‘फेरि बिग्रेको नै के छ र ?’

सिनेमाको पर्दामा र कथाहरूमा भेटिनेजस्ता घटना आफ्नै जीवनमा कुनै दिन घट्छ भन्ने मलाई के हेक्का ? सबै राम्रै चलिरहेको थियो । राम्रो जागिर त थिएन बिनोदको । तर पनि वरपर रहेका नेपालीहरूलाई हेरेर बिनोदको जागिरप्रति मेरो कुनै चित्त दुखाइ थिएन ।

नेपालमा सबै दङ्गै थिए । छरछिमेकमा छोरी फिन्ल्यान्डमा छे भनेर बाआमा गफिन पाएका थिए । बिहे भएको चार महिनामै फिन्ल्यान्डको भिसा लाग्यो । त्यसपछिका दिनहरू निकै रमाइला । बिनोद साँझ र बिहान काममा जान्थ्यो । म भाषा सिक्थेँ । राम्रोसँग भाषा सिकेपछि नर्सिङ पढ्ने तयारी थियो ।

तर एकाएक तीतो सत्यसँग साक्षात्कार हुनुपर्‍यो । यो यस्तो सत्य थियो जसले मेरा सम्पूर्ण सपनाहरू डगमगाएका छन् । बिनोदप्रतिका आस्था र विश्वास भत्किएका छन् ।

० ० ० ०

‘को हो र त्यो बच्चा ?’

‘ए, त्यो मेरो एकजना साथीको छोरा हो ।’

‘नेपालीको ?’

‘होइन, आमा फिनिस हो, तर बाबु विदेशी हो ।’

‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै ।’

‘कालो कपाल त हामी एसियनहरूको मात्रै होइन, अरूको पनि हुन्छ नि । मेक्सिकन, ब्राजिलियन अरू पनि थुप्रै देश छन् जहाँका मान्छेहरूको कपाल कालो हुन्छ ।’ बिनोदले भन्यो ।

‘के भन्दैछ र उसले ?’ मैले सोधेँ ।

‘म घरमा एक्लै हुँदा कहिलेकाहीँ खेल्न आउँथ्यो यहाँ । पर्सि आमासँगै स्पेन जाँदै रै’छ । त्यही भएर यहाँ छुटेका खेलौनाहरू लिन आ’को ।’ यति भनिसक्दा बिनोदले खेलौनाहरू बटुलेर एउटा झोलामा राखिसकेको थियो । झोला त्यै बच्चालाई दिँदै उसले फिनिस भाषामा खै के के भन्यो, मैले बुझिन ।

त्यो बच्चाले खेलौना भएको झोलाबाट भुत्ला भएको सेतो रङको कुकुर निकाल्दै गर्दा बिनोदले उसलाई पछाडिबाट जुरुक्क उचालेर आफ्नो काखमा लियो । अनि उसको गालामा म्वाइँ खायो । त्यो बच्चाले पनि उसै गरी बिनोदको गाला र निधारमा म्वाइँ खायो । विनोदको बच्चाप्रतिको मोहले मलाई रोमाञ्चित बनायो । आफ्नो दायाँ हात बढ्दै गरेको आफ्नै पेटमा राखेर मैले सोधेँ, ‘कस्तो मायालाग्दो बच्चा, अंग्रेजी बुझ्छ ?’

‘अंग्रेजी त बुझ्दैन, अलिअलि नेपाली बोल्छ ।’ बिनोदले त्यै बच्चातिर फर्केर सोध्यो, ‘तिम्रो नाम के हो ?’

मुसुक्क हाँस्दै उसले भन्यो, ‘मेरो नाम रोज हो ।’

‘हजुरले सिकाउनु भा’को हो ?’ म रोज भन्ने यो प्यारो बच्चातर्फ फर्किएँ, ‘अरू के के भन्न जानेको छौ तिम्ल े?’ रोज केही बोलेन ।

‘धेरै त जान्दैन । अलिअलि मात्रै । नमस्ते, धन्यवाद, हुन्छ, मिठो छ भन्न जानेको छ ।’ बिनोदले भन्यो ।

‘हेइ हेइ’ भनेर हात हल्लाउँदै रोज बाहिर निस्कियो ।

दिउँसो ढोकाको घण्टी बज्यो । ढोका खोलेँ । बाहिर रोज थियो । त्यही प्यारो बच्चा रोज । उसको साथमा एउटी राम्री विदेशी महिला थिई ।

‘हेल्लो, आइ थिंक यू आर आर्या, एम आइ राइट ?’ उनले भनिन्  । मैले ‘हो’ भनेर टाउको हल्लाएँ ।

‘आइ एम एल्सी, इट्स् रिअल्ली नाइस टु सी यू इन फिन्ल्यान्ड’ उनले थपिन् ।

एल्सी र बिनोद कुरा गर्न थाले । उनीहरूको भाषा बेग्लै थियो । तर पनि अनुहारको हाउभाउ हेर्दा लाग्थ्यो उनीहरू कुनै गम्भीर विषयमा कुरा गर्दै छन् । तर भाषा नबुझेकाले अनुमान मात्र गर्न सक्थेँ । बिनोदलाई सोधेँ, ‘चिया बनाऊँ ?’

बिनोदले एल्सीसँग अंग्रेजीमा मैले उसलाई चिया पिलाउन चाहेको जानकारी गरायो । ‘धन्यवाद, आज म हतारमा छु, अर्कोपल्ट है’ एल्सीले मुस्कुराउँदै मलाई भनिन् । एकैछिनमा उनी निस्केर गइहालिन् ।

‘कुराकानी सुन्दा त उसलाई केही समस्या पर्‍या जस्तो थियो है ।’ मैले भनेँ ।

‘ओहो, तिमीले चाँडै फिनिस बुझ्न लागिसक्यौ, गुड’ बिनोदले जिस्काउने पाराले भन्यो ।

‘हैन, अनुहारको एक्स्प्रेसशनले त्यस्तै बताइरा’थ्यो ।’

‘त्यस्तै हुन् यिनीहरूका समस्या’ बिनोदले धेरै बताउन चाहेन ।

० ० ० ०

जाडो सकिएर अलिअलि घाम देखिनासाथ फिन्ल्याण्डको धरती सेतोबाट हरियोमा बदलिँदै गयो । फूलहरू फुल्दै गए । जताततै रमाइलो हुँदै गयो । नेपालबाट आएको दुई महिनामै मैले भाषा सिक्ने स्कुलमा भर्ना हुने अवसर पाएको थिएँ । बिनोद एउटा सफाइ कम्पनीमा काम गर्थ्यो । फिनल्याण्ड आउनु अघि बिनोदले के काम गर्छ मलाई थाहा थिएन । फिनल्याण्डको पीआर भएको केटो भनेर बाआमाले मेरो बिहे गरिदिएका ।

एकदिन भाषा स्कुलबाट फर्केर घर आउँदा बिनोदलाई रोजसँग खेल्दै गरेको भेटेँ । बच्चाप्रतिको उसको प्रेमले मलाई फेरि रोमाञ्चित बनायो । मैले रोजलाई सोधेँ, ‘ओहो, कहिले आएको स्पेनबाट ?’

‘हिजो आ’को ।’ विनोदले भन्यो र ऊ रोजतिर फर्कियो, फिनिस भाषामा बोल्यो ‘उसको नाम आर्या हो ।’

‘फिनिस बोल्न बिर्सेको त छैन स्पेन गएर ?’ मैले सोधेँ । म पनि सामान्य फिनिस बोल्ने भइसकेकी थिएँ ।

‘छैन म आमासँग सधैं फिनिस भाषामै कुरा गर्छु । भाषा बिर्सिएला भनेर नै फिन्ल्यान्ड फर्केर आएको ।’

‘अब जान पर्दैन स्पेन फेरि ?’

‘म अब जान्न । तर आमालाई अझै एक वर्ष उतै बस्नुपर्छ ।’

‘किन ?’

‘आमाको जागिर अझै एक वर्ष बाँकी छ ।’

‘अनि तिमी कोसँग बस्छौ त यहाँ ?’

‘बुबासँग ।’

‘कहाँ हुनुहुन्छ त तिम्रो बुवा अहिले ?

‘तिमिलाई थाहा छैन र ? यही त हो मेरो बुवा’ बिनोदलाई देखाउँदै रोजले भन्यो ।

म खङ्ग्रङ्ग भएँ । बिनोद केही बोलेन ।

‘तिमीले जिस्केर भनेको हो ? बिनोद, कसरी तिम्रो बुवा हुन सक्छ ?’ मैले झोक्किएर सोधेँ ।

‘मैले जिस्केर भनेको होइन । बिनोद नै मेरो बुवा हो । पहिला हामी यही घरमा बस्थ्यौ‌ं । यहाँ भएको कुकुर पनि मेरी आमाले नै किनेको हो । गएको डिसेम्बरमा बुवा नेपाल जानुभन्दा पहिला मेरो बुवा र आमाको झगडा परेर सम्बन्धविच्छेद भएको । त्यसपछि म आमासँग बस्न थाले ।’ रोजलाई के बच्चा भन्नु ? सबै कुरा फिनिस भाषामा उसले मैले बुझ्ने गरी भन्यो ।

‘मलाई तेस्तरी झुक्याउनु भयो ? मैले के बिगारेकी थिएँ ?’ म बेस्सरी रुन थालेँ । रोज अलमलमा पर्‍यो । एकैछिनपछि बिनोदतिर हेरेर ‘आर्या किन रोएकी ?’ भनेर सोध्यो । बिनोद अझै केही बोलेन ।

मेरो आँसु थामिएन । ‘भयो अब चुप लाग ।’ अलि झर्किएको आवाजमा बिनोदले भन्यो । ‘यो मेरो रहर होइन, बाध्यता थियो । तिमी बुझ्ने कोशिस गर । त्यसै बच्चाजस्तो रोएर समस्याको समाधान हुन्छ र ? तिमी त मलाई बुझ्ने आइमाईजस्तो लागेको थियो । फेरि बिग्रेको नै के छ र ? एक वर्षसम्म त हो नि रोज हामीसँग बस्ने । आमा आएपछि उसैले लैजान्छे ।’

मलाई झन् रिस उठ्यो । सम्झाउनु बुझाउनु छैन… उल्टै ‘के बिग्रेको पो छ र ?’ भन्छ ।

० ० ० ०

बिनोद यो हदसम्म पुग्न सक्ला भन्ने मैले कल्पना पनि गरेकी थिइन । त्यत्रो ठूलो झुटको बारेमा उसले मलाई सुइँको समेत दिएन । पहिले नै थाहा पाएको भए यति धेरै पीडा हुने थिएन शायद । अब फर्केर नेपाल जान्छु ।

नेपालमै भएकी भए अहिले म कतै राम्रै ठाउँमा काम गरिरहेकी हुन्थे । अर्कै इज्जत र आत्मसम्मानपूर्ण जिन्दगी हुन्थ्यो । सम्झेर झन् मन दुखेर आयो । अब फर्केर म नेपाल गएँ भने बुढा भएका बुवा आमालाई कस्तो लाग्ला ? अहिले भ्रममै भए पनि छोरी खुशी छे भनेर मनमा शान्ति छ । फेरि पेटमा बढ्दै गरेको बच्चाको भविष्य ? नेपाल छोडेको पनि दुई वर्ष भैसक्यो । सबै कुरा पहिलजस्तो सहज पनि छैन । काम पाइएन भने कति दिन बाबुआमासँग बस्ने ?’

मैले जेजस्तो भएपनि फिन्ल्यान्डमै बस्ने निर्णय गरेँ ।

रातभरि निद्रा परेन । मनमा अनेक तर्कनाहरू आइरहे । बिहानीपख भर्खर निदाएकी मात्र थिएँ, बिनोदको आवाजले बिउँझिएँ । ‘लौ चिया छ यहाँ टेबुलमा ।’

हिजोसम्मको कुरा बेग्लै थियो । सधैं बिहान बिनोद काममा जानुभन्दा पहिला उठेर म चिया बनाउँथे । दुबै जना सँगै बसेर चिया पिउँथ्यौँ । तर आज सबथोक बदलिएको थियो । चिया पिइसकेर बिनोद काममा निक्लन लाग्यो ।

‘त्यो आफ्नो सन्तानलाई पनि सँगै लगे हुन्छ ।’ मैले भनेँ ।

‘कस्तो निर्दयी तिमी ? निदाइरा’छ बिचरा ।’

‘आफ्नो अनुहार ऐनामा हेरे हुने नि दयावान्, महान् मान्छेले । म दुनियाँभरका आइमाईका बच्चा स्याहार्न आएकी होइन । आफू जहाँ जाने हो, सँगै लाने आफ्नो सन्तान पनि ।’ रिसले मेरो टाउको फुट्ला जस्तो भयो ।

‘यति ठुलो कुरा लुकाएर मसँग बिहे गर्ने ? के थाहा अनेक आइमाईसँग बसेको मान्छेलाई रोग पो लाग्या छ कि’ मेरो बोली नसकिंदै ढोकामा पुगेको बिनोदले फर्किएर मलाई गालामा थप्पड हान्यो । मलाई पनि उसको गालामा चड्कन हान्न मन लागेको थियो । तर खोइ के भयो मेरा आँखाबाट बरर आँसु झरे । म रुन थालेँ । हाम्रो झगडाले बिउँझिएको रोज पनि मेरो छेउमा आएर रुन थाल्यो ।

० ० ० ०

‘के भयो आर्या ? तिमीलाई सन्चो छैन की के हो ? अनुहार फ्रेस देख्दिन त ।’ मायाको प्रश्नले अहिलेसम्म थामिएको मनको बाँध फुट्यो । दुवै हत्केलाले अनुहार छोप्दै रुन थालेँ । विनोदकै साथी रमेशकी श्रीमती माया फिन्ल्यान्ड भरिकै मेरो एक मात्र मिल्ने साथी हो ।

बिरानो यो ठाउँमा मायाले अलि बढी चासो र आत्मीयता देखाउँदा म बगेछु ।  मैले आफ्नो अन्तरहृदय छर्लङ्ग पारेँ मायासामु । बिनोदको सबै कर्तुत बताइदिएँ ।

तर अचम्म भयो । पछिल्लो ४८ घण्टादेखि मेरो होसहवास उडाएको घट्नालाई मायाले सामान्य रूपमा लिई, ‘के नौलो भयो र ? यो त सामान्य कुरा हो ।’

आफ्नो दुःख बिसाउने क्रममा मैले मायाको जीवनको अँध्यारो पाटो पो प्रस्ट देखेँ । मायाको घरमा जाँदा सधैँ भेटिने पाइभी र पेट्री विवाहसँगै मायाले रमेशबाट उपहार पाएकी रै’छे । उनीहरू कहिले आमासँग, कहिले बाबुसँग बस्ने रै’ छन् । माया जतिजति कुरा गर्दै गई । म  झन् झन् अचम्मित हुँदै गएँ ।

‘हेर आर्या, यहाँ तिमी र मजस्ता धेरै महिला छन्, जसका लोग्नेहरूका यहाँका आइमाईबाट बच्चा छन् ।’ फलानाको लोग्नेको यति वटा बच्चा, फलानाको लोग्ने यति बर्ष फिनिससँग बसेर नेपाल गएर बिहे गरेको, फलानो फलानो अहिले फिनिससँग बस्दै छन् । मायाले सबै बताइन् । यहाँ धेरै त्यस्ता नेपालीहरू रहेछन् जो आफ्नो व्यवस्था नमिलेसम्म फिनिससंगै बस्छन् । पछि आफ्नो व्यवस्था मिलेपछि छुट्टिन्छन् र नेपाल गएर बिहे गर्छन् ।

‘यिनीहरूमध्ये केहीको त बाध्यता पनि हुनसक्छ । पढ्न आएकाहरूले यहाँ काम नगरी नेपालबाट पैसा ल्याएर पढ्न सक्ने अवस्था हुन्न । लगातार क्याम्पस गएर पढेन भने भिसा थप्नको लागि पढाइबाट पर्याप्त क्रेडिट हुँदैन । कामबाट भिसा पाउन पनि सजिलो छैन । पढाइबाट पर्याप्त क्रेडिट नहुने अनि कामबाट पनि भिसा नलाग्ने अवस्थामा नेपाल फिर्ता जानुको विकल्प यहाँकै केटीसँग बिहे गरेर बस्नु भन्दा अर्को छैन ।’ मायाले भनी, ‘र, बिनोदबाबु पनि यही वर्गमा पर्नुहुन्छ ।’

‘तर हिजोआज बाध्यताबिना नै यस किसिमको जिन्दगी बिताउन चाहनेहरू पनि बढ्दै छन् यहाँ’ मायाले भनी ।

‘तर तिमीले मलाई किन आजसम्म केही नभनेकी बिनोदको बारेमा ?’

‘राम्रो कुरा भए पो सुनाउनु ? रोजकी आमाले अरू एक वर्ष स्पेनमा बस्न नपरेको भए तिमीले केही थाहै पाउने थिइनौ । उसकी आमा यहाँ आएपछि आफूसँगै लैजान्छे, तिमीलाई केही समस्यै हुन्न । मलाई हेर न, नेपालबाट कस्तो सपना बोकेर आएकी । आएको एक महिनापछिबाटै दुइटा बच्चालाई स्याहार्न पर्‍यो ।’ मायाले भनी ।

‘केटीसँगै बसुन्, मलाई केही गुनासो छैन । उनीहरूको जिन्दगी जसरी जिउन मन लाग्छ, जिउन् । तर नेपाल गएर हामीजस्ता सरल र सपनाले भरिएका केटीहरूलाई ढाँट्ने किन ? सबै कुरा थाहा भएको भए त म कुनै हालतमा बिहे गर्ने थिइन । विदेशमा आउन कै लागि म यति ठुलो सम्झौता गर्ने थिइन ।  यस्ता मान्छेहरूको के भर ? रोग पनि त लाग्या हुनसक्छ । थाहा पाएर त कुन केटीले गर्छन् होला र यिनीहरूसँग बिहे ? हेर त बिनोदको सट्टा मैले यस्तो गरेको भए के हुन्थ्यो ?’

‘अब यस्ता कुरा गरेर केही फाइदा छैन, आर्या । जसरी हुन्छ परिस्थितिलाई स्विकार्नुको विकल्प छैन हामीसँग ।’

‘तर सम्झौता पनि कुन हदसम्म गर्ने, माया ?’

माया केही बोलिन । अझ यसो भनौँ नबोलेरै पनि धेरै कुरा बोली मायाले ।

० ० ० ०

घर पुग्दा बिनोद सोफामा एक्लै एकोहोरिएर बसेको थियो । रोजले भुइँमा बसेर केही लेख्दै थियो । बिनोदले पुलुक्क मलाई हेर्‍यो । म केही नबोली बेडरुमतिर छिरेँ । कम्प्युटरमा फेसबुक खोलेँ ।

फेसबुकमा रहेका साथीहरूका विभिन्न फोटाहरूले मलाई उदेक बनाउँछ । अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा रहेका मेरा अधिकांश साथीहरूले नयाँ नयाँ फोटो अपलोड गरिरहेछन् । फोटोहरू हेर्दै गएँ, समुन्द्रको किनारमा, हिउँमा, सुन्दर पार्कमा, पानी जहाजमा, ठुला ठुला सपिङ मलहरूका अगाडी उभिएर खिचिएका आकर्षक फोटाहरू छन् । सबै हाँसीखुशी देखिन्छन् । के उनीहरू बसेको शहरहरूमा पनि मेरोजस्तै अदृश्य पीडाहरू होलान् ? कि साँच्चै खुशी छन् उनीहरू ? म मात्रै दुःखी हो यो संसारमा ?

‘म कम्प्युटरमा गेम खेल्न सक्छु ?’ मेरो नजिकै आएर रोजले सोध्यो । मैले उसलाई हेरेँ । सेतो छालामा कालो कपाल र कालै आँखाले ऊ अत्यन्तै सुन्दर देखिन्थ्यो ।

‘हुन्छ ।’

रोजलाई कम्प्युटर छोडिदिएर म पलङमा पल्टिएँ ।

बिनोद एक्लै बैठक कोठामा टिभी हेर्दै थियो । साँझको काममा जाने बेला भएपछि कोठामा आएर कपडा लगायो । आफू तयार भएपछि विनोदले रोजलाई कपडा लगाउन भन्यो । ‘आज म यही कम्प्युटरमै गेम खेलेर बस्छु, जान्न’ रोजले भन्यो । मैले सँगै लिएर जाऊ भन्न सकिन ।

बिनोद निस्केर गयो । मैले कम्प्युटरमा गेम खेल्दै गरेको रोजलाई हेरेँ । रोज पनि आफूजस्तै निरीह लाग्यो । आमा टाढा छे । बाबु पनि निर्धक्क माया गर्न हिचकिचाउँछ । सुरुमा अलि डराए पनि मैले कुरा गर्दै जाँदा रोज मसँग राम्रैसँग खुल्यो ।

‘बाहिर पार्कमा खेल्न जाने मसँग ?’ धेरैबेर कुरा गरेपछि मैले सोधेँ ।

‘हुन्छ’ रोजले सहजै उत्तर दियो ।

‘तिम्ले मलाई आमा भने पनि हुन्छ ।’ मैले उसको गाला मुसार्दै भनेँ ।

‘तर तिमी मेरी आमा त होइन नि, अरूलाई मैले आमा भन्न हुन्छ र ?’ रोजले अज्ञानतावश सोध्यो ।

‘म तिम्रो आमा नभए पनि मलाई आमा भन्न सक्छौ ।’ मैले भनेँ ।

पार्कमा मलाई फिनिस भाषा पढाउने टिचर सान्ना पनि आफ्नो बच्चालाई खेलाउन आएकी रहिछन् । भेट्ने बित्तिकै मेरो र मेरो पेटमा हुर्कंदै गरेको बच्चाको स्वास्थ्यबारे सोधिन् । हामी फिनल्याण्डको प्राकृतिक सौन्दर्यका बारेमा गफिंंदै थियौं ।

रोज अचानक दौडिँदै आयो ‘आमा मेरो ज्याकेटको बटन लगाइदिनुस् न, मेरो हातको पन्जाले गर्दा मिलेन ।’

सान्ना अलमलमा परी, ‘कुका हन अन ?’(ऊ को हो?)

‘हन अन मुन एन्सीमाइनेन लाप्सी ।’ (ऊ मेरो पहिलो बच्चा हो) मैले भनेँ ।

‘एन्सीमाइनेन लाप्सी ?’ सान्ना अचम्म परी । उनलाई विश्वास लागेन शायद । बिनोदको र मेरो बिहे भएको दुई वर्ष पनि भएको थिएन, ‘तिमीहरूकोमा त बिहे नहुँदै बच्चा जन्माउने चलन छैन, होइन ?’

‘पहिला थिएन । तर हिजोआज पुराना मान्यताहरू तोडिंदैछन् ।’ म मुसुक्क हासेँ । सान्ना पनि मुस्कुराई । मेरो एन्सीमाइनेन लाप्सी रोज पनि मुस्कुरायो । त्यही बेला पेटमा एक्कासि दुख्यो, ‘ऐया’

‘के भयो ?’ सान्ना सोधी ।

‘मभित्र हुर्किंदै गरेको तोइनान लाप्सी (दोस्रो बच्चा) ले किक हानेको रहेछ ।’ मलाई कता कता लाज लाग्यो ।