न कुनै झण्डा छ
न त हावामा फर्फराउने राष्ट्रको गर्व,
नारा पनि छैन
जो कान चर्काउँदै भिड जम्मा गर्छ ।
छ केवल नाङ्गा पाइला,
धुलोले चुमेका तलुवा,
शान्ति अनि आत्मसँगै उठ्ने
शान्तिको अनन्त मौन मन्त्र ।
हामीले इतिहास देखेका र लेखेका थुप्रै
युद्धहरू घोडाको टापमा आक्रमणका धुवाँहरू उडाउँथे,
साम्राज्यहरू तरबारको धारमा उभिन्थे ।
तर यो यात्रा
न त घोडाको टापमा छ,
न त सिंहासनको चक्रमा उभिएको छ ।
यो त बुद्धले बोधिवृक्षमुनि
आफ्नै मनसँग लडेको
त्यही क्षणको निरन्तरता हो ।
काषाय वस्त्रभित्र
हिँडिरहेको छ
हजारौँ वर्ष पुरानो तिब्बती हिमाल,
जहाँ हिउँले पनि
करुणाको ताप बोकेको हुन्छ ।
यी भिक्षुहरू
धर्मको बजार लगाउन निस्केका होइनन्,
न त आत्माको ठेक्का लिन ।
न त पद,पैसा र पावरको लोभमा
निस्किएका हुन् !
उनीहरू त
मनभित्रको युद्धविराम भित्र बुद्धको ज्ञानको ज्योतिको उज्यालो
सडक, सडकमा बाँड्दै हिँडेका छन् ।
र उनीहरूसँगै
एक कुकुर,
न त बौद्ध, न त हिन्दु,
न त क्रिश्चियन ।
नाम मात्र छ !
आलोकको अनन्त उज्यालो उनीभित्र बलेको बुद्धको ज्ञानको उज्यालो ।
ऊ कुनै ग्रन्थ पढ्दैन,
तर ऊ जीवन बुझ्छ।
ऊ कुनै ध्यान विधि जान्दैन,
तर ऊ क्षणमा बाँच्छ।
जब भिक्षुको पाइला थाक्छ,
आलोकाको पुच्छर
हल्लिएर भन्छ
“अझै उज्यालो बाँकी छ ।”
यो कुकुर
मानव सभ्यताको सबैभन्दा पुरानो मित्र,
जसले कहिल्यै युद्ध घोषणा गरेन,
तर हरेक युद्धमा
मानिसको छाया बनिरह्यो ।
अमेरिकाको राजमार्गमा
आज इतिहास हिँडिरहेको छ
कुनै संविधान बोकेर होइन,
कुनै शस्त्र बिना,
केवल सचेतनाको भरोसामा ।
जहाँ चर्चको घण्टी
मस्जिदको अजानसँग
भिडिरहेको छ,
जहाँ राजनीति
मानिसभन्दा ठूलो देवता बनेको छ
त्यहीँ
यी भिक्षुहरू मौन छन् ।
मौन
तर कमजोर होइनन् ।
किनकि मौन नै
बुद्धको अन्तिम वाक्य थियो,
दलाईलामाको सबैभन्दा गहिरो शिक्षा,
र तिब्बती निर्वासनको
अटुट प्रतिरोध ।
एक भिक्षुले खुट्टा गुमाउँछ,
तर यात्रा गुम्दैन ।
किनकि यो यात्रा
शरीरको होइन,
चेतनाको हो ।
यो यात्रा
राज्यबाट सुरु हुँदैन,
यो त
एक व्यक्तिको सासबाट सुरु हुन्छ ।
एक पाइला
जहाँ अहंकार छुट्छ ।
एक सास
जहाँ क्रोध गल्छ ।
एक मन
जहाँ करुणा जन्मिन्छ ।
र जब वासिङ्टन डी.सी. पुगेर
उनीहरूले संसद्को ढोका ढकढक्याउँछन्,
त्यो ढकढक्याहट
कुनै मागको आवाज होइन
त्यो त इतिहासलाई सम्झाउने
एक नम्र स्मृति हुनेछ
कि संसार
बजेटले होइन,
बमले होइन,
मनले बचाइन्छ।
यदि बुद्धको जन्मदिन
बिदा बन्यो भने
त्यो केवल क्यालेन्डरको परिवर्तन होइन,
त्यो त
मानिसलाई एक दिन
आफ्नै मनतिर फर्कन दिइने
सरकारी अनुमति हुनेछ ।
यो यात्रा
यहाँ समाप्त हुँदैन ।
किनकि जहाँ, जहाँ
कुनै थाकेको आत्मा
आलोकाको आँखामा
आफ्नो उज्यालो देख्छ
त्यहीँबाट
फेरि एउटा शान्ति यात्रा सुरु हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










