काठमाडौँ, माघ १७ / बद्रीप्रसाद ढकालद्वारा जेष्ठ नागरिकका विषयमा लेखिएको ‘वृद्ध मनोविज्ञान र साहित्य’ पुस्तकको लोकार्पण गरिएको छ । बागबजारको साउथपोल क्याफेमा मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकलाई सहभागी ज्येष्ठ सदस्य कृष्णविक्रम नेम्बाङसहित, चन्द्रश्री कार्की, डा. तुलसी भट्टराई, कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लगायतले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।

लोकार्पणपछि बोल्दै साहित्यकार कृष्णविक्रम नेम्बाङले वृद्ध हुनु र बालक हुनु झण्डै बराबर रहेको बताउनु भयो । बालबालिका र वृद्धको अन्य उमेरका मानिसको भन्दा छुट्टै मनोविज्ञान हुने भएकोले सोहीअनुसारले साहित्य लेखन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले बुढ्यौली साहित्य पनि विधा हो भनेर लेख्न थालेकोमा लेखकलाई बधाई तथा शुभकामना पनि दिनुभयो ।

साहित्यकार डा. तुलसी भट्टराईले लेखक ढकालले यसअघि बुढ्यौली साहित्य लेखिसकेको बताउँदै सो विधाको यो दोस्रो कृति भएको उल्लेख गर्नुभयो । बालसाहित्यजस्तै बुढ्यौली साहित्यको पनि आवश्यकता रहेकोले साहित्यमा रुचि राख्ने ज्येष्ठ नागरिकका लागि पनि लेखिनु पर्ने उहाँले बताउनु भयो । ज्येष्ठ नागरिकको पनि मनोविज्ञानको आधार फरक फरक हुने भएकोले एकल नागरिक वा अन्य छुट्याएर लेख्नु पर्ने उहाँको भनाइ थियो ।

वृद्ध मनोविज्ञानको अहिलेसम्म वेवास्ता गरिएको भन्दै उहाँले यो विषय लेख्न आवश्यक रहेको बताउनु भयो । लेखक ढकालले बुढ्यौली साहित्य लेखनको अभियान नै चलाएकोले वर्षमा कम्तिमा एउटा पुस्तक प्रकाशित होस् भन्ने कामना पनि गर्नुभयो ।

यसअघि राष्ट्रप्रेम, प्रेम, यौवनवा यौन मात्रै लेखिने, बोलिने भन्दै बुढ्यौली साहित्यका अभियन्ता तथा हाँस्यब्यङ्ग्य साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) ले अहिले बुढ्यौली साहित्य पनि लेखिन थालेको बताउनु भयो ।
आफ्ना बुबाआमाका लागि पनि केही न केही रचना लेखिदिन उहाँले सम्पूर्ण साहित्य सर्जकहरूलाई अनुरोध गर्नुभयो ।

किताब सित्तैमा बाँढ्ने चलन राम्रो नभएको भन्दै उहाँले यो चलन हटाउनु पर्ने बताउनु भयो । बुढ्यौली साहित्य लेखनमा लेखक ढकालले साथ दिइरहेको भन्दै यो अभियानले ब्यापकता पाउँदै गएको उल्लेख गर्नुभयो । बुढ्यौली साहित्य समाज भनेर देशभर धेरै ठाउँमा संगठित हुन थालेको उहाँले जानकारी दिनुभयो । बुढ्यौली साहित्य नहुँदा पनि पीर र अहिले लेख्न थाल्दा पनि पीर परेको भन्दै उहाँले पुस्तक प्रकाशनको समस्या रहेको बताउनु भयो । त्यसका लागि एउटा कोष स्थापना गर्न ‘बुढ्यौली साहित्य प्रकाशन समिति’ भनेर नाम पनि प्रस्ताव गर्नुभयो । उहाँको प्रस्तावअनुसार सोही कार्यक्रमबाट केही रकम पनि संकलन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रा.डा. कुमार कोइरालाले वृद्धको मनोविज्ञान वृद्धलाई नै बढी थाहा हुने भन्दै लेखक ढकालले यो विषयमा निक्कै खोज गरेर पुस्तक प्रकाशन गरेको बताउनु भयो । सानो भए पनि नवीन विषयको सोधखोज गरेर पुस्तक प्रकाशन गरेको भन्दै ढकालले बन्दनीय काम गरेको उहाँले बताउनु भयो । यो पुस्तकले बुढ्यौली साहित्य र वृद्ध मनोविज्ञानलाई छलफलको विषय बनाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पुस्तक प्रकाशक भुँडी पुराणका केशव पराजुलीले बुढ्यौली साहित्यको प्रवर्द्धन गर्न आफू तयार रहेको भन्दै उहाँले यसअघि केही पुस्तक प्रकाशन गरिसकेको जानकारी दिनुभयो । एउटा फण्ड बनाएर पुस्तक प्रकाशन गर्न सकियो भने यो अभियानले सफलता पाउने बताउनु भयो ।

कार्यक्रमलाई लेखक ढकालले नै सञ्चालन गर्नुभएको थियो । यो पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो भने ओरिएन्टल बुकले वितरणको जिम्मेवारी लिएको छ ।