युध्दबन्दी

मूलः एमेलिन स्तानेफ
अनुवादः गोविन्द गिरी प्रेरणा

 

बगैंचामा फलफू‌ल लटरम्म फलेका थिए । कर्णेललाई फलफूलको ठूलो शौख थियो। बस्तीका मानिसहरू भोकभोकै मरिरहेका थिए। युध्दबन्दीहरू पनि खुराकको लागि आत्तिन्थे । कर्णेललाई सधैं फलफूल चोरी हुने आशङ्‌का लागि रहन्थ्यो । फलामे बारले बारेको बगैंचामा कर्णेलले यस्तो घण्टी राखेको थियो- कोही बगैंचामा पस्न खोज्नेबित्तिकै टाढा बाँधिएको घण्टी आफैँ बज्न थाल्थ्यो। अनि अर्दली तुरुन्तै दौडिन्थ्यो ताकि कसैले बगैंचामा पसेर फलफूल चोरेर लैजान नपाओस् ।

सधैं मध्याह्नमा अर्दली विरुवाहरू‌को लागि पानी लिन जान्थ्यो । पानी नजिक पाइन्नथ्यो । अर्दलीलाई पानी लिन टाढा जानु पर्दथ्यो। यसको लागि घण्टौं लाग्थ्यो। त्यतिबेला कर्णेलकी स्वास्नी त्यहाँ एक्लै हुन्थी।

कर्णेल्नी लीजा एक्लै बसेर आफ्नो सम्पूर्ण समय सिउने काममा अथवा अध्ययनमा बिताउँथी। ऊ एउटी राम्री स्त्री थिई। उसका ठूला ठूला आँखामा धमिलो उदासीको बादल मडारिइरहेको हुन्थ्यो । कहिले कहिले उसको अनुहारमा यस्तो भाव उदाउँथ्यो, जसले प्रकट गर्थ्यो- ऊ जवान युवती हो … तर दुःखी छे ।

लीजा राम्रो परिवारसँग सम्बन्ध राख्दथी तर गरीवीले उसका आकाङ्‌क्षाहरू कुल्चिदिएका थिए। यसै कारण उसले बूढो कर्णेलसँग बिहा गरेकी थिई । तर बिहापछि जब उसको जीवन बेचैन दिन र निरस रातका करुणाजनक कथा बन्यो र उसको कोख पनि बाँझो नै रह्यो तब उसले सोच्न शुरु गरी अब उसको जीवन सोख र खुसियालीबाट सधैं खाली रहनेछ र यसको लागि ऊ स्वयं जिम्मेवार छे, किनभने उसले जीवनका झूटा सुविधाहरूका लागि आफ्नो सौन्दर्य र यौवन एउटा बूढो कर्णेलको हातमा लिलाम गरिदिएकी थिई ।

दिउँसोको समय थियो, बाँझो र सुख्खा जमिनमा रुखका छाया कुनै युध्दमोर्चाको झण्डाझैं लाग्दथ्यो। लीजा बरण्डामा बसेकी थिई। कर्णेल भर्खरै बाहिर गएको थियो, अर्दली पानी भर्न गएको थियो, लीजा एक्लै थिई । अचानक घण्टी बजेको आवाज सुनियो। एकपल्ट, दुईपल्ट, फेरि तीन पल्ट… उसलाई डर लाग्यो । दिउँसो मण्डलमै को होला जो कर्णेलको बगैंचामा चोर्न आयो । उसले सोची- शायद कुनै कुकुर होला । ऊ बगैंचातिर लागी । सँगैको घरको मास्टरले पनि घण्टीको आवाज सुनेको थियो । ऊ पनि उठेर बगैंचामा आयो। आवश्यक परे मद्दत गरुँला भन्ने हिसाबले । घरमा लीजाको सुनौलो कपाल नयाँ असर्फीझैं चम्किरहेको थियो । उसले पहेंलो रङको रेशमी गाउन लगाएकी थिई, उसको हिंडाइले उसको मानसिक व्यग्रताको झल्को दिइरहेथ्यो । मास्टर उसको पछिपछि थिए, लीजा बगैंचाको रुखको भ-याङ‌तिर जाँदै थिई । .. अचानक मास्टरले उसको सानो चिच्याहट सुने।

एउटा युवक बन्दी उसको सामुन्ने थियो । उसले आफ्नो टोपीभरी आरु भरेको थियो । उसका फाटेका लुगाले शरीरका अङ्गहरूलाई चियाउन मद्दत गरिरहेका थिए। उसले चूपचाप लीजालाई हेरिरह्यो र बडो आनन्दपूर्वक भन्यो- “म लज्जित छु, भोकको कारण म बगैंचामा पसें ।” उसको आवाज मधुर र मसिनो थियो। मास्टरले देख्यो – लीजा युध्दबन्दीसँग प्रभावित भइरहेकी छ।

“तिमी भोको छौ ?….आऊ मसँग!”

युध्दबन्दी र मास्टर चूपचाप उसको पछि लागे। लीजा घरभित्र पसी। ऊ फर्केर आउँदा हातमा एउटा ट्रे थियो । बन्दीले खाना खाँदा लाज मानिरहेको थियो । लीजा र मास्टर उसलाई एक्लै छाडेर केही पाइला पर गए। लीजाले मास्टरसँग भनी- “कस्तो नराम्रो हालत रहेछ यसको । हामीले यसको लागि केही कपडाको व्यवस्था गर्नुपर्छ।” मास्टरले मुस्काएर लीजातर्फ हेर्दै भन्यो, “तपाईंको अनुपस्थितिमा मैले यो युध्दबन्दीसँग केही कुरा गरिसकेको छु । यो त हामै दाजुभाइ पर्ने रहेछ, पेशाको हिसाबले । सेनामा भर्ती हुनुअघि यसले स्कूलमा पढाउँथ्यो ।”

लीजा फेरि घरभित्र पसी । केही मिनेटपछि ऊ फर्केर आई। उसको हातमा एउटा पार्सल थियो । ऊ बन्दीको नजिक गई, “यो लिऊ, तिमीलाई काम लाग्नेछ । र, यदि तिमी फेरि कहिल्यै फर्केर आउन सक्यौ भने म तिम्रो मद्दत गरुँला । अनि ए ! तिमीले टोपीमा राखेको त्यो आरु किन टोपीबाट बाहिर राखेको ? यसलाई लैजाऊ ।”

बन्दी आफ्नो चमकदार आँखाले लीजालाई हेर्दै थियो । लीजाले भनी, “अवश्य आउनू… तिम्रो नाउँ के हो?”

“आइवो!.. आइवो ओवरटेना !!”

“ठिक छ आइवो ! फेरि अवश्य आऊ !”

बन्दी केही सोच्दै हिंड्यो र लीजाले मास्टरसँग भनी, “तिमी कर्णेललाई केही पनि बताउँदिनँ भनेर किरिया खाऊ ! यो युद्धबन्दीको बारेमा केही पनि नबताउनू !”

केही दिनपछि नै एकदिन दिउँसो उसले आफ्नो सामुन्ने त्यस अपरिचित बन्दीलाई भेट्टाई। उसलाई यस्तो लाग्यो मानौं ऊ सपनामा छे । ऊ मुस्काई । केही लजाउँदै त्यस युवक युध्दबन्दीलाई आफ्नो पछि आउने सङ्‌केत गरी अनि भनी, “मैले सोचेथें, तिमीले बिर्सियौ होला !”

“म पहिल्यै आउन चाहन्थेँ तर आउन सकिनँ !”.

ती दुवै एकअर्कालाई हेर्दै चूपचाप उभिइरहे। लीजा कुनै अज्ञात विचार‌ले कक्रक्कै पर्दै गइरहेकी थिई । बन्दीको आँखामा चमक बढ्‌दै गयो।
लीजाले भनी, “एकैछिन पर्ख ! म आइहाले !”

ऊ घर भित्र पसी। आफूले आफैँलाई मनमनै भन्न थाली, “के म पागल भएँ ? मलाई यो के भयो? उसलाई जुत्ता दिएर म भन्नेछु तिमी यताबाट आऊ !”

बन्दी जुत्ता देखेर सुखद आश्चर्यमा प-यो । उसले मसिनो स्वरमा भन्न थाल्यो, “धन्यवाद ! यो कृपाको लागि धेरै धन्यवाद !”

“यो मेरो लोग्नेको जुत्ता हो !”

“म तपाईंको लोग्नेलाई चिन्छु । उहाँ हाम्रो कमाण्डर हुनुहुन्छ । तपाईं कति दयावान हुनुहुन्छ ? …” एक वाक्यमै उसले कर्णेलको निर्दयीपन प्रकट गरिदिएको थियो नजानिदो पाराले !

“तिमीले होशियारीपूर्वक काम गर्नु पर्दछ । म घरमा सधैं एक्लै हुन्न !”

“मलाई थाहा छ,” बन्दीले भन्यो ।

“तिमी केही खान्छौ?”

“तपाई कति वेश हुनुहुन्छ । म नाईं भन्दिनँ !”

ऊ हतारिंदै घरभित्र पसी र छिटो छिटो मख्खन – पाउरोटी एउटा अखबारमा पोको पारेर ल्याई, “यो लिऊ ! … अनि तिमी गइहाल ! अर्दली आउने बेला भयो !”

उसले लीजालाई धन्यवाद दियो र निस्कियो । तर उसका आँखा बन्दीलाई पिछा गर्दै रह्यो । बगैंचा नाघेर पर पुगेपछि उसले हात हल्लायो । लीजाले पनि प्रत्युत्तरमा हात हल्लाई।

अर्को दिन ऊ सिउने मेसिन लिएर बसी । उसले आफ्नी नोकर्नी मारपोलासँग बाचा गरेकी थिई‑ उसको बच्चालाई सिलाएको जामा उपहार दिनेछु । ऊ सिलाउन तल्लीन थिई । मारपोला ऊसँगै बसेकी थिई । तीन बजे सधैंझैं अर्दली पानी लिन गयो । ऊ जोड जोडसँग सिलाइको मेसिन चलाउन थाली । उसको कल्पनामा बारम्बार त्यो युवक बन्दीको कौतुहलपूर्ण आँखा आइरहेको थियो । फेरि उसले ती आँखाहरू वास्तविकतामा बदलिएको देखी । ऊ लुसुक्क बगैंचामा आइसकेको थियो । रुखका हाँगाहरूको आवाज, मूर्दा पातहरू चर्मराएको आवाज उसको आगमन‌को सूचना दिइरहेका थिए । उसको अस्तित्व भित्रैदेखि टुट्न फुट्न लाग्यो । अन्तर्द्वन्द्व पराकाष्ठामा पुग्न लाग्यो…।

यदि उसको लोग्नेलाई यो बन्दी आवतजावत गरेको थाहा भयो भने ! उसले मारपोलासँग नमीठो स्वरमा भनी, “शायद बगैंचामा कुनै कुकुर पसेको छ । म त्यसलाई अहिले भगाएर आउँछु ।” ऊ छिटोछिटो झ्याङतिर लागी । उसले आफ्नो अनुहारमा दुःख र चिन्ताको खोल ओढ्ने प्रयास ‌गरी । तर एउटा आकर्षक मुस्कान भने उसको ओठमा च्यापिइरह्यो । बन्दी उसको सामुन्ने उभिएको थियो । उसको हुलियामा विशेष परिवर्तन देखापरेको थियो । हातखुट्टा धोई पखाली गरेजस्तो, भर्खरै नुहाएर आएजस्तो लाग्थ्यो । उसले मुस्कराएर भन्यो, “म फेरि आएँ।” केही क्षणसम्म त लीजालाई केही पनि सुझेन, के कुरा गर्ने ?… के भन्ने ? फेरि भनी, “तिमी बन्दीहरूको क्याम्पबाट कसरी फुत्केर आउँछौ?”

“मलाई एउटा फ्रान्सेली मेजरको सेवाको लागि खटाइएको छ । ऊ पनि बन्दी नै हो। जँड्याहा छ। यसबेला ऊ सुत्छ। यसरी म समय निकाल्छु । बन्दीहरू उसलाई बाँकी रहेको ब्राण्डी दिन्छन् । ऊ यस्तो हालतमा बाँचिरहेछ कि रक्सी नखाई अड्नै सक्दैन।”

उसले विरुवाबाट एउटा पात चुँडाल्यो र त्यसलाई औलामा बेरेर माड्न थाल्यो । ऊ केही भन्न चाहन्थ्यो तर हच्किरहेथ्यो । “म… मैले तपाईंलाई दुःख त दिइरहेको छैन ?”

“हैन हैन, त्यस्तो केही छैन !”

“आज म यहाँ तेस्रोपल्ट आएको छु र यो आखिरी पनि होइन । आज म खुराक लिन होइन, तपाईंलाई भेट्‌न आएको !”

लीजाले अनुभव गरी उसका गाला रक्तिम हुँदै जाँदैछन् । उसले आफ्नो मनोभावलाई सकभर लुकाउने प्रयास गरी तर असफल भयो । ऊ चाहन्थी कि बन्दीलाई नहेरुँ । तर उसका नजर बारम्बार उठेर बन्दीसँगै ठोकिन पुग्थ्यो ।

“युध्दबन्दीको जीवन साह्रै कष्टदायी हुन्छ । म पहिला दिक्क मान्थें तर अब तपाईंको बारेमा सोच्छु र अब कैद त्यति नराम्रो लाग्दैन । तपाईंको कारण एकपल्ट फेरि जिन्दगीमाथि विश्वास लाग्न थालेको छ।”

ऊ चुपचाप सुन्न तल्लीन थिई। उसले भनी, “तर म त तिम्रो बारेमा क्यै पनि जान्दिनँ !”

“म एक युध्दबन्दी हुँ ! योभन्दा धेरै मेरो बारेमा जान्न अरु क्यै बाँकी रहन्छ र !”

“तिम्रो बिहा भै सक्यो ?”

ऊ मुस्कुरायो र भन्यो- “अहँ!”

लीजा बेचैन भइसकेकी थिई, “अब म जान्छु !”

बन्दीले उसको हात समात्यो, “के तपाईं साँच्चै जाने हो ?”

“हो!”

बन्दीले उसको दुवै हात समात्यो । यौटा विद्युत प्रवाह लीजाको सम्पूर्ण शरीरमा दौड्यो । युवक बन्दीले उसलाई अलिकति आफूतिर तान्यो … फेरि उसको काँपिरहेको तातो तातो ओठले चुम्बन ग-यो … लीजाले आफ्नो काँपिरहेको शरीर उसबाट अलग गरी र भाग्न थाली । ऊ डर, लाज र अप्ठ्यारोले जलिरहेकी थिई । उसले बन्दीको आवाज टाढैबाट सुनी, “म फेरि भोलि आउँछु !”

ऊ सधैं दिउँसो बन्दीको प्रतीक्षा गर्थी । स्याउको रुखछेउ उनीहरू सधैं भेट गर्थे । एक एक क्षण उनीहरू एकअर्काको सामीप्यमा बिताउँथे । लीजाको हृदयमा बन्दीको प्रेम आत्मासम्म पुगेको थियो । अब उसको शरीर संवेदनशील भएको थियो । ऊ हरेक सनसनीलाई सामान्य सम्झन लागेकी थिई।
नोकर्नी मारपोलाले एकदिन लीजासँग भनी, “आजकाल तपाईं जवान युवतीझैं देखिनु हुन्छ ।”

“तिमीलाई भ्रम परेको मात्रै हो,” लीजाले हाँसेर भनी ।

“अहँ, जब कुनै व्यक्तिको आत्मा स्वतन्त्र हुन्छ, ऊ फेरि जवान हुन्छ ।”

साँच्चै सबथोक बद‌लिएको थियो तर ऊ अतीतबाट छुटकारा पाउन सकिरहेकी थिइन । न उसको मनबाट युध्दको विध्वंशको भय नै निक्लिएको थियो । युध्द एउटा चिन्ताजनक स्थितिमा प्रवेश गरिसकेको थियो। निकै खतरनाक खबरहरू आइरहेका थिए । कर्णेल बेलुकी घर आउँडा एकदम- झर्कोलाग्दो भएर आउँथ्यो । दिउँसो खाना खाने बेलामा पनि ऊ एकदम कम बोल्थ्यो । यति हुँदाहुँदै पनि ऊ लीजामा आएको परिवर्तनबाट अनभिज्ञ थिएन । एकदिन कर्णेलले भन्यो, “तिमी आजभोलि कति जवान देखिन्छ्यौ ? तिमी बदलिएकी छ्यौ । तिम्रो हिंडाइमा समेत परिवर्तन आएको छ।”

लीजाले कर्णेललाई तीखा दृष्टिले हेर्दै भनी, “के तिमी चाहन्छौ म बूढी भै हालुँ ?”

“हैन हैन, मैले त्यसो भनेको होइन । जब तिमीलाई मैले बिहा गरेथें, त्यतिबेला पनि यति सुन्दरी देखिन्थ्यौ जति आज भोलि !” यति भनेर उसले तेर्सो नज‌र‌ले हे-यो । लीजाको मन‌मा उसप्रति घृणाको भाव उम्लियो र उसले आफ्नो मुण्टो निहु-याई ।

कर्णेलले सोध्यो, “के सोच्दैछौ ?”

ऊ चूप लागी । जवाफ दिन मन पनि लागिरहेको थिएन । तैपनि उपेक्षा र घृणा लुकाएर भनी, “केही पनि होइन !”

“तिमी कतै हराए झैं छ्यौ ।”

“म बुढ्यौलीको बारेमा सोच्दै थिएँ !”

“मेरो बुढ्यौलीको बारेमा ?”

“हैन, मेरै बुढ्यौलीको बारेमा ।”

“तिम्रो बुढ्यौली अझै धेरै टाढा छ । अझै तिमी वर्षौं जिन्दगीको मजा लिन सक्छ्‌यौ,” लीजाभित्र एकदम डडेलो लाग्यो । ऊ उत्तेजित भई, “ओहो ! मैले जीवनको आनन्द लिन पाएको भए ।”

०००

अगस्त महिना चलिरहेथ्यो । दिनभर गर्मीले उकुसमुकुस हुन्थ्यो । बस्तीमा पानीको कमी आफ्नो पराकाष्ठामा थियो। मौसमको ज्वरोले बस्तीलाई घाँटी निमोठिरहेको थियो। हरेक सामानको मोलले आकाश छुन लागेको थियो। युध्दरुपी दैत्य आफ्नो मुख बाएर खडा थियो । नागरिकहरू र युध्दबन्दी भोकले छटपटिन लागेका थिए । कर्णेलको बगैंचाबाट प्रत्येक दिन फलफूल चोरी हुन्थ्यो। कर्णेलले चोरीबाट मुक्ति पाउन एउटा शिकारी बन्दुक मगायो र अर्दलीलाई भन्यो, “कसैलाई बगैंचामा देख्यौ भने, देख्नेबित्तिकै गोलीले उडाइदिनू !”

लीजा आफ्नो प्रेमको संसारमा निर्लिप्त थिई । तैपनि युद्ध‌को भयावहताबाट प्रभावित नभई रहन सकिनँ । उसको आत्माले सारा दुनियाँको दुःख पीडा महसूस गर्न थाल्यो । ऊ सोच्दथी, कति यस्ता आइमाई होलान् जसलाई लोग्ने अथवा प्रेमीबाट विछोडिन परेको होला । युध्दले कति मानिसको हृद‌य तोडिदिएको होला ।

एकदिन बन्दी आएन… फेरि पाँच दिन बित्यो । यातनाका निरन्तर पाँच दिन, जुन लीजाको लागि लगातार पाँच शताब्दी बराबर थिए । लीजाको कान हरेक आवाजले झस्कन्थे । ऊ रुखपातसँग गफ गर्न लागी।

छैठौं दिन उसले धैर्य गर्न सकिन र बाहिर बस्तीमा निस्किई । ऊ चीर परिचित गल्लीहरूमा घुमिरही। युध्दले हरेक चिजलाई मूर्दा र कुरूप बनाइदिएको थियो। नाङ्‌‌गा भोका बालकहरू गल्लीहरूमा खानेकुरा खोज्दै हिँडेका देखिन्थे । लीजाको आँखामा आँशू भरियो । ऊ रुँदै फर्केर आई।

०००

रात ताराहरूले भरिपूर्ण थियो । चन्द्रमामा पनि गर्मी थियो। मास्टर आफ्नो विचार श्रङ्खलामा डुबिरहेको थियो। कुनै ढुङ्गा भित्तामा ठोक्किएको आवाज आयो । तर उसले केही पनि देखेन । ऊ उठ्यो । उसले देख्यो – कर्णेलको बगैंचा‌को बार छेउमा एउटा छायाँ हल्लिरहेको छ। उसले त्यस छायाँलाई आफ्नो भ्रम सम्झियो। त्यसपछि चारैतिर भयङ्‌कर शून्यता व्याप्त भयो। फेरि अचानक त्यो भ्रम वास्तविकतामा बदलियो । मास्टरले एकजना पुरुषलाई बगैंचातिर आइरहेको देख्यो र मीठा मीठा गीतको धून सिट्टीमा बजाएको पनि सुन्यो । यस्तो आवाज जसले हृदयमा स्पर्श गर्थ्यो, अत्यन्तै मधुर र निकै आकर्षक थियो। बज्दै रोकिंदै गर्थ्यो त्यो आवाज र अन्धो शून्यतामा विलिन हुन पुग्थ्यो। फेरि आउँथ्यो। फेरि बिलाउँथ्यो …. मानौं कसैलाई बोलाइहेछ । फेरि यो आवाज बिलायो… र बन्दूक पड्‌केको आवाज आयो । गोलीको आवाजले रातको शून्यतालाई टुक्रा टुक्रा पारिदियो।
कर्णेलको घरबाट रिसले कड्केको एउटा आवाज सुनियो। कोही दौड्‌दै बाहिर निस्कियो । कर्णेलको आवाज अझ चर्को सुनियो । ऊ आफ्नी स्वास्नीलाई बोलाउँदै थियो । छिमेकका कुकुरहरू भुक्न थाले। मास्टरले देख्यो – कर्णेल आफ्नी स्वास्नीलाई घिच्याउँदै घरतिर लैजाँदैछ । ऊ विचरी कुनै पागलझैं ऊसँग अल्झिएकी छ।

०००

बिहान मास्टर घुम्दै बगैंचामा आयो। कर्णेलको घरमा शून्यता थियो। आवाज पर्यन्त आइरहेको थिएन । यहाँसम्म कि चुल्होबाट धूवाँ पनि आइरहेको थिएन । मास्टर अघि बढ्‌दै गयो । उसले एउटा मूर्दा शरीर देख्यो कुनै मानिसको । उसको अनुहार आकाशतर्फ फर्किएको थियो। त्यसले घोडचढीको जुत्ता लगाए‌को थियो। ऊ निश्चय नै निकै यातनापछि मरेको थियो । उसको अनुहारमा निराशा अङ्कित थियो मानौं ऊ जुन आशा लिएर त्यहाँ आएको थियो, त्यो पूरा अघि नै मृत्युले उसलाई निलेको थियो।

मास्टरले धेरैबेरसम्म मृत्युले खाएको युध्दबन्दीलाई हेरिरह्यो । अनि ऊ कर्णेलको घरतर्फ लाग्यो । बरण्डामा रहेको टेबलमा तासका पत्तीहरु छरबरिएका थिए। भुइँमा कर्णेलको ऐना झरेको थियो ।

मास्टरले सोच्यो – कर्णेल कर्णेल्नी अझैसम्म सुतिरहेकै छन्। यो तर्क उसले बलियो ठान्यो – किनभने गए रात उनलाई कुनै अज्ञात फल चोरको कारण उठ्नु परेको थियो। जब मास्टर फर्कन लागेको थियो, उनको दृष्टि बेन्चमा बसिरहेको अर्दलीमाथि प-यो । उसको अनुहारमा उदास भाव जमेको थियो ।
“घरका मानिस अझै उठेका छैनन् ?”

अर्दलीले चिसो सास फेर्दै भन्यो, “मालिक्नीले गए रात कर्णेलको पिस्तोलले गोली हानेर आत्महत्या गरिन् । हामीले उनलाई अस्पताल लगेथ्यौं, तर उनी मरिसकेकी रहिछन् ।”

०००

अक्टोबरको अन्तिम दिनहरूमा शत्रुले यो बस्ती पनि जितेर लिए। कर्णेललाई युध्द अपराधी घोषित गरियो तर कयौं कारणले उसमाथि मुद्दा भने चलाइएन । उसले अत्यन्त जर्जर र दरिद्रताले भरिएका जीवनका शेष दिन बिताएर म-यो ।

मास्टरले कर्णेलकी स्वास्नीको कथा व्यथा सुनिसकेपछि भने, “कुनै दिन यो घर पनि भत्कनेछ।”

०००

म बिदा मागेर आएँ। आफ्नै बस्तीमा म अपरिचित थिएँ। एउटा ठूलो युध्द समाप्त भएको थियो र दोस्रो महायुध्दको श्रीगणेश पनि भइसकेको थियो । मैले आफूले आफैंलाई सोधें, “यो युध्द कति विध्वंशकारी होला ? कति घर, कति मानिस यो युध्दमा बली चढ्‌ने हुन् ? कति प्रेमले विह्वल आत्माहरूले फेरि प्रेम पाउलान् र फेरि प्रेमकै कारण आहुति हुने होलान् ! यो युद्धमा कति फूल फुल्ला कति ओइलाउला !”
मसँग यति धेरै प्रश्नका कुनै जवाफ छैनन् ।

०००