मान्छेको कुनै प्राकृतिक स्वभाव हुँदैन किनकि उसको स्वभावको अवधारणा बनाउने कुनै ईश्वर नै छैन । मान्छे, छ त ऊ त्यत्तिकै छ । आफैँ छ । मान्छे त्यही हो, ऊ जे आफूलाई मान्छ । ऊ त्यही नै हो जे आफूलाई बनाउँछ । जब उसले आफू अस्तित्वमा आएको अनुभूति गर्छ, उसले अस्तित्वतर्फ अर्को एक फड्को मार्छ । मान्छे अर्थोक केही हैन, बरु त्यही मात्र हो, जे उसले आफूलाई बनाउँछ ।
ज्याँ पाल सात्रका तर्कहरू अस्तित्ववादको सिद्धान्तका रूपमा पढ्दै गर्दा यतिबेला म धेरैले चित्त दुःखाएको एउटा विशेष यात्रामा निस्केको छु । तर कुन प्रेरणाले यसरी डोरबहादुर विष्ट हुने लालसा बढेको हो ? फन्टुस फिक्सन लेख्नु छ । मानसरोवरबाट बग्दै–बग्दै जननिधिका छेउमा उभिएर सेल्फी हान्नु छ । कथम्कदाचित यात्राको बीचैमा छुटिगएँ भने के होला तपाई–हाम्रो सम्बन्ध ? अनन्त सिन्धुमा थप एउटा बिन्दु घुलमिल हुँदै गर्दा समयले त्यसको सम्झना कहिलेसम्म गर्ला ?
कहिले होला मद्वारा मेरो पुनःनिर्माण ?

२०४० सालमा आठ कक्षामा थिएँ ।

एक दिन नेपाली विषयका शिक्षक लेखनाथ घिमिरेले एकाएक कविता लेख्न आग्रह गर्नुभयो ।
लेखनाथ सरको सम्पादनमा स्कुलको मुखपत्र ‘भगवती बन्दना’ निस्किने कुरा थियो ।

‘मैले कविता लेख्ने ? मलाई त आउँदैन सर !’

‘तिमीजस्तो फस्ट ब्वाईले पनि नलेखे कसले लेख्छ ?’

‘तर सर !’

‘मलाई अरू थाहा छैन, दुई दिनभित्र एउटा कविता लेखेर दिने तिमीले !’

संवाद भएको यति मात्र हो ।

कहिलेकाहीँ ‘निरङ्कुश’ आदेशले पनि राम्रै काम गर्छ । फेरि कुनै पनि चुनौती स्वीकार गर्ने आफ्नो नानीदेखिको बानी ।

लेखनाथ सरको प्रेरणाले मैले जिन्दगीको पहिलो कविता लेखेँ । लेखेँ के भन्नु, लेखनाथ पौड्याल बाबैले ‘पिँजडाको सुगा’मा भनेजस्तो ‘बालक बबुरो द्विज सुक नाम’सँग मिल्दो–जुल्दो झ्याउरे तुकबन्दी गरेर सरलाई डेडलाइनभित्र ‘शिकारी’ शीर्षकमा ‘कविता’ लेखेर बुझाएँ ।

‘पापी छौ शिकारी तिमी सम्झ आफूलाई
गर्छौ पाप तिमी किन मारी प्राणीलाई ?
नछाड बाँड यसरी आफूलाई बिर्सी
हा ! नमार विचराहरूलाई ढुङ्गो मन गरी ।’

कविता लामै थियो । यसको मूल कपि (भगवती बन्दना) खोज्दा कतै भेटिएला । मसँग छैन । कहिले यो ठाउँ, कहिले त्यो ठाउँ डेरा सर्ने क्रममा कुन सड्को, कुन सड्को हरायो ।

क्याम्पस पढ्ने उमेरमा सम्पादनसहित यो कविता सारी राखेको डायरी चाहिँ छ । यसरी सुरु भएको मभित्रको कवित्व कपि–पेस्ट हुँदै आज कुन मोडमा आइपुगेको छ, त्यो मलाईभन्दा बढी तपाईंलाई थाहा छ ।

साँच्चै भनुँ ! मैले आफ्ना जिन्दगीका धेरै उर्वर वर्ष आफूलाई कवि बनाउनुमा, कवि भनाउनुमा खर्च गरेको छु । सुरुमा मलाई कवि हुन औधी रहर थियो । तर, आज लाग्दैन त्यस्तो । कसैले कविजी भने पनि ठिकै नभने पनि ठिकै ।

कवि अवतारसिंह पासका अनुसार सबैभन्दा खतरनाक हुन्छ मूर्दा–शान्तिले भरिनु । सपना नदेख्नु । छट्पटी नहुनु । घरबाट सीधा अफिस जानु, अफिसबाट घर आउनु । सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु हुनु ।

कवि जोसेफ ब्रोड्स्की भन्छन्, ‘किताब जलाइनुभन्दा पनि खतरनाक अपराध यहाँ छन्, तीमध्ये एक किताब नपढ्नु हो ।’

धन्न ! अहिलेसम्म म यी दुवैबाट जोगिएको छु । बेला–बेलामा किताबहरू पनि पढिरहेको छु । सपना पनि देखिरहेको छु ।

‘तिमी सपनामात्रै जान्दछौ तर हामी सपनाका खतराहरू जान्दछौँ ।’

बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । कवयित्री नोशी गिलानीको यो कवितामा मलाई थप्न मन लागेको छ, ‘म सपनाका रङहरूसँग जिस्किँदै छु । म सपनाका भ्रमहरूतिर नजिकिँदै छु ।’

भनिन्छ, प्रतिक्षा गर्नेले फल त पाउँछ तर त्यही फल पाउँछ, जुन अगाडि जानेले छोडेको हुन्छ ।
यस्तोमा अगाडि बढेर राम्रो फल छनोटको अवसर लिने कि छोडिएको फलमा चित्त बुझाउने आफ्नो इच्छा ।

सत्य पनि धेरैथरि हुन्छन् । एउटा सत्य मेरो धेरैनजिक छ । म बाहिर जस्तो छु, भित्र त्यस्तो छुइनँ । भाइहरू भन्छन्, दाइले झिना–मसिना कुरामा अलमलिनु हुँदैन । तर यो कस्तो लीला हो ? एकातिर उनीहरू नै भन्छन्, भाइपुस्ताका कमी–कमजोरीहरू औँल्याइदिनु दाइपुस्ताको दायित्व हो । फेरि उनीहरू नै भन्छन्, हलेदो भनेर जानिसकेपछि कोट्याइरहनु हुँदैन बुझ्नेहरूले ।

सङ्गतिको मूलधारमा चेतना विसङ्गत भएको छ । शिवको लीला !

तर यी कुराहरू मैले दुनियाँलाई प्रष्ट बुझाउन सकिरहेको छुइनँ । भन्न जानिरहेको छुइनँ । भन्न मन लागेको सन्दर्भ भन्न नजान्नु पनि एउटा लीला हो । इशारा नबुझिनु अर्को लीला ।

मलाई पुरुषोत्तम घिमिरे आदरणीय गुरु लाग्छन् किन ? मलाई आकासे नीलो रङ मनपर्छ किन ? मलाई स्याउ मन पर्दैन किन ?

जवाफमा म जे भन्ने गर्छु, त्यही नै यथार्थ नहुन सक्छ । मैले भन्नुपर्ने कुरा भन्न नजानेको पनि हुन सक्छु । वा भन्नका लागि भनिदिएको हुन सक्छु ।

जुन बाटोमा नहिँडु भन्थेँ आज त्यही नै जाती भयो । जुन धर्तीलाई लत्याएँ मैले आज त्यही नै साथी भयो । एक बेला जुन गाउँ–ठाउँलाई सम्झेर मैले यो मत्ला लेखेँ आज बिस्तारै त्यसलाई टाढा बनाउने उपक्रममा छु । नजाने किन ?

प्रश्न अलि भावनात्मक छ ।

दोधारैमा अल्झाइराख एक–दुई दिन अरू । खुल्नुभन्दा रहस्यमै मजा हुन्छ बरु । न रुनु न हाँस्नुजस्तो नियति होस् सधैँ, भइराखोस् भित्रभित्रै के गरुँ–कसो गरुँ ।

धमिलो पानीमा माछा मार्नेको कमी छैन ।

‘के भनिस् रे !’

सबै चुपचाप । कोही झगडा गर्ने मुडमा छैनन् । मैले पनि रिस, आवेग र लज्जालाई मनको हार्डडिस्कबाट यसरी नै सिफ्ट–डिलिट गरेको छु धेरै पटक ।

‘आज के छ योजना ?’

‘कस्तो योजना ?’

‘कथाले मागेअनुसारको !’

‘सरी ल, म त्यस्तो केटी होइन ।’

‘कस्तो केटी होइन ?’

‘त्यही तपाईंले सोचेजस्तो ।’

‘के सोचे मैले त्यस्तो ?’

‘मैले केटाहरू खोजेकी भए कति पाउँथेँ कति !’

‘सरी ल, म पनि बलात्कारी होइन !’

‘सफलता खोज्दा–खोज्दै जीवन बिताएँ ।
बुद्ध हुन हिँड्दा–हिँड्दै यौवन बिताएँ ।’

मनका भाव र काफियाको तालमेल नभएपछि गजलगोले सोच्यो– पशुपतिनाथको कृपाले यो राष्ट्र अहिलेसम्म असफल भइसकेको रहेनछ । यदि राष्ट्र असफल भएको भए, पूरै गजल त के मत्ला–ए–उलासमेत फुर्न छोड्थ्यो । तखुल्लससम्म पुग्ने त सोच पनि हुँदैनथ्यो । गजलगोहरूले लेख्न छोडे, गायकहरूले पनि गाउनुपर्ने अनिवार्यता सिद्धिन्थ्यो । गायकी र वाद्यवादनमा नेपाली घराना बन्दै गएको गजल सन्दर्भ पनि बीचैमा छोडिन्थ्यो । त्यसपछि के हुन्थ्यो ?

कविहरू कविता लेख्न छोड्थे । पत्रकारहरू समाचार छाप्न छोड्थे । गुरुहरूले प्रवचन बन्द गर्थे ।
शिक्षकहरू पढाउन छोड्थे । छात्रछात्राहरूले पढ्न छोड्थे । राजनीति गर्न खोज्नेहरूले विचार त्याग्थे । चालकहरूले यात्रा बिसाउँथे । गाडीहरू गुड्न, इन्जिनहरू चल्न छोड्थे । नुन, तेल, बेसाहा पाइन छोड्थ्यो । बजारहरू बन्द हुन्थे । ग्यास, दाउरा, बिजुली, पानीको चरम अभाव हुन्थ्यो । खान पाइन, लाउन पाइन छोडेपछि सेक्युरिटी गार्डहरू, गृहिणीहरू, अगुवा–पछुवासहित कोही पनि सरोकारवालाहरू घरमा चुप लागेर बस्ने थिएनन् । जनता घरबाट सडकमा निस्कन्थे र सरकारलाई भन्थे, ‘आज कि म छैन कि यो छैन !’

तर फन्टुस फिक्सनको नियति त्यति जटिल हुने छैन, जति अहिले बुझिँदै छ । कुनै पात्रलाई शब्दमा चित्त बुझेको छैन । कसैलाई यो पढ्नु नै छैन । तर, जसले यो भनिरहेको छ, यो सोचिरहेको छ, उसलाई राम्ररी थाहा छ, हामी नपढी रहन सक्तैनौँ । अज्ञानी भइरहन पाउँदैन ।

अन्ततः त्यही हुन्छ, जुन कथाको सापेक्षतामा विकास हुन्छ ।

क्षमा चाहन्छु । समयमा मैले आफूलाई चिन्न सकिनँ । समयमा मैले अरूलाई चिन्न सकिनँ । समयमा सही निर्णय लिन सकिनँ । समयमा माया व्यक्त गर्न पनि जानिनँ !

आमूल परिवर्तन र समृद्ध हाम्रो सपना थियो । तर आज के बेहोर्नु परिरहेको छ ? किन जुन जोगी आए पनि कानै चिरिएका मात्र आउँछन् ? किन हाम्रो सपनालाई तुहाइएको छ ? किन हामी यो बेथिति स्वीकार गरिबसेका छौँ ? कतै हामी ‘सक्छौ प्रतिकार गर नत्र स्वीकार गर’ भन्ने दास चिन्तनबाट मनोग्रसित भएका त होइनौँ ? फेरि, स्वीकार के गर्ने ? के हामी अक्षम छौँ भनेर स्वीकार गर्ने ? हामीले मन मारेका छौँ, हार खाएका छौँ भनेर स्वीकार गर्ने ? कि हामी सधैँ अरूद्वारा शासित हुन योग्य छौँ भनेर स्वीकार गर्ने ?

एक कविले लेखेका छन्, ‘हरिणहरूले आफ्नो इतिहास नलेखेसम्म सिकारीहरू वीरताको गाथा कथिरहनेछन् !’

पटकथा मिलेको छैन । सिकाइ भन्छ प्रतिक्षाको फल मिठो हुन्छ ! धैर्य मानिसको साथी हो । समयले उचित जवाफ दिन्छ । अब्राहम लिङ्कन भन्छन्, प्रतिक्षा गर्ने मान्छेले सामानहरू त पाउँछ तर तिनै सामानहरू, जुन सङ्घर्ष गर्ने मान्छेहरूले छोडेर गएका हुन्छन् । यस्तै विरोधाभास छ जीवनमा ! के गर्ने, के नगर्ने ?

भन्नु पो हुन्न, दुनियाँ रिसाउँछन्, तर बोल्दैनन् । यो देशमा के भो ?, चिहानभन्दा जमेको, मूर्दा शान्ति छ । हावामा छैन, धर्म निरपेक्षता, नमः शिवाय ! बढेको बढ्यै, कुहिरोमा कागहरू ।

यथार्थमा म जति बोलिरहेको छु, लेखिरहेको छु, त्यति साथीहरू टाढा हुँदै छन् । मेरा कुराले उनीहरूको स्वार्थमा असर परिरहेको छ । तर यसमा मलाई थाहा छ, उनीहरूको मुखले जे भने पनि मनले सत्यताको धेरै अंश स्वीकार गरिरहेको हुन्छ ।

अहिलेको पुस्ता पहिलेको पुस्ताभन्दा कम भ्रष्ट छैन । चोर आवाजको सघनता थपिएको छ । जो भ्रष्ट छ उही शून्य सहनशीलताको नारा सिफारिस गरिरहेको छ ।

विचित्रको ग्राउन्ड रियालिटी छ ।

भनिन्छ, मान्छे सफलताबाट केही सिक्दैन । असफलताबाट धेरै सिक्छ । तर दुनियाँमा कोही असफल हुन तयार छैन । सिक्न तयार छैन ।

जो मस्जिदको सेबइ निःसङ्कोच खान्छ । मन्दिरको लड्डु पनि खान्छ । गुम्बाको खिर, गिर्जाघर, गुरुद्वाराको प्रसाद जसका लागि उत्तिकै प्रिय छन्, उसका लागि भोकभन्दा ठुलो धर्म अर्को छैन । जसलाई गीता मनपर्छ, कुरान पनि । अल्लाह पनि उसकै हो भगवान् पनि ।

कृपया परमेश्वरले असल विचारहरूको रक्षा गरुन् !

सार्वजनिक ठाउँमा एउटा मान्छे छ । भुइँतिर निहुरेर छिनो–हतौडीले केही खोपिरहेको छ ।
‘को हो यो ?’

‘श्रमिक बुद्ध !’ कलाकार विक्रमश्रि भन्छन् ।

‘श्रमिक बुद्ध ?’ म छक्क पर्छु ।

बुद्धले श्रम गर्ने सन्दर्भ कता–कता नमिलेको जस्तो लाग्छ । कवि–कलाकारको दिमागमा अनेक तर्कना आउँछन् ।

‘अबको बुद्धले ध्यान गरेर मात्र पुग्दैन, श्रम पनि गर्नुपर्छ । कुनै पनि दर्शन मनले अनुभव गरेर मात्र हुँदैन, त्यसमा अलिकति पसिना पनि मिसाउनुपर्छ,’ श्रिको तर्क छ ।

तर, जिन्दगी निर्माणको कथा त्यतिमा मात्र सीमित छैन । बुद्ध भनिएको सत्यले सनातनदेखि आफूले आफूलाई स्याहार्दै, खिप्दै आएको छ ।

यस्तै टुटेफुटेका सन्दर्भहरू जोडेर भइरहेको छ – मद्वारा मेरो निर्माण !