सिक्किममा लामो समय मुख्यमन्त्री पदमा आसिन नरबहादुर भण्डारी नेपाली भाषा साहित्यलाई प्रवर्धनका लागि मरिमेट्ने व्यक्ति थिए । उनकै नेतृत्व र राजनैतिक एवम् कुटनैतिक पहलमा भारतको संविधानको आठौं अनुसूचिमा नेपाली भाषालाई समेटेर भारतमा नेपाली भाषाले औपचारिक मान्यता पाएको थियो । उनलाई यही योगदानकै कारण नेपालको प्रतिष्ठित जगदम्वाश्री पुरस्कारले सम्मानित गरिएको थियो । उनीसँग वि.सं २०५५ सालमा सिक्किम भ्रमणको अवसरमा यो अन्तरवार्ता उनकै पार्टीको अफिस संग्राम भवन, सिक्किम, गान्तोकमा लिइएको थियो । दिवङ्गत कवि एवम् बगर पत्रिकाका सम्पादक मित्र नकुल सिलवाल पनि सो अन्तरवार्ताको क्रममा साथै थिए ।

नेपाली भाषाले मान्यता पाउनु अघि नेपाली भाषाप्रति तमाम भारतीय नेपालीहरुप्रति उत्साह र उमंग जुन थियो त्यो चाहिँ मान्यता पाएपछि सेलाउँदै गएजस्तो देखिएको छ, यहाँलाई कस्तो लाग्छ ?
नेपाली भाषालाई संवैधानिक मान्यता दिनुभन्दा अगाडि, स्वाभाविक हो, मानिसमा कुनै कुरा पाउनुभन्दा अगाडि धेरै उत्सुकता रहन्छन् र पाएपछि मानिसमा जोश अलिकति कम हुन्छ । तर भए तापनि सैद्धान्तिक हिसाबले हेर्दाखेरि भाषाले मान्यता पाएपछि भारतीय नेपालीहरुमा विशेष संवैधानिक मान्यता पाउनु नै नागरिकको पहिचान पनि हो । अब नेपाली राष्ट्रिय परिषदको तर्फबाट हेर्दाखेरि जब नेपाली भाषाले मान्यता पायो, पाएपश्चात् त्यसको असर भारतका विभिन्न राज्यमा परेको नै छ । जस्तो उत्तरपूर्वी राज्यहरुमा नेपालीहरुमाथि जुन अन्याय र अत्याचार थियो, विदेशी हुन् भनेर उहाँहरुलाई धपाइन्थ्यो, पुलिस चेकपोष्टहरुमा सताइन्थ्यो, धेरै कम भएर गएको छ । अब विशेष गरिकन त्यो एउटा खुशीको कुरा छ, अर्कोचाहिँ केन्द्र सरकारले पनि अब नेपाली भाषालाई अगाडि बढाउन सबै प्रकारको कोसिस गरिरहेको छ । हो, समस्त भारतीय नेपालीहरुमा यो नेपाली भाषालाई मान्यता पाएपश्चात् कसरी अगाडि लानुपर्ने त्यसमा अलिकति शिथिलता चाहिँ आएको छ ।

नेपाली भाषालाई संवैधानिक मान्यताको लागि यहाँले जुन किसिमले अगुवाई गरेर योगदान दिनुभयो त्यसलाई मानिसहरुले बिर्सेजस्तो अनुभव भएको छ कि छैन ?
नेपाली भाषालाई संवैधानिक मान्यता दिनका लागि सामूहिक नेतृत्व थियो , व्यक्तिगत होइन । हामी सबै मिलेर नै गरेका थियौं । ४० वर्ष अघिदेखिको यो जुन अभियान थियो, त्यो अभियानलाई सिक्किमले टेवा लगाएको मात्रै हो । यसलाई व्यक्तिगत नेतृत्व भन्न सकिँदैन । सामूहिक हो । जसले गर्दा सफलता प्राप्त भयो पनि । र सिक्किमको दृष्टिकोणबाट हेर्दाखेरि नेपाली भाषाले मान्यता पायो, संवैधानिक मान्यता पायो, त्यसको विशेष खुशीयाली सिक्किममा देखिएन । हुनसक्छ, नेपाली भाषा दरवारिया भाषा थियो सिक्किममा, सिक्किम यौटा देश थियो, देशको यौटा दरवारिया भाषा भनेको सरकारी भाषा भएकोले यो भारतको संविधानमा गाँसिँदा उस्तो फरक देखिएन ।

नरबहादुर भण्डारी

यहाँको साहित्यिक दिनचर्या आजकाल कस्तो छ ?
नेपाली भाषा प्रेम भन्ने कुरो अनि नेपाली भाषा साहित्यमा टेवा भन्ने कुरो कारणवश सधैं सुचारु रुपले गर्न पाइन्दैन । तर भाषाप्रतिको प्रेम भन्ने कुरा त कहिल्यै मर्दैन जिन्दगीमा । अहिले मेरो कामै त्यस्तो, यहाँको राजनैतिक स्थिति राम्रो छैन र जनतामा धेरै वर्ष सरकारमा बसेकोले गर्दा, राजनीतिमा मुछिएकाले गर्दा कति घटनाक्रममा म सामेल हुनुपर्ने हुनाले भाषा साहित्यप्रति मेरो जुन अभिरुचि थियो, त्यति सुचारु रुपले हात हाल्न पाइरहेको छैन ।

तपाईं मुख्यमन्त्री हुन्जेलसम्म अर्चना प्रकाशनमा आएको थियो, मुख्यमन्त्री नरहेपछि त्यसको प्रकाशन गर्न बिर्सेजस्तो छ नि ?
अर्चनाको प्रकाशन म मुख्यमन्त्री हुनुभन्दा पहिलादेखि भएको हो अनि अर्चना मात्रै होइन अरु पनि पत्रपत्रिकाहरु, जस्तोः आजको सिक्किम, हाम्रो पुकार, जस्ता पत्रपत्रिकाहरु अगाडिदेखि नै चलाएर आएको हो । तिनीहरुमध्ये अर्चना पनि एक हो । र अहिले मैले पार्टीकै मुखपत्र ‘सिक्किम बोल्छ’ चलाउनु परेकोले केवल मेरो मन अर्कोपट्टि ढल्केको मात्रै हो । अब त्यो भाषा साहित्य सेवामा म पछि परेको छैन ।

गोविन्द गिरी प्रेरणा

यहाँलाई नेपाली भाषा साहित्यको लागि जगदम्वाश्री पुरस्कार दिइयो, त्यो सुरुमा अस्वीकार गर्नुको कारण के थियो होला ?
नेपाली भाषा साहित्यको सेवा गर्यो भन्ने एक पक्ष हो र अर्कोपट्टिबाट नेपाली भाषालाई सैवैधानिक मान्यतामा संघर्ष गरे भन्ने अर्को पक्ष हो । यी दुवै पक्षलाई लिएर हेर्दाखेरि जुन चाहिँ जगदम्वाश्री पुरस्कार दिइने निर्णय लिइयो समितिवाट, त्यसलाई मैले अस्वीकार गरेको थिइनँ । वास्तवमा जब नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचिमा नपरेसम्म कुनै पुरस्कार लिँदिनँ भनेर यौटा अडान लिएको मात्रै हो ।

त्यसको लागि कतैबाट कुनै दबाव परेको वा अरु कारण त थिएन ?
त्यसमा अलिकति मन दुख्ने कारण पनि थियो । एउटा त मुख्य लक्ष्य थियो भारतको संविधानमा नेपाली भाषालाई मान्यता दिलाउने, त्यो लक्ष्यमा हामी पुगेका थिएनौं । त्यसले गर्दा हो । अर्को प्रवासी नेपाली भन्ने शब्द लाउँदाखेरि पनि मैले त्यो पुरस्कार थाप्नमा ढिलो गरेको हुँ ।

यहाँ मुख्यमन्त्री हुँदाखेरि साहित्यकारहरु त यहाँको वरिपरि प्रशस्त थिए होलान् । अहिले छैनन् कि ? यो स्थिति कस्तो लाग्छ ?
साहित्यकारहरु, भाषाप्रेमी जो जति हुनुहुन्थ्यो उहाँहरु अहिले पनि हुनुहुन्छ । दुःख लाग्छ, नेपाली साहित्य जगतमा, भाषामा त्यति कृयाशील साहित्यकारहरु पनि हुन्छन्, जसलाई उखानमा भनिन्छ, ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै तेरी ।’ साहित्यकारहरुले पनि त्यस्तो भूमिका खेलेको सिक्किममा पाइयो । कतिपय साहित्यकारहरु छन्, भाषाप्रेमीहरु छन्, जसले म सत्तामा हुँदा मेरो विषयमा धेरै कुरा लेखे र म सत्ताबाट गएपछि लेखेको होइन, लेखाइएको हो भन्ने दोषहरु पनि पढ्नमा आयो । दुःख लाग्छ, म सरकारमा छँदा जति पनि लेखकहरुलाई अगाडि बढाउनका लागि जुन टेवा लगाइएको थियो, त्यो गुन त देखेनन् ।

राजनैतिक व्यस्तता भए पनि केही अध्ययन त गर्नुहुन्छ नै होला । अहिलेको सिक्किमको साहित्य लेखन कस्तो छ जस्तो लाग्छ ?
साहित्यको परिधिमा बसेर हेर्दाखेरि कुन प्रकारले सिक्किममा नेपाली भाषा मान्यताको अघि र त्यसको लगत्तै पछाडि जुन प्रकारको जोश र उमंग सिक्किममा थियो , त्यो अहिले सेलाएको देख्दैछु । विशेष गरिकन सिक्किमका पत्रपत्रिकाहरु निस्कन्छन्, यी पत्रपत्रिकाहरु पनि स्वार्थी ढाँचामा निस्कन्छन् र विशेष सिक्किमका पत्रपत्रिकाहरु कति अश्लिल ! यो प्रकारको पत्रपत्रिकाहरु प्रकाशनमा आएकोले गर्दा जनतामा खल्लो हुनु स्वभाविक हो । साहित्यिक पत्रपत्रिकाहरु प्रकाशमा आएका निकै कम देखिन्छ र एकाध लब्ध प्रतिष्ठित लेखकहरु छन् जसले समसामयिक कृतिहरु प्रकाशमा ल्याएको देख्दछौं । तर जुन प्रकारको जोश पहिला थियो, त्यो अहिले सिक्किममा छैन ।

यहाँले साहित्यिक जोशको कुरा गर्नुभयो, तर सिक्किममा जोशभन्दा पनि केही सीमित मात्रामा आफूलाई साहित्यकार भनाउन साहित्य लेखेर एकाध पुस्तक प्रकाशित भैसकेपछि त्यो क्षेत्रबाट पलायन हुनेजस्तो, साहित्यकार भनाउन चाहने तर समर्पण भने नभएको भनिन्छ नि ?
अहिलेको विशेष परिस्थितिलाई दाँजेर हेर्दाखेरि सिक्किमेहरु अध्यात्म सुख त्यागेर भौतिक सुखतिर लागेका देखिन्छन् । जब लेखकहरुले नै भौतिक सुखको सपना देख्न थाले भने त्यहाँ साहित्यिकताको कमी पाइन्छ र सिक्किममा यस्तो प्रकारको भौतिक सुख र सामाजिक उछृखंलता आइरहेको छ । सिक्किममा धन सम्पत्तीको भ्रष्टाचार नभएर मानवताको भष्ट्रचार देखिन्छ । यस्तो मानवताको भष्ट्रचार भैरहेको वेलामा सायद ती लेखकहरुले पनि लेख्ने प्रेरणा पाएका छैनन् । यहाँ अहिले सिक्किमको परिवेशमा वालकृष्ण समकै भनाई दोहोर्याउन मन पर्छ, ‘सिक्किम एउटा ठूलो समाज हो, झ्याँगिएको देखिँदैछ तर भित्र धोद्रो परेको शंका होइन पक्का छ ।’

नेपालको नेपाली साहित्य र सिक्किमको नेपाली साहित्यबीच जुन पुल बाँधिनु पर्थ्यो त्यो अहिले आदानप्रदान नभएजस्तो लाग्दैन ? यसको समाधान के होला ?
जतिबेला सिक्किम संग्राम परिषद् पार्टीको सरकार थियो, त्यतिबेला हामीहरुले संसारमा न धर्मको सिमाना हुन्छ, न त भाषा साहित्यको सिमाना हुन्छ भन्ने सोचेर अघि बढ्ने प्रयत्न गरेका थियौं । झन् नेपाली भाषा त राष्ट्रिय नेपाल अधिराज्यको मात्र भाषा नभएर अन्तरराष्ट्रिय भाषा भएकोले जति पनि नेपाली जगतमा हाम्रो नेपाली भाषा साहित्यको माध्यमबाट धेरै काम गरौं भनेर हामीले सोचेका थियौं । हामीहरुले ‘सुनचरी’ नामक दैनिक पत्र निकालेर सारा नेपाली जगतमा पुर्याउने, एउटा सेतुबन्धनजस्तो हामीले सम्झेका थियौं । त्यो पनि साकार हुन सकेन । सुनचरी पत्रिका चलिरहेको छ, त्यसको उद्देश्य पूरा हुन सकेन । तर अब भारतीय नेपालीहरु साहित्यको क्षेत्रमा नेपाल अधिराज्यबाट धेरै आशा गर्दछौं । तर जुन प्रकारको सम्बन्ध राख्नुपर्थ्यो, दार्जिलिंगदेखि काठमाडौंसम्मको उत्तरपूर्वमा भएका सबै भारतीय नेपालीहरुलाई समेटेर सम्बन्ध राखेर एउटा ठूलो नेपाली समाज बनाउने जुन हाम्रो विचार थियो, त्यो विचार अझै पनि छ र अहिले बीचमा अलिकति अल्मलिएको छ । समयको क्रममा त्यो पूरा गर्ने हामी सिक्किमबासीले सोचेका पनि छौं । नेपाल अधिराज्यका जति पनि महानुभावहरु हुनुहुन्छ, लेखकहरु हुनुहुन्छ, उहाँहरुले हामीलाई त्यो प्रेरणा दिनुहुन्छ भन्ने आशा छ ।

यहाँले पछिल्लो समयमा पढ्नु भएको कुनै नेपाली पुस्तकको सम्झना छ ?
अहिले नेपाली पुस्तक भनेर त्यसरी पढिएको छैन । जति पनि मलाई सप्रेम भेटसहित पुस्तक पत्रिकाहरु आइरहेको छ, त्यो हेर्छु । तर अहिले झण्डै झण्डै एक वर्षजस्तो कुनै पनि पुस्तक आद्योपान्त पढ्ने मौका पनि पाएको छैन । सानु लामाज्यूका यौटा नयाँ कृति आएछ, त्यो बेला बेला पढ्दैछु । त्यो साँच्चैको पढ्न योग्य छ । अहिलेको जमानामा यौटा अनुभव मन्थन गरेर लेख्नु भएको छ ।

तपाईंको नेपाली साहित्यकारहरुसँग निकटतम् सम्बन्ध थियो । हाँस्यव्यंग्य टोली पनि निम्त्याउनु भएको थियो । त्यसबेलाको घतलाग्दो कुनै घटना छन् कि ?
हामीहरुले सरकारमा हुँदा धेरै प्रकारको भेटवार्ता गर्ने चाँजो मिलायौं । यस्तो चाँजोहरु मिलाउँदाखेरि हामीहरु नेपाली भाषालाई संवैधानिक मान्यताको गोरेटोमा लैजान अघि बढिरहेका थियौं । यो निहुँमा पनि हामीहरुले धेरै साहित्यकारहरु, विद्वान् विदुषीहरुसित पनि सम्पर्क राख्यौं । भेटघाट पनि भयो । उहाँहरुबाट आशिर्वाद पनि मिल्यो । प्रेरणा पनि पायौं । ती दिनहरु सम्झेर ल्याउँदा सिक्किममा धेरै त्यस्ता कार्यक्रमहरु भए पनि । सबैसित भेटघाट हुने मौका पनि भयो । नेपाली भाषाले संवैधानिक मान्यता पाइसकेपछि यौटा गोरेटो त त्यहीं नै बन्द भएजस्तो लाग्छ । किनभने यौटा निहुँ हुनुपर्ने रहेछ । यौटा कुनै माध्यम हुनुपर्ने रहेछ । त्यस माध्यमबाट भेटघाट हुने, बातचित हुने, धेरै बहसहरु गर्ने, तर्कहरु गर्ने समय पनि पाइँदोरहेछ । त्यो अहिले सिक्किममा नभैरहेको स्वीकार्नै पर्छ ।

सिक्किम साहित्य परिषद् जुन उद्देश्यले स्थापित भएको थियो, त्यो पूरा भएजस्तो लाग्छ ?
म सरकारमा भएदेखि नै मेरो मनमा खट्केको एउटा विचार छ । सिक्किम साहित्य परिषदको भवन निर्माण भयो । सिक्किम साहित्य परिषदको जग बसालियो । यी विषयहरुचाहिँ साहित्यिक महारथीहरुले गर्नुपर्ने कुरा हो । यस्तो चोखो विषयका संस्थानहरुमा जब राजनीतिज्ञको हात पस्छ, तब यो सुचारु रुपले आफ्नो उद्देश्यमा अघि बढ्न सक्दैन । किनभने राजनीतिज्ञहरु त कुनै स्वार्थ लिएर आएका हुन्छन् । र उहाँहरु आफ्नो अवधिसम्म बस्छन् र अवधिपश्चात् फेरि अर्को राजनीतिक दलको भूमिका हुन्छ । त्यसले गर्दाखेरि यी महान संस्थानहरु जहाँ जति खोलिएका छन्, राजनीतिज्ञको हात परेपछि तिनले सफलता पाउँदैनन् । सिक्किम साहित्य परिषदमा पनि यही भएको देख्दैछु । त्यसो हुनाले चहिँ यो सुचारु रुपले अघि बढ्दैन । त्यसैले जति पनि धार्मिक संस्थानहरु छन् तिनलाई त्यही दिशाका महारथीहरुलाई जिम्मा लगाउनु पर्छ तब मात्र सफलता प्राप्त हुन्छ ।

यहाँले समय पाउनु भएपछि सबैभन्दा पहिले के लेख्ने इच्छा छ ?
मैले केही समय पाएपछि होइन, मैले समय पाउनै पर्छ । म सिक्किमको यथार्थ राजनीति के हो ? त्यो लेखेर भावी पिंढीको लागि छाडेर जान चाहन्छु ।