ड्युटीमा बसिरहेकै वेला साँझतिर अचानक म्यासेज आयो, “नमस्कार सर, म हजुरको कविताको नियमित पाठक हुँ, धेरै राम्रो लाग्छ, म हजुरको फ्यान हो नि !”

फ्यान हुँ भन्दै म्यासेज आउनु, त्यसमा पनि केटीको, एउटा कविलाई त्यहाँभन्दा धेरै के चाहिन्छ होला र ? “ओहो ! मेरो पनि फ्यान !” मक्ख पर्दै मैले पनि “हजुर नमस्कार, धन्यवाद छ है त”  यति जवाफ लेखेर आफ्नो कर्तव्य पूरा गरें । हुन त अरू वेला पनि कहिलेकाहीँ यस किसिमका म्यासेज आउने गरेका थिए । त्यतिवेला पनि आफूले फर्काउने जवाफ यति मात्रै हो ।

ठूलो माससम्म नपुगे पनि केही टार्गेट अडियन्ससम्म मेरा कविताहरू पुगिरहेको छ भन्ने प्रमाण पनि हो यो । कविता मन पराएर म्यासेज गर्नेहरूलाई “धन्यवाद” दिन बाहेक उनीहरूसँग अरू खासै कुराकानी हुँदैन । कसैकसैले भने मेरा व्यक्तिगत कुराहरू पनि सोध्ने गर्नुहुन्छ । मिलेसम्म मैले जवाफ पनि दिने गरेको छु । उहाँहरू जति मात्रामा मसँग बोल्न चाहनुहुन्छ, मैले पनि त्यति नै मात्रामा जवाफ फर्काउने गरेको छु ।

यो पटक पनि नयाँ फेसबूक एकाउन्टबाट म्यासेज आएकोले, को रहेछ ? प्रोफाइल चेक गर्न मन लाग्यो । पार्वती शर्मा नामको एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पनि आएको थियो । एक्सेप्ट गरिहाल्न मन लागेन । किनभने फेक एकाउन्ट जस्तो देखिने खालको थियो । पूरै प्रोफाइल चेक गर्दा पनि असली अनुहार देखिने एउटा पनि फोटो थिएन ।

“यो त फेक एकाउन्ट जस्तो छ नि !”  मैले तुरुन्तै म्यासेज गरें । उनले अचम्म मान्दै फेसबूकमा आफ्ना फोटाहरू नराखे पनि यो रियल मान्छेको एकाउन्ट भएको दाबी सहित भ्वाइस म्यासेज गरिन् । छोरी मान्छेको भ्वाइस म्यासेज नै आइसकेपछि भने मलाई पनि विश्वास गर्न कर लाग्यो ।

त्यसपछि भने हामीबीच छोटो-मीठो कुराकानी भयो ।

कुराकानीकै क्रममा उनी स्याङ्जाली भएको थाहा पाएँ । म युएईमा छु भन्ने कुरा त उनलाई थाहा रहेछ । स्याङ्जाबाट केही महिना पहिले मात्र उनी जापान पुगेकी रैछिन् । नयाँ मान्छे, त्यसमाथि केटीसँग खासै धेरै कुरा गर्ने बानी नभएर पनि होला मैले उनको बारेमा धेरै सोधीखोजी गरिनँ ।  तर मनमा उत्सुकता जाग्यो, ऊ कस्ती छिन् त ?

“हजुरको तस्वीर पठाउनुस् न बरु,” मैले म्यासेज गरें ।

लगत्तै दुई सुन्दर तस्वीर आइपुगे । साह्रै राम्री लाग्यो । गहुँ गोरो अनुहार, सलक्क परेको जीउ, मन्द मुस्कान, थोरै बोल्ड र सेक्सी पारामा खिचिएका तस्वीरले मेरो मन खिचिहाल्यो । एउटा छोरो मान्छेलाई पगाल्न यहाँभन्दा धेरै अरूके नै चाहिन्छ होला र ? “वाउ सो ब्युटिफुल !”  मैले म्यासेज रिप्लाई गरिदिएँ । मक्ख पर्दै उनले धन्यवाद फर्काइन् ।

राम्री छिन् भन्दैमा आफ्नो कविताको पाठकलाई अनावश्यक म्यासेज गरेर दुःख दिने कुरा पनि आएन । त्यसैले उनीसँग धेरै कुराकानी गरिनँ । तर उनले भने बिहान बेलुकै “के छ सर ? खाना खानुभयो ?” भन्दै  म्यासेज गर्न थालिन् । यो क्रम केही दिनसम्म चलिरह्यो । मैले पनि उनले सोधे जतिको मात्रै जवाफ पठाएँ ।

० ० ० ०

मबाट धेरै कुराहरू नभएपछि एक दिन उनैले “तपाईंसँग धेरै कुराकानी गर्न मन छ, समय कति छ ?” भनेर सोधिन् । “भन्नुस् न के कुरा हो” मैले पनि थोरै उत्सुक हुँदै भनेँ ।

त्यसपछि भने उनले आफ्ना कुराहरू राख्न थालिन् ।

“पछिल्लो एक वर्षदेखि मैले तपाईंलाई फेसबूक र टिकटकमा पछ्याइरहेकी छु । फेसबूकमा साथी नभए पनि तपाईंका प्रत्येक पोस्ट हेरिरहेको छु । टिकटकका हरेक पोस्टमा लाइक पनि गर्दैआइरहेको छु । पैलेदेखि नै म तपाईंसँग बोल्न चाहन्थें । तर बोलाउने आँट आइरहेको थिएन । बोलाउनै डर लाग्थ्यो । बल्ल ऐले आएर तपाईंसँग कुरा गर्ने मेरो सपना पूरा भएको छ । म साँच्चै खुशी छु ।”

“ए हो ? खुशी लाग्यो मलाई पनि । धन्यवाद है त ।” मैले यति मात्र भनें । उनको भने टाइपिङ रोकिएकै थिएन ।

“नढाँटी भन्नुपर्दा म तपाईंलाई मन पराउँछु । पछिल्लो एक वर्षदेखि म तपाईंको एकतर्फी प्रेममा परेको छु । तपाईं मलाई साह्रै राम्रो लाग्छ । भन्न नसकेर मात्रै हो ।  आइ लभ यु सो मच सर ।”

उनले आइ लभ यु नै भनेपछि भने म अलिक झस्किएँ । फेसबूकमा दुई चार दिन यसो सामान्य कुराकानी गरेकै भरमा कसैको प्रेम प्रस्ताव स्वीकार गरिहाल्ने कुरा पनि भएन । फेरि  उनले मप्रति देखाएको प्रेमाभावको अवमूल्यन गर्ने कुरा पनि आउँदैन थियो । त्यसैले “ऐले नै तपाईंको प्रेम प्रस्ताव स्वीकार गर्न त म सक्दिनँ । यो बारेमा बिस्तारै सोचूँला ।” मैले जवाफ पठाएँ ।

त्यसपछि भने हामीबीच नियमित कुराकानी हुन थाल्यो  । कुराकानीका क्रममा हामीले हाम्रा नीजि जीवनका थुप्रै कुराहरू साटासाट गर्यौं । च्याटिङमा हुँदैआएको हाम्रो कुराकानी बिस्तारै भिडियो कलसम्म पुग्यो । त्यसपछि हामी झन खुलेर कुराकानी गर्न थाल्यौं ।

उनले मप्रति देखाएको प्रेमले मलाई पनि उनीप्रति आकर्षित गर्न थालिसकेको थियो । उनको मीठो बोलीवचन र नम्र स्वभावले मलाई आकर्षित गरिरहेको थियो । भित्रभित्रै मैले पनि उनलाई मन पराउन थालिसकेको थिएँ । यतिको सरल मान्छे मेरो जिन्दगीमा आयो भने मेरो जटिल जिन्दगी पनि सरल गतिमा बग्छ होला भन्ने लाग्यो । तर मैले औपचारिक रूपमा उनको प्रेम प्रस्ताव स्वीकार  गरिसकेको थिएन । उनी भने हरेक पटकको कुराकानीमा मलाई प्रस्ताव राखिरहन्थिन् । उनको बारेमा सबै कुरा थाहा नपाई प्रेममा कसरी पर्नु ? भन्ने मेरो विचार थियो । त्यसैले एक दिन भिडियो कलमा कुराकानी गरिरहेको वेला उनलाई आफ्नो बारेमा भन्नको लागि आग्रह गरें ।

“कहानी लामो छ, हजुरसँग सुन्ने फुर्सद पो छ कि छैन होला ?” उनले हाँस्दै सोधिन् ।

“भन्नुस न ! समय मिलेसम्म म सुन्ने कोशिश गर्नेछु,” मैले भनेँ । त्यसपछि भने उनले आफ्नो कहानी भन्न शुरू गरिन् ।

० ० ० ०

घरमा हामी ५ जना दिदीबैनी र एक जना दाइ,

सबैको बिहे भइसकेको थियो । म घरकी कान्छी छोरी हो । दु:खसुख चलिरहेकै थियो । घरमा सबैको बिहे भैसकेकोले अब पालो मेरो थियो । बिहे गर्ने उमेर त भइहालेको थिएन । तर घरमा माग्न आएको पहिलो केटोसँगै मेरो बिहे गरिदिने निर्णय गरे बाउ-आमाले । मैले नाइ भन्न पनि सकिनँ । जम्मा १८ वर्षकी थिएँ । +२ को पढाइ पनि सकिएको थिएन । बिहे गरेपछि पनि पढ्न सकिन्छ, हामी पढाउँछौं भन्दै माग्न आएकाहरूले सम्झाएका थिए ।

होला त नि भनेर मन नहुँदा नहुँदै पनि बिहे गरें अर्घाखाँचीको केटासँग । उसको परिवारमा ऊ एक्लो छोरो रहेछ । म त्यस घरको एक्ली बुहारी बन्न पुगें । बस्तुभाउ, खेतबारी सबै भएको परिवार रैछ । घर, खेत हुँदै गोठसम्मको सबै काम भ्याउनुपर्ने भयो मैले । जसले गर्दा पढाइ पनि बीचैमा छुट्यो । बिहे गरेको सात दिनमै बूढो विदेश गयो । मलेशियाबाट दुई महीनाको छुट्टीमा आको रैछ बिहे गर्नकै लागि भनेर । एक हप्तासम्म सँगै सुत्दा, उठ्दा पनि ऊसँग कुनै पनि किसिमको शारीरिक सम्बन्ध भएन । अथवा भनौं उसले मसँग शारीरिक सम्बन्ध राख्न चाहेन । त्यसको कारण चाहिं मैले था पाइनँ ।

ऊ विदेश गएपछि पनि खासै राम्रोसँग कुराकानी हुन पाएन । बाउआमासँग कुरा गर्न कहिलेकाहीं फोन आउँथ्यो । त्यही वेला हो हाम्रो कुराकानी हुने । एक किसिमले उसले मलाई बेवास्ता नै गरेको थियो । म घरको काममै व्यस्त हुन्थें । दिनभरिको थकान लिएर ओछ्यान पुग्दा उसको याद  त आउँथ्यो ।

तर ऊसँग कुरा गर्ने कुनै माध्यम थिएन । मागी बिहे, बिहे गरेको सात दिनमा बूढो विदेश जानु अनि विदेश गएर पनि राम्रोसँग कुराकानी नहुनु, कति दुःख लाग्ने कुरा थियो होला मेरो लागि ? म सहेरै बसें । किनभने फर्केर जाने मसँग विकल्प थिएन । मन भुलाउन माइत जाऊँ भने पनि नजीक थिएन । छोराले नै बेवास्ता गरेपछि सासू- ससुराले पनि मलाई वास्ता गर्न छोडे । सानोसानो कुरामा पनि गाली गर्न थाले । खटन लाउन थाले । ससुराबा एक नम्बरका जँड्याहा थिए । दिनै मातेर गाली गर्न थाले । मलाई त्यो घरमा एक छिन पनि बस्न मन लाग्न छोड्यो । तर छोडेर जाने आँट आइरहेको थिएन । बाउआमाले मन पराएर दिएका हुन् । उनीहरूको इज्जतका लागि पनि बस्नुपर्छ भनेर सहेरै बसेँ । घरको कामसँगै कहिलेकाहीं गाउँ घरमा अर्मपर्मको लागि जान पर्थ्यो । त्यही क्रममा गाउँलेको मुखबाट था पाएँ कि म त उसको दोस्री श्रीमती रैछु । सन्तान नभएका कारण पैलेकीले छोडेर गएको भनेर गाउँलेले सुनाए ।

त्यसै त मन भाँडिएको थियो । यो कुराले झन् बेसी मन भाँडिएर आयो । त्यो घरमा झन् बस्न मन लाग्न छोड्यो  । उता बूढोसँग पनि सम्पर्क भइरहेको थिएन । गाउँलेले सुनाएको कुरा मैले घरमा सासू ससुरालाई पनि सुनाएँ । त्यसपछि उनीहरू मसँग झन् बेसी रिसाउन थाले । झन् बेसी झर्कोफर्को गर्न थाले । मलाई गाउँमा जान पनि दिन छोडे । गाउँका मान्छेहरूसँग कुराकानी गर्न दिन छोडे । यसले मलाई झन् बेसी पीडा दियो ।

एक दिन बजार जाने निहुँ पारेर म भागेर माइत गएँ स्याङ्जा-वालिङ । तर माइतमा मैले म भागेर आएको भनिनँ । केही दिनसम्म त म आएकोमा बाउआमा खुशी नै देखिन्थे । भाउजूले पनि राम्रै व्यवहार गरिन् । तर १०/१२ दिनसम्म पनि मैले घर फर्किने सुरसार गरेको नदेखेर  पीर पर्न थाल्यो सबैलाई ।

“घरमा केही झगडा परेर आकी होस् र ? जान मान्दिनस् त !” आमाले थोरै निराश हुँदै सोध्नुभयो ।

“झगडा परेको छैन, तर मलाई त्यहाँ फर्किन मन छैन,” आमालाई भनेँ ।

बिहे गरेर गइसकेकी छोरी यसरी माइत बस्नु राम्रो हैन भन्दै बाउआमाले सल्लाह गरेछन् र मलाई मेरो घर पुर्‍याउन स्वयम् बाउ गएका थिए अर्घाखाँची  ।

“तपाईंहरूकी बुहारी ल्याइदिएको छु है,” भन्दै मेरा बाउ भोलिपल्टै आफ्नो घर लागे । माइतमा पनि यसलाई ठाउँ छैन रैछ भन्ने था पाएपछि त्यो घरमा म झन् बेसी हेलाको पात्र बन्न थालें । पैले जस्तै म भागेर जान्छु भन्ने पीरले सासूससुराले मलाई घरमै एक किसिमले नजर बन्दमा राखे । दिनहरू यसरी नै बित्दै गयो ।

एक दिन अचानक बूढो घरमा आइपुग्यो कुनै खबरै बिना  मलेशियाबाट । थोरै भए पनि राहतको सास फेरें मैले । उसका बाउआमा पनि अचानक छोरोलाई घरमा देख्दा अचम्ममा परे ।  हुन त ऊ विदेश गएको पनि दुई वर्ष भइसकेको थियो । सासूससुराको साथ नपाए पनि बूढोको साथ पाउँछु भन्ने आश थियो । दुई वर्षदेखि उसैलाई पर्खेर बसेको मेरो जवानीको प्यास मेटिन्छ भन्ने ठूलो आश थियो । तर यस पालि पनि ऊ मप्रति आकर्षित नै भएन । एउटै खाटमा सुत्दा पनि ऊ पल्लो कुनामा अर्कैपट्टि फर्केर सुत्थ्यो पहिले जस्तै । एउटा छोरो मान्छे छोरी मान्छेसँग एउटै बेडमा यसरी नछोई कसरी सुत्नसक्छ ? भन्ने लागिरह्यो मनमा । यो क्रम झन्डै एक हप्ता जसो चल्यो । उसले मसँग शारीरिक सम्बन्ध नराखेकोमा भन्दा पनि यसको कारण के होला ? भन्ने कुराले मलाई बेसी पिरोलिरहेको थियो । पहिले पो नयाँ थिएँ र केही भन्न सकिनँ ।

तर यसपालि भने भन्ने आँट जुटाएँ र एक दिन फकाएर सोधें, “तपाईं किन मसँग यौन सम्बन्ध राख्न चाहनुहुन्न ?”

केही दिनसम्म त उसले मेरो प्रश्नको जवाफ नै दिन मानेन । अनेक कुरा गरेर टारिरह्यो र एउटै बेडमा सुतेर पनि हामी ओभानै हुन्थ्यौं ।

मैले पनि फकाउन छोडिनँ । मैले जिद्दी गरेको देखेर एक दिन उसले आफू समलिङ्गी पुरुष भएको जानकारी गरायो, “मलाई मैलाप्रति कुनै यौन भाव नै आउँदैन । पुरुषहरूप्रति मात्रै रुचि जाग्छ । त्यसकारण अहिलेसम्म मैले तिम्लाई नछोएको ।”

म छाँगाबाट खसे जस्तै भएँ । ऊ समलिङ्गी हुनु त समस्या थिएन । तर उसले मसँग बिहे गरेर मेरो जिन्दगी बर्बाद पारिदियो । त्यसपछि म खूब रोएँ उसकै सामु । म रोएको देखेर उसले मलाई सम्झाउन थाल्यो ।

“गाउँ समाजमा इज्जत जाने डरले मैले यो कुरा कसैलाई भन्न सकेको छैन अहिलेसम्म । घरमा बाउआमालाई समेत यो कुरा था छैन । विश्वास गरेर मैले तिम्लाई भनेको छु । तिमीले कसैलाई नभनिदेऊ है, मेरो इज्जत जान्छ । यो समाजमा मुख देखाएर बाँच्नसक्ने अवस्था रहन्न । त्यसैले बिन्ती कसैलाई नभनिदेऊ !” भन्दै रुँदै मेरो खुट्टा समाउन थाल्यो । मैले पनि त्यो कुरा कसैलाई नभन्ने वाचा गरें र विश्वास दिलाएँ ।

“पहिलो श्रीमतीलाई पनि यो कुरा थाहा थिएन ।  उसले यो कुरा था नपाओस् भनेर जबर्जस्ती मन नलागी नलागी भए पनि मैले ऊसँग शारीरिक सम्बन्ध राख्थें । दुई तीन वर्षसम्म पनि सन्तान हुन नसकेपछि ऊ अर्कैसँग पैला गै । ऐले उता एउटा छोरी पाकी छे अरे भन्ने सुनेको छु ।” उसले आफ्नो कहानी सुनायो । यो सुनेर माया पनि

लाग्यो । पहिलो श्रीमतीले जस्तो उसलाई छोडेर जान मन लागेन । आफ्नो भाग्यको लेखान्त नै यस्तै रैछ भनेर चित्त बुझाउने कोशिश गरें । त्यसपछि मैले उसलाई अब विदेश नजान र यतै केही गरेर बस्न आग्रह गरें । मेरो कुरामा ऊ राजी पनि भयो । त्यसपछि हामी वैकल्पिक माध्यमबाट सन्तान जन्माउन सकिने उपायको खोजीमा लाग्यौं । हामी दुईलाई त सन्तान नहुँदा पनि हुन्थ्यो होला । तर घरपरिवार, आफन्त र समाजबाट बच्नको लागि पनि हामीलाई सन्तान आवश्यक थियो ।

वैकल्पिक माध्यम कस्तो हो ठ्याक्कै थाहा थिएन । एसो बुझ्न थाल्दा साथीबाट थाहा पाइयो कि दिल्लीमा अर्काको वीर्यबाट सन्तान बनाउन सकिने कुरा । त्यही कुरा बूढोलाई सुनाएँ  । ऊ खुशी भए जस्तो त भयो । तर मेरो त्यस कुरामा ऊ राजी भएन । किनभने उसले अर्कै उपाय सोचिरहेको रैछ । मेरो बूढाको त्यति घटिया उपाय होला भन्ने मैले कल्पनासम्म पनि गरेको थिइनँ ।

बूढोको योजना थियो- मलाई काठमाडौं लगेर होटलमा राख्ने, चियामा निदको गोली हालेर दिने र उसको साथीलाई मसँग यौन सम्पर्क गराएर आफू बाउ बन्ने ।

यो बारेमा उसको साथीसँग कुराकानी भैसकेको रैछ । त्यो साथी पनि मसँग यौन सम्पर्क गर्न तयार भैसकेको रैछ । तर उनीहरूको यो योजना पूरा हुनु भन्दा पैलै मैले था पाएँ । उनीहरू बीच भएको कुराकानीको म्यासेज देखें ।  यो कुराले  म झन् बेसी मर्माहत भएँ । मान्छेले आफ्नो इज्जत जोगाउन कुन हदसम्म आफू गिर्न सक्दो रैछ भन्ने कुरा कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।

म खूब रोएको देखेर उसले माफी माग्यो र दिल्ली गएर अर्कैको वीर्यबाट सन्तान बनाउने कुरामा ऊ राजी भयो । हामी दिल्ली गयौं । नभन्दै मेरो पेटमा बच्चा पनि बस्यो । यो कुरा, म, मेरो साथी र बूढालाई बाहेक कसैलाई पनि था दिएनौं । मेरो पेटमा बच्चा बसेको देखेर ऊ बहुत खुशी भएको थियो । आफ्नो खुन हैन भन्ने जान्दाजान्दै पनि मान्छे कसरी यति खुशी हुन सक्छ ?  तर पनि उसलाई खुशी देखेर म पनि खुशी थिएँ । कम्तीमा हामीले अरूको मुख बन्द गरिदियौं ।

पेटमा बच्चा आएको एक महीना पनि बित्न नपाउँदै ऊ फेरि मलेशिया हानियो र पैले जस्तै बेपत्ता भयो । कैलेकाहीं फोन गर्थ्यो गर्नलाई त । तर “मलाई तँ प्रति कुनै इन्ट्रेस्ट छैन । जसरी भए पनि तँबाट एउटा सन्तान जन्माउनु थियो । त्यो पूरा भैहाल्यो ।” यस्तै यस्तै कुरा मात्र गर्थ्यो फोनमा पनि । बूढो विदेश गएपछि सासूससुराको यातना पुनः शुरू भयो । गर्भवती अवस्थामा पनि मैले सुख पाइनँ । भागेर कतै जाने अवस्था पनि थिएन, पेटमा बच्चा छ । यस्तै यस्तै तनावका बीच नौ मैनापछि छोरी जन्मिई । त्यसै त सासूससुराको हेलाको पात्र थिएँ, छोरी पाई भनेर झन् हेला गर्न थाले । माइत जान पनि दिएनन् । माइतबाट पनि कोही लिन आएनन् । धेरै पटक आत्महत्याको प्रयास पनि गरें । तर छोरीको मायाले गर्दा ती हरेक प्रयास विफल भए । आजसम्म म जीवित हुनुको एउटै कारण त्यही छोरी मात्र हो ।

छोरी जन्मिएको भनेर बूढोले खबर त पायो । तर मसँग नियमित कुराकानी भने कैलै भएन । सुत्केरी अवस्थामा पनि तँलाई कस्तो छ ? भनेर कैलै सोधेन ।

यसरी दिनहरू बितिरहेका थिए । यता सासूससुराको यातना दिने क्रम भने झन-झन बढ्दै गैरहेको थियो । त्यतिकैमा मातेर आएका ससुराबाले एक दिन मलाई बाख्राको खोरमा थुनिदिए । तीन दिनसम्म मलाई बाख्राको खोरमा थुनेर यातना दिए । सात महीनाकी सुत्केरी मान्छे म कसरी खोरमा बसें होला ? धेरै नै रोइकराइ गरेपछि सासूले खोरबाट मलाई निकालिन् । बाख्राको खोरबाट त म मुक्त भएँ । तर मलाई घरको कोठामा थुनेर राखे । दिसापिसाब गर्न जाने वेलामा मात्रै ढोका खोलिदिन्थे ।

तीन चार दिनसम्म त्यही बन्द कोठामा रोएर दिनरात बित्यो । यसरी यातना सहेर बस्नुभन्दा यहाँबाट भाग्नु नै उपयुक्त ठानेर रातको १२/१ बजे सात मैनाको छोरी च्यापेर म झ्यालबाट हाम्फालेर भागें । त्यति राति कहाँ जाने ? कुनै ठेगान थिएन । त्यसैले हिंडिरहें एउटा गन्तव्यविहीन यात्रा । उज्यालो भविश्यका लागि अँध्यारो छिचोल्नु थियो । बिहान उज्यालो हुने वेलासम्म सन्धिखर्क आइपुगें ।

सन्धिखर्कमा आइपुगेपछि एउटा ट्रक ड्राइभरलाई लिफ्ट मागें । उनले पनि लिफ्ट दिए । घरको यातना सहन नसकेर भागेर हिंडेको र स्याङ्जा जान लागेको उनलाई जानकारी गराएँ  । उनले आफ्नो ट्रकमा बुटवलसम्म ल्याइदिए । बुटवलबाट पोखरासम्मको बसमा चढाइदिए । बसको टिकट पनि उनैले काटिदिए र बाटो खर्च भन्दै केही सय रुपियाँ मेरो हातमा थमाइदिए । मसँग एक रुपियाँ पनि साथमा थिएन । ती मनकारी ट्र्याक ड्राइभर फेला नपरेको भए म कसरी स्याङ्जा पुग्थें होला म आफैँलाई था थिएन । साथमा कोही नहुनेको भगवान् हुन्छन् भन्थे, मेरा लागि उनी नै भगवान् भएर आइदिए ।

पोखराबाट जसोतसो म माइत पुगें वालिङ । बिजोग अवस्थामा म आएको देखेर घरका मान्छे पनि जिल परे । मैले सबै कहानी सुनाएँ । त्यसपछि भने उनीहरूले मलाई पैले जस्तो घर फर्किन कर गरेनन् । केही दिन म माइतमै बसें । लामो समय माइत बस्नु पनि छोरीको लागि घाँडो हुन्छ भन्ने कुरा पैलो पटक माइता आउँदा नै था भैसकेको थियो  । त्यसैले म आफैंले पनि माइतमा लामो समय बस्न रुचाइनँ र आमासँग सल्लाह गरें ।  आमाले १० हजार रुपियाँ हातमा हाल्दिनु भयो र पोखरा जा र केही गर भन्नुभयो । आमाले दिएको त्यही १० हजार बोकेर म पोखरा आएँ ।

त्यहाँ पनि मैले चिनेको कोही थिएन । एउटा सानो कोठा लिएँ भाडामा । केही अति आवश्यक सामान जोडें । बाँकी रहेको पैसाले सब्जी व्यापार शुरू गरें ढोकामा । काखमा  नानी च्यापेर पोखराका गल्लीगल्लीमा तरकारी बेच्न थालें । कैले मकै पोलेर बेचें । कैले चटपटे बेचें । ममाथि गिद्दे नजर लाउनेहरू पनि थुप्रै थिए । चाहेको भए म जवानी पनि बेच्न सक्थें । तर त्यसो गरिनँ । मलाई मेरो नैतिकताले त्यसो गर्न पटक्कै दिएन । २२/२३ वर्षको कलकलाउँदो जवानी मैले तरकारी बेचेरै धानिरहेको थिएँ । त्यतिकैमा पोखरामै ब्युटिपार्लर चलाएर बसेकी एक दिदीको नजर मेरो दुःखमाथि पर्न गयो । मेरो दुःख देख्न नसकेर उनले आफ्नो पार्लरमा काम दिइन् । त्यस सम्बन्धी काम पनि सिकाउँदै लागिन् । मैले पनि ध्यान दिएर काम सिकें । त्यसपछि भने मेरो जिन्दगीमा थोरै भए पनि खुशीहरू थपिन थाले । रोकिएको आफ्नो +२ को पढाइ पनि त्यहीं पार्लरमा काम गर्दागर्दै पूरा गरें । ती ट्रक ड्राइभर जस्तै यिनी पनि देउता भएर आइन् मेरो जीवनमा । जसले गर्दा मरिसकेका मेरा आशाका किरणाहरू पलाउन शुरू भयो ।

पार्लरमा काम गर्न थालेको पनि ६ वर्ष भइसकेको थियो । यतिवेलासम्म मैले आफूलाई आर्थिक रूपमा थोरै भए पनि बलियो बनाइसकेको थिएँ  । यो बीचमा “म तिमीलाई माया गर्छु, म तिमीलाई मन पराउँछु, म तिमीसँग बिहे गर्न चाहन्छु”  भन्नेहरू पनि नआएका हैनन् । तर छोरा मान्छे प्रतिको मेरो विश्वास नै मरिसकेकोले उनीहरूको कुरालाई ध्यानै दिइनँ । यतिकैमा एक दिन सामाजिक सञ्जालमार्फत न्युजिल्यान्डमा बस्ने एक युवकसँग मेरो चिनजान हुन पुग्यो । नेपाल घर चाहिं मकवानपुर भन्थ्यो । छोटो समयको कुराकानीमै उसले सिधै मलाई बिहेको प्रस्ताव राख्यो । भन्न त उसले आफू न्युजिल्यान्डमा डाक्टर हो भन्थ्यो । मेरो घरमा पनि उसले कुरा गरेर मेरा बाउआमालाई बिहेको लागि राजी गराइसकेको थियो । न्युजिल्यान्डमा भाको डाक्टर भनेसि घरकालाई अरू के चाहियो र ?  उसले यति धेरै प्रेमिल र विश्वासिलो कुरा गर्थ्यो कि मेरो मन पनि पग्लिन थालिसकेको थियो र उसलाई नेपाल आउन आग्रह गरें । नभन्दै ऊ आयो पनि । बिस्तारै उसको बारेमा बुझ्दै जाँदा ऊ त कतारको एक होटलमा काम गर्दो रैछ भन्ने था पाएँ । त्यहीँबाटै मेरो विश्वासमा घात परिहाल्यो । “तिमीलाई गुमाउन चाहन्न । त्यसकारण मैले झुट बोलेँ ।” भन्थ्यो ।

त्यसपछि उसको बारेमा शङ्का लागेर थप बुझ्न थालेँ । बुझ्दै जाँदा घरमा उसको श्रीमती र एक छोरा भएको पनि था पाएँ  । मलाई झुक्याएको रैछ । मसँग कुराकानी गर्न थालेसि घरमा सम्पर्क गर्न छोडेको रैछ उसले ।

ऊ बिवाहित पुरुष हो भन्ने था पाएपछि उसलाई छोड्ने निर्णय गरें । तर उसले मलाई ब्ल्याकमेल गर्न थाल्यो । अनेक दुःख दिन थाल्यो । मानसिक रूपमा टर्चर दिन थाल्यो । कति पटक त आत्महत्या गर्दैछु भनेर घाँटीमा डोरी लाउँदै गरेको फोटो पनि पठायो । मरे मरोस् भनेर छोडिदिएँ । केही समयपछि ऊबाट पनि म मुक्त भएँ । थोरै भए पनि राहतको सास फेरें ।

म पोखरा आएको केही समयपछि मलेशियाबाट बूढो पनि घर आएछ । आएर मलाई खोज्ने प्रयास गरेछ । “घरबाट भागेर जानेलाई किन खोज्नुपर्यो ? अब अर्को बिहे गर्नुपर्छ” भनेर घरकाले सम्झाएपछि ऊ अर्को बिहे गर्न तयार भएछ । ६ मैनाभित्रमा दुई ओटा बिहे गरेछ पनि । तर दुइटैले छोडेर गएछन् मैले जस्तै । एउटीलाई त घरबाट सुन र पैसा चोरेर भागेको भन्ने आरोप लगाएर प्रहरीमा उजुरी दिएछन्, ताकि खोज्नलाई सजिलो होस् । उनी यसरी हराइदिइन् कि प्रहरीले समेत फेला पार्न सकेन । तर ऊ भने अझै पनि बिहे गर्छु भन्दै हिंडेको छ रे ।

यता पार्लरमा कमाइ त राम्रै भैरहेको थियो । तर कमाइ बढेसँगै मेरा सपना र रहरहरू पनि बढ्दै गए । मलाई विदेश जाने भूत जाग्न थाल्यो । अनि त्यही दिदीको सल्लाह बमोजिम मैले स्टुडेन्ट भिजामा जापान जाने निर्णय गरें र जापानिज भाषा पढ्न थालेँ । भाषा परीक्षा पास गरें र मेरो भिजा पनि लाग्यो । अहिले म जापान आएको दुई मैना बेसी भैसक्यो । दुःख त यहाँ पनि कम छैन । तर हिजोका ती दिन सम्झिएर ल्याउँदा मलाई यहाँको दुःख त्यसको एक छेउ पनि लाग्दैन । त्यसैले अब जिन्दगीमा केही गरेर मात्रै फर्किने सपना छ मेरो ।

अब जिन्दगीमा कुनै लोग्ने मान्छेको माया जालमा पर्ने छैन । जिन्दगी एक्लै बिताउनेछु भनेर सोच बनाइरहेकै वेला एक वर्ष पैले टिकटकमा तपाईंका कविताहरू पढ्न पुगें । कविताहरू खूब मन पर्न थाले । बिस्तारै कवितासँगै कविता लेख्नेसँग पनि प्रेम हुन थाल्यो । त्यही कुरा बताउनलाई मैले हजुरलाई पहिलो पटक म्यासेज गरेको थिएँ । अब बाँकी हजुरको मर्जी ।

० ० ० ०

उनले आफ्नो कहानी टुंग्याइन् । उनको कहानी सुनिसकेपछि साँच्चै नै उनको माया लागेर आयो । कहानी नसुन्दै पनि उनको माया लाग्न थालिसकेको थियो । त्यसपछि भने प्रेम प्रस्ताव स्वीकार गरेको जानकारी गराएँ । उनको अनुहारमा खुशीको कुनै सीमा नै थिएन । जापानको पढाइ सकेर नेपाल आएर बिहे गर्ने, अनि आफूसँगै मलाई पनि जापान लाने वाचा गरिन् । त्यसपछिका हाम्रा दिनहरू प्रेमिल हुन थाले भिडियो कलमै भए पनि । म पनि जापान पुगेर उनीसँग खुशीसाथ  जिन्दगी बिताएको कल्पनामा हराउन थालें ।