गाउँको शिरमा रहेको जौछरेको वन, पुरिएका पुराना आहाल, पोखरी, तल गाउँभरी भत्किएका चौतारीहरू, पल्टेका वरपीपल, भत्किएका घर गोठहरू, बाँझिएका खेतबारी छिचोल्दै, मान्छे हिंड्न छोडेपछि हराएको गाउँको गोरेटो खोज्दै डुल्दै गर्दा लखतरान परेको थिए ।
म हुर्केको उवेलाको गुलजार गाउँ कसरी निर्जन भयो भनेर मनमा अनेकानेक कुरा खेल्दै थिए । निद्राले पनि च्याप्दै गयो । गैरीखेत देखि उवेलाकै गोरेटो पछ्याउँदै हिंडेको मीठो कल्पना मनमा आउन थाल्यो । मेरो कल्पनामा बाटाभरि मान्छेहरू भेटिए, गाई बस्तु हिंडेकाले तर्कंदै तर्कंदै हिंड्थे । गाउँमा सबैले मलाई घर बोलाउँथे, “ऐ साउको कान्छो नारान कहिले आइस ? ल आइज एक मुठी चिया पिएर जालास्” । बाहरूले यसो भन्दा आमाहरू बालाई कराउँथे । केको एक मुठी चिया हो भातै खाएर जान्छ नि । यता आइज नारान भात पाकेको छ खाएर जालास् । यसले त भात र दूध असाध्यै मीठो मानेर खान्छ । आमाहरूको यस्तो मीठो आग्रहलाई के के भनेर टार्थे । कहीँ कहीँ त केही न केही नखाई सुख दिंदैनथे । काँक्रो, मुला सुन्तला, बेलाउति जस्ता फलफूल खाँदै रमाउँदै गाउँको बीचमा पुरानो स्वारेको पोखरी मास्तिरको चौतारोमा पिपलको फेदसम्म पुगेको सम्झन्छु । यसरी लगभग अर्धचेत तन्द्रामा गरेको कल्पनामै किन नहोस् गाउँमा पहिले जस्तै रमाउँदा रमाउँदै म भुसुक्कै निदाएछु ।
मलाई अचानक असजिलो भयो । ऐंठन भयो । अनि एउटा डरलाग्दो भूत आएर मलाई गर्नु-नगर्नु गर्न थाल्यो । हुन त यो केवल सपनाको कुरा हो । घरको उत्तर पूर्वी झ्यालबाहिर ठूलो हुन्डरी आए जस्तो भयो । बादल भित्रबाट ठूलो जाँतोको जस्तो आवाज निकाल्दै नाच्दै एउटा विशाल महिला आकृति मेरो कोठामा छिर्यो । डरले थुरथुर कामेको मैले आँखा चिम्म गरेँ र भाग्ने प्रयास गरे । तर कस्तो नराम्रो सपना, खुट्टा खुम्चिएको थियो र म भाग्नै सकिनँ ।
अझै भाग्लास् ? अट्टहास सहित भयंकरको आवाजमा भूतले मलाई थर्काउन थाली । तँ त्यही गैरीखेते होइनस् ? गैरीखेते नारान ? मैले “तिमी को हौ त ?”
उसले जवाफ दिई, “म आत्मा हुँ, भड्किएको आत्मा, तिमीहरूले हामीलाई भूत भन्छौ ।”
मलाई उसको कुराले झन् डर लाग्न थाल्यो, “शरीरमामा पसिना बग्न थाले । आबुई अनि केस्को आत्मा कुन भूत ? त्यो गाउँका पाडा बाच्छा खाने भूत ? म सानो छँदा मेरो सातो लाने खोला खोला डुल्ने छिहिराको डुलुवा मसाने भूत ?”
“होइन म त्यस्तो पुरानो होइन म त नयाँ भूत हुम् । त्यो पहिले तिमेरुको घरमा अन्न पिस्नी जाँतोको आत्मा हुम् । चिनिनस् म जाँते भूत हो । म यो गाउँमा अकालमा मर्न परेकाले स्वर्ग जान पाइनँ र भूत भएकी छु । तेरो गाउँमा आजभोलि धूपधूवाँ र गर्ने मान्छे नै छैनन् । त्यसैले अहिलेसम्म मलाई धजो पनि चढेको को छैन ।” जाते भूतले आफ्नो बारेमा भनी ।
फुत्किन सकिन्छ कि भनेर मैले कोशिश गर्न थालेँ, “हे परमेश्वरी आज मलाई छोडिदेऊ, भोली बिहानै खिर, रोटी पकाएर तिम्रो नाममा एक जोर धजा बाँधिदिउँला ।”
भूतले भनी, “पर्दैन ।”
“हे परमेश्वरी ! हे जाँतेश्वरी ! तिम्रो हत्या भएको ठाउँ भन्देऊ म तिम्रा नाउमा नारानवलीको पूजा लगाएर तिमीलाई स्वर्ग पठाउने व्यवस्था मिलाउँछु । तर मलाई छोडिदेऊ । पहिले नारायणवलीको पूजा लगाएपछि अकालमा मरेकाहरू समेत स्वर्ग जान्छन् भनेको सुनेकोले त्यसै अनुसार गरिदिउँला” भनेर भूत सामु बिन्ती बिसाएँ ।
तर मेरो कुरा सकिन नपाउँदै जाते भूत जर्किन थाली, “चुप लाग, स्कूल जाने बच्चालाई जन्ममिति मिलाएर जापान पठाए जस्तो हो र ? स्वर्ग जस्तो गाउँलाई नर्क बनाई सक्यौ, अझै मलाई स्वर्ग पठाउने ?”
जाते भूत झन् कड्किंदै भनी, “म तिमीहरूलाई छोड्दिन । यो गाउँ तिमेरुले बिगारेका हौ । तिमेरुका बाउ बाजेका पालामा गाउँ कस्तो भरिभराउ थियो । अन्नबाली कति राम्रो हुन्थ्यो, अनि हामी जाँतोहरूको कस्तो महिमा थियो । तिमेरु हुर्केर झन् राम्रो होला भनेको । गाउँ सर्लक्कै छोडेर कता हो कता गयौ । यो गाउँको अनि मेरो यो हालत बनाउने तेरै पालाका मान्छेहरू हुन । खासमा तँ र तेरा साथीहरू हौ । त्यसैले मैले आज तँलाई छाड्दिन ।”
भूतको कुरा सुनेपछि भने मैले प्राणको आश मारे जाँते भूत पक्का रिसाएकी रहिछे । बाँच्ने उपाय छैन भन्ने लाग्न थाल्यो ।
तैपनि मर्नु भन्दा बौलाउनु निको भन्छन् । केही गरी बाँचिन्छ कि भनेर मैले भूतलाई मेरा साथीहरूतिर सल्काइदिने बिचार गरें । अनि भनें, “मैले मात्रै कहाँ बिगारेको हुम् र यो गाउँ ? अरूलाई समातेको खोइ ? ती मेरा साथी दीपकहरू, त्यो मलाउरीको रिसी, ठुलारेको लिले, यी केटाहरू म भन्दा नि खत्तम छन् । तिनीहरू जापान गएर गाउँभरीका मान्छेलाई जापान झिकाए । अहिले घरजग्गा अन्त अन्त किन्छन् अनि गाउँ रित्तै । त्यो पुवालीको अनन्ते तल विष्णुदाइको छोरो लक्ष्मण, तल्लाखोरे कान्छो । पहिला गाउँका बारेमा राम्रा कुरा गर्ने गाउँका सबै केटाहरू खत्तम भएर निस्के । गाउँ बिगारेकै यिनीहरूले हो । मलाई छोडिदेऊ यी केटाहरूलाई च्याप्प समातेर कित्रिक्क पारे हुन्छ । मलाई छोडिदेऊ मलाइ भरखरै मर्न मन छैन ।”
अघि धामीझाँक्रीले भूत रताउँदा भन्ने गरेको जस्तो गरेर भन्दै गए, “लौ परमेश्वरी मलाई छाडिदेऊ, बरु मेरै खर्कमा जाँते भूतको थान बनाएर तिमीलाई राखुँला । अनि गैरीखेत फाँटका भुमेठाकुरलाई जस्तै बर्सेनी खिर रोटी चढाउला । यो मेरो भाकल भयो ।”
तर भूतले मान्ने छाँट गरिन । उसले प्रतिवाद गरी । “पर्दैन पर्दैन थानसान बनाउन, अहिले तेरो गाउँमा सबै घरहरू खाली छन् हामी भूतहरू अहिले त्यस्तो थानसानमा बस्दैनौ । पहिले मान्छेहरू बस्ने ठुला ठुला घर मै बस्न पाएका छौँ । गाउँमा हामीलाई बस्नको कत्ति दुख छैन । यस्तै पारा हो भने केही वर्षपछि यो गाउँमा वडा अध्यक्ष बन्ने मान्छे समेत पाइँदैन । अनि हामी भूतहरूको पालो हो राजनीति गर्ने । बुझिस् ? भूतले मलाई बोल्नै नमिल्ने गरी थर्काउँदै जबाफ दिई ।”
रात छिप्पिंदै जाँदा सपनामा आएकी जाँते भूत अलिक कम रिसाउन थाली । वेल वेलामा भावुक हुन्थी । यस्तै मौकामा मैले सोधें, “हे भूतेश्वरी तिम्रो यो हालत कसरी भयो त ?”
लामो कहानी छ, भूतले भन्दै गई, “तिमीहरू भन्दा तीनचार पुस्ता पहिले मलाई खोलाबाट उधिनेर ल्याएर घरमा राखिएको हो । मेरो लोग्ने पल्लो खोलाबाट ल्याएको हो ।”
“तिम्रो लोग्ने पनि छ ?” मैले सोधें ।
“किन हुन्न त ! त्यो माथितिर फर्केको तल्लो जाँतो हामी माथिल्लो जाँतोको लोग्ने हुन्छ ।”
जाँते भूतले आफ्नो कहानी भन्दै गई :
“यसरी हामीलाई खोलाबाट ल्याएर कुदेर राखेपछि करीब चार पुस्तासम्म यो गाउँका मानिसहरूलाई पिसेर मीठो मसिनो बनाएर खुवाइरहेका थियौं । उवेला हाम्रो कस्तो इज्जत थियो । गाउँमा नौलीपौली बुहारी आई भने सबैभन्दा पहिले मेरै हात समाउँथी । म विना कसैको चुलो बल्दैनथ्यो, मानिसहरू बिहानबिहानै मलाई लिपेर सफा गर्थे । कसैले अपमान गर्दैनथ्यो । अन्नदाताको रूपमा मलाई ढोग्थे । गाउँमा हाम्रो कम्ता महत्व थिएन ।
तर जब तिमीहरू ठूला र जान्नीसुन्नी भयौ । यही हुर्के, बढेका, पढेका तिमीहरू गाउँ छोडेर कता कता भौंतारियौ, पहिले श्रीमती छोरा छोरीलाई बिस्तारै शहरमा थान्कोमान्को पार्यौ । अनि बाउ आमालाई समेत उता तराई झार्न थाल्यौ । यो गाउँ बिस्तारै खाली हुन थाल्यो । बस हामी जाँताहरूको दशा त्यहीबाट शुरू भयो । भूतले बिस्तारै भन्दै गई ।
एक दिनको कुरा हो । म जुन घरमा थिए त्यो घरका बाजे बजैलाई पनि छोरा बुहारीले तराई लाने भए । मलाई त्यो दिनको सबै कुरा याद छ । जाने दिन बिहानै देखि घरकी बुडिमाउको आँखा ओभानो थिएन । रुँदै रुँदै आँगनमा गइन तुलसाको मठलाई ढोगिदिइन् । त्यहीबाट चारैतिर हेरिन । उनका आँसु अनुहारबाट कपडासम्म खसेका थिए । अनि घरको ईस्वारलाई ढोगिन् । मलाई त यही दैलोमा मर्ने धोको थियो । उनले अवरुद्ध गलामा भनेको यस्ता भावुक कुरा मैले नै सुनेकी हुँ । करीब पचास वर्ष पहिलेदेखि संगत गरेको म जाँतो उ.. उता पट्टिको कुनाबाट यो सब हेरिरहेकी थिएँ । बजैले पनि एक पटक मलाई हेरेर तप्प आँसु झारिन् र बाटो लागिन् । यी गाउँका सबै आमाहरूले यसै गरी रुँदै घर छोडेका हुन् ।”
मैले बीचैमा सोधें, “अनि के भो भन त परमेश्वरी ?”
“अनि के हुनु थियो । त्यसको दुई वर्षपछि घरको कान्छो केटो अरू केही केटाहरू लिएर आँगनको सिस्नु र बनमारा पन्छाउँदै घरभित्र छिर्यो । साथीहरू सँग ठूल्ठूला कुरा गर्न थाल्यो । गाउँको विकासबारे उसले ठूलै बद्ख्वाइँ मारेपछि घरमा पाठापाठी, चल्ला चाखुरा पाल्ने कुरा भयो । एउटा मान्छेले खोर बनाउने जिम्मा पायो । त्या मान्छेले अरू केही गरेन आँगनको झाडी फाँडेर फाल्यो, पिँडीमा नसुहाउने खालको बासका कप्टेराको बार लगायो । कुनामा भएको जाँतोको तल्लो पलेटो मेरो लोग्नेलाई छाडेर मलाई निर्ममतापूर्वक आँगनतिर मिल्कायो । उसले यसरी फाल्दा मेरो केही भाग फुटे पनि धन्नधन्न आँगनको डिलमा अडिएर बाँचे ।”
“कुखुरा, चल्ला चाखुरा पालेको रहेछ अनि तिनै कुखुरा खान छाडेर किन यहाँ आएकी त ?” मेरो कुरा खस्न नपाउँदै भूतले रिसाउँदै जवाफ दिई, “केको कुखुरा ? कहाँको कुखुरा ? त्याँ घरमा अहिले त मुसा पनि बस्न छाडे । त्यो कुखुरा पाल्छु भन्ने केटो त्यसपछि गाउँ छिरेको मलाई थाहा छैन ।”
“अनि त्यस पछि कोही पनि आएका छैनन् त त्यो घरमा ?” मैले भूतनीलाई सोधें ।
“आएका छन् नि आऊ न त । त्यसको केही वर्षपछि त्यो घरको माइलो छोरो हो की कुन्नि केटाकेटी र बुढी ल्याएर आएको थियो । तिनीहरूलाई घर कटेरो, पाखो बारी देखायो । आफू बस्ने खेल्ने ठाउँ देखायो । यो घर, ढुंगा, माटो सबै हाम्रा ऐतिहासिक घरहरू हुन् भन्दै थियो । उसको कुरा उसैकी बुढीले समेत खासै ध्यान दिएकी थिइन भने मैले के पत्याउने तै पनि माइला पनि गफ चर्कै दिन्थ्यो । कुरा गर्दै जाँदा माइलो माइली लालाबाला सबै जना आँगनमा पुगें । मलाई जहाँनेर फालिएको थियो त्यहींनेर पुग्दा सानो बच्चाले पिसाबले च्यापेको जनाउ दियो । यहाँ त टोइलेट जानु पर्दैन उता फर्केर गर्दा हुन्छ । बच्चालाई आँगनको डिलमा मै भए तिर देखाउँदै सबैले भने । बच्चा अलिक चकचके रहेछ । उसले रमाउँदै रमाउँदै मेरो मानीले घोटिंदा खिइएको अन्नको ओइरो हाल्ने टोड्कोमा पर्ने गरी पिसाब गर्यो । मेरो शरीर पिसाबले पूरै भिज्यो । अनि उसकी आमाले कपडा मिलाइदिइन् । बाबुले पिसाब गर्ने कार्य सम्पन्न गरेकोमा केटोलाई आरिगतो भन्दै थियो । सबैले आरिगतो भने केटोले पनि भन्यो । यति लामो जीवनमा पहिलो पटक यति धेरै अपमानित भएँ म ।” भूतले गुनासो गरी ।
गाउँको कुन माइलो हो मैले चिनिन तै पनि हामी मध्ये कै कोही होला भनेर जाँते भूतलाई सम्झाउन खोजें, “हे जाँतेश्रवरी त्यसरी रिसानी माफ होस्, माइलाका केटाले जे गरे पनि माइलाले इतिहासका गम्भीर कुरा झिकेको रहेछ । इतिहासमा त तिम्रो सम्मानै हुन्छ नि ।”
जाँते फेरी रिसाई, “इस् ! गर्छ त्यसले इतिहासको सम्मान । जसले गाउँको दुईतीन सय वर्ष पुरानो इतिहासको साक्षी, बाजे बराजुका पालादेखि घरमा भएको ऐतिहासिक बस्तुलाई चिन्दैन, त्यसका बाउबाजे खाएका अन्न परेको ठाउँमा पिसाब गराएर आरिगातो भन्छ, त्यसले इतिहास कुरा ?
इतिहासै खोज्ने हो भने गााउँको इतिहास भनेकै मैं हो । मैले जति कसले देखेको छ इतिहास ? उवेलामा दुइटी श्रीमती ल्याउने चलन थियो । दुई मध्य कान्छी अलिक पियारी नै हुन्थी ऊभित्र तातोमा निदाउँदा जेठीले बाहिर मसँगै रोएर रात बिताउँथी । उवेला हेला होचोमा परेकी बुहारी रुनी ठाउँ अन्त थिएन, मसँगै हो । कुनै न कुनै वेला तिमीहरू सबैकी आमा हजुरआमाका आँसु पसिना समेत मेरा जीउमा परेका होलान् । म जस्तो जिउँदै जाग्दो इतिहास माथि पिसाब गराएर आरिगातो भन्नेले अझै इतिहास र संस्कृतिका कुरा ?
नौली दुलही साँझमा जाँतोमा बस्दा उसको बूढाले उताबाट बिरोलोले झैं ड्वाकेको, सासू-ससुराको आँखा छलेर दुलही मस्केको । अघिल्लो बेलुकाका कुरा सहेलीहरूलाई भनेर मत्ता यौवनाहरू हाँसेको वा यस्तै खुसी देखि गाउँको हेलाहोचोको वेदनाको इतिहास मलाई जति कसलाई थाहा छ ? प्रायजसो हामी जाँताहरूलाई कुनामा राख्थे । मानिसहरू राम्रा नराम्रा काम पनि कुनामै लुकेर गर्थे । मैले देखेका इतिहास सबै भन्ने हो भने तेरा गाउँमा काटकाट् हुन्छ बाबै । त्रिलोकमा म जस्तो ठूलो इतिहास अर्को कहाँ छ ? भूतले इतिहासको कठोर दाबी गरी ।”
“त्यो त तिम्रो इतिहास भयो तर तिमी अकालमा कसरी मारियौ त ?” मैले फेरी सोधें ।
“त्यही त म भन्दै छु । म आँगनको डिलमा फालिएकी थिएँ । मेरो लोग्नेलाई भने उही कुनामा छाडिएको थियो । अपमानित र एक्ली म आँगनको डिलमा अडिएरै किन नहोस् बाँचिरहेकी थिए । तर अचानक गाउँमा अचम्मैको विकासको लहर आयो । नेताहरूले जेसीभि भन्ने गाउँ भत्काएर पैसा कमाउने भाँडो किन्न थाले । अनि गाउँ गाउँमा बाटोका नाममा भत्काउने लहरै शुरू भयो । गाउँमा बजेट डोजर सगैँ पसे । बस पुराना ढुंगे खड्केरी सहितका बाटा, चौतारा पोखरी सबै भत्काए । न नाप न नक्सा, गाउँ पुरै खनेर सिध्याउन लागे । बाउबाजेले चिनेको चौतारो फालेर सिमेन्टको कथित प्रतीक्षालय बनाउने भन्न थाले । यस्तैमा एउटा जेसीभिले म भएको आँगनको डिल, तुलसाको मठ समेत खनेर फाल्यो । म पल्टँदै पल्टँदै खोल्सा माथिको खोचमा खसें र माटोले पुरिएँ । यसरी तेरो गाउँबाट मेरो इतिश्री भयो । त्यसैले आज भूत भएर यसरी भौंतारिएकी छु ।”
भूत सँगको लामो वार्तालापपछि म पनि स्तब्ध भएँ । हाम्रो गाउँ अब मानव बस्ती विहीन भएर भूतकै कब्जामा गएको रहेछ । म चुप्प लागेर बसेको देखेर भूतले मलाई सोध्नथाली, “तँलाई गाउँको पारी पट्टीको हली चौतारोको बारेमा थाहा छ ?”
मैले भनें, “किन थाहा नहुनु, कति पटक त्यही हली चौतारामा सुस्ताएको मलाई त्यति पनि थाहा हुँदैन ?”
“के थाहा छ तँलाई ?” जाँते भूतले रिसाउँदै भनी, “अहिले न चौतारो छ न चौतारामा बस्ने हली । हली चौताराको मात्र होइन अहिले जताततै बिजोग छ । गहतेको खेतमा धान खाने ढिकुरका बथान अहिले आउँदै आउँदैनन् । गैरीखेतमा सिमेभुमेको नाममा खिररोटी नपाकेको वर्षौं भयो । माथि जौछरेको बन र थामका चौरमा गाइका खुरले नकुचेको त दशकौं भयो तँलाई यी सब कुरा के थाहा ?”
भूत सारै नाराज रहिछे हामी गाउँलेहरूसँग । अतः मैले बाँच्नका लागि भूतको नजिक हुने विचार गरें, “हो भूतेश्रवरी तिमीले भनेको सोह्र आना सही हो । हिजो बेलुकी मात्र माथि ठाँटीमा गाउँकी सबै भन्दा कान्छी मास्टर्नी सीता भेट्टिएकी थिइन् । अहिले कक्षा १ मा जम्मा ४ जना मात्र भर्ना भएका छन् रे । ती मध्य तिन जनाको परिवार केही महिनामा गाउँ छोड्दै रहेछन् ।”
“गाउँमा विकास भएको छ तर किन यस्तो भयो छोरी भनेर मैले सीतालाई सोधेको थिएँ । सीताले सविस्तार बताएकी थिइन् पहिलाका एक सय असि घरपरिवार मध्य मुश्किलले तीस घरमा बाँकी छन् होला अंकल । त्यही पनि बूढाबूढी मात्रै । अर्थात् अब गाउँमा छोरा छोरी जन्माउने उमेरका कोही बस्दैनन् । सीताले भनेकी थिइन् । गाउँमा बच्चा जन्माउने उमेरका मान्छे नभए पछि अब नयाँ बच्चा जन्मिने सम्भावनै भएन, जन्मेर हुर्केका सबैले गाउँ छोड्ने भएपछि स्कुलको भवन पक्की बनाए पनि पढ्न कोही आउने भएन । आफूले पढेको र आफ्ना पिताले पढाएको स्कुलमा पढाउने रहर पालेकी गाउँकी छोरी सीता चिन्तित थिइन् ।”
सीताको कुरा निद निदैमा सम्झँदै जाँते भूततिर हेरें । यो त उमेरकै छ । यसका छोराछोरी होलान् कि नहोलान् कुन्नि । बुझौं न त भनेर मैले सोधे, “हे भूतेश्रवरी हाम्रो स्कूल खाली हुने भयो तिम्रा सन्तान छैनन् ?”
मेरो कुरामा गम्भीर भएर जाँते भूतले भनी, “मेरा सन्तान छैनन् । अघि सत्य युगमा महादेवले सतिदेवीको शरीर बोकेर हिंडेका रहेछन् । पत्नी वियोगले विक्षिप्त देवादीदेव कैलाश पर्वततिर उकालो लाग्दा । हामी भरखर कुरकुरै बैंसले छोएकाहरूको नजर तिनै महादेव माथि परेछ । अज्ञानतावश हामीले महादेवलाई उनको नग्न स्वरूपलाई हेरेर खुब जिस्क्याउन थाल्यौं । हामीले मरेकी स्त्री बोकेका बूढा भनेर के भनेका थिएम् शिवजीले ठ्याक्क सुनेछन् । बूढा रिसले आगो भए । मेरी सतीलाई अपमान गर्ने तँलाई सधैं श्रीमती भन्दा तल पर्न परोस् भनेर मेरो लोग्नेलाई सराप दिए । त्यसै दिनदेखि जाँतोहरूको भाले तल पट्टी र पोथी माथि हुने भयो । तिमीहरू बूढाबूढीलाई सधैं जोडिएरै बस्न परोस्, तर सन्तान कहिल्यै नहोस् भनेर कठोर श्राप समेत दिएछन् । अगि जोशमा होश नपुग्दा हामी जाँतोहरूले युगौंयुग दुःख पाएका छौ । जाँतोहरूको उमेर बढ्दै जाँदा बरु मानी खिइँदै जान्छ तर कहिल्यै सन्तान हुँदैन ।”
जाँते भूतले आफ्नो सबैथोक बताउँदै थिई । त्यसैबेला मेरा आँखा झपक्क टाँसिए र म निदाएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 










