पहाडका चट्टानहरू फुटिरहेका छन्
बारुदका आवाजले हिमालको मौनता चिरेको छ ।
हेलिकप्टरले आकाशमा रेखा कोर्दै
सीमाको छातीमाथि सडक बिछ्याइरहेको छ ।
तर सिंहदरबारलाई केही थाहा थिएन र छैन पनि
वा थाहा भएर पनि
नभएको अभिनय गरिरहेको छ ।

लिपुलेकको हावाले प्रश्न गरिरह्यो
“देशको माटोमा कसले पाइला टेक्यो ?”
उत्तर खोज्दै जनता अखबार पल्टाइरहे
सरकार समाचार सुनेर चकित परिरहेको थियो ।

इतिहासका अनगिन्ती पानाहरूबाट
एउटा नाम फेरि उठेर आयो
लेन्डुप दोर्जे ।

ऊ केवल एउटा मानिस थिएन
ऊ एउटा प्रतीक थियो
विश्वास र विश्वासघातको बीचमा उभिएको
एउटा राजनीतिक छाया ।

सिक्किमका सुन्दर पहाडहरूले देखेका थिए
कसरी मित्रताको हात समातेर
पराधीनताको ढोका खोलिन्छ ।
कसरी परिवर्तनको नारा बोकेका शब्दहरू
अन्ततः स्वाधीनताको समाधिमा फूल चढाउन पुग्छन् ।

लेन्डुपले राजतन्त्रको विरोध गरे
जनताको अधिकारको कुरा गरे
लोकतन्त्रको गीत गाए ।
तर गीत सकिँदा
नक्सा फेरिएको थियो
झण्डा फेरिएको थियो
र देशको परिचय पनि फेरिसकेको थियो ।

सत्ता प्राप्तिको उत्सवमा
कहिलेकाहीँ राष्ट्र हराउँछ
र इतिहासले त्यो क्षणलाई
विजय होइन
विलयको नामले सम्झन्छ ।

आज पनि प्रश्न उही छ
के इतिहास केवल सिक्किममै रोकियो ?
कि उसका पाइलाहरू
हिमाल पार गर्दै
नेपालका सुन्दर भूमिहरूमा पनि सुनिन थाले ?

जब नेताहरू दिल्लीतर्फ हेर्छन्
जब निर्णयहरू जनताको भन्दा
विदेशी चाकडीको नजिक देखिन्छन्
जब राष्ट्रियता भाषणमा सीमित हुन्छ
र सार्वभौमिकता सम्झौताका कागजमा हराउँछ
त्यतिबेला लेन्डुपको कथा
फेरि स्मृतिमा फर्किन्छ ।

लेन्डुपहरू सधैँ एउटै अनुहारमा आउँदैनन् ।
कहिले उनीहरू राष्ट्रवादको मुखौटा लगाउँछन्
कहिले लोकतन्त्रको
कहिले विकासको
त कहिले परिवर्तनको ।

जनताले खोज्नुपर्ने व्यक्ति मात्र होइन
खोज्नुपर्ने प्रवृत्ति हो ।
किनकि देश गुमाउनेहरू
सधैँ सीमा नाघेर आउँदैनन्
कतिपय आफ्नै आँगनमा उम्रिन्छन् ।

राष्ट्रको रक्षा बन्दुकले मात्र हुँदैन
स्मृतिले पनि गर्छ।
इतिहासलाई सम्झिनु
भविष्य जोगाउनु हो ।

त्यसैले आज को प्रश्न
लेन्डुप को थियो भन्ने होइन
बरु
लेन्डुप को बन्न खोज्दैछ भन्ने हो ।

हिमालहरू अझै उभिएका छन्
नदीहरू अझै बगिरहेका छन्
र देश अझै आफ्नै नामले चिनिन्छ ।

तर समयले चुपचाप सोधिरहेको छ
“के तिमीले आफ्ना लेन्डुपहरू चिन्यौ ?”