ललिता ‘दोषी’
निर्मला र प्रसादका दुई छोरामध्ये कान्छा छोरा रतन बच्चादेखि नै केही साह्रै चञ्चल र जिद्दी स्वभावका थिए । अति सम्पन्न परिवारमा जन्मेका हुनाले भौतिक सुविधाको मनग्य भोग गर्दै हुर्के, बढे । जब उनी अमृत साइन्स क्याम्पसमा प्रवेश गरे, उनको सुन्दरता र सम्पन्नतालाई पछ्याउने आँखाहरू यति विघ्न भए कि भनीसाध्य भएन । रतन युवतीहरूको हाउभाउ र बाहुपाशमा नराम्रोसँग फस्दै गए । बाबुआमाले रुँदै कैयौँपल्ट भोलिका लागि सोच्नुपर्छ भनी सम्झाए । रतनले बाबुआमा र आफन्तहरूको खुसीलाई सजिलैसँग चट्टानमा पछारिदिए ।
माथि चढ्दा खुट्टा तान्ने समाजमा रतन स्वयं लरखराएपछि कसैले उसको खुट्टा तान्नु नै परेन । सबैले आनन्दसाथ रमिता हेरिरहे ।
गुलियोमा माहुरी झ्याम्मिएझैँ रतनसँग युवतीहरू झ्याम्मिने क्रम जारी नै थियो । रतन त्यसैलाई स्वर्गीय आनन्द ठानी रमाइरहेका थिए । उनलाई आफ्नो मूल्य, मान्यता र मर्यादाको वास्तै थिएन । रतनलाई छोडेर जाने र पछ्याउँदै आउने क्रम सृष्टिचक्रमा प्राणीको जन्म र मृत्युझैँ निरन्तर जारी थियो । प्रेयसीहरू टाढिनुसँग रतनलाई कुनै सरोकार थिएन किनभने उनलाई प्रेमको कुनै आभास थिएन । न त कहिल्यै प्रेमले दुखाउँथ्यो न त कहिल्यै भोकनिद्रा नै बिथोल्थ्यो । उनी स्वेच्छापूर्वक स्वतन्त्र हिँडिरहेका थिए; परमानन्दको खोजीमा लागेको अलमस्त जोगीझैँ ।
सम्झाउँदा केही नलागेपछि रतनका बाबुआमा एउटा फूल फुट्यो भन्ने सम्झी विह्वल हुन्थे । मौका छोपी निर्मला र प्रसादको टुक्रिएको हृदयमा नुनचुक लगाउन जोरीपारीहरू पछि पर्दैनथे । कसैकसैले त भन्थे–“एउटा छोरो अमेरिका गयो भनेर भुईँमा खुट्टै थिएन । अर्को छोराले त समाज नै दुर्गन्धित पारेको छ । अब चेलीबेटी जोगाउन पनि गाह्रो हुने भयो । त्यस हैजालाई खाल्डो खनेर पुरिदिन पाए पनि समाजकै दुर्गन्ध हराउँथ्यो । निर्मला र प्रसादले धेरै पाप गरेका रहेछन्; अहिले त्यही भोग्दैछन् । कंस मोरो आफूलाई युवराज नै सम्झन्छ । त्यस स्वाँठलाई कसैले जेलमा जाकिदिए पनि सबैलाई हाइसन्चो त हुन्थ्यो ।”
समाजको सुधार गर्ने मनसायले होस् वा उनीहरूलाई हेला गर्न होस्, छिमेकीहरूको यस्तो वचन प्रसाद र निर्मलालाई दुर्वाच्य नै लाग्थ्यो; सुन्दा उनीहरूका छातीमा पहिरो नै जान्थ्यो । मुर्दासमान भएर सबैको घृणा पिउन विवश थिए उनीहरू ।
कलेज जाँदाआउँदा रतनका आँखा एउटी युवतीमा परिरहन्थे । उनी कहिले नेत्रहीनलाई बाटो कटाउन व्यस्त देखिन्थिन् । कहिले वृद्धवृद्धालाई छाता ओढाउँदै हिँडेकी हुन्थिन् भने कहिले अशक्त भिखारीहरूलाई केही दान दिँदै हुन्थिन् । एकदिन युवती बाटामा लडेको स्कुले केटालाई उठाएर धुलो टकटक्याउँदै थिइन् । रतन आफ्नी प्रेमिकासँग हिँडिरहेका थिए । उनका आँखा पुनः उही युवतीमा परे । रतनले हाँस्दै भने,‘‘ हेर प्रिया ! यस कलियुगमा पनि अरूमाथि दया गर्ने युवतीहरू हुँदा रहेछन् । ऊ हेर त, आकासे रङको कुर्थासुरुवाल लगाउने युवतीलाई ।’’

ललिता ‘दोषी’
प्रियाले प्वाक्क भनिन्,“त्यसो भए त्यो युवती टिपिकल गाउँले हुनुपर्छ । मचाहिँ उपत्यकाबाहिरकै भए पनि सहरबजारकी हुँ नि !”
रतनले भने,“त्यसो भए युवती कहाँकी रहिछिन्, बुझ्नैपर्यो । तिम्रो कलेज पनि आयो, तिमी जाऊ । म आजको दिन तिनीसँगै मस्तले काट्छु ।”
प्रियाले हाँस्दै भनिन्–“दिन जोसँग बिताएपनि मलाई नभुले पुग्छ । ‘नपत्याउने खोलाले बगाउँछ’ भनेझैँ गाउँलेले फसाउली नि फेरि !”
रतनले हाँस्दै उत्तर दिए– “त्यस्तीसँग पनि कहाँ फस्नु र ? यस्सो रिल्याक्स गर्न खोजेको पो हुँ त” भन्दै प्रियाबाट बिदा भई युवतीको पछि लागे । जति-जति युवतीको नजिक पुग्थे उति-उति युवती रतनको छायालाई छल्दै टाढा हुन्थिन् । रतनलाई शिर उठाएरसम्म नहेरेपछि रतन छक्क परे । आखिर को हुन् यिनी ? किन यस्ती छिन् ? रतनलाई युवतीका बारेमा बुझ्न खुल्दुली लाग्यो ।
त्यस दिनदेखि महिनौँसम्म रतन युवतीको पछि लागिरहे तर युवतीबाट कुनै प्रतिक्रिया पाएनन् । एकदिन रतन युवतीको पछि लाग्दै उनको घर ज्ञानेश्वरसम्म पुगे । एउटी वृद्धालाई युवतीको नाम र आनीबानी सोधे । वृद्धाले एकएक गरेर युवतीका बारेमा बताएपछि रतनले सोचे– “राम्रो बाटो हिँड्नेहरूको कमी रहेनछ यो संसारमा । मैले पो जीवनको अर्थ नबुझेको रहेछु । वास्तविक सौन्दर्यको खोज गर्न नजानेको रहेछु । आफूले आफैँलाई देवता सम्झेर निरुद्देश्य बाँचेको रहेछु ।
एउटी मध्यम वर्गीय परिवारकी शीतलको आँखामा म अटाउन सकिनँ । म त मजस्तै अर्थहीनहरूको प्रियपात्र रहेछु । केवल आफ्नै जवानीको मायाँ गर्ने नीचहरूको असीम आनन्दको भोग गर्न मसँग झ्याम्मिँदा रहेछन् । म रित्तिएँ भने मेरा प्रियपात्रहरूको न्यानो स्पर्शबाट म विमुख हुनेछु । म केवल अँध्यारामा हिँडेको रहेछु । म लरखराएँ भने मेरा प्रियपात्रहरू अर्को डालीमा पुग्नेछन् ।” जिन्दगीका बारेमा यस्तै सोच्दासोच्दै रतनले आफूलाई मझधारमा पाए । वृद्धाले भनेका शब्दहरू पनि मगजमा घुमिरह्यो ।
“बाबु ! शीतलका बारेमा यति बुझ, ऊ मृत्युको सङ्घारमा पुग्नै परे पनि आफ्नो अस्मितामाथि हस्तक्षेप हुन दिन्न । तिमीचाहिँ सिनोमा लिप्त भएको गिद्धझैँ देखिन्छौँ । उमेर खप्लक्क खाएकीले यति छुट्याउने सामर्थ्य छ ममा । तिमी शीतललाई चाहन्छौ भने सत्य र इमानको माला गुथेर आऊ, अन्यथा आउँदै नआऊ ।”
वृद्धाको कुरा सम्झँदा रतनमा भएको उत्साह–उमङ्ग सबै छताछुल्ल भएर पोखियो । रतन एकान्तमा बसेर टोलाउँथे । निराश भएर शीतललाई बिर्सिने कोसिस गर्थे । जति कोसिस गरे पनि सपनीबिपनीमा र अरू सबै-सबै ठाउँमा आउँथिन् शीतल । रतन घाइते सिंहझैँ छट्पटाउँदै दिन र रात काट्थे । खानपिनको पनि वास्ता गर्दैनथे ।
सधैँ प्रेमिकाहरूकै पछि लाग्ने रतनमा एकाएक आएको परिवर्तनले निर्मला र प्रसादलगायत छिमेकीहरूपनि आश्चर्यमा परे । निर्मला र प्रसादको हृदयमा केही आशाका मुनाहरू पलाउन थाले, उनीहरूले सोचे– “बल्ल रतनेले प्रेमको वास्तविक मूल्य बुझेको छ । उसका आँखामा लागेको तुवाँलो फाट्यो । अब रतन उज्यालो बाटामा हिँड्नेछ । रतनलाई धेरै दिनसम्म बेचैन देखेपछि एकरात प्रसादले रतनको सामु गएर भने–“बाबु रतन ! धेरै दिन अगाडिदेखि तिमी एक्लै छटपटाइरहेका छौ । लाग्छ तिमी कसैलाई प्रेम गर्छौ । यदि प्रेम गर्छौ भने सम्पूर्ण वास्तविक साहसका साथ बताऊ । तिमीले आफ्ना चरित्रका बारेमा पनि स्पष्ट भन । भ्रममा बाँच्नुभन्दा यथार्थमा बाँच्नु राम्रो हुन्छ ।”
रतनले मौन भएर बाबुको कुरो सुने । बाबुले भनेको कुरा उनलाई ठीक लाग्यो । भोलिपल्ट रतन रत्नराज्य क्याम्पस पुगे । शीतललाई देख्नेबित्तिकै रुन्चे स्वरमा भने–“बिन्ती शीतल ! आज तिमीले मेरो केही कुरा सुनिदेऊ; नत्र म पागल हुनेछु ।”
एउटा हट्टाकट्टा नौजवान आफ्ना अगाडि गिडगिडाएको देखेर शीतललाई आश्चर्य लाग्नु स्वाभाविकै थियो । शीतलले युवकतिर हेरेर मन्द स्वरमा भनिन्–“भन्नुहोस्, कस्तो कुरा ?”
रतनले भयभीत हुँदै भने–“शीतल ! म तिमीलाई प्रेम गर्छु । प्रेमप्रस्ताव राख्न नसकेर भित्रभित्रै जलिरहेको छु ।”
“हेर्नुहोस् ! पवित्र प्रेमलाई म पाप गरेको चाहिँ भन्दिनँ तर मलाई प्रेममा विश्वास लाग्दैन । ”
रतनले गहबाट बग्दै गरेको आँसुलाई पुछ्दै भने–“हो शीतल, म पनि प्रेममा पटक्कै विश्वास गर्दिनथेँ । नढाँटी भन्दा असल प्रेमिका कोही छैनझैँ लागेर आफ्नो यौवन धेरैलाई सुम्पेँ । जब तिमीलाई देखेँ, त्यसपछि लाग्यो मेरी असल प्रेमिका तिमी नै हौ । मलाई मान्छे बन्न एक मौका देऊ । म तिमीलाई मनमुटु सुम्पिन्छु ।”
शीतलले रतनलाई एकोहोरो हेरिन् । रतन हृदयमा उठेका हुरीका झोक्काहरूले कम्पायमान देखिन्थे । रतनको बोलीमा कपट थिएन; पीडा थियो ।
शीतलले नम्र स्वरमा भनिन्–“तपाईँले आफूलाई उदाङ्गो पार्नु नै तपाईँको महान्ता हो तर तपाईँले कति पढ्नुभएको छ ?”
शीतलको कुराले रतन शिर झुकाएर मौन रहे । शीतलले कुरा थपिन्– “हेर्नुहोस् ! अहिलेसम्म केही बिग्रिएको छैन । तपाईँले चाहेमा जे पनि गर्न सक्नुहुन्छ । मलाई साँच्चै मायाँ गर्नुहुन्छ भने तपाईँले समाजको अगाडि केही बनेर देखाउनुहोस् । जुन दिन तपाईँ आफ्ना खुट्टामा उभिन सक्षम हुनुहुन्छ, त्यसपछि आउनुहोस् म तपाईँको प्रतीक्षा गरुँला ।”
“पक्कै पर्खन्छ्यौ होइन ?” रतनले मुटु दह्रो पार्दै भने ।
शीतलले अवश्य पर्खन्छु भनेर पर्खिने वाचा गरिन् । रतन खुसी हुँदै घर आए । आफ्नो छोराको ओठमा प्रफुल्ल हाँसो देखेर रतनका बाबुआमा पनि खुसी भए । बर्सौँदेखि थन्क्याएका किताबहरू झिकेर पढ्न लागेका देखेर रतनका बाबुआमा यति हर्षित भए कि जसको सीमा नै थिएन । उनीहरूले मनमनै रतनलाई सही बाटो देखाउने युवतीलाई प्रणाम गरे ।
समय बित्ने क्रम जारी नै रह्यो । रतन दिलोज्यान दिएर पढ्न लागे । शीतल पनि पढ्दै गइन् । एकपल्ट आँधीसरि आएर प्रेमप्रस्ताव राखेर गएको रतन चारपाँच वर्षसम्म देखा परेनन्, बरु शीतलको कानमा एउटा सनसनीपूर्ण हल्ला भने पर्यो । रतनलाई एच.आई.भी. एड्स लागेर यहाँ बस्न नसकी अमेरिका गएको छ रे । शीतलले हल्लालाई एक कानबाट सुनेर अर्को कानले उडाइदिइन् । रतन आउने प्रतीक्षा गरिन् । शीतलका आफन्तहरूले पनि रतनलाई एड्स लागेकै कुरो पुष्टि गरे । शीतलले रतनका पक्षमा जति वकालत गरे पनि केही सिप लागेन । सबैका अगाडि ‘एक्लो बृहस्पति झुट्टा’ भनेझैँ भइन् शीतल । रतनको मायाँ छातीभरि हुँदाहुँदै पनि दीपसँग विवाह गर्न बाध्य भइन् उनी ।
दीपलगायत दीपका परिवारले शीतललाई आफ्नो घरमा भित्र्याउन पाएकोमा ठूलो सौभाग्य सम्झे ।
शीतलले समयसँग सम्झौता गर्नैपर्यो । दीपसँग मिलन भएपछिका केही वर्ष राम्रैसँग बिते । विवाह गरेको चारपाँच वर्षसम्म पनि शीतलबाट बच्चा हुने कुनै छनक नदेखेपछि दीपका बाबुआमा तारा र उदयलगायत दीपको परिवार खिन्न भए । उनीहरूको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । दीपका बाबुआमा आफ्नो एकमात्र सन्तान दीपबाट चाँडै बच्चा जन्मियोस् भन्ने चाहन्थे । दीपको पनि त्यस्तै इच्छा थियो । सबैको इच्छा पूर्ण नभएपछि शीतलको सम्पूर्ण गुण फिक्का लाग्यो । मेरी प्राणभन्दा प्यारी भन्ने दीपका गाँस र वास घरभन्दा बाहिरै हुन थाल्यो । दीप आधा रातमा टन्न रक्सी पिएर आएपछि भन्थे–“ए बाँझी ! सयौँलाई नङ्गाएको रतनले तँलाई मात्र के बाँकी राख्यो होला र ? पहिला बच्चा नपाउनलाई अनेक थरी साधन प्रयोग गरिस् होला अनि अहिले कहाँबाट बच्चा हुन्थ्यो त ? थुक्क नकचरी ! मेरो भाग्यमा कस्ती अलच्छिनीसँग भेट हुन लेखेको रहेछ । बरु आत्महत्या गरेर मर्; सबैलाई आनन्द हुन्छ ।”
सासू तारा स्पष्ट शब्दमा नै भन्थिन्– “अलच्छिनी राँडले बुढो साँढेले गाईलाई ओगटेजस्तै मेरो छोरालाई ओगटेकी छे । आफूले सन्तान दिन नसक्ने भएपछि खुरुक्क बाटो लाग्नु नि !”
शीतल सबैको क्षुद्र वचन सुनेर आफ्ना आँखालाई दुःख दिन्थिन् । आफ्नो र रतनको सम्बन्धका बारेमा सबैलाई स्पष्ट भनेकी थिइन् । शीतलले आफ्नै आङ कन्याएर छारो उडाउनुभन्दा आफ्नो र आफन्तकै इज्जतका लागि आफूले चोट सहँदै चुपचाप मुख सिएर बसिन् । सबैले खपी नसक्नु अति नै हेला गरेपछि एकदिन शीतलले भनिन्–“हेर्नुहोस् ! कमजोर ममात्र नहुन पनि सक्छु । दुवै जँचाउन जाऔँ । बच्चा चाहिन्छ, त्यो म मान्छु तर बच्चा नै सबै होइन । यो घर तपाईँहरूको, मेरो, हामी सबैको हो । हामी घर भत्काउने काम नगरौँ । भोलि पछुतो पनि पर्न सक्छ ।”
ताराले रिसाउँदै भनिन्– “केको पछुतो हँ ? हामीलाई तँ कति सास्ती दिन्छेस् ? बिन्ती, यो अत्यासिलो दिनबाट हामीलाई मुक्ति दे । तँ हाम्रो खुसीमा तगारो नबन् । हाम्रो वंशमा बच्चा नहुने कोही पनि छैन । तँ आफ्नै फुपू गोता गइस् ।”
शीतल रुँदै कोठामा आइन् । आँखामा धेरै वर्षअगाडिको फुपूको दुर्दिन नाच्यो– “विवाह गरेको छ वर्ष बित्दा पनि फुपूबाट बच्चा जन्मिएनन् । बच्चा नपाएको निहुँमा फुपूका सासू, ससुरा र लोग्ने मिलेर फुपूलाई शरीरभरि नीलडाम हुने गरी पिटेर घरबाट निकालिदिए । फुपू आधा रातमा रुँदै माइती आउनुभयो । फुपूको दुर्गति देखेपछि हजुरबा र हजुरआमालगायत परिवारका सबै जना ज्यादै चिन्तित भए । फुपूको मनको घाउ मनैमा थियो । त्यसमाथि आलो घाउ कोट्याउने आफन्त र छिमेकी छँदै थिए । आमाबाबु र आफन्तकै इज्जत जोगाउन फुपूले जीवनका रहर लाग्दा बैँसालु पलहरू बलि चढाउँदै बिताउनुभयो । फुपू माइत बसेको ठीक एघार वर्षपछि एक रात फुपाजु आइमाई रोएजस्तै रुँदै आएर फुपूको खुट्टा समातेर माफ माग्दै भन्नुभयो– “दुर्गा ! मैले धेरै पाप गरेको रहेछु । मलाई माफ गर । म तिम्रो अभावमा यो जीवन काट्न नसक्ने भएँ । मलाई केवल तिमी भए पुग्छ । तिमीले जान मानिनौ भने आत्महत्या गरेर मर्छु । कान्छी र छोराछोरीलाई पुतलीसडकको सम्पत्ति भए पुग्छ । म तिमीलाई लिएर आसामतिर जान्छु ।”
फुपूको कोमल मन फुपाजुको रुवाइले पग्लिहाल्यो । हजुरबा–हजुरआमा साथै सब परिवार बाह्र वर्षपछि खोलो फर्कियो भनेर ज्यादै खुसी हुनुभयो । भोलिपल्ट नै फुपाजु आफ्ना बाबुआमा, अति सुन्दरी श्रमिती र छोराछोरीलाई चटक्क छोडी फुपूलाई लिएर आसामतिर लाग्नुभयो । आसाममा फुपूकै नाममा घरजग्गा जोडेर बडो सानसौकाताका साथ फुपूलाई राख्नुभयो । आफ्ना बाआमाको मृत्युमा समेत फुपाजु काठमाडौँ आउनु भएन । फुपूलाई अत्यधिक मायाँ गर्नुको भित्री रहस्य रहस्यमय नै बन्यो ।
शीतल केही पढेलेखेकी थिइन्, त्यसो हुनाले फुपाजुले सम्पूर्ण त्याग्नुको पछाडि केही रहस्य होला भनेर कैयौँपल्ट बुझाउन पनि खोजिन् तर अहँ, दीपले शीतललाई मुख बाउन पनि दिँदैनथे । उल्टै–“तेरो कुरो सुन्नुभन्दा त बौलाउनु बेस; हे दैव मलाई चुँडेर लैजा, म यो संसारबाट भाग्न चाहन्छु ।” भन्दै फलाक्थे ।
स्वार्थरहित नारीहरूका लागि जिन्दगी जिउन कति कठिन छ हुन्छ भन्ने कुरा भोग्नेलाईै मात्र थाहा हुन्छ भनेझैँ शीतलले भोग्दै गइन् । आफन्तहरूलाई चोट बिसाएर दुःखी बनाउन उनको हृदयले मानेन । हृदयमा लागेको चोट सहन गर्न नसकी शीतल पागलझैँ भइन् । उनलाई हनहन्ती ज्वरो नै आयो । खुट्टै टेक्न नसकेर ओछ्यानमा थला परिन् । शीतल खानु न खुट्नु ओछ्यानमा सुतेको देखेपछि तारालाई सहिसक्नु भएन । कोठामै आएर धारे हात लगाउँदै भनिन्– “ए घोरमुखा, अलच्छिनी ! बाँझी के स्वाङ् पारेर सुतेकी हँ ? समाजका अगाडि मुख देखाउन पनि लाज भैसक्यो । बैरीहरूको थपडी कति सहनु ? तैँले पोइल जान कोही पाइनस् भने बहिनीको घरमा काम गर्ने लठेब्रोसँग मरेस् । बहिनीलाई सधैँ मेरो विवाह गरिदेऊ भन्छ अरे, उसले पनि गति पाउनेछ, तैँले पनि सहारा पाउनेछेस् ।”
सासूको कटु शब्दले शीतलको मुटु छियाछिया भयो । परिवारले आफूलाई फालिएको फोहरभन्दा पनि सस्तो सम्झेको हुँदा शीतलको होस नै गुम भएझैँ एकोहोरो भइन् । लरखराउँदै घरबाट निस्किइन् । घरबाट निस्किँदा सासूले रोषपूर्ण स्वरमा भनिन्– “ए दुष्ट गोमन ! हामीलाई डस्न त्यो दुर्गन्धित अनुहार लिएर फेरि थसिखेल नआएस् नि !”
शीतल विरहव्यथाको पोको बोकेर अगाडि बढिन् तर गन्तव्य कहाँ हो भन्ने उनैलाई पत्तो थिएन । एकोहोरो सडकमा हिँडिरहिन् । जाउलाखेलको भीडमा आफ्ना अगाडि झुम्म दाह्री पालेको दुब्लोदुब्लो आकृति उभिएको देखेपछि अलिक झस्किँदै सोधिन्– “तपाईँ को हुनुहुन्छ ?” युवक नबोली चुप लागेपछि रिसाउँदै शीतलले युवकतिर हेरिन् । शीतलको रिस कता भाग्यो, भाग्यो । शीतलका आँखाबाट बरबरी आँसु झर्न थाले । युवकले नम्र स्वरमा भने– “केवल एकपल्ट देखेको आँखालाई पनि चिन्छ्यौ शीतल ?”
शीतलले मुटु दह्रो पार्दै भनिन्– “भैगो, कुरा छोड्नुहोस् । अमेरिकाबाट कहिले फर्कनुभयो ? किन यसरी दुब्लाउनुभएको ? बिहाबारी त गर्नुभयो होला नि ! बच्चाबच्ची कति भए ?”
“मजस्तो एड्स रोगीको पनि कहीँ विवाह हुन्छ र बच्चाबच्ची हुनु ?”
शीतलले लामो सास फेर्दै भनिन्– “नजिस्किनुहोस्, तपाईँ को हुनुहुन्छ भन्ने मैले राम्ररी चिनेकी छु । चिन्दाचिन्दै पनि आफन्तका अगाडि मैले घुँडा टेक्नुपर्यो । अलिकति गल्ती तपाईँको पनि छ । केटीमान्छेहरूको विवाह गर्ने उमेरको निश्चित सीमा हुन्छ । त्यो उमेर नाघेपछि उसले बूढीकन्या भएर बस्नुपर्छ । त्यस अवस्थामा उसले अरूकै इच्छाअनुसार यन्त्रमानवझैँ चल्नुपर्छ ।”
“त्यसो भए तिमीलाई म एड्स रोगी हुँ भन्ने कुरामा विश्वास थिएन ?” रतनले सोधे ।
“अहँ, थिएन र छैन पनि, तपाईँ को हो भनी सम्झाउँदा आफन्तले मान्न तयार भएनन् । साँच्ची तपाईँमाथि लाञ्छना लगाउने चाहिँ को होलान् ?”
“मैरै पूर्वप्रेमिकाहरूको चाल हुनुपर्छ । उनीहरू मेरो परिवर्तित रूप देख्न चाहँदैनथे । ममा परिवर्तन आउनुको कारण तिमी नै हौ भन्ने बुझेपछि मबाट तिमीलाई छुटाउन चाहेका होलान् । अहिलेसम्म घरमा बाहेक बाहिर मलाई एड्स रोगी नै सम्झेर पन्छिँदै हिँड्छन् । जे होस्, तिमीले मलाई विश्वास गरेकी रहिछ्यौ, त्यही नै खुसी लाग्यो । तिमीले भनेझैँ म अमेरिकामा लक्ष्य प्राप्त गर्नकै लागि गएको थिएँ । त्यहाँबाट इन्जिनियर पास गरी आएको छु । तिम्रो विवाह भयो भनेको सुन्दा केही दिन आफूलाई समाल्न सकिनँ । तिमी खुसी छ्यौ भन्ने ठानी तिम्रो खुसीको कामना गर्दै बाँचिरहेँ । तिम्री कान्छी सासू र हाम्री काकीको मितेरी साइनो रहेछ । त्यसो भएकाले मलाई तिम्रो विषयमा सबै थाहा छ । तिमी अहिले मर्माहत भएकी छ्यौ । मितिनीकाकीले फोन गर्नुभएको हुँदा तिमीलाई नै खोज्न यहाँ आएको हुँ । धन्न भेट पनि भयो । म तिम्रो यो दुर्दशा हेर्न सक्तिनँ । मलाई बच्चा होइन, तिमी भए पुग्छ ।”
शीतलले रुँदै भनिन्– “मलाई मेरै हालतमा छोडिदिनुहोस् । म तपाईँको घरलाई पनि मसान बनाउन चाहन्नँ । वैवाहिक जीवनको एउटा उद्देश्य सन्तान हुनु पनि हो । सबैले सन्तानको रहर गरेकै हुन्छन्; त्यसैले बच्चा भनेको सबैलाई चाहिन्छ । एउटा घरजम असफल भएकी मसँग तपाईँको भविष्य गाँसेर तपाईँलाई पनि असफल बनाउने प्रयत्न गर्नु मेरा लागि नसुहाउने कुरा हो । तपाईँ अन्तै विवाह गर्नुहोस् ।”
“के भनेकी शीतल तिमीले ? मान्छेले अरूका लागि मात्र होइन, आफ्ना लागि पनि बाँच्न सिक्नुपर्छ । म तिमीबाहेक अरूसँग सम्बन्ध राख्दिनँ । बरु सयौँ जन्म कुर्नुपरोस् ।”
शीतलले एकएक गरेर सबैले आफूलाई गरेको अपमान सम्झिइन् र मौन रहिन् । रतनले शीतलको मौन भाषा बुझेर ट्याक्सी रोके । शीतल चुपचाप ट्याक्सीमा बसिन् । शीतललाई सबै सपनाजस्तै लाग्यो । रतनको घर कालिमाटी पुगेपछि शीतललाई कुमारी नवदुलहीभन्दा पनि उच्च स्थान दिए । बर्सौँदेखि गुमुसुम रहेका रतनको ओठमा हाँसो देखेर रतनका बाबुआमा औधी खुसी भए ।
शीतल रतनसँग गइन् भन्ने थाहा पाएपछि दीपको घरमा मानौँ दीपावली आएजस्तै भयो । उदय र ताराले मुखै फोरेर भने – “बल्ल टाउकाबाट विकराल पहाड हट्यो । कुच्चाले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो, हाइसन्चो भयो । पूर्वप्रेमीले लगेछ, जारीचाहिँ माग्नैपर्छ ।”
शीतल गएको एक घण्टा पनि नबित्दै घरसल्लाह गरेर उदयले प्रसादसँग २० लाखको जारी मागे । प्रसादले नाइँनास्ति नगरी तुरन्त पैसा पठाइदिन्छु भनेपछि उदयले फोनमै उन्मत्त हाँसो हाँस्दै भने– “प्रसादजी, तपाईँ त मानौँ हीरा भित्र्याएझैँ प्रसन्न हुनुहुन्छ । पैसामा नाइँनास्ति पनि गर्नुभएन नि !”
प्रसादले गम्भीर भएर उत्तर दिए– “उदयजी ! असली हीराको मूल्य हीरापारखीले मात्रै थाहा पाएको हुन्छ । तपाईँहरू ज्यादै खुसी हुनुभएको छ । तपाईँहरूको खुसी पलभरको खुसी हो । हामीले मायाँ मारिसकेको छोरालाई नयाँ जीवन दिएर इन्जिनियरसम्म बनाउने बुहारी ढिलै भए पनि हाम्रो घरमा आइन् । उनका लागि त म सर्वस्व दिन पनि तयार थिएँ । जाबो २० लाख त मेरा निम्ति केही पनि होइन, बुझ्नुभो ?”
उदयले हा… हा… हा… गरेर ठूलो स्वरमा हाँस्दै भने– “कसको खुसी पलभरको हो, त्यो त समयले बताइहाल्छ नि ! किन हतार गर्नुहुन्छ ? एउटी बाँझी आइमाईको मोल हीरासँग दाज्नुभयो होइन त ?”
“तपाईँ सधैँभरि यसरी हाँसिरहन पाउनुहोस्, जारीको पैसाको पीर नगर्नुहोस्, म पठाइदिउँला” भन्दै प्रसादले फोन राखिदिए ।
यता उदयले–“थुक्क मूर्ख ! थुकेको थुक चाट्दा पनि गर्व नै गरेको छस् ।” भन्दै फोन राखे ।
शीतल गएको हप्तादिन पनि नबित्दै दीपको विवाह सुकन्यासँग बडो धुमधामका साथ गरिदिए । दुई महिना पनि नबित्दै सुकन्या आमा बन्ने भइन् । दीपको घरमा खुसीको लहर छायो । सुकन्यालाई मानौँ मणिझैँ अति मायाँ गर्न थाले । सुकन्यालाई खुसी तुल्याउनका लागि कुनै पनि कसुर बाँकी राखिएन । बेलामौका पारेर सुकन्याले माग गरेअनुसार आफ्नो नाममा भएको चलअचल सम्पत्तिको धेरै भाग दीपले सुकन्याकै नाममा पास गर्दै गए । जन्मँदै नजन्मेको बच्चाका लागि खेलौना र कपडाले घर भरिँदै गयो ।
दीपले आफूलाई पूर्ण शक्तिशाली पुरुष सम्झे । उदयको परिवारको खुसीको कुनै सीमा नै थिएन । उता प्रसाद परिवारका दिनहरू पनि हर्षोल्लासमा नै बितिरहेका थिए ।
रतनसँग गएपछि केही महिना शीतल बेचैन भइन् । सबैको मायाँ पाएर आफूलाई समाल्दै गइन् । रतनसँग मिलन भएको आठ महिना नबित्दै शीतल पनि आमा हुने भइन् । आमा नहुने सम्झेका प्रसादको परिवार खुसी नहुने त प्रश्नै थिएन । प्रसादको परिवार सुनमाथि सुगन्ध भयो भन्ने सम्झी अति धेरै खुसी भए । शीतलका फुपाजु सम्पूर्ण त्यागेर मुग्लान भासिनुको रहस्य सबैले बुझे । रतनलाई एड्सको रोगी ठान्नेहरू रतनसँग माफ माग्न आउन थाले । रतनको उजाड मन वास्तवमै स्वर्गीय आनन्दले रङ्गियो ।
शीतल आमा हुँदै छिन् भन्ने सुनेपछि दीपको परिवारमा मुर्दा शान्ति छायो । सबैले सुकन्यालाई शङ्कालु आँखाले हेर्न थाले । दीपका मनमा वास्तविकता पो बुझ्नुपर्छ कि जस्तो लाग्यो । उनले यसै क्रममा एकएक गरी सात जना डाक्टरहरूसँग जचाए । सबै डाक्टरहरूको एउटै उत्तर थियो– “सन्तान उत्पादन गर्न शारीरिक रूपले तपाईँ असक्षम हुनुहुन्छ । वीर्यमा शुक्रकीटको अभाव छ । त्यसैले तपाईँबाट कुनै सन्तान जन्मिँदैन ।” डाक्टरहरूको प्रतिक्रियाले दीप जिउँदै आगाको भुङ्ग्रामा परेको माछाझैँ छट्पटिन थाले । सत्य थाहा पाएपछि तारा र उदय छाँगाबाट खसेझैँ भए । सबै परिवार शीतलमाथि गरेको अत्याचार सम्झेर मानौँ रगतको आँसु झार्न लागे । एकाएक सबैको ओठको हाँसो हराएपछि सुकन्यालाई पनि वास्तविकता बुझ्न बेर लागेन र सुकन्याको वास्तविकता बुझ्न पनि अरूलाई बेर लागेन ।
अब यो घरमा मैले बसिरहनु मेरो कल्याणको पक्षमा छैन भन्ने सम्झी आफ्नो नाममा भएको चलअचल सम्पत्ति पास गरेको कागजात, गहना, पैसा लिएर स्वास्नी, छोराछोरी भएको पुरुषसँग पोखरातिर टाप कसिन् । दीपको परिवार आफूमाथि परेको वज्रपात सहन गर्न नसकी मरणासन्न भए । त्यस्तो अवस्थामा पनि कसैबाट सान्त्वना र आश्वासनका दुई शब्द पनि त्यस परिवारले पाउन सकेनन् । बरु, उल्टै छिमेकीहरूले भने– “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड” भनेको यही हो । कति बुद्धिमानी प्रसादको परिवार २० लाख जारीको पैसा त एक घण्टाभित्रै फ्याँकेर गए रे । कठै ! शीतलमाथि घोर अत्याचार नगरेको भए उनी किन घर छोड्थिन् ? नाङ्गे झार पारेर कान्छी बुहारी टाप कसी । अब शीतलमाथि गरेको अत्याचार सम्झँदै त्यस परिवारले मृत्यु कुर्छन् ।”
नभन्दै छिमकीहरूले भनेझैँ उदयको परिवार हरपल मरणासन्न भएर शीतलको सम्झनामा मृत्यु कुरिरहेका थिए ।
शीतलले चार वर्षको अन्तरालमा पाएका दुई छोराहरूका साथ प्रसादको परिवार दुई पलको जिन्दगी सम्पूर्ण खुसीको भोग गर्दै बिताइरहेको थिए ।
एक दिन बिहानको झिसमिसेमै गेटमा घण्टी लाग्यो । निर्मलाले शीतलतिर इसारा गर्दै भनिन्– “नानी ! जाऊ गेट खोलिदेऊ ।” शीतल गेटमा पुगिन्, सुकेको रूखजस्तो कङ्गाल मानवआकृतिलाई नचिने पनि नमस्कार गर्दै भनिन् –“भित्रै पाल्नुहोस् न, कसलाई खोज्नुभएको होला कुन्नि ?”
वृद्धका ओठबाट बोली निस्केन, शिर झुकाउँदै सरासर भित्र आए । शीतललाई वृद्धको अनौठो व्यवहार देखेर अचम्मै लाग्यो र पनि वृद्ध देखेपछि ससुराकै कोठामा बस्न आग्रह गरिन् । प्रसादले मन्द हाँसोमा बडो सत्कारका साथ भने–“बस्नुहोस् ।”
तरक्क आँसु झार्दै वृद्ध सोफामा टुसुक्क बसे ।
प्रसादले शीतलतिर हेर्दै भने– “नानु ! चिनिनौ कि क्या हो ? वहाँ दीपको बाबु उदय हुनुहुन्छ ।”
ससुराको कुराले शीतलको होसहवास उड्यो । हतारहतारमा उनी कोठाबाट निस्किइन् । प्रसादले बडो नम्र स्वरमा भने – “होइन, एकाबिहानै किन पाल्नुभो उदयजी ?”
उदयले बडो कष्टका साथ बोली फुटाए –“प्रसादजी, हामी हृदयमा ढुङ्गा राखेर बाँचिरहेका छौँ । जीवनको पूर्णविराम हुनुअगाडि तपाईँसँग भेटेर माफ मागूँझैँ लाथ्यो । हेर्नोस् ! हामीहरूले वास्तविक मूल्य बुझ्न नसक्दा तपाईँले भनेझैँ हीरा गुमायौँ । तपाईँहरू असीम आनन्दको भोग गर्दै बाँचिरहनुभएको छ । यसमा कसैको दोष छैन । म स्वयं दोषी हुँ, मेरो परिवार नै दोषी हो । जारीको पैसाले हामीलाई भित्रभित्रै जलाइरहेको छ । त्यो पैसा फिर्ता लिनुहोस् । बिन्ती, नाई नभन्नुहोस् ।”
प्रसादले भने– “तपाईँलाई आत्मसन्तुष्टि हुन्छ भने आफ्नो इच्छा गर्नुहोस् ।”
उदयले हतारहतार कोटको खल्तीबाट पैसा झिकेर टेबुलमा राखी कोठाबाट बाहिरिए । प्रसादले जारीको पैसा एकोहोरो हेरिरहे…हो एकोहोरो …. ।
बुद्धनगर काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

