अचेल निप्पल राखेको बोतलमा पानी पिउँदैनन् । गिलास खोज्छन् र नपाए बरु पानी नै पिउँदैनन् । रोएर सताउने भनेको ऊनको आवश्यकता नबुझ्नेसँग हो, ऊनको भाषा नबुझ्ने सँग ऊनले संगत गर्नै खोज्दैनन् ।
मेरा गजबका साथी भएका छन् नाति बाबु ! भवानी भिक्षुले रेल यात्रामा भेट्टाएको शिशु साथीमा र मेरो साथीमा एउटै फरक यो हो कि भिक्षु सखे बाल स्नेह वा निर्मल अनुरागले भिक्षुको साथी बने, नाति सामीप्य र वात्सल्यको रापिलो तरंग अनुभूतिले मेरा साथी बने ।
साथीले मेरो गर्धनमा बसेर मेरा कान समात्दै धेरै पटक मलाई घोडा बनाई सकेका छन् । ऊनी यति मायालु छन् कि मलाई ऊनको घोडा हुन जीवनभरी मन्जुर छ । ऊनी मेरो काँधमा चढेपछि म हिंड्नै पर्छ अन्यथा मेरो कपालका रौँ तानेर आदेश दिन्छन्, ”हट् बुढो घोडा हट् भाग !’
ऊनको शब्द घुमाउरो हुँदैन तर आदेश त्यही हो, हट् घोडा हट्, अघि बढ अन्यथा तेरा रौँ … !’ कसैको आदेश धेरैलाई कहर हुन्छ, मेरो साथीको आदेश मेरो लागि रहर छ । हैन,म त शब्दसँग बाँचेको र कलमसँग खेलेर कागजको पानामा हराउन थालेको मान्छे ! तर मेरो नातिको आगमन पछि म परिवर्तन भएको छु ।’ यी वर्षहरू युरोप आएपछि यति प्यारा बनाइदिने अरू कोही नभएर त्यही मेरो बाल सखे हो ।
हुन त ऊनी प्रवासी भूमिमा स्वदेशी बनेर जन्मसिद्ध अधिकार सहित यतै जन्मेका हुन् । ऊनको जन्मघर मातृभूमि र धाई आमाहरू बेल्जियममा नै छन् । तर ऊनी प्रति एक मुठी आशा नेपालमा पनि छ । ऊनका घरतिरका हजुरबा र आमा आफ्नो कुल दिपकको स्वागतको लागि पक्कै प्रतीक्षारत छन् । जानको लागि समय चम्केको छ ।
मेरो साथी हरेक क्षण मसँग भैदिएको भए यति सारो मिलनको तिर्सना हुन्थ्यो कि हुने थिएन, खै थाह छैन । मलाई यो पनि थाह छैन कि ऊनले आफ्नो घरमा म जस्तै बाल जिज्ञासाको अनुभूति गर्ने, आफूसँग खेलेर समय बिताउने र गफ गरिरहने साथी भेटेका छन् कि छैनन् । नत्र मेरो भिडियोमा देखेको तस्वीरलाई हेरेर झ्याप्पै रोइदिन्छन् त ऊनी । त्यो रुवाइको भाषा राम्ररी बुझेको छु । मलाई बोलाएको त्यो आवाज मैले सजिलै महसूस गर्छु ।
यो सानो नातिको म प्रतिको लगाव र झुकाव देख्दा मलाई मेरो हजुरआमाको धेरै याद आउँछ । उहाँले प्रायः भन्नुहुन्थ्यो,’यो मेरो आँसु पुछेको पहिलो नाति हो । मलाई यसको अधिक माया लाउंच ।’ हजुर आमालाई कति हो कति सम्मान गर्थें । उहाँ मलाई ‘पुच्छर’ भन्नुहुन्थ्यो । मलाई लाग्दछ, पहिलो र तेश्रो पुस्ताबिचको यो प्रेममय अद्भुत कम्पन शायद प्राकृतिक नै हुन पर्छ !
अघिल्लो हप्ताको भेटमा पनि हाम्रो सांकेतिक अभिवादन र कुराकानी भयो । अनि ऊनले ‘नुनुं’ गर्दै मलाई खेल खेल्ने प्रस्ताव गरे । ऊनलाई मन पर्ला कि भनेर मैले झोलाबाट समान निकाल्ने खेल सिकाएँ । सानो साथीले पनि त्यो खेल मन पराए । झोलामा लुकाएका रक्तिमका सिडी निकालेर मलाई देखाए । नातिसँग मेरो आँखाबाटै कुरा हुन्छ । बाबुले ‘ऊँ‘ गरे भने मैले ऊनलाई काँधमा बोक्नु पर्छ । ‘पूँ‘ गरे भने ऊनलाई पानी दिनुपर्छ । भोक लाग्यो भने ‘माम’ भन्न जानेका छन् । यस्ता ऊनका केही सांकेतिक भाषा छन् जुन सबैले बुझ्दैनन् । सानो साथीलाई तालिम दिन खोज्दा ऊनले मलाई आफ्नो भाषा सिकाएर तालिम दिन्छन् । नाति अद्भुत प्यारा मात्र छैनन्, एक शिक्षकले झैँ ‘तिम्रा कुरा छोड बुढा, मेरा कुरा सिक’ भनेर आफ्नै लयमा हिंडाउन थाल्दछन् । मलाई त ऊनको लयमा हिंड्ने नशालु बानी बनिसक्यो । ऊनको लयमा ठूला मान्छेको जस्तो कपटी काँटा छैनन्, ऊनको शब्दकोशमा ठूलो मान्छेका जस्ता छुरा शब्द छैनन् । ऊनको गीत ‘ईईइ…….. ‘ को भाखामा सुन्नु पर्छ, म त त्यसै त्यसै लयको मादकताले लट्ठ पर्छु ।
उनको रोदन र हाँसोमा प्रकृतिका सबै संगीतको मिश्रण छ । आवाजमा ॐकार ध्वनी छ । ऊनको कोमल स्पर्शमा पारिजात, पद्मिनी र प्याउली फूलको स्पर्शबोध फिका पर्छ । ऊनको अनुहारको रंग विजय भावले रंगिन भएको हुन्छ भने अनुहार मन्द हाँसोले उल्लासित । त्यो खेलमा पनि शिशु साथी पास भए । घोडा चढी, कार चढी, पिङ र लुकामारी ऊनका मन पर्ने अन्य खेल हुन् ।
ऊनको मन पर्ने कुरा नै संगै बसेर खेल खेल्नु हो भने हामी दुई छुट्टिनु पर्ने समय मेरो साथीको सबै भन्दा पिडा दिने क्षण हो ।
अस्ति पनि ऊनी घर जाने बेलामा दुखी भए । बुकी (बच्चा बोक्ने चार पाङ्ग्रे गाडा)अगाडी ल्याएर ऊनलाई राख्न खोज्दा नै मलाई पुलुक्क हेर्दै गुहार मागे ।
‘बुढा साथी तिमी अलिक बलिया छौ भने मलाई बुकीमा राख्न नदेऊ ।’ मैले ऊनको सांकेतिक भाषा बुझें तर के गर्नु ऊनलाई चाहिने खाजा, निदाउने सर्जाम र मातृत्व कला मसँग छैन ।
“जानु पर्छ बाबु नाति ! हरेक हप्ता अन्तमा हाम्रो ओलम्पिकको चिराग लिएर आउँदै गर, अर्को हप्ता तिमी र म पारिजात मुस्कान पिएर छातीको मैदानमा एकछिन वात्सल्यको निर्मल म्याच खेलेर बसौंला । आज निराश नबनी घर जाऊ हैं ।’ के गर्नु, अन्तमा बिदा दिनै पर्ने ।
ऊनीसँग जान्छु भनेर सांकेतिक इसारा गरेको साथी झोक्किए, ‘मसंग गएझैं गरी बुढा खालि झुक्याउँछौ । तर आफूसँग राख्दैनौँ । ‘
‘विवश छु बाबु,’ मनमनै गुनगुनाएँ । लिफ्टसम्म पुगेपछि ऊनी रुन थाले ।
‘जाऊ आमा-बासँग’ मेरो बिदाइ बुझेझैं गरेर झन् अलापिंदै रुन थाले ।
शिशु साथीको रुवाइको लय थेग्न नसकेर म कोठाभित्र छिरें । साथीको प्रस्थान पछि माया तरल बनेर पग्लिन नपाउँदै मैले रुमालको ढक्कनले परेलाको झील बन्द गरेँ र तरल प्रेमलाई रुमालमा कोरिएको फूलमा सजाएर राखेँ ।
मनमनै भनें, ’बाबु तिमी बाँच्नु धेरै छ, हाम्रो त जीवनको जुवा एक घाम न बाँकी छ । आखिर रोजेको जीवन कहाँ बाँच्न पाइन्छ र, भोगेको जीवन मात्र आफ्नो हो । पीड नगर भोलि पुनः उज्यालो हुनेछ र त्यो उज्यालो तिम्रो हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










