जून पाँच २०२४ का दिन सिंहदरबार पछिल्तिरको बागमती कोरिडोरमा पुगेका थियौं । प्राइमरी स्कूल पढ्ने जत्रा एक हूल नानीहरू एकछिन नदी किनारै किनार हिँडेर अनामनगरतिर लागे । तिनीहरूका नाकमुख छोप्ने मास्क, रुमाल केही थिएनन्, जेठका घाममुनि मध्य दिउँसो हातहातमा ससाना एकएक बित्ताका झन्डा हावामा उचाल्थे । गाडीको गतिले उडेको धुलो कुइरिमण्डल थियो । ती नानीहरूले सारा कुरा बेवास्ता गर्दै “वी मस्ट सेभ आवर अर्थ” भन्ने नारा चिच्याएको सुनिन्थ्यो । डीलमुन्तिर दुर्गन्धित लेदो बोकेर बागमती घस्रिँदै थियो । पछिपछि एउटी पातली गुरुमा नानीहरूलाई छेक्तै हिँड्थिन् ।

यसरी अन्तर्राष्ट्रिय जगतको कुन भवनबाट निस्केको वातावरण दिवसको नारा हाम्रा प्राविसम्म पुग्ने दिन आएछन्, माथ्लो तहका शिक्षालयमा के बुझ्छन् के बुझाउँछन् थाहा छैन ।

त्यही बेलुकाका साढे तीन घण्टा हामीले जूम भेलामा बितायौं । जूम अर्थात् निर्भूगोल साइवरीय सम्मेलन, कविता वाचन र वातावरणीय साहित्य आदिमा विचार प्रस्तुति ।

यसको आयोजना विश्व नेपाली साहित्य महासंघ (बिनेसाम) केन्द्रले गरेको थियो । धेरै दिनदेखि सूचना प्रचार गर्दै अनेक मुलुकसित संयोजन गर्दै यस विषयका कवि स्रष्टालाई जोडेर यो कर्म सम्भव भएको थियो । वातावरणीय (अझ विशेष गरी पर्यावरणीय) साहित्यलाई जीवनकै प्रधान लक्ष बनाएर बेलायतदेखि उठेका विजय हितान यस विषयमा सर्वाधिक, समर्पित व्यक्ति हुन् । उनी स्रष्टा, समीक्षक, विषयविज्ञ र एक अद्वितीय स्वरूपका योजक ‘एन्थुजियास्ट’ हुन ।

त्यसो त विनेसामको ब्यानरमा यो कार्यक्रम गर्ने लक्षको प्रशंसा गर्नुपर्दछ । अध्यक्ष सुरेन्द्र परदेशी त्यस्तै समर्पित र साहसी व्यक्ति भएकाले संस्थाले व्यापक उन्नति गर्दै छ ।

आज ‘पर्यावरण’ भन्ने विषय विभिन्न रूपले देशमा प्रवेश गर्दै छ । यसका पनि विविध नाम र कर्मक्षेत्र हुन्छन् । केवल परिवेश, वातावरण, स्वास्थ्य, सफाइ, स्वच्छता र निर्मलताको आग्रह गर्ने र आंशिक रूपले परिवेशका तत्त्वहरूको अन्तरसम्बन्ध बुझाउने पाठ्यक्रमले विद्यालय तहमा प्रवेश पाएको छ जसलाई ‘वातावरण शिक्षा’ नामले पुकारिन्छ । अर्कातिर नेपालका मुख्य साहित्यिक गोष्ठी सम्मेलनमा पर्यावरणीय कविता वाचन हुन्छन्, कार्यपत्र प्रस्तुत हुन्छन्, विचार प्रवाह गरिन्छन् । यो वर्ष इलाम र इटहरीका सम्मेलनमा यी विषय उठे । उता प्राज्ञिक तहमा पनि एम फिल र पिएचडी गर्ने रिसर्च स्कलरको संख्या बढ्दै छ । अहिले हाम्रा चारजना विद्यावारिधि हुनुहुन्छ ।

सबै नेपाली स्रष्टापाठकलाई ‘पर्यावरण’ एक महत्त्वपूर्ण विषयक्षेत्र हो भन्ने चेतना पुगिसक्यो । यस जूम सम्मेलनले यो वर्ष आह्वान गरेका ८० थान पर्यावरणीय कविता मध्ये उत्कृष्ट तीन घोषणा गर्‍यो, ती स्रष्टा पुरस्कारले सम्मानित हुनेछन् ।

तर यो सम्पूर्ण परिस्थितिको उद्घाटन त्यसै अचानक भएन । यस विषयले नेपालमा चालीस वर्षको यात्रा पूरा गरेपछि यी दिन आएका हुन् । यसको प्रथम श्रेय चाहिँ त्रिविका अङ्ग्रेजी प्राध्यापक, अन्तर्राष्ट्रिय स्तरका अग्रणी (हाम्रा आदरणीय गुरु) प्रा. श्रीधरप्रसाद लोहनीलाई जान्छ । उहाँको कार्यकालका प्रा. अभि सुवेदी, डीपी भण्डारी, रामेश्वर प्रसाद अधिकारी, केपी मल्ल, M P Lohani जस्ता अग्र गण्य विद्वानहरूले २०४१ सालदेखि अङ्ग्रेजी पाठ्यक्रममा यी विषय चिनाउनु भयो । हामीले पढ्यौं, पढायौं । त्यसको प्रभाव फैलिँदै गयो ।

पछि २०५५ तिर पोखराबाट सरुभक्तजीले संरक्षण कविता आन्दोलन शुरु गर्नुभयो । यसको उद्देश्य निर्मलता, रमणीयता, ग्राम्य स्वच्छताको परिकल्पना, शहरमा हुने प्रदूषण विरुद्ध चेतना, कविता सिर्जना र कलाको विस्तार थियो । त्यो धेरै चल्यो । मैले काव्यिक आन्दोलनको परिचय (साझा २०६२) भन्ने ग्रन्थमा एउटा लेखभरि त्यो नवीन विषयलाई स्थान दिएँ ।

त्यसै वर्ष झापाका तेराखले सर्वजा नामक विचित्र कल्पनाले निर्मित आख्यान तयार पारे, मैले भूमिका रचें । त्यसमा वृक्ष, वनस्पति, पुष्पमा आफ्नो चोला रूपान्तरित गर्दै हिंड्ने पात्र सर्वजाको अकल्पनीय कथा छ । उनले वृक्ष वनस्पतिको पनि मानवीकरण गरी मानवसम्मत व्यवहार गरेको कुरा लेखे । कथामा मानव चोलाले वृक्ष वनस्पतिको चोला पाएका छन् । त्यसमा एउटा भूमिका लेखेँ । सो कृति पढेर इन्द्रबहादुर राईले ‘मानवेतर जगतलाई पनि सामान्य न्याय गरिएको’ भन्दै कान्तिपुरमा लेख लेख्नु भयो ।

आज असमेली भाषाका महान स्रष्टा लखिनन्दन बराले लेखेको त्यस्तै प्रकारको अमर कृति कायापल्प (आख्यान) लाई तेजपुरका छत्रमान सुब्बाले नेपालीमा अनुवाद गरे । सो वापत उनले यो वर्षको साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरे । यो कृति पढ्दा देखिन्छ प्रकृतिको काखमा पुगेर मानिस ५०० वर्ष पनि बाँच्न सक्छ ।

त्यसपछि २०६४ मा मेरो उत्तरआधुनिक विमर्श आयो । जसमा विश्व साहित्यमा तरङ्गित अनेक नवीनतम साहित्य सिद्धान्तको कुरा पहिलो पल्ट प्रस्तुत गर्ने प्रयत्न छ । युद्ध साहित्य, पर्यावरणीय साहित्य, साइबर संस्कृति र साहित्य, डायस्पोरा र  मिश्रित संस्कृति इत्यादि पढेपछि बिस्तारै नयाँ दैला उघ्रिन थाले ।

त्यसको चार वर्ष पश्चात् लन्डनमा विजय हितानसँग भेट भयो । तेह्र वर्ष बितेछन् । उनी विषयमा उच्च शिक्षा आर्जन गरेका र नेपाली साहित्यमा पर्यावरणीय सिद्धान्त अनुरूप केही सिर्जना गर्ने प्रयत्न गर्दै रहेछन् । उनको हृदयले खोजेको विषयक्षेत्र यही रहेछ ।

त्यसपछि विजयले मेरा चिन्तालाई आफ्ना काँधमा बोकेर हिंड्न थाले पर्यावरणीय साहित्य पुकार्दै । उनलाई लिएर हाम्रो टोली पूर्वी नेपाल पुग्यो, सिमाना काटेर आसाम पुग्यो । उताबाट पनि ज्ञानबहादुर छेत्री, देवचन्द्र सुब्बा, मनप्रसाद सुब्बा, देबेन सापकोटा, मुक्ति बराल, छत्र सुब्बा जस्ता समर्पित स्रष्टा र समालोचकको उदय भइसकेको छ । भर्खर असमेली स्रष्टा अनुराधा शर्मा पुजारीको आख्यानलाई पूजा आचार्यले यहाँ एउटा जङ्गल थियो शीर्षकमा नेपालीमा अनुवाद गरिन् । इन्द्रेणी प्रकाशनको सो कृति पर्यावरणीय आख्यानको ख्याति बोकेर आयो; भर्खर पढ्न थालेको छु । भर्खर हाम्रा सैनिक कवि विशाल केसी (हाल मनिपुर) पर्यावरण लगायतका नवीनतः क्षेत्रमा रचेका कविता प्रकाशित गर्दैछन् ।

विजय हितान जस्तो समर्पित योद्धा फेला परेपछि हामीले उनलाई अघि लगायौं । आठ वर्षदेखि नेपाली परिवेशले विश्व वातावरण मनाइरहेको थियो । तीनपल्ट ठूलाठूला अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्‍यौं । दुई वर्ष जूममा गर्‍यौं । पर्यावरणीय साहित्यको सिद्धान्त, रचना र समालोचनाको आधारशीला हुने गरी छ वटा ग्रन्थ निकाल्यौं । यसपालि पाँच जून पारेर जूममा नवौं वर्ष मनायौं ।

यो औपचारिक मात्र थिएन । यस विषयका गम्भीर स्रष्टा अध्येता, विनेसाम केन्द्र एवम् शाखाका पदाधिकारीका समुपस्थितिमा— अनेक देशका स्रष्टाले आफ्ना रचना वाचन गर्नु भयो, अनेक धारणा र विचार प्रवाहित भए जसको नाम निम्नानुसार छ,

जून ४ भन्दा अघि आएका रचना

१) प्रतिभा कुमाईं, कालेबुङ, कविता ‘धरती जलीरहेछ’

२) गङ्गा पोखरेल, पर्यावरण संरक्षण समाज, पर्या कविता ‘प्रताडित पृथ्वी’

३) बुद्धिवल श्रेष्ठ, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल अध्यक्ष, पर्या कविता वाचन गरेर राष्ट्रिय कविता महोत्सवमा तेस्रो, ‘पहाड र ऊ’ शीर्षक कविता

४) डा. देवेन सापकोटा असम ‘बृक्षको अकाल मृत्यु’ कविता

५) रुपा थापा, ‘प्लास्टिकको रोटी’, कविता नुवाकोट

६) कमला भण्डारी ढकाल, लघुकथा ‘अस्तित्व’, तिलोत्तमा– ९, रुपन्देही

७) कोमल मल्ल, लन्डन, अध्यक्ष नेपाली साहित्य विकास परिषद्

८) डा तारानिधि भट्टराई, काठमाडौं, लघुकथा ‘बेहुलीको सन्देश’

९) मीरा काफ्ले पोखरेल, अस्ट्रेलिया, कविता ‘आपत्ति भगाऔं’

१०) दुर्गाप्रसाद पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान बेलायत, अध्यक्ष

११) सीता भण्डारी कँडेल, काठमाडौं, तीन पर्या चिन्तन मुक्तक

१२) मिना लामा कविता ‘विसम्भरा’ खरसाङ

१३) नवीन पौड्याल, कालेबुङ, कविता

१४ समीक्षा छिरिङ राई, ‘पर्या हाम्रो घर हो’, केराबारी ५ सतिसाले

१५) अशोक घिमिरे, थाई-म्यान्मा समन्वय शाखा, अध्यक्ष

१६) तीन मुक्तक ‘प्रकृतिको अतिक्रमण’, थाइल्याण्ड

१७) तिलक पोख्रेल, म्यान्मा गजल

१८) राज श्रेष्ठ, अनेसास बेलायत अध्यक्ष, ‘कस्तूरी’ कविता

१९) दुर्गा कुमारी थापा, ‘माया र मौसम’, कविता दुल्लु ९ दैलेख, हाल सुर्खेत

२०) नारद खरेल, क्यानडा, ‘ओइलिएको फूल’

२१) घनश्याम बराल ‘औलाली’, ‘वातारण जोगाऔं’ कविता

२२) नेपाल आर्मी रिटायर्ड जेनरल बाबूकृष्ण कार्की, काठमाडौं, कविता

२३) सविता बराल काफ्ले, ‘कसरी बाँच्ने’ कविता

जून ५मा (जूमकै दिन) आएका रचना

१) तिला पाण्डे, खजुरा, बाँके, गीत प्रस्तुति

२) चिनु काफ्ले, ‘भूमि पुनः स्थापना’ कविता

३) निता श्रेष्ठ, ललितपुर ‘नित्यनूर’ कविता

४) लक्ष्मी थापा चन्द्रागिरी नगरपालिका काठमाडौं, कविता

५) सुनिता अधिकारी, बालुवाटार काठमाडौं, कविता

६) रुबिना राना मगर, लुभु, ललितपुर, कविता

७) सृजना सरोवर, उदयपुर, कविता

८) बर्मेलीराज (चत्तुरदेवबाट आएको) एक मुक्तक

उत्कृष्ट पर्याकवि

क) किशन पौडेल, हेटौंडा, ‘बुढो बाग्मतीको आलाप’ कविता

ख) समीप वैरागी, पोखरा, ‘नदुखाइदिनु मेरो छाती’ कविता

ग) भारती न्यौपाने, ललितपुर, ‘धरा’ कविता ।

उत्तरआधुनिक कालको वैश्विक परिवेशले ल्याएका कलाका अनेक सिद्धान्तमध्ये मानव जीवनसँग निकटतासँग जोडिएको छ पर्यावरण । यसपालिका विश्व नारामा जमिनको सुरक्षा, मूल मन्त्र भएकाले “भूमि नै हाम्रो भविष्य” भन्ने नारा व्याप्त भयो । तर सत्ताधारीले रचेका नारा देखाउने दाँत हुन्, उनीहरूले चपाउने दाँतले देश चपाइरहेकै हुन्छन्, पर्यावरण खाइरहेका हुन्छन् निरन्तर । आआफ्ना गाउँठाउँ नगरीमा कतिवटा डोजर, ट्याक्टर, सुँडे, दारे, भ्याकु रातोदिन सक्रिय छन्, त्यति विचार गरौं । ती कुनै गरिबका होइनन्; धनीमानी नेताका यो देश निर्माताका हुन् ।

एसियन हाइवे बनाउने भनी पूर्वाञ्चलका राजमार्गलाई अक्सिजन पुर्‍याइएका विशाल वृक्षहरू केही महिनामै सोत्तर बनाइए । कोही बोल्न सकेन तिनको पक्षमा ।

आजै मात्र दमककी छोरी तनुजा पाण्डेको लेख पढें– “झापाका धिमाल महिलाको जीविकामा परिवर्तन” शीर्षकमा । आदिवासी, जनजाति, ससाना समूहको जीविका जमिन, जङ्गल र पानीमा आधारित हुन्थ्यो । आज ती जमिन र सम्पूर्ण परिवेश ठूलाबडाको कब्जामा पुगे र तिनमा आश्रितहरू, आवाज विहीनहरूको जिन्दगी धरापमा पर्दै छ । नत्र कत्रा कत्रा जङ्गल नाश भए, कसरी अनेक प्रजातिका प्राणी वनस्पति लोप हुँदै छन्, मानिस बसाइँ हिंडिरहेछन् यो कसले गर्छ ? एक थरी जनता उपायहीन भएर यो स्थिति आइरहेको छ । सबै गरेगराएको सत्ताधारीले हो; तिनीहरुद्वारा संरक्षित ठूलाठालूले हो ।

अन्तर्हृदयको आवाज बोल्ने र सत्य खोल्ने त हाम्रा कवि स्रष्टा मात्र हुन् । त्यसैले आजका सर्जकलाई पर्यावरणीय सिद्धान्तको जटिलता बुझाउनलाई उनीहरूको सिर्जना अघि लाग्न दिनुपर्छ । यो अनेक विषय— राजनीति, भूगोल, धर्म, जीवविज्ञान, समाजशास्त्र सबै जोडिने क्षेत्र हो । यसको अन्तिम लक्ष्य ग्रीन अर्थ, ग्रीन लिटरेचर— हरित् पृथ्वीको पुनः स्थापना हो । पृथ्वीलाई हरियो राख्न हरियो साहित्य समालोचना समीक्षा चिन्तन गर्नु छ । यो साहित्यलाई मानवेतर केन्द्री बनाउने सिद्धान्त हो । यो धरती सबैको साझा घर, बहुलता र विविधता  अटाउने एक मात्र ठाउँ हो । तर आज हाम्रा खोलानाला वृक्ष र वनस्पति मात्र होइन; सम्पूर्ण पृथ्वी ग्रहकै विनाश हुँदै छ केवल मानवको अविवेकले । बिस्तारै उसैको पनि लोप हुने दिन आफैंले निम्त्याइरहेछ ।

हाम्रा प्रिय कवि विष्णु एस राई रचित ‘सभ्यताको मृत्यु’ शीर्षक निम्न कविता पढौं । यसले पर्यावरण विषयक विश्वस्तरीय चिन्तन र चेतनाको सन्देश दिन्छ ।

क्दो संघर्ष गर्दा पनि नसकेर

निश्चेष्ट, निष्प्राण भई पल्टेकी

असहाय, अबला झैं

पल्टेकी छिन् नदी —

विवेकहीन पुरुषहरूले

क्लान्त नारी–शरीरलाई चिथोरेर

आफ्ना पुरुषार्थ प्रदर्शन गरे जस्तै

ट्रकहरू चिथोर्दैछन्

शुभांगी नदीको अङ्गप्रत्यङ्ग ।

  

अलि पर

माझी दाइ फर्किंदै छ घर

खाली हात खाली जाल लिएर

नदीमा माछा पाइँदैन अब

एक हूल गाईवस्तुहरू

रोगी नदीको पात्लो धाराबाट

जीवन लिंदैछन्

नदी चाहिं बिस्तारै मर्दैछिन् ।

  

रातको चकमन्नमा

अँधेरोको छाती चिर्दै आउँछ

कृशांगी नदीको रोदनको आवाज

सुन्नुभएको छ ?

शिकायत गर्दिनन् उनी किनभने

थाहा छ उनीलाई

सुन्ने फुर्सत छैन मान्छेसँग

उनी त मात्र विवशता र असहायता

पखाल्छिन् आफ्नो आँसुसँग ।

 

मरणासन्न नदी भन्छिन्,

मलाई मर्ने डर छैन

तर सोच्दा दुःख लाग्छ कि

जीवन–जल बाँड्नलाई

म अब हुने छैन

र मसँगै मर्नेछन्

तिम्रा सभ्यताहरू पनि” !

हाम्रो पर्यावरणीय साहित्यको अभियानमा सम्पूर्ण रूपले समर्पित विजय हितानले ठूलो भागमा विजय गरिसकेका छन् । अब सिद्धान्त र सिर्जनाका सामग्री निरन्तर तयार गरिरहनु पर्छ । अनुसन्धान जारी राख्नु पर्छ । जल, तेज, वायु, आकाश, भूमि पाँच तत्त्वको जीवन र मरणका बेग्ला बेग्लै बाटा छन् । तिनीहरूका बीचको सह–अस्तित्वको सिद्धान्त नबुझेर हामी विनाशतिर समर्पित छौं । हाम्रा पाठ्यक्रममा यी कुरा थपिनु पर्छ । विज्ञानले हेरेर नपुग्ने रहेछ साहित्यले बुझाउनु पर्छ । साहित्यमा हृदयको भाषा हुन्छ ।

नयाँ कुरालाई स्थापित हुन अनेक सुयोग चाहिन्छन् नत्र समय यसै चिप्लेर जान्छ । नेपालीहरू यथा समयमै सचेत भइदिनाले गर्दा विश्वमा चलेका नवीन कला चेतनातिर पनि हामी सचेत हुन थाल्यौं । तर अध्ययन कम छ, अध्ययन सामग्रीको पनि कमी छ । सचेतता बढ्दै जाला भन्ने आशा राखौं ।

स्रष्टासाहित्यिक पत्रकार श्री अश्विनी कोइरालाको नेतृत्वमा स्थापित “साहित्यपोस्ट” नामक अनलाइन प्रकाशनले नेपाली साहित्यमा एउटा नव इतिहास आरम्भ गरेको छ । यो पुरानो र नयाँ युगको सन्धि हो । यसले हाम्रो साहित्यकलालाई साइबर जगतमा जोडेर व्यापक गराउँदै छ । नेपाली साहित्यको समकालीनतालाई समेट्ने विश्वका अनेक नेपाली बस्तीलाई जोड्ने यस साहित्यिक पोर्टलले हाम्रो अभियानलाई ठूलो सहयोग गरिरहेको छ । हामी उहाँहरूप्रति आभारी छौं ।

अन्त्यमा क्यानाडियन डायास्पोराकी चिनिया कवि यान्लान यूले रचेको एक अङ्ग्रेजी कविताको अनुवाद गरेर त्यसको नेपाली संस्करण प्रस्तुत गर्दछु । माथिको कविताले पर्यावरणीय सन्तुलन भत्काउँदै लगेर हामी मानव सभ्यता नै मेट्न उद्यत छौं भन्ने संकेत गरेको छ । त्यसैगरी तलको कविताले प्रकृति पूजामा कसरी कोमल र प्रियकर जगतको दैलो उघ्रिन्छ भन्ने देखाउँछ ।

यसको शीर्षक हो फिग ट्री (खनिउँको, गुलरको, नेभाराको रुख) । यसबाट थाहा हुन्छ स्वच्छ पर्यावरणले प्रकृतिलाई हेर्ने दृष्टि कति स्वच्छ बनाउँछ:

गुलरको रुख

मेरो टेबुलको सामुन्ने

उभिएको छ एक गुलरको वृक्ष

शिर उठाएर हेर्यैपिच्छे म देख्छु

तर यो स्थिर लाग्छ

प्रत्येक पात एउटा सानो सारंगी जस्तै

कति धेरै गुप्त धुनहरू त्यहाँ झुन्डिरहेको

अनि मेरो निद्रामा मात्रै बजाउँछन् तिनले

 

बिहान ब्युँझँदा त्यो सारा जीवन

ती अनेक नोटेशनले भरिएको हुन्छ

अनि माथि हाँगामा एउटा नयाँ कविता देखा पर्छ

 

उनी बारम्बार अभ्यास गर्छन् र बजाइरहन्छन्

आनन्दपूर्वक कहिल्यै नथाकी

 

के म चाहिँ आफ्नो समय यसै उडाउँदै छु ?

अथवा तिनीहरूको जस्तै प्रत्येक दिन

आनन्दकर परिवर्तनहरू आउँछन्

केवल भित्रभित्रै सधैं ?

यद्यपि बाह्य स्वरूप शान्त रहन्छ सधैं ।