विषयपरिचय

सिर्जनशील लेखनमा स्नातकोत्तर गरेका तुलसी आचार्य नेपाली साहित्यका विभिन्न विधामा एक दर्जन जति कृति प्रकाशित गरिसकेका व्यक्तित्व हुन् । प्रवासमा बसेर नेपाली साहित्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका आचार्यको मृत्युको डायरी ( २०८०) मृत्युको नजिकबाट नियालेर लेखिएको गैरआख्यान साहित्य हो । आफ्ना प्रियजनको मृत्यु निकटको जीवनलाई नियालेर, दुखेर, हेरेर लेखिएको यस कृतिले एकपटक मृत्युलाई फेरि सम्झाएको छ ।

मानिस जन्मेपछि मर्नुपर्छ । सबैलाई थाहा छ, तर अन्य कुरालाई मानिसले कहिल्यै दोहोर्‍याउँदैन र सम्झन चाहँदैन तर विभिन्न घटना र परिवेशलाई भोग्दा उसले बारम्बार एउटै कुरा दोहोर्‍याउँछ आखिर मर्नै पर्छ भन्छ तर पनि लोभ गर्न छोड्दैन, ईर्ष्या गर्न छोड्दैन, आफ्नो कर्तव्य गर्दैन, मर्यादामा रहँदैन तर अरूको चियोचर्चो गरिरहन्छ, दोष देखिरहन्छन्, लाञ्छना लगाइरहन्छ सक्ने भए आफ्नो मृत्युको मिति पनि अर्कैकोमा सारेर झेल गर्थ्यो होला तर त्यो कदापि सक्दैन । जसरी जन्म सत्य हो, मृत्यु अन्तिम सत्य हो यस्तै विषयलाई लिएर लेखिएको मृत्यु–घटनालाई आचार्यको मृत्यु डायरीमा समावेश गरिएको छ ।

० ० ० ०

मृत्युसम्बन्धी अवधारणा

मानिसको जन्मपछि कालक्रम अनुसार उसको मृत्यु हुन्छ र यो सृष्टिचक्रको नियमित प्रक्रिया हो । तर मृत्युको सहजतालाई सामयिक, असहजमा भवितव्य, दुर्घटना वा आत्महत्यालाई असामयिक मृत्यु मानिएको छ । मृत्युका बोरमा विभिन्न वाङ्मय, साहित्य तथा कोशको परिभाषा यसरी प्रस्तुत भएको देखिन्छ :

नेपाली शब्दसागर र नेपाली बृहत् शब्दकोशमा मृत्यु भन्नाले मरण, निधन, स्वर्गवास, देहान्त, देहावसान, यमराज, काल, ब्रह्मा, विष्णु, माया, कलि, कामदेव, आदि भनिएको छ ।

श्रीमद्भागवद्गीतामा पनि मृत्युलाई स्वाभाविक प्रक्रियाका रूपमा यसरी वर्णन गरिएको छ :

जातस्य हि ध्रुवो मृत्युध्रुवं जन्म मृतस्य च ।।(गीता २।२७।)

जन्म–मृत्युको प्रक्रियाबाट कोही छोडिन सक्दैन । जन्मेपछि अवश्य मर्नुपर्दछ ।

पूर्वीय दर्शन वाङ्मयले शरीरलाई दुई प्रकारले छुट्याएको छ । भौतिक र अभौतिक । भौतिक वा स्थूल शरीरलाई बिसाउनु वा फेर्नु मृत्यु मानिन्छ भने अभौतिक वा सूक्ष्म शरीरका रूपमा आत्मा रहको छ जसलाई अमर वस्तुको रूपमा मानिएको छ ।

मानिसको स्थूल शरीरभित्र रहेको ईश्वर तत्त्वलाई आत्मा भनिन्छ ।  यो द्रष्टा हो, सबैको अन्तर्यामी भएर शरीरभित्र रहन्छ ।

येष आत्मेति होवाचैतदमृतमभयमेतद्ब्रम्हेति  ।(छान्दोग्योपािषद)

यो जो स्वयं प्रकाशका रूपमा सबै प्राणीको शरीरमा स्फुरित भइरहन्छ । यो निर्विकार भएर कर्ता भोक्ता बन्दछ । त्यसैले मानिसको शरीर भित्रको सूक्ष्म जीवतत्व आत्मा हो । यो जन्म र मृत्युको चक्रबाट परिचालित छ ।

मृत्योःस मृत्युमाप्नोति य इह नानेव पश्यति (कठोपनिषद)

जीवित शरीरभित्र ईश्वर छ, जब शरीर वा देह ढल्दछ आत्मा सूक्ष्म रूपमा निस्केर र पुनः जीवको शरीर प्रवेश गर्दछ । आत्माको शरीरभित्र पस्ने र निस्कने एउटा निश्चित प्रक्रिया र गति छ त्यसलाई सामयिक वा कालगति भनिन्छ । कालगति वा सामयिक प्रक्रियाबाट देह ढल्नु वा मृत्युमा प्राप्त हुँदा आत्मा सजिलै उन्मुक्ति हुन्छ वा मोक्षको मार्गमा जान्छ भन्ने विश्वास छ ।

मृत्युलाई सहज र असहज गरी दुई प्रकारमा बाँडिन्छ । मृत्युको प्रक्रिया सहज हुँदा कुनै समस्या हुँदैन तर असहज मृत्यु हुँदा त्यसबाट उत्पन्न परिस्थिति फरक हुन्छ ।

जीवनलाई बोध गर्न वा बुझ्न मृत्युलाई बुझ्नुपर्छ, जान्नुपर्छ । मृत्यु स्वतः प्राप्त हुने प्रक्रिया हो, मृत्युका बारेमा हाम्रा धर्मशास्त्र तथा वैदिक साहित्यमा चर्चा परिचर्चा भएका छन्  । महाभारत उद्योगपर्वमा सनतकुमारले मृत्युसम्बन्धी यस्तो दर्शन प्रस्तुत गरेका छन्:– त्यो ज्ञानले मृत्यु भयबाट मुक्ति प्रदान गर्दछ ।

अतः मृत्युसम्बन्धी समग्र ज्ञानको अन्वेषण आवश्यक छ, अर्थात् मृत्यु के हो भन्नेबारे वैज्ञानिक र दार्शनिक ज्ञानको स्थापना हुनुपर्छ । मानिसमा सबैभन्दा ठुलो डर नै मृत्युको हुन्छ । मरुँला भन्ने चिन्ताले मानिस सदैव छटपटाई रहन्छ । त्यसैले मृत्युबारे छलफल गर्न मानिस डराउँछन्, यद्यपि यो भूमण्डलमा जन्मेका जति प्राणी छन् तिनको जीवनको अन्त्य अनिवार्य छ । मानव शरीरमा  हुने पाटपुर्जाले काम नगर्नु (भौतिक पक्ष) एक किसिमको चेतना र जीवतत्त्वको (चेतन पक्ष) अन्त्यलाई मृत्यु भनिन्छ तर कतिपयको चेतनाले काम गर्दागर्दै जीवतत्वमा रोगव्याधीले नाश पारेपछि मृत्यु स्वतः स्विकार्नु पर्छ । धेरैजसो मृत्युमा शरीररूपी पदार्थ र चेतनाको अन्त्य समान किसिमले मानिए पनि मानवमा भएको चेतना कसरी उड्छ भन्नेबारे विज्ञान तथा वैज्ञानिक  खोज तथा अनुसन्धानले पनि  निश्चित उत्तर दिन सकेको छैन । त्यसैले हरेक धर्म जात, सम्प्रदाय वर्णमा अन्तिम अवस्थामा ईश्वरप्रतिको चिन्तन पाइन्छ ।

यो संसारको सृष्टि, जीवनजगत्को बारेमा सबैको व्याख्या विश्लेषण गर्न सक्ने शास्त्र वेद नै हो । वेद धर्मको मूल हो, आत्मा विश्वको मूल हो, शरीर धर्म साधना गर्ने मूल आधार हो । शरीर भए मात्र धर्म साधना हुन्छ । भौतिकवादीले शरीरलाई मुख्य आधार मानेका छन् भने अझ शरीरको उपयोगिता नै मूल विषय सम्झेका छन् । जब शरीर उपयोगविहीन हुन्छ त्यसको कुनै महत्व रहँदैन । त्यसैले होला अहिले भौतिकवादको विकासले चरम उत्कर्षमा पुगेका मुलुकले वस्तुको उपयोगजस्तै आफ्ना आफन्तको देहलाई मात्र सम्झेका हुन्छन् । देहसँग आत्माको सम्बन्ध भनेको चेतना र पदार्थ भने जस्तै हो भनिन्छ ।

शरीरको उपयोगिता सकिएपछि विसर्जनको बाटोमा लाग्नु त प्राकृतिक नियम हो । जुनसुकै वस्तु होस् वा शरीरको समाप्ति वा विसर्जन हुन्छ, त्यो निश्चित छ । तर अध्यात्मवादीका धारणामा देहको विसर्जनमा केही फरक छ । पशुप्राणी र  मानवको निधन एकै  होइन भनेर नै संस्कारको चलन चलेको हो । भौतिक शरीरको अन्त्यका हिसाबले उस्तै हो तर आत्मिक सम्बन्धका हिसाबले  फरक छ । भौतिकवादीहरू वस्तुको उपयोगमा विश्वास राख्छन् जसरी वस्तुको उपयोगिता सकिन्छ त्यसरी नै पितामाताको उपयोग सकिएपछि उनलाई आफूभन्दा अलग पुर्याउने वृद्धाश्रम बनाउने वा आफू टाढा हुने चलन सम्पन्न देशको संस्कृतिले देखाएको छ ।

अझ कतिपय भौतिक सम्पन्न मुलुकमा त छोराछोरी अठार वर्ष पुगेपछि बाबुआमाबाट अनिवार्य छुट्ट्याएर राख्नुपर्ने नियममै छ भने अर्कातिर बाबुआमा पनि लामो समयसम्म सँगै बस्ने अवस्थामा हुँदैन । (उनीहरू बिचको सम्बन्ध पनि विच्छेद गरी छोराछोरी र प्रौढ बाबुआमाका बिचको नाता नै विलीन हुने सम्भावना हुन्छ ।) यसरी भौतिकवादी जीवन दर्शनमा आमाबाबुप्रति श्रद्धाञ्जली, स्मृति र शोक बार्ने चलन कमै छ । भौतिकवादमा शरीर नै मुख्य भएपछि आत्माको अमरत्वलाई प्रधानता दिंदैनन् । यही नै हो, अध्यात्मवादी र भौतिकवादी जीवनदर्शन बिचको फरक र संस्कारगत भिन्नता पनि ।

मानिस जन्मेपछि नमरुञ्जेल के कस्तो जीवन भोगिरहन्छ ? उसको आयु कति लामो छ ? मृत्युको रूप कसरी बन्छ, मृत्युको कारण के हुन्छ र अन्त्यमा  कसरी मर्छ ? यी कुरा मानिसका लागि अनभिज्ञ र रहस्य हुन् । लेखकले परदेशबाट बिदा मनाउन रमाउन घरदेश आएका बेला अनायासै घटेको दुर्घटनाबाट विषय प्रारम्भ गरेका छन् । यस अनुभूतिमा तुलसी आचार्यले लेखेको घटनामा जे लेखेका छन्, त्यो देखिएको भोगिएको अवस्था हो त्यसैले कृति पढ्दा आफैंमाथि भोगेको सरह भएको छ ।

क्यान्सरका बिरामीले सायद पलपल मृत्यु बोकेर हिँडिरहँदा तिनका आफन्त र तिनका सन्तानले बोकेको डर स्वाभाविक हो । म पनि यस्ता घटनामा नजिकबाट परिचित छु । अझ रोगले दुखाएका मान्छे उर्फ रोगीमा डरका अनेक रूपले कति आक्रमण गरे होलान् ? आकलन नै गर्न सकिन्न । अनायासै पत्नीको मृत्युपछिको जीवनमा देखिएका अभाव र रोगलाई निदानका लागि गरिएको प्रयाससँगै निको नहुने क्यान्सरलाई बाआमाले कसरी खप्न सक्छन्, आफ्ना सन्तानका अगाडि प्रदर्शन गर्दैनन् भन्दै मृत्युबोधका अनेक पीडालाई सन्तानसमक्ष राखेर दुख दिन चाहँदैनन् भन्ने कुरालाई बुझाउन खोजेको छ ।

विभिन्न विदेशी लेखक, विद्वान्का भनाइलाई उद्धृत गर्दै आचार्यले मृत्युलाई पुस्तकमा बुझाउन खोजेका

देखिन्छन् । चिकित्सक क्यलनिथिको भनाइ पुस्तकमा उल्लेख छ, ’मैले मेरा क्यान्सरका बिरामीलाई दुखाइका बारेमा बुझाएँ तर जतिबेला म आफैँ क्यान्सर रोग लागेर दुख्न थालें, त्यतिबेला थाहा भयो मैले बुझेको दुखाइ त कहाँ मैले बुझाए जति मात्र रहेछ र ? डाक्टर भएर बिरामीको उपचार गर्नु र आफैँ बिरामी भएर डाक्टर भए ठाउँ जानु दुई फरक अनुभव रहेछन् । बिरामीको दुखाइको लेभल डाक्टरलाई थाहा हुँदो

रहेनछ ।’ अनि…? कास्, फिस्चरलाई क्यलनिथिसँग भेटाइदिन पाएको भए…!

डेनिस लेखक हान्स क्रिश्चियन एन्डरसनले भनेका रहेछन्, ‘जीवनमा बाँच्नु मात्र पर्याप्त छैन, स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ ।’ जस्ता उदाहरण पनि प्रस्तुत भएको छ ।

मृत्यु डायरी जसलाई योगदेखि वियोगसम्म भनिएको छ । यसभित्र पृथ्वी ढलेको दिन, सम्झनाहरू, जरै उखेलियो, हाँगाको के काम ? मानिस, नदी र पहाडका आँसु, धुवाँको आयु, मुस्कानको मूल्य, अमेरिकी सपनाको उडान, सत्यको पीडाभित्र भ्रमको खुसी, अर्को अन्त्यको साक्षी, पिएचडीको ट्याग, प्यालिएटिभ केयरले दिएको पीडा !, प्रदूषण, प्राणायाम र प्राज्ञिक काम, जीवनका हरफहरूमा ‘मृत्युको बिम्ब !’ मृत्यु उत्सवमा रमझम !, जब ज्यान मुरली बन्यो !, अनिर्णयको बन्दी बन्दाको क्षण, खुइलिएको सोफामा खोक्रो शरीर, सत्य लुकाउने सकस, जब उनले ईश्वर मरेको घोषणा गरिन्… !, खुसी पनि, पीडा पनि, सिसुवामा विदीर्ण मनको सुसेली, इमेल, दिपाङ ताल र तास, निम्न लागेको बत्तीको उज्यालो, ह्यामलेटको नियति, समाचार, शनिवारको भय, सामीप्य ढिंडो, गाँजा र मनिषा, बिरामीको अधिकारबारे विमर्श, मनको बोझ बिसाएपछि…. ,मृत्युलाई मोर्फिनको निम्तो !, कोरोनाको त्राससँगै मिराकलको आस,  डर, त्रास र अन्योलको दिन, लकडाउनमा पास, सास र आस, सेतीमा विसर्जित सपना, पूरा नभएका सपना मृत्युलाई सम्झँदा, बिम्बहरू, संस्कृति, मृत्यु एक पाठ शीर्षकका ३९ भागमा विभाजित यस कृतिलाई मृत्युको परिभाषित दृष्टिकोणबाट हेरी मृत्युको अनुभूतिको रूपमा प्रस्तुत गरिएको छ ।

० ० ० ०

मृत्युको डायरीभित्रको मृत्युको अनुभूति

पृथ्वी ढलेको दिन शीर्षकबाट सुरु भएको यस कृतिमा श्रीमती कृपाकी आमाको उर्फ सासूको आकस्मिक निधनले निम्त्याएको परिवेश र परिस्थितिलाई नै प्रस्तुत गर्दै जीवनको अनिश्चितता लाई सम्बोधन गरिएको छ । कति कुरा अपूरो रहन्छन् कति अधुरा रहन्छन् भन्दै जीवनको अन्तिम घडी कसैलाई थाहा हुन सक्छ  ? जन्म छ र त मृत्यु छ । तर यी दुई कहिल्यै नभेटिने दूरीमा रहन्छन् नदीका दुई किनारा जस्तै हुन जुनसुकै बेला जहाँ पनि हुन सक्छ भन्ने मृत्युबोध यहाँ गराइएको छ ।

आखिर आमाको असली रूप त्यही न हो जो  आफूलाई मारेर सन्तानलाई बचाउँछन् । मन त्यसै त्यसै बेचैन भयो कृपालाई देखेर । त्यस्ती आमाको शरीर मृत देखेर कृपा यस्तरी चिच्याइन मानौं त्यो क्षण मृत्युसमेत डरायो । उनी यस्तरी रोइन् त्यो आँसुको भेलमा त्यहाँ उपस्थित विशाल भीड नै बग्लाजस्तो भयो । आफ्नो प्राणभन्दा प्यारो मानिसको अवसानमा अभिनयमा पारंगत पात्रले गर्ने बिलौनाझैं लाग्थ्यो उनको शोक (पृ.१८)

आमाको अनायासै अकल्पनीय मृत्युबाट विह्वल भएको अवस्थालाई उपन्यास यसरी प्रस्तुत गरिएको छ । आमाको अभाव अब कुनै कुराले पूर्ति गर्न सक्दैन भन्ने भाव यहाँ अभिव्यक्त भएको छ । आमाको मृत्यु भएको अवस्थामा विचलित पात्रको मनोदशालाई प्रस्तुत गदै उपन्यासकारले जीवनको सबैभन्दा कठिन पलको चित्रण गरेका छन् । त्यसैले यस कृतिलाई– जीवन भर्सेस मृत्यु ! मान्न सकिन्छ । सबैले अब मृत्युका बारेमा छलफल गरी मृत्युलाई सजिलै लिन सक्ने बन्नुपर्दछ भन्ने लाग्दछ । जीवन, आफन्त, रोग, पिडासँगै पुनः मृत्युबोध पुस्तकले यी सबै कुरालाई फेरि सम्झाएको छ, धेरै कुरा समेटेको छ । मृत्युको सहज प्रक्रिया र अवस्थालाई यसरी प्रस्तुत गरिएको छ :

पहिले धेरै राम्रो गरेकी रहिछन् तिम्री श्रीमतीले, त्यही भएर कुनै चोट, दुःख सहनु परेन । सजिलै मृत्युवरण भयो, अर्कोले भने । हावामा खुलेयाम हाच्छिउँ गरें, बिना क्षमायाचना । कीटाणुहरू वरिपरि फैलाएँ । माफ गर भन्ने अमेरिकाका मानिसले जस्तै नेपाली माफी माग्न अभ्यस्त छैनन् । म यो सांस्कृतिक भिन्नतामा अभ्यस्त भइसकेको थिएँ र अक्सर यसलाई हल्कासित लिन्थें (पृ.३४) ।

मृत्युको परिभाषालाई नेपाली संस्कृतिअनुरूप प्रस्तुत गर्दै दुःख नपाई मर्नेलाई धर्म गरेको ठान्ने प्रवृत्तिको चित्रण यहाँ गरिएको छ । मृत्युलाई हेर्ने तरिका र मृत्यु भएको घरमा भेला भएर गर्ने कुराकानी गर्ने र खुलेआम हाच्छिउँ गर्दा समेत क्षमायाचना नगर्ने प्रवृत्तिलाई अमेरिकी संस्कृतिसँग तुलना गरिएको प्रसङ्गलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

धुवाँको आयु, मुस्कानको मूल्य शीर्षकमा उपन्यासकारले मानिसको जीवनको अस्थायीपन र अचानक मृत्यु निकट पुगिसकेको अवस्थाको यसरी चित्रण गर्न पुगेका छन् :

‘साला, मानिसको जीवनको जीवन के नै रहेछ र ! कतिबेला कसलाई के बिमार लाग्छ, कतिबेला यो संसार छोड्नुपर्ने हो केही थाहा नहुने ।’ चुरोट बेस्कन तानें र सुस्केरा हाल्दै चुरोटको धुवाँसँगै फुस्फुसाएँ । दरबारमार्ग रङ्गिन प्रकाशले झिलमिल देखिन्थ्यो । अगाडि देखिन्थे, राजदरबार । त्यो त्यही दरबार थियो, जहाँ २०५८ जेठ १९ गते शुक्रवार राजा वीरेन्द्रको वंश नै नास भएको थियो, एक चिहान भएको थियो ।

त्यस्तो सुरक्षा र सुविधा सम्पन्न ठाउँमा बसेको शाही परिवारको त मृत्युको टुङ्गो हुँदो । हुनेछ, मृत्यु जतिबेला पनि आउन सक्दो रहेछ भने हामी नागरिकको मृत्युको त के टुङ्गो ? दरबारमार्गतिरै उडिरहेको मेरो हातको चुरोटको धुवाँ हेर्दै सोचें (पृ.५४) ।

जीवनको क्षणभङ्गुरतालाई चुरोटको धुवाँसँगै तुलना गर्दै मृत्युको गति र क्षण निश्चित नभएको अवस्थालाई उपन्यासकार आचार्यले यहाँ प्रस्तुत गर्न खोजेका छन् । कुनै पल पनि मानिस मृत्यु भोग्न सक्छ, मृत्युको रूप फरक हुन सक्छ, जसलाई कुनै पनि सुरक्षाले रोक्न सक्दैन भन्दैन शाही सेनाको सुरक्षाभित्र रहेको राजाको वंश विनाशसँग जोडेर प्रस्तुत गरिएको छ । कालको तरिका भिन्न हुन्छ र क्षणमै सकिन्छ भन्ने दर्शनलाई सल्केको चुरोटको धुवाँ र उड्दै विलीन भइरहेको मानिसको जीवनलाई तुलना गरिएको छ ।

आफन्तको मृत्युबाट विचलित मानसिकताले अगाडिको बाटोसमेत स्पष्ट नभएको शून्य अवस्थालाई उपन्यासकार आचार्यले मृत्युको नजिकको अनुभूतिलाई अमेरिकी सपनाको उडान शीर्षकमा यसरी प्रस्तुत गरेका छन्:

सासूको मृत्यु र ससुरा बाको बिमारीलाई प्रतिविम्बित गर्दै मैले रोग र मृत्युबारे केही सोच्न सकिनँ । स्वाभाविक रूपमा मानिस यसबाट जोगिन चाहन्छन् । तर यो सधैंका लागि टार्न सकिँदैन् । प्लेटोले फेडोसँगको दार्शनिक कुराकानीमा बुद्धिमानीपूर्वक लेखे– मृत्युका लागि तयारी गर्नेहरू यसबाट विचलित हुन सक्दैनन् ।

मानिस रोग र मृत्युबाट चिन्तित थिए किनभने तिनीहरू यसका लागि तयार थिएनन् । त्यसैले रोग र मृत्युबारे आफैंलाई सम्झाउनु राम्रो लाग्यो । लैलाह गिफ्टी अकिताले आफ्नो पुस्तक ‘पल्र्स अफ  विज्डमः ग्रेट माइन्ड’ मा लेख्छन् । हामी यसप्रति सचेत हुनुपर्छ, एक दिन हाम्रो जीवन जानेछ ।

यसरी मानिसले सबैभन्दा ठुलो डर बोकेको मृत्युको सहजीकरण र सहज प्रक्रियाका लागि तयार हुन नसकेको प्रसङ्गसहित उपन्यासकारले मर्नुपर्छ भन्ने ज्ञान सबैसँग हुनुपर्ने चिन्तन अभिव्यक्त गरेका छन् । मानिस हरतरहले मृत्युसँग उम्कन, बँच्न चाहन्छ तर यो असम्भव छ त्यसैले मृत्युका लागि हरदम तयार हुनुपर्छ भन्ने मान्यता विद्वान्का रहेका कुरालाई उनले प्रस्तुत गर्दै मृत्युप्रति सचेत भएर जीवन बाँच्नुपर्ने कुरालाई सम्झाएका छन् ।

अर्को अन्त्यको साक्षी शीर्षकमा उपन्यासकारले प्राकृतिक जीवको अन्त्यको चित्रण गर्दै माकुराको जालोमा झिँगा उड्दै आएर परेर मृत्युवरण गरेको कुरालाई यसरी प्रस्तुत गरिएको छ:

झिँगा उड्दै आयो र त्यही माकुराको जालोमा अल्झियो । माकुरो आयो र त्यो झिँगालाई खाइदियो । क्षणभरमै एउटा कथा सुरु भयो । आँखै अगाडि अन्त्य पनि । भर्जिनिया उल्फको द डेथ अफ द मोथ निबन्धसँग तात्तातो घटनालाई सादृश्य गर्न केहीबेर आँखा चिम्म गरें (पृ.७५) ।

यसरी यस धर्तीमा भएका हरेक जीवको अन्त्य निश्चित छ भन्दै मृत्युको अपरिहार्यतालाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

मृत्युको फरक परिभाषालाई उपन्यासमा उपन्यासकारले यसरी प्रस्तुत गर्न पुगेका छन् :

उन्नाइसौं शताब्दीका यी कवि ब्लेकले मृत्युका बारेमा र जीवनका अकाट्य सत्यका बारेमा धेरैपटक कलम चलाएका छन् । उनका धेरै भनाइ निकै प्रचलित छन् । उनी भन्छन्, ‘कला जीवनको वृक्ष हो, विज्ञान मृत्युको वृक्ष हो ।’

अर्थात् हरेक कुराका लागि तयारी हुन उनी आह्वान गर्छन् । तयारीले मानिसको जीवनलाई सहज बनाउँछ, कम दुःखी बनाउँछ । तयारीबिना चलेको जीवन दुःखी हुन्छ । भौतिक रूपमा तयारी हुन नसके पनि मानसिक रूपमा तयारी हुनु जीवनलाई गति दिनुरहेछ भन्ने बुझें ।

आखिर अकाट्य सत्य मृत्युलाई कसले रोक्न सक्ने रहेछ र ? वेदका ऋचामा आधारित भएर मनमनै

सोचें । मृत्युपछि जीवनको कोष माटोसँग मिल्छ । हंस प्रकृतिसँग र आत्मा अमर रहन्छ सधैंभरि । सम्झनामा सासू आउनुभयो । मेरा क्यान्सर पीडित ससुरा आउनुभयो । तर पनि के गर्ने संसार चल्नै पर्छ, चलाउनै पर्छ । विचारमग्न बनें (पृ.९४) ।

हामीले मृत्युका बारेमा पटकपटक विचार विमर्श गरिरहेका छौं सतही रूपमा तर मृत्युको तयारीको कुनै कर्म गरिरहेका छौ त ? भन्ने कुरालाई पटकपटक सम्झाएका छन् । यदि हामीले मृत्युको तयारी गरी अघि बढ्ने हो भने मृत्युको प्रक्रिया सहज बन्दै जान्छ । मानसिक रूपमा मृत्युको बारेमा सोचेर अघि बढ्दा केही समस्या पर्दैन भन्ने विचार यहाँ अभिव्यक्त भएका छन् । आखिरमा मृत्युको अन्तिम सत्य निश्चित छ । राजा हुन् या रङ्क जन्मेपछि मर्छन् भन्दै पञ्चतत्त्वले बनेको शरीर माटोमै मिल्छ भन्दै जन्म र मृत्युको प्रक्रियागत ज्ञानको दर्शनलाई उपन्यासमा चर्चा गर्दै सासू र ससुरासँगको नातासम्बन्ध एउटा प्रक्रियाका रूपमा चित्रण गरिएका छन् ।

त्यस्तै मृत्यु उत्सवमा रमझम ! मा उपन्यासकारले मृत्युको पनि उत्सवलाई परिकल्पना गर्दै यसो भन्न पुगेका छन् ?

आज सासू बितेको तेह्रौं दिन । बिहानैबाट आफन्त बन्धुवान्धव भेला हुन थाले । भण्डारी खलकको लर्को निकै लामो रहेछ । सबै भेला भएर कोही तरकारी काट्ने, कोही खाना बनाउने,  कोही पण्डितलाई चाहिने सामग्री जुटाउन  लागे ।

मृत्युको तेह्रौं दिनमा गरिने रीतिरिवाज भए पनि हेर्दा त्यहाँ खुशीको उत्सव भइरहेझैँ लाग्थ्यो । अधिकांश उपस्थित त्यहाँ बोल्दै, गफ गर्दै, हाँस्दै आआफ्नो काम गरिरहेका देखिन्थे । आखिर मृत्यु पनि एउटा उत्सव नै त रहेछ भन्ने लाग्यो त्यो क्षण (पृ.१०३)

यसरी मृत्युकै परिवेशमा उपस्थित आफन्तहरूले पनि बिस्तारै मृतकलाई भुल्दै सामान्य दिनचर्यामा फर्कदै गरेको अवस्थालाई उपन्यासकारले मृत्युको फरक अनुभूतिका रूपमा प्रस्तुत गरेका छन् । मृत्युसंस्कारमा भेला भएकाहरू सबै कुरा बिर्सिएर हाँस्दै रमाएको पलको प्रसङ्गसँगै मानिसले मृत्युलाई सम्झन फेरि मृत्यु नै कुर्नु पर्छ भन्ने यथार्थबोध गराएका छन् । मृत्युलाई उत्सव र सम्मान चाहिन्न भन्ने प्रसङ्गको चर्चा गर्दै एरिका बुइस्टको आलेखमा लेखिएको मृत्युलाई हाम्रो सम्मान चाहिँदैन, त्यसैले अन्त्येष्टिमा जीवन उत्सव मनाऔं शीर्षकमा लेखिएको कुरालाई पनि प्रस्तुत गरेका छन् । बुइस्टाकै शब्दमा भन्दा–हुन त हरेक पटक मानिस मरिरहेकै हुन्छ । त्यसै गरी हरेक पल मानिस जन्मिरहेकै हुन्छ । जब मानिसले यो महसुस गर्छ कि जन्मनु जति महत्त्वपूर्ण छ , मर्नु पनि त्यति नै महत्त्वपूर्ण छ तब मृत्युलाई पनि मानिसले सहजै लिन सक्थ्यो होला । एउटा उत्सवको रूपमा खुलेर मनाउन सक्थ्यो होला । मान्छे मृत्युसँग त्यति डराउँदैनथ्यो होला भन्दै मृत्युको ज्ञान र सत्यलाई आत्मसात् गर्दा सहज क्रिया बन्ने कुरालाई व्यक्त गरेका कुरालाई सम्झन पुगेका छन् ।

आमाको मृत्युवियोग झेलेको थोरै समयपश्चात् अर्थात् कोराबाट बाहिर निस्कनासाथ बुबालाई पनि क्यान्सरले मार्ने अवस्थामा पुगेको खबरबाट अकस्मात् विचलित बन्न पुग्दा छोरीले ईश्वरको मृत्यु भएको घोषणा गरिनँ भन्दै ‘जब उनले ईश्वर मरेको घोषणा गरिन्…!’ शीर्षकमा उपन्यासकारले यसो भनेका छन्: हो, मृत्युसँगै बोकेर हिँडेका हुन्छ जीवन । जीवनको केही भर हुन्न । तर पनि हामी चल्नै पर्छ । यो जीवन चलाउनै पर्छ । हेर, म छु तिम्रो साथमा । भनौं मेरा र छोरीका आँखामा तिमीले आफ्ना आमाबाबुको जीवन देख्ने हो अब । उनको शिर चुम्दैं भनें ।

म ठान्थें–ईश्वर छ, ईश्वरको अस्तित्व छ, आजबाट मेरो ईश्वर म¥यो (पृ.११५)

यसरी आफ्ना आमाको मृत्युपछि बाबुको मृत्यु निकटको परिवेशले विह्वल बनाएको सन्तानको अवस्थालाई उपन्यासले चित्रण गरेको छ ।  मृत्युको निकट अवस्था र त्यसले पारेको उकुसमुकुसको अवस्थालाई निभ्न लागेको बत्तीसँग तुलना गर्दै कसैको मृत्युको पूर्वसूचनाबाट विह्वल बनेको अवस्थालाई बुझाएका छन् ।

मानिसको अन्तिम इच्छा भनौं कि चाहना जसोतसो गरी बाँच्ने नै हो । असह्य पीडा भए पनि मानिस मर्न चाहँदैन उसको अन्तिम उद्देश्य वा उपाय बाँच्न गर्ने प्रयत्न नै हो ।

‘औषधि सेवनको अवस्थालाई हेरेर केही खानेकुरा खाने भनेर सोध्दा अहिलेलाई पर्दैन भनेको सन्दर्भसँगै मन लाग्यो भने भन्छु,‘उहाँले भन्नुभयो र छेउमा गुर्जोको रस मिसाइएको एब बोतल पानी थियो र त्यसैको खोलेर तनतन पिउनुभयो । त्यो यसरी पिउनुभयो मानौं अब यो पानीले नै उहाँको समपूर्ण रोग निको पार्नेछ । उहाँलाई हेरेर अङ्कल काटें । उहाँलाई अड्कल काटें , उहाँमा तीव्र जिजीविषा छ (पृ.१७७) ।

यसरी जीवनको बाँच्ने उद्देश्यलाई जसरी पनि भन्ने शब्दको प्रयोग गरी उपन्यासकारले आम मानिसको प्रवृत्तिलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

मृत्युलाई मोर्फिनको निम्तो ! शीर्षकमा उपन्यासकारले मृत्युको अनुभूतिलाई अनुभूत गर्दै मृत्यु भोग्दाको जीवन अनुभवलाई यसरी अभिव्यक्त भएको छ :

दुर्भाग्यवश, हामीमध्ये धेरैले बाँच्नुको साँचो अर्थ अनि प्रेम र मित्रताको महत्त्व बुझ्न सक्दैनौं । बरु सानातिना झगडा र ईर्ष्याको भावनामा समय बिताउँछौं । तथापि, यस संसारबाट निस्कँदा कुनै पनि भौतिक कुरा साथमा लैजान सकिँदैन । यथार्थ यो थाहा पाउँदा प्रियजनसित बिताएको समय कदर गर्नुको महत्त्व अझ स्पष्ट हुँदै जान्छ ।

गम्भीर परिस्थिति वा मृत्युको छायाको सामना गर्नुपर्दा सँगै बिताएका ती बहुमूल्य क्षणहरूको सम्झना अझ अर्थपूर्ण हुन्छन् । यस समयमा हामी वर्तमानको अधिकतम उपयोग गर्नुको महत्वलाई बुझ्छौं किनकि यसले हाम्रो भविष्यमा गहिराइ र उद्देश्य थप्दछ । जब मैले यी विचारहरू मनन गरिरहेँ तब जीवनका राम्रा क्षणहरू अँगाल्न, प्रेम र मित्रतालाई बढावा दिन अनि परिवारसँग हाम्रो समयको कदर गर्न सिकें । अमेरिका बस्दै आएको मैले कृपा र कृषालाई धेरै याद गरें र उनीहरू सँगसँगै बिताउन सक्ने समयको खोजी गरें (पृ.१९३) ।

यसरी मृत्युसँगको अनुभूतिलाई उपन्यासमा नजिकबाट नियालेका उपन्यासकारले गम्भीर परिस्थितिलाई गुमाउनुको पीडा र हुनुको परिवेशलाई प्रस्तुत गरिएको छ ।

सेतीमा विसर्जित सपना शीर्षकमा उपन्यास मृत्युपछिको भौतिक शरीरलाई सेतीमा समाहित गरेको प्रसङ्गलाई प्रस्तुत गरेका छन् । मृत्युको समयमा शरीरमा भएको छटपटी र असामान्य अवस्थालाई यसरी अभिव्यक्त गरिएको छ :

दुखाए अति भयो कि क्या हो, बोल्न नसकेर त्यो पीडामा पो छटपटाउनुभएको हो कि ? थप मोर्फिन दबाई खुवाइदिने पो हो कि भन्ने लाग्यो मलाई तर ससुराले केही खान सक्ने अवस्था थिएन । मानौं उहाँ ‘मृत्यु ! कुर्दै हुनुहुन्छ । उहाँको त्यो छटपटी देखेर बरु मृत्युले उहाँलाई उठाइहाले हुन्थ्यो जस्तो निर्दयी सोच पनि ममा पनि आयो । अर्को मनले तर्क गर्यो, यमराजले लैजाने साइत र बाटो पो हेरिरहेको छ कि ?

कुनै कुनै दुःख र पीडा मृत्युभन्दा भयानक हुँदो रहेछ । जति पीडा मृत्युभन्दा भयानक हुँदो रहेछ । जति पीडा ससुरालाई छ, त्योभन्दा बढी पीडा हामी सन्तानमा छ भन्ने महसुस भइरहेथ्यो (पृ.२१६)

अव्यक्त भित्री पीडालाई हेरेर बस्नु परेको कुरालाई उपन्यासमा अभिव्यक्त भएको प्रसङ्गलाई व्यक्त गरिएको छ ।

मृत्युको अन्तिम साक्ष्यको चित्रणको अवस्थामा ससुराले एउटा लामो सास स्वाँ….गरेर छोड्नुभयो । उहाँको प्राण भएको रहेछ र उहाँका हातखुट्टा तनक्क भए । ठाउँको ठाउँ उहाँ शवमा परिणत हुनुभयो । मेरै आँखा अगाडि, मैले नै हातका नाडी छाम्दाछाम्दै सास निक्लिएर गयो उहाँको शरीरबाट । प्राण जानु भनेको त्यही रहेछ क्यारे (पृ.२१७)

यसरी मृत्युको अवस्थामा देखिएका भौतिक परिवर्तनलाई आँखाले छामेर प्रस्तुत गर्दा आएको परिवेश उपन्यासमा आएको छ ।

मृत्यु एक अन्तिम सत्य हो जसलाई कसैले नकार्न सक्दैन, यसबाट पन्छन कसैले नसक्ने कुरालाई मृत्युसँग जोडेर कथानकलाई यसरी प्रस्तुत गरिएको छ :

बुवाको बिमारका बारेमा थाहा हुँदाहुँदै पनि, त्यसमाथि आमाको मृत्युलाई पनि स्विकारी नसकेका छोरीहरूलाई बाउको मृत्यु स्विकार्न असाध्यै गाह्रो भयो । उनीहरूले जब बाउको मुटुको गति बन्द भएको र बाउले सास फेर्न छोडेको थाहा पाए अर्थात् यो धर्तीबाट बाउको पार्थिव शरीरमाथि नै छाँद हालेर रुन र आलापविलाप गर्न थाले–‘लौन न कोही त बचाइदेऊ हाम्रो हाम्रा बालाई ।’

यद्यपि मृत्युलाई मृत्युलाई जित्न सक्ने कोही थिएन त्यहाँ । त्यो मृत शरीरमा प्राण फर्काएर फेरि जीवन दिन सक्ने सामर्थ्य कसैको थिएन । मृत्युले न राजा, न महाराजा, न कृष्ण, न क्राइस्ट । कसैलाई

छोडेन । छोडेको कुनै इतिहास पनि छैन केही अपवादबाहेक । मेरा ससुरा त झन् साधारण मानिस । अनि मृत्युले न साधारण भन्थ्यो न असाधारण नै । कवि शिरोमणि लेखनाथ पौड्यालले ‘काल महिला’ कवितामा कालको महिमा वर्णन गरेका छन् ।

त्यस्तै मृत्युलाई सम्झँदा शीर्षकभित्र आफन्तका विभिन्न समयका मृत्युको परिवेश र सन्दर्भलाई यसरी व्यक्त गरिएको छ :

यसबीच मेरी मावलकी हजुरआमाको पनि मृत्यु भयो । ठानें, मृत्यु एउटा नियम रहेछ । राजादेखि रङ्कसम्म, करोडपतिदेखि रोडपतिसम्म, घरबारविहीनदेखि महलसम्म, मालिकदेखि नोकरसम्म, झिँगादेखि हात्तीसम्म हरेक प्राणीमा लागू हुने रहेछ यो नियम ।

खालि ढिलो वा चाँडो भन्ने मात्रै रहेछ । यो नियमसँग अभ्यस्त पनि मृत्युलाई तत्काल स्विकार्न नसक्दा रहेछन् । रातोपाटी डटकममा प्रकाशित प्रदीप गिरीको लकडाउन डायरी: मृत्यु सत्य हो भय किन ? भन्ने शीर्षकमा लेखिएको लेखको स्मरण भयो । त्यसमा लेखिएको थियो–मृत्यु के आफैंमा त्रासद सत्य हो त ? अहिले दुनियाँ जुन सभ्यता चलिरहेको छ, यसलाई ठ्याक्कै के भन्ने थाहा छैन । तर गान्धीजीले यसलाई पशु सभ्यता भन्थे । म गान्धीजीले यसलाई पशु सभ्यता भन्थे । म गान्धीजीको शब्द दोहोर्याउन चाहन्नँ । दुनियाँमा चलिरहेको पशु र पाशविक सभ्यताले जीवनप्रति एउटा स्वस्थ दृष्टिकोण नै निर्माण गर्न सकेको छैन । मृत्यु पनि जीवनको अङ्ग हो भन्ने यसले बिर्सन चाहन्छ (पृ.२२३)

यसरी मृत्युसत्यको उद्घाटित गर्दै उपन्यासकारले जीवनको अन्त्यको शाश्वतपक्षको चित्रण गरिएको छ ।

मृत्युको कुनै निश्चित समय नभएको र कुनै पनि बेला कुनै पनि रूपमा आउन सक्ने अवस्थाको चित्रण यसरी गरिएको छ :

मृत्यु कतिबेला आउँछ भन्ने थाहै नहुँदो रहेछ  । त्यही भएर मेरा पाखुरा बलिया छन् भनेर घमण्ड नगरे पनि हुने रहेछ । बरु मुटु बलियो बनाएर जे परेपनि सहन्छु भन्ने मानसिकताका साथ बस्नुपर्ने रहेछ किनकि मृत्यु जतिबेला पनि आउन सक्ने रहेछ । टपक्क टिपेर लिएर जान सक्ने रहेछ मृत्यु ।

हुन त मृत्यु पनि एक किसिमको जन्म नै रहेछ । स्वच्छन्दवादी ब्रिटिस कवि विलियम ब्लेकले लेखेका छन्–जन्म जीवनमा दुई चोटि आउँछ, एकचोटि जन्मिँदा, अर्को चोटि मर्दा ।

जन्मिनु मृत्युका लागि रहेछ । मृत्यु पुनर्जन्म लागि रहेछ । हिन्दु दर्शनमा पनि भनिएको छ :मानिस मरेपछि पुनः जन्मन्छ । उसको कार्य हेरेर स्वर्ग वा नरकमा मानिस पुग्छ ।

सोचें, मेरा ससुरा र सासू पक्कै स्वर्गमा जन्मिनेछन् किनकि उहाँहरूको राम्रो कामको चर्चा समाजमा धेरैले प्रशंसा गरेका थिए ।

सबैथोक मर्दो रहेछ तर मृत्यु चाहिँ कहिल्यै मर्दो रहेनछ । जहाँ भएपनि जहिले भए पनि एक न एक दिन सबैलाई लिन पुग्दो रहेछ (पृ.२२५)

यसरी उपन्यासकारले मृत्युलाई पुष्टि गर्न विभिन्न सन्दर्भलाई प्रस्तुत गरेका छन् । मृत्युको परिवेश र पात्र भिन्न भएपनि यो सत्यको वास्तविकता चराचर जगत्सँग अत्यन्त निकट सम्बन्ध रहेको यथार्थलाई बारम्बार सम्झाउन सफल देखिन्छन् । उनले उपन्यासभित्र मृत्युको अपरिहार्यतालाई यसरी स्मरण गर्न पुगेका छन् ।

यी पंक्तिहरूले कसरी मृत्यु अपरिहार्य छ र मुस्कानका साथ सक्षम हुनु आवश्यक छ भन्ने कुरा बुझाउँछ । यी हरफहरूले मृत्युलाई एक जीवनको यात्रा, वास्तविकता र अकाट्य सत्यसँग तुलना गरिएको छ । साथै, मृत्युलाई मानिसको असल मित्रको रूपमा हेरिएको छ । कविहरूले यस विषयमाथि कुराकानी गर्न निमन्त्रणा गरेका छन् । यो उत्सवको रूपमा मनाउनुपर्ने कुरा हो भनेका छन् न कि दुःखान्तको खुराक ।

विजयकुमारको पुस्तक ‘सम्बन्धहरू’ मा एक शीर्षक ’मृत्यु’ मा लेखिएको छ, ‘मृत्युसँग डराउनु हुन्न तर मृत्युबोध हुनैपर्छ । मृत्यु भनेको घडी हो । मान्छेले सही समय दिने घडी लगाउनुपर्छ । हातमा घडी नलगाए पनि हुन्छ । मनमा त्यो घडी लगाएको राम्रो । समय सीमाको सूचक । मृत्युबोधबाट प्रेरणा लिन जान्यौँ भने समय खेर फाल्दैनौ ।’ भनेका कुरालाई समेट्न पुगेका छन् । त्यस्तै विदेशी लेखकले लेखेका प्रसङ्गमा चर्चा गर्दै बीसौं शताब्दीका चर्चित अमेरिकी गायक, गीतकार तथा संगीतकार जिमी हेन्ड्रिसनको विचार जस्ताको तस्तै उद्धृत गरेका छन् –

जब मेरो जाने दिन आउँछ

त्यो दिन त मर्ने पर्छ

आज बाँच्ने दिन छ मलाई,

मजस्तै भएर बाँच्न देऊ ।

छोराको मृत्युमा शोकाकुल धर्मराज युधिष्ठिरलाई पनि मृत्युदेखि किन डराउनु हुँदैन भनेर व्यासले भनेका थिए । जुन यस्तो छ– मृत्यु एउटा यस्तो व्यवस्था हो जसको एक मात्र उद्देश्य संसारको हित गर्नु हो । अतः मृत्युदेखि डराउँदै त्यसका लागि शोक गर्नु उचित हुन्न । जो मरेर गएका छन् तिनका प्रति शोक गर्नको कुनै अर्थ छैन । वास्तवमा शोक त जीवित रहेर मृत्युको गर्नेहरूका लागि गर्नुपर्छ भन्ने सूक्तिको सारतत्वबाट पनि मृत्युको सहजतालाई प्रस्तुत गर्नु उपन्यासकारको अभीष्ट रहेको देखिन्छ ।

पूर्वीय दर्शनका चर्चामा व्यास विभिन्न पौराणिक एवं ऐतिहासिक उदाहरण दिँदै उपन्यासकारले यस्तो भनेका छन् – ‘संसारमा जी पनि कीर्तिवान्, प्रतापी धनसम्पत्ति सम्पन्न, भाग्यवान् मानिस छन्, ती  अन्त्यमा शरीर छोडेर जानुपर्छ । मृत, सुक्षेत्र, शिवि, दिलीप, मन्यता, पाती, अम्बरिष, रतिदेव, भरत, पृथु आदि चौधै यशस्वी सम्राट्हरू पनि और मृत्युकै फेला परे । छिट्टै स्वर्ग पुग्नेहरूका निम्ति शोक गर्नु

हुँदैन । कुनै पनि घटनामा दुःखको अनुभव गर्न थाल्यो भने दुःख बढ्दै जान्छ । विवेकशील फिले शोकलाई मनबाट हटाइदिनुपर्छ र आफ्नो कर्तव्यको पालन गर्दै सद्गति प्राप्त गर्ने प्रयासमा निश्चिन्त मै अगाडि बढ्नुपर्छ ।’ भन्ने कुरालाई उदाहरणसहित पुष्टि गरेका छन् ।

मृत्युकै बारेमा डेनिस लेखक हान्स क्रिश्चियन एन्डरसनका कुरालाई ’जीवनमा बाँच्नु मात्र पर्याप्त छैन, स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ ।’ व्यक्त गरेका छन् ।

मृत्युकै प्रसङ्गमा प्रसिद्ध अमेरिकी चिकित्सक मार्टिन एच फिस्चरले जीवनलाई बौको महत्त्वपूर्ण सिनेमा हेर्ने एउटा टिकटका रूपमा अर्थ्याएकी छन्  भनेका छन् ।

माथिका विद्वान् यी कुराले के बुझाउँछ भने जीवन र मृत्यु एकअर्काका परिपूरक छन् । जहाँ जीवन छ, त्यहाँ मृत्यु निश्चित छ । अनि जहाँ मृत्यु हुन्छ, त्यहाँ नश्वर भौतिक पञ्चतत्वबाट बनेको शरीररूपी जीवनको अस्तित्व समाप्त हुन्छ र पञ्चतत्वमै मिल्दछ भन्ने कुरालाई प्रस्तुत गरिएको छ । वास्तवमा जीवन र मृत्युको नाता गहिरो छ । कसको, कहिले, कतिखेर मिति पुग्छ भन्ने टुङ्गो छैन ।

मान्छे किन डराउँछ ? यद्यपि उसलाई थाहा छ मृत्युबाट भाग्न सकिँदैन तरपनि मान्छे मृत्युबाट भागिरहेकै हुन्छ, तर्सिरहेको हुन्छ । तैपनि मृत्युले उसलाई छाड्दैन भन्दै आफ्नो लेख ‘मृत्यु चिन्तन’मा टेकेन्द्र अधिकारीले यस्तो लेखेका छन् भन्ने प्रसङ्गको चित्रण यसरी गरेका छन्ः  ‘जन्मपछि मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै मान्छे मृत्युबाट लखेटिनुका खास कारणहरू छन् । तीमध्ये पहिलो कारण हो– जीवन शून्यता र डरत्रासको मनोविज्ञान । दोस्रो– प्रकृति र जीवनबीचको नातासम्बन्ध । तेस्रो– सृष्टि हिलाउन प्रकृतिले सिर्जना गरेको लोभ, मोह, क्रोध र स्वार्थ । चौथो – जन्मदेखि मृत्युसम्म गरेका आफ्नै कर्महरू । पाँचौं– मृत्युको अनिश्चितता ।’ जस्ता कुराको चर्चा यहाँ गरिएको छ ।

उपन्यासकारले आफ्नी पत्नी कृपाकी आमालाई चुँडेर लाने मृत्युले नै हो हामी सबैलाई लिएर जाने ।  अनिश्चित छ त केवल लिन आउने समय, तिथि, बार, गते, महिना र वर्ष मात्रै । यति प्रस्ट भएपछि मार्टिन एच फिस्चरको वाणी महत्त्वपूर्ण रहन्छ । उनी भन्छन्, ’मृत्युदेखि किन डराउने ? यो त जीवनकै सुन्दर अनुभूति होइन र ।’

आखिर मृत्यु नै एउटा अकाट्य सत्य होइन र ? बरु मानिस जन्मन्छ, जन्मँदैन त्यो निश्चित छैन तर जन्मेपछि मृत्यु भने निश्चित छ । सोचिरहे मृत्यु र जीवनबारे । इमिली डिकिन्सनले जीवन र मृत्युबारे लेखेका कविताहरू पहिले पढेको थिए । त्यहीमध्ये एक सम्झिएँ– ‘मृत्यु र जीवन’ शीर्षकको यस कवितामा उनी लेख्छिन्–

कुनै अचम्म नभए जस्तो

मस्त खेलिरहेका कुनै प्रमुदित फूलमाथि

दुर्भाग्यवश तुसारो बर्सिन्छ

र त्यसको शिर छेदन हुन्छ

हत्यारो तुसारो विलुप्त हुन्छ

अटल रहेर नै घाम अघि बढ्छ

यात्रा गर्नु छ उसलाई अर्को दिनको

गुणग्राही ईश्वरका लागि ।

लगत्तै डिकिन्सनकै अर्को कविता सम्झें । जुन स्नातक तहमा मैले अङ्ग्रेजी साहित्य अध्ययन गर्दा पढेको थिएँ । मृत्युलाई हुनेवाला दुलाहा मानिएको र मरणलाई विवाह उत्सवको रीत ठानिएको यस कवितामा भनिएको छ–

हामी मृत्युलाई रोक्न सक्दैनौ

 किनकि म मृत्युका लागि रोकिन सक्तैनथे

उसले मलाई दयालु भएर पर्खिदियो

त्यो रथमा केवल ऊ र म थियौ

अनि अमरत्व ।

मृत्युको स्वीकारमा लेखिएको यो कविताले जीवनबाट मृत्युसम्मको यात्रालाई चित्रित गर्दछ । कविले मृत्युसँग कुनै डर नभएको र मृत्युलाई एउटा दयालु, भद्र पात्रको रूपमा चित्रित गरेकी छन् । साथै मृत्युलाई एउटा यात्राको रूपमा देखाइएको छ भन्ने कुरालाई उपन्यासकारले प्रस्तुत गरेका छन् ।

उनले मृत्युको डायरीमा मृत्युलाई बुझ्नका लागि आग्रह गर्दै मृत्युको परिभाषा यसरी व्यक्त गर्दछन्:  मृत्यु आखिर जीवनको अन्तिम यात्रा रहेछ । त्यो कतिबेला तय एन. लो मात्र थाहा नहुँदो रहेछ । तर यात्रा त सबैले गर्ने पर्दो रहेछ । मृत्युको ती आफ्नै जीवन हुँदो रहेछ जसरी यात्रा एक जीवन हो । मृत्यु, जीवनको टेपेस्ट्रीको एक सार्वभौमिक र अपरिहार्य भाग, अस्तित्वको त्यताबारे चिन्तन जगाउँछ । यो हाम्रो मृत्युको गम्भीर सम्झनाको रूपमा छाडा छ, जसले हामीलाई प्रत्येक क्षणभङ्गुर क्षणको कदर गर्न र जीवनको तान सुन्दरतालाई अँगाल्न आग्रह गर्दछ । हो, यसले दुःखलाई आफ्नो जागृतिमा छोड्छ, तर मृत्युले सबै जीवित पीहरुको अन्तरसम्बन्धका लागि गहिरो कृतज्ञता पनि उत्प्रेरित गर्न आफ्नो मृत्युको वास्तविकताको सामना गर्दा हामीले अर्थपूर्ण विरासतहरू सिर्जना, प्रेम, करुणा र समझलाई बढवा दिन उत्प्रेरित गर्न सक्छौ । मृत्युको उपस्थिति स्विकार्दा हामी उद्देश्यसहित बाँच्न सक्छौ र अस्तित्वको महान् सिम्फोनीमा हामी सबैलाई एकताबद्ध गर्ने अपरिहार्य चक्रमा सान्त्वना खोज्छौ (पृ.२२९)

त्यसैले मृत्यु डायरीमा जीवन र जगत् छ र त यसले जोकोही पाठकलाई मृत्युको बारेमा जान्न र बुझ्नका लागि सहयोगी सिद्ध हुनेछ यसको अध्ययनले मुटु एकपटक अवश्य छुनेछ । पुस्तक पढिरहँदा पाठकले मृत्युको कुनै दृश्यचित्रभित्र आफैंलाई उभिरहेको अनुभूत गर्न सक्छन् । किनकि पुस्तकको सशक्त पक्ष भनेको सरल प्रस्तुति र बगाइ हो । समस्यामा मानिसमा द्विविधा उत्पन्न हुन्छ, त्यो छटपटाहट, अब के होला ? अब कसो होला ? भन्ने जिज्ञासा पाठकलाई जगाइरहन सक्नु पनि लेखनको विशेषता हो । हामीले बेलाबेलामा मृत्युमाथि अब खुलेरै बहस गर्नुपर्छ भन्ने पाठ पनि पुस्तकले सिकाएको छ । पुस्तकमा लेखकले  मृत्युका अनेक रङ्ग र अनुहारलाई सरल शैलीमा प्रस्तुत गरेका छन् जसले आम मानिसमा सहजै प्रभाव पार्दछ । आचार्यको लेखकीय क्षमता त्यहाँ पनि झल्कन्छ जहाँ उनी सासूससुराका सन्दर्भभन्दा बाहिर पुगेर संसार चिहाएका छन् । क्यान्सर रोग, तिनका प्रकार, किमोथेरापीका अनेक प्रकार, यससँग जोडिएका अनेक व्यक्तिको मृत्यु, यसबारे विभिन्न व्यक्तित्वले बोलेका सन्दर्भ र घटना आदि सबै समेटेका छन्

उनले । यसले उनको लेखकीय आयाम फराकिलो बनेको छ ।

० ० ० ०

निष्कर्ष

जब पत्नी कृपाकी आमाको अचानक अवसान भयो, तब त्यसले उनका जीवनका सम्पूर्ण रङहरू धमिल्याइदियो भन्ने सार प्रस्तुत गरिएको यस उपन्यासमा मृत्युको शाश्वत पक्षको चित्रण गरिएको छ । इन्द्रेणीमय क्यानभासजस्तो उनको जीवनमा बदलाव आयो । अल्पायुमै अवसान भएपछि उनको होश गुमेजस्तो भयो कृपाको । उनका आँखाहरू सुके । ओठहरू कलेटी परे । आशाहरू मरे । सपनाहरू डढे । मानौं, उनका लागि अब संसार सबै खरानी भयो । त्यो चोट, त्यो पीडा अनि त्यो दुःखान्त त्यतिमा सीमित रहेन । आमाको मृत्युपछि बाबुको अनुहार हेरेर बाँच्ने उनको झिनो आशा पनि आमालाई बिदा गरेको दुई महिनामै चकनाचुर भयो, जब उनले बुबालाई क्यान्सर भएको थाहा पाइन् । आमा बितेको पाँच महिनाभित्रै उनले जन्मदाता बुबा पनि गुमाइन्  भन्ने यर्थाथपरक घटनाको चित्रण मृत्युको डायरीमा दृश्यविम्ब बनेर आएको छ ।

आमा बितेपछि बाबाको एक्लोपन त्यो पनि आमा बितेको केही महिनामै बुबालाई निको नहुने रोग लागेको थाहा पाएपछि उनीभित्रको अवस्थालाई कसरी सहिन होला भन्दै बाको स्वरूप जसलाई उनी ’आशा, भरोसा, आँट, विश्वास र आत्मविश्वासको पहाड’ भन्थिन्, त्यही पहाड गर्ल्यामगुर्लुम ढलेपछि कृपाको भरोसाको अवस्था के भयो होला ? भन्ने प्रश्नले मर्मलाई भेद गरेको छ । केही बुझ्न नसक्ने छोरी कृषालाई काखी च्यापेर त्यो दुःखान्त अवस्थासँग उनी लडिन् । लागेको थियो त्यो पीडाले उनलाई गलाउनेछ, सदाका लागि तर धन्य, उनले साहस जुटाइन् र उभिइन् शोकलाई शक्तिमा परिणत गर्दै । त्यतिबेला थाहा भयो, मान्छेभित्र सहन सक्ने अथाह साहस प्रकृतिले दिँदो रहेछ भनेर पनि नारीलाई साहसको प्रतिमूर्तिलाई प्रस्तुत गरिएको छ ।

उपन्यासमा प्रस्तुत घटना तथा वैचारिकताले मृत्युबोध, मृत्युचेतना, मृत्युको निकटतालगायत कुरालाई समेट्दै मृत्युले आँसु मात्र दिने छैन, जीवनप्रतिको आस, भरोसा, आत्मविश्वास र प्रेरणा पनि दिनेछ भन्ने तथ्यलाई प्रस्तुत गरेको छ । साथै उपन्यासले मृत्युलाई बुझ्ने र जीवनलाई गहिरिएर नियाल्ने अवसर पनि दिनेछ । क्यान्सर, मोर्फिन, प्यालियटिभ केयरलाई आलंकारिक रूपमा पनि बुझ्न प्रेरणा मिल्नेछ । आमाबुबाको सामीप्य, प्रेम, सद्भाव, मानवीयता र त्यसले मानवीय जीवनमा दिने अर्थ र दर्शनलाई बुझ्न सहयोग मिल्नेछ । कोरोनाकाल र मृत्युसँगै आएको त्रास र त्यसभित्रको आशा दुवैलाई नियाल्न अभिप्रेरित गर्नेछ । मृत्युलाई चिन्ने र मृत्यु अभिशापमात्र नभएर वरदान पनि हुन सक्ने कुरालाई उजागर गरेका मृत्यु डायरीले आम मानिसलाई मृत्युका बारेमा बुझाउन सक्षम देखिन्छ ।

‍‍‍० ० ० ०

सन्दर्भ सामग्री

आचार्य तुलसी (२०८०) मृत्यु डायरी , काठमाडौं : भुँडीपुराण प्रकाशन ।

आचार्य श्रीराम शर्मा (२०६१) १०८ उपनिषद्, सातौं संस्क., हरिद्वारः ब्रह्मावर्चस् ।

रिसाल शिवगोपाल (२०६८) मृत्युविज्ञान, काठमाडौं : रवि पराजुली र अन्य ।

गरुड पुराण

श्रीमद्भगवद् गीता