पद्मकन्या कलेज नेपाली विभाग प्रमुख समेत रहेकी डा. अम्बिका अर्यालको पर्यावरणीय चेतना र नेपाली साहित्य (२०८२) समालोचना कृति प्रकाशित भएको छ । यो नेपाली साहित्य र समालोचनाको क्षेत्रमा आजकल निकै चर्चामा रहेको पर्या साहित्य र समालोचनाको क्षेत्रको एक निकै महत्त्वपूर्ण कृति हो । नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अर्याल नेपाली भाषा साहित्यमा निकै अघिदेखि सक्रिय छिन् ।
पर्यावरणीय साहित्यलाई बुझ्नका लागि हामीले पर्यावरणलाई बुझ्नु पर्दछ । पर्यावरणलाई सजिलो भाषामा परिवेश, वातावरण आदि शब्दद्वारा बुझ्न सकिन्छ । हाम्रो वरिपरि भएका रुख–पात, नदी–खोला खहरे, पहाडा, जङ्गली अथवा पाल्तु जीव, घर, पसल, कल कारखाना आदि आदि सबैलाई एकैसाथ भन्दा परिवेश भनिन्छ । पर्यावरणलाई ठूलो परिधिभित्र आबद्ध भएको पाइन्छ । यसले भूमण्डल, जलमण्डल, वायुमण्डल आदि सबैको परिवेशलाई एकैसाथ समेटेको हुन्छ । पर्यावरणभन्दा पहिला त प्राकृतिक परिवेशलाई नै बुझिन्छ । तर प्राकृतिक परिवेशमा आफ्नो प्रभाव छोडेर त्यसलाई दूषित पारी पृथ्वीको सन्तुलन विनष्ट गर्ने मानव सृष्टि साधनहरूलाई पनि परिवेशका अङ्ग भनिएको छ । यसै कुरालाई यस पुस्तकले स्पष्ट पारेको छ ।
सैद्धान्तिक समालोचनाको रूपमा प्रकाशित पर्यावरणीय चेतना र नेपाली साहित्य पुस्तक पाँच परिच्छेदमा विभाजित गरिएको छ । अनुसन्धानको ढाँचामा अध्ययन गरी त्यसको निष्कर्ष अथवा निचोडसम्म प्रस्तुत गरिएको यस पुस्तकको पहिलो परिच्छेदमा पर्यावरण सिद्धान्तको चर्चा गरिएको छ जसमा पृष्ठभूमि, पर्यावरणीय चेतनाको परिचय, सैद्धान्तिक पृष्ठभूमि र विकास, पर्यावरणीय समालोचनाका लहर, पहिलो लहर (सन् १९८०–९० को दशक), दोस्रो लहर (सन् १९९०–२००० को दशक), तेस्रो लहर (२००० को दशकपछि हालसम्म), पर्यावरणीय सिद्धान्तका विशेषता तथा मूल अवधारणा अन्तरविषयकता, मानवकेन्द्रित दृष्टिकोणको आलोचना, प्रकृतिको साहित्यिक चित्रणको विश्लेषण, वातावरणीय न्याय र सामाजिक असमानता, भाषा र प्रतीकको भूमिका, सांस्कृतिक दृष्टिकोणहरूको समावेशीकरण, प्रकृतिको सक्रियता, आधुनिक पर्यावरणीय सङ्कटको समावेशीकरण, परिवर्तन र सक्रियताको सन्देश, प्रविधि र वातावरणको सम्बन्ध, प्रकृति र मानव इतिहासको अन्तरसम्बन्ध, प्राकृतिक चिन्तन र दर्शनसँग सम्बन्ध जस्ता विषयमा समालोचकीय अवधारणा प्रस्तुत गरिएको छ । माथिका विषय विशद् अध्ययन गरी यसको निष्कर्षलाई पुस्तकमा यसरी प्रस्तुत गरी सारसङ्क्षेप खिचिएको देखिन्छ:
पर्या समालोचनाले साहित्य समालोचनाका क्षेत्रमा नवीन विषयको खोजी गरी परम्पराभन्दा भिन्न प्रकृतिकेन्द्री दृष्टिकोण प्रदान गरेको छ । पर्यावरणीय समस्यासँग मानवसभ्यताको अस्तित्व जोडिएकाले यसले मान्छेलाई त्यसतर्फ सचेत बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको छ । आधुनिक युगमा मान्छेले विकास गरेका विज्ञान र प्रविधिका कारण जोखिममा परेको पर्यावरणका समस्यालाई यसले साहित्यमार्फत उजागर गरेको छ । यस्ता प्रवृत्तिहरू नेपाली साहित्यमा कसरी आएका छन् भन्ने अध्ययनका लागि पर्यावरणीय चेतनालाई सैद्धान्तिक आधार मानी नेपाली साहित्यका विभिन्न विधाका चयनित कृतिको निगमनात्मक विधिका आधारमा विश्लेषणपश्चात् निष्कर्षमा पुगिएको छ । यसका लागि आधुनिकीकरणसँगै मानिसले गरेका विकास, त्यसले गरेको प्राकृतिक दोहन र त्यसप्रतिको असन्तुष्टि, प्रकृति र मानवबिचको सुमधुर सम्बन्धको आग्रह, मानवकेन्द्रित सोचको आलोचना, विकास र पर्यावरणीय सन्तुलनको द्वन्द्व, प्राकृतिक सम्पदाको संरक्षणप्रत्तिको सङ्कल्प, पर्यावरण संरक्षणमा सामूहिक चेतना र जिम्मेवारी, सबै प्राणीको समान अस्तित्वप्रतिको चेतना तथा पारिस्थितिक प्रणालीको सङ्कट र संरक्षणप्रतिको आग्रह आदि पर्यावरणीय चेतनालाई विश्लेषणको ढाँचा मानी विभिन्न उपशीर्षकमा तथ्यको विश्लेषणबाट निष्कर्षको निरूपण गरिएको छ (पृ.१९) ।
यसैगरी यस कृतिको दोस्रो परिच्छेदमा नेपाली साहित्यमा प्रयुक्त पर्यावरणीय चेतको उठान गर्दै नेपाली आख्यानमा पर्यावरणीय चेतना र त्यसको पृष्ठभूमि, नेपाली आख्यानमा पर्यावरणीय चेतनाको विश्लेषण, प्रकृति र मानवको सम्बन्ध, प्रकृतिप्रतिको विश्वास र आकर्षण, प्रविधिमुखी जीवन र विस्मृत प्राकृतिक सौन्दर्यको आलोचना, मानवकेन्द्रित विनाशप्रति पश्चात्ताप र जिम्मेवारीको अनुभूति, प्रकृतिको जगेर्नातर्फको चेतनाको चर्चा परिचर्चा गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
वातावरण या परिवेश पर्यावरण साहित्यलाई इको लिटरेचर वा इको साहित्य पनि भन्ने गरिन्छ । अङ्ग्रेजी ‘इको’ शब्द ‘इकोलोजी’ या ‘इकोसिस्टम’को छोटो रूप हो । इकोलोजी पर्या (शास्त्र) इकोसिस्टमको अध्ययन हो । इकोलोजीले कुनै जीवित तत्त्व वा जीवधारीको सेरोफेरोसँग रहेको अन्तर्सम्बन्धको अध्ययनलाई बुझाउँछ । मानिसको वरिपरि हावा, पानी, रुख, पर्वत, अकाश, समुद्र, नभोमण्डल आदि रहेको हुन्छन् । तसर्थ इको साहित्यले मानिसको यी सबैसँग रहेको सम्पर्कको बारेमा चर्चा गर्छ । अर्का तरिकाबाट हेर्दा पर्या साहित्य उत्तर आधुनिकतावादको एउटा विषय हो । साहित्यका थुप्रै पाटाहरू छन्, त्यसमध्ये वातावरण साहित्य पनि एक हो । नेपाली साहित्यमा सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर वातावरणसम्बन्धीका कथावस्तुलाई खासै महत्त्व दिइएको हुँदैन । यद्यपि वातावरण साहित्यले सिङ्गो पृथ्वी, पृथ्वीमा रहेका सजीव तथा निर्जीव वस्तु र तिनीहरूको अन्तरसम्बन्धको चर्चा गर्ने गर्दछ । जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता विकासमा ठूलो योगदान पुर्याइआएको छ, त्यसरी नै वातावरणीय साहित्यले वातावरणको विनाशबाट सचेत तुल्याइ मानव अस्तित्व जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब वातावरण साहित्यको बिरुवा रोपेर मलजल गर्दै वृक्षको जङ्गल बनाउनुपर्ने आजका साहित्यकारहरूको दायित्व भएको छ, बल्दो समयको माग भएको छ भन्ने विषयको उठान गर्दै प्रकृतिलाई जोगाउनका लागि सचेत तुल्याउँछ ।
त्यसैले कृतिको तेस्रो परिच्छेदमा नेपाली काव्यमा पर्यावरणीय चेतना शीर्षकभित्र यसको पृष्ठभूमिबाट थालनी गर्दै नेपाली काव्यमा पर्यावरणीय चेतनाको विश्लेषण गरेको पाइन्छ । नेपाली कवितामा पर्यवरणीय चेतनाको अध्ययन गर्दै वर्तमान समयमा भइरहेको प्रकृतिको विनाश तथा प्रकृतिको दोहनप्रतिको असन्तुष्टिलाई काव्यमा कसरी चित्रण गरिएको छ भन्ने कुरालाई विश्लेषण गरेको छ ।
त्यस्तै यस परिच्छेदभित्र प्रकृति र मानवबीचको सुमधुर सम्बन्धको आग्रह, मानवकेन्द्रित सोचको आलोचना, विकास र पर्यावरणीय सन्तुलनको द्वन्द्व, प्राकृतिक सम्पदाको संरक्षणप्रतिको सङ्कल्प, पर्यावरण संरक्षणमा सामूहिक चेतना र जिम्मेवारी, सबै प्राणीको समान अस्तित्वप्रतिको चेतना, पारिस्थितिक प्रणालीको सङ्कट र संरक्षणप्रतिको चेतना, नेपाली खण्डकाव्यमा पर्यावरणीय चेतनाको अध्ययन, प्रकृतिसँग प्रेमपूर्ण सहअस्तित्व, गहन पारिस्थितिकता, अहिंसा र सहजीवनमा नैतिकता, मानवकेन्द्रित सोचको विरोध, मानवीय लोभ र प्राकृतिक विनाशप्रतिको चिन्ता, प्रकृति र मानवबिचको सम्बन्धको विशद् चर्चा गरी त्यसको निचोड सारलाई यसरी प्रस्तुत गरिएको छ:
नेपाली आख्यानमा पर्यावरणीय चेतनाको अभिव्यक्ति पाइन्छ । नेपाली आख्यानले प्रकृति र मानवबीचको अन्तर्सम्बन्धलाई गहन, भावात्मक एवम् वैचारिक धरातलमा उठान गरेको छ । नेपाली आख्यानमा प्रकृति केवल पृष्ठभूमि मात्र नभई मानवीय संवेदना, जीवनदर्शन र अस्तित्वसँग गाँसिएको सक्रिय तथा आत्मीय घटकका रूपमा उभिएको छ । प्रकृतिप्रतिको विश्वास, आकर्षण, समर्पण र निकटता जस्ता पक्षहरूमार्फत नेपाली आख्यानमा मानव र प्रकृतिबीचको अभिन्न सम्बन्धलाई सशक्त रूपमा उजागर गरिएको छ । नेपाली कथा तथा उपन्यासमा आधुनिकताका नाममा भइरहेको प्रविधिको विकास, यन्त्रको सञ्चालन तथा प्रयोगले पर्यावरणमा पारेको नकारात्मक प्रभावप्रति प्रश्न उठाउँदै पर्यावरणीय सजगतालई प्रस्तुत गरिएको छ । प्रकृतिप्रतिको भरोसा, ग्रामीण परिवेशप्रतिको आकृष्टि, यान्त्रिक सभ्यताले ल्याएको क्षतिप्रतिको चिन्ता तथा मानव–प्रकृति सहअस्तित्वको आग्रहमार्फत नेपाली आख्यानमा पर्यावरणीय चेतनाको प्रस्तुति गरिएको छ । यस्तै प्रकृतिलाई प्रतीक बनाएर जन्मदाताजस्तै प्रकृतिलाई पनि माया, सम्मान र संरक्षणको हकदार ठहर गर्दै मानवीय अस्तित्व र प्राकृतिक सम्पदाबीचको सम्बन्धप्रतिको पर्यावरणीय चेतनालाई पनि यी आख्यानमा स्थान दिइएको छ (पृ.३८) ।
पर्यावरणीय चेतना र नेपाली साहित्यको चौथो परिच्छेद नेपाली आख्यानेतर गद्य साहित्यमा पर्यावरणीय चेतना शीर्षकमा नेपाली आख्यानेतर गद्य साहित्यमा पर्यावरणीय चेतनाको विश्लेषण गरिएको छ । साहित्यका गद्य विधाका रचनामा पाइने पर्याचेतको खोजी तथा अध्ययन यस परिच्छेदमा गरिएको पाइन्छ, प्रकृतिको विषय बनाएर लेखिएका विभिन्न रचनाकारको रचनाको चर्चा गर्दै कृतिकार अर्यालले नेपाली नियात्रामा पर्यावरणीय चेतनाको अध्ययन गरेकी छन् । प्रकृतिप्रेम तथा प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, आधुनिकताप्रतिको उदासीनता र प्रकृतितर्फको मोह, प्राकृतिक विविधता तथा रहस्यप्रतिको जिज्ञासा पर्यावरणीय नारीचेतना, प्रकृति र मानवको सम्बन्ध, प्रकृतिको अस्तित्वको जगेर्ना, प्रकृतिको विनाशप्रतिको चिन्ता र पारिस्थितिक, प्रणालीप्रतिको सजगता, प्रकृति मिलनको स्वर्गीय आनन्द र प्रकृतिको देवत्वकरणको चित्रण यस परिच्छेदमा गरिएको छ । त्यस्तै नेपाली निबन्धमा पर्यावरणीय चेतनाको अध्ययनमा प्रकृति र प्राणीको सहअतित्वप्रतिको चेतना, प्रकृतिको ईश्वरीय शक्तिको महिमा, आधुनिकतातर्फको प्रश्न र प्रकृतितर्फको मोह, पारिस्थितिक प्रणालीप्रतिको सचेतना, मानिस र प्रकृतिको सम्बन्ध, प्रकृतिमाथि मानवीय अहङ्कारको व्यङ्ग्य र पर्यावरणीय चेतना चर्चा गरिएको पाइन्छ ।
पर्यावरणीय शिक्षाको स्रोत प्रकृतिको बारेमा चित्रण गर्दै भौतिकतावाद र विश्वव्यापीकरणले सिर्जिएको मानवीय सङ्कटप्रति चेतावनी, प्रविधिमुखी जीवन र विस्मृत प्राकृतिक, सौन्दर्यको आलोचना, प्रदूषण र वातावरणीय विनाशप्रतिको चेतना, जलवायु परिवर्तन र मानव उदासीनताप्रति गम्भीर चेतावनी, मानवकेन्द्रित विनाशप्रति पश्चात्ताप र जिम्मेवारीको अनुभूति गरिएको यस अध्ययनमा नेपाली आख्यानेतर गद्य साहित्यमा पर्यावरणीय चेतना गहन रूपमा चित्रण भएको देखिन्छ । यी साहित्यमा प्रकृतिसँगको सहअस्तित्व, र आत्मीय सम्बन्धको महत्त्वसम्बन्धी पर्यावरणीय चेतना प्रबल बनेका छन् । धार्मिक ग्रन्थ र सांस्कृतिक परम्परामार्फत प्रकृतिपूजाको चेतना तथा –प्रकृति सम्बन्धको आध्यात्मिक एवम् व्यवहारिक पक्षलाई समेट्दै आधुनिकताका नाममा पारिस्थितिक सन्तुलनमा आएको विघटनप्रति चिन्ता व्यक्त गरिएको हुनाले यी साहित्यमा पर्यावरणीय चेतना पाइन्छन् । प्रविधिको विकासका नाममा प्रकृतिको दोहन, ग्याजेटप्रतिको निर्भरता, भौतिक विकासले निम्त्याएको पर्यावरणीय सङ्कटप्रतिको सावधानीलाई प्रस्तुत गरिएका नेपाली नियात्रा तथा निबन्धमा प्रकृतिप्रति देखिएको मानवीय संवेदनहीनतामा समेत गम्भीर प्रश्न उठाइएको छ । आधुनिक सभ्यताले भोगविलासमा लिप्त हुँदै प्राकृतिक सौन्दर्य र अस्तित्वलाई बिर्संदै गएको यथार्थलाई प्रस्तुत गर्दै नेपाली साहित्यमा भाषिक, सांस्कृतिक एवम् संरचनात्मक नवीनता ल्याएको कुरालाई स्पष्ट पारिएको छ । साहित्यमार्फत प्रकृतिलाई जोगायन गरिएको आग्रह र नेपाली समाज र संस्कृतिले गर्ने प्रकृति पूजाको प्रसङ्गलाई समेत चित्रण गरिएको छ ।
त्यस्तै, यस कृतिको अन्तिम पाँचौँ परिच्छेदमा कृतिको सार निष्कर्ष र मूल्याङ्कनमा पर्यावरणीय साहित्यले पारिस्थितिक विम्बको प्रयोग, प्रतीकात्मकता, समय र स्मृतिको अनारसम्बन्ध तथा मानवीय संवेदनाको विविध आयामहरूले कृतिहरूलाई बहुआयामिक बनाएका छन् भन्ने धारणा अभिव्यक्त गरिएको छ ।
चराचुरुङ्गी, पहाड जङ्गल, गाउँ शहर आदिका बारेमा हाम्रा साहित्यकारले थुप्रै लेखिसकेका छन् । नेपाली साहित्यमा प्रकृतिको सराहना गरिएको प्रशस्त रचनाहरू पाइन्छन् । यस्ता रचनाहरूमा प्रकृतिले मानिसलाई आनन्द दिएको कुराको वर्णन हुन्छ, प्रकृतिको सराहना गरिएको हुन्छ । त्यसैले यस्ता साहित्यलाई ‘प्रकृति’ साहित्य भन्ने गरिन्छ । वर्तमान उत्तरआधुनिक सिद्धान्तले यिनीहरूलाई पर्यावरणीय पर्या साहित्य या इको साहित्य भन्दछ । वास्तवमै साहित्यले समाजलाई उसको अनुहार देखाइदिन्छ, कुनै विज्ञापन अथवा ऐनले ल्याउन नसकेको परिवर्तन साहित्यले ल्याउन सक्छ । कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदि साहित्यका विविध विधाहरू पर्यावरणका समस्याहरूलाई विषयवस्तु बनाएर रचना हुनु नै पर्यावरणीय साहित्यको मूल उद्देश्य हो । यसले समस्या देखाइदिनु मात्रै होइन त्यसको समाधान पनि दिने विषयमा गुरुत्व दिएको पाइन्छ । पर्यावरणीय चेतना र त्यसको प्रभावले रचिएका साहित्यले समसामयिक सामाजिक र सांस्कृतिक चासोहरूमाझ साहित्यले अब वातावरणीय न्याय, सहअस्तित्व र दिगो विकासको सवालमा प्रतिबद्धताको आवाज उताउनुपर्ने अवस्था आइसकेको छ । शिक्षा, नीति निर्माण र सामाजिक सञ्चारजस्तै साहित्य पनि वातावरणीय परिवर्तनप्रति सजग बन्नु अत्यावश्यक छ । साहित्यका माध्यमबाट उठाइएका प्रश्नहरूले केवल नीति निर्माता वा वैज्ञानिकलाई मात्र नभएर आम नागरिकलाई पनि प्रभावित पार्न सक्ने शक्ति राख्दछन् । त्यसैले नेपाली साहित्यमा पर्यावरणीय चेतनामूलक लेखन अब केवल वैकल्पिक विषय नभएर समयको माग र भावी पुस्ताप्रति उत्तरदायित्वको अभिव्यक्ति हो भन्ने विचार अभिव्यक्त भएको पाइन्छ । यसरी पर्यावरण र मानिसको अस्तित्वका बारेमा आज विश्वमा उठेको विषयलाई नेपाली साहित्यमा प्रवेश गराई तिनको रौंचिरा केलाउन सफल यस कृतिले पर्यावरण र पर्यावरणीय साहित्यका बारेमा बुझ्न जान्न चाहने अध्येता तथा अनुसन्धानकर्ताका लागि एक अत्यन्तै उपयोगी र महत्त्वपूर्ण कृतिको रूपमा प्रकाशित कृति मान्न सकिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










