सिद्धान्त र साहित्य निर्माण

एक ठूलो सौभाग्यले भनौं कि संयोगले गर्दा गत वर्ष मलाई एउटा शोध–ग्रन्थको मूल्याङ्कन गर्ने अवसर मिल्यो । त्यसलाई म मूल्याङ्कन मात्र भन्दिन, गहिरो अध्ययनको अवसर पनि भन्दछु । यो समकालीन नेपाली साहित्यमा अत्यावश्यक पर्ने धारणा र सिद्धान्तको एक दुर्लभ संग्रह थियो । त्यो श्री निरन खनाल नामक विद्यावारिधि तहका शोधार्थीले अध्ययनअनुसन्धान पूरा गरी “साहित्यिक संकथनमा अन्तरपाठीयता : सिद्धान्तहरूको पुनः निर्माण र परिप्रश्न”  शीर्षकमा त्रिविलाई बुझाएको शोधप्रबन्ध (थिसिस) थियो । 

यो ता त्रिविको अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. अम्माराज जोशीद्वारा निर्देशित, प्रा. डा. रामचन्द्र पौडेलद्वारा सह–निर्देशित २११ पृष्ठको अमूल्य अध्ययन ग्रन्थ थियो । यो केन्द्रीय अंग्रेजी साहित्य विभागले गराएको अध्ययन थियो । तर यसको फल अर्थात् परिणाम भने नेपालका सबै स्रष्टा, अध्येता, चिन्तकले चाख्न पाउन्, अझ नेपाली साहित्य यसको विशेष अधिकारी हो, यस ज्ञानले त्यो क्षेत्र पनि सिञ्चित होस् भन्ने ममा उत्सुकता भरियो । शोधार्थीको पनि लक्ष त्यही थियो । वास्तवमा नेपालमा साहित्यिक नवयुगको उज्यालो ठूलो मात्रामा अंग्रेजी विभागबाटै सरेको हो; ती अग्रचेत भएका विद्वान् प्राध्यापकद्वारा निर्मित पाठ्यक्रमबाट । पर्यावरण र मानव जाति विषयमा प्रथम विद्यावारिधि आर्जन गर्ने नेपाली विद्वान डा. जोशी एक अग्रणी हुनुहुन्छ । त्यसैले शोधार्थी निरन खनालसित सल्लाह गरी मैले भनें— “म यसको सारतत्व नेपाली पाठक समक्ष पनि प्रस्तुत गर्न चाहन्छु । यस अध्ययनको श्रेय पनि विभागका गुरु शिष्यलाई दिनु होला ।”

साहित्यिक उन्नतिको अर्थ कृति सिर्जना र तिनको पाठ गर्नु, गराउनु मात्र होइन । मानिएका अघि कसैले बनाइदिएका सिद्धान्त खोजेर तिनमा पढिएको कृति ‘फिट’ गर्नु मात्र होइन । नयाँ सिद्धान्तहरू पलाइरहेका हुन्छन् कुनै स्वदेशी, कुनै क्षेत्रीय, कुनै अन्तर्राष्ट्रिय स्तरमा । तिनको अन्वेषण र परीक्षण पनि हाम्रै कर्म हो ।

साहित्य निर्माण गर्ने परिवेश र परिस्थिति हुन्छन् । राजनीति, धर्म, समाजमनोविज्ञान, आर्थिक स्थिति र उन्नति— मानवले टेकेको समयमा जुन जुन कुरा विद्यमान छन् तिनको अध्ययन, विश्लेषण र परिमार्जनबाट नयाँ स्थिति जन्मिरहन्छन् । तिनको समग्रताले नयाँ साहित्य जन्माउँछ । त्यसकारण साहित्यको अर्थ नवीन परिस्थितिबाट कृति सिर्जना साथै नवीन समालोचना सिद्धान्तको पनि निरन्तर खोजी, परिमार्जन र प्रयोजन सँगसँगै हुन्छन् । तर हाम्रो नेपाली साहित्यलाई रूढताले विजय गरेको छ । त्यसैले नवीन सिद्धान्त ल्याउनु र चिनाउनु अर्थात् आएकालाई पनि यथारूप चिनाउनु मुश्किल परिरहेको छ । कतिले यो अघि नै थियो भन्छन्, कतिले यो मैले नै बनाएको दाबी गर्छन् । सय जना कराएपछि झुटो पनि सत्य हुन्छ जसरी नेपालमा भइरहेको छ ।

निरनको शोधको शीर्षकले भन्छसाहित्यिक संकथन’ जसको अर्थ हुन्छ साहित्य सिर्जना गर्दा आवश्यक पर्ने वा उत्पन्न हुने विविध सहभागी ‘हेतु’ जसले स्रष्टालाई किन कसरी प्रेरित गर्दछ भन्ने कुरा, लेखकलाई कसरी तिनले निर्देशित गर्दछन् भन्ने कुराको तर्क प्रस्तुत हुन्छ ।

 – – –

साहित्यमा पाठ र अन्तरपाठहरू

यस शोधको शीर्षकमा प्रयुक्तइन्टरटेक्स्चुआलिटी’ शब्दले गहिरो सिद्धान्त वा दर्शन बोकेको छ । यसलाई ‘अन्तरपाठीयता’ भनौं । एक पाठ र अर्को पाठको बीचमा पसेर हेर्ने, निरुपण गर्ने कलाको नाम हो ‘अन्तरपाठीयता’ । अर्थात् दुई पाठका बीचको कुरा— दुई पाठका बीचको अर्थ भेद, हाम्रो चेतना भेद, दृष्टि र व्याख्या भेद, देश र कालको भेद । ती भेद उत्पन्न गर्न गराउन प्रयुक्त कला । 

उसो भए ‘पाठ’ के हो ? भन्ने प्रश्न उठ्छ । पाठ भनेको परम्परागत अर्थमा अक्षरमा (पुस्तकका) लेखिएको कुरा भनेर पढ्यौं, बुझ्यौं । तर आज भाषाविज्ञानले एक थोकलाई ‘पाठ’ भन्छ, साहित्यले अर्कै थोकलाई । पाठको परिभाषा नै परिवर्तित छ । प्राज्ञिक जगतमा पाठ भन्नाले त्यस्तो कुनै कुरा हो जसले परीक्षक वा पाठका विश्लेषकलाई अर्थ दिन्छ । त्यसकारण पाठ्यपुस्तक, पत्रिका, अखबार, मात्रै पाठ होइनन् । तिनका साथै मूभी, पेन्टिङ, टेलिभिजन शो, गीत, कार्टून, अनलाइन कुरा, विज्ञापन, चित्र, मानिसका भेला— जे पनि पाठ हुन् । प्रत्येक यस्ता कुरा हेरेर, विवाह भोज खाएको, हलो जोतेको, रूखमा चढेर घाँस काटेको, जुलूस निकालेको, प्रत्येक वस्तु वा कर्मको गहिरो अध्ययन गर्दा प्रत्येकमा एउटा अर्थ निस्कन्छ । त्यसबाट कुनै न कुनै असत्यहरूले, स्वार्थहरूले, अवैज्ञानिक तथ्यहरूले पनि पाठ बनाउँदा, खेलाउँदा रहेछन् भन्ने थाहा हुन्छ । जस्तै हाम्रो समाजमा दिदीलाई सरकारी स्कूल पढाउने, भाइ बोडिङ पढाउने हिजोहरू । तिनीहरूलाई उल्ट्याउनु विनिर्माण हो । आजका पाठसँग हिजोका वा हजार वर्ष अघिको जुधाएर तुलना गरेर फरक निकाल्नु अन्तरपाठीयता, अन्तरपाठीय प्रक्रिया हो ।

 – – –

छोपिएका पाठ खोतल्ने सिद्धान्त

यहाँ अंग्रेजी साहित्यका शोधार्थी निरन खनाले तीन काल, तीन भूगोल, तीन जाति, तीन भाषा र संस्कृतिका पाठ हामीलाई देखाएर तिनका विपरीत जन्मिएका, पलाएका अरू तीन सेट पाठहरू प्रस्तुत गरेका छन्— शेक्सपियर, डेनिअल डिफो, जेन आपरका तीन पुराना पाठ विरुद्ध उभिएका सिसेअर, कोत्मी र रीसका तीन नयाँ पाठ । बेलायती मूलधार विरुद्ध अफ्रिकी क्यारिविया जस्ता अनेक मार्जिनल ‘मानिएका’ परिवेश छन् । सम्भ्रान्त, सामन्ती परिवेश विरुद्ध ‘मार्जिनल’ वा परिधीय मानिएका जगतहरू उभ्याइएका छन् ।

विनिर्माणको चुरो यत्ति हो, विपरीतता, अन्याय अत्याचारलाई खेदो गर्दै नव समाजको परिकल्पना गरी खोजिने एक नव ‘स्पेश’ । त्यहाँ विनिर्माणको अर्थ प्राप्त हुन्छ । त्यसो त सबै इन्द्रिय अर्थ संवाहक तत्त्व हुन् । एउटा व्यक्ति र समाजका कर्महरू नै पाठ हुन् । तिनका कर्मलाई समाजका धारणा, सोच, दर्शन आदिले निर्माण गर्दछन् । दलित भन्दा बाहुन गतिलो भन्ने एउटा दर्शन हो, त्यसले एउटा पाठ बनाएको छ । महिलाले होइन पुरुषले पढ्नुपर्छ अर्को दर्शन थियो, त्यसले अर्को पाठ बनायो, जनताले बोल्ने होइन सरकारले बोल्छ, अर्थात् काला भन्दा गोरा जाति धेरै ठूला हुन् भन्ने सोच— यी प्रत्येक कुरा पाठका स्रोत हुन् । यसरी भ्रान्तिहरूले, असत्यहरूले, स्वार्थहरूले पाठ बनाएका, खेलाएका छन् । तिनीहरूलाई कलाले उल्ट्याउनु विनिर्माण हो । आजका पाठसँग हिजोका वा हजार वर्ष अघिका जुधाएर तिनको तुलना गरेर फरक निकाल्नु ‘अन्तरपाठीयता’,अन्तरपाठीय प्रक्रिया’ हो । आजको कला आयलाई मात्र सत्य र सुन्दर हुन्छ, भोलि त्यसको रङ खुइलिन्छ । आज सय वर्ष पश्चात् मुनामदन कसरी लेखिएला, बसाईं, मुगलान कसरी ? रुद्रराजको रूपमति कसरी ?

 – – –

नेपाली साहित्य सन्दर्भ

आज आएर ‘विनिर्माण’ शब्दको प्रयोग बिस्तार हुँदैछ । सर्वप्रथम ता नेपाली साहित्यमा विनिर्माणको प्रयोग आइबी राईले गरेर देखाए तर त्यसको मूल सिद्धान्त कहाँबाट आयो, कसरी भनी उनले चिनाएनन्, पश्चिमी डेरिडा र अन्य सिद्धान्तकारको आविष्कार हो भनेनन्, यस्तो कुरा ता बौद्ध, जैन, हिन्दू सबै दर्शन, क्वान्टम फिजिक्स सिद्धान्त जस्ता दश वटा सिद्धान्त जोडे, यसैमा डेरिडा पनि छन् भनेर गोलमटोल पारे । आफूले गरेको यस कर्मलाई लीलालेखन भने । उनले पश्चिमी सिद्धान्त लागू गरे पनि नेपाली अनुवाद ‘विनिर्माण’ शब्द प्रयोग गरेनन् । बरु ‘बिनिर्माण’ नामक नवीन समालोचना पद्धति आइसक्यो भनेर कालेबुङका चिन्तक राजेन्द्र भण्डारीले लेखे । आइबी राईलाई पक्रेर कृष्ण धरावासीले सफल प्रयोग गरे । उनको लेखन शैली नै प्रभावशाली छ । उनले राधा नामक आख्यान लेखेर पुरानो पौराणिक राधा–कृष्णको विनिर्माण गरे र मदन पुरस्कार प्राप्त गरे । उनको शरणार्थी पनि त्यही हो । यसले एक तरंग ल्यायो । तर यस्तो लेखनका वीज ता नेपालीमा आइसकेका थिए । उनले स्वीकारेका छन् । पछि नीलम कार्की निहारिकाले पनि उडिसाकी नामी स्रष्टा प्रतिभा रायको उपन्यास याज्ञसेनीलाई पुनर्लेखन गरी द्रौपदीको चीरहरण भनिन् । त्यसले पनि पायो । नवराज लम्सालको कर्ण पनि पुरस्कृत भयो । घनश्याम कणेलको धृतराष्ट्रलाई वर्तमान कालका दिव्यांग (विकलांग) हरूको प्रतिनिधि स्वर हो भनी प्रमाणित गरे; त्यो कति राम्रो । उनले पनि धृतराष्ट्रमा पाए । यस्ता नेपाली सिर्जनाको संख्या सय नाघेको छ ।

त्यसबेला सम्ममा भारतीय साहित्यमा प्रतिभा रायको याज्ञसेनी (द्रौपदी) आएर पुरस्कृत भइसकेको थियो । त्यो यति व्यापक भयो गत वर्ष यसका अनुवाद पच्चीसौँ भाषामा पुगेको राष्ट्रिय उत्सव मनाइयो । उनको द्रौपदीकी नेपाली अनुवादक हुन् हाम्री नेपाली स्रष्टा विन्द्या सुब्बा ।

निरन खनालको यो विशुद्ध अध्ययनले नेपाली साहित्यमा ‘विनिर्माण’ को सिद्धान्त स्थापित गराउन ठूलो सहयोग पुर्याउने छ । त्यसो त यो सिद्धान्तको स्थापना ता भइसकेकै हो । अघि २०६२ मा रत्न पुस्तक भण्डारबाट प्रकाशित मेरो समालोचना सिद्धान्तको ग्रन्थ उत्तरआधुनिक ऐना मा १०० पृष्ठ यसैलाई दिएको थिएँ । त्यसमा अटाएका १५ शीर्षक यस प्रकार छन्—

१. समालोचना–सिद्धान्तको उत्तरआधुनिक पृष्ठभूमि

२. पाठकहरूको मृत्युमा एउटा शोकगीत

३. धोद्रे सिमल फोरेर नयाँ पीपल (साहित्यसिर्जना र मूल्याङ्कनचक्र)

४. नेपाली समालोचनापद्धति रुग्ण भएको बेला

५. स्वर्गीय ज्याक डेरिडाप्रति

६. नयाँ सत्यको खोजीमा विनिर्माण–प्रक्रिया

७. उत्तरआधुनिककालको आगमनबारे एउटा भ्रम

८. उत्तरआधुनिक सङ्घारमा धर्मराइरहेका पाइला

९. उत्तरआधुनिक जङ्गलको एउटा भ्रान्तिवृक्ष

१०. साहित्यिक पुनः सिर्जनाको उत्तरआधुनिक प्रक्रियामाथि केही प्रश्न

११. वर्तमान नेपाली साहित्यमा लीला : दिशाहीनताको निरन्तर खोजी

१२. बर्खान्तको बेला डेरिडाको सम्झना

१३. पर्खाल ढलिरहेका साहित्यिक सिमाना

१४. उत्तरआधुनिक संस्कृतिबोधक केही अवधारणा

१५. विश्वसाहित्यमा समकालीनताको निर्क्यौल : एक गम्भीर प्रश्न

 

सर्वप्रथम निरन खनाले शेक्सपियरको द टेम्पेस्ट नामक नाटक रोजे जसको लेखन मिति हो सन् १६१० । आज चार सय वर्ष नाघ्यो । द टेम्पेस्ट नाटक (तत्कालीन युरोपको आवाज) ले— सम्पूर्ण यूरोपको वा गोराजातिको अहम, अभिमान र सर्वसत्तात्मक सोचलाई देखाउँछ । त्यसको तीनसय वर्षपछि सिसेयरले लेखेको अ टेम्पष्ट त्यसको प्रतिकृति हो जसमा अघिल्लो टेम्पेष्टमा हेपिएका, दलिएका, विशेषगरी काला जाति उठेर बोलेको आवाज रहेको छ । उपनिवेशवादी गोरा जातिबाट थिचिएका काला उठेर आफ्नो अधिकार प्रतिष्ठा उठाएको भाव ।

त्यसैगरी दोस्रो अध्ययनीय कृति छ— हामी सबैले पढेको रविन्सन क्रुसो । प्रथम अंग्रेजी उपन्यास मानिएको रविन्सन क्रुसो पनि अठारौं शताब्दीको शुरूमा लेखियो । त्यो पनि  गोरा जातिकै विश्वविजयको संकेत थियो । त्यस कथाको विकल्पमा दक्षिण अफ्रिकामा बीसौं शताब्दीमा जन्मेका जे. एम. कोत्सीले लेखेको फो (शत्रु) नामकको आख्यान रोजे । त्यो शत्रु शीर्षक आख्यानलाई जोडी बाँधे । अघिल्लो आख्यान विजयको, श्रेष्ठताको अविजेय शक्तिको प्रतीक थियो भने यो (शत्रु) आख्यानमा अफ्रिकीले भोग्नु परेको उपनिवेशवासी दलन, दासत्व, रंगभेद र नैतिकताको थीममा विश्व जुरुकजुरुक पार्ने कथा लेखे । त्यसैले उनले सन् २००३ को नोबेल पुरस्कार प्राप्त गरे ।

अर्को मूल कृति छ नारी स्रष्टा शार्लोट ब्रोन्टे (जन्म सन् १८१६ बेलायत) को उपन्यास जसको शीर्षक छ जेन आयर‘;  यसको थीम छ— प्रेम, स्वतन्त्रता, सामाजिक वर्ग, प्रतिष्ठा, इज्जत र बेलायतको भिक्टोरियन कालमा नारी मुक्तिको प्रयत्न । यी नारी स्रष्टाको विकल्पमा उभ्याएर जीन रिस (१८९०–१९७४) नामक एक शक्तिशाली स्रष्टाले एक सय वर्षपछि लेखेको वाइड सार्गासो सी (आख्यान) बेलायती स्रष्टा ब्रोन्टेको जेन आयरको पूर्वकथा (प्रिक्वेल) जसरी लेखिन् । कत्रो कल्पना, कत्रो आविष्कार । रीसको आख्यानमा निर्वासन, क्षति, अलगाव, पूर्वस्मृति जस्तै फुक्लेका समाजको काला जातिले भोगेको कथा छ । यिनै कुरासँग जोडिने एक उपन्यास पढें हालै— चिमामान्दा नुजि आदिची नामक अफ्रिकी मूलकी लेखिकाको अमेरिकाना । यसमा अफ्रिकी मूलकी पात्र अमिरिकामा मिसिन प्रयत्न गर्दा कत्रा भाषिक, सांस्कृतिक, सामाजिक खाडलहरू नाघ्नुपर्छ, कि त्यहाँबाट भाग्नुपर्छ भन्ने देखाउँछ । आज आएर अघिका साम्राज्यवादी मालिक विरुद्ध दासत्व भोग्नेहरू आज औंला ठड्याइरहेछन् ।

कत्रो विरोधाभाष, कत्राकत्रा अन्याय र विभेदबाट मुक्ति खोजिरहेको समाज छ हाम्रा वरिपरि । जम्मा चार पुरुष दुई नारी स्रष्टा— चारसयदेखि एकसय वर्ष अन्तरका अनि तीन जोर कृतिको अन्तरपाठीय अध्ययन । साम्राज्यवादको आसनमा अटल भएर बसेका शेक्सपियर, डेनियल डिफो, शर्लोट ब्रन्टे अनि तिनका तीन प्रतिद्वन्द्वी जस्ता— आइमी सिसेयर, जे एम कोत्सी, र जीन रीस । तीन जना केन्द्रीय तीन जना, परिधीय स्रष्टा । कहिल्यै सूर्य नअस्ताउने देश बेलायतको धारणा र सोचका विरुद्ध कहिल्यै सूर्य नउदाउने देशका मान्छे बोले । यही हो विनिर्माण, केवल ‘वाणी विलास’ होइन । पुरानो घर लडाएर त्यही ठाउँमा नयाँखाले घर । समयले यसलाई पनि भोलि भत्काइदिन्छ ।

बीसौं शताब्दी लागेपछि साम्राज्यवाद हल्लिन थाल्यो । बिस्तारै उपनिवेशवाद बढारिन थाल्यो । जातिवाद चर्कियो, रंग भेद भत्किन थाल्यो । हामी परिवर्तनको ठूलो दृष्टान्त देख्न थाल्यौं— एकदिन ऋषि सुनक बेलायती प्रधानमन्त्री भए, कमला ह्यारिस झन्डै अमेरिकाकी राष्ट्रपति भएकी, यता भारतमा द्रौपदी मुर्मू आइन्, नेपालकी प्रथम राष्ट्रपति विद्यादेवी भण्डारी भइन् प्रथम प्रधानमन्त्री सुशिला कार्की भएकी छन् । आजको लेखनले वर्षौंको दमन, पीडा, उत्पीडनबाट मुक्ति खोज्ने समाजलाई केन्द्रतिर ल्याउँछ उत्क्रमण खोज्छ, विद्रोह खोज्छ । हाम्रोमा हालै भएको जेन्जी विद्रोहआन्दोलन एक त्यस्तै हो । सिर्जना र कलाको विनिर्माण पनि यस्तै हो । झिंगटी छानो भत्काएर जस्ता पाता ठोक्ता, त्यो पनि भत्काएर ढलान गर्दा एउटासेन्स अव् लस’ र ‘सेन्स अव् गेन’ को दोहोरी चलिरहन्छ ।

हरेक भाषामासंस्कृतिमा अनि धर्ममा मूलधारका कथाले सबै थोक छोपेको हुन्छ । साम्राज्यवादले उपनिवेशितलाई छोपेझैं । सामन्त्याइँले निर्धनता र विभेदलाई छोपेझैं । आज साम्राज्यवाद धुलिए, उपनिवेशका दलनहरूलाई उत्तर–उपनिवेशवादी दर्शनले ढाक्तैछ । त्यसैले अबको कला साहित्यमा हिजो पुरिएका, मार्जिनल बनाइका, सिमान्तिकृत साहित्य–कला–संगीत आज उठ्ने दिन । त्यसैले त्यहाँ हिजो भएको व्यक्तिगतवर्गीय अपहेलना विभेद कसैले सहन गर्दैन ती सच्चाइँदैछन् । ती पुनरलेखन, पुनरसिर्जन प्रकृयामा छन् । विश्वविद्यालयहरूमा पनि सीमान्तकृत पाटा र पक्षहरू माथि पुनर्विचार हुन थाल्यो । यसरी साहित्यकला मिथक र न्यारेटिव्हरूमा ती पुराना मान्यता, सोच, दर्शन, बिम्ब सबैलाई प्रतिस्थापन गर्ने प्रकृया विनिर्माण हो । मूलधारका पात्र, परिवेश, कथानक ती परिस्थितिका जीवन पद्धति मान्यता सबै बदलिए । द्रौपदीको कथा लेख्ने (महाभारतमा) वेद ब्यास थिए । तर आजको द्रौपदीको आख्यान द्रौपदी उडिसाकी विदुषी प्रतिभा रायले आफैं लेखिन् । यो विश्वमा भुमरी पार्दै उठेको उदार नारीवादको बाढीले बज्र जस्ता स्थिर भएका मिथकीय गाथा भत्काएर फेरि अर्को छाया महाभारत लेख्ने साहसको प्रकटिकरण हो । त्यसैगरी अघि वाल्मीकिले लेखेको रामायणलाई भारतीय विदुषी चित्रा व्यानर्जी दिवाकरुणीले सीतामाताकै कलमबाट पुनर्लेखन गराइन् । एक लेखकमा कत्रो शक्ति— देवी, देउता, मिथकीय, ऐतिहासिक सबै पात्रलाई बोलाउन सक्छन् उनीहरू । यसको अन्त्यमा भगवान् रामलाई नै उनले चुनौती दिएकी छन् ।

भारतीय साहित्यमा यसरी रिमेकिङ, रिबिल्डिङ, रिस्ट्रक्चरिङ, डिकन्स्ट्रक्शन अर्थात् पुनरनिर्माण गरिएका आख्यान, काव्य, नाटक, निरन्तर आइरहेछन् । तर अर्कै भर्सनमा । नेपालीमा गरिएका कति काव्य कविता भए, कति उपन्यास अनि नाटक । यस्ता पुनरकथन (रिटेलिङ) मा कहीं पात्र फेरिन्छन्, कहिले स्थान, कहिले तिनीहरूलाई अर्को बाटो घुमाइन्छ । धेरैले त कथालाई यथावत् पनि राखेका छन् । ती विनिर्मित होइनन् । 

भारतीय साहित्यमा रामायणका पुनर्कथनका केही उदाहरण हुन्— भानुमति नरसिम्हन्कृत सीता‘, आनन्द नींलकान्तनको असुर‘, अमिश त्रिपाठीले राम‘, ‘सीता‘, ‘रामायण आदि ग्रन्थका सिरिज निकालेका छन्, देवदत्त पद्दनायकको सीता‘, कविता कानेले लङ्काज प्रिन्सेस नाम राखी रावणकी बहिनी सुर्पणखाको दृष्टिले लेखे, मानिनी आनन्दनीले मन्दोदरी‘, अमति मजुमदारले सीतायन लेखे । महाभारतभित्रका पनि युधिष्ठिरकी पत्नी द्रौपदी‘, ‘कर्णपत्नी‘, ‘अर्जुन‘, ‘तेह्रौं दिन‘, ‘शकुनीकति हो कति संस्करण छन् ।

 – – –

सार्विक मानवीय मूल्यको खोजी 

प्राथमिक र माध्यमिक कालको नेपाली साहित्य ता संस्कृत वाङमयकै अनुवाद थियो । आधुनिक कालदेखि तिनै रचनामा विनिर्माण लहरले छुन थाल्यो । यसरी पुनर्लिखित कृतिको संख्या सय नाघ्यो होला । सबैभन्दा बढी देवकोटाले गरे; उनको प्रमिथस अन्तर्राष्ट्रिय दृष्टान्त हो । सिद्धिचरणको उर्वशी‘, गद्यमा वी पी कोइरालाको मोदिआइन्, अर्को हिटलर र यहुदी, शारदा सुब्बाको यशोधरा, कति त आइबी राईभन्दा धेरै पुराना छन् । सुर्पणखा‘, ‘कैकेयी जस्ता काव्य रच्ने गोविन्द विनोदी, ‘द्रौपदीको पश्चात्ताप रच्ने रामकृष्ण कणेल, ‘सुदामा रच्ने विष्णुसिंह राई, ‘कृष्ण‘, ‘सुतपुत्रलेख्ने शंकर गैरे, ‘अश्वमेघ यज्ञका घोडाहरू तथा अवतार विघटित जस्ता काव्य रच्ने दुवसु छेत्री, ‘जरत्कारु‘, ‘अहिल्या रच्ने किरण आचार्य, ऋग्वैदिककालीन कथालाई पपुलर फिक्शन बनाउने मदनमणि दीक्षित, हालै पुरस्कृत गाथा मनुका पुनर्लेखक डा. देवीप्रसाद सुवेदी यस्ता स्रष्टा धेरै छन्, दिनानुदिन थपिंदैछन् ।

यी सबैमा मूल कृतिभित्रको दर्शनसँग र वर्तमानको पुनर्लेखन जुधाएर पढिन्छ । मूलधारीय चेतना के छ, सीमान्त समाज कस्तो थियो, आज त्यसले कसरी मानवतावाद खोज्दैछ, हेर्ने कुरा त्यही हो । यस हेराइमा लैंगिकता, जातीयता, वर्गीयता, राष्ट्रियता जस्ता कुरा आउँछन् । हेपिएको निम्न वर्गीय र उच्च सम्भ्रान्त बीचको विभेदलाई ती बीचको द्विचर विभाजनलाई स्वीकृत नियम बनाइएको हुन्थ्यो, आज त्यो अस्वीकृतिको आवाज सुनिन्छ, देखिन्छ । त्यसैले गर्दा किनारीकृत बन्ने र अन्यायमा बाँच्ने प्रथा अमान्य हुँदै गएको छ । कसरी कसरी— स्थिर संस्कृति बनेका अस्वीकार्य कुरा, अन्यायपूर्ण लाग्ने विश्वास र प्रथालाई भत्काएर पुनर्निमाण गर्नु नै विनिर्माण हो । एउटा दृष्टान्त छ पश्चिमतिरको ।

मानिस मानिस बीचका असमान नाताहरू अबको मानिसले खप्न सक्तैन । केन्द्र र किनाराबीच ठूलो भेद रहुन्जेल अन्याय बाँचिरहन्छ । दुई धारणा, दुई विचार, काल र तिनले बनाएका पाठ (ग्रन्थ) र तिनका अवयव बीचको तुलना गरी तिनको फरक वा भेद पत्ता लगाउँदै, मानव सभ्यता पूर्ण न्यायतिर जाँदैछ भन्ने देखाउनु हो । यो पूर्ण सभ्य बनेको छैन । कति उसका अभ्यास बर्बरकालदेखिका छन् । निमुखाहरू ती भोगिरहेछन् । अबका स्रष्टाले वा समाचोलकले तीतिर औंल्याउनु पर्यो । त्यसैको लागि विनिर्माण एक सिद्धान्त हो, एक पद्धति, एक समालोचकीय आयाम । केन्द्रीय र परिधीयलाई नजिक ल्याउने नवीन सिद्धान्त ।

उतातिर यसको सिद्धान्त निर्माण गर्नेहरू छन्— मुख्य त डेरिडा, पल डि म्यान, पछिपछि स्टान्ले फिश, जुलिपा क्रिस्तेभा, लिण्डा हचन, गायत्री स्पिभाक आदि । उनीहरूले गर्ने र हामीले गर्ने कुराको उद्देश्य एउटै हो । इन्द्रबहादुर राईको कठपुतलीको मनमा, गुरुप्रसाद मैनालीको परालको आगो कथाका विभिन्न भर्सन छन् । एउटामा चामे र गौँथलीको झगडाको रिपोर्टिङ गर्न पत्रकार आउँछन्, अन्तर्वार्ता गर्छन् जुन टेक्निक अघि थिएन । विनिर्माणले अघिका रिक्तता, भूल, छूट अझ नयाँ सम्भावना देखाउँछ । नयाँ पात्र र परिस्थिति देखिन्छन् । अन्याय परेकी नारीको पक्षमा समाजै उल्टिन्छ भन्ने देखाउन त्यसो गरियो । नारीवादी दृष्टिकोण हो । त्यो केवल विनिर्माणिक प्रकृया हो यद्यपि उनले त्यसलाई आफैले रचेको लीला लेखन भने । धन्य त्रिभुवन विश्वविद्यालयले त्यसलाई प्रामाणिकता दिएन; कतिपय त्यस्ता कृतिमा गरिने अध्ययनलाईविनिर्माण’ नै भनेको छ, त्यसमा एम फिल, पीएच डीसम्म अध्ययन हुँदैछ । 

देवाकरुणीको इन्च्यान्टमेन्ट अव् फरेस्ट भन्ने किताब सीताका दुःख र सुख, पीडा र प्राप्ति उनको हृदय भञ्जनको र पुनरुत्थान शक्तिको कथा हो । यो आजका नारीवादीले उसबेलाका नारीलाई अथवा नारीका विषयमा लेख्ने दर्शन र दृष्टिकोणलाई हेरेको दृष्टान्त हो । अरू नारी पात्रको पनि जीवन त्यसरी हेरौं भन्छ— कैकेयी, सुर्पणखा, मन्दोदरी… आदि ।

 – – –

अन्तरपाठीयता : एक सन्दर्भ

यस्ता कृतिको विश्लेषण गर्दा अन्तरपाठीयता (इन्टरटेक्स्चुआलिटी) भन्ने सिद्धान्तले हेर्न सिकाउँछ । मेरो आफ्नै सुकरातको पाइलासुकरातको डायरीमा प्राचीन ग्रीसेली चिन्तक पात्र बनेर आउँछन् सुकरात । माओवादी कालमा नेपाली सुकरात कसरी बाँचे भन्ने एक दृष्टान्त छ त्यहाँ । वास्तवमा कुलीनतन्त्र र निरङ्कुशताका अवशेष विरुद्ध सदैव युद्ध चलिरहन्छन् । तर पहिलेका तुलनामा विभेद र अत्याचार धेरै कम भए यिनलाई शून्यमा नझारी कला साहित्यको आन्दोलन रोकिन्न । त्यो हेर्न नवराज लम्सालको कर्ण पढौं । दुवसु छेत्रीको अश्वमेघ यज्ञका घोडाहरू पढौं ।

रविन्स क्रुसो गोराको वीरत्वको विस्तार र विजयको अनि साम्राज्यवादको कथा थियो, यसको विरुद्ध कोत्सी गोराबाट कालाको दमनको, उपनिवेशितका शोषणको विरोधको कथा ।

विनिर्माणिक सिद्धान्तले खोज्ने कुरा विभेद र त्यसको क्षतिपूर्ती, केन्द्रीय र परिधीय अस्तित्वहरू मूलधारीयबाट वैकल्पिक गाथाहरू छुट्टिने कुरा हुन् । यो खोजी ता समतावादी सिद्धान्त हो । यो व्यवहारमा आउँदैछ सिर्जनामा जस्तै— सयौं वर्षको पितृसत्ता प्रतिस्थापक व्यक्ति यसपालि रोजिएकी सुशिला कार्की प्रधानमन्त्री तिनै मार्जिनलकी अनुवाद हुन्, दबिएकी आवाज । कुलमान तिनैका, महावीर पुन तिनैका । भ्रष्टाचारले पोतिएका विरुद्ध सङ्ला चरित्रहरू । यो एक पाठ, एक विनिर्माण, एक काव्य ।

निरन खनालले यी सेट कृतिको तुलना गर्दा अन्तरपाठीयता, विचारधारा, उत्तरऔपनिवेशिक सिद्धान्त र गायत्री स्पिभाकको तुलनात्मक पद्धतिको प्रयोग गरेका छन् ।

डेरिडाका अनुसार डिक्स्ट्रक्शन भनेको पूर्ण–हृदयले अनुपस्थिति (अज्ञान) भित्र लुकेको (अर्थात् उपस्थितिको) अनन्त अर्थको सम्भावनालाई स्वागत गर्ने कला हो । यसको अर्थ जगतको खेललाई आनन्दपूर्वक स्वीकार गर्नु हो । अनेक संकेतको विश्वमा यी संकेतको कुनै वैकल्य (दोष) छैन, कुनै सत्य पनि छैन, कुनै उत्पत्ति पनि छैन । त्यसैले विनिर्माण गर्नु भनेको शब्दको ‘खेल’ हो ।

हाम्रा आइबीले पनि ‘खेल’ भने, पान्थरका उत्तरआधुनिक धर्मेन्द्रहरूले पनि ‘लेखक’ लाई ‘खेलक’ भने । तर आइबीले भने— यो गीतामा वर्णित भगवान कृष्णलाई अनेक रूपमा देखिए जस्तो कुरा । हो पनि एउटा कुरा विचार वा धारणा प्रकट गर्न कति शब्द, कति रूप, कति दर्शन छन् । सत्य कुन हो ? एउटा लिम्बू पात्रलाई ‘विवाह’ शब्दले के के सम्झाउँछ, थारुलाई के के ? ब्राह्मणलाई के के ? राजवंशी वा मगरलाई के के ? प्रत्येकको मनोजगत बेग्ला बेग्लै पदार्थले निर्मित छ । तर यो विनिर्माण हो ।

सन् १९६७ (विक्रमी २०२४) मा एकैचोटि डेरिडाले तीन वटा अग्रणी सैद्धान्तिक कृति प्रकाशित गरे । उनको प्रत्येक संकेत अस्थिर छ भन्ने चेतना विश्वभरि व्याप्त भयो । त्यो नै उत्तरआधुनिक डिकन्स्ट्रक्शन थियो । हाम्रा आइबीले त्यसको तेह्र वर्षपछि कठपुतलीको मन प्रकाशित गरे ।

डेरिडा एक्ला थिएनन्, ठूलो बौद्धिक दल थियो । सोही वर्ष (सन् १९६७ मै) सह–चिन्तक हिलिस मिलरले थपे— “विनिर्माण भनेको कुनै पाठको संरचनालाई भत्काउनु होइन, तर यो भत्किसकेको छ भनेर देखाउनु मात्र । यसको ठोस जस्तो लाग्ने आधारभूमि चट्टान होइन, तर पातलो हावा मात्रै छ ।”

अर्का उत्तरआधुनिक चिन्तक छन् पल डी म्यान । उनका अनुसार यो एक प्रतीकात्मक वा रुपक कथा जस्तै हो, सत्यको अनिर्धार्यताले गर्दा हाम्रा हिजोका विचार, धारणा, दर्शन, संस्कृति नित्य चलायमान् छन्, त्यहाँ नयाँ कुरा भर्दै जानु तर मूल संरचना नभत्काई । कथा कथा नै हो, उपन्यास त्यही हो, पात्र पनि छन् तर सबै परिवर्तित । कठपुतलीको मनमा पत्रकार आएझैं ।

डेरिडाको विश्वप्रसिद्ध कृति सर्वप्रथम फ्रान्सेलीमा डि ला ग्रामाटोलोजी सन् १९६७ मा छापियो । त्यसलाई भारतीय विदुषी गायत्री चक्रवर्ती–स्पिभाकले त्यसको अंग्रेजी अनुवाद गरी सन् १९७६ मा अन् ग्रामाटोलोजी नाम राखेर प्रकाशित गरिन् । उनको कृति परिचयले यो सिद्धान्त विश्वप्रशिद्ध भयो । त्यसको अर्को वर्ष आइबी राईको लीला सिद्धान्त (रूपरेखामा) आयो । त्यसको पाँच वर्षमा कठपुतलीको मन । बीसौं शताब्दीको अन्त्यमा उदाएको यो सिद्धान्त आजसम्मकै दर्शन, चिन्तन, कला साहित्यको केन्द्रीय निर्देशक बनेर बसेको छ । आइबी राईले यो  ‘विनिर्माण हो भन्दिएको भए कति राम्रो हुन्थ्यो होला । त्यो भ्रान्तिको सत्यरूप प्रकाशमा ल्याउन निकै समय लाग्यो । धन्य त्रिविले साथ दिएको छ ।  

४ आश्विन २०८२

कीर्तिपुर