
असम साहित्य सभाको पचासौं वर्षे सम्मेलनको लागि तीन–चार महीना पहिलेदेखि निमन्त्रणा आउन थालेको थियो । अन्तिममा डा. चिन्तामणिद्वारा हस्ताक्षरित निमन्त्रणापत्र हामीलाई प्राप्त भयो जसअनुसार कार्यपत्र प्रस्तोता भनी हामी तीन र अन्य सहभागी तीन समेत हामी छ जना मानसिक रूपले तयार भयौँ ।
अघिदेखि सुनेको र एकपल्ट यात्रामा देखेको ठाउँ छ आसामको प्रख्यात डिम्मापुर, त्यसको नजीकै सरुपथार भन्ने ठाउँमा आयोजित सम्मेलन हाम्रो गन्तव्यस्थल थियो । हामी पाँच जना गोविन्दराज भट्टराई, अञ्जना वस्ती, कुमारप्रसाद कोइराला, सुबना पोख्रेल अनि शरच्चन्द्र वस्तीका लागि एक महीना पहिल्यै दमकको पाथीभरा ट्राभल्सबाट टिकट कटायौँ । मुक्ति बरालज्यूले सिलिगुडीबाटै मिलाउनु भयो । हामी एउटै रेलगाडीका भयौँ ।
अञ्जना र मलाई भने निकै धमाधम परेका सिजन हो । अमेरिकाबाट छोटो समयको लागि आएका कान्छी छोरी ऋचाको परिवारलाई काठमाडौँमा एक्लै छोडेर चार दिन पहिल्यै हिँड्यौं । कारण अञ्जना र म चाहिँ १५ मंसीरका दिन एक गाडी साथीसँग दमकबाट इलाम पुग्नु थियो, पुग्यौँ । दिउँसो डा. देवी दुलालकृत कर्णेल गजराजसिंह थापा शीर्षक जीवनीपरक आख्यानको विमोचन थियो । विभिन्न साहित्यकारको सम्मिलनको लोभ थियो । गरुवा लेदुवा जेमद्धार भन्ने घाँटी काटेर भीरको बाटो चढ्नुपर्ने । प्रह्लादको गाडीलाई निकै मुश्किल थियो, चढ्दै जाँदा दश बजे बल्ल इलाम पुग्यौँ ।
दिनभरि कार्यक्रम गरेर राति उतै बास बस्यौं । भोलिपल्ट १६ गते दमकको बास, १७ गते विश्राम अनि १८ गते जल्पाइगुडी स्टेशन पुगेर लक्ष्मी होटलमा बास । १९ गते बिहान पाँच बजेतिर चढेका राति ११ बजेतिर सरुपथार आयौं । कम्ती टाढा होइन रहेछ यो यात्रा १७ घण्टाको रेलयात्रा ।
थकान गलान साथमा थियो । सरुपथार रेल्वे स्टेशन निकै सासानो ठाउँ रहेछ । त्यहीँ ओर्लेर यताउता हेर्यौं, आशा गर्यौं— कोही त हामीलाई पर्खिरहेका होलान् । तेजपुर वा गुवाहाटीमा जस्तै, सिक्किम दार्जेलिङ वा पाश्चात्य मुलुकमा जस्तै वेलायत, अमेरिका, फ्रान्स, हङकङ, चाइना, अफ्रिकामा जस्तै कोही त अवश्य आउलान्— हाँस्तै उज्यालो मुख लाएर, हातमा गंछा, खादा, फूलका गुच्छा आदि बोकेर सम्वर्धना गर्ने उद्देश्यले । दुई जना क्यामेरावाल पनि साथमा होलान्, केही थुँगा पुष्प हातमा, सयपत्री माला गलामा तर त्यस्तो भएन । यहाँ स्वागतकारिणी समिति तयार छ भन्थे तर फोन गरेपछि पनि कोही पो आएन । बीज भाषण अर्थात् की–नोट स्पीच तिखारेर, टल्काएर, खारेर कण्ठ पार्दै हिँडेका यो रातको एघार बजेदेखि अलिक फुस्रा भयौँ ।
हामी अपरिचित थियौँ, टाढाका । स्थानीय संयोजक, स्वागतकारिणी कोहीसित हाम्रो कुनै परिचय थिएन, सम्पर्क पनि थिएन । त्यसैले ज्ञानबहादुर छेत्रीलाई फोन गर्यौँ, उनी तेजपुरमै रहेछन् । फेरि डा. चिन्तामणि शर्मालाई गर्यौं, उनी विश्वनाथमै रहेछन् । “हामी तु सम्पर्क गराउने छौं” भने । तै पनि कोही आएन, कतैबाट आएको फोन पनि बजेन । त्यसैले यो गाढा सन्ध्याको चीसो स्याँठ तर्काउन र शीतका थोपाबाट शिर जोगाउन हामी आफ्ना सर्दाम मरेर घिस्याउँदै रेलको लिक वारिपारि गर्ने आकाशे पुलका मुनि गएर उभियौँ । विस्तारै शीतका थोपा तप्किँदै थिए ।
निकैबेरपछि एउटा फोन बज्यो, “तपाईंहरू कहाँ हुनुहुन्छ ?”
“हामी पुलमुन्तिर उभिएका छौँ ।”
“त्यो पुल चढेर वारि आउनोस् । मलाई देख्नु भो ? म हात, हल्लाउँदैछु ।”
धेरै टाढा दोछायाँमा एउटा तर्छाउने हल्लिए जस्तो गर्यो । अनि फोनमा उत्तर दियौँ, “हामी असमर्थ छौँ मित्र । यत्रा भारी सुट्केश सामान बोकेर पुल चढ्न सक्तैनौँ । कोही कुल्ली आदिको छायाँ पनि देखिँदैन यहाँ ।”
निकै बेरपछि एउटा महसूर हाम्रा पारिपट्टिका डीलमा देखियो । तल भुइँमा रेलका दुई वटा समानान्तर लिकहरू सुतिरहेका थिए । हामी असमर्थताले अटेरी र विवश देखियौँ होला । तब महसूर पात्र एक मान्छे अग्लो डील पारिबाट ओर्लेर तल झर्यो, रेल्वे लिक तरेर वारि डीलमा आएर बोल्यौं, “खोइ ल्याउनोस् सामानहरू ।”
हामीले सबै सामान घिसारेर डीलमा राख्यौँ । एकएक गरेर उसले पारि तार्यो । त्यसपछि रित्ता हामी विस्तारै फलामे पुल तर्यौँ । त्यहाँदेखि दुई थान तीन पाङ्ग्रे गाडीमा सामान भरेर एक सामान्य खानपिन गृहमा पुर्याई ओराले । त्यहाँ दालभात सेवन गरेपछि हामीलाई अर्को मोटर गाडाले निकै टाढा पुर्यायो— ‘सर्किट हाउस’ भन्ने ठाउँ । त्यसको अर्थ हो— सरकारी अतिथि गृह । त्यो भव्य थियो । अर्थोक हेर्ने समय थिएन । किनभने गाढा रातले छोपिसकेको थियो ।
० ० ० ०
त्यहाँको एक पालेले हाम्रा लागि तीन कोठा देखाए । गलेर लडेको शरीरसँग सर्किट हाउसमा व्यूझँदा सात बजेको रहेछ । सबै लखतरान थियौँ । बल्ल उठेर फ्रेश भयौँ । एउटा भव्य आवास डरलाग्दो सुनसानमा उभिएको छ । वरिपरि जङ्गल छ हरियो कलकल । ठूलाठूला चौरी र फाँटहरू सुकेर डढेको घाँस र झार फुस्रो–खैरो, गलैँचा भएर ओछिएको थियो । भवनको छेउमा बयर पाकेका बोटहरू नुहेका थिए, बेलका ठूलाठूला दाना बिहानको सूर्यमा हाँसिरहेका थिए । तर अतिथि भवन वरिपरि भित्र, बाहिर, माथि कतै कोही छैन । त्यो भयङ्कर एकान्तमा हामीलाई सोध्ने पनि कोही छैन, हामीले सोध्ने पनि ।
एक सर्को घुमेर आयौँ तर चियापानीको दोकान कतै छैन, मान्छेको बस्ती, चलहपहल कतै छैन । ठाउँठाउँका खेतहरू धानका नरुवा ओढेर बसेका, डम्म तिनै ओछ्याएर । बल्ल बाटा किनारामा धेरै टाढा एक चिया दोकान भेटियो । त्यहीँ एक युवक देखा परे । हाम्रो अनुरोधमा एकएक पेला रातो चिया कप तयार पारिदिए । त्यसपछि सडकै सडक विना गन्तव्य हिँड्दै थियौँ । बल्ल एउटा तीनपांग्रे गाडी आयो, छवै जना उठायो बीस रुप्याँ गोटा अनि उसले सरुपथार बजारमा झार्यो, हामीले खोजेर फरि रुचिका चिया खाजा सेवन गर्यौँ ।
यसरी हाम्रो बिहान व्यतीत भयो । अन्त्यमा एउटा साधारण भान्सा होटल पसेर सय रुप्याँ थालीका लञ्च खायौँ । दही कतै पनि नपाइने भएछ । चियाखाने दूध पाउडर होइन, तर उनीहरू लिक्विड भन्छन्— प्याकेट मिल्क । हाम्रो समग्र सभ्यता के भयो ! हाम्रा कति पुर्खाहरू गाई वस्तु गोठ पालेर दुग्ध व्यवसाय गरेर बसेको ठाउँ यही आसाममा आज कति खोज्दा दही थिएन ।
फेरि सर्किट हाउस फर्केर गयौँ । पुग्नासाथ भवनको पालेले उर्दी सुनायो— “तपाईंहरू छवै जनाको समान एकै कोठामा राख्नुहोस् । आज अरू कोठामा पाहुना आउनेछन् ।” हामी नौला मान्छे उपायहीन छौँ भनी पालेलाई अनुरोध गर्यौँ । उसले यो हाउस प्रबन्धकको फोन दियो । ऊसित अनुनय विनय गर्दा आजलाई बस्नोस् भोलि अर्को खोज्नू भन्यो ।
यसबाट तर्छिएर हामी छटपटाएका थियौँ तर हाम्रा तीन जना मित्र हान्निएर बजारतिर लाग्नुभयो । यस समारोह कार्य समितिका साथीलाई भेटेर बजारकै एउटा लज बन्दोवस्त गरी आउनुभयो । हामीले सर्किट हाउसलाई ‘बाई’ गरी टेम्पो चढ्यौँ ।
भुँइ तलामा ससाना तीन कोठा, अति सुन्दर चिटिक्क, नयाँ रङ टल्किने र काठ बसाउने भर्खरका, दुईमा बङ्क बेड सहितका, साना भर्याङ चढेर माथिल्लो खाटमा पुग्ने । कस्तो रमाइलो होष्टेलको जिन्दगी जस्तो । मुक्ति उपाध्याय र सरच्चन्द्र एक बङ्क बेडमा, कुमार कोइराला र सुबना अर्को बङ्क बेडमा । अञ्जना र मलाई परेको सानो कोठा, कुनै झ्याल खिड्की, टोडकी बेगरको । अक्सिजन नपुगेर आज राति नै चिलिम पो हुन्छ कि भन्ने मनोवैज्ञानिक भय थियो । तर हामीले भन्ने सुनाउने कोही थिएन ।
सुत्नेघरको बन्दोबस्त गरी चिया दोकान खोज्न निस्कियौँ । त्यो ता हाम्रा सँगै जोडिएको एक ‘नताशा’ रहेछ जहाँ आलु बोन्डा, प्याजी के के पाक्तै थियो । त्यहीँ बसेर संसारकै सबभन्दा साना पेपर पेलामा चिया खायौँ । यो ‘हाइ टी’ सँगै प्याजी पकौडा चाख्यौँ । दोकानको युवक बाटातिर फर्केर ती खाजा पकाइरहन्थ्यो, भित्र मझेरीमा बसेर दोकाने पत्नी बन्दा, प्याज, आलु के के जाति काटिरहेकी । कति हजार वर्षदेखिको स्थापित संस्कृति सर्दै आएर यी युवतीले ग्रहण गरी थामिरहेकी रहिछन् । बाहिरतिर नहेरी बन्दाकोपीका भुजुरी पार्छिन— झरक झरक झरक काटेको सम्झेर ल्याउँदा मन सिरिङ्ग हुन्छ, किनभने हाम्रा पहाडबाट मधेश झरेको चुलेँसी त्यहाँबाट काठमाडौँ पुगेपछि विस्तारै गायब भइसक्यो । हाम्रा भान्सामा चक्कू र चपिङ बोर्ड मात्रै पर्खिरहेका हुन्छन् ।
चियादोकान सामू पिच बाटामा पातला गाडी हिँड्छन् । सकडपारि पेटीमा, धूलामा, चौरीमा लहरै दोकानेहरू टुसुक्क बसेका छन् । कसैका भागमा लौका, बन्दा कसैले कलकल हरियो साग, कोहीसँग भर्खर उखेलेर पखालेका सेता मूला— त्यो दृश्य कति सुन्दर छ । ती प्राचीन कालदेखिको अभ्यास, संस्कृतिको निरन्तरता ।
दोकाने परिवारले हाम्रो ‘डिनर’ पनि तयार पार्ने भएका थिए । हामीले भन्यौँ— गहूँको सुक्खा रोटी, हरियो साग, अचार, लोहोरे बैगुनको लेदो, चनाको दाल इत्यादि । सबै ओके भयो तर साथीहरूको अभिमतमा बेलुकी सागले ‘ग्याँस’ गराउँछ त्यसैले रोटी, बैगुन, चना दाल र पाएमा दही मात्र गरौँ भन्ने भयो । तर यहाँ पनि सुनाए— दही कतै छैन ।
फेरि एकसर्को डुल्न निस्किेर नजीकै बनेको साहित्य सभाको कार्यक्रमस्थलतिर पुग्यौँ । विशाल पण्डालहरू छन् । अलिक पर्तिर खुला मैदानभरि टिन, पाल, कपडा टाँगेर निर्माण गरिएका रङ्गीचङ्गी घरहरू, टहरा र झुप्रा । कुनै अझै बनाउँदै, घेर्दै— माई मेलामा बगरभरि जस्तै हजार जति होलान् । टाढाटाढा आसाम भरिका कति सिक्किम, दार्जेलिङ, नेपालतिरका समेत सानातिना व्यापारी तिनका छाप्रा र स्टल । कुनैमा पोका फुकाउँदै टाङ्दै मिलाउँदै कस्तो उत्पात । कहाँ खान्छन्, बस्छन्, सुत्छन् कहाँ पानी चर्पी पाइखाना । हे दुःखी नेपाली जातिहरू एउटा सानो उत्सवलाई जातीय दीप बालेर उज्यालो तिहार डाक्न कुम्ला र पोका भिरेर कहाँदेखि आयौ होला नि । एउटी जुम्ला माइती भएकी चेली ठूलो कुम्लो खोलेर चुरा, पोते, धागो टाङदै थिइन् । क्रस खुकुरी भिरेका काला टोपी, चुरा पोते लाछा–धागा, पहाडका जडीबूटी, ढाकाका गुन्यूचोली, खाँडीका दौरा सुरुवाल कपडा र झिल्के इष्टकोट, काँशका थाल—बटुका, ताँबा पित्तलका समान र करुवा ।
“तिमीहरू भाषासँग खेल्न जान्दैनौ । भाषामा कविता कथा र उपन्यासको शक्ति चिन्दैनौ, कति ता निरक्षर हौला तर नेपाली जातिलाई हजारौँ वर्षदेखि केले चिनायौ त्यो पढ्छौ, चिन्छौ, बुझ्छौ व्यवहार गर्छौ र त्यसको शक्ति प्रदर्शन गर्दै यहाँसम्म आएका छौ । तिमीहरू यो जातिको हृदयमा छौ, हामी ती कर्मलाई अक्षरले टाँसेर झिलिलि पार्दै हिँडेका मात्रै हौँ,” मैले सोचेँ ।
अनि खानामा फर्कियौँ । सात बजेभित्र भनेका थियौँ । पुगेर आफ्ना टेबल जोड्यौँ । यो मामुली खानपिन दोकानमा अझै पकौडा, बोन्डा, प्याजी र के के पाक्तै थियो । पर्तिर भान्सामा हाम्रो ‘डिनर’ पाकिरहेछ । ठूलाठूला ‘यूज एण्ड थ्रो’ पेपर प्लेटमा सुक्खा रोटी, अघि बाटापारि देखाएका बैगुनको ‘ग्रेभी’, हरिया खोर्सानी झानेको तरकारी जस्तो चना, दाल, अचार के के जाति । आज स्वाद गन्ध वास्ना सबै उल्का भो । कहिल्यै नखाएको भन्दा मीठो तर हामी साना पेटसँग सीमित शक्ति बोकेर हिँडेका थियौँ ।
रिमरिमे सन्ध्या गाढा भएर आयो तर अझै दुई–चार आलु प्याज मूलावाला बाटापर्तिर चौरीको ओपन मार्केटमा अज्ञात ग्राहकलाई पर्खिरहेका थिए । धूलाको पीरामा टुक्रुक्क बस्ताको असजिलो भुलेर । हामी नजीकैको आश्रम ताकेर अघि बढ्यौँ ।
साना अति सुन्दर र आकर्षक कोठा तीनमा वार्निश जस्तो केही सुवास जस्तो चल्दै थियो । यिनैमा हाम्रा चारदिन चाररात बित्नेछन् । एउटा राम्रो टेबल र कुर्सी, एउटा साना तले स्ट्याण्ड । यसका सम्पदा यत्ति हुन् । माथि पंखा झुण्डिएको छ । वर्षको छ महीना यसरी चमेरो भएर बल्ल पखेटा चाल्न पाउँछ । न चीसो न तातो छ बाहिर । तथापि यहाँ साझा बैठक छैन । त्यसैले कि त आआफ्ना कोठामा बस्ने कि सुत्ने । बस्ने पनि एक जना कुर्सीमा अर्को ढिके बेडमा । केको मुड्की भरेर किन यस्तो बेड निर्माण गर्दाहुन् म छक्क पर्छु ।
राति सशंकित हुँदै पल्टियौँ । एक्लो छ दैलो, सानो झ्याल भेन्टिलेशन, खटप्वाल केही बेगरको । गढ्याप ढोका लाग्दा ट्याप्प सारा टालिने खालको । त्यसरी टालियो भने ता मध्यरातमा अक्सिजन शेष भएर हामी एक्लै भट्याभट्याक गरिरहेको अवस्थामा भेटिनेछौँ होला । “यस्तो बेडमा सुत्यौँ हामी राति नै गोलोक पुग्न पनि सक्छौँ” भन्ने खालको म्यासेज लेखेर घरतिर पठाउन पनि वाइफाइ थिएन । त्यसैले ढोकाको ठूलै चिरा देखिने गरी खोल्यौँ अनि भित्रबाट कुर्सी, कुर्सीमाथि सुटकेश र अरु सामान राखी एक वित्ता चेपबाट हावा छिर्ने पार्यौं । यति गरेपछि चोरले ढोका ठेल्यो भनेँ पनि अवश्य थाहा पाइनेछ । अरू बङ्क बेडवाला दुई कोठामा सीसाको एक एक सर्ने झ्याल थिए ।
त्यसरी सुत्यौँ । यत्रो वर्ष दमक काठमाडौँ दुवै घरमा अट्याच टोइलेट भोगेका हामी आज चार कोठाको कमनमा जानु छ बाहिर निस्केर आँगनमा तर आयोजक र उच्च पदस्थ दुई जवान भोलि आइपुग्छौँ भन्दैछन् । यी दुखसुख स्वीकारेर यतै सुतौँ, आजको अनुभव लिएर भोलि विचार गरौँला भन्ने आँट आयो ।
० ० ० ०
उज्यालो हुने समयमा बुझ्दा रातमा सास थुनिने समय आएनछ, चोर पस्ने मौका पनि आएनछ । त्यो खुशियालीमा फेरि एक घान सुत्यौँ । उठेर पनि स्नानको प्रबन्ध मिल्ला नमिल्ला भन्ने पनि थियो । सडक निस्कने मूल दैलो कतिवेला खोल्ला यस्तै कुरा भए । आठ बजे मात्रै तयार पारेर नास्तामा गयौँ । त्यहाँ थाल जत्रा तैलीय बाबर पाकिरहेका अरूले तोडे तर मलाई आँट आएन । चिया पान बिस्कुट यस्तै गरी बस्यौँ ।
दिनमा घुमेर फर्केपछि लञ्च खाने भन्ने कुरा गरे । नभन्दै दुइटा सानाखाले गाडी तयार पारे र नेपालबाट आउनेहरू पच्चीस जति बाँडिएर तिनमा चढ्यौँ । त्यो सानो शहर एकछिनमा हरायो र गाउँहरूले छोप्न थाल्यो । सानो पिच बाटो सुपारी बगानमा पस्छ र निस्किन्छ, बाँसघारी भएतिर पस्छ र निस्किन्छ फेरि अग्ला बोट र वृक्षहरू, होचो झाडी, साना बोटहरूको जङ्गल— सारा वन्यता बीचमा लुकेका होचा घर, च्यादर र बाँसले रक्षा गरेका कोठेवारी, बलिया गाई–वस्तु बाख्रा, धानका बिटा लगाइरहेका खेताला, कोही पाँजा उठाउँदै, कोही भारमा धानका बिटा बोकेर कतै ओसार्दै, यन्त्र नपसेका खेतहरू— यस्तै हेर्दै टाढा गयौँ ।
गाउँहरू अर्ध जङ्गलमा छन् कतै । बजारहरू ससाना खालका एक दुई हार घर झुपडी, बाटो ढुकेर बसेका, थोरै साधन गुड्ने बाटा वारिपारि । कताकति खोल्सी, दह र सिमसार आउँछन्, फेरि जान्छन् । आज सरुपथारदेखि गरमपानी सम्मको ४५ कि मि को मार्ग पूरा गर्नुछ । बीच बाटामा एउटा देउपानी दुर्गा मन्दिर आयो । जङ्गल बीचमा स्थापित मन्दिर रूख वृक्ष फाँडेर बनिएको । हाम्रो पाउ पाथीभराको झझल्को । त्यहाँ राता रिबिन चढाउनु पर्ने विश्वासले सारा परिवेश रूख वृक्ष, खाँबा, घोचा, लिङ्गा बला सबै राता पटुके थिए । एक बजे बन्द हुने परम्पराको मन्दिरका धर्मद्वारेहरूले हामीले परिक्रमा नसक्तै गड्याप्प ढोका लाए । हाम्रा टोलिले फूलपाति अच्छेता नमस्कारादि आदानप्रदान गर्न पाएन । तर एक परिक्रमा चढाएर मातासित विदा माग्यौँ । मास्तिर बाटामा फूल, प्रसाद, राता रिबन, पहेँला, फेटा, झिल्के रुमाल किन्ने र बेच्नेको ठूलो कुँडुलो थियो । एकजना हाम्रा मित्रले बोले— यो मठ मन्दिर पनि एक प्रकारको ठूलो उद्योग हो । पूर्वी नेपालमा भर्खरै खुलेको पाउ पाथीभरा मन्दिर माताले चलाइदिन्छिन् ! हेर्दा हुन्छ ।
त्यसपछि त्यो चारआलीको जङ्गलैजङ्गल अझै अघि बढयौँ । एक घण्टा लामो यात्राको अन्त्यमा हाम्रो दोस्रो गन्तव्य आयो— गरम पानी । एउटा ससानो सङ्लो नदीका तटमा जङ्गलको बीचमा अवस्थित गरम पानी धार्मिक सामाजिक के थियो केही बुझिएन । तर एउटा ठूलो एक कट्ठे आँगन भरिको रङ्गिन पर्खाल थियो । त्यसको फेदमा एक सङ्लो दह चतुष्कोण भित्र नीलो थियो । त्यसका बीचबीचमा भुलुकभुलुक गर्दै पानी फोका उम्लिरहेको देखिन्थ्यो । एउटा कुनाबाट निकास काटिएको पानी निकटवर्ती खोलातिर झर्छ होला ।
वरिपरि खुला मैदान, पर्तिर जङ्गल । खुला ठाउँमा बिसाउन, पीङ खेल्न, पुग्ने सामान्य रमिताका कुरा थिए । हाम्रा टोलिका साथीमध्ये केही वस्त्र खोलेर झ्वाम्मै गरम पानीमा पसेछन् । अरू पनि पस्ने आँट बटुल्दै गरेका वेला रुँगालो पुलिस देखापर्नाले त्यो सत्कर्म अधुरै रह्यो । प्रवेशद्वारमा आसामिज, हिन्दी, अंग्रेजी तीनवटै भाषामा भित्ताभरि लेखेको सूचना “यहाँ स्नान गर्नु शख्त मनाही छ” भन्ने कुरा कसैले पढेनछ ।
हामी त्यहाँबाट सरुपथार बजारतिर फर्कियौँ । एक घण्टाको यात्रा । भोकले भुतुक्क पारेको वेला उत्साही साथीहरूले पान्सय तास जति फोटा उठाइए होलान् । तर अनुहार अलिक निन्याउरो हुनुपर्छ भोकले गलेसि तेस्तै हुन्छ । त्यसको पनि कुनै पीर छैन किनभने हजार फोटामध्ये एक दुई मात्र आफ्नामा आइपुग्छन् ।
त्यहाँदेखि फर्किंदा त्यो लामो, रमाइलो वन्य प्रदेशको मार्गमा कति कति वेला गुरुजीले हिन्दीगीत लगायो । ती प्राचीन कालका थिए । कति वेला नेपालबाट गएका नौमती बाजाका चेलीहरूले थर्काएर, “झापा जिल्ला विर्तामोठ् रामचोक बजारमा” भन्ने भाकामा ।
ती गीत सुन्दै एकरस रमिता हेर्दै, हामी चल्यौँ । वेलावेला आउने विशाल बेंसीमा एकमान्छे अग्ला धानका नरुवा, कति ठाउँमा ढलेर सिमपानीमा गल्न थालेका, कतै पछुवा धान काटिने दिनको प्रतीक्षामा । वेलावेला तलाउ, सिमसार, खोल्सी आउँछन्–जान्छन् । जताततैको हरियो कालो जङ्गल । तिनका किनारमा उभिएका ससाना एकतले घर टिनका, च्यादरका, ईंटाका, बाँस र भाटाका । मंसीरको खाली खेतमा निर्वाध स्वतन्त्र भएका गाई–वस्तु डुलिरहेका तर भैँसी कतै देखिएन ।
यी प्रत्येक गरामा हाम्रा पुर्खाले जोते-खने होलान् । प्रत्येक बुटामा हाम्रा पुर्खा चढेर घाँसदाउरा गरे होलान् तर आज किन यहाँ दही, दूध चाख्न पाइएको छैन ? नताशा होटलमा सोध्छौँ, “दूध तो नाईं, प्याकेटका लिक्विड मिल्क है बस् ।” भारतीय सभ्यताको एउटा पत्रले काँचुली फेर्दैछ यद्यपि खेतभरि भारमा झुन्डाएर धानका विटा ओसार्नेहरू भेटिए, निहुरेर धान समेट्ने थिए तर मिशिन पसेको देखिएन । एक ठाउँमा एउटा थ्रेशर मुखबाट धूलो उडाउँदै कराउँथ्यो ।
यस प्रकारले वन्य प्रदेश छिचोलेर हामी सरुपथार बजार आयौँ । बजार भन्नु मात्रै, वनजङ्गल र गाउँको आवरणलाई यसले अझै फकाएर राखेको देखिन्छ । नेपालका गाउँहरू शहर बजार बन्न उताउलिएर आज खपिसक्नु छैन । यो ठाउँ लेटाङ जस्तै रहेछ ।
धेरै टाढादेखि हेर्दै जाँदा ठाउँठाउँमा झिलिमिली तोरण टाँगिएका छन् । सुन्दर आकर्षक प्रवेशद्वारहरू खडा छन् । प्रत्येकले मुस्कुराएर बोल्ने भाषा एउटै छ— जयतु भाषा जननी… । नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोहमा हार्दिक स्वागत गर्दछौँ । हाम्रा बासस्थल नजिकै समापन समारोहको विशाल पण्डाल तयार छ । त्यहाँ झण्डा फर्फराउँछन् उद्घाटन भन्दा समापनको तयारी दश गुना भव्य छ किनकि समापन आसामका मुख्यमन्त्री आउनेछन् । तर उद्घाटनस्थलको तोरण कहीँ देखिएन । नेपालका मुख्यमन्त्रीले यो देख्ने हो भने देशमा कत्रो तामझाम र रमझम शुरू हुन्थ्यो होला । पर्तिरपट्टि अर्को मुख्य भवन छ, उतापट्टि एक विशाल मैदान ढाकेर बनिएका प्रदर्शनी स्थल छन्— जातीय पहिचानका तर त्यता लागेनौँ हामी ।
खाना तयार भो भन्ने खबर आयो र बास्ना चलेतिर लाग्यौँ । धेरै साथीले भोक मेटाइसकेछन् किनभने तिनीहरूका अनुहार उज्याला थिए । हामी पनि हारमा मिसियौँ । डेढ सय जति सहभागी थाल बोकेर थाप्तै जान्थे— दाल, भात, अचार, तरकारी । ठूलो आकाशे टहरामुनि स्थानीय स्कूलका डेस्क बेञ्च ओगट्तै बस्यौँ । सानो प्रबन्ध होइन— यी पकाउने, पस्किने, बाँड्ने, उठाउने, भाँडा सफा गर्ने । हामीले हेर्दा असम्भव लाग्ने कर्ममा मित्रहरू समर्पित लाग्दथे । अथवा खर्चले त्यो काम गरिरहेको होला ।
भोजन ग्रहण गरेर फिर्यौं । चारबजे दिनको यो आहार न डिनर न लञ्च । तर हामी सन्तुष्ट भएर फिर्यौँ । एकछिनमा टाढाका मित्र, प्रबन्धक, मुख्य व्यक्तिहरू, सहभागी अनेक भूमिकाका व्यक्तिमा भवानीप्रसाद शर्मा, ज्ञानबहादुर छेत्री र चन्द्रमणि उपाध्याय (तेजपुर) ज्योति होमागाईं (कार्डिआङलङ), इन्दुप्रभादेवी (गुवाहाटी) हरू आउनुभो । उहाँहरूसित भेट गर्यौँ । एकएक प्रति रचना उपहार गर्यौँ । दुई प्रति हाम्रो भाषा र एकएक नेकसुले अनि लगेका कार्यपत्र तीन प्रति नमूना देखाएर नेट चलेको ठाउँबाट पीडीएफ प्रति पठाइदिने बाचा गर्यौँ ।
अहिलेसम्म बुझ्दा यस महासम्मेलनको उद्देश्य एक वाक्यमा बताउन सक्तिनँ म । यसका प्रबन्धकहरू आआफ्नै पीरमा होलान् । यस्तै वेला चुनाव र यसैवेला आआफ्ना समिति प्यानल पार्टिका प्रतिस्पर्धा जुधाएका रहेछन् । यसैवेला एक विशाल सम्मेलन हओस् भन्ने कामना पनि छ । तर सम्मेलन पक्ष निस्तेज र असम्भव हुँदैछ ।
यहाँ धेरै राजनीति–प्रशासनसित जोडिएका मानिस रहेछन् । सरकारको दृष्टिमा यो संस्था परोस्, त्यसबाट बजेट सहयोग प्राप्त होस्, देशमा नेपाली भाषा र जाति अलिक उठ्न सक्छ भन्नेहरू एकथरी । त्यसैले अनेक प्रयत्न गरेर आसामको चिफ मिनिष्टरलाई उपस्थिति गराउने प्रबन्ध गरेका छन् । त्यसैले बाटाघाटाका रूख, बुटा, ठूटा सर्वत्र नै चुना दलेर सेतै पारेका छन्, सीएमका चित्रहरू टाँगेर उत्पात रमाइलो पारेका छन् । शक्तिका पुजारीहरू सम्पूर्ण त्यतै लागेछन् त्यो स्वाभाविक छ तर आजसम्म हाम्रा कार्यक्रमको कार्यतालिका थाहा पाइएको छैन । एक भाषिक संस्था, साहित्यिक अभियन्ता, यस पालिका एजेन्डा केके छन् कसैले भन्न भ्याएका छैनन् । यसमा समर्पितहरू कोही हामीलाई बताउन आएको छैन, दुई दिन सकिए । साहित्य सभाको नामसित जोडिएको यो एक भयङ्कर जात्रा बजार रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

