तीसको दशकमा नेपाली साहित्यमा यौटा वहस थियो-राजधानीवाद र मोफसलको । राजधानीका साहित्यकार र साहित्यिक प्रकाशनले हेपेजस्तो ठानिन्थ्यो । ठूला समारोह राजधानीमै हुन्थे । राम्रा साहित्यिक पत्रपत्रिका राजधानीमै हुन्थे । तिनले राजधानीकै नाम चलेका वा नवोदितकै रचना छाप्थे । त्यसकारण त्यो आक्रोशको आगोको झिझिल्को निस्केको थियो । राजधानी बाहिरका साहित्यकारहरु आफ्ना रचनाको बिटो बोकेर आउँथे, अनि विभिन्न पत्रपत्रिकामा रचना छरेर जान्थे । अनि कतिपय राजधानीवासी साहित्यकारका हातमा राजधानी बाहिरका साहित्यकारहरु आफ्ना रचना पठाउने पनि गर्थे । मैले नै पोखराका भक्त श्रेष्ठ(त्यतिबेला सरुभक्त भैसकेका थिएनन्), दाङका अमर गिरी, हेटौंडाका भीम विरागका रचनाका बिटा काठमाडौं ल्याएको सम्झना अझै टड्कारो छ ।

तर राजधानी बाहिर पनि साहित्यका केन्द्र थिए । पश्चिममा पोखरा यौटा केन्द्र थियो । नेपालगन्ज अर्को केन्द्र थियो । पूर्वमा विराटनगर र झापा केन्द्र थिए । झापा केन्द्रमा नेपाली भाषी नेपाल भित्र बाहिर चहारिरहने भवानी घिमिरे सबैका दाइ र नेता थिए। झापाको त्यही केन्द्रमा थिए केशव आचार्य, दुर्गा दाहाल, हीरा आकासका साथसाथै कृष्ण धरावासी ।

चालिसको दशकमा महानन्द पुरस्कार समारोह निकै तामझामका साथ सम्पन्न हुन्थ्यो । कार्यक्रम निकै भव्य हुन्थ्यो पुरस्कारको रकम साह्रै न्यून भए पनि । तर देशभरिका साहित्यकारहरु र मेची पारीका साहित्यकारहरु पनि भेला हुने हुँदा समारोहको भव्यता निकै हुन्थ्यो । वि.सं. २०४६ सालको महानन्द पुरस्कार कृष्ण धरावासीलाई दिइने घोषणा भएको थियो र कार्यक्रम दमकमा हुने भयो । सो कार्यक्रममा भाग लिन म पनि पुगेँ दमक । प्रमुख अतिथि कमल दीक्षितको हातबाट उनले पुरस्कार ग्रहण गरे । मैले भोज ख्वाउनुपर्छ भनेर जोड गरेँ र साँझ दमकको सारामती होटलको भित्री कोठामा भिक्टर प्रधान, सीता पाण्डे, म र धरावासी खाजाका लागि बस्यौँ । माछासहितको खाजा र बियर पनि मगायौँ । धरावासीले आतिथि सत्कार भनौँ या महानन्द पुरस्कारको भोज ख्वाए । तर उनको त्यतिबेलाको आर्थिक स्थिति त्यसरी खर्च गर्ने खालको थिएन भन्ने चाहिँ धेरैपछि मात्र थाहा भो । फेरि उनी मदीराबाट पनि टाढा थिए । तर त्यो साँझ गरिएको रमाइलो भने अविष्मरणीय नै रह्यो ।

धरावासी कविता लेख्थे । कथा लेख्थे । निबन्ध लेख्थे । समीक्षा समालोचना लेख्थे । तर उनको पहिलो प्रकाशित पुस्तक हुने सौभाग्य भने निबन्ध सङ्ग्रहले पायो-“बालक हराएको सूचना” । उनी “बालक हराएको सूचना” को विमोचनका लागि काठमाडौं आएका थिए । कृषि आयोजना सेवा केन्द्रमा साहित्यिक कार्यक्रम गर्ने उपयुक्त थलोका रुपमा मौलाइरहेको बेलामा उनको पुस्तक विमोचन पनि त्यहीँ भएको थियो । तर त्यसअघि नै उनीसँग मित्रताको जग बनिसकेको थियो । बेला बखत काठमाडौं आउँदा हाम्रो भेट हुन्थे । एकपल्ट उनी काठमाडौं आउँदा एकेडेमीमा भेट भो । उनले मलाई खुसुक्क कानमा भने, ‘बाहिर गएर एक कप चिया खाउँ, तपाईंसँग जरुरी कुरा छ ।’

कमलादी गणेशस्थानमा रहेको छिँडीको काली साहुनीको चिया पसलको बेञ्चीमा बसेर चिया अर्डर गरिसकेपछि उनले साउतीको स्वरमा भने, “गोविन्दजी ! तपाईंका मिल्ने देखिएका साथीहरुले तपाईंको कुरा काट्दा रहेछन् ।”

त्यसछि मैले मुसुक्क हाँस्दै भनेको थिएँ, ” मेरा साथीहरुमा २५ प्रतिशत मेरा पक्षधर छन्, सकारात्मक छन्, २५ प्रतिशत पूरै नकारात्मक छन् । ५० प्रतिशत चाहिँ मेरो अघि ठिक्क पर्छन्, मेरो पिठ्यूँपछि कुरा काट्छन् । मलाई यो सब थाहा छ ।”

मैले यति भनिसकेपछि उनले लामो सास फेरेका थिए ।

यो बेग्लै कुरा हो, त्यो अवस्था अहिले पनि लगभग त्यस्तै छ ।

खासमा उनको “बालक हराएको सूचना” निबन्ध सङ्ग्रहले काठमाडौंमा अलिअलि हल्ला चलाएकै हो ।

झापाबाट काठमाडौं आएर त्यति हल्ला चलाउन सक्नु पनि त्यतिबेला ठूलै कुरा थियो । तर जब उनको “उत्तम जङ सिजापतिको आलु” निबन्ध प्रकाशित भयो, त्यसले सारा संसारको ध्यान तान्यो । ध्यान तान्नु स्वाभाविक यसकारण थियो कि विषय पनि ध्यान तान्ने खालको थियो र त्यसको शैली र प्रस्तुति पनि त्यत्तकै आकर्षित गर्ने खालको थियो । उनी जुझारु लेखक भइसकेका थिए । मोफसलमा बसेर राजधानीको ध्यान तान्न सफल हुँदै गएका थिए ।

अब के को मोफसल र राजधानी वाद, केही छैन । तर त्यतिबेला थियो । कृष्णभूषण बल पनि काठमाडौं हल्लाएर विराटनगर फर्किसकेका थिए । पोखराबाट विजय, तीर्थ, भक्तले हल्लाइरहेका थिए । झापाबाट धरावासीले हल्लाउन थाले । उनका पाठक बढ्न थाले । विशेषतः लीला लेखनको बाटो समातेपछि उनी चर्चाको उँचाईंमा पुगे । वि.सं. २०५३ सालमै उनको “लीला लेखन” समालोचना पुस्तक प्रकाशित भयो । यसले उनलाई इन्द्रबहादुर राईको नजिक पुर्यायो । तदुपरान्त “लीला लेखक” कै रुपमा अघि बढे, आजपर्यन्त त्यसलाई छाडेका छैनन् ।
झापामा एकपल्ट “भोक कविता” आन्दोलन सुरु भयो । केही समय झापाली कविहरुले भोक कविता आन्दोलनको झण्डा बोकेर “भोक कविता” लेखन गरे । कृष्ण धरावासी पनि त्यस आन्दोलनमा संलग्न भए ।

वि.सं. २०५३ सालदेखि उनको साहित्यिक फलिफापको वर्ष सुरु भयो । यसै साल राष्ट्रिय प्रतिभा पुरस्कार पाउन सफल भए । वि.सं. २०५४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित उनको निबन्धसङ्ग्रह “नारी भित्र त्यस्तो के छ हजुर ?” निबन्ध सङ्ग्रहले उत्तम शान्ति पुरस्कार पायो । त्यो साल मेरो “फेरो” नियात्राले त्यो पुरस्कार पाउने निकै हल्ला थियो । तर पुरस्कार उनको पोल्टामा पर्यो । वि.सं. २०५६ सालमा युवा वर्ष मोती पुरस्कार त वि.सं. २०५७ सालमा विराटनगरको प्रतिभा पुरस्कार हात पारे । यो पुरस्कारको सिलसिलाको उत्कर्ष उनले वि.सं. २०६२ सालमा “राधा” उपन्यासका लागि मदन पुरस्कार पाए ।

तर २०६२ साल उनका लागि अनिष्ट पनि बोकेर आएको रहेछ । उनको “लीलावादी लेखनमाथि” आक्रमण भयो । इन्द्रबहादुर राईको लीलालेखनको विरुद्धमा नेपालका विशेष गरी काठमाडौंमा रहेका साहित्यकारहरुको जमातले सुनियोजित रुपमा उनलाई आक्रमण गरेको र दृष्यमा डां .गोविन्दराज भट्टराई रहेको उनको बुझाइ थियो । जसको प्रतिवाद स्वरुप उनले “पाठकको अदालतमा” पुस्तकै छपाए र प्रकाशित ५०० प्रति पुस्तक ५०० लेखक कविहरुको घरघरमा निशुल्कः होम डेलिभरी गरेर पठाए । यस्तो प्रकारको घटना नेपाली साहित्यमा पहिलो थियो । डा. गोविन्दराज भट्टराईको लेखनले आहत भएर उनले यो काम गरेका थिए ।

उनले लीला लेखनको दर्शनलाई वि.सं. २०५६ सालमा प्रकाशित उपन्यास ”शरणार्थी” मा पूर्ण रुपले प्रयोगमा ल्याए । यो उपन्यासले निकै प्रसंशा पायो पाठक अध्येताबाट । इन्द्रबहादुर राईको “जयमाया लिखापानी आइपुगी” कथाकी जयमायाबाट उठान गरिएको यो उपन्यासलाई विनिर्माण उपन्यास पनि भन्न सकिन्छ । जे होस्, यो उपन्यासमा पाइने मानवीय समवेदना र प्रयोग दुवैले पाठकको ध्यान तान्यो ।

“शरणार्थी”लाई पछ्याउँदै आएको “पाण्डुलिपि” उपन्यासले पाठकवृद्धिमा उल्लेख्य काम गर्यो । उनले उपन्यास भने पनि यो “आत्मकथात्मक” उपन्यास हो । नभए आत्मकथा नै भन्दिए पनि हुन्थ्यो । तर उनले उपन्यास भने र उपन्यासकै रुपमा स्वीकारेको देखियो । उनको लेखनमा “रुवाबासी” यही उपन्यासबाट मौलाएको हो । जसको उत्कर्ष “पाण्डुलिपि” सम्म विस्तारित भयो । मानिसहरु “रुवावासी” नै रुचाउँदा रहेछन् । खासमा मानवीय समवेदनालाई मिहिन ढङ्गले अभिव्यक्त भएका र उनको जीवनको अति निकट घटित भएकाले मानिसहरुले रुवाबासी भन्दिएका हुन् । तर रुवाबासी नै भन्दिए पनि के भो त, त्यसैले पाठकको मन जित्यो । कसको के लाग्छ ?

उनको लेखनको उठान विन्दु, विकास र उत्कर्ष झापामै मोफसलवादी हुँदा नै भएको हो । उनले उत्तम शान्ति पुरस्कार र मदन पुरस्कार मोफसलमै छँदा हात पारेका हुन् । तर धरावासी पनि अन्ततः काठमाडौं बसाईं सरेपछि मोफसलवासीबाट राजधानीवासी भए र मोफसलवाद र राजधानीवादको प्रसङ्ग पनि पाखा लाग्यो । अझै उनी अमेरिका आएपछि त मोफसलवाद कहाँ पुग्यो, पुग्यो । तर धेरै साहित्यकारहरुको नजरमा र धेरै पाठकहरुको नजरमा उनको झापाली मोफसलवादी छवि अझै जीवन्त छ ।

धरावासी सिद्धान्तले प्रजातान्त्रिक हुन्, जसले उनलाई गैरसाहित्यिक पुस्तकहरू लेखायो । सम्पादन गरायो । त्यसले उनलाई साहित्यिक फाइदा भयो । उनको साहित्यिक लेखनलाई विस्तारित गर्न सहयोग नै पुर्यायो । उनले सिके प्रसाईंको जीवनी लेखे , उनका विचारहरुको पुस्तक सम्पादन गरे । राष्ट्रिय प्रतिभा गंगानाथ बास्तोला कृति सम्पादन गरे । विशेष गरी झापाकै प्रतिभामा केन्द्रित प्रतिभालाई उनले लेखनको विषय बनाएका थिए ।

उनले निकै महत्वपूर्ण साहित्यिक महत्त्वका कृतिहरु सम्पादनका कामहरु पनि गरे । दिवङ्गत कवि जीवन आचार्यको सम्पूर्ण रचना सहितको ग्रन्थ सम्पादन गरे । इन्द्रबहादुर राईको स्मृतिमा पनि ग्रन्थ सम्पादन गरे । वैरागी काईंलामाथिको ग्रन्थ पनि सम्पादन गरे । यी सबै बृहताकारका महत्त्वपूरण ग्रन्थ हुन् ।

धरावासी निस्कृय नहुने र जोधाहा भएर एकोहोरो लाग्ने प्रतिभा हुन् । उनले लीला लेखनमाथि चर्चा र विश्लेषणको लामै श्रृङ्खला चलाए फेसबुक लाइभमा । उनी जहाँ पुगे त्यहाँको कि नियात्रा लेखे, नभए उपन्यास लेखे । रुस पुगे, रेड स्क्वाएर लेखे, जर्मन पुगे, गेस्टापो लेखे, अमेरिका पुगे ग्रेटफल्स लेखे, तल्लो बाटो लेखे । यस्तो लाग्छ उनी साहित्य लेख्नैका लागि जन्मेका हुन् ।

अमेरिका आए । उनको चर्चा भो । अमेरिकाबाट फर्किए चर्चा भो । राधा उपन्यासलाई अङ्ग्रेजीमा अनुवाद गराएर अमेरिकाबाट प्रकाशित गरे र लामै समय त्यसको प्रमोशनमा लागे चर्चा भो । अहिले फेरि अमेरिकामा छन्, कतिलाई उनी नेपालै छन् जस्तो लागिरहेको छ । हालै भूटानीहरुको २ वटा साहित्यिक अनुष्ठानमा संलग्न भए । यौटा अनुष्ठानमा त हामी साथै थियौँ । मलाई के कुरामा रमाइलो लाग्यो भने डा. गोविन्दराज भट्टराईको लेखले आहत भएर प्रतिवादमा ‘पाठकको अदालतमा” पुस्तकै लेख्ने धरावासी र डा. भट्टराई सँगै बसेर कुरा गर्दा, मञ्चमा बोल्दा त्यो घटना भएजस्तै लाग्दैनथ्यो । उनीहरु एक अर्कालाई सम्मानजन्य सम्बोधन गर्दै एक अर्काले साहित्यको क्षेत्रमा गरेका कामका तारिफ गर्दै थिए, मञ्चबाटै । साहित्यमा असहमतीका बुँदा यथावत राखेर सहमतीमा सौहार्द्रपूर्ण भएर कसरी सामाजिक हुन सकिन्छ, यो बेजोडको ज्वलन्त दृष्टान्त मानेँ मैले ।

उनको कथा “झोला” प्रकाशित भएपछि चर्चा त भएको हो तर ठूलो पर्दाको फिल्म बनेपछि भने निकै नै चर्चामा आयो । हुन त उनी झोला बोकेरै हिँड्थे, तर “झोला” फिल्म बनेपछि उनको परिचय नै “झोला” बन्यो र जहाँ जाँदा, जहिले पनि “झोला बोकेरै हिँड्न थाले । झोलालाई नै प्रतीक बनाए । परिचय बनाए । अमेरिकाका विभिन्न राज्य र सहरहरुमा झोला बोकेर “झोला” को प्रदर्शन गर्दै हिँडे । उनको पनि छोटो अभिनय छ त्यसमा । यो सफल फिल्म बन्यो । निर्माता पनि दङ्ग परे । लेखकस्व पनि गतिलै पाए । “झोला” को सफलताको उत्साहमा तिनै निर्देशक निर्माताले उनलाई अर्को फिल्म लेख्न लगाए । उनले तराईको समस्यामा केन्द्रित “भोर” लेखे । त्यसको फिल्म बन्यो । तर आशातीत सफलता पाउन सकेन । “झोला” फिल्म युट्यूवमा एक करोडले हेरेको देखिन्छ । यो ठूलो रेकर्ड हो । सम्भवतः कुनै पनि नेपाली लेखकको साहित्यिक कृतिमाथि बनेको फिल्मले यति धेरै दर्शक पाएको यो कीर्तिमानी “फिल्म” हो ।

“झोला” कथाको रुपमा लेखिएको थियो, प्रकाशित भएको थियो । तर “भोर” फिल्मकै लागि लेखिएको थियो । यी दुई फिल्मको सफलता असफलताको कारण यही पो हो कि ?

आजकाल धरावासीले “झोला” बोक्न छाडेका छन् ।