संस्कृतिमा के छ ?’ शीर्षकको कृति साहित्यकार बद्रीप्रसाद ढकालको खोजमूलक कृति हो । यस कृतिलाई अनुसन्धान विमर्श नेपालले २०८० मा प्रकाशनमा ल्याएको छ । यस कृतिको भूमिका साहित्यकार नवराज रिजालले लेखेका हुन् ।
भूमिका लेख्ने क्रममा विद्वान् साहित्यकार नवराज रिजालले ‘संस्कृतिमा के छ ?’ मा जीवनको खोजी शीर्षक दिँदै समय सन्दर्भ, विषय प्रवेश, संस्कृतिको अर्थ, विद्वान्हरूको आँखामा संस्कृति, पुस्तकको परिवेश लेख्दै निष्कर्ष प्रस्तुत गरेका छन् । तत्पश्चात् लेखकले लेखकका आफ्ना कुरा भनेर लेखकीय मन्तव्य सङ्क्षिप्तमा प्रस्तुत गरेका छन् ।
अनुसन्धानमूलक ‘संस्कृतिमा के छ’ लाई लेखकले तीन खण्डमा विभाजन गरेका छन् । पहिलो खण्डमा ‘संस्कृति परिचय’ रहेको छ । दोस्रो खण्डमा ‘संस्कार’ र तेस्रो खण्डमा ‘साहित्य र संस्कृति’ समेटिएको छ ।
‘संस्कृति’ धेरैको चासोको विषय हो । संस्कृति के हो कसरी निर्माण हुन्छ यसको प्रकृति के हो, संस्कृतिको आधार के हो, यसले मौलिक पहिचानलाई के कसरी स्थापित गरेको छ जस्ता संस्कृतिसम्बन्धी यावत कुरालाई बुझाउन र परम्परित प्रक्रियामा आएको संस्कारजन्य संस्कृतिको जीवन्ततालाई खण्ड १ मा प्रस्तुत गरिएको छ । हाम्रा मौलिक चाडपर्व, रीतिरिवाज, रीतिथिति, खानपिन, वेशभूषा, धर्म तथा यसले पारेको प्रभावलाई बुझ्न जरुरी भएकाले नै संस्कृतिका विविध पक्षलाई यहाँ समेट्ने प्रयास गरिएको (पृ–१) छ । भन्ने वैचारिक धारणा अभिव्यक्त भएको छ ।
पूर्वीय र पश्चिमी चिन्तन जगत्का विभिन्न विद्वानहरूका परिभाषाहरूलाई समेत समेटेर कृतिमा प्रस्तुत गर्नुले कृतिको ओजलाई निकै बढाएको छ । संस्कृतिको परिचय परिभाषा र निर्माणका बारेमा बुझ्न चाहनेका लागि कृतिले विभिन्न पाटोको सामाजिक अध्ययन धार्मिक अध्ययन गर्न सफल भएको देखिन्छ ।
संस्कृतिको स्वरूप कस्तो हुन्छ भन्ने सम्बन्धमा कृतिकार ढकालले संस्कृतिका विशेषताहरू प्रस्तुत गरेका छन् : संस्कृति मानव निर्मित वस्तु हो, यो प्राचीनताको आधार भूमिमा रहेको हुन्छ, संस्कृति परिवर्तनशील हुन्छ, संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै जान्छ, संस्कृति परिष्कृत र परिमार्जित हुँदै जान्छ, संस्कृति प्राचीन धर्मग्रन्थ तथा आध्यात्मिकतासँग जोडिएर आएको हुन्छ, संस्कृतिको निर्माण पृथकतामा रहन्छ यसरी संस्कृतिका विशेषताहरू प्रस्तुत भएको छ ।
यस कृतिमा संस्कृतिका विशेषताको अलावा कृतिकारले संस्कृतिको वर्गीकरण मूर्त अमूर्त संस्कृति, राष्ट्रिय अन्तर्राष्ट्रिय संस्कृति, धार्मिक संस्कृति, लोक वा परम्परागत संस्कृति, राजनीतिक संस्कृति, आर्थिक संस्कृति, दार्शनिक संस्कृति, वर्ग संस्कृति, वर्गीय संस्कृति, वैदिक संस्कृति, नेपाली संस्कृति, लोकप्रिय संस्कृति भनेर संस्कृतिलाई वर्गीकरण पनि गरिएको छ ।
यसै गरी संस्कृति र अन्य विषयसँगको सम्बन्ध पनि यहाँ प्रस्तुत गरिएको छ । संस्कृति र अन्य विषयको सम्बन्ध खुलाउँदै लेखकले संस्कृति र धर्म, संस्कृति र दर्शन, संस्कृति र इतिहास संस्कृति, भाषा संस्कृति, मनोविज्ञान संस्कृति र स्वैरकल्पना, संस्कृति र नैतिक आचरण, संस्कृति र लोक संस्कृति, लोक साहित्य संस्कृति र कला, संस्कृति र सभ्यता, संस्कृति र सभ्यता, संस्कृति र संस्कार, राजनीति र संस्कृति, मिथक र संस्कृति जस्ता विविध विषय प्रस्तुत गरी निष्कर्ष समेत यहाँ राखिएको छ ।
पहिलो खण्डको अन्तिम भागतिर केही जातजातका संस्कृतिअन्तर्गत आर्य खसको संस्कृति, मस्टो संस्कृति र किरात संस्कृतिका विभिन्न पक्षको विभिन्न कुराको उल्लेख गर्दै तिनीहरूको मूलभूत निष्कर्ष प्रस्तुत गरिएको छ । साहित्यमा संस्कृति, नेपाली साहित्यमा संस्कृतिको प्रयोग र निष्कर्ष प्रस्तुत गर्दै संस्कृतिको अध्ययन किन जरुरी छ भन्ने कुरा व्यक्त गर्दै पुस्तान्तरणसँगै संस्कृतिमा भएको रूपान्तरणले पारेको प्रधावको चर्चा गरिएको गर्नु छ ।
कृतिकारले खण्ड २ मा संस्कारलाई समेटेका छन् । संस्कारको व्यावहारिक अर्थको प्रसङ्गको चर्चा गर्दै यसअन्तर्गत विषय परिचय, संस्कारको व्यावहारिक अर्थ, संस्कारको महत्व, हिन्दुको पृष्ठभूमि, हिन्दू समाज, धर्म, चिन्तन र विश्वका प्रमुख धर्म बौद्ध धर्म, इसाई धर्म, इस्लाम धर्म, जैन धर्म, सिख धर्म, किरात धर्म, बोन धर्म र अन्य धर्महरू प्रस्तुति पाइन्छ ।
यसका साथसाथै हिन्दु धार्मिक चालचलन, हिन्दु सनातन धर्मका १६ संस्कारहरू, हिन्दु सनातन धर्म उल्लेख गरी अन्य धर्ममा प्रचलित समान संस्कारहरूमा जन्म नामकरण संस्कार, जन्मोत्सव संस्कार, विवाह संस्कार, अन्त्येष्टि संस्कार, प्रकृति पुजन पद्धति प्रस्तुत गर्दै तिनीहरूको निष्कर्ष दिइएको छ । हिन्दु सम्प्रदायमा प्रचलित वैज्ञानिक जीवनपद्धति, धर्मविज्ञान, हिन्दु धर्ममा विज्ञान, हिन्दु सनातन धर्ममा विज्ञान आदि विषयमा पनि कृतिकार बद्रीप्रसाद ढकालको कलम चलेको देखिन्छ ।
कृतिको अन्तिम खण्ड अर्थात् तेस्रो खण्डमा साहित्य र संस्कृतिको पाटोलाई कृतिकार ढकालले समेटेका छन् । यसअन्तर्गत पृष्ठभूमि रहेको र पृष्ठभूमि अन्तर्गत पनि साहित्यको सांस्कृतिक अध्ययनको सैद्धान्तिक ढाँचा भनेर प्रस्तुत भएको छ । पहिचान, प्रतिनिधित्व, प्रतिरोध चेतना, शक्ति सम्बन्ध, प्रभुत्व, लैङ्गिकता आदि विषय उल्लेख गर्दै तिनीहरूको निष्कर्ष प्रस्तुत भएको छ ।
कृतिको निष्कर्ष सांस्कृतिक अध्ययन संस्कृतिको विस्तृत अवधारणाबाट निर्देशित छ । सांस्कृतिक अध्ययनले पूर्व ज्ञान परम्पराका मान्यताहरूलाई टेकेर संस्कृतिलाई हेर्ने नवीन दृष्टिकोणको विकास गरेको छ । संस्कृति जतिकै व्यापक आयाम ओगटेको सांस्कृतिक अध्ययनको लचिलो खुलापन, सुगमता जस्ता विशेषताका कारण यसको अध्ययन क्षेत्र व्यापक र उदार छ साहित्यमा प्रतिविम्बत संस्कृतिको विश्लेषणका क्रममा यस कृतिले प्रस्तुत गरेको सामाजिक संस्कृतिलाई केन्द्रमा राखेर त्यसको पहिचान र विश्लेषण गरिनुपर्छ भन्ने मान्यता (पृ.१९१) रहेको देखिन्छ ।
संस्कृतिका मूलभूत पक्ष जान्न र खोज्ने चाहनेका लागि अत्यन्तै उपयोगी रहेको संस्कृतिमा के छ ? कृति पठनीय तथा संग्रहनीय रहेको छ । अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको यस पुस्तकको मुख्य वितरकको जिम्मा भुँडीपुराण प्रकाशनले लिएको छ ।
रु. ५०० मूल्य रहेको यस पुस्तकका लेखक अनुसनधान क्षेत्रमा रहेका व्यक्तित्व हुन् । यस कृतिका अलावा दुई दर्जन कृतिका लेखक बद्रीप्रसाद ढकाललाई आगामी दिनमा अझै गहन विषयका निरन्तर लेखकीय सफलता मिलिरहोस् यही कामना सहित ‘संस्कृतिमा के छ ?’ कृतिका लागि धन्यवाद भन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।