बीसौं शताब्दीका अफ्रिकी स्रष्टामध्ये चिनुआ आचेबे सर्वाधिक उचाइका साहित्यिक व्यक्तित्वमा गनिन्छन् । उनले सन् १९५८ मा रचेको प्रथम उपन्यास थिङ्गज् फल अपार्ट (अस्तित्व धुलिसात हुन्छ) ले अफ्रिकामा मिशनरीको प्रवेशको कारण विस्तारै इग्बो जातिको संस्कृति लोप हुन थालेको, बिस्तारै गएर त्यो जातिको अस्तित्व मेटिन थालेको यथार्थ खोल्छ । वास्तवमा यो यथार्थ भइकन पनि प्रतीकात्मक कथा हो । अहिले हाम्रो देशको स्थिति र दशा पनि त्यस्तै छ— अर्काको काँधमा चढेर विकसित हुने । हाम्रा कति जाति र संस्कृति यो हुरीमा मेटिँदै छन् ।
म पाँच वर्षको हुँदा २८ वर्षे चिनुआले लेखेको उक्त आख्यान संसारमै एक क्लासिक गाथा मानिन्छ । यो आफ्नो मौलिकता मास्तै लाने जाति र देशको गाथा हो । यो हाम्रो विश्वविद्यालयको पनि पाठ्यक्रममा रहेको छ । धर्म, संस्कृति र परम्परा भत्काउँदै जाँदा एक दिन जाति नै परिचयहीन हुनजान्छ भन्ने यसको सार छ ।

एक दशकभित्र उनले क्रमलेखन गरी अरु दुई उपन्यास थपे— नो लङ्गर एट इज र एरो अव् गड । यी उपन्यासत्रयी (ट्रिलोजी) पछिका अरु पनि एक दर्जन उपन्यास, बाल साहित्य र अन्य कृति लेखे, प्रकाशनमा लागे, अनेक विश्वविद्यालयमा पढाए र अफ्रिकामा बेलायतको उपनिवेशवाद र मिशनरी प्रभावविरुद्ध इग्बो जातिको विद्रोहलाई सांकेतिक रुपले प्रतिनिधित्व गरे । तर ठूलो शक्ति पसेपछि सानाको घर फोरेरै छाड्छ । सन् १९३० मा नाइजेरियामा जन्मेका उनले ८३ वर्ष पश्चात् अमेरिकाको मासाचुसेट्समा २०१३ मा देह त्याग गरे ।
उनका जीवनको अन्तिम समयमा ह्विलचेयरमा बसेर चल्ने समयको र अर्को केही पुरानो गरी दुइटा अन्तर्वार्ता द प्यारिस रिभ्यूको अंक १३३ (१९९४) मा प्रकाशित यो अन्तर्वाताको सार नेपालीमा प्रस्तुत गर्दछु ।
यस्ता विश्वविख्यात व्यक्तिका अन्तर्वाता पढ्दा मनमा एउटा यस्तो सपना भनौ इच्छा उत्पन्न हुन्छ— नेपाली वाङमयसेवी कला/साहित्यकारबाट चुनेर अन्तर्वाता मात्रै लिने, तिनलाई सुरक्षित गर्ने कुनै व्यक्ति वा संस्थाको जन्म हुन सके कस्तो हुन्थ्यो होला ! कला/साहित्य साधक चिन्तकहरु वर्तमानलाई मात्र बाँचेका जस्ता भएका छन्; उनीहरुको भविष्य देखाउने संग्रहालयको परिकल्पना पनि गर्न सकेका छैनौं । कुनै संस्था छैन, सरकारलाई टावर बनाउने पैसा पुगेको छैन; कला साहित्यको व्यर्थ चिन्ता कसले गरोस् !

तिनै चिनुवा आचेबेसित जेरोम ब्रूक्सले लिएको अन्तर्वार्ता निम्नानुसार छः

तपाईं नाइजेरिया (अफ्रिका) को इग्बो गाउँमा जन्मी हुर्केको आचेबे परिवारको व्यक्ति हुनुहुन्छ । आफ्नो परिवार, अनि प्रारम्भिक शिक्षाबारेमा बताउँदै तपाईंलाई सानैमा साहित्यतिर लाग्न केले प्रेरित ग-यो भन्ने कुरा पनि बताइदिनु हुन्छ कि ?
मलाई शुरूमा कथाले आकर्षित ग-यो । ‘कथा’ भन्नाले लेख्ने कथा होइन किनभने ती दिनमा कथा लेख्ने कुरा साँच्चै अव्यवहार्य थियो । तसर्थ ती कुरा मनमा आउँथेनन् । तर मलाई थाहा थियो— मलाई कथा मन पर्दछ । कथा भन्नाले हाम्रा घरघरमा भनिने कथा— शुरुमा आमाले सुनाउँथिन् त्यसपछि ठूल्दिदीले सुनाइन, जस्तै— कछुवाका कथा । यस्ता टुक्राटुक्री संवादमा पनि सुन्थें । वरिपरि घुम्दै बसेका बेला बुवाले र पाहुनाले भनेका कथा सुन्थें ।

पछि स्कूल जान थालेपछि पुस्तकमा पढेका कथा मनपर्न थाले । ती ता भिन्नै खाले थिए तर पनि मन पर्थे । नाइजेरियाको त्यस ठाउँमा मेरा पिताले आफ्नो धर्म त्यागेर ईशाई धर्म परिवर्तन गरेछन् । त्यति मात्र होइन उनी ता धर्म प्रचारक पनि बनेछन् । त्यसैले मेरा पितामाताले इग्बो भूमिका अनेक भागमा यात्रा गर्दै पैंतीस वर्ष व्यतीत गरे । त्यही धर्म सन्देशको प्रचार गर्दै । म उनीहरूको छ जना सन्तानमा पाँचौं हुँ । घुम्दाघुम्दै मेरा बाआमा थाकेपछि सपरिवार आफ्नो पैतृक गाउँमा फर्किए ।
त्यसपछि म स्कूल जान थालें । पढ्न सिकें अनि मैले अन्य भूमिका, अरु जातिका कथा पनि थाहा पाउन थालें । मेरो एउटा निवन्धमा मलाई आकर्षित गर्ने कुराहरुको वर्णन गरेको छु । अजीव काम कुरा छन्— एकजना जादूगर थियो । एउटा बत्तिको खोजीमा चाइना गयो । मलाई ता त्यो कुरा विचित्र लाग्यो— ती सुइट प्रान्तका, हावादारी लाग्ने जस्ता कुरा ।
म ठूलो हुँदै गएँ अनि मैले ती साहसिक कथाहरु पढ्न थालेँ जसमा मैले असभ्य जंगलीको (काला जातिको) पक्षमा उभिनु पर्छ भन्ने कुरा थाहा पाइन— ती असभ्य बर्बहरलाई एउटा असल गोराले भेटेका थिए । मैले आफ्नो सहज ज्ञानले गोराको पक्ष लिएँ । ती गोरा असल थिए । ती उत्तम थिए । अरु ता त्यस्ता थिएनन् । कालाहरु मूर्ख र घिनलाग्दा थिए । त्यसरी म आफ्नै कथा नरोज्ने खतरातिर तानिएँ । एउटा महान उखान् छ— सिंहहरूको आफ्नै इतिहासकार नभएसम्म शिकारको कथाले सधैं शिकारीकै गौरव गाउँछ । मेरो मस्तिष्कमा धेरै पछिसम्म त्यो कुरा घुसेन । एकपल्ट मेरो मनमा आयो— म लेखक बन्नु प-यो । मैले त्यो आफ्नै कथा लेख्ने इतिहासकार बन्नु प-यो । यो एक जनाको कर्म होइन । तर यो हामीले गर्नैपर्ने कुरा छ । त्यसरी सिकार बन्ने (प्रताडित) को पीडा पनि त्यसमा प्रतिबिम्बित होला । त्यो कठोर परिश्रम, त्यो वीरत्व, सिंहहरूकै पनि किन नहोस् ।

तपाईं रवादान विश्वविद्यालय वा प्रथम ग्रेजुएट (प्रशिद्ध) मध्येका एक हुनुहुन्थ्यो । शुरुका दिनमा त्यो विश्वविद्यालय कस्तो थियो अनि तपाईंले के अध्ययन गर्नुभयो ? तपाईंका लेखनमा त्यो कुरा कतै जोडिएको छ ?
अहिले सम्झिंदा इबादान एक महान् संस्था थियो । एक प्रकारले यसले त्यो औपनिवेशिक कालको विरोधाभास पनि प्रकट ग-यो । किनभने यो युनिभर्सिटि कलेजको स्थापना नाइजेरियामा ब्रिटिशहरूको उपनिवेश काल अन्त्य हुने समयमा भएको थियो । उनीहरूले कुनै गतिलो कार्य गरेका छन् भने इबादान विश्वविद्यालय नै एक थियो । शुरुमा यो लण्डन युनिभर्सिटीको शाखा कलेजको रुपमा स्थापित भयो । किनभने ब्रिटिश राज्यका दिनमा तपाईंले विश्वविद्यालय जस्तो संस्थाको स्थापना गर्नमा हतारिनु हुन्नथ्यो । कसैको अन्तर्गत अनुबन्धित भएर मात्रै गर्न सकिन्थ्यो । कसैको संरक्षणको अन्तर्गत मात्रै उभिन पाउनु हुन्थ्यो । हामी युनिभर्सिटी अफ इबादान अझ लण्डन (कलेज) का विद्यार्थी कहिन्थ्यौं । यसरी मैले लण्डन युनिभर्सिटीबाट डिग्री लिएँ । उसबेला विश्वविद्यालय यसरी चल्थ्यो । देश स्वतन्त्र भएपछि (१९६०) को एउटा लक्षण चाहिँ इबादानमा एउटा पूर्णाङ्गी विश्वविद्यालय खुल्नु थियो ।

मैले विज्ञान विषय थालेँ, साथै अंग्रेजी, इतिहास र धर्म । ती विषयहरू मलाई रोमाञ्चक लाग्थे । पछि ज्यादै उपयोगी पनि भए । धर्म विषयको अध्ययन मेरा लागि नौलो लाग्यो । साथै यो चाखलाग्दो पनि थियो किनभने यो क्रिश्चियन मत मात्र थिएन, त्यहाँ हामीले पश्चिम अफ्रिकी धर्म पनि पढ्नु पथ्र्यो । डा. परिन्दर नामका मेरा टिचर थिए । अहिले ता उनी लन्डन युनिभर्सिटीका एमेरिट्स प्रोफेसर छन् । उनी आफ्ना विषयका अग्रणी थिए । उनले पश्चिमी अफ्रिकाको डोहोमी भन्ने ठाउँमा व्यापक अनुसन्धान गरे । पहिलोपल्ट मैले आफ्नो समेत अरुका पनि पद्दति देख्न पाएँ— मेरा र अरुका धार्मिक प्रणाली सँगसँगै राखेर तुलना गरें । त्यो नै मलाई धेरै उत्साहजनक कर्म लाग्यो । त्यही विभागमा मैले जेम्स वेल्च नामक अर्का पनि प्रोफेसर भेट्टाएँ । उनी एक असाधारण व्यक्ति रहेछन् । उनी जर्ज पंचम (१८६५–१९३७ बेलायती सम्राट) का बीबीसीका च्यापलेन (पादरी) रहेछन् र हामीकहाँ आउनुभन्दा पहिल्यै उनी सबै प्रकारका पदमा पुगिसकेका रहेछन् । उनी अत्यन्तै भाषणपटु धर्मोपदेशक थिए । एकपल्ट उनले मलाई भने— “तिमी के चाहन्छौ अथवा तिमीलाई के आवश्यक परेको छ भन्ने कुरा सिकाउन हामी असमर्थ हुन सक्छौं । हामी ता जे जान्दछौं त्यो कुरा मात्र तिमीलाई सिकाउँछौं ।” त्यो सुनेर म चकित परें । वास्तवमा त्यो मैले प्राप्त गरेको एक उत्कृष्ट शिक्षा थियो । त्यहाँ मैले चाहेका (मलाई साँच्चै आवश्यक परेको) यस्तो प्रकारको धारणा बाहेक कुनै कुरा सिकिन । मैले आफ्नै आँटले बाहिर निक्कनु थियो । मैले भन्न खोजेको उत्कृष्ट उदाहरण चाहिँ हाम्रो अंग्रेजी विभाग थियो । हामीमध्ये कोही लेखक बन्छौं भन्ने सुनेको भए तिनीहरु हाँस्ने थिए होलान् । त्यो कुरा उनीहरूका मस्तिष्कमा पसेकै थिएन ।

मलाई एकपल्ट विभागीय पुरस्कार प्रदान गरियो । उनीहरुले टाँसेको सूचना अनुसार— “विभागीय पुरस्कारको लागि लामो विदाबारे एउटा कथा लेख्नुहोस ।” त्यो भन्दा अघि कहिल्यै पनि मैले यस्तरी कथा लेखेकै थिइन । तर घर गएपछि मैले सोचें, ठीक छ नि त किन नलेख्नु ? अनि मैले एउटा कथा लेखेर बुझाएँ । धेरै महीना व्यतीत भएपछि एकदिन पाटीमा एउटा सूचना टाँसियो । त्यसमा परिणामको घोषणा थियो । मैले ठानें, “कसैलाई पुरस्कार प्रदान गरिएन किनभने कुनै पनि प्रतियोगीमा स्तर थिएन ।” अन्त्यमा मेरो नाम बोलाएर भने— मेरो लघु कथा उल्लेख योग्य थियो । उनीहरुले मेरो नाम उच्चारण गरे अनि मेरो कथा आजको उल्लेख्य भयो भन्ने कुरा सुनाए । त्यसकारण इबादान कलेजले “तिमी योग्य भयौ” भनेपछि त्यो ता ठूलो प्रशंसाको कुरा भयो ।
म त्यो पुरस्कारको प्रवन्ध गर्ने लेक्चरर समक्ष पुगेपछि उनले भनिन्,— “तिम्रो कथा त्यति राम्रो नभएपनि मजाको थियो त,” यसको संरचना पो गलत संरचनामा छ ।
“त्यसो भए यसको बारे मलाई केही बताइदिनु हुन्छ कि ?”
उनले भनिन्, “हुन्छ म बताऔंला, तर अहिले होइन । म टेनिस खेल्न जाँदैछु । भरेभोलि कुरा गरौंला । मलाई पछि संझाउनू तिमीले । अनि म भनौंला ।” त्यो कुरा त्यो सेसनभरि त्यतिकै रह्यो । प्रत्येक पल्ट उनलाई भेटनासाथ म भन्छु, “त्यो कथाको संरचनाबारे आज कुरा गर्ने हो कि ?” उनी भन्छिन— “होइन, अहिले होइन”, उनी भन्छिन, “यसबारे हामी पछि बात गरौंला ।” फेरि गर्दा गर्दा अन्त्यमा मलाई भेटेर उनले भनिन्, “हेर न मैले तिम्रो कथालाई फेरि पढें र खासमा भन्ने हो भने त्यसमा कुनै त्रुटि रैनरहेछ । कथा ता राम्रो रहेछ ।” त्यो अंग्रेजी विभागबाट कथा लेखनका बारेमा मैले सिकेको कुरा त्यति मात्रै थियो । वास्तवमा तपाईंले आफैं अघि बढ्दा यस्तै हुने रहेछ, अरु उपाय छैन ।

विश्वविद्यालय स्तरीय अध्ययन पूरा गरेपछि तपाईंले कसरी नाइजेरियन ब्रोडकास्टिङ कर्पोरेशनमा जागीर शुरु गर्नु भयो ?
प्रोफेशर वेल्चको हस्तक्षेपले मैले त्यसमा प्रवेश गरेको हुँ । उनले मेरा लागि क्याम्ब्रिजको ट्रिनिटी कलेजमा छात्रवृत्ति मिलाउन खोजे तर त्यो पार लागेन । त्यसकारणले दोस्रो उपाय भनेको त्यही ब्रोडकास्टिङ थियो । त्यो कलेज सकिएपछि मैले के गर्ने हुँ भन्ने सोचेको पनि थिइनँ । आजका विद्यार्थीको चाला (सोचाइ) देखेर म आश्चर्यमा परेको छु । उनीहरूलाई त कलेज पसेको पहिलो दिनदेखि नै अब भविष्यमा के भन्ने कुरा थाहा हुन्छ । अहँ, हामीलाई केही थाहा हुँदैनथ्यो । हामी खालि वर र पर भौंतारिन्थ्यौं मात्रै । हामी ठान्थ्यौं— जे जसरी पनि एक थोक भइहाल्ला नि ! तर सौभाग्यको कुरा छ, मेरो कतै काम बनेन ।
हामी धेरै जना ता थिएनौँ । आज भए तपाईं त्यसरी बाँच्नै सक्नुहुन्नथ्यो । त्यसैले म ब्रोडकास्टिङमा प्रवेश गरें र काम थालेपछि थाहा पाएँ त्यहाँका मौखिक (शब्द) विभाग (द टक्स् डिपार्टमेण्ट) चाहिँ साँच्चै अनुकूल रहेछ । मैले खोजेको काम कुरा नै यही थियो । मैले पाण्डुलिपि सम्पादन गर्नुपर्थ्यो । मानिसका प्रवचनहरू अनि लघुकथा पनि । म अब साँच्चै नै कथा आह्वान गर्नु र गहिरिएर तिनको सम्पादन गर्नु मेरो काम हुन थाल्यो । हाम्रो भर्खरै (अक्टोबर १९६० मा) स्वतन्त्र भएको देश नाइजेरियामा कामहरू एकदम तीव्र गतिमा हुन थालेका थिए । अनि त्यो उत्तेजक आनन्द दिने कर्मबाट त्यसको प्रवन्ध विभाग पट्टि मेरो पदोन्नति भयो ।

तपाईंका शुरुका पुस्तकका नामहरु— थिङस् फल अपार्ट– १९५८ र नो लङ्गर एट ईज १९६० नामक दुवै आख्यानका शीर्षक आधुनिक आइरिश कविबाट लिएका हुन् । अरु कला स्रष्टाहरु— खासगरी पौल मार्शलको कुरा गर्दा— अंग्रेजी कवि विलियम् बटलर यिटस् (१८६५–१९३९) बाट लिन्छन । मलाई लाग्छ यिट्स र इलिअट तपाईंका पनि प्रिय स्रष्टा हुनुपर्छ ।
हुन् नि त्यसो त तर वास्तवमा म त्यति सारो त्यता लागिनँ । म चाहिँ अर्थोक भन्दा पनि ज्यादा देखावटी गर्दै थिएँ । अघि भनिसकें— मैले अंग्रेजी विषय लिएर आर्टस्मा सामान्य डिग्री लिएको थिएँ । अनि त्यसको प्रमाणस्वरुप केही ता देखाउनै प-यो । तर म कवि यिटस् खूब मन पराउँथे । तीे प्रचण्ड स्वभावका आइरिश नागरिक, म उनको भाषाप्रेम साँच्चै मन पराउँथें, त्यसको प्रवाह रुचाउँथे । उनका अराजक धारणाहरू एउटा कविको लागि सुहाउने कुरा जस्तो लाग्थ्यो । त्यो अनुरागमा उनी सदैव सकारात्मक थिए । उनी अतीब सुन्दर कविता रच्थे । उनी दुराग्रही पनि थिए तर उनको हृदय सदैव सकारात्मक थियो । एउटा जादूगरको जस्तो प्रभाव थियो, उनका कविताको पनि त्यस्तै । म चाहिँ मेरा मनमा जे आउने गर्छ त्यसैलाई कोर्थें । केही शब्द सुनाउँथें । मलाई रमाइलो लाग्ने, छुने जे पनि । यिट्स मेरो लागि त्यस्ता खालका स्रष्टा थिए । धेरै पछि मात्रै मैले उनको “वृत्त” को सिद्धान्त अथवा “सभ्यताका चक्रहरुको सिद्धान्त” बारे राम्ररी थाहा पाएँ । मैले “थिङ्स फल अपार्ट” भन्ने कृतिका लागि मनले शीर्षक खोजी गरेका समयमा त्यसबारे सोचेको थिइनँ । मलाई त्यो “थिङ्स फल अपार्ट” भन्ने पदावली एकदम उचित र सुहाउने लाग्छ ।
अमेरिकी कवि टी एस इलिअट (१८८८–१९६५० विल्कुल फरक छन । मैले उनलाई इवाडान कलेजमा पढें । उनीसँग पुरोहितको (पादरीको) जस्तो पाण्डित्यकला थियो— वाग्मिता थियो तर बेग्लै प्रकृतिको । बौद्धिक पनि । तर मलाई लाग्छ मैले जुन कविताबाट नो लङ्गर एट ईज् भन्ने शीर्षक लिएँ, त्यो चाहिँ दि जर्नी अव् दी मजाई भन्ने उनको कवितामा छ, त्यो चाहिँ अंग्रेजी साहित्यकै एक महानतम कविता हो । ती टाढा गएर फेरि आफ्नो देशमा फर्की आउने मानिसहरुलाई “मनमा कति पनि आनन्द थिएन” (वेर नो लङ्गर एट ईज) । मलाई लाग्छ त्यो महान कुरा थियो । उच्च विषयको कुरा गर्दा पनि सरल भाषाको प्रयोग थियो । अति प्रभावकारी र मार्मिक पनि । त्यसरी त्यसको विषयमा यति नै कुरा गरौं । तर ख्याल गर्नुहोला, शुरुका ती दुई शीर्षक बाहेक त्यसपछि मैले अरुबाट लिइनँ ।

मैले एकपल्ट तपाईंले कसरी थिङ्स फल अपार्ट कृतिको पाण्डुलिपि आलन् हिल (प्रकाशक) लाई पठाउनु भयो भन्नेबारे उनले कुरा गरेको सुनेको थिएँ ।
यसको कथा लामो छ । यसको पहिलो पाटो चाहिँ त्यसको पाण्डुलिपि कसरी झन्डै हरायो भन्ने थियो । सन् १९५७ मा मलाई लण्डन गएर केही महीना त्यहाँको वीवीसीमा अध्ययन गर्न भनी एउटा छात्रवृत्ति प्राप्त भएको थियो । मैले थिङ्स फल अपार्टको पाण्डुलिपि सँगै लिएर गएको थिएँ । वीवीसीमा पुगेपछि मेरो अर्को नाइजेरियन साथीले भन्यो, “किन तिमी यो मिस्टर फ्लेप्सलाई देखाउँदैनौ ?” वीवीसी स्कूलमा काम गर्ने ती व्यक्ति एक आख्यानकार पनि रहेछन ।
मैले सोधें, “के भन्नुभयो ?
यस्तै निकै दिन चल्यो । अन्त्यमा मैले मान्नै प¥यो र त्यो पाण्डुलिपि लगेर मिष्टर फ्लेप्सलाई हस्तान्तरण गरेँ ।
उनले “ठीक छ, राम्रो भो, यो पाण्डुलिपि ल्याएछौ,” भने । तर उनी साह्रै उत्साहित भएनन । किन पो हुनु प¥यो र ? तैपनि विनम्रपूर्वक ग्रहण गर्ने उनी प्रथम व्यक्ति थिए । यो निकै रमाइलो लाग्यो । वास्तवमा उनलाई पनि एउटा कुराले गहिरो गरी मनमा छोएछ । उनी त्यसले गर्दा मलाई बोलाउन बाध्य भए । त्यसबेला म लण्डन बाहिर गएको बेला परेछ । तर उनले म गएको ठाउँ पत्ता लाएर त्यो होटललाई फोन गरेछन् । अनि ‘पछि फर्केर आएपछि मलाई भेट्नू’ भन्ने खबर छाडेछन् ।
त्यो खबर पाएर म पूर्ण रुपले भ्रमित भएँ । एकमन ठानें— उनलाई यो मन परेन होला । तर फेरि यो उनलाई मन पर्दैन भने किन मलाई भेट्न बोलाए ? त्यसकारण यो उनलाई मन परेको हुनुपर्छ । जे भए पनि म अब उत्तेजित भएँ । म लण्डन फर्केर गएपछि उनले भने— ‘यो ता आश्चर्यजनक भयो । म यो पाण्डुलिपि मेरा प्रकाशकलाई देखाउँ त ?’ उनले सोधे ।
अनि मैले भने— ‘हुन्छ नि देखाउनोस् तर अहिले होइन । मलाई यसको स्वरुप (संरचना) अझै ठीक छैन कि जस्तो लाग्छ । यसमा अफ्रिकाका तीन परिवारको कथा लेख्ने प्रयत्न गरेको छु । पहिलो ड्राफ्टमा मैले धेरै लामो पृष्ठभूमि लिएँ । त्यसर्थ यसलाई एक प्रकारले आमूल परिवर्तन पो गर्नुपर्छ कि जस्तो मानेको थिएँ । यसरी मूल भागतिर बढाउनु पर्ला भन्दै थिएँ । त्यसैले फ्लेप्स लाई भनें, “म यसलाई एकपल्ट नाइजेरिया नै लिएर जान्छ र मिलाउँछु भन्ने लाग्या छ ।” नभन्दै मैले त्यसै गरें ।
बेलायतमा भएका बेला “टाइप गर्दिने अफिस” बारे मैले विज्ञापनहरु पढेको थिएँ । विस्तारै यो कुरा पनि थाहा पाएँ— आफ्नो पाण्डुलिपिलाई टाइप गराउनु पर्छ, त्यसले राम्रो प्रभाव पार्दछ । त्यो सुनेर मैले मूर्खतापूर्वक भन्नु प¥यो नाइजेरियाबाट आफ्नो हस्तलिखित उपन्यास बेलायत पार्सल गरें । विश्वभरिको त्यो एकमात्र प्रति— हातैले लेखेको त्यो टाइपिङ एजेन्सीलाई पठाएँ । उनीहरुले पाएछन र मलाई उत्तर लेखे, “यो पाण्डुलिपिको लागि धन्यवाद छ । तपाईंले बत्तीस पाउण्ड खर्च तिर्नुपर्ने छ ।” त्यो खर्च उनीहरुले दुई प्रति (टाइप) को जोडेका रहेछन । अनि त्यो रकम चाहिँ काम थाल्नु पहिल्यै बुझाउनु पर्ने रहेछ । नभन्दै मैले बेलायती हुलाकलाई ३२ पाउण्ड रकम पठाएँ त्यसपछि ता मैले उनीहरुबाट क्यै सुनिन । हप्तौं बिते, महिनौं बिते । मैले चिठी लेखेको लेखेकै, कुनै उत्तर छैन । एकै शब्द । पीरले म झनझन् दुब्लो र पातलो हुँदै गएँ ।
अन्त्यमा म भाग्यमानी रहेछु भन्नु प¥यो— मैले काम गर्ने ब्रोडकास्टिङ हाउस्की हाकिम विदामा लण्डन जाने रहिछन् । उनी निकै हठी स्वभावकी थिइन् । मेरा सबै विवरण सुनेपछि उनले भनिन्, “तिनको नाम र ठेगाना देऊ मलाई । कस्ता स्वाँठहरु !”
वास्तवमा उनीहरुलाई आश्चर्य लाग्यो होला । ‘अफ्रिकाबाट पनि पाण्डुलिपि’ भन्ने भयो होला, ‘यसलाई खोज्ने त्यहाँ कोही हुँदेन’ भन्ने भयो होला ।
त्यसपछि ती श्रीमती बेती नामक बेलायती नारी यसपालि तिनीहरुका अफिसमा पनि पसिछन र के हुँदैछ, यो के भाको ? भनेर सोधखोज गर्दा तिनीहरु आत्तिए अरे । अनि यस्तो जवाफ दिएछन, “ त्यो पाण्डुलिपि हामीले पठायौं तर भन्सार विभागले फिर्ता ग¥यो ।”
“तपाईंहरुले त्यो पार्सल चलानी गरेको बहीखाता देखाउन सक्नुहुन्छ ?”
उनीहरुको चलानी बही (डिस्प्याच) बुक छँदै थिएन । त्यसकारण तिनले सातो खाइछन— “भैगो, यो टाइप गरेर एक हप्ताभित्र चिनुवालाई पठाओ नत्र भेटौला ।”
त्यसको केही समय पश्चात् मैले मेरो थिङ्स फल अपार्टको टाइप प्रति प्राप्त गरें । दुइटा त होइन, एक प्रति, के भो भन्ने सम्बन्धमा कुनै स्पष्टीकरण पत्राचार छैन ।
मेरा प्रकाशक अलान हिलले शायद त्यो (मेरो पाण्डुलिपि) उसै माया मारिएको र त्यसलाई उपेक्षा गरेर कुनाको डष्टविन्मा फ्यालेका होलान भन्ठाने होलान । तर त्यसले त्यस्तो हुन पाएन छ । यिनीहरुले मलाई त्यो फर्काउन चाहेका थिएनन र फर्काउने इच्छा पनि रहेनछ क्यारे ।
जे सुकै होस्, यो फिर्ता पाएपछि मैले नामी प्रकाशक हेनमेनलाई पठाएँ । उनीहरुले आजसम्म अफ्रिकी उपन्यास देखेका रहेनछन । यसलाई कसरी गर्ने भन्ने विषयमा निर्णय गर्नै सकेनन । कसैले उनीहरुलाई सुनायो अरे— “ए, लण्डन स्कूल अव् इकोनोमिक्स र पोलिटिकल साइन्समा काम गर्ने एक जना प्रोफेसर त्यो ठाउँ (अफ्रिका) घुमेर आएका छन् । उनले तिमीलाई उचित सल्लाह देलान । “सौभाग्यवस, डन म्याक्रा नामक ती प्रोफेसर विद्वान रहेछन, बडो रमाइला मान्छे । मैले उनलाई पछि चिनेँ । उनीहरुले के भने भन्ने कुरा यी सातवटा शब्दमा उल्लेख गरेका थिएः युद्धपछि लेखिएको प्रथम उत्कृष्ट आख्यान यही हो ।

कति प्रति छाप्ने भन्ने विषयमा प्रकाशक (हेनमेन) पनि दोधारिए भनेको होइन ?
हो नि, उनीहरूले थोरै छापे । अघि कहिल्यै नगरेको कुरो । कसैले पढ्न खोज्छ खोज्दैन थाहा थिएन । तर तुरुन्तै यो ‘आउट अफ प्रिन्ट’ भयो । प्रकाशक अलान हिलले एकपल्ट जुवा नै खेलौं यस किताबको भनी एउटा संस्करण (पेपरव्याक) छापी त्यसको लोकार्पण पनि गर्ने, त्यति नगरेको भए अझै त्यही स्थिति रहन्थ्यो होला । अरु प्रकाशनले ता यसलाई पागल काम ठाने । तर त्यसरी उनले गरे र विस्तारै बेलायतमा “अफ्रिकन राइटर्स सिरिज” भन्ने प्रकाशन आरम्भ भयो । अन्त्यमा उनै अलान हिललाई बेलायती साम्राज्यले साहित्यको ठूलो भण्डारलाई अस्तित्वमा उभ्याउने कर्मको कमाण्डर बनाइदियो । उनीहरूले भने अनुसार यो सानो आरम्भ पछि गएर बीसौं शताब्दीकै बेलायती साहित्यको महानतम उन्नति भन्ने घोषणा ग-यो । यसरी त्यसको आरम्भ सानो थियो तर पछि गएर त्यसले डढेलो सल्कायो ।

तपाईंले भने अनुसार ता यो थिङ्ज फल अपार्ट उपन्यास जोइस क्यारी (१८८८–१९५७ एग्लो–आइरिश उपन्यासकार) को पात्र मिस्टर जोन्सनको प्रतिकृयास्वरुप त्यो लेख्नुभयो ।
मलाई लाग्छ, मैले त्यसो नभनेको भए राम्रो हुन्थ्यो ।

तपाईंले लेखक जोन्सनलाई प्रशिद्ध बनाउनुभयो । तर औपनिवेशिक आख्यान उपरको अत्यन्तै तीब्र उपन्यास भने जोजेफ कन्राडको हार्ट अव् डार्कनेस थियो । मेरो विचारमा तपाईंको मस्तिष्कमा पश्चिमीहरुको मनमा आजका अफ्रिकाको चित्र थियो ।
मलाई लाग्छ त्यो स्थिति अलिक परिवर्तित छ । तर मूल तत्त्वहरूमा होइन । त्यो हार्ट अव् डार्कनेस आख्यानमा जातिवादबारे केही नदेख्ने मान्छे छन् । तिनीहरूको महत्त्व र ज्ञान देख्ता मलाई लाग्छ, हामी भिन्न जगत्मा बाँचिरहेका छौं । जे भए पनि कसैलाई कसैको कथा मन पर्दैन । उसले आफ्नै लेख्छ । कसैले भनेको मन परेन भने तपाईंले, परेन भन्न सक्नुहुन्छ । कति मान्छे के कल्पना गर्छन् भने मैले, “कनराड नपढ्नू” भनेर भन्दैछु तर त्यसो होइन । बरु म भन्छु— कनराड सिकाउनोस्, पढाउनोस् । म पनि उनको हार्ट अब् डार्कनेस पढाउँछु । कलेजको एउटा पाठ्यक्रम नै छ त्यस उपन्यासमा । जसमा म के भन्ने गर्छु भने— “हेर न, त्यो मान्छेले अफ्रिकीहरुलाई कसरी प्रस्तुत गर्दछ । त्यहाँ तिमी मानवता पाउँछौ त ?” मान्छेले भन्लान्— ऊ साम्राज्यवाद विरुद्ध थियो । तर ‘म साम्राज्यवाद विरुद्ध छु’ मात्रै भनेर पुग्दैन । अर्थात् म यी मानिस विरुद्ध छु भनेर पुग्दैन । य गरीव जनतामाथिको त्यस्तो व्यवहार, छ । किनभने कति ठाउँमा ती लेखक यस उपन्यासमा ती दुखी अफ्रिकीलाई भन्छन्, “यी कुकुरहरू आफ्ना पछाडिका खुट्टामा उभिरहेका” । त्यस्तो त छ त कुरो ता । किताबभरि पशुको विम्व छ । यसमा उनले (कनराड अथवा लेखकले) केही अफ्ठ्यारो देखेनन् । त्यसकारण हामी (अफ्रिकी र अरु) बेग्लाबेग्लै संसारमा बस्ता रहेछौं । यी दुइटा विश्व अलगअलग छइन्जेल हामीले भयंकर दुख पाइरहन्छौं ।”

तपाईंले कलेजमा कहिल्यै सिर्जनात्मक लेखन (क्रिएटिव् राइटिङ) पढाउनु भएको छ ?
अहँ छैन ।

किन नपढाएको ?
हेर्नोस्, कसरी त्यो पढाउनु भन्ने थाहा छैन । मैले साँच्चै भनेको, मलाई त्यो कुरा (सिर्जनात्मक लेखन) पढाउन आउँदैन । यसको बारेमा मैले भन्न सक्ने एउटै मात्र कुरा के छ भने यसले लेखकहरुलाई काम दिन्छ । नहाँस्नुहोस्, यो निकै नै महत्वपूर्ण छ ।
मेरो विचारमा केही गर्नै चाहने लेखकलाई यो महत्वपूर्ण पनि छ । खासगरी त्यो संदिग्घ (के कसो गरौं) भन्ने समयमा (उमेरमा) धेरै स्रष्टाले जीवीका आर्जन गर्न सक्तैनन । त्यसकारण कसरी लेख्नु (सिर्जना गर्नु) भन्ने कुरा सिकाउन सक्ने हुनु उनीहरुका लागि महत्वपूर्ण कुरा हुन जान्छ । तर मलाई थाहा छैन विद्यार्थी वर्गलाई यसको महत्व के हुन सक्छ भन्ने कुरा । त्यो भनेर यो व्यर्थ छ भनेको पनि होइन । तर मैले चाहिँ कसरी सिर्जना गर्नुपर्छ भनेर कसैसँग मलाई सिकाइदिनोस् भनिन । त्यो मेरो आफ्नै रुचीको कुरा हो । म यसैमा ठोक्कर खाँदै लड्दै उठ्तै गर्न चाहन्छु, नअह्राई, नसिकाई । यो सिर्जना भन्ने कुरा त्यसरी गरिन्छ ।
संजोगवस, एक कथाको सम्झना आउँछ मलाई जुन एक प्रतिष्ठित लेखकका बारेमा छ, जसको यहाँ नाम उल्लेख गर्न चाहन्न । उनलाई युवाकालमा सिर्जनात्मक लेखनका पाठ सिकाइएको थियो । उनलाई सिकाउन ती पाका मान्छे एकदिन सोचिरहेका थिए मलाई थाहा छ, उनको काम नै कति राम्रो थियो भने एकदिन उनलाई मैले भनें पनि, “लेख्न नछोड” । आज लाग्छ, उनलाई त्यसो नभन्नु रहेछ । त्यसकारण म साहित्य पढाउँछु । त्यो मलाई सजिलो लाग्छ । कसैको कृति लिनु, त्यसैबारे बोल्नु, त्यति । (अनुवाद)