डा. छत्रपति दाहाल पेशाले आयुर्वेद चिकित्सक हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानबाट नव्य व्याकरण विषयमा उत्तरमध्यमा उत्तीर्ण भएपछि आयुर्वेदको अध्ययनमा लाग्नुभयो । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सामान्य चिकित्सा र आयुर्वेद विषयमा प्रवीणता प्रमाणपत्रतहको अध्ययन पूरा गरेपछि २०४१ सालदेखि उहाँले नेपाल सरकारको स्वास्थ्य सेवामा काम गर्न थाल्नुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र नेपाली विषयका स्नातक, भारतको जीवाजी विश्वविद्यालयबाट आयुर्वेदाचार्यको उपाधि हासिल गर्नुभएका नेपाल सरकारका सेवानिवृत्त आयुर्वेद चिकित्सक डा. दाहाल बनेपा न.पा.३, चुनाताल, काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा हुनुहुन्छ ।

कोरोनाको कठिन कालमा उहाँले अमेरिकाको त्यही ठाउँमा रहेर आध्यात्मिक चेतना जगाउनुभएको थियो । भर्जिनिया निवासी परशुराम भण्डारीले शुरु गर्नुभएको वेद र गीताको वाचन अन्तर्गत झन्डै डेढमहिनाको अथर्ववेदको संक्षेपीकरण त्यसको ज्वलन्त उदाहरण हो । मंगलाचरण, अजीर्णमञ्जरी, अनुपानमञ्जरी, वैद्यजीवनम् र पथ्यापथ्यसंग्रह उहाँका सम्पादित अनुसन्धानमूलक ग्रन्थ हुन् । तिलिचो, भृगुभारती र जडानजस्ता मुखपत्र र स्मारिकाहरूको सम्पादन सफलतापूर्वक गर्नुभएका उहाँ संस्कृत, हिन्दी, नेपाली र अंग्रेजी साहित्यमा रुचि राख्नुहुन्छ । अनामिका, अर्धाङ्गिनी, बधूस्नेह, धरहरा, जोया लगायतका काव्य, कविता, गीत, हाइकु, बाछिटा, मुक्तक, लघुकथा विधाका उहाँका साहित्यिक रचनाहरू प्रकाशनको प्रतीक्षामा रहेका छन् । अनेसास, गैह्र आवासीय नेपाली भाषा साहित्य समिति, नेपाली साहित्यकार विश्वसञ्जाल, साहित्यिक चौतारी, नेपाल, साहित्य वाटिका आदिका कार्यक्रममा उहाँको रचनात्मक उपस्थिति निरन्तर रहिरहेको छ । 

प्रस्तुत छ, डा. छत्रपति दाहालसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनुभएको छ ?

– आजकल म अध्ययन, लेखन तथा कृषिकार्यमा व्यस्त छु । पुस्तक प्रकाशनमा आर्थिक अभावले गर्दा आफू सक्रिय हुन सकेको छैन । केही मैले सम्पादन गरेका र नेपाली भाषामा अनुवाद गरिएका ग्रन्थहरू राष्ट्रिय अभिलेखालयबाट प्रकाशित भएका छन् । प्रायः ब्रम्हामुर्हूतको समय म लेखन र अध्ययनमा लगाउँछु ।

 साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

–  लोकहितका लागि गरिने असल परिकल्पना र तिनको रचनात्मक प्रयोग नै साहित्य हो । यसको अभिव्यक्तिको माध्यम भाषा, कला र व्यवहार जे पनि हुनसक्छ ।

जीवन प्रकृतिको सुन्दर प्रस्तुति हो । यसमा शरीर, इन्द्रिय, सत्त्व र आत्माको नित्य सम्बन्ध रहिरहेको हुन्छ । यिनको सम्बन्ध टुट्नु भनेको नै मृत्यु हो ।

जसले जीवन बुझाउँछ त्यही दर्शन हो । दर्शन नभई  जीवन बुझ्न सकिँदैन । दर्शन ज्ञानको सर्वोत्तम उपाय हो । शरीर, इन्द्रिय, मन र आत्माको नित्य सम्बन्ध कायम राख्ने उपाय दर्शनले नै सिकाएको हुन्छ ।

दर्शनले देखाउने सबभन्दा ठूलो कुरा ब्रह्म अर्थात् परमसत्ता हो । यसको पहिचान आत्माबाट शुरु हुन्छ । यसलाई जीव, आत्मा र परमात्माको तहमा अध्ययन गर्ने गरिन्छ । परमात्मा ब्रह्मबोधको चरम अवस्था हो । ब्रह्म, परमात्मा र भगवान् शब्दले आत्मा नै बुझिन्छ ।

प्रकृति आफैँमा परिपूर्ण सृष्टिको आदिकारण हो र स्वयंमा अकारण हो । प्रकृतिका सबै विकारहरू सृष्टिका नयाँ आविष्कारहरू हुन् । आदिशक्ति, आदिकारण, प्रकृति यी सबै शब्द समानार्थक हुन् । प्रकृतिको अविच्छिन्नता विश्वसृष्टि र सभ्यताका लागि मूल कारण भएकोले पृथिवी, वायुमण्डल, वातावरण, ग्रह, नक्षत्र, जीव, अजीव सबका लागि प्रकृति प्रेरक, उत्पादक, व्यञ्जक सबथोक हो ।

तपाईंलाई जाँगरिलो कवि, लेखक र पत्रकार भन्दा हुन्छ ?

–  त्यस्तो जाँगरिलो त होइन । तस्मा चरैवेति भनेजस्तै केही गरिरहनुपर्छ भन्ने मेरो मान्यता हो । प्रेम र घृणाका अन्तर्द्वन्द्वले पैदा गरेका पीडा र व्यथाहरूलाई गजलका शेरमा व्यक्त गर्दा हृदयले बढी शान्ति अनुभव गर्दो रहेछ । त्यसैले पछिल्ला दिनहरूमा म बहरमा गजल लेख्ने अभ्यास गरिरहेको छु । कवि स्रष्टा र द्रष्टा पनि हो । सामान्य वर्णन गर्दैमा कवि भइँदैन ।

म आयुर्वेदको विद्यार्थी भएकोले खास गरी आयुर्वेद विषयक लेखहरू लेख्ने गरेको छु । संस्कृतिमा रुचि भएकोले तत्सम्बन्धी लेख-रचनाहरू पनि प्रकाशित छन् । पत्रकारिता रुचाउँछु । अन्तर्वार्ताहरू सुन्ने, पढ्ने काममा शायद धेरै समय दिन्छु । पत्रकारचाहिँ म होइन ।

 साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

–  यिनले प्रकृतिसितको सामीप्य स्थापित गर्दछन् । ब्रह्मको विश्लेषण गर्न नजान्नेलाई पनि ब्रह्मानन्दको रुचि जगाउँदछन् । कुलत, कलह र अन्यथाहरूसित टाढा र सत्यको उज्यालोतिर नजिक तुल्याइदिन्छन् । यसैले साहित्य लेखन, अध्ययन, चिन्तन र मननको जति सन्तुलन कायम राख्न सकियो त्यति नै जीवनलाई उज्यालो र गतिशील पार्न सकिन्छ । जीवन जति आत्मा, परमात्मा, ब्रह्मसित चिन्तनशील रहन्छ त्यति नै ऊर्ध्वगामी हुन्छ । साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा म राम्ररी विश्वस्त रहेको छु ।

तपाईंले लेखनप्रेरणा कोबाट पाउनुभयो ?  त्यहाँको साहित्य अवस्था कस्तो छ ?

–  मलाई लेखनको प्रेरणा दिने चार महिनाको बच्चालाई टुहुरो पारेर स्वर्ग जाने मेरी आमा पहिली हुन् । त्यसपछि त्यही टुहुरोलाई औंलो चुसाउँदै जीवन सिकाउने पिता । साक्षर तुल्याइदिने दिदी र दाजुहरू । संसारको सबभन्दा अपूर्ण मान्छे भनेर घोचिरहने र घचघच्याइरहने मेरी श्रीमती । प्रेरणाका यी मूल या प्रारम्भिक जुनसुकै बीज भए पनि मेरो रचनाका जग हुन् । त्यसपछि मैले संसारमा जति जरा हाल्नसकें त्यतिसम्मका परिवेश । वाल्मीकि, व्यासदेखि कलिदास, लेखनाथ, देवकोटा, सम, रिमाल, शेक्सपियर, शेली सबै हुन् । सबैको योगदान यसमा रहेको छ । मुख्य प्रेरणा समाजमा घटित विविध परिघटनाहरू, प्रकृति, वातावरण र जीवनका भोगाइहरूबाट पाएको हुन्छु । यिनले मभित्रको ब्रह्मलाई काव्यसिर्जनाको दिशातिर अँचेट्ने र घचेट्ने गरिरहन्छन् ।

मेरो परिवेशको साहित्यिक अवस्था धर्तीमा पसिनाको रसायन चुहाएर अमृतको खेती गरी अनाज उत्पादन गर्ने किसानमा उसका भोकाएका जहानका अगाडि हुने निरीहता जस्तो हुन्छ त्यस्तै छ । खेतीको कमाइले घरबार चल्दैन । तर, फौबन्जारका घरमा कोही खेती गर्दैनन् ता पनि किसानका उत्पादन जति सबै त्यहाँ हुन्छन् । साहित्यको सिर्जना गर्नेको घर पनि त्यस्तै निरीह स्वरूपको हुन्छ । शायद यही निरीहता साहित्यको मूल दह हो । दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे । समको यो भनाइ यहाँनेरि विचारणीय छ ।

खाली समय कसरी बिताउनुहुन्छ ?

–  व्यस्त रहने अभ्यास भएको मान्छेलाई खाली समय कहाँ हुनु ? अध्ययन गर्छु । म त्यति तीक्ष्णबुद्धि भएको मानिस होइन । धेरै बेरसम्म पढिरहन्छु । यसैले अरूले जस्तो रमाइलो गर्ने समय म पाउँदिन । यो कस्तो अनौठो र भिन्न खालको मान्छे होला ? मेरा प्रियजनहरूको ममा सधैं झटारो लागिरहने आरोप यही हो । अर्थात्, समय बिताउनुपर्ने समस्याबाट म मुक्त छु ।

तपाईंलाई गजल, गीत, कविता, कथा,  नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ?  

–  प्रेम र भक्तिका भावहरू म गजलबाट व्यक्त गर्छु । गीत प्रकृति, देशभक्ति, सामाजिक विसङ्गति आदि व्यक्त गर्न सहज हुन्छन् । अभिव्यक्तिको सार्वभौम अस्तित्व कविता र कथाले लिएका हुन्छन् । कविताको विस्तार महाकाव्य, कथाको विस्तार उपन्यास र अनुभूतिको विस्तार नियात्रा हो । म यी सबै मन पराउँछु । लेख्नचाहिँ विभिन्न विधामा अलमलिन्छु ।

राम्रो लेख्न विचार चाहिन्छ । विचार राम्रो नभएसम्म राम्रो लेखन बन्दैन । यसका लागि स्वयंलाई प्रकृति, परमात्मा र परानुभूतिलाई स्वानुभूतिको रागात्मक सामीप्य दिएर विचारनिर्माणको चरणमा राखिरहनुपर्दछ । त्यसपछि भाषा र शैलीको सम्यक् प्रयोगद्वारा राम्रो रचना प्रस्तुत हुन पाउँछ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?

–  साहित्यिक पत्रकारिता असल सूचनाको साधन हो । पत्रकारितामा लोकहित र समाजकल्याण केन्द्रीय भाव भयो भने त्यो साहित्यिक पत्रकारिता हुन्छ । अहिले नेपालमा साहित्यिक पत्रकारिता कम र पीतपत्रकारिता ज्यादा छ । मानवकार्यका कुन पाटालाई खनजोत गर्ने र समाजका कुनकुन ठाउँलाई खोतल्ने हो त्यसको चरणबद्धता अनुसार पत्रकारिता अगाडि बढ्नुपर्नेमा प्रायोजित विषयवस्तुमा नेपाली पत्रकारिता रुमल्लिन पुगेको कुरामा हामी सतर्क रहनु जरुरी छ । त्यसको प्रयास नभएको होइन । भइरहेको छ । त्यसैलाई पर्याप्त जोड दिनुपर्दछ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनुहुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

– लोकहितको मूलभाव भएका साहित्यिक कृतिहरू मेरो रुचिभित्र पर्दछन् ।

अहिले परिस्थिति त्यति अनुकूल छैन । साहित्यकारले लेखेर बाँच्न सक्ने गरी हाम्रो समाजको संरचना बनाइसकेका छैनौं । खाना, नाना र छानाको पर्याप्तता पछि मात्र कला र साहित्यतिरको गन्तव्यमा मानिस लाग्दछ । हाम्रो समाज त्यति सम्पन्न भइसकेको छैन । त्यसैले साहित्यकार लेखेर बाँच्न सक्तैन । तर, स्वान्तसुखाय साहित्यकार लेखिरहेको हुन्छ । यसैले नै हाम्रो साहित्य विकसित भएको छ ।

साहित्यकारले लेखेर बाँच्न बजारमा बिक्ने गरी साहित्य लेख्नुपर्ने हुन्छ जसमा साहित्य कम र व्यापार ज्यादा हुन्छ । भावना, कला र संवेदना बजारमा बेच्न सकिने र व्यवसायमा लगानी गर्न सकिने कुरा होइनन् ।

साहित्यको मापदण्ड के हो ?

–  यसमा फरकफरक मत हुन सक्छन् । मेरो विचारमा साहित्यको मापदण्ड सुसंवेद्यता, हृदयस्पर्शी र ग्रहणीयता हो । हितकारी भावना नभएसम्म यी विशेषता जन्मिन सक्तैनन् । हृदयमा जे भाव छ त्यही भावको अभिव्यक्ति साहित्यले दिने हो ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनुभएको छ ?

–  साहित्यजस्तै राजनीति पनि जनजनको हृदयमा छाउनुपर्ने विषय हो । उदात्त भावनाको राजनीति र हितकारी भावनाको साहित्यमा हुने संवेदनशीलता उस्तैउस्तै हुन् तापनि अहिले राजनीतिको स्वरूप कुरूप भएको छ । नेपालको राजनीतिक जगत् र त्यसबाट जनजीवन अनुगृहीत भएको होला भन्न म सक्तिन । तथापि समाजको विकास राजनीतिबाट नै हुने हो । जीवनको शारीरिक सुगठन राजनीतिले र मानसिक पोषण साहित्यले गर्नुपर्दछ । यसो भयो भने राजनीतिले साहित्यको संगत र साहित्यले राजनीतिको भरथेग पाउन सक्छ । त्यो गतिशील मार्गमा नेपाली राजनीति लागिसकेको छैन ।

अहिलेको साहित्यमा विचार, युगचेतना र विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?

–  अहिलेको साहित्यमा सबभन्दा पहिले अन्तरात्मामा विश्व नै उदीयमान हुन्छ । सञ्चार, प्रविधि र यातायातले विश्व निकै समीपमा ल्याइदिएको छ । त्यसैले साहित्यमा विश्व परिवेश पहिलेभन्दा अहिले निकै उजागर भएको छ । यो शताब्दी नवीनतम ज्ञान र प्रविधिका लागि उत्कृष्ट हो । त्यसै पनि साहित्य समय र परिवेशको ललित अभिव्यक्ति हो । साहित्यका लागि युगचेतना अपरिहार्य हो । यस युगको चेतनाले प्राचीन युगको परिवेशसमेत जोड्ने र बुझ्ने गर्दछ । नेपाली साहित्य पनि यस्ता कुरामा अपवाद हुन सक्तैन ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

–  यो ज्यादै असहज प्रश्न हो । उत्कृष्ट व्यक्तिको छनोट गर्नु भनेको ज्यादै दुरूह कार्य हो । राज्य स्तरबाट प्रेरणा र पुरस्कार सहीभन्दा बढी ममतामा पर्न सक्तैनन् भन्ने स्पष्ट चित्र देखा परेको छैन । तैपनि जति पुरस्कार प्रदान गरिएका छन् तिनमा अन्यथा भावले हेर्नुहुँदैन । पर्याप्तता र पारदर्शिताको अपेक्षा गर्नुचाहिँ अन्यथा होइन । जनस्तरबाट धेरै प्रयास भएका छन् । तिनको पुरस्कारको रकम कम र प्रेरणाको पोको दह्रो छ ।

समालोचनाचाहिँ अलि सेलाएको जस्तो छ । पठनसंस्कृति भन्दा सारांशसंस्कृति बढेकोले पनि यस्तो भएको होला । प्रविधिमार्फत पनि सूचना र बोध प्राप्त गरिने हुनाले पनि यो छायामा परेको हुनसक्छ । तर, यसको मतलब समालोचना हुँदै नभएको भन्ने चाहिँ होइन । समालोचना साहित्यको उत्कृष्ट विधा हो । प्रखर पाण्डित्य नभई यो विधामा कलम चल्न सक्तैन । यसैले संख्यात्मकभन्दा गुणात्मक कसीमा यसलाई विवेचना गर्नु उपयुक्त हुन्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

–  मान्छे प्रवासी हुनसक्छ तर भाषा, भेष, संस्कृति, साहित्य र वाङ्मय आदिलाई प्रवासी मान्न सकिन्न । मुलुक छोडेर जानेहरू स्वपनलाई थप धेरै माया गर्दछन् । अध्ययन सामग्रीको अभाव, अध्ययनका लागि समयाभाव, जीवन व्यवस्थापनका लागि पराई देशको रोजगारीको बाधाजस्ता व्यवधानहरूबाट समय निकालेर साहित्यिक सृजना गर्नु चानचुने कुरा होइन । प्रवासी साहित्यको सम्बन्धमा मेरो धारणा यस्तो छ । अहिले प्रविधिले प्रवासलाई निकै नजिक तुल्याएको छ । अब त्यति व्यवधान पनि छैन । स्वदेश तथा विदेशमा समानान्तर किसिमले हामी सबैले काँधमा काँध मिलाएर नेपाली वाङ्मयको विकासमा लागिपर्नु अत्यावश्यक छ ।

भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नुभएको छ ?

–  हास्यव्यङ्ग्य लेखनमा खँदिलोपन, प्राज्ञिकता, मुलायम स्पर्श र सम्यक् बोध भैरव अर्यालमा जति छ त्यति त्यसपछिका कृतिमा भएजस्तो महसुस हुँदैन । प्रविधिमार्फत देखिने कमेडी खाले रमाइलाको व्यापकता अहिलेको अवस्था हो । केही रंगमञ्चीय र केही चलचित्रमय प्रस्तुतिहरू नभएकाचाहिँ होइनन् । यस क्षेत्रमा लागेका मनीषीहरूले यस विधाको स्तरीयता कायम गर्न अझै ध्यान दिनुपर्ने कुरा भने पक्कै हो ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नुभएको छ ?

–  साहित्य भावको संवाहक हो । साहित्यको समाज राष्ट्रिय र अन्तर्राष्ट्रिय हुँदैन । सद्भावनात्मक हुन्छ । नढाँटी भन्ने हो भने, भावना जहिले पनि मौलिक र राष्ट्रिय नै हुन्छ । यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय साहित्य समाज विश्व वाङ्मयको आदानप्रदानका लागि निकै महत्त्वपूर्ण छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन्दर्भमा पनि म यही भन्न चाहन्छु । मुलुक छोडेर रोजगारीका लागि विदेशमा रहेका नेपाली भाषीहरूले असुविधामा पनि नेपाली साहित्यको विस्तारका लागि दिएको योगदान निकै प्रशंसनीय छ ।

तपाईं कुन कति बेला कविता रच्न सक्नुहुन्छ ?  यसका लागि सिकारु कविलाई के भन्न चाहनुहुन्छ ?

–  ब्रम्हामुर्हूतमा, पैदल यात्रामा, हवाई यात्रामा र भीडलाई छल्न एकोहोरिनु परेको बेलामा म कविता रच्न सक्छु । हामीले साधना, लगनशीलता, शब्द र अर्थको ज्ञानका लागि सकेसम्म अध्ययन बढाउनुपर्छ । प्रकृति र चेतनाको सामीप्य कायम राखिरहनुपर्दछ । भाव र सम्प्रेषण शैली स्वयंमा निहित रहने कुरा हुन् ।

अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?

–  उहाँहरूको स्नेह र सद्भावका लागि कृतज्ञ छु । सकारात्मक आलोचना र टिप्पणी पाइरहूँ । सके जति सुधारिन प्रयत्न गर्नेछु ।