बुद्धविहार मार्ग विराटनगर ११ मा बसोबास गर्नुभएका डा. देवी पन्थी महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट सेवानिवृत्त हुनुहुन्छ । गजल र चारु विषयमा विद्यावारिधि गर्नुभएका साहित्यकार पन्थीका अहिलेसम्म सोह्र पुस्तक प्रकाशित छन् जसमा ‘मेची दर्पण’ र ‘जनताको अदालत’ – नाटक, ‘मनको बह’ गजलसङ्ग्रह, ‘गजल सिद्धान्त र समालोचना’, ‘गजलको परिवर्तित स्वरूप चारु’, ‘गजल और चारु (हिन्दी)’, ‘भारतीय साहित्य र संस्कृतिको एक झलक’, ‘गजल सिद्धान्त र चारु सिद्धान्त’ आदि प्रमुख रहेका छन् । उहाँ ‘चारु, राग, विराग प्रतिष्ठानका’ संस्थापक अध्यक्ष हुनुहुन्छ भने ‘भाषाशास्त्री बालकृष्ण पोख्रेल समता वाङ्मय प्रतिष्ठान’का केन्द्रीय समिति हुनुहुन्छ । विभिन्न संघसंस्थामा आबद्ध भएका पन्थी मोतीराम भट्ट स्मृति सम्मान, उत्तरप्रदेश – हिन्दी नेपाली साहित्य सेतु सम्मान तथा अन्य पुरस्कारबाट पनि सम्मानित हुनुहुन्छ । 

प्रस्तुत छ, गजलकार तथा साहित्यकार डा. देवी पन्थीसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

तपाईंको परिचय र साहित्य प्रवेश बारे छोटो जानकारी पाऊँ न ?

– म अर्घाखाँची जिल्ला हंसपुर, मालारानी गाउँपालिकामा जन्मेर त्यहीँको बाल प्रावि र सिद्धार्थ माविमा कक्षा पाँचसम्म पढेको हुँ । त्यसपछिको शिक्षा मैले भारतको आसामबाट प्राप्त गरें । स्नातकोत्तर गौहाटी विश्वविद्यालयबाट पूरा गरेको हुँ । गौहाटीमा पढ्दा दिल्लीबाट डा. बाबुराम भट्टराईको सम्पादनमा प्रकाशित ‘जनमानस’ पत्रिकामा मेरो पहिलो कविता ‘हली दाइ’ छापियो र त्यहीँबाट मेरो साहित्यलेखन यात्रा प्रारम्भ भयो । हाम्रो सम्पादनमा गौहाटीबाट ‘ज्वाला’ त्रैमासिक प्रकाशित गरेका थियौं, (म र बाबुराम खनाल) ।  त्यस्तै सुमन, मादल र हुरी ( मेघालय ), खुकुरी (मणिपुर), हाम्रो ध्वनि र विश्व जनआवाज (गौहाटी) मा मेरा रचना लगातार छापिन थालेपछि म साहित्यकार बने। हालको बसाइँ विराटनगर । सेवानिवृत्त त्रिभुवन विश्वविद्यालय महेन्द्र मोरङ क्याम्पस, विराटनगर ।

 

चारु के हो ? गजल र चारुमा के फरक छ ? विस्तारमा बताइदिनुहोस् ।

– गजलको विकल्पमा चारु संस्कृत शब्द हो । यसको अर्थ सुन्दर या मनोहर हुन्छ । चारु उभयलिङ्ग शब्द हो भने गजल स्त्रीलिङ्ग शब्द हो । गजल (ग+ ज+ अल)को अर्थ नारीसँग प्रणयका कुरा हुन्छ भने चारुको प्रयोगात्मक अर्थ पुरुषसँग नारीको प्रणय, सहमति र विमतिका कुरा हुन्छ । अझ फराकिलो अर्थमा भन्नुपर्दा बेबहरमा रचिएका भावपूर्ण गजल चारु हुन् । गजलको स्वाद र फर्म्याटमा रचिएका या बेबहर लेखिएका या बहरमा लेख्ने प्रयास गरिएका तर बहर या गजलको विषयवस्तु नमिलेका, या गजल बन्न नसकेका तर गहन भाव बोकेका शुद्द काफिया र रदीफ प्रयोग गरिएका रचनालाई सजिलोका लागि चारु भनिएको हो । बहरलाई छोडेर छन्दमा लेखिएका रचना पनि चारु हुन् । अपरिपक्वता, अज्ञानतावश या भुल भ्रान्तिले गजल शीर्षक दिएर बेबहर रचिएका रचनाको सम्मान र संरक्षण हेतु चारुको जन्म भएको हो ।

बहर र छन्दमा के फरक छ ?

– बहर शब्दको निर्धारण उच्चारणको आधारमा र छन्द गोटा अक्षरगन्तीको आधारमा निर्धारण गरिन्छ । उदाहरणका लागि ‘असल’ बहरमा अ-सल(ह्रस्व दीर्घ १२) हो भने छन्दमा अ- स- ल (ह्रस्व ह्रव ह्रस्व १११) हो । यसबाहेक बहरमा मात्रा मिलावट, मात्रा चढावट, मात्रा गिरावटका नियम पनि छन् । बहर गजलमा अनिवार्य छ तर चारुमा अनिवार्य छैन, ऐच्छिक छ । यसबाहेक
१. गजल अनिवार्य बहरमा (फारसी छन्द/लय) मा कहिन्छ भने चारु हाम्रो आफ्नै छन्दमा (संस्कृत, नेपाली, हिन्दीमा प्रयोग हुने) लयमा लेखिन्छ, पढिन्छ र गाइन्छ ।
२. गजलमा प्रयोग गरिने सबै प्राविधिक शब्द (गजल, बहर, मतला, उला, सानी, मक्ता, काफिया, रदिफ, शेर आदि) फारसी शब्द हुन् । यी शब्द नेपाली, संस्कृत, हिन्दी शब्दकोशमा छैनन् । चारु विधामा यी प्राविधिक शब्दलाई क्रमशः चारु, छन्द, प्रारम्भ, ऐना, प्रतिबिम्ब, शेष, आदि अनुप्रास, अन्त्यानुप्रास, थुङ्गा नामकरण गरिएको छ, जो नेपाली हिन्दी शब्दकोशमा उपलब्ध छन् ।
३. गजल शब्दको सम्बन्ध निशर्त सिधै प्रणय भाव र संगीतसँग छ भने चारु संगीतसँग । स्वतन्त्र या ऐच्छिक छ ।

यसको प्रचारप्रसार या व्यापकताको कति टाढा पुग्यो होला ?

– अहिलेसम्म नेपाल, भारत र अन्य देश जहाँ जहाँ नेपाली र हिन्दी भाषी पुगेका छन् त्यहाँ चारु पुगिसकेको छ । भारत र नेपालबाट करिब एक दर्जन सङ्ग्रह र विशेषाङ्क प्रकाशित भैसकेका छन् । यसका पाँच वटा विश्वव्यापी अनलाइन पाठशाला सञ्चालित छन् ।

साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?

– तपाईंले भनेजस्तै साहित्यको सम्बन्ध मानव जीवन, आत्मा, दर्शन र प्रकृतिसँग नङ र मासु जोडिएजस्तै जोडिएको छ । यिनै कुराको विविध शैलीको भिन्न भिन्न प्रस्तुति नै साहित्य हो ।

संस्कृत साहित्य, नेपाली साहित्य र अंग्रेजी साहित्यमा के फरक पाउनु हुन्छ ?

– संस्कृत साहित्य विश्वका सबै साहित्यको जननी साहित्य हो । अंग्रेजी साहित्य विश्वमा धेरै लेखिने, पढिने र बिक्री हुने साहित्य हो भने नेपाली साहित्य आयातित या यी दुवैको मिश्रण अर्थात् भावात्मक अनुवाद हो । कथा, कविता, उपन्यास, निबन्ध, गजल, मुक्तक, हाइकु, नाटक, धर्मग्रन्थ सबै विदेशमा प्रयोग भएर नेपालमा आयातित हुन् । अहिले भर्खर नेपालमा प्रयोगमा आएर हुर्किरहेका चारु, राग, विराग, खोरिया, पञ्चाङ्ग, झिल्का, बाछिटा, उदक, सन्देश आदि विशुद्ध नेपाली साहित्य हुन् । यी सबै नेपालको झण्डा बोकेर अन्य भाषाका मुलुकमा निर्यात भैराखेका छन् । यसले विश्व साहित्य मञ्चमा नेपाली साहित्यकार पनि साहित्यमा नयाँ नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने कुरालाई प्रमाणित गरेर देखाएको छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– तपाईंको भनाइ शतप्रतिशत सही हो । अध्ययन, चिन्तन र मनन बिना साहित्य लेख्नु भनेको आकाशमा घोडा
दगुराउनु बराबर हो । हरेक विधाको सिद्धान्त छ, त्यसलाई पालना गरेर विशुद्ध साहित्य सिर्जना गर्नुपर्छ । अन्यथा साहित्य कागजी घोडा बन्दछ।

यो विधाको सिद्धान्त भनेको के हो ?

– महत्त्वपूर्ण प्रश्न ! हरेक विधाको सिद्धान्त र सीमा छ । यिनै सिद्धान्त र सीमाले साहित्यलाई पूर्ण, पुष्ट, स्वादिलो र कालजयी बनाउँछन् । कवितामा छन्द, गजलमा बहर, मुक्तक, चारु, खोरिया, पञ्चाङ्ग, टुक्कामा अक्षर बराबर निबन्धमा शब्द खेलाउने कला या क्षमता । यी निम्नतम सिद्धान्त र सीमा हुन् । कुन तरकारीमा के मसला हाल्दा स्वादिष्ट हुन्छ भने झैँ हरेक विधाका केही न केही सिद्धान्त र सीमा छन् । यिनको अभावमा सिर्जना अपूरो र क्षणिक हुन्छ ।

साहित्य जीवनको यात्रामा निरन्तर दगुरिरहनु भएको छ ! के थकाइ लाग्दैन तपाईंलाई ? किन ?

– हो, म विगत केही वर्षदेखि दिनको पन्ध्र सोह्र घण्टा साहित्यमा खटिरहेको छु । एउटा उद्देश्य लिएर अगाडि बढेपछि त्यो पूर्ण नहोउन्जेल विश्राम भन्ने कुरै आउँदो रहेनछ । मेहनत गरेअनुसार फल पनि प्राप्त भैरहेको छ । अब सजिलो बन्दै गइरहेको छ ।
पाठशाला संचालन  भूमिका लेखन, सम्पादन, प्रश्नोत्तर, बहस, समालोचना लेखन, रेडियो, टिभी, पत्रपत्रिकामा अन्तर्वार्ता, कार्यक्रममा उपस्थिति यी सबै अनिवार्य कुराले व्यस्त बनाइरहेका छन् ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– कहिल्यै खाली समय नै हुँदैन । काम फत्ते गर्न सधैं हम्मेहम्मे पर्छ ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा, समालोचना र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?

– मलाई मन पर्ने विधा कथा र समालोचना हो, किनकि कथा समाजको ऐना हो भने समालोचना मस्तिष्कको खुराक हो ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– २०४६ देखि २०६० सम्म साहित्यिक पत्रकारिताले निकै विकास गरेको थियो । अहिले यो दयनीय अवस्थामा छ ।
सामाजिक सञ्जालले साहित्य पठन संस्कृतिलाई खर्लप्पै निलेको छ भने पत्रकारितालाई राजनीति, विदेशी हस्तक्षेप, भ्रष्ट समूह र माफियाले हातखुट्टा बाँधेर राखेका छन् ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– मलाई भुइँमान्छे माथि लेखिएको विद्रोही साहित्य मन पर्छ । अरू तन्त्रमा जस्तै लोकतन्त्रमा पनि लेखकको लेखेर बाँच्ने सम्भावना टरेको छ । सम्भावना छैन ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनुभएको छ ?

– नेपालको राजनीति नेपाली जनता र नेताको हातमा छैन । यो विदेशीको नियन्त्रणमा गैसकेको छ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– दयनीय छ । पुरस्कारलाई खेलौना, मजाक, अपवित्र, विचारप्रधान, परिवारप्रधान र घिनलाग्दो साटासाटको विषय बनाइएको छ । यसले असल, इमानदार र निष्पक्ष साहित्यकारलाई निराश, हताश र निरीह बनाएको छ ।

अहिले कुन पुस्तक लेखन तथा अध्ययनमा व्यस्त हुनु हुन्छ ? व्यङ्ग्य किन लेख्नु हुन्छ ?

– अहिले नेपाली, हिन्दी अंग्रेजी गजल र चारुसङ्ग्रहको तयारीमा लागेको छु । व्यङ्ग्यमा स्तुति र प्रशस्ति हुँदैन । समाज र देशका विकृति, विसङ्गति र बेथिति माथि तीव्र प्रहार गरिएको हुन्छ । त्यसैले व्यङ्ग्य मन पर्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– स्वदेशी साहित्यको तुलनामा डायस्पोरिक साहित्य यथार्थ, निष्पक्ष र रङ्गहीन छ । यसले नेपाली भाषा र संस्कृतिको जगेर्ना , विश्वव्यापी प्रचारप्रसार गरिरहेको छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य र गुरुप्रसाद मैनाली पछिको कथा लेखनलाई यहाँले कसरी हेर्नुभएको छ ?

– भैरव अर्याल र गुरुप्रसाद मैनालीको ठाउँमा अझै कोही आइपुगेका छैनन् । अझै धेरै वर्ष सम्भावना छैन पनि । अहिलेका लेखकमा स्थिरता, परिपक्वता, प्रगति र विकास शून्य प्राय: छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नुभएको छ ? यहाँ अनेसासको आजीवन सदस्य पनि हुनु हुन्छ ?

– अनेसास नेपाल बाहिरका देशहरूमा हुँदा ठीक थियो । प्रवासी नेपाली साहित्यकारको मुटुको ढुकढुकी थियो । जब यो नेपाल पस्यो तब नेपालका तथाकथित फोहोरी साहित्यकारले यसलाई राजनीतिक रङ्ग हालेर बरबाद पारे । म यसको आजीवन सदस्य छु तर भोट खसाल्न दिँदैनन् ।

तपाईं साहित्यको विविध विधामा लेख्नु हुन्छ हो ? तपाईंको लेखनमा अन्य साहित्यकारमा भन्दा के फरक पाउनु हुन्छ ?

– साहित्यलाई सुनजस्तै तुलामा तौलिन त मिल्दैन । तर अरूभन्दा फरक धारमा नहिँड्ने मान्छेको कुनै परिचय हुँदैन । ऊ विलय हुन्छ । म पुरस्कार र सम्मानका लागि लेख्दिनँ, यथार्थ लेख्छु ।

तपाईंको आफ्नै मन परेको पुस्तक कुन हो ? किन ?

– गजलको परिवर्तित स्वरूप चारु (२०७५) यसले गजलको दुनियाँ हल्लायो र गजल शुद्धीकरण अभियानको टर्चलाइट बन्दै आइरहेको छ ।

साहित्य कत्तिको सजिलो छ ? तपाईंले धेरैलाई पढाएर कवि, गजलकार, चारुकार तथा साहित्यकार बनाउनु भएको छ ! साहित्य पढ्न तथा लेख्न चाहनेलाई के भन्न चाहनु हुन्छ ?

– साहित्य संस्कृति र सभ्यताको दस्ताबेज हो । त्यसले यो अनुशासित र गम्भीर छ । साहित्य लेख्ने र पढ्ने दुवै साहित्य विधाका सिद्धान्तमा निपुण हुनुपर्छ । लेख्ने र पढ्ने दुवै दिमाग दक्ष हुनुपर्छ । साहित्य लेखनलाई ठट्टा र मजाकको विषय बनाउनु हुँदैन ।

म तपाईंलाई द्रोणाचार्य गुरु जस्तो देख्छु, तपाईं साहित्यमा गुरु द्रोण हुने विचारमा हुनु हुन्छ ?

– यो प्रश्नको उत्तर मैले होइन, समयले दिने छ । खेलमा जस्तै साहित्यमा पनि अनुशासन र नियम हुन्छ । त्यसलाई कडाइका साथ लागू गर्नु गराउनु हाम्रो कर्तव्य हो । रेखा बाहिर खेलिएको भलिबल, फुटबल, लुडो, … आदि खेलको कुनै अर्थ नभएजस्तै उदाहरणका लागि बहर बिना गजलको कुनै जीवन छैन । यही हो मेरो सिद्धान्त ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– मेरो विचारमा जो कोहीलाई सजिलै असल पाठकको दर्जा दिनु हुँदैन । लेखक र पाठक दुवै विधागत सिद्धान्तको जानकार हुनुपर्छ । गजल र कविताको पाठकले बहर र छन्द जानेको हुनुपर्छ । राम्रो या नराम्रो छुट्याउने आधार के ? चारुलाई गजल र गीतलाई गजल ठान्ने पाठक यथार्थमा पाठक होइन, बाधक र घातक हुन्छ । बहर नजान्ने र छन्द नजान्नेलाई गजल र कविताको निर्णायक बनाएर के अर्थ ? माछा माछा … भ्यागुता ! हुन्छ ।
अस्तु !