काठमाडौँ । विगत एक दशकदेखि प्रतीक्षारत ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ काठमाडौँमा सुरु भएको छ । नइ एकेडेमीको आयोजनामा सुरु भएको त्रिदिवसीय सम्मेलन आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको हो ।
सम्मेलनका प्रमुख अतिथि समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीकचिह्न तथा सम्बन्धित कृतिहरू प्रदान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । नेपाली भाषासाहित्यमा २०३१ सालमै विद्यावारिधि गर्ने प्रथम विद्वानका रूपमा परिचित त्रिपाठीकै प्राज्ञिक नेतृत्वमा सम्मेलन आयोजना गरिएको हो ।
नेपाल र भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्नुभएकाे प्राध्यापकहरूको सहभागिता रहेको यस सम्मेलनले भाषासाहित्यको विकास, विस्तार तथा उच्च शिक्षामा देखिएका विविध चुनौती र अनिर्णीत सवालहरूबारे गहन छलफल गर्ने लक्ष्य लिएको छ ।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईले नेपाली भाषासाहित्यको अध्ययन–अनुसन्धानमा अझै बाँकी रहेका पक्षहरू र उच्च शिक्षामा देखिएका जटिलताहरूको समाधान खोज्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनमा भारतका १३ तथा नेपालका ६ विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने कार्यक्रम रहेको छ । पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयका शैक्षिक गतिविधि र अनुभवबारे विचार प्रस्तुत गर्नुभएकाे थियाे ।
इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सम्मेलनको उद्घाटन सत्रमा प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. दयाराम श्रेष्ठ, प्रा. डा. दिवाकर प्रधान, प्रा. डा. कविता लामा, सल्लाहकार प्रा. केशव सुवेदी, सम्मेलन संयोजक प्रा. डा. महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायत नेपाल र भारतका प्राज्ञहरूले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










