डेजीको गालामा रङ

उनको गालामा सजिलै, स्वतन्त्रतापूर्वक रङ लगाउन पाउनु, मेरा लागि त्येो अन्तिम अवसर थियो ।
फागुको रङमा तराई लछ«प्पै भिज्ने दिन फागुन २५ गते त्यो शुभसाइत जुर्नेवाला थियो, जसको मलाई तीव्र प्रतीक्षा थियो ।
विज्ञान–लेखक बालकृष्ण समले प्रतिपादन गरेको नियमित आकस्मिकताको सिद्धान्तअनुसार उनी पनि त्यो घडीको मधुर पर्खाइमा थिइन् ।
हाम्रो रङसहित हुने विशेष भेटको लक्षणा अर्थ सांस्कृतिक शब्दकोशमा मात्र छ ।
म मधेसमा जन्मेको पहाडे अनुहारको भूमिपुत्र । उनी विशुद्ध मधेसी वाला । हाम्रो विषय पनि एउटै, समाजशास्त्र । दुवै सामाजिक अन्तर्घुलनको मात्रावृद्धिसँगै रमाउन मन पराउने मान्छे । उनलाई दसैँमा पिङ खेल्न, तिहारमा सेलरोटी खान र भैलो खेल्न खुब मनपर्ने । मलाई छठ, होली, समाचकेवा आफ्नैजस्तो लाग्ने ।
कोसीमा धेरै पानी बगिसकेपछि, उनलाई मैले पहिलोपल्ट सुनसरी क्याम्पसमा भेटेको थिएँ ।
होची–होची, हँसिली, गोरी, बोल्न नडराउने, वकिलकी छोरी ।
‘समयको खेल कोही पास कोही फेल,’ भन्दै कुराकानीका क्रममा एकदिन हामी निकैबेर गफियौँ हामी । अन्त्यानुप्रास कस्तो मजाले मिलेको भन्दै केहीबेर हाँस्यौँ पनि ।
‘सुविद दाइ ! तपाई किन त्यसो गर्नुहुन्छ ?’
‘के गरेँ मैले त्यस्तो आपत्तिजनक ?’
जवाफमा हिन्दी फिल्म निर्देशक दादा कोड्केले प्रयोग गर्ने शैलीको दुईअर्थी संवाद बोलेँ मैले । बेला–बेलामा यस्तो अवसर प्रयोग गर्न पाउँदा मन फुरुङ्ग हुन्छ ।
‘त्यही क्या ! जाँचमा तपाई मिलाई–मिलाई बिस्तारी अक्षर लेख्नुहुन्छ !’
उनलाई मेरो कमजोरी थाहा छ । अत्यन्त माया गर्छिन्जस्तो लाग्छ । यसबेला पनि मप्रति उनको माया झल्किरहेको थियो ।
मैले छिटो नलेख्दा उनलाई दुःख लागिरहेको रहेछ ।
‘तिमी घर कहिले फर्किन्छ्यौ काठमाडौँबाट ?’ मैले विषयलाई अन्तै घुमाएँ ।
‘कुरा नघुमाउनु न !’
‘किन ?’
‘अब किन भन्नु नि ! त्यसरी मिलाई–मिलाई लेख्ने हुँदा थोरै प्रश्नको उत्तर लेख्दा–लेख्दै समय सकिइहाल्छ अनि कसरी पास हुनुहुन्छ ?’
ओहो ! कत्रो चिन्ता उनलाई मेरो, मैले पनि नसोचेको ।
‘के हुन्छ त म फेल भएँ भने ?’ म हल्का जिस्किने मुडमा थिएँ ।
‘सँगै पढेको साथी फेल हुँदा हामीलाई पिर पर्दैन त !’ उनले भनिन् ।
हामीबीच पुस्तान्तर छ । तर उनले त्यसलाई बिर्सिदिएर मलाई सजिलो बनाइदिएकी छिन् ।
‘छाड यो कुरा । कहिले फर्किने हो तिमी ?’
अधिकृत परीक्षा तयारीको सिलसिला बोकेर केही समयदेखि राजधानीमै थिइन्, उनी ।
‘आइहाल्छु नि होलीभन्दा तीन–चार दिनअघि ।’
जवाफमा म जे सुन्न चाहन्थेँ, उनले ठ्याक्कै त्यही भनिन् ।
‘राम्रो !’ म खुसीले रोमाञ्चित भएँ, ‘अनि के छ नि, यसपटक होली विशेष कार्यक्रम ?’
‘सधैँझैँ साथीहरूसँग रङ–अबिर खेल्ने, मालपुवा पकाउने, खाने ।’
‘बस्, त्यति मात्र, मेरा लागि केही छैन ?’
‘तपाईका लागि त मेरो आँगनमा सदाबहार स्वागत–द्वार बनाएको हुन्छ, थाहा छैन र तपाईलाई ?’
थाहा थियो मलाई । उनी घरि–घरि साहित्य बोल्छिन्, कविता बुझ्िछन् । त्यसैले हाम्रो सङ्गति मिलेको छ ।

शिव खेडाको ‘जित आपकी’ पढ्नुभन्दा पहिलेदेखि नै म कुनै पनि काम फरक ढङ्गले गर्न मन पराउँथेँ । होलीमा पनि त्यस्तै हो । अरूले प्रायः प्रयोगमा नल्याउने सुगन्धित पहेँलो अबिर गोजीभरि हालेर सङ्गति पछ्याउँदै इनरुवाका घरघर चहार्नु, मेरो आफ्नै कपिराइट छ प्रत्येक फागु पूर्णिमामा । संस्कारअनुसार बिहानैदेखि रङमा भाङ प्लस हुनुको आनन्द बेग्लै छ ।
‘लु, सुविद दाइ आइपुग्नुभो ! तपाईकै पहेँलो रङको कुरा हुँदै थियो, साथीहरूसँग । आज किन ढिलो ?’ मलाई देख्नासाथ खुसीको घाम फैलियो आँगनभरि ।
‘खोइ, आऊ त यता !’ म फुर्तीसाथ विषयवस्तुनजिक पुगेँ ।
‘लु !’ अनुहार छोप्ने आसमा निकै बेरदेखि झुन्डिएका केही चुलहरू कानपछाडि धकेलेर मेरा लागि ठाउँ प्रशस्त गरिदिइन् उनले र मुसुक्क हाँसिन् ।
मुसुमुसु हाँस्ने कान्छीका डिम्पल पर्ने गाला ! अचानक मलाई कुनै सिनेमाको गीतको लय सम्झना भयो ।
हातमा रङ छ, गालामा लगाउनु छ !
होला म अक्षर लेख्दा ढिलो लेख्छु । तर कतिपय मौकामा म ढिलो काम गर्ने मान्छे होइन ।
पटकथामा, आँगन छेउमा आँपको रुख हुन्छ । रुखमा ढकमक्क मुजुरा छन्, सुविद–लीलाका साक्षी । ठिक्क फक्रिने बेला छ तिनको पनि । फूलबाट फल हुनुपर्नेछ तिनले । खास कथाको सुरुवात यहीँबाट हुन्छ । पूरै कुरा बुझ्न केही समय लाग्छ ।
स्मरणीय छ, त्यतिबेला उनले आखाँ चिम्लेकी हुन्छिन् । सामुन्ने प्रेमी केटा हुन्थ्यो भने उनको त्यो प्रस्तुतिले ‘स्पट–डेथ’ हुन्थ्यो !

यसपालिको होलीमा म, तीन ठाउँमा रङ दल्छु ।
एउटा हात, एउटा गाला, अर्को भोलि भन्छु !
जोगिरा सररर …
सनातनदेखि मन उही मियोमा घुमिरहेको छ । तपाईले कत्तिको विचार गर्नुभएको होला, थाहा छैन । तर तराईतिर होलीमा गाइने गीत, रङ–पानीले भिजेका लुगा, संवेदनशील क्षेत्रमा जुम इन गरेको फुटेज र सम्पादकले पत्रिकामा छाप्न छनोट गरेका तस्बिर अलि–अलि छाडाजस्ता लाग्छन् ।
रङ लगाउछु नरिसाउनु, बिर्सिदिनु दुःख ।
सेल्फी हान्न आऊ है मैया, चुच्चो पार्दै मुख ! जोगिरा सररर… !
परिस्थिति मिल्दा रङ हाल्ने बाहानामा चोली भिजाइदिएर रमिते हुनेको सङ्ख्या धेरै देख्छु । साथमा आँखा र हातले नियन्त्रण–रेखा छिचोल्नसक्ने खतरा पनि उत्तिकै हुन्छ । आँखा लोभी मन पापी । तन बूढो हुन्छ, मन बूढो हुँदैन । समाजले पचाएकै उखान हो । कसलाई के भन्नु ? बिहानैदेखि रङ र भाङले रमरम भइरहेको हुन्छ सिङ्गो समाज ।
कल्पना पनि के गर्नु ! रङ नहुँदो हो त यो संसार कस्तो हुँदो हो ?
ठिक्क पारिएको क्यानभास छ भने त्यसमा चित्र बनाउन, रङ लगाउन कोही सिपालु कलाकार नै चाहिन्छ भन्ने छैन । अमूर्त चित्र बनाउन जसले पनि सक्छ ।
तर केही विसङ्गति पनि सँगसँगै छ जीवनमा ।
मान्छेको स्वभाव तपाईलाई थाहा छँदै छ । केही नलेखिएको सादा पाना भेट्टाए भने मान्छेले अनेक रङ पोतेर विरूप पार्न बेर लाउँदैनन् । आफूखुसी लगाएको रङ अरूलाई मन पर्छ कि पर्दैन ? धेरैलाई केही मतलब हुन्न । घाट ढुकेर, च्याँखे थापेर दिक्क लगाउनेहरू थुप्रै हुन्छन् खालमा ।
मेरो सन्दर्भमा, यो जससँग सम्बन्धित छ, उनीहरूमा म सङ्ग्रहालय पु¥याउनलायक बख्तरबन्दजस्तो अकारण चलायमान हुन्न भन्ने पर्याप्त विश्वास छ ।
त्यसैले उनी र म बीचमा कुनै शङ्का उपस्थित छैन ।

होलीमा राधा गोरीको प्रसङ्ग रमाइलो पाराले आउँछ ।
राधा गोरी छन्, कृष्ण काला । बीचमा इन्फेरिओटी कम्प्लेक्स छ । मायाका बीचमा रङको हिनताबोध छ । उता राधा छिन्, एक से एक गोपिनी छन् हँसिला । यता कृष्ण छन्, एक्लै निरास ।
यसोमती मइया से पुछे नन्दलाला, राधा क्यों गोरी मैं क्यों काला ?
भजन सुन्नु भएकै होला । यसोदासामु विचित्रको प्रश्न आइलागेको छ । के भन्ने के नभन्ने ? तर बाठी यसोदाले उपाय निकालिछाडिन् । उनले कृष्णलाई रातो, पहेलों, हरियो, नीलो विभिन्न रङहरू दिँदै भनिन्, ‘यो राधालाई लगाइदेऊ र तिमी आफू पनि लगाऊ । त्यसपछि उनको र तिम्रो रङ उस्तै हुनेछ ।’
प्रश्नको सही जवाफ यो थिएन । तर उपाय सही थियो ।
दुवैतिर उस्तै रङ भएपछि यो रङ, त्यो रङ भन्ने विवाद सकिन्छ । नभन्दै कृष्णले राधालाई रङ छ्यापिदिए । राधा रमाइन् । कृष्ण पनि रमाए । अरू गोपिनीहरू पनि रमाए । सारा गोकुल रमायो ।
द्वापर युगको पछिल्लो मिथकसहित म डेजीको माइतीघरको सङ्घारमा उभिएको थिएँ ।
उनको गालाको कुमारी क्यानभासमा मैले आफ्नो मनपर्ने रङ सजाउन थालेको लगातार छ वर्ष भइसकेको थियो । यो सातौँ संस्करणको कुरा हो । त्रिभुवन विश्वविद्यालयले पनि उही विषयको बाँकी परीक्षा सात वर्षसम्म मात्र दिन पाइने नियम बनाएको छ । त्यसपछिको हकमा कथाले विशेष व्यवस्थाको माग गर्छ ।
कोही पनि भ्रममा नपर्नुहोला ! उनले उपलब्ध गराएको कुनै पनि मौका र विश्वासको मैले अहिलेसम्म दुरूपयोग गरेको छैन ।
केवल, भो नभनुञ्जेल रङ लगाएको छु । श्लील आकृतिहरू सजाउने क्रममा गालामा समायोजन मिलेको रङको पूर्ण–वृत्त, ओठमाथि पञ्जावी जुँगा र निधारका शिवनेत्र बनाइसकेपछि कुनै अद्भूत सिर्जना निर्माण भएको खुसीमा मुसुमुसु हाँसेको छु ।
सिकारु कलाकारले बनाएको कुनै पनि चित्रमा सुन्दरता, अज्ञानता र कुरूपता तीनै वास्तुको सघन उपस्थिति हुन्छ । मान्छे हाँस्न पर्याप्त कारण चाहिँदैन । छँदा–खाँदाको राम्रो मान्छेलाई बहुरूपी बनाएर हाँस्न जुन मजा आउँछ, त्यसको अनुभूति शब्द व्यक्त गर्न गाह्रो छ ।
डेजीका डिम्पल परेका दुवै गालामा जुनसुकै रङ बिछट्टै सुहाउँछ । तर मलाई उनको गोरो गालामा पहेलों रङ लगाउनुथियो । सुनमा सुगन्ध मिसाउनुथियो ।

बेबी डेजी गुप्ता ।
खुला दिल र औसत उचाइ भएकी नेपाली केटी । समाजशास्त्रमा स्नातकोत्तर । उमेर मलाई थाहा छ । तर सबै कुरा सार्वजनिक गर्नु उचित हुँदैन ।
पहिले मित्र कृष्णकी भतिजीको साइनो जोडेर परिचय भएको हो । रहँदै–बस्तै जाँदा असल साथीकै रूपमा ‘टेक केयर’ गर्ने भइन् ।
वर्षाैंदेखि होलीको दिन मेरा लागि उल्लेख्य हुनमा धेरै केटी–साथीहरूको फराकिलो योगदान छ । पश्चिमको घामसँग मितेरी लगाउने बेला एउटा गजलगो, पत्रकारलाई एउटा रउसे कलाकारको भूमिकाका लागि दैलो उघारी दिने ती साथीहरूप्रति म आजीवन कृतज्ञ छु ।
आस्मा, राधा, रश्मि, मन्दिरा, गीता, उर्मिला, सुलोचना आदि केटीहरूको एउटा ग्याङ नै थियो, होलीका दिन निसङ्कोच रङ लगाउन पाइन्थ्यो । यीमध्ये केही अझै मेरो संसारमा बाँकी छन्, केही अर्कैको संसारमा पुगिसके ।
डेजीको पनि त्यही वैशाखमा बिहे हुने चर्चा सुरु भएको थियो । डिटेल मैले आवश्यक सोचिनँ ।
‘त्यसपछि त मैले तिमीलाई रङ लगाउन पाउँदिनँ होला ?’
आफ्नो केही गुम्न लागेकोमा खिन्न थिएँ म । मनमा चिन्तित अक्टोपस बिस्तारै बढ्दै जान थालेको थियो ।
धन्न ! उनले आशाको त्यान्द्रोलाई चँुडिन दिइनन् ।
‘ए, किन नपाउनु नि ! जत्ति पाइन्छ,’ भनिन्, ‘होलीका दिन हाम्रो मिथिला संस्कृतिमा कसैले माइन्ड गर्दैन त्यस्तो !’