आमा

मूलः पर्ल एस-बक
अनुवादः गोविन्द गिरी प्रेरणा

आज म आफ्नी आमाको बारेमा बताउँछु । चीनको पुरानो संस्कृतिले आमालाई ठूलो महानता दिएको छ । जब फौज चीनका गाउँबाट तन्नेरी ठिटाहरुलाई जबरजस्ती समातेर लैजान्थे, त्यतिबेला अरु कसैलाई होइन, आमालाई नै पुकार्दै रुन्थे । याङ्सी नदीको छेउमा हाम्रो फोहर गाउँ थियो । घरहरु यस्ता थिए, मानौं ती घर बनाइएका नै हैनन्, केवल सामान थुप्य्राइएका हुन् । हाम्रो घर जस्तो भए पनि राम्रो नै थियो किनभने हामी अलिक हुने खाने मानिस थियौं । हामीसँग बीस एकड जमीन थियो । यसकारण मात्र होइन, हाम्रो बुवाले राख्नु भएको सुन्दरी रखौटीको कारणले उहाँको धाक जमेको थियो । तिनै रखौटी नै मेरी आमा थिइन् ।

मेरो एउटा दाज्यु पनि हुनुहुन्थ्यो तर पाँच वर्षकै उमेर‌मा दिवङ्गत हुनुभएको थियो। त्यसपछि मेरो जन्म भएको थियो। मलाई सधैं यस्तो लाग्दथ्यो – मेरी आमा मलाई भन्दा मेरी मृतदाज्यूलाई बढी मायाँ गर्नु हुन्छ । त्यसको कारण शायद यस्तो हुनसक्छ, उनको जवानीको सपना थियो र म जन्मुन्जेल त्यो सपना भत्किसकेको थियो र उनको उमेर पनि केही ढल्किसकेको थियो । तर यसको अर्थ यो होइन कि उनी मप्रति विमुख थिइन् । बरु उनी सधैं मेरा जमिन्दार बुवालाई उनका कानूनी सन्तानलाई जत्तिकै ध्यान दिन करकर गर्थिन् । यसको लागि म आमाको ऋणी छु।

फेरि समयले कोल्टे फेल्यो । नयाँ पिंढीका जवानहरूले मेरो बालाई हिरासतमा लिए । केवल यत्तिको लागि कि उहाँ जमिन्दार हुनुहुन्थ्यो । सबै जमिन्दारहरुलाई आसामीले दोष लगाएका थिए, मेरो बालाई पनि । तिनीहरुले ती सबै बिर्से, सङ्‌कटको बेला मेरा बा तिनीहरु‌लाई कसरी सहयोग गर्नुहुन्थ्यो । खेतीको बेला उहाँ कसरी आफ्नो भाग छाडिदिनु हुन्थ्यो, उनीहरूको झगडा फ‌साद मिलाइदिनुहुन्थ्यो र आफ्नो घरबाट समेत मद्दत गर्नुहुन्थ्यो । कारण उनीहरुले यो दोष नलगाए नयाँ पिंढीको हातबाट उनीहरुले सजाय पाउँथे।

सबै जमिन्दारहरू मरेदेखि नयाँ समाजको स्थिति राम्रो हुन सक्दथ्यो होला । हाम्रो आफ्नै बगैंचामा रहेको एउटा अग्लो रुखमा मेरो बालाई उँधो मुण्ट्याएर झुण्ड्याइयो र जिउँदै छाला काढियो । अनि हामी सबैलाई जबरजस्ती अगाडि उभ्याएर यो सब देखाइयो ।

त्यसपछि मेरी अर्की आमा र उनका बच्चाहरूलाई कहाँ पठाइयो, मलाई थाहा छैन । मेरी श्रीमती, आमा र मलाई एउटा कोठामा थुनियो (त्यो कोठा जहाँ पहिला पहिला हाम्रो चौकिदार बस्दथ्यो)। मलाई एउटा सहकारी संस्थामा हिसाब किताब सम्हाल्ने काम दिइयो, किनभने म अलिक पढे लेखेको थिएँ। यसबाहेक नदीको किनार‌मा खन्ने काममा पनि म कयौं घण्टा जोतिनु पर्थ्यो । भनिन्थ्यो, त्यहाँ एउटा पुल बनाइनेछ । किनार‌को माटो यति साह्रो थियो कि गर्मीको बेलामा त खङ्ग्रङ्गै सुकेर ढुङ्गैजस्तो हुन्थ्यो । मेरी श्रीमतीलाई पनि मसँगै यो काममा जोताइएको थियो । हामी काम सकेर राति घर फर्कंदा थाकेर यति खत्तम् भै सकेका हुन्थ्यौं कि एक अर्कासँग कुरा गर्ने शक्तिसमेत शेष रहन्नथ्यो ।

सबभन्दा ठूलो समस्या हामीलाई खानको थियो। मेरी बूढी आमा दिनभरि घरैमा बस्नुहुन्थ्यो। मेरो बाको भयानक मृत्यु आफ्नै आँखा अगाडि देखेदेखि नै उहाँको मानसिक सन्तुलन बिग्रेको थियो । यसकार‌ण उहाँ केही पनि काम गर्न सक्नुहुन्नथ्यो। त्यसैले उहाँलाई खाने रासन प्राप्त हुँदैनथ्यो । मेरो र श्रीमतीको रासनबाट हामी उहाँलाई खुवाउँदथ्यौं । यसैले तीनै जना कहिल्यै अघाउँदैनथ्यौं । रासनको यो रहस्य केवल हामीलाई थाहा थियो तर आमा सधैं चकित पर्नु हुन्थ्यो । घरमा पेटभरि खानको लागि किन पुग्दैन ! माछा र सुँगुरको मासु पहिला पहिला हरेक दिन खान पाइन्थ्यो तर अब उहाँ बुझ्न सक्नुहुन्नथ्यो किन हामी सधैं मासु पकाउन्नौं ! रासनको हिसाबले हामी महिनामा एकपल्ट पाउँथ्यौं र त्यो पनि यति कम कि त्यो सबै हामी आमाको अगाडि राखिदिन्थ्यौं । तर आमा फेरि पनि चकित पर्नुहुन्थ्यो कि हामी किन भाँडाभरि पकाउन्नौं ।

हामी पूरा ज्याला कहिल्यै पाउन्नथ्यौं । भनिन्थ्यो, हाम्रो ज्यालाको केही भाग हाम्रो नाउँमा जम्मा गरिएको छ, तर किन जम्मा गरिंदैछ र कहाँ जम्मा भै रहेछ हामीलाई केही थाहा हुँदैनथ्यो। हामी केवल यत्ति जान्दथ्यौ, हामीले व्यक्तिको रुपमा होइन, विशाल समूहको रुपमा बाँच्नु पर्छ। म असाध्य चनाखो भएर बस्दथें । तर मेरी आमा सधैं हामीलाई सङ्‌कटमा पारिदिनु हुन्थ्यो । एकपल्ट त ठूलै सङ्‌कट प-यो । कुरा के भयो भने म र मेरी श्रीमती काममा गएका थियौं। हाम्रो अनुपस्थितिमा हाम्रो घरमा कसैलाई जासूसी गर्न पठाइयो । विचरी मेरी आमालाई त्यसको के पत्तो ? एउटा लामो समय‌पछि घरमा कोही आएको थियो । आमाले पुरानो बानीअनुसार उसलाई स्वागत सत्कार गर्नुभयो। उसलाई चिया बनाइ‌दिनु भयो र पूरै चार औंस चियापत्ती खर्च गर्नु भयो । मेरी श्रीमतीले अलिकति चामल जोगाएर राखेकी थिई, पूरै एकदिनको खुराक । आमा‌ले त्यो चामलको पुलाउ बनाएर अतिथिलाई पस्किदिनु भएछ । त्यसको परिणाम हामीलाई अन्न जम्मा पारेको आरोप लाग्यो। कम्यूनका कर्मचारीहरू आएर सबै भाँडाकुँडा उठाएर लगे। अनि हामीले घर‌को भान्सामा खानुको साटो जनताको भान्सामा खानुपर्ने भयो । मेरी श्रीमतीलाई जनताको खाना पकाउने ठाउँमा जागिर दिइ‌यो । म स‌बेरै पसल जान्थें र दिउँसो खन्ने काम गर्न । साँझ कम्युनको सभामा पनि अवश्यै हाजिर हुन जानुपर्थ्यो । त्यसपछि जनताको भान्सामा खाना खान जाथ्यौं । मलाई र मेरी श्रीमतीलाई खाना खाने एउटा कुपन प्राप्त भएको थियो। तर मेरी आमा केही काम नगर्ने भएर उहाँलाई कुपन दिइएको थिएन । यो एउटा ठूलो समस्या थियो। मैले कमाण्डरलाई भेटें। तर उसले भन्यो- यस्तो स्थितिमा मेरी आमालाई खाने कुपन दिन सम्भव छैन । मैले उसलाई भनें- “मेरी आमाको मानसिक सन्तुलन ठीक छैन । त्यसैले कुनै काम गर्न सक्नुहुन्न ।” तर कमाण्डरले सल्लाह दियो – “उहाँलाई बच्चाको एउटा नर्सरीमा केही हेरविचार गर्ने काम लगाउन सकिन्छ ।” मैले आमालाई त्यो काममा पठाएँ, किनभने यसो नगरी खाने समस्याको हल हुनै सक्दैनथ्यो।

खानाको कुपन त पाइयो । तर अनौठो फसाद शुरु भयो। यदि नर्सरी हाम्रो पुरानो घरमा नबनाएको भए शायद यी सब केही हुन्नथ्यो । उहाँ घर चिन्न सक्नु हुन्नथ्यो । तर पनि बस्दाबस्दै उहाँलाई लाग्थ्यो यो घर उहाँले कहिलेकाहीं देखेको हुनुपर्छ…।

घरको अनुहार वास्तवमा परिवर्तन भइ‌सकेको थियो। बगैंचा नष्ट भैसकेको थियो। पहिला यो घरमा पार्टीको केन्द्रीय कार्यालय राखियो । पछि यहाँ टोकरी बनाउने कारखाना खोलियो । यसलाई सैनिकको ब्यारेकको रुपमा पनि प्रयोग गरियो र अब अहिले यहाँ नर्सरी खोलिएको थियो । आमाको दिमागको स्थितिले यसको नयाँ स्थान कल्पना गरेको थियो, किनभने उहाँ जमिन्दारको श्रीमतीको साटो रखौटी हुनुहुन्थ्यो । यसकारण उहाँलाई मान मनितोको ठाउँ दिइएको थिएन । नर्सरीका सब केटाकेटी जमिन्दारका बच्चाहरू थिए। नर्सरीको चौकिदारी गर्ने आइमाईसँग उहाँले प्रस्टै भनिदिनु भयो – उहाँसँग नोक‌रसँग जस्तो व्यवहार नगरियोस् । उहाँ मालिक्नी हुनुहुन्छ । उहाँ बाहिर बगैंचामा घाम तापेर कुर्सीमा बस्नु हुनेछ र उहाँका लागि ट्रेमा चिया राखेर बाहिर बगैंचामै टक्य्राइयोस् ।

मुखिया आइमाईले यो कुरा पचाउन सकिन । कुरा निकै अगाडि बढ्‌यो । तर मैले ज्यादै अनुनय विनय गरेर यो कुरा शान्त पारें । कुरा त्यहीं सकियो । तर केही दिन मात्रै के बितेथ्यो, नर्सरीमा पाँच वर्षको सुन्दर बालक ल्याइ‌यो । त्यसलाई देख्नेबित्तिकै आमालाई त्यो बालक आफ्नै जस्तो लाग्यो जुन पाँच वर्षको उमेरमा बितेको थियो । आमाको त्यो बच्चासँग प्रेम भयो । यो एउटा ठूलो अपराध थियो, किनभने हामीलाई बच्चासँग प्रेम नगर्न शिक्षा दिइएको थियो । प्रेम गरेपछि बच्चा कमजोर हुन्छन् र प्रेमको अनुभव एउटा व्यक्तिको रुपमा गर्छन्, जो उनलाई प्रेम गर्छन् । उनीहरुलाई यस्तो बानी पार्नुपर्छ कि उनीहरू कुनै पनि व्यक्तिको बारेमा नसोचून् । स्वयं आफ्नै बारेमा पनि नसोचून्, बरु एउटा समूहको बारेमा सोचून् । सानो बालकलाई जब आमाको सम्झना हुन्थ्यो, सम्हाल्नै कठिन हुन्थ्यो । एउटै उपाय थियो, तिनीहरूलाई अधिक काम गराउनु… कुचो लगाउनु, फोहर ओसार्नु, घाँस काँट्नु आदि ।

तर त्यो बच्चा जोसँग मेरी आमाको प्रेम भयो, निकै दुब्लो, पातलो र सधैं झिंझिएर रोइरहने बच्चा थियो । यस्तो बच्चालाई अझ बढी काममा लगाइन्थ्यो। तर जब उसलाई धेरै काममा लगाइन्थ्यो मेरी आमा त्यो हेर्न सक्नुहुन्नथ्यो र उहाँ त्यसको साटो आफैं गरिदिनु हुन्थ्यो। यसकारण आमालाई नर्सरीको कामबाट झिकेर अन्तै पठाइदिने धम्की दिइनथाल्यो । तर आमा कतै जान तयार हुनुहुन्नथ्यो । उहाँ त्यो बच्चाबाट ओझेल हुन सक्नु हुन्नथ्यो । धेरै सम्झाएपछि दिनभर उहाँ बच्चाबाट टाढा बस्नु हुन्थ्यो तर रात पर्नेबित्तिकै त्यस बच्चालाई छातीमा लगाउनुहुन्थ्यो । आमाले आफू आफैंलाई जमिन्दारको सुन्दर रखौटी आइमाई र बच्चालाई आफ्नो असली छोरो सम्झन थाल्न्नु भएको थियो ।

एकदिन आमा मझेरी धोइरहनु भएको थियो। उहाँको दिमागमा एउटा पुरानो सम्झना ताजा भाएर आयो। जमिन्दारका ती दिनमा उहाँसँग केही हिरा थियो जो उहाँले गडबडीका दिनहरूमा एउटा कोठामा खाल्डो खनेर लुकाउनु भएको थियो। अब त्यही कोठा धोइरहँदा त्यो कुना खोज्न थाल्नु भयो जहाँ उहाँले हिरा लुकाउनु भएको थियो । हिरा के भए, कहाँ फ्याँकिए मलाई त्यो सब थाहा छैन तर त्यसमध्ये चाँदीको पुतली पनि थियो जसमा बुट्टा काटिएको थियो र त्यो मैले त्यहाँ साना साना हिराका टुक्रा जडिएका थिए। त्यो मैले आफ्नै आँखाले देखेको हुँ- त्यसदिन, जुन दिन मेरी आमालाई अदालतमा प्रस्तुत गरिएको थियो ।

पहिला त आमाले त्यो पुतलीको बारेमा केही पनि बताउनु भएन । त्यस‌लाई आफ्नो चोलोभित्र लुकाउनु भएको थियो। अघिल्लो दिन अथवा त्यसभन्दा अघिल्लो दिन जब त्यो बच्चाको हातमा चोट लाग्यो (बच्चालाई घाँस काट्‌न धारिलो खुर्पा दिइएको थियो । त्यसैले बच्चाको हात काटेको थियो) र त्यो रगतपच्छे भएको बच्चा जब अस्पताल ल्याइयो, आमा कसैगरी त्यसको पछिपछि अस्पताल पुग्नुभयो । बच्चा कसैसँग मानिरहेको थिएन । आमाले त्यसलाई उठाउनु भयो । एउटा एकान्त कुनामा लगेर त्यसलाई त्यस‌लाई फकाउन चोलोमा लुकाइराखेको पुतली निकालेर उसको हातमा दिनुभयो । बच्चा त्यसदिन पनि मानेर चूप लाग्यो र पछि पनि कहिलेकाहीं आमासँग पुतली मागेर खेल्ने गर्थ्यो ।

बच्चाले एकदिन त्यो पुतली आफ्नो एउटा साथीलाई देखाइदियो । उसले नर्सरीको मुखिया आइमाईलाई यसको सूचना दियो । यस्तो सूचना दिने बच्चालाई एउटा पिपलमेण्ट इनाम दिने गरिन्थ्यो ।

कुरा अगाडि बढ्यो । बच्चालाई ठूलो मार प-यो र बताइयो कि कुनै पनि बच्चासँग एउटा त्यस्तो चिज हुनु जो अरु बच्चासँग छैन, एउटा अपराध हो ।
आमालाई पक्राउ गरियो । यस्तो अपराधको संजाय, मृत्युदण्ड हुनुपर्ने थियो तर कम्यूनले केवल यस्तो सजाय ठेकिदियो- अर्को सभामा आमालाई सबको सामु अपमानित गरिनेछ ।

सभाको दिन भीडमा म पनि थिएँ। अनिवार्य रुपले सबै उपस्थित हुनै पर्थ्यो । आमालाई सभामा ल्याइ‌यो। उहाँको हात पछाडिबाट बाँधिएको थियो । सारा भीडलाई आदेश दिइयो – उहाँ जसै हाम्रो छेउ आइपुग्नु हुनेछ सबैले थप्पड हानून् र एउटा नारा पनि लगाऊन् – ऊ दुनियाँको सबभन्दा घटिया आइमाई हो ।

मुक्का र थप्पडहरुको एकसाथ वर्षा भयो । आमा भुईंमा लड्नु भयो । यसको मतलब अब लात हान्ने पालो आएको थियो…।

मेरो पनि पालो आयो र मेरो लातलाई काँप्ने अपराधको अधिकार थिएन ।

मेरी श्रीमती जनताको भान्सामा उसलाई जानु ‌छ भनी यो सब भोग्नुबाट बची। सबैलाई रातको खाना ख्वाएर लुक्दै भाग्दै नर्सरी पुगी। त्यतिन्जेल आमालाई अधमरो पारेर नर्सरी फर्काइसकिएको थियो। त्यसदिन त्यो बालकलाई पनि पिट्‌‌दापिट्‌दा बेहोस पारिएको थियो र आमाले त्यहाँ पुग्नेबित्तिकै बच्चालाई छातीमा टाँस्नुभएको थियो। र, अहिले एउटा गुन्द्रीमा पल्टेर उहाँ बच्चासँग कुरा गर्दै, छटपटाउँदै गर्न लाग्नु भयो ।

श्रीमतीको कानमा उहाँका टुटे फुटेका शब्दहरु परिरह्यो । उहाँ बालकसँग भन्दै हुनुहुन्थ्यो – “आज म आफ्नो छोराको लागि पनि भार भएँ ।… उसले समेत लात हान्यो ….तँ सानो छस्, केही पनि बुझ्दैनस्, हिंड हामी यहाँबाट कहीं टाढा जाउँ …” । बच्चालाई जब जब होस आउँथ्यो, चाँदीको पुतलीको बारेमा सोध्थ्यो । आमा उसलाई भन्नुहुन्थ्यो, “हिंड, हामी नदी पारी जाउँ, त्यहाँ जङ्‌गलमा हामी पुतलीहरु समाउँला ।”

मेरी श्रीमतीले देख्दादेख्दै आमा बच्चालाई लिएर हिंड्नु भयो – लड्दै पड्‌दै । मेरी श्रीमती उहाँको पछिपछि लागी र उसले देखी – बच्चा मेरी आमाको गर्धनमा टाँसिएको थियो।

सामुन्ने नदी आयो। आमा हिंड्‌दै जानु भयो । पानी पिंडौलासम्म, कम्मरसम्म र काँधसम्मै आयो । फेरि टाउकोभन्दा माथि भयो।

मेरी श्रीमती उहाँलाई बचाउन जान सक्थी तर उसले त्यसो गरिन । उसले मलाईबाहेक अरु कसैलाई सुईंकोसम्म दिइन कि आमालाई के भयो । त्यसदिन मलाई थाहा भयो मेरी श्रीमती अहिलेसम्म जति दयावान आइमाई सम्झन्थें, त्यो भन्दा कयौं गुणा बढी दयावान रहिछ ।

०००