ग्याब्रियल गार्सिया मार्खेज, रेखाचित्रः कृष्ण मर्सानी

बीसौँ शताब्दीका एक महान् उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेजलाई सन् १९८२ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने निर्णय भएपछि यी लेखकले कुन वर्ष पाउने हुन् भनी उत्सुकता पालेर बसेका विश्वका सारा विद्वान, साहित्यकार, शुभचिन्तक र उनका प्रिय पाठकहरूले लामो सास फेरे । स्विडिस एकेडेमीले यो पुरस्कार उनले “उपन्यास र कथाहरुमा स्वैर कल्पना र यथार्थताको संयुक्त माध्यमले जीवन र संघर्षलाई प्रस्तुत गरे वापत” प्रदान गर्ने निर्णय गरेको थियो ।

मार्खेजको जन्म सन् १९२८ मार्च ६ मा कोलम्बियाको समुद्री किनारमा अवस्थित एउटा सानो शहर अराकटाकामा भएको हो । टेलिग्राफ अपरेटर ग्याब्रियल इलिचियो गार्सिया र लुइसा सान्टियाना मार्खेज इगुरानको १२ सन्तानमध्ये उनी जेठा हुन् । उनका पिता-माता अपेक्षाहत गरिबी जीवन बाँचिरहेका थिए । त्यसैले उनी भने आफ्ना हजुरबा र हजुरआमासँग बसे ।

आठ वर्षको उमेरमा मार्खेज बोगोटा शहर नजिकै जिपाविराको लिसिओ नेसिओपल पठाइए । त्यहाँ उनले सन् १९४६ मा स्नातक उपाधि प्राप्त गरे । उनमा सानै उमेरदेखि नै साहित्यप्रति अभिरुचि जागेको थियो । उनले सन् १९४७ मै बोगोटा विश्वविद्यालयमा कानुन पढ्दादेखि नै कथाहरू प्रकाशन गर्न थालेका थिए । यसैताका कोलम्बियामा एक प्रकारको गृहयुध्दको शुरुवात भयो र यो स्थिति दश वर्षसम्म कायम रह्यो । लाखौं मानिसको ज्यान गएको सो दुःखद् त्रासदिले उनको साहित्यिक हृदयलाई पार्नुसम्म प्रभाव पार्यो । त्यसपछि उनी कार्टागाना गए र कानुन अध्ययनप्रति अरुचिका कारण पत्रकारको व्यक्तित्व बनाउने काममा लागे ।

सन् १९५० मा उनी वारनकिल्ला गए, जहाँ उनले एउटा दैनिक पत्रिका ‘एल हेराल्डो’ मा स्तम्भ लेखनको काम गर्न थाले । जुन यौटा चार तल्ले वेश्यालय भवनमा अवस्थित थियो र त्यसैबेला ‘लिफ स्टोर्म’ को प्रारुप तयार गरे ।

सन् १९५४ मा मार्खेज बोगोटा फर्किए र ‘एल एस्पेकटेडोर’ पत्रिकाको रिपोर्टर एवं चलचित्र समीक्षकको रुपमा काम गर्न थाले । र, सन् १९५५ मा उनको पहिलो उपन्यास ‘लिफ स्टोर्म’ प्रकाशित भयो । यो मोकोण्डोको पृष्ठभूमिमा लेखिएको छ । यसमा एउटा यस्तो डाक्टरको कथा छ, जसलाई आन्दोलनकारी घाइतेहरूलाई उपचार गर्न अस्वीकार गरेपछि घृणा गरिन्छ र उसले आत्महत्या गर्दछ ।

त्यसको प्रकाशनपछि उनी युरोपतिर लागे । केही महिना रोममा उनले प्रयोगात्मक चलचित्र केन्द्रमा अध्ययन गरे र त्यसपछि २।३ वर्ष पेरिसमा गरिबी भोगे । साह्रै डरलाग्दो गरिबी ! यसैबीच उनले आफ्नो कलमलाई भने त्यो गरिबीमा पनि क्रियाशील बनाइरहे । उनले दुई वटा लघु उपन्यासहरू पूरा गरे । तीमध्ये पहिलो उपन्यास ‘कर्णेललाई कसैले लेख्दैन’ सन् १९५८ मा कोलम्बियाली पत्रिका ‘माइट’ मा प्रकाशित भयो र सन् १९६१ मा पुस्तककारमा देखापर्यो । यस उपन्यासको बारेमा प्रख्यात उपन्यासकार मारियो भर्गोस लोसा भने, “उनले एउटा नयाँ दुनियाँको निर्माण गरेका छन् तर त्यो कुन संसार हो स्वयं उनी नै अनभिज्ञ छन् ।“

‘लिफ स्टोर्म’ पूरा गर्दाखेरीको असफलताको उत्तेजनालाई उनले अर्को उपन्यास ‘एन इभिल आवर’ मा प्रयोग गरेका छन् । सन् १९६१ मा यो प्रकाशित भएपछि यस उपन्यासले ‘कोलम्बियाली प्रेस लिटरेरियो इस्सो’ प्राप्त गर्यो ।

सन् १९५८ मा भेनेजुएलाको काराकसमा पत्रकारको रुपमा काम गर्न जानुअघि मर्सिडेस पार्डोलाई बिहा गर्न मार्खेज कोलम्बिया फर्किए । यो भेनेजुएलाको पेरेज चिमेनेजको अधिनायकवादका अन्तिम दिनहरू थियो । र भेनेजुएलामा उनले पत्रिकामा लेख्ने कामको अलावा ‘वीग मामाज फ्यूनरल’ जस्ता कथाहरू सिर्जना गरे ।

सन् १९५९ मा उनले क्युबाको आन्दोलनलाई स्वागत गरे र फिडेल क्यास्ट्रोको समाचार सम्वाद प्रेस्ना ल्याटिनाको कोलम्बिया र हवानाको सहायक भै काम गरे, जसको मुख्य कार्यालय न्यूयोर्कमा थियो । उनी सन् १९६१ को अन्त्यतिर मेक्सिको लागे र सम्वाद लेखेकको रुपमा आफूलाई उठाउने काम गर्न थाले। यसैबीच आफ्ना पूर्वलिखित आख्यानहरूबाट असन्तुष्ट भएर पाँच वर्षसम्म उनले आख्यान लेखनमा लगभग कलम नै चलाएनन् । उनले मेक्सिकोमा बसेर बीसौँ शताब्दीको महान् उपन्यास ‘सय वर्षको एकान्त’ लेखे । यो पुस्तक पूरा गर्न उनलाई १८ महिना लाग्यो र यसबीच उनकी श्रीमती र सानो छोरा सहितको पालन पोषणका लागि अत्यन्तै ठूलो ऋणको पोखरीमा डुब्नु परेको थियो ।

यो पुस्तक सन् १९६७ मे महिनामा ८,००० प्रति प्रकाशित भयो । प्रकाशकले यो पुस्तक डिसेम्बरसम्ममा बेच्न सकिएला भनी अनुमान गरेका थिए तर आश्चर्यजनक रुपमा एक हप्तामै सम्पूर्ण पुस्तक बिक्री भए । त्यसपछि यो उपन्यास प्रति महिना १०,००० का दरले प्रकाशित हुन थाल्यो । यो पुस्तकको पहिलो संस्करण पुस्तक पसलहरुमा भन्दा पनि व्युनस आयर्सको सडक, भूमिगत रेल स्टेसनमा ज्यादा बिक्री भएको थियो ।

र, सन् १९७२ मा उनको अर्को कथा संग्रह ‘द इनक्रिडिबल एण्ड स्याड स्टोरी अफ इन्नोसेन्ट हरेन्ड्रा एण्ड हर हर्टलेस ग्रैण्ड मदर’ प्रकाशित भयो । त्यसपछि उनका अरु दुई उपन्यास ‘लभ इन द टाइम अफ कलेरा’ तथा ‘द जनरल अफ लिभरिन्थ’ प्रकाशित भए ।

यद्यपि मार्खेजका अध्येताहरु, पाठकहरु ‘सय वर्षको एकान्त’ लाई नै सर्वोत्कृष्ट कृति मान्दछन् । बिक्रीको हिसाबले पनि यो पुस्तकले उनका कृतिहरूमध्ये कीर्तिमान राखेको छ तर यस विषयमा मार्खेजको मन भने अलग छ । उनी भन्छन्, “निजी विचारमा भन्ने हो भने म ‘कर्णेललाई कसैले लेख्दैन’ लाई राम्रो मान्दछु ।”

आधुनिक स्पेनी भाषाका लेखकहरूमा मार्खेजका पाठक सबभन्दा बढी छन् । उनका पुस्तकहरू बीसौँ भाषामा अनुवाद भएका छन् । उनका पुस्तकहरू स्पेनी र अंग्रेजी भाषाको माध्यमबाट अन्य कतिपय भाषामा अनुवाद भएर प्रकाशित हुन्छन् ।

वास्तवमा मार्खेजलाई अतियथार्थवादी लेखनको निकटतम मान्नेहरू छन् । कोही भन्छन्– उनी मानिस र जीवनको यथार्थवाद अस्तित्व जान्ने विलक्षण प्रतिभा हुन् । वास्तवमा यो सही पनि हो । उनको गद्यमा कविताको तीखो स्वाद पाउन सकिन्छ–उनका प्रत्येक वाक्य बहुस्तरीय, बहुअर्थी भएर पारदर्शीचमकयुक्त हुन्छन् ।

कतिपय लेखकका कुनै कृति यति लोकप्रिय हुन्छन् कि लेखक र पुस्तकको नाउँ पर्यायवाची बन्न पुग्दछन् । ‘सय वर्षको एकान्त’ र मार्सेज त्यस्तै एक अर्काका पयार्य बनेका छन् । लेख्न आरम्भ गर्दा उनले छ महिनामा यो कृति पूरा गर्ने लक्ष्य राखेका थिए तर लेख्दालेख्दै १८ महिना बित्यो । त्यतिबेला उनलाई यो समयावधि साह्रै बढी भयो भन्ने लाग्यो । किनभने उनको दैनिक खर्चको लागि हातमुख जार्नै धौधौको अवस्था एकातिर थियो भने अर्कोतिर ६ महिनादेखि घरभाडा तिर्न नसकेर पिरोलिरहेका थिए । तर पछि उनले महसुस गरे – अरु केही समय यस कृतिलाई लगाउन पाएको भए अझ परिस्कृत र विशिष्ट बनाउन सकिन्थ्यो ।

‘सय वर्षको एकान्त’लाई चलचित्र बनाउन प्रस्तावहरू आएका थिए । उनले सुरुमा दश लाख डलर मागे तर निर्माताहरू तर्सिए । पछि निर्माताहरु दश लाख दिन तयार हुँदा उनले त्योभन्दा बढी माग गरे । पछि त उनीहरू तीस लाखसम्म दिन तयार भए, तर पछि उनी चलचित्रले उपन्यासका पात्रहरुको ‘इमेज’ परिवर्तन हुनसक्छ पाठकहरुको दृष्टिमा, पाठकहरूले आ–आफ्नो प्रकारले सोचेकै रुपमा पात्रहरूलाई रहन दिनु वेश हो भन्ने उनको ठम्याई भयो । फेरि उनी आर्थिक रुपले कमजोर पनि रहेनन् ।

‘सय वर्षको एकान्त’ पढेपछि कतिपय पाठकहरुले लेखे– त्यो उनीहरूको आफ्नै परिवारको कथा हो । यो निश्चित हो– ल्याटिन अमेरिका या क्यारेबियन मुलुकमा बस्ने व्यक्तिलाई त्यस्तै लाग्न सक्छ तर एक दिन जर्मनीको पहाडी इलाकामा बस्ने एक महिलाले लेखेको चिठीले भने साँच्चै आश्चर्यको भूमरीमा पारिदियो –‘सय वर्षको एकान्त’ मेरो परिवारको कथा हो र मेकाण्डो मेरो गाउँ हो ।

यी रचनाहरुभन्दा अलग अपराध साहित्यको एउटा उपन्यास पनि उनले लेखेका छन् । त्यो रचना हो ‘क्रोनिकल अफ डेथ फोरटोल्ड’ उपन्यास । यस उपन्यासलाई एक समीक्षकले त ‘आजसम्म लेखिएको विश्व साहित्यको श्रेष्ठतम हत्याकथा’ भनेका छन् । यो उपन्यासको कथा पढ्दा साधारण र सरल नै लाग्छ तर मार्खेजले आफ्ना अन्य कथा र उपन्यासहरु जस्तै यस अपराध कथामा पनि ल्याटिन अमेरिकाको एउटा बस्तीको जनजीवनलाई फैण्टेसी र वास्तविकताको मिश्रणबाट चित्रण गरेका थिए । कथामा काल्पनिकता यस्तरी घुलमिल भएको छ कि पाठकलाई भानै हुँदैन ऊ वास्तविक दुनियाँको कथा पढिरहेछ अथवा कुनै काल्पनिक संसारको ।

उपन्यास भनेको संसार खोज्ने एउटा प्रक्रिया हो भन्ने अभिमत थियो मार्खेजको । उनले आफ्ना उपन्यासहरूमा संसारका विशेषतः ल्याटिन अमेरिकी तानाशाहहरूको अध्ययन, तिनका जीवनी, समाचार इत्यादि पढेर उनीहरूको त्यो बेग्लै संसार खोज्ने प्रक्रिया अपनाएका छन् । जस्तो ‘सय वर्षको एकान्त’ का कतिपय पात्रहरू त्यसअघिका कृतिहरूमा देखा परिसकेका हुन् । कर्णेल अर्लियानो कुण्डिया जुन ‘सय वर्षको एकान्त’ को नायक हो, यस अघिका कृतिहरू ‘लिफ स्टोर्म तथा अरु कथाहरू’ एवं ‘कर्णेललाई कसैले लेख्दैन’ मा पनि देखा परिसकेको पात्र हो । यस अर्थमा अमेरिकी विद्वान समालोचक जोसेफ स्प्स्टनले ती पूर्ववर्ती कृतिहरूलाई ‘सय वर्षको एकान्त’को पूर्वाभ्यास (रिहर्सल) हो पनि भनेका छन् । उनका अनेकन कथाहरू र उपन्यासमा देखा पर्ने कर्णेल यथार्थमा उनकै हजुरबाको इमेजबाट लिएका हुन् जसले कोलम्बियाको रक्तपातपूर्ण गृहयुध्दमा सन् १८९९ देखि सन् १९०३ सम्ममा लडेका थिए । कर्णेलको चरित्र निर्माणमा उनका यिनै हजुरबाको ठूलो प्रभाव परेको देखिन्छ ।

मार्खेजको जीवनमा सन् १९८६ को २८ नोभेम्बरको त्यो दिन पनि आयो, जुनदिन उनले लेखेको १५००० प्रति पुस्तक जलाई पनि दिए । यो पुस्तक उनले आफ्ना मित्र मिगेल लिट्टिलको जीवनलाई आधार बनाएर यात्रा कथाको रुपमा लेखेका थिए । उनले चिलीका शासक पिनोचेभको शासनमा त्यहाँको जीवन कस्तो थियो लिट्टिलको जीवनकथासँगै प्रस्तुत गरेका थिए । र, सन् १९९३ मा उनका सम्पूर्ण कथाहरु ‘कलेक्टेड स्टोरिज अफ गाब्रियल गार्सिया मार्खेज” दुई खण्डमा प्रकाशित भयो ।

गाब्रियल गार्सिया मार्खेजलाई विश्वसाहित्य मध्येबाट कुनै एक मनपर्ने उपन्यासकार छान्नु पर्यो भने निसंकोच युद्ध र शान्ति का लेखक लियोटाल्सटाय लिने कुरा बताउँथे । उनी भन्थे, “मेरो विचारमा मानव सभ्यताको इतिहासमा ‘युध्द र शान्ति’ जस्तो उपन्यास शायदै लेखिएको होला ।”

लेखन शैलीको विषयमा उनी भन्थे, “हरेक पुस्तकमा म अलग लेखनमार्ग बनाउने कोसिस गर्छु…..लेख्नका लागि शैली छान्ने होइन । कथावस्तु अनुसारको शैली आफैँले आविष्कार गर्नुपर्छ । विषयले शैली निर्धारण गर्दछ, समयको मूडअनुसार । सुहाउँदिलो शैली अपनाइएन भने यो काम लाग्दैन । त्यसपछि समीक्षकहरुले ती कुरा देख्छन् जुन मैले देखेको हुन्न । म आफ्नो जीवनको पध्दतिको बारेमा मात्र जवाफ प्रतिक्रिया दिन्छु, क्यारेबियाली जीवनको बारेमा ।”

मार्खेज आख्यानका सर्जक हुन् तर उनी स्वयम् पनि विभिन्न आख्यानमा देखा परेका छन् । उनको मृत्यको एक वर्षपछि देखा परेको क्लाउडिया आमाग्वेलको उपन्यास “कार्टागेना” मा यौटा चरित्रको रुपमा उनी देखा पर्छन् । जोन ग्रीनको “लुकिङ फर अलास्का” मा उनका बारेमा धेरै उल्लेख गरिएको छ । त्यस्तै रिनाल्डो आरेनासको उपन्यास “द कलर अफ समर, अर द न्यू गार्डेन अफ अर्थी डिलाइट्स्मा” उनलाई गाब्रियल गार्सिया मार्कोफ भनिएको छ । गियानिना ब्राचीको “एम्पायर अफ ड्रिम्स” मा पनि उनलाई पात्र बनाइएको छ ।

मार्खेजका अत्याधुनिक साहित्यमा ‘म्याजिकल रियलिज्म’ अर्थात् जादूपूर्ण यथार्थवादको एक विशिष्ट एवं सफल प्रयोजकको रुपमा मान्छे गरिन्छ । यस सम्बन्धमा उनी भन्ने गर्थे, “म वास्तविक जीवनको जादूमा विश्वास गर्दछु । …. मेरी आमासँग जे जस्ता घटनाहरू घटित भए, ती नै जादूपूर्ण ययार्थ थियो ।” र उनको लेखनको सम्पूर्ण क्षेत्रमा यो पक्षले ठूलो प्रभाव पारेको थियो । यो नै उनको उपलब्धि थियो र विशिष्टता पनि ।

उनको लेखनमा आधारित २७ फिल्महरू सन् १९५४ देखि २०११ सम्म बनेका थिए । उनका कृतिमा आधारित भएर विश्वव्यापीरुपमा १७ कृति लेखिएका छन् ।

उनको मित्रता फिडेल क्यास्ट्रोसँग थियो । उनलाई अमेरिकी राट्रपति बिल क्लिन्टनले ह्वाइट हाउसमा डिनरका लागि निम्त्याएका थिए, सो अवसरमा क्लिन्टनकी छोरी चेल्सीले मार्खेजलाई आफ्नो मन पर्ने उपन्यासकार भएको बताएकी थिइन् ।

जीवनको पछिल्लो समयमा मार्खेजको स्वास्थ्य ठिक रहेन । उनलाई सन् १९९९ मा लिम्फाटिक क्यान्सर भएको पत्ता लागेको थियो ।

सन् २००५ मा उनले भनेका थिए, “यो वर्ष मैले एक हरफ पनि लेखिनँ । यै मात्र मेरा लागि एक हरफ नलेखेको वर्ष रह्यो । म यौटा उपन्यास बिना कुनै कठिनाई त लेख्न सक्थेँ तर पाठकले मेरो हृदय त्यसमा पाउन सक्ने थिएनन् ।”

सन् २०१२ मा उनका भाई जैमीले मार्खेजलाई डिमेन्सिया अर्थात् विस्मृतिको रोगले सताइरहेको बताएका थिए ।

मार्खेजको मृत्यु १७ अप्रिल २०१४ का दिन ८७ वर्षको उमेरमा मेक्सिको सिटीमा भएको थियो । उनको अन्त्येष्टि मेक्सिको सिटीमा पारिवारिक रुपमा सम्पन्न भयो । २२ अप्रिलका दिन उनको सम्मानमा आयोजित औपचारिक शोक समारोहमा उनको जन्मदेश कोलम्बिया र कर्मदेश मेक्सिकोका राष्ट्रपतिले भाग लिएका थिए । मार्खेजले आफ्नो आत्मकथा ३ भागमा लेख्ने योजना मुताबिक पहिलो “लिभिङ टु टे द टेल” प्रकाशित भयो तर उनका बाँकी भाग भने अधूरै रहे ।