१.      विषय प्रवेश:

सङ्गीत विश्वको प्राण हो, विश्वलाई प्राणमय तुल्याउने सङ्गीतको सृजना प्रकृतिबाटै भएको हो। अरस्तुले भने झैं मानिस अनुकरण गर्दछ, कला प्रकृतिकै अनुकरणको उत्कृष्ट रूप हो। अरस्तुले अनुकरण तीन प्रकारले गर्न सकिने मानेका छन्- प्रथम जे-जस्तो छ, त्यसलाई त्यस्तै रूपमा प्रस्तुत गर्नु, दोस्रो- जे जस्तो त्यसलाई भनिने वा मानिने गरिन्छ अनि तेस्रो- त्यो जस्तो हुनपर्छ। यो तेस्रो रूप कुनै पनि कलाको आदर्श रूप हुन्छ। कलाकारले आफ्नो अप्रतिम प्रतिभाले कलाको यस रूपलाई पुनर्सृजना गरेर आफ्नो कल्पनाशीलताको जादु देखाउँछ। जब हामी उत्कृष्ट गीत अथवा सङ्गीत श्रवण गर्ने गर्दछौं, तब हामी कलाको यही आदर्श रूपलाई साक्षात्कार गरिरहेका हुन्छौं।

कला सभ्यताको एउटा शीर्ष प्राप्ति हो। जब कुनै युगलाई हामी स्वर्णिम युग भन्छौं, त्यसबेला कलाको उच्चतम विकासको मानदण्डलाई नै अघि राखेर यसो गर्ने गर्दछौं। विविध कलाको विकासले नै भारतको गुप्त काललाई स्वर्णिम कालमा स्थापित गरेको हो। यसरी सभ्यताको एउटा महत्त्वपूर्ण अङ्ग कला हुने गर्दो रहेछ। दार्जिलिङको इतिहासमा साठी अनि सत्तरको दशकलाई स्वर्णिम युग भनेर चिनिने गरिन्छ। कलाको विकासले उत्कृष्टता चुमेको ती दिनहरूलाई यसो भनिनु युक्तिसंगत पनि लाग्दछ। यही स्वर्णिम युगको एक उत्कृष्ट प्राप्ति थिए शरण प्रधान।

 

२.     दार्जिलिङमा सांस्कृतिक नव जागरण

दार्जिलिङमा उन्नाइसौँ शताब्दीको उत्तरार्द्धदेखि शिक्षाको प्रचार प्रसार हुन थालेको हो। साधारण मानिसहरूका छोरा-छोरी पनि पढ्न सक्ने एउटै उच्च विद्यालयको रूपमा सन् १८५६ मा दार्जिलिङ स्कूल पछि त्यसैलाई १८९१ मा दार्जिलिङ सरकारी विद्यालयको रूपमा नामकरण गरिएपछि, अनि  सन् १८९० मा गर्ल्स् बोर्डिङ स्कूल खोलिएपछि प्राथमिक पाठशाला छिचोलेका साधारण विद्यार्थीहरूले पनि उच्च विद्यालयमा टेक्ने सौभाग्य पाए। त्यसबेलाका आदर्श, इमान्दार, अनुशासित शिक्षकहरूले  ती विद्यार्थीहरूलाई शिक्षा मात्र प्रदान गरेनन्, सभ्यता, कला, जातीयता, राष्ट्रियता, नैतिकता अनि अनुशासनको पाठ पनि पढाए। त्यसबेला बङ्गाल नवजागरणको उत्कर्षमा थियो। कलकत्ता आधुनिक शिक्षाको मक्का मानिन्थ्यो। उच्च शिक्षाको ढोका ढक्ढकाउन पुगेका केही विद्यार्थीहरू सौभाग्यवश आधुनिक शिक्षाको त्यस केन्द्रमा पुग्न सक्षम बन्ने गर्थे। त्यहाँ खुट्टा टेकेपछि उनीहरूले पुस्तकीय ज्ञान मात्र होइन त्यहाँ फले-फुलेका साहित्य-कलाको ढकमक्क उपवनमा विचरण पनि गर्ने अवसर प्राप्त गरे। उनीहरूबाट नै आफ्नो जाति भाषा-कला संस्कृतिको विकास गर्ने हौसला पनि उनीहरूमा जाग्यो। जब यी उच्च शिक्षितहरूले दार्जिलिङलाई आफ्ना योग्य हातहरूले डोर्‍याउन थाले, नव जागरणको स्वर्णिम किरणको आभाले यो कञ्चनजङ्घा प्रदेश झलमल्ल बन्न थाल्यो। गीत-सङ्गीतको क्षेत्रमा, नाट्य मञ्चनको क्षेत्रमा, शिक्षाको क्षेत्रमा मानिसहरूले अघि बढ्ने प्रेरणा प्राप्त गरे।

बिस्तारै सामाजिक, साहित्यिक संस्थाहरूको निर्माण हुन थाल्यो। मानिसहरूले सङ्गठनको महत्त्व बुझ्न थाले। राजनैतिक सचेतता देखा पर्न थाल्यो। विभिन्न प्रकारका खेलहरूमा मानिसहरूका भागीदारी बढ्न थाल्यो। विविध पत्र पत्रिकाको प्रकाशनले यो नव जागरणको गतिलाई अझ तीव्र बनायो। पादरी गङ्गा प्रसाद प्रधान जस्ता सचेत, शिक्षित व्यक्तिको पत्रकारिता, भाषी प्रेमी पारसमणि प्रधान, धरणीधर कोइराला, आदिका जन-जागरणमूलक कविताहरू, रूपनारायण सिंह, सूर्यविक्रम ज्ञवालीजस्ता विद्वानहरूका तार्किक अनि बौद्धिक लेखहरू, दलबहादुर गिरी, डम्बरसिंह गुरुङ जस्ता विद्वान व्यक्तित्वहरूका राजनीति, धनबीर मुखिया जस्ता नाटककार/अभिनेता आदिका रचनात्मक क्रियाकलापहरू आदिले मानिसहरूका परम्परागत सोच्ने ढङ्गमा परिवर्तन आउन थाल्यो। यसै समय दार्जिलिङमा गोर्खा लाइब्रेरी, गोर्खा नेशनल थियटर, चिल्ड्रेन्स एमुज्मेन्ट एशोसिएसन, गोर्खा समिति, नेपाली साहित्य सम्मेलन, गोर्खा दुःख निवारक सम्मेलन, आदि जातीय कल्याणका संस्थाहरू  यी संस्थाहरूसँग सङ्लग्न भई त्यसबेलाका सचेत युवा जमातले साहित्य-कला-सङ्गीतको क्षेत्रमा अभूतपूर्व उन्नति गरे।  यसका अघि नै दार्जिलिङमा ब्रह्म समाज, आर्य समाज, रामकृष्ण मिसन आदि धार्मिक अनि सामाजिक सुधारका संस्थाहरू आइसकेका थिए।  यिनै नूतन परिवर्तन अनि जागरणलाई दार्जिलिङको नवजागरणको रूपमा मान्न सकिन्छ। सन् १९२० देखि यता दार्जिलिङका अनेक सुदूरवर्ती स्थानहरूमा पनि प्राथमिक स्कूल, मिडल प्राइमेरी स्कूल अनि हाइस्कूलहरू खोलिन थालेको देखिन्छ। सन १९४०को दशकमा आएपछि यसमा अझ बढोत्तरी भएको देखिन्छ। स्कूलहरूमा नेपाली भाषा साहित्यको पठनपाठन सुरु भएपछि विद्यार्थीहरूको सङ्ख्या पनि व्यापक रूपमा बढेको देखिन्छ। दार्जिलिङमा यसरी बिस्तारै शिक्षित जमातको निर्माणले कला-सङ्गीतको क्षेत्रमा पनि ठूलो परिवर्तन अनि गम्भीरता देखा पर्‍यो।

३.      गीत सङ्गीतको स्वर्णिम युग

यही नवजागरणले दार्जिलिङ दिएको एउटा सुन्दर उपहार थियो आधुनिक नेपाली गीत-सङ्गीत। यस अघि दार्जिलिङमा गाइने गीतहरूमा लोक भाकाका गीतहरू अनि पुराना प्रकारका भजनहरू प्रमुख हुने गर्दथे। युरोपेली बाजागाजासँग परिचित हुने मौका पनि यसै समय जुरेको हो दार्जिलिङका युवाहरूलाई।

दार्जिलिङमा आधुनिक गीत सङ्गीतको उत्थानमा अमेरिकेली सङ्गीतकार, सङ्गीत-अभियन्ता अनि ग्रामोफोन निर्माता फ्रेडरिक विलियम गेइसबर्गको योगदान अनि प्रभावको चर्चा नगरे नेपाली आधुनिक गीत-सङ्गीतको एउटा पाटो नै ओझेलमा पर्न जान्छ। गेइसवर्ग प्रथम चोटि सन् १९०२ को दिसम्बर महिनाको ६ तारिक दार्जिलिङ आइपुगेका थिए। उनले आफ्नो दैनिकीमा दार्जिलिङको मनोहर दृश्यको मुग्ध कण्ठले प्रशंसा गरेका छन्। तत्कालीन नर्थबेङ्गल स्टेट रेलवेमा चढेर सिलगढी आएको अनि त्यसपछि न्यारो गज हिमालयन रेलवेमा चढेर दार्जिलिङ पुगेको वर्णन गरेका छन्। चियाका बुट्टा, घुमाउरो बाटो, हरियो जङ्गल देखेर उनी आह्लादित बनेको कुरो पनि उनले उल्लेख गरेका छन्। ८ दिसम्बरमा उनी टाइगर हिल घुम्न जाँदा त्यहाँबाट सूर्योदयको मनोरम दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्छन्। दार्जिलिङमा बौद्ध गुम्बाहरूको परिदर्शन गरेको कुरा पनि उनले आफ्नो डायरीमा उल्लेख गरेका छन्।

गेइसवर्ग पूर्वका गीत-सङ्गीतलाई अन्वेषण गरेर विश्व सङ्गीतको मञ्चमा ल्याउने प्रथम साउन्ड इन्जिनियर मानिन्छन्। उनी भारत मात्र होइन चीन, जापान, वर्मा, श्रीलङ्का, सिंगापुर, मलाया, इन्डोनेसशिया जस्ता देशहरूमा गएर त्यहाँ स्थानीय लोक कलाकारहरूलाई खोजी गरेर उनीहरूका स्वरलाई रेकर्ड गर्ने काम गरेका थिए। गेइसवर्ग तिनै व्यक्ति हुन् जसले भारतमा सर्वप्रथम १९०२ मा गौहर खानको गीतलाई रेकर्ड गरेका थिए। भारतमा एच एम भीको अन्तर्राष्ट्रिय कलाकार विभागका उनले कला निर्देशककोरूपमा पनि काम गरेका थिए। यिनै गेइसवर्गको बीसौं शताब्दीको पूर्वार्द्धमा दार्जिलिङको साङ्गीतिक क्षेत्रमा के कति अवदान थियो त्यसको स्पष्ट ऐतिहासिक विवरण पाउन नसकिएता पनि आधुनिक गीत-सङ्गीतको प्रभाव यसै समयदेखि दार्जिलिङमा नै पर्नुमा यस्ता संयोगहरूको भूमिका परेन भन्न सकिन्न। अझ गेइसवर्ग कलकत्ताबाट घरीघरी दार्जिलिङ आइरहनुको पछि कुनै स्थानीय साङ्गीतिक स्वार्थ त निश्चय नै थियो होला।

. आधुनिक गीत बनाम शास्त्रीय अनि लोक गीत

अनेकौं घराना, प्रकार, गायकी, शैली, अनुशासन, परम्परा अनि इतिहास बोकेको हेभीवेट शास्त्रीय सङ्गीत अनि लोकका अनेकौं भाका, लय, परम्परा अनि विरासत आफूले समेटेको लोक सङ्गीतको महासमुद्रमा गोता लगाइरहेको जनमानसले आधुनिक गीत सङ्गीतलाई यसरी टिपे मानौं गहिरो समुद्रबाट मानिसहरू मोती टिप्ने गर्छन्। यूरोपमा साहित्य अनि कलामा उन्नाइसौं शताब्दीको उत्तरार्द्ध अनि उन्नाइसौं शताब्दीको दोस्रो दशकसम्म प्रभावी भएको स्वच्छन्दवाद अनि त्यसपछि देखा परेको यथार्थवादको प्रभाव स्वरूप नै आधुनिक गीत-सङ्गीतको विकास भएको मानिन्छ। अझ आफ्नै समृद्ध शास्त्रीय धारा नभएका इङ्ग्ल्याण्ड अनि अमेरिका अनि इङ्ग्ल्याण्डका औपनिवेशिक देशहरूमा यसको प्रचार प्रसार बढी भएको देख्न सकिन्छ। कति आलोचकहरू आधुनिक गीत-सङ्गीतले औपनिवेशिक देशहरूका समृद्ध सङ्गीत परम्परालाई नष्ट गरेको आरोप पनि लाउने गरेका छन्। नेपाली गीत-सङ्गीतको सन्दर्भमा भने आधुनिक गीतको प्रवेशले एउटा नौलो अनि विशिष्ट परम्पराको थालनी गरेको देखिन्छ। लोक अनि शास्त्रीय सङ्गीतका दुवै लीकमा हिँड्दै नेपाली आधुनिक गीतले आफ्नो अनन्त यात्राको निरपेक्ष सुरुवात गर्‍यो।

जीवन र जगतप्रति नयाँ दृष्टिकोण अनि प्रगतिशील विचारधारालाई अँगालेर नेपाली आधुनिक गीतले सुरुचिसम्मत भाव भाषा, सुर अनि तालको समन्वय गर्दै आफ्ना पाइला अघि सार्न थाल्यो। युगअनुरूप प्रगतिशील विचारधारा बोकेका शब्दकारहरूले जब गीतहरू रच्न थाले मानौं जनमानसले आफ्नो हृदयको ढुकढुकी नै शब्द शब्दमा लुकेको पाए। शब्द, सुर, वाद्य अनि गायकी यी चार उपादानहरूको यस्तो तालमेल हुन थाल्यो कि हरेक नेपाली धड्कनले यी गीतहरूमा आफूलाई नै पाए। गीतको शब्द काव्य हो, साहित्य कर्म हो। कुनै पनि गीतकार सर्वप्रथम कवि हुन्छ अनि मात्र उसले गीतको रचना गर्न सक्छ। विषय वैचित्र्य अनि काव्य शिल्पले गीत कालजयी हुन्छ अनि यसको नव्यता शिल्पको उच्चतम उडान हुन्छ। सुर र रागको उच्च कोटीको ज्ञानले सङ्गीतकारलाई अमर बनाउँदछ। विश्व भरिका थरी थरीका देशी विदेशी, लोक शास्त्रीय सबै प्रकारका अनि सबै रङ्ग रसका धुनहरू छामी बटुली त्यसलाई आत्मसात गरी निजीकरण गर्दै मौलिकता दिन कुनै पनि सङ्गीतकारको कठिनतम् परीक्षा हो। शब्द, सङ्गीत अनि वाद्य यन्त्रको सन्तुलित, समुचित संयोजन भए पनि उत्कृष्ट गायकीको अभावमा गीत निम्न कोटिको हुन जान्छ। गायकीलाई सङ्गीतले पूर्णता दिनुपर्छ, शोषण गर्न हुँदैन। यहाँनेर आइपुग्दा सङ्गीत संयोजकमा कति सम्मको दक्षता हुनुपर्छ भन्ने कुरा स्पष्ट हुन्छ। सङ्गीतको प्रचुरताले गायकीको अस्तित्व नै विलीन भएको अनि कतिपय गीतमा सङ्गीत खोज्न परेको प्रशस्त उदाहरणहरू हाम्रा आँखा अघि छन्।

भाषा र भावभन्दा सुरको कलाकारिता, आवाजको आरोह-अवरोह, हर्कत, मुडकी, सुरालापले भरिएको शास्त्रीय सङ्गीतको आनन्द ती कानहरू मात्र लिन सक्छन् जुन कानहरू यसको सूक्ष्मतालाई अनुभव गर्न अभ्यस्त छन्। भनिन्छ शास्त्रीय सङ्गीतले साधक अनि श्रोता दुवैलाई मोक्षको ढोकासम्म पुर्‍याइदिन्छ। चाँड पर्व, श्रम, संस्कार, विवाह मन्डप, पूजा-आजा, मेलापात, गाई-गोठ, लेक-लेकाली, डाँडा-काँडा, देवराली, दोबाटो, वन-जङ्गल आदिमा गुञ्जिने लोकगीतकै परम्परामा नै मान्छेले हजारौं वर्ष बिताएको हो। औद्योगीकरण, वैश्वीकरण, भूमण्डलीकरण, शिक्षा अनि तकनिकको प्रचार-प्रसार भइरहेको परिवर्तनशील समयमा, हाम्रै समाजमा पनि परिवर्तनको तीव्र लहर चलिरहेको थियो। साधारण जनमानसको सुख-दुःख, हाँसो-रोदन, आनन्द-वेदना, आशा-आकांक्षा, प्राप्ति-अप्राप्ति, प्रेम-विरह, आवेग-संवेगलाई सरल सहज शब्दहरूमा उनेर लोकको ठेटपनाबाट अलिकति उक्लँदै शास्त्रीयताको बन्धनबाट अलिकति मुक्त बन्दै आधुनिक गीत सङ्गीत यो ठाउँमा पाइलो हालेको हो।

सभ्य सुसंस्कृत शब्दहरूका बुनोटमा संयोजित सन्तुलित सङ्गीतको समन्वयमा आधुनिक गीतले जीवनको परिवर्तनशीलता मात्र होइन आत्माको तृप्ति समेत गराउने जमर्को कस्यो। काव्यात्मक भाषा, देशी-विदेशी, आञ्चलिक सुरहरूको सम्मिश्रणमा जब प्रेम-विरह, बिछोड-वेदना, राग-अनुराग, मिलन-विच्छेद, निद्रा-अनिद्रा देखि लिएर देशप्रेम, जातियता, भोक, दरिद्रता, शोषण, मुक्ति, क्रान्ति, भक्ति अनि ईश्वरसमेतलाई स्थायी अन्तरामा समावेश गर्‍यो, विविधता र नव्यताले भव्य बनेको यो मोती विश्व बजारमा यति प्रचलित बन्यो कि सबै प्रकारका मानिसहरू यतातिर आकृष्ट बने।

. दार्जिलिङमा साङ्गीतिक क्रान्ति अनि युवा कलाकारहरू

आँसुदेखि जूनसम्म, बादलदेखि गाजलसम्म, दरिद्रतादेखि क्रान्तिसम्म अनि वेदनादेखि अध्यात्मसम्म विषय वैचित्र्य रहेको आधुनिक सङ्गीत सहजतासितै बौद्धिकता अनि रमाहटसितै रहस्यमयतालाई सँगसँगै बोकेर हिँड्न सक्षम बन्यो। विश्व बजारमा हलचल मच्चाइरहेको आधुनिकताको यस लहरले नेपाली गीत सङ्गीतलाई निथ्रुक्क भिजायो। औपनिवेशिक प्रभावले चुर्लुम्म डुबाएको पहाड-बेसी-तराईका श्रमजीवी, अल्पशिक्षितदेखि लिएर शिक्षित अनि नव मध्यम वर्ग नेपाली जनजीवनको युगानुरूप भाव भाषाले यी कवितात्मक गीतहरूमा लोक अभिव्यञ्जनाका साथै पाश्चात्य आश्वाद प्राप्त गरे। नगरजीवनलाई भर्खरै अनुभुत गर्दै गरेका जनमानसले यसलाई अझ टेवा दिए। यसै पनि पुरानो समयमा भारतमा युरोपीय कुनै पनि प्रकारको फेशन आयातित भए दुई वटा ठाउँमा पहिले आइपुगेपछि मात्र रहल ठाउँहरूमा पछिबाट प्रसार हुन्छ भन्ने भनाइ थियो। ती ठाउँहरू पहिलो थियो बम्बई अनि अर्को थियो दार्जिलिङ। दार्जिलिङ जुनै समयमा प्रतिभाको खानी रहेको सत्यता कसैले नकार्न सक्दैन। भारतका महान् नेताहरूदेखि लिएर, सङ्गीतकार, साहित्यकार, भौतिकविद, प्राणीविद, वनस्पतिविद, समाजशास्त्री, पुरातत्वविद, इतिहासकार, चलचित्र निर्माता, पर्वतारोही, धार्मिक गुरु, औषध-विज्ञानीदेखि लिएर प्लान्टरसम्म एकपल्ट भए पनि दार्जिलिङ आउन लालायित बन्थे। यस्तोमा ती जिनियसहरूका नयाँ नयाँ विचार, प्रयोग, वाद, जीवनशैली, नयाँ कुराहरू स्वतः दार्जिलिङ आइपुग्थे। यस्तोमा आधुनिक गीत-सङ्गीत अन्य ठाउँ भन्दा धेरै अघि दार्जिलिङ आइपुग्नु कुनै आश्चर्यको कुरा थिएन।

सन् १९०२ मा सिलगढी हुँदै हिमालयन रेलमार्फत फ्रेडरिक विलियम जेइसवर्गको दार्जिलिङ यात्रा, एलरिव आर जन्सनको सन् १९०६-मा भिक्ट्रोलाको आविष्कार, सन् १९०७-मा ग्रामोफोन रेकर्डको प्रवर्तन, १९०८ मा सेतुराम श्रेष्ठको पहिलो नेवारी गीतको रेकर्डिङ, १९२३ मा मेलवादेवीको नेपाली गीतको रेकर्डिङ, १९३२ मा दार्जिलिङमा गोर्खा दुःख निवारक सम्मेलनको स्थापना, १९३५मा पहिलो म्यागनेटिभ टेप रेकर्डरको आविष्कार, सन् १९३७ मा दार्जिलिङमा भाइ सङ्गीत सम्मेलनको स्थापना, आदिले नेपाली आधुनिक गीत-सङ्गीतको क्षेत्रमा पनि ठूलो योगदान पुर्‍याएको छ। दार्जिलिङमा नेपाली आधुनिक गीत-सङ्गीतको क्षेत्रमा गायक-सङ्गीतकार एल. टी. लामा, महानन्द गिरी, हिराकुमार सिंह, वखतबीर बुढापिर्थी, हरिमोहन गुरुङ नाट्य कलाकार डी.बी. सुनुवार, लालु तामाङ, एच. डी. लामा आदिको योगदान पनि अविस्मरणीय छ।  दार्जिलिङमा मिशनरी शैक्षिक संस्थानहरूको स्थापना अनि यी संस्थान, विद्यालयहरूमार्फत हुने शिक्षादानले यस भेकका नानीहरू अनि किशोर-किशोरीहरूले पाश्चात्य संस्कृतिलाई छेउबाट देख्ने मौका पाएका थिए। प्रार्थनालाई जीवनशैलीको एउटा अत्यन्त महत्त्वपूर्ण अंश मान्ने युरोपेली इसाईहरूका प्रार्थना-भजन, क्यारोल, कोरस गाउने सँगसँगै पाश्चात्य वाद्यवादन गिटार, पियानो, एकर्डियन, मेन्डोलिन, ड्रम, सेक्सोफोन, हार्मोनिका, हार्मोनियम, बेन्जो, कङ्गो, भायोलिन आदिसँग परिचित बन्ने अवसर पाए। स्वरलिपि, अर्केष्ट्रा, व्याण्ड, माइक्रोफोन, साउन्ड सिस्टम, जस्ता सङ्गीत सम्बन्धी तकनिकसित साक्षात्कार हुने अवसर पनि प्रथमोप्रथम उनीहरूलाई यसरी नै उपलब्ध भयो। समयसितै व्यवस्थित सङ्गीत शिक्षाको स्रोत तथा साधन पनि दार्जिलिङमा उपलब्ध हुन थाल्यो। यसरी दार्जिलिङमा साहित्य-सङ्गीत-शिक्षालाई ग्रहण गर्दै आफ्नो संस्कृतिमा भित्राउने प्रथम पिँढीको निर्माण भयो। यही पिँडीको हात समाउँदै हिँड्ने दोस्रो पिँढीले नै दार्जिलिङमा नेपाली आधुनिक गीत-सङ्गीतलाई लोकप्रिय बनाएका हुन्।

दार्जिलिङमा साठीको दशकमा सङ्गीतको विकासमा आर्ट एकाडेमीको ठूलो योगदान रहेको देखिन्छ। यही आर्ट एकाडेमीका एक सङ्गीत प्रशिक्षक थिए अम्बर गुरुङ। उनीसँग सङ्गीत सिक्न आउनेहरूमा थिए शरण प्रधान, रन्जीत गजमेर, गोपाल योञ्जन, कर्म योञ्जन, शान्ति ठटाल, अरुणा लामा, दिलमाया खाती, वाङगेल लामा, पीटर जे कार्थक, रूद्रमणि गुरुङ, नयनप्रकाश सुब्बा, शेखर दिक्षित, देवदत्त  गुरुङ,  इन्द्रकुमार सिंह, प्रकाश गहतराज, गणेश शर्मा, मानबीर सिँह आदि। त्यस एकाडेमीमा आइरहने अन्य सङ्गीतकार-गायक- गीतकारहरूमा थिए नवीन बरदेवा, जितेन्द्र बरदेवा, गगन गुरुङ, विशासन लामा आदि। उनीहरू भन्दा अघि पचासकै दशकमा दार्जिलिङको साङ्गीतिक आकाशमा झलमल्ल उदाएका नक्षत्रहरू थिए बलु बराइली, दलसिंह गहतराज, मानध्वज गुरुङ, लिली सिंह आदि। यी युवा साङ्गीतिक प्रतिभाहरूको विशेषता के थियो भने केहीलाई अपवाद मानेर उनीहरू सङ्गीतकार पनि थिए, गीतकार पनि थिए अनि थिए धुरन्धर वाद्यवादक। शरण मेन्डोलिन बजाउँथे, कर्म योन्जन भायोलिन बजाउँथे, गोपाल बाँसुरी बजाउँथे, रन्जीत मादल बजाउँथे।

उनीहरूद्वारा सङ्गीत भरिएका गीतहरूमा आ-आफ्ना प्रिय वाद्य-वादनको मधुर स्वर परिलक्षित हुन्थ्यो। एउटै ठाउँमा रहेर, एउटै संस्थासित आबद्ध भएर अनि एउटै गुरूका चेला भएर पनि कसरी उनीहरूले आ-आफ्ना मौलिकतालाई कायम राख्न सके त्यो आश्चर्यको कुरा मान्नु पर्छ। यी अघिल्ला तीन सङ्गीत स्रष्टाहरूले आ-आफ्ना प्रिय वाद्यवादन मेन्डोलिन, भायोलिन अनि बाँसुरीको धुन उनीहरू तीनै जनाका सङ्गीत गुरु अम्बर गुरुङको प्रसिद्ध गीत ‘म अम्बर हुँ, तिमी धर्ती’ मा बजाएका छन्। यी युवा हाँचका कलाकारहरूलाई साङ्गीतिक उचाइ दिने व्यक्ति नै अम्बर गुरुङ थिए । उनको यो योगदानलाई उनका शिष्यहरूले जीवनभरी नै सम्झिरहे। उनका एक प्रिय शिष्य पीटर जे कार्थकले अम्बरलाई आधुनिक नेपाली सङ्गीतका ‘अल्फा’ र ‘ओमेगा’ त्यसै भनेका होइनन्।

६. प्रतिभाशाली शरण प्रधान

३ मई १९४३ मा धीरधाम दार्जिलिङमा मध्यम वर्गीय परिवारमा जन्मिएका शरण प्रधान सानैदेखि शिक्षा अनि सङ्गीतमा अब्बल रहन्थे। त्यसबेला नै उच्च शिक्षा हासिल गर्न पाउने नगण्य युवा हाँचमा उनी एकजना थिए। सानैदेखि मेन्डोलिन बजाउन मन पराउने शरणले मेन्डोलिन बजाउनकै निम्ति बम्बई पनि जाने अवसर पाएका थिए भन्ने सुनिन्छ तर आफ्नो शारीरिक अस्वस्थताको कारणले त्यस अवसरलाई उनले त्याग्न पर्‍यो। अम्बर गुरुङका केही गीतहरूमा उनले नै मेन्डोलिन बजाएको कुराको उल्लेख जे.के बराइलीले आफ्नो पुस्तक बिर्सनै नसक्ने हाम्रा प्रतिभा-हरूमा उल्लेख गरेका छन्। विज्ञान शिक्षकको रूपमा उनले नियुक्ति पाए सन्त रोबर्टस् स्कूलमा जुन स्कूल त्यस समय सांस्कृतिक गतिविधिको निम्ति प्रसिद्ध थियो । त्यसबेला दार्जिलिङका दुईवटा स्कूलहरू प्रसिद्ध थिए सन्त रोबर्टस् ड्रामामा अनि सन्त टेरिजा ड्रिलमा। नेपालीका प्रसिद्ध नाटककार मनबहादुर मुखिया यसै स्कूलका छात्र रहेका थिए। उनी यस स्कूलमा नवौं श्रेणीको छात्र हुँदा स्कूल अफिसलाई स्टुडियो बनाइ ध्वनि प्रसारणको माध्यमबाट उनको नाटक प्रत्येक क्लासमा प्रसारित गरिएको थियो। यसले सन्त रोबर्टस् स्कूल ड्रामाको निम्ति कतिसम्म गम्भीर थियो भन्ने कुराको पुष्टि गर्छ । त्यसबेला सङ्गीतलाई ड्रामाको एउटा अत्यावश्यक तत्त्वको रूपमा मानिन्थ्यो। ती नाटकहरूमा त्यसबेलाका उदीयमान अनि लोकप्रिय बनिसकेका सङ्गीतकारहरूले सङ्गीत भर्थे भने लोकप्रिय गायकहरूले आफ्नो स्वर दिन्थे। शरण प्रधानको सङ्गीतको विकासमा सन्त रोबर्टसका यस्ता ड्रामाहरूका पनि योगदान अवश्यै रहेको अनुमान गर्न सकिन्छ। सन्त रोबर्टसमा प्रत्येक दिन त्यहाँका शिक्षक अनि विद्यार्थी मिलेर विद्यालयको कलेज एन्थम गाउने चलन थियो। राम्रा सङ्गीत जान्ने शिक्षकहरूले अघि आएर वाद्य वादनको साथमा गीत गाउन पर्थ्यो। यसो हुँदा त्यसबेलाका विद्यार्थीहरूका मनमा सङ्गीतप्रतिको आकर्षण स्वतः बढेर जाने गर्थ्यो। यो काममा नेतृत्व दिने शिक्षक नै हुन्थे शरण प्रधान। यसरी शरण प्रधान सन्त रोबर्टस् स्कूलका सङ्गीतका केन्द्र थिए। उनी विद्यार्थीहरूका आँखाका तारा थिए। उनलाई विद्यार्थीहरू माई डियर भनेर सम्झना गर्छन् अझै।

७.  शरण-रन्जीतको जोडी

शरण प्रधानका मन मिल्ने साथी थिए रन्जीत गजमेर। रन्जीत गजमेर आफै पनि बहुप्रतिभाशाली गीतकार, वाद्य वादक, गायक अनि सङगीतकार थिए। उनको प्रिय वाद्य वादन थियो मादल। उनले काठमाडौंमा मादल बजाएको सुनेरै हिन्दीका प्रसिद्ध सङ्गीतकार आरडी बर्मनले उनलाई बम्बई बोलाएका थिए। बम्बई गएपछि त्यहाँ उनको साङ्गीतिक यात्रा विकासको पथतिर अग्रसर भयो। उनले हिन्दी अनि नेपाली फिल्मका अनेक गीतहरूमा सङ्गीत दिने काम गरे। हिन्दीका प्रसिद्ध गायक-गायिकालाई नेपाली गीत गाउन लगाउने काम पनि उनैबाट भएको हो भन्ने गरिन्छ। शरण रन्जीतको भेट शायद अम्बर गुरुङकै आर्ट एकाडेमीमा भएको थियो। अम्बर गुरुङ लोक मनोरञ्जन शाखाका अधिकारी बनेपछि आर्ट एकाडेमी स्वतः बन्द भयो। आर्ट एकाडेमी बन्द भएपछि ती युवा कलाकारहरूले आ-आफ्नो बाटो रोजे। शरण, रन्जीत, पीटर जे कार्थक अनि अरुणा लामा मिलेर सङ्गम क्लब गठन गरे अनि यी दुई भाइले शरण- रन्जीतको नाममा सङ्गीत सृजना गर्न थाले।

शरण प्रधानको अल्पायुको कारणले उनीहरूको यो साङ्गीतिक जुगलबन्दी धेरै चलेन तर जति दिन चल्यो प्रसिद्धिको उचाइ प्राप्त गर्‍यो। रन्जीतसँगको सहकार्यले शरण प्रधानको सङ्गीत कार्यमा भिन्नै प्रकारको परिवर्तन आएको परवर्ती सङ्गीतकारहरू स्वीकार्छन्। आकासको प्रीत गीतमा शरण-रन्जीतको शब्द अनि शरण प्रधानको सङ्गीत रहेको थियो भने भुलिदेऊ पीर आँसु नै सुक्छ आजलाई हाँसे भोलि सजिन्छ गीतमा शरणको शब्द अनि शरण-रन्जीतको सङ्गीत रहेको थियो। यी दुवै गीत अरुणा लामाले गाएकी थिइन्। अब उनीहरूका सङ्गीत उत्कृष्टताको शिखरतिर उक्लन लागेको अनुभव हुन्छ तर नेपाली सङ्गीतले त्यो अवसर प्राप्त गर्न सकेन। शरणको मृत्युपछि रन्जीत पनि अन्य वरिष्ठ सङ्गीतकार-गायक-वाद्यवादक-गीतकारहरू जस्तै अवसरको खोजीमा नेपालतिर लागे अनि पछि मुम्बईलाई आफ्नो कार्यस्थल बनाए जो आज पनि नेपाली सङ्गीतलाई विश्व पटलमा पुर्‍याउन प्रयासरत छन्।

८. जुगलबन्दीमा शरण-अरुणा

शरण प्रधानको नाम लिँदा स्वतः हाम्रो मस्तिष्कमा आउने एउटा नाम हो अरुणा लामा। दुवै सङ्गीतका क्षेत्रमा काम गरिरहेका अनि दुवै उच्च शिक्षित यी प्रतिभाहरू साङ्गीतिक सहकार्यकै कारण एकार्काका सम्पर्कमा आएका थिए। अम्बर गुरूङ लोक मनोरन्जन शाखामा गएपछि आर्ट एकाडेमी विस्तारै निष्क्रिय बन्यो। त्यहाँबाट निस्किएर शरण, रन्जीत, पिटर जे कार्थक, अरुणा लामा, जितेन्द्र बरदेवा, मार्क कार्थक, प्रकाश गहतराज, ललित योन्जन, इन्द्रकुमार गजमेर, आर बी रसाइली  आदिले सङ्गम क्लब बनाएका थिए भने हिमालय कला मन्दिरमै बसेर गोपाल योन्जन, कर्म योन्जनहरूले सङ्गीत साधना गरिरहेका थिए। यी दुवै संस्थामा त्यबेलाका धुरन्धर मानिने सङ्गीत स्रष्टाहरू सम्मिलित थिए। त्यसै समयको गोदुनिसमा भएको एउटा नेपाली सङ्गीत प्रतियोगितालाई मानिसहरू पछिसम्म सम्झन्थे। एकातिर सङ्गम क्लबले त्यो सङ्गीत प्रतियोगिताको निम्ति अरुणा लामालाई तयार गर्दै थियो भने अर्कोतिर हिमालयन कला मन्दिरले अर्का प्रतिभाशाली गायिका दिलमाया खातीलाई तयार पार्दै थियो। सारा दार्जिलिङ शहर यी दुई कोकिलकण्ठाहरूका प्रतियोगिता हेर्न लालायित थिय़ो।

अन्तमा अरुणा लामा नै विजयी भइन्। यो विजयको श्रेय उनले शरण प्रधानलाई दिइन्। दार्जिलिङ सङ्गीत प्रतियोगितापछि प्रतिभाका खानी यी दुई नेपाली साङ्गीतिक नक्षत्रहरू मित्रताको सम्बन्धबाट माथि उक्लेर पहिले प्रेमी-प्रेमिका बन्दै सन् १९६३मा एउटा मर्यादित विवाहसम्बन्धमा गाँसिए। विवाह भइसकेपछि अरुणा र शरणले सङ्गम क्लबदेखि बाहिरिएर आफ्नै ब्यानरमा साङ्गीतिक क्रियाकलाप सुरु गरे। उनीहरूको यो साङ्गीतिक जुगलबन्दीलाई पिटर जे कार्थकले ‘दार्जिलिङ नेपाली सङ्गीत इतिहासको एउटा महान कथा’ भनेका छन्। विवाहपछि शरण अनि अरुणा यति एकाकार बने, शरणको गीत-सङ्गीत अरुणाको निम्ति अनि अरुणाको स्वर शरणको निम्ति जस्तो भयो। दुवैको साङ्गीतिक यात्राले शिखर छोइरहेको थियो। कुनै पनि साङ्गीतिक कार्यक्रममा दुवैको सह-उपस्थिति रहन्थ्यो। आफ्नो एउटा लेखमा लक्खीदेवी सुन्दासले लरेटो कलेज (वर्तमानमा साउथफिल्ड कलेज)मा एउटा कार्यक्रममा अरुणालाई बोलाउने कुरा चल्दा भर्खर बिहे भएकी उनी आउलिन् कि नआउलिन् भन्ने दोधारमा परेको तर त्यसमयकी लरेटो कलेजकी छात्रा शान्ति ठटालको अनुरोधमा अरुणा आएर शरणका शब्द-सङ्गीतमा रहेका त्यसबेलाका लोकप्रिय गीतहरू गाएर सबैलाई मन्त्रमुग्ध बनाएको कुरा उल्लेख गरेकी छिन्।

त्यही कार्यक्रममा शरण प्रधानको मेन्डोलिनको धुनले कलेजका मदरहरूको मुखबाट ओह लभली एफर्टलेस भनेर बधाई दिएको कुरा पनि उनले उल्लेख गरेकी छिन् यस घटनाले गीत-सङ्गीत प्रति उनीहरूको लगाऊ अनि समर्पण कतिको थियो भन्ने कुराको पनि पुष्टि हुन्छ। सन् १९६४ मा हिन्दुस्तान रेकर्ड कम्पनीले अरुणालाई नाइटिङ्गेल अफ हिल्सको उपाधिले विभूषित गर्‍यो। शरण प्रधानको शब्द-सङ्गीत अनि अरुणाको गला पाएपछि ती गीतहरू सुनेर नरुने कोही थिएनन् त्यसबेला। करूण स्वरकी धनी अरुणाको यो विशेषतालाई शरणले पहिल्यै नै चिनिसकेका थिए। यसैले करूण रसमा आधारित गीतहरूलाई नै शरणले अरुणाको निम्ति भनेर सङ्गीत भर्थे। शरण प्रधानकै शब्द अनि सङ्गीत रहेको अनैकौं गीतहरू अरुणाले नेपाली हृदयको अन्तरकुनामा बसाइदिइन्। यो माया, जीवनको सपनी, आजभोलि मेरो, जाऊ छोडी जानेलाई, जीवन मेरो, मलाई आफ्नो बनाउनमा, देवराली पाखाले भन्छ, बर्खे झरी, झरर झरर, बनको काँडा, म आँखैमा राखिने योग्य कहाँ छु र, आजै गीतको भाका,यो हृदय त त्यही नै छ यो ढुकढुकीलाई के भयो, म अभागीको, मान्छे सबै एउटै रगतको विचार किन बेग्ला बेग्लैमेरो पापहरूलाई माया छ मेरा भूलहरूलाई माया छ, खोला भन्दा नदी ठूलो सागर अझै ठूलो छ, मैले जीवनलाई कसरी सजाएँ, म अभागीको दुश्मनै हाँसोस् आदि गीतहरूलाई त्यसबेलादेखि लिएर आजसम्म पनि गीत अनि सङ्गीत अनि गायकीको बेजोड मेलको रूपमा सम्झना गरिन्छ।

सानु लामाको शब्द अनि शरण प्रधानको सङ्गीत रहेको गीत नेपाली गौरव गर्छौँ आफ्नै पनमा आज पनि उतिकै लोकप्रिय छ।  नेपाली जातिको गौरव अनि विशेषता दर्शाउने यो गीत नेपाली संसारमा कालजयी गीतको रूपमा परिचित छ। जीतेन्द्र बरदेवाको शब्द अनि शरण प्रधानको सङ्गीतमा रहेको अनि अरुणा लामाको गायन रहेको यहाँ फूल नखिलि छ बहार आउन नै भुलेछ, यहाँ चोट दुखेकै छ तर सहन परेको छ गीतले पनि  तत्कालीन दार्जिलिङका मानिसहरूका हृदयलाई स्पर्श गरेको थियो ।  नेपाली साङ्गीतिक क्षेत्रका यी प्रतिभाशाली जोडीलाई आज पनि आदर्श जोडी मान्ने गरिन्छ। यस्ता अतुलनीय प्रतिभाको धनी शरण प्रधानको अल्पायुमा नै यस संसारबाट विदा हुनु नेपाली समाजको ठूलो क्षति हो। धेरै दिनदेखिको दुसाध्य रोगसँगको सङ्घर्षपछि आफ्ना छोरा सुप्रीत, छोरी सपना अनि पत्नी अरुणालाई घोर दुःख सागरमा छोडी सन् १९७४मा शरण प्रधानले सधैँको निम्ति आँखा चिम्ले ।शरणको मृत्युक्षणलाई ईबराले यसरी उतारेका छन्-

“सुश्रुषा गर्दाकि अनिदी अरुणा झकाएकी मात्र के थिइन् आफ्नो निद्रा फोरेर शरण कराए- अरुणा, अरुणा, अरुणा ! अनि कहिल्यै बोलेनन्, ब्युँझेकी अरुणाले कति नै बोलाउँदा पनि…।“ उनी अझ लेख्छन्- “अरुणालाई साथ दिने मूल साँझ नै टुट्यो, उनको स्वर नै चुँडियो, छिन्न भयो।“

शरणको मृत्युपछि अरुणाले केही समय त गीत गाउनै छोडिन् । पछि सङ्गीतकार कर्म योञ्जन, मणिकमल छेत्री अनि साथीहरूका घरीघरीको अनुरोधको कारण उनले नेपाली सङ्गीत जगतमा पुनः प्रवेश गरिन्। शरणबिनाको साङ्गीतिक यात्रा पुनः सुरु गर्न उनलाई प्रसिद्ध सङ्गीतकार-गायिका शान्ति ठटालको सामीप्य अनि स्नेहले पनि धेरै मानसिक सहयोग पुगेको थियो। शरण प्रधानको स्वर्गवास भएपछि पनि जिन्दगी भर नै अरुणा लामाले करूण भावकै गीतहरू गाइरहिन्। उनका यस्तै कारुणिक गीतहरू नै आजसम्म पनि नेपाली जनजिब्रोमा टाँसिएको छ। उनका हरेक गीतहरूले लोकप्रियता हासिल गर्‍यो। शरणका सङ्गीत नभरिएका गीतहरूलाई सङ्गीत भर्ने अनि तिनीहरूलाई रेकर्ड गर्ने काम पनि उनले गर्दै गइन्। उनलाई उनका फ्यानहरूले स्वर कोकिला, स्वर साम्राज्ञी आदि नाम दिए। आफ्नो जीवनसाथीको मृत्युले उनको मनमा जुन दुःखलाई ल्याएको थियो त्यही दुःखलाई उनले जीवनभरी आफ्ना गीतहरूका माध्यमबाट साधरणीकरण गरिन्। यो अरुणाको आफ्नो पतिप्रतिको समर्पण अनि एकप्रकारको श्रद्धाञ्जली पनि थियो।

९. शिक्षक शरण

विज्ञानका शिक्षक शरण प्रधान एक आदर्श शिक्षक थिए, आफ्ना विद्यार्थीहरूका सम्झनामा। उनका एक विद्यार्थी अनि भूतपूर्व विद्यार्थी प्रकाश बराइली उनलाई माइ डियर प्रकारको शिक्षक रहेको बताउँछन्। जतिबेला उनी सन्त रोबर्टसका शिक्षक बनेर आएका थिए त्यसबेला सन्त रोबर्टस स्कूलमा धेरै योग्य अनि आदर्श शिक्षकहरू थिए। डा. जगत छेत्री, पी.सी थापा, कल्याण थापा, आर् बी सुब्बा, यासीन सर, गाब्रियल डुक्पा आदि सरहरूले भरिएको थियो सन्त रोबर्टस् विद्यालय। कलाको क्षेत्रमा दार्जिलिङका विद्यालयहरूका योगदानको एउटा भिन्नै इतिहास लेखिनपर्ने हो। आज पनि स्थानीय संस्कृति, कला, अनि खेलकुदलाई विकासको अग्रगतिमा लानमा विद्यालयहरूनै अघि छन्। प्रतिभाशाली शिक्षकहरूका अथक प्रयासले मात्र यो सम्भव हुन्छ। साठी अनि सत्तरको दशकमा यस्ता समर्पित शिक्षकहरूले भरिएका हुन्थे विद्यालयहरू। यस्तै एक समर्पित शिक्षक थिए शरण प्रधान। विद्यार्थीहरूलाई सधैँ सहानुभूतिको दृष्टिले हेर्ने प्रधान सरको सहयोग अनि सहृदयता आज पनि सम्झन्छन् आफ्नै अवकाशको जीवन बिताइरहेका उनका पुराना विद्यार्थीहरू। उनकै सहयोग अनि प्रशिक्षणमा त्यसबेलाका धेरै विद्यार्थीहरूले सङ्गीतलाई आफ्नो जीवनवृत्ति पनि बनाएका थिए। यस्ता सङ्गीतकार-गायकहरूमा प्रकाश गुरुङ एक हुन् जसलाई शरण प्रधानले मेन्डोलिन सिकाएका थिए भन्ने गरिन्छ। प्रकाश गुरुङ उनै श्रद्धेय सङ्गीतकार हुन जसले ओमविक्रम विष्टसँग मिलेर नेपाली पप गीतलाई लोकप्रिय बनाएका थिए।

१०. एउटा लिजेण्डको अवसान

आफ्नो सङ्गीत यात्राको  शिखर उक्लँदै गरेका शरण प्रधानको छोटो उमेरमै निधन हुनुले नेपाली साङ्गीतिक-साहित्यिक जगतमा ठूलो क्षति भयो। नेपाली संसारले एउटा लिजेन्ड सङ्गीतकारलाई गुमायो। अरुणा लामाले आफ्नो संसार गुमाइन्, अनि छोराछोरीको ओत नै खोसियो। यसै क्षीणकाय शरण उच्च रक्त चापका विमारी थिए भनिन्छ। विद्यालय मै पनि घरि घरि मूर्च्छा परिरहने शरणले त्यस समयमा राम्रो उपचार पाउन सकेको भए उनको यति चाँडै अवसान हुँदैन थियो कि भन्ने अनुभव भइरहन्छ। शरण प्रधान धेरै बाँचेनन् तर एक जीवनमा जति गर्न सक्ने काम उनले आफ्नो अल्प जीवन मै पूरा गरे। आज पनि शरण प्रधानको चर्चा हुनु, उनका गीत सङ्गीत गाइनु, सुनिनुले उनको रचनाको सार्वकालिकताको पुष्टि हुन्छ।

११. शरणको साङ्गीतिक विरासत अनि नेपाली सङ्गीत

नेपाली सङ्गीतको क्षेत्रमा शालीन, अर्थपूर्ण, सामाजिक आधुनिक गीतहरूलाई लोकप्रिय बनाउने श्रेय उनलाई जान्छ। नारीलाई हेय दृष्टिले हेरिएका अनि सामाजिक कुरीतिलाई पश्रय दिइने गीत सङ्गीतको भरमार रहेको समयमा उनले गीतलाई काव्यात्मकता उचाइ दिए, सङ्गीतमा लोक अनि आधुनिकताको मिश्रणले लोकप्रिय बनाए। जीवनको क्षणभङ्गुरता, माया, प्रेम, आदर्श, जातीयता, नारी हृदयका उच्छ्वासहरूलाई आफ्ना गीतहरूमा उतारे। आफ्नो सानै उमेरमा यस्ता प्रौढ रचना गर्न सक्ने सामर्थ्यले उनी आफ्नो युगभन्दा धेरै अघि थिए भन्न सकिन्छ। आज पनि दार्जिलिङमा साङ्गीतिक रचनाहरू अत्यन्त शालीन हुने गर्दछन्। गीतकार सङ्गीतकार कलाकारहरूलाई समाजले सम्मानको दृष्टिले हेर्ने गर्दछ। यस्तो प्रकारको साङ्गीतिक परिवेशको निर्माण गर्ने श्रेय तिनै कलाकारहरूलाई जान्छ। आज पनि दार्जिलिङले साठी सत्तर दशकका यी महान् कलाकार अम्बर गुरुङ, गगन गुरुङ,गोपाल योञ्जन, शान्ति ठटाल, शरण प्रधान, अरुणा लामा, इन्द्र थपलिया, कर्म योन्जन, मणिकमल छेत्री, दिलमाया खाती, कुमार सुब्बा जस्ता सङ्गीतकार-गीतकार-गायकलाई श्रद्धाको दृष्टिले सम्झना गर्दछ। उनीहरूले बनाएको साङ्गीतिक गोरेटोमा आज पनि दार्जिलिङे साङ्गीतिक यात्रा दौडिरहेको छ।

दार्जिलिङ सरकारी महाविद्यालय

 

सन्दर्भ ग्रन्थ

१.      कुमार प्रधान, १९८२, पहिलो पहर, दार्जिलिङ, श्याम प्रकाशन

२.     टी. बी चन्द्र सुब्बा (सम्पा), १९९८, स्वर समाज्ञी अरुणा लामा स्मृति ग्रन्थ, गान्तोक, किनार प्रकाशन

३.     पिटर जे कार्थक, २०२०, नेपाली सङ्गीत स्रष्टा, काठमाडौँ, हिमाल किताब प्रा. लि.

४.     जे. के बराइली, २०२२, बिर्सनै नसक्ने हाम्रा गीत-सङ्गीतका पदचापहरू, दिल्ली, लेखक स्वयम्

५.     ह्युगो स्ट्रोटबोम (सम्पा.) २०१०, द फ्रेड गेइसबर्ग डायरीज भाग दुई, गोइङ इस्ट (१९०२-१९०३)

६.      अरुणचन्द्र कुलुङ, २०२३, आधुनिक नेपाली सङ्गीतका शिखरपुरुष अम्बर गुरुङ स्मृतिग्रन्थ, मिरिक, अम्बर गुरुङ सालिग निर्माण समिति