अमेरिकाको क्यालिफोर्निया निवासी, साहित्यकार, गीतकार राम लामा अविनाशी व्यवसाय तथा सामाजिक सेवाका विविध कार्यमा सक्रिय हुनुहुन्छ । उहाँले २५ सय अमेरिकी डलरको साहित्यिक पुरस्कार स्थापना गर्नुका साथै लसएन्जलसमा निर्माण गरिएको भगवान् बुद्ध र पशुपति मन्दिरका लागि ७० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो । स्रष्टा लामाका ‘पिल्सिएको परदेशीमन र सुगन्धित माटो’लगायतका कृति प्रकाशित छन् । हालै उहाँ भारतका पूर्व राष्ट्रपति डा. एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित हुनुहुन्छ ।

प्रस्तुत छ, उनै समाजसेवी तथा साहित्यकार राम लामा अविनाशीसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश; 

तपाईंले हालै भारतका पूर्व राष्ट्रपति डा. एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय अवार्ड पाउनुभयो । यसको बारेमा केही बताइदिनुहोस् न ?

भारतका पूर्व राष्ट्रपति डा. एपिजे अब्दुल कलामका नाउँमा धेरै विधाका लागि अवार्डहरू वर्षे नै दिइँदै आइएको रहेछ । यसको व्यवस्थापन गर्नका लागि एपिजे अब्दुल कलाम फाउन्डेसन स्थापना गरिएको रहेछ । यही फाउन्डेसनमा हामी जस्ता व्यक्तिहरूको खोजी गर्ने एक समूहले खोजी गरेका मध्येबाट बायोडाटा मागिएको रहेछ । मसँग पनि मागिएको थियो । मसँग समाज सेवा गरेको विवरणसमेत  मागिएको थियो । तीमध्ये उपयुक्त व्यक्तिहरूलाई छानेर अवार्ड दिइएको रहेछ ।

यस पटक यस्तो अवार्ड कति जनाले पाउनु भएको हो र तपाईंलाई कुन विधामा दिइएको हो ?

विभिन्न देशबाट विभिन्न क्षेत्रमा समाजलाई योगदान गर्ने १२ जना व्यक्तिहरूलाई यो अवार्ड दिइएको थियो । मलाई चाहिँ Social and Cultural activist का रूपमा समाजलाई गरेको उल्लेखनीय योगदानको कदर स्वरूप दिइएको हो भने अन्यलाई अरू छुट्टाछुट्टै विधामा दिइएको थियो ।

समाजलाई तपाईंले के त्यस्तो योगदान गर्नुभएको थियो र छानिन पुग्नुभयो ?

– अमेरिकाको लसएन्जलसमा हिन्दु तथा बुद्ध मन्दिर बनाउन चर्च किन्दा दोस्रो ठुलो चन्दादाता बनेको र ऋण लिँदा ग्यारेन्टी पनि बनेको ।

– नेपालमा प्रलयकारी महाभूकम्प आएको बेलामा प्रधानमन्त्री राहत कोषलाई उल्लेख्य रकम अमेरिकास्थित नेपाली राजदूतावासमार्फत पठाएको, व्यक्तिगत रूपमा पनि टेन्टलगायत अन्य राहत सामाग्री पठाई वितरण गर्न लगाएको ।

– नेपालका केही विद्यालयहरूमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेको ।

– डायस्पोराबाट दिइने नेपाली साहित्यको सबैभन्दा ठुलो पुरस्कारको स्थापना गरेको ।

– नेपालको अर्थतन्त्रमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्ने विषयवस्तुलाई विभिन्न लेख रचनाका माध्यमबाट स्पष्ट पारी सचेतनामूलक भूमिका खेलेको ।

– एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेपाली भाषा तथा साहित्य, नागरिकता निरन्तरता, र आर्थिक व्यवस्थापन समितिमा रही कार्य गरेको ।

– एन आर एन भवन बनाउन उल्लेख्य सहयोग गरेको । (इँटाको साइजमा मेरो नाम लेखिनेछ भन्नुभएको थियो तत्कालीन एन आर एनका अध्यक्ष शेष घले दाइले । के गरिएको छ थाहा छैन)।

– बेलाबखतमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू विपत्तिमा पर्दा सहयोग गर्दै आएको ।

– क्लेरमन्ट युनिभर्सिटी, लस एन्जलससँग सहकार्य गरी आफ्नो संयोजकत्वमा बुद्ध जयन्ती मनाउँदै आएर अमेरिकाका विद्वत्त वर्गमा भगवान बुद्धका बारेमा आकर्षण बढाउने कोसिस गरेको ।

– अस्ट्रेलियाको ओलुङ्गनको हिन्दु मन्दिर बनाउँदा एक ट्रक इँटा दान गरेको,

– नेपाली समुदायमा पर्न आउने प्रायः आपत् बिपतमा सहयोग गरेको ।

– मलेसियामा नेपाल एयरलाइन्सको सेवा सञ्चालन गर्न र नेपाल राजदूतावास राख्न विशेष पहल गरेर सफल पनि भएको । (यसबारे नेपाल टेलिभिजनले मसँग अन्तर्वार्ता बनाएर प्रसारण गरेको छ) ।

– नेपाली भाषा जोगाउन कटिबद्ध संस्था मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालको संरक्षक सदस्य रहेको ।

– नेपाली संस्कृति बचाउन कटिबद्ध संस्था पशुपति तथा बुद्ध फाउन्डेसनको संरक्षक सदस्य रहेको ।

– नेपाली साहित्यमा कटिबद्ध संस्था अनेसासको आदिमा संरक्षक सदस्य रहेको आदि जस्ता कार्यहरूको विवरण बुझाएको थिएँ । हुनसक्छ यिनै आधारहरू मलाई छान्न पर्याप्त भए होलान् ।

अमेरिकामा तपाईंले भन्दा धेरै समाजप्रति योगदान गर्ने व्यक्तिहरू पनि हुनुहुन्छ । तपाईंले नै यो अवार्ड कसरी पाउनु भयो त  ?

यस प्रश्नको जबाफ मैलेभन्दा एपिजे अब्दुल कलाम फाउन्डेसनका निर्णायकले दिने जबाफ बढी प्रभावकारी हुने थियो । तैपनि मलाई सोधिहाल्नुभयो यहाँ मेरो जबाफ नभई मेरो बुझाइ राख्न सक्छु । अमेरिकामा एक दुई वटा क्षेत्रमा मभन्दा बढी योगदान गर्नेहरू धेरै हुनुहुन्छ तर मैले जति धेरै क्षेत्र र धेरै देशहरूमा योगदान गरेका व्यक्ति त्यति बेला नभेटिनु भएकाले म छानिएको होला भन्ने मेरो बुझाइ हो । भविष्यमा भेटिनुभयो भने उहाँहरूले पनि अर्को पटक यस्तो अवार्ड पाउनु हुनेछ भन्ने लाग्छ मलाई ।

यो अवार्ड पाउँदा तपाईंलाई कस्तो अनुभूति भयो ?

दुई तीन चरणको पत्राचारसम्म खासै केही जस्तो लागेको थिएन । जब तपाईंको समाजप्रतिको देन सराहनीय लाग्यो । हामी तपाईंलाई अवार्ड दिन चाहन्छौँ । कृपया यो मिति र स्थानमा आएर अवार्ड ग्रहण गरिदिनुहुन अनुरोध गर्दछौँ भनी निम्ता पाएपछि चाहिँ खुसी लागेको थियो तर भारत न हो ! भन्ने आशङ्काको एक टुक्रा मनभित्र थियो । तर निवेदन शुल्क, प्रवेश शुल्क केही पनि नभएको उल्टै बस्न खाने सबै संस्थाले नै बेहोर्ने भनेको हुँदा कहीँ कतै आशङ्का गर्ने ठाउँ भने थिएन । तैपनि क्यालिफोर्नियाका क्लेयरमन्ट युनिभर्सिटीका प्रोफेसर डा. दीपक सिम्खडासँग यो कुरा भनेँ । मैले प्राप्त गरेको निमन्त्रणा पत्र पनि पठाएँ । उहाँले यो धेरै प्रतिष्ठित पुरस्कार हो, जानुस्, तपाईंलाई हार्दिक बधाई छ भन्नुभयो । त्यसपछि झन् बढी खुसी भएँ ।

भारत पुगेपछि त्यहाँको कार्यक्रम हलबाहिरबाटै ब्यान्ड बाजा बजाउँदै रातो कार्पेटमा हिँडाएर हलभित्र लगियो । त्यत्रो ठुलो हलमा खचाखच सहभागीहरू भरिएको देख्दा छाती नै ढक्क फुलेर आयो । नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा र भारतको वेस्ट बङ्गालका मन्त्री अरूप रोयको उपस्थितिमा सुन्दर अवार्ड ग्रहण गर्न पाउँदा आफू भाग्यमानी भएको महसुस भयो । यो खुसी एकातिर छ भने त्यो भव्य समारोहका सहभागी विशिष्ट व्यक्तिहरूसँगको सम्पर्क मेरा लागि महत्त्वपूर्ण रह्यो । अझ भनौँ विभिन्न देश र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्षम र सफल पुरस्कृत व्यक्तिहरूसँग बनेको आत्मीयताले झनै बढी खुसी बनाएको छ । यो समूहको कुनै दिन अर्को एकमुष्ट फड्को मार्ने भावना पैदा गर्न सक्छ । यो समूहलाई दही मथेर निकालेको नौनी घिउकै रूपमा लिएको छु मैले ।

तपाईंले यो अवार्ड पाएपछि नेपाल सरकारको केही प्रतिक्रिया रह्यो ?

हालै कतार सरकारले नेपालका आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई दिएको त्यत्रो ठुलो अवार्डप्रति त नेपाल सरकारले कुनै चासो देखाएन भने मेरो त के कुरा भो र । मलाई कुनै गुनासो छैन । यसै पनि सेवामा रमाउने मान्छेले त्यसको रिटर्नको आशा गर्दैन । हामीसँगै अवार्ड पाएका भुटानी नागरिकलाई भुटान सरकारले यति ठुलो अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा सम्मान गरेछ, तीन वटा मन्त्रालयले छुट्टाछुट्टै रात्रीभोजको आयोजना गरे रे । राष्ट्रिय समाचारदाताहरूले त्यो समाचारलाई प्राथमिकता दिएछन् ।

हुन त, मेरो पनि भारतबाट सञ्चालित अनलाइन टेलिभिजन ग्लोबल गोर्खा टाइम्स र एनभिआई न्युजले अन्तर्वार्ता बनाएर प्रसारण गरिएको थियो । अमेरिका र नेपालका धेरै नै पत्रिकाहरूले समाचार प्रकाशन गरेका थिए । ती सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । भारतका लागि नेपाली महामहिम राजदूत डा. शङ्कर शर्माले तपाईंले यो पुरस्कार पाउनु भएकोमा खुसी लाग्यो । बधाई छ भन्नुभयो ।

समाज सेवा गरेबापत यति ठुलो अवार्डले सम्मानित हुनुभयो । तपाईं त नेपाली साहित्यमा पनि छोटो समयमा धेरै प्रगति गरेको व्यक्ति यो क्षेत्रबाट केही अवार्डहरू पाउनुभएको छ ?

हजुर छ ।  हालै रारा म्युजिक इन्टरनेसनल अवार्डले मेरो एउटा गीत “म तिम्रो परदेशीलाई“ बेस्ट लिरिसिस्ट अवार्ड दिएको थियो । द स्काई मुभिज, नेपालले मेरो “आफु गयौ नेटो काटी“ गीतका कुशल गीतकारको रूपमा प्रशंसा पत्रले सम्मान गरेको थियो । हिमालयन इन्टरनेसनल म्युजिक अवार्डले मेरो “आफ्नो बन्न नसकेको“ गीतमा बेस्ट लिरिसिस्ट अवार्ड दिएको छ । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, भारतको खर्साङ्ग टेलिभिजन, देहरदुनको घामछाया टेलिभिजनलगायत भारत तथा नेपालका रेडियोहरूमा गीत घन्किरहेको सुन्दा अवार्डभन्दा कम लाग्दो रहेनछ । वरिष्ठ समालोचक युवराज मैनाली सरले हालै प्रकाशित “दृष्टि र दृष्टिकोण“ समालोचना सङ्ग्रहमा उहाँले नै गर्नुभएको मेरो पुस्तक “पिल्सिएको परदेशी मन“ को समालोचना पनि समावेश गरिदिनु भएछ । ज्यादै खुसी लाग्यो । यो पनि मलाई एउटा पुरस्कारजस्तै लागेको छ । मेरा दुइटा कविता सङ्ग्रह नेपालका करिब एक सय वटा र भारतको वेस्ट बङ्गालका करिब एक सय वटा पुस्तकालयहरूमा राखिएको छ । यो अर्को खुसीको कुरा हो मेरा लागि । यी सबैसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

तपाईंले लेखन प्रेरणा कोबाट पाउनुभयो ?

परदेशको माहौल मेरो लेखनीको प्रेरणा हो । आफ्नो जन्मभूमि छोडेर हिँडेपछि कहिले आफ्ना दुख कष्ट, कहिले घर देशको सम्झना, कहिले आफन्त, साथीभाइको नियाँस्रा र आफ्नैजस्ता लाग्ने अरू परदेशीका कथा-व्यथा आदिले मन पलाए, आँखा रसाए अनि हात सगसगाए र कहिले कविता, कहिले कथा त कहिले गीत कोरिए । त्यति मात्र कहाँ हो र परदेशका विकसित सहर र यहाँका कुशल राजनेताहरूको विगत र वर्तमानका सफलताका कथाहरू घर-देशका अक्षम नेताहरूसँग तुलना गर्दा लेखहरू लेख्न हात सलबलाए । यसरी म साहित्यकार बनेको हुँ । म नेपालबाट बिदेसिँदा साहित्यकार थिइनँ र म साहित्यको विद्यार्थी पनि थिइन । मलाई लेखनका लागि सदैव प्रेरित र प्रोत्साहित गरिरहने तथा अव्यवस्थित लेख रचनाहरूलाई पुस्तकको रूप दिनुपर्छ भनी मलाई घचघच्याइरहने त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल सरप्रति आभारी छु ।

राम्रो लेख्नका लागि के गर्नुपर्छ ?

राम्रो लेख्नका लागि अध्ययन र साधना अपरिहार्य छ जस्तो लाग्छ मलाई ।

तपाईं साहित्य, जीवन, दर्शन र प्रकृतिलाई कसरी हेर्नु हुन्छ ?

प्रकृतिमा जीवन जन्मिने, हुर्किने र सलबलाउने हो । जुन सलबलाइले उपयुक्त लागेको दर्शन ग्रहण गर्छ । यही सलबलाइको अनुभूतिको प्रस्तुति हो साहित्य । त्यही गहिरो अनुभूतिबाट नयाँ दर्शनको उत्पत्ति हुन पनि सक्छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलन नै मानिसलाई उचाइमा पुर्याउँछ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

शतप्रतिशत विश्वास गर्छु । साहित्य लेखन, अध्ययन, चिन्तन र मननमध्ये कुनै एकको कमी भएमा साहित्यिक व्यक्तित्व उचाइमा पुग्न सक्दैन भन्ने लाग्छ मलाई ।