घरभरि राम्रा फूल रोप्नुपर्ने रै’छ।
कहिलेकाहीँ मनको बह पोख्नुपर्ने रै’छ।
जल र मल साथ भए फूल फूल्ने रै’छ।
रूखिएको माटो भए फूल गल्ने रै’छ।

भगवान्ले भन्छन् अरे: फूल चढाइदेऊ।
मलाई पनि अरूभन्दा अघि बढाइदेऊ।
रमाउँछ तन, मन हेर्ने बेलासम्म।
कसैलाई थाहा हुन्न झर्ने बेलासम्म।

ओसेपमा फुले पनि, घाममा फुले पनि।
मुस्कुराउँछ जहाँ आउँछ, जेमा भुले पनि।
मर्दापर्दा जे पर्दा नि चढाइँदो रै’छ।
किताबमा फूल चढाई पढाइँदो रै’छ।

जसले गर्छ स्याहार-सुसार बेलाबखतमा।
उसले फूल टिप्न, हेर्न पाउँछ फगतमा।
दुःख-बिमार पर्दा अनि हर्षबढाइँ गर्दा।
फूल चाहिने रै’छ हजुर, सम्मान गर्नुपर्दा।