योगेन्द्र तिमिल्सिना (२००८) नेपाली आख्यान साहित्यमा परिचित नाम हो । नेपाली साहित्यमा बिसको दशकमा कथा साहित्यबाट नेपाली साहित्यमा प्रवेश गरेका आख्यानकारको हालसम्म लेखन र सहलेखन गरी सात वटा कृति प्रकाशन भइसकेका छन् ।
वि.सं. २०३३ नेपाली साहित्यमा चौतारी, बैँसको निर्वासित सहर, स्थिति, मृत्युपछिको गन्ध, जस्ता कथा प्रकाशन गरेर अघि बढेका तिमिल्सिनाका पुनर्मिलन (२०२४), फूल र काँडा (२०३२), अन्त्यहीन यात्रा (२०७६) अक्कर (२०७९) उपन्यास, विश्वका विख्यात साहित्यकार (२०७८) तथा साहित्य र सामाजिक विश्लेषण (२०७९) प्रकाशित भइसकेका छन् । कथासङ्ग्रहका रूपमा भने २०३३ को सहलेखन कथासङ्ग्रह तीनधारा र एकल लेखनको कथासङ्ग्रह अनन्त आकाश (२०७४) मा प्रकाशित भएको हो । आख्यान बाहेक समीक्षा, लेख, समालोचनाका क्षेत्रमा साहित्य रचना गर्ने तिमिल्सिनाका रचनामा समसामयिक परिवेशको सजीव चित्रण पाइन्छ ।
जीवनलाई कहिल्यै नसकिने यात्राका रूपमा परिभाषित गर्दै जीवनका आरोह र अवरोहसँग हाँसेर यात्रा गर्नुपर्छ भन्ने गहनतम भाव सम्प्रेषण गर्दै तिमिल्सिनाको अन्त्यहीन यात्रा (२०७४) उपन्यास प्रकाशित भएको छ । साहित्य समाजको बिम्ब हो । यथार्थको चित्रण साहित्यकारले आफूले देखेको भोगेको सुनेको वा पढेको जीवनलाई पात्रका माध्यमबाट विषयवस्तुका साथ जीवन्त प्रस्तुति गर्दछ र सहृदयी पात्रका मनमा संवेग उत्पन्न गराउँछ ।
त्यस्तै निम्न वर्गीय ग्रामीण समाजमा रहेका घटनालाई विषयवस्तु बनाएर यस उपन्यासमा घटनाक्रमलाई प्रस्तुत गरिएको छ । उपन्यासकार तिमिल्सिनाले आफैँले अनुभव गरेका घटना, मानवीय संवेग र अनुभूतिलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका यस अन्त्यहीन यात्रा उपन्यासको कार्यपीठिकाले पूर्वी नेपालको धरान, धनकुटा, विराटनगर, अर्घाखाँची हुँदै दिल्ली पुगेको छ भने काठमाडौँका विभिन्न प्रसङ्गलाई जोड्ने कार्य गरेको छ ।
निम्न वर्गीय पात्र अपूर्व यस उपन्यासको नायक हो । पूर्वी नेपालमा जन्मेको अपूर्वले बाल्यकालदेखि नै अभाव र समस्यालाई आत्मसात् गरी अघि बढेको छ । धैर्य, साहस र आकाङ्क्षा छ भने कुनै पनि सपना बिपना बन्छ भन्ने सकारात्मक सोच बोकेको असल पात्रका रूपमा आएको अपूर्वमा जीवनबोध पाइन्छ । प्रजातन्त्रपछिको पञ्चायती व्यवस्था त्यसले ग्रामीण समाजमा पारेको प्रभाव, राजनीति अवस्था र परिवर्तनका केही पक्षको सजीव चित्रण यस उपन्यासमा गरिएको छ । बाल्यकालदेखि अविरल अटुट सङ्घर्ष गर्ने अपूर्वले स्मृतिका माध्यमबाट पहाडबाट झरेका परिवारको धरानको सर्दूखोलाको परिवेश, जीवनचर्या र सुखदुःखलाई बुझ्न सुरु गरेको छ ।
विपन्न परिवारमा हातमुख जोर्न समेत अति तानाबाना बुन्नुपर्छ कतिको भारा पर्ममा समय बिताउन पर्छ अनि दुःखसँग हातेमालो गर्नुपर्छ भन्ने यथार्थ यहाँ पाइन्छ । अभाव र अशिक्षाका बीच पनि उज्यालो खोज्नुपर्छ जसले जीवनलाई सुन्दर बनाउँछ भन्ने लक्ष्य बोकेको अपूर्वमा घरपरिवार र सानैमा वैधव्यको सिकार बनेकी दिदीप्रति सहृदयता पलाएको छ । आफ्नो घरको अभाव, दुरावस्था र असहज परिस्थितिका बाबजुद दुखजिलोद्वारा उच्च शिक्षा प्राप्त गरी छोड्ने अभिलाषा देखिन्छ । कठिन परिस्थितिसँग जुध्दै गुरुकुल शिक्षामा सोझा अक्षर चिन्दै प्राथमिक, माध्यमिक हुँदै स्नातकोत्तरसम्म अध्ययन गर्न सक्षम अपूर्वमा जीवन र जगतप्रति ज्ञानसँगै महत्त्वकाङ्क्षा अभिवृद्धि भएको छ ।
गाउँको विद्यालयमा प्राध्यापन गरी आफ्नो गुजारा टार्नका लागि सक्षम बन्दै राष्ट्रिय विकास सेवामा पश्चिम नेपालको अर्घाखाँचीमा पुगी शिक्षा, स्वास्थ्य र जनचेतनाका क्षेत्रमा काम गरेका कुरा अभिव्यक्त भएको छ । नजिकबाट पञ्चायती व्यवस्था र प्रधानपञ्चको कार्यशैली बुझ्न पाएको नायक अपूर्वले ग्रामीण समाजमा देखिएका समस्या अभावका साथसाथै समाधानका लागि प्रेरित गरेका छन् । अर्घाखाँची जस्तै नेपालका विभिन्न गाउँको अवस्थालाई सम्बोधन गर्दै त्यस्तै गाउँमा विपन्नता, दरिद्रता र अज्ञान व्याप्त छ त्यसलाई हटाउन सबै शिक्षित वर्ग लाग्नुपर्छ भन्ने सन्देश दिन खोजेका छन् ।
आफ्नो जीवनको लक्ष्य बोकेर दिल्ली पुगेको अपूर्वले दिल्लीको परिवेशको चित्रण गर्दै आफू पेइङ्गेस्ट बनेर बस्नु परेको अवस्थाका साथसाथै भारतीयहरूको दिनचर्या, समस्या र घरबेटीकी छोरीले आफूप्रति देखाएको प्रेमलाई सहज तरिकाले प्रस्तुत गरिएको छ । बैँसको बेला नारी र पुरुषबिच अनौठो आकर्षण हुन्छ अनि एकापसमा नौलो तरङ्ग स्पर्शानुभूति उत्पन्न हुन्छ भन्दै आफ्नो लक्ष्यबाट विमुख हुन नहुने भन्दै संयमतालाई जोगाएको प्रसङ्ग उपन्यासमा चित्रण गरिएको छ । चार वर्ष दिल्लीमा बिताएको अपूर्वले शुक्लाकी छोरी नयनासित शारीरिक नभई भावनात्मक प्रेम गरेको र आफ्ना श्रीमती र छोराछोरीप्रति जिम्मेवार बोध गरेको छ । जीवनमा अनेकन परीक्षा चलिरहन्छन् वस परीक्षार्थी धैर्य र संयमतापूर्वक अघि बढ्नु पर्छ भन्ने गहन भाव अपूर्वले बोकेको छ ।
दिल्लीको अध्ययन सकेर नेपाल फर्केको अपूर्वका जीवनमा सकारात्मक विचार र सङ्घर्षका कारण बढेको सम्पन्नता सँगै काठमाडौँको जीवनलाई उपन्यासमा वर्णन गरिएको छ । पैतृक सम्पत्तिमाथिको लुछाचुँडी, अंशबन्डा, दाजुभाइको झैँझगडा, ईर्ष्या लोभका लागि बढ्दै गएको आपसी वैमनस्यता र त्यसले पारेको दूरगामी प्रभावलाई उपन्यासमा बिम्बाङ्कन गरिएको छ ।
कुरीति, आर्थिक दुरावस्था तथा धार्मिक र सांस्कृतिक विचलनका कारण नेपाली ग्रामीण समाजमा देखिएको पारिवारिक द्वन्द्वलाई उपन्यासले दर्शाएको छ । वर्तमान समयसँग निकट रहेर प्रस्तुत घटनावस्तुले पात्रका पीडा र दुःखलाई अभिव्यक्त गर्न उपन्यास सक्षम छ । मानव जीवनको सृष्टिदेखि हालसम्म पनि मानिसले उस्तै उस्तै समस्या भागिरहेका छन् । कति पुस्ताको अन्त्य भइसके पनि ती अभाव, समस्या, रोग, शोक र भौतिक भोगले गाँजेकै छ भन्दै कहिले नसकिने सङ्घर्षका पक्षलाई नै अन्त्यहीन यात्रामा परिभाषित गर्दै उपन्यासले जीवनको सहजतालाई आत्मसात् गरी अघि बढ्न प्रेरित गरेको छ । प्रत्येक नेपाली वा विश्व समुदायमा निम्न मध्यम वर्गीय पात्रले जीवनको प्रतिनिधित्व उपन्यासको नायक अपूर्वले गरेको छ ।
अपूर्वका माध्यमबाट आख्यानकार ग्रामीण समाजको समस्याको सचित्र वर्णन गर्न सक्षम देखिन्छन् । सैँतीस भागमा विभाजित मध्यम आयामको १६७ पृष्ठको अत्न्यहीन यात्रा उपन्यास संस्मरणात्मक कथावस्तुका साथ आएको सामाजिक यथार्थवादी उपन्यास हो ।
सरल, भाषाशैली, छोटा मिठा वाक्य गठनका साथै सामाजिक घटनावस्तुको तारतम्य मिलकाले कृति सङ्ग्रहनीय छ, पठनीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।