गतवर्षका नोबेल लरेट जोन फोसे पढदै थिएँ । पचपन्न लाख जनसंख्याले बनेको उनको सानो देश नर्वेका स्रष्टाबारे पढदै थिएँ । शरद प्रधान भाइको “तर अभागीको दुःख भने कहाँ लुक्छ र ?” शीर्षक एउटा सुन्दर आत्मपरक निबन्ध बोकेर साहित्यपोष्ट आइपुग्यो । मेरो धारणासँग समभाव राख्ने शरद भाइको प्रस्तुत रचना सहसम्बन्धित रहेछ । यस रचनामा नेपाली साहित्यको शोचनीय अवस्थाको चिन्ता छ ।
नेपालका कला साहित्य साधकको उपेक्षित स्थिति देख्ता दुःखले यो मन गर्जिन्छ । क्रोधमा कलम भाँचौं जस्तो हुन्छ तर पनि कितापकापी भन्दा पर्तिर मन बिसाउने ठाउँ कतै छैन ।
फ्रान्सेली आख्यानकार प्याट्रिक मोदिआनोले सन् २०१४ को नोबेल पुरस्कार प्राप्त गरे । हिटलरले साठी लाख यहूदीको जघन्य हत्या ग¥यो । त्यो मृत्युको ताण्डवबाट भागेर बाँच्ने हजारौं मध्ये एक परिवार थियो मोदियानोका पिताको । उनको परिवारले अन्य लाखौं यहूदीसँग देश छोड्यो । यूरोपका अनेक मुलुकमा ती छरिए । मोदियानो परिवार युगोस्लोभाकिया पुग्यो फेरि त्यहाँबाट भाग्दै फ्रान्स पुगेर बाँचेको थियो । एक सर्वशक्तिमान् अधिनायकवादको क्रूरतादेखि लुक्तै र भाग्दै बाँच्नु पर्ने कत्रो दुर्भाग्यको कुरा ! त्यसको आतङ्क र भयले त्यो जातिलाई कसरी तर्साइरह्यो भन्ने कुरा मोदियानोको द सर्च वारेन्ट (आख्यान) मा छ । यसको मुख्य सारतत्व के छ भने— मोदियानोसँग स्मृतिको त्यस्तो अद्भुत कला थियो जसको सहायताले अगोचर प्रकृतिका मानवका लेखान्तहरू प्रस्तुत ग¥यो र जर्मनी शासित फ्रान्सको भयप्रद जीवन देखायो । द सर्च वारेन्टबारे गहिरो अध्ययन गरी मैले ती दिनमै लेखेँ, छपाएँ ।
अर्को वर्ष सन् २०१५ को नोबेल पुरस्कार—युक्रेनमा जन्मेकी अलेक्सिएभिच स्वेतलाना नामक स्रष्टाले प्राप्त गरिन् । उनले लेखेका आख्यानहरूमध्ये भोइसेज फ्रम दी चेर्नोबिलमा— रुसको चेर्नोविल स्थित आणविक भट्टी विष्फोट र त्यसको दुष्परिणामको गाथा छ । भट्टी विष्फोट भएर विषाक्त विकिरण चुहिनाले आजसम्ममा बीस लाख भन्दा बढीले मृत्युवरण गरे । चेर्नोविल भट्टीको उन्नाइस किलोमिटर वरिपरि पशुपक्षी, वृक्ष, वनस्पती, कीट, पतंग सारा नामेट भयो, यहाँको भूमि खरानी जस्तो केही नउम्रिने निष्प्राण भयो, सारा बस्ती खण्डहर भए । तर ती दिनमा (सन् १९८६ मा) शक्तिशाली रुसमा डरलाग्दो अधिनायकवादी सत्ता थियो । त्यसले ती कुरा छोपेर राख्यो । केही वर्षपछि रुस आफैं अनेक टुक्रा भएपछि मात्रै त्यस घातक दुर्घटनाको बारे बीस वर्ष अध्ययन गरेर लेखिन् ती साहसी नारी स्वेतलानाले । मैले उनका दुवै कृति पढेँ । सेवा छोरीले भोइसेज फ्रम चेर्नोबिल र जिङ्की बोइज नामक आख्यान अमेरिकादेखि पठाएकी थिइन् । जिङ्की बोइज्मा दश वर्षे रुस–अफगान युद्धको भयप्रद चित्र छ । त्यो युद्धबाट लाखौं प्रभावित भए । छिटै रसियाको पनि पतन भयो ।
यी दुवै नरसंहारबारे पढें । मधुपर्कमा छपाएँ । सन् २०१७ मा गुवाहाटीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा स्वेतलानाको लेखन शक्तिबारे एक कार्यपत्र प्रस्तुत गरेँ । विश्वमा नारी सिर्जनाको शक्ति विषयक मेरो अध्ययन थियो । स्वेतलाना जस्ता महान् स्रष्टालाई विश्वले त्यसै उच्चासनमा विराजमान गराएको होइन । ती विश्वकै सम्मानित नारी स्रष्टाले कत्रो कर्म गरिन्— सर्वस्व त्यागेर । उनको बारेमा यति सूचना पढ्दा हाम्रो हृदय श्रद्धाले निहुरिन्छ । स्वेतलानाका पुस्तक ४५ वटा भाषामा अनूदित भए र आजसम्ममा ४७ वटा देशबाट प्रकाशित भए । एक दर्जन नाटकका आधारशिला बने । उनका बीस भन्दा बढी पाण्डुलिपि डकुमेन्ट्रि फिल्म बने (हेर्नू— नोबल प्राइज ओआरजी) ।
यस्तोे सफलता आर्जन गर्ने स्रष्टाबारे अध्ययन गर्दा नेपाली लेखकको मन कस्तो हुन्छ होला ? ‘वरिष्ठ’ भनिमाग्दै, ‘विशिष्ट’ भनिमाग्दै, ‘सर्वश्रेष्ठ’ भनाउँदै, खादा लाउँदै, सिंगडा खाँदै नाच्ने हामीहरू । उपलब्धि केही चाहिँदैन, केवल फोस्रो प्रशंसा र डरलाग्दो प्रचार ।
त्यसपछि २०१७ का नोबेल विजेता जापानी डायास्पोराका बेलायती स्रष्टा काजुओ इशिगुरो (जन्म सन् १९५४) का आख्यान अध्ययन गरेर लेखेँ । बाबुकै पालादेखि बेलायती भएका जापानी मनका इशिगुरोले लेखेका द्वैध सांस्कृतिक चेतना बोकी हिँड्ने नागरिकको सुन्दर दृष्टिकोणको प्रतिध्वनि सुनेँ । हाम्रा नेपाली पनि अनेक डायास्पोरामा वितरीत छन तर यो पुस्ताका स्रष्टाले त्यस्तो भाषिक विज्ञता आर्जन गर्ने समय पाएका छैनन् । लक्ष्य भाषामा पढेर हुर्केका, स्रष्टा चेतना भएका नेपाली उदाएका छैनन् । भाषिक दक्षताले पनि पुग्दैन साहित्यिक चेतना र अन्तरसांस्कृतिक दृष्टिकोणहरू पढ्ने छुट्याउने मनोवृति चाहिन्छ । कुनै आतिथेय भूगोलमा लामो समयको बसोबासले मात्र त्यो शक्ति उत्पन्न गर्दछ । अनि मात्रै त्यो अस्थायी मान्दामान्दै स्थायी बन्न पुगेको “तदर्थ संस्कृति” बारे लेख्न सक्षम हुन्छन् ।
त्यसपछि सन् २०१८ की नोबेल विजयी ओल्गा टुकार्जुक (जन्म सन् १९६२) पढेँ । एउटा उदाहरण छ उनको साहित्यिक आख्यान “फ्लाइटस्” (उडान) जसमा यात्रा, गति, चाल, गत्यात्मकता अनि मानव जीवन र मृत्यु दुवै तत्व जोगाउन मृत्युको भूमिकाको चर्चा छ । पोल्याण्ड देशकी प्रथम नोबल विजेता नारी ओल्गा, उनी युरोपकै एक शक्तिशाली स्वर, पढ्दा पढ्दै आनन्दले रिंगटा चलाउने भाषा र विचित्रका कथा लेख्ने शिल्प, त्यसमाथि उनले भने जस्ता उच्चकोटीका अनुवादक पाइन्— “एक अनुवादकको उत्तरदायित्व भनेको लेखकको समान हुन्छ । दुवैले मिलेर अन्तरंग भाषालाई जोड्दछन् जसको सहायताले व्यक्तिहरूले आपसी अनुभव “शेयर” गर्दछन् । यसरी समाजहरूले एक सामूहिक भाषाको निर्माण गर्दछन्, यसरी यथार्थको साझा चित्र निर्माण हुन्छ ।”
ओल्गा टुकार्जुकका कृति पनि चालीस भन्दा बढी भाषामा अनूदित छन् । यसरी उनी पोल्याण्ड देशकै सर्वाधिक संख्यामा कृति अनूदित हुने स्रष्टा हुन पुगिन्, यूरोपीय साहित्यकै एक सम्मानित नारी स्रष्टा । यतिखेर उनी ६२ वर्षकी भइन् ।
त्यसपछि आउने (सन् २०१९ का) नोबेल विजेता अष्ट्रियन स्रष्टा पिटर ह्याण्ड्के (जन्म सन् १९४२) बारे मैले पढन पाएको छैन । उनी बीसौं शताब्दीका उत्तरार्ध कालका सर्वाधिक मौलिक शक्ति भएका अष्ट्रियन नाटककार आख्यानकार कवि एवम् निबन्धकार भनी चिनिएका छन् । उनी नित्य प्रयोगवादी र महान् अग्रगामी (आभाङ्गाड) स्रष्टा मानिएका छन । उनको भाषिक ‘निपुणता’ र ‘प्रयोगशीलता’ लाई अद्वितीय दर्जाको छ भनिन्छ तर मलाई भने उपयुक्त कृति अध्ययन गर्ने जोग मिलेको छैन । प्रतीक्षा गरिरहेको छु ।
अर्को वर्ष २०२० की नोवल सम्मानित अमेरिकी कवि लुइस ग्लुक (सन् १९४३–२०२३) बारे पढेँ र लेखेँ पनि । त्यो पनि मधुपर्कमै प्रकाशित भयो । आज थाहा पाएँ गत वर्ष असोजकै दिन ८० वर्षीय कवि दिदी ग्लुकको घातक (क्यान्सर) रोगले देहान्त भएछ । यही असोज २७ गते (अर्थात् अक्टोबर १३ आइतबार) को दिन उनको प्रथम वार्षिक तिथि पूरा हुन्छ । उनका कविता कति सरल तर पत्याइनसक्नु अर्थका गहिराइ बोकेका छन् । उनको द वाइल्ड आइरिस नामक ग्रन्थबाट सोही शीर्षक भएको एक रचना यस्तो छ—

पीडाको अन्त्यमा
एउटा दैलो आयो
सुन त, तिमी जसलाई मृत्यु भन्छौ
म सम्झिन्छु
माथिको आवाज, धूपीका हाँगा ठोकिएका हुन्
अर्थोक केही होइन ।

शुष्क भूमिमाथि मधुरो सूर्य झिल्मिलायो
अँध्यारो पृथ्वीमा गाडिएको
चेतना जस्तो भएर
बाँच्नु पनि भयप्रद कुरा हो

अनि त्यो टुङ्गियो, डराएको कुरा
एउटा हुनु र फेरि
बोल्न असमर्थ हुनु
अचानक अन्त्य, अररो पृथ्वी
अलिकति झुकेर । त्यसपछि म
होचा पोथ्रातिर उड्ने चरो हुन्छु

तिमीलाई सम्झना छैन
अर्को संसारबाट यात्रा गरेको कुरा
म भन्छु— म फेरि बोल्न सक्छु
विस्मृतिबाट फर्केर जे आउँछ
त्यो एउटा आवाज खोज्दै आउँछ ।

मेरो जीवनको केन्द्रबाट
एउटा ठूलो छाँगो झ-यो
गाढा नीलो, नभोनील, समुद्रीजलमाथि छायाँ
(१ जनवरी २००४)

कति सूक्ष्म छ, तर बुझ्दा कति भयप्रद यो, आफ्नै मृत्युको पूर्वाभास थियो । अन्तिम बिदाई लिनुभन्दा उन्नाइस वर्ष अघि उनले लेखेका थिए यो कविता ।
सन् २०२१ का नोबल सम्मानित अफ्रिकी मूलका स्रष्टा अब्दुल रजक गुर्नाह (जन्म सन् १९४८) एक सफल आख्यानकार हुन् । उनको आफ्टरलाइफ मलाई विजय हितानबाट उपहार प्राप्त छ तर यसलाई छिचोल्न भ्याएको छुइनँ । यस आख्यानले उपनिवेशकालमा साम्राज्यवादीहरूले गरेको तेस्रो मुलुक माथिको दलन र अत्याचार देखाउँछ । जर्मन उपनिवेशकले दलेको समयमा उपनिवेशित अफ्रिकीहरूकोे प्रतिस्थापन, बेचबिचखन, परिचयहीनता र परतन्त्रताका संघर्ष गाथाले यो भरिएको छ ।
त्यसपछि म अर्की स्रष्टा पढ्न लागेँ— एनी आर्नो । उनी सन् २०२२ की नोबल विजेता फ्रान्सेली स्रष्टा एनी आर्नोका विचित्रका गद्य लेखनले म निकै प्रभावित भएँ । उनको अ उमन्ज स्टोरी पढेर हेर्दा मलाई गद्य लेखन कलामा एक नवीन चेतना प्राप्त भयो । जीवनी र संस्मरण मिसिएको त्यो एउटा सानो तर शक्तिशाली कृति नयाँ आख्यान थियो । त्यसैलाई शायद ‘अटोफिक्शन’ भनिएको होला । सो कृतिबारेको मेरो लेख साहित्य पोष्टमा छापियो जसको शीर्षक थियो लेख्नु भनेको कसैलाई केही दिनु होइन र ?
यस अघिका समेत जोड्दा मैले नौ जना नोबल लरेटबारे लेखेँछु । एकै जनाका पनि सबै कृति त पढ्न सकिँदैन, भ्याइँदैन पनि । कसैका पनि कृति एक जीवन पढेर नसकिने जति हुन्छन । त्यसैले एक दुई कृति पढेर तिनका मूल प्रवृतिको सार खिचेर नेपाली पाठकसमक्ष प्रस्तुत गर्दै आएको छु ।
गत वर्ष २०२३ को नोबल पुरस्कार थपियो । यसपालि २०२४ को लागि घोषणा हुने समय नजिक छ । २०२३ को लागि नर्वेजिअन स्रष्टा जोन फोसे (फोस) चुनिएका थिए । यसपालि आउँदा मलाई अजित बावुले फोसेको सेप्टोलोजी र अञ्जनाको लागि अनिता देसाईको आख्यान रोजारिता उपहार ल्याइदिनु भयो । मलाई आश्चर्य लाग्यो । समय र मानिसका धारणा, स्वभाव र विश्वास निरन्तर बदलिएको देखेर पुराना दिनको एक लोकभाका सम्झनामा आयो—
ससुरालाई टोपी सासूलाई काइँयो
सालीज्यूलाई झम्के बुलाकी …

आज युग परिवर्तित भयो, ससुरालाई जोन फोसेको सेप्टोलोजी र सासूलाई अनिता देशाईको रोजारिता कोशेली लिएर जानुपर्छ भन्ने सोच उत्पन्न गराउने समय र चेतना कसरी बनिँदै आएको होला आजका ज्वाइँमा ! गत वर्ष गुवाहाटी सम्मेलनमा प्रस्तुत गरेको आफ्नो कार्यपत्र सम्झें— “संस्कृति नित्य परिवर्तनशील तत्व हो, व्यवहारमा जुन कुरा बाँकी रहन्छ त्यही नै संस्कृति हो ।”
अघि सेवा छोरीले अमेरिकादेखि स्वेतलानाका चेर्नोबिल र जिङ्कि बोइज् ल्याइन्, गतवर्ष रिचाले एनी आर्नोको अ उमन्ज स्टोरी पठाइन् । विश्वसाहित्यका यस्ता अनमोल उपहार सुकर्म टोल आइपुग्दा म खुशीले एकपल्ट बुरुक्क उफ्रिन्छु तर आर्ट इज लङ बट लाइफ इज शर्ट भन्ने उक्ति सम्झेर फेरि पलेँटी कस्छु । एउटा वनमा कति भारी दाउरा र कति भारी घाँसहरू त्यसै मकाएर गइरहेका हुन्छन् जीवन यस्तै रहेछ । चाहेको कुरा कति पो पूरा हुन्छ र ! किनभने त्यो गर्नै नभ्याइँदो रहेछ ।
तर पनि लोभ लाग्छ । विश्वसाहित्यका यी महानतम उपलब्धिबारे नेपाली पाठकलाई अलिकति मात्रै भए पनि जानकारी दिन पाए केही प्रेरणा मिल्थ्यो कि ? हामी धेरै पछि छौं । हाम्रो भाषा कहीं पनि पुगेको छैन त्यसैले हामी पनि कहीँ पुगेका छैनौं । हाम्रा छिमेकी मित्रहरू हिन्दी, बंगाली, अंग्रेजी, नेपाली, असमेली जस्ता प्रचलित आफ्ना परिवेशका भाषाबीचको साहित्य अनुवादले आदानप्रदान गर्न सक्छन्, बोडो, मनिपुरी, खासी जस्ता भाषा ज्ञाता पनि छन् । हाम्रो स्थिति कस्तो छ भने आफ्ना घरका नेवारी, मैथिली, अवधी जस्ता सम्पन्न भाषाले स्रष्टा अनुवादकबाट कति आशा गर्दा हुन् तर त्यसतिर हामी छैनौं ।
यस्तो अटूट चिन्ता सँगै हिजोदेखि जोन फोसे पढ्न थालेको, क्रमशः मेरा हातगोडा झन् लुलिँदैछन् कि जस्तो पनि हुन लागेको छ । कारण म भन्दा छ वर्ष पछि नर्वे नामक देशमा जन्मेका फोसेले मेरो भन्दा दुई वर्ष पछि (२४ वर्षे उमेरमा) प्रथम उपन्यास (रातो, कालो) प्रकाशित गरेका रहेछन् । तर आज तिनै फोसेले ४३ वर्षको लेखनपछि हेर्दा सत्तरीभन्दा बढी आख्यान, कविता कृति, बाल साहित्य, निबन्ध र चालीस थान नाटक लेखेका रहेछन् । उनका कृतिहरू पचासभन्दा धेरै भाषामा अनूदित रहेछन ।
यो भूगोलको दोष हो कि भाषाको हो कि हाम्रो चेतना वा सभ्यता स्तरको दोषले—हामीले यस्तो दीनहीन स्थिति भोग्नु परेको हो ! मेरा भाइ फोसेले गतवर्षको नोबेल सम्मान पाए । म यता खोसेला र परालका भारी बोकेर दौडिंदै र थुपार्दै छु । तिनैका पाना गन्छु, तिनमा गएको खर्च, समय र जिन्दगीको हिसाब जोड्छु, क्याल्कुलेटरमा अटाउँदैन रहेछ । कहिलेकहीँ स्टेजमा चढेर राता पहेँला रुमाल घाँटीमा बेरीमाग्दै प्रमुख अतिथि बस्छु । कहिले कार्यपत्र नामक तमसुक वाचन गरेर ‘भयङ्कर’ प्रस्तोता बन्छु । अन्त्यमा प्राप्त हुने दुई दाना रामभण्डारका समोसा टोक्तै बेलुकी पख रत्नपार्कको बस स्टपतिर दौडिन्छु । नत्र बास पुग्न रात पर्छ । हिजो पनि त्यसै गरेर दिनभरि उडिरहें । किनभने कलिङ्गा लिटरेचर फेष्टिवल सकेर फित्कौलीमा पसेँ । त्यो सकेर घर पुग्दा भाले साँझ खसेको थियो । हामी र फोसेले बराबरी समय खच्र्यौं होला, सारा जीवन अप्र्याैं होला । तर अन्त्यमा उनीहरू विश्वप्रशिद्ध हुन्छन् हामी गाउँघरका गोठाला–खेताला जत्तिकै ।
जोन फोसे समकालीन यूरोपकै उच्च स्रष्टाका रूपमा सम्मानित रहेछन् । मैले उनको सेप्टोलोजी पढ्न आरम्भ गरेको छु । जम्मा ८२५ पृष्ठको यो साना अक्षरी महाभारतको परिचयबाट प्रवेश गर्न खोज्दा यो सातवटा सम्बन्धित भावका थीमले जोडिएको एक संयुक्त संग्रह रहेछ । यस आख्यानलाई ईश्वरको स्वरूप, कला, व्यक्तिको पहिचान, पारिवारिक जीवन र सम्पूर्ण मानव जीवन मिलेका सातवटा आँठा बाटिएको ‘एउटा चुल्ठो’ हो भनिएको छ ।
विलक्षण प्रकृतिको भाषिक एवम् वैचारिक शक्ति भएका फोसेलाई एक्काइसौं शताब्दीका ‘बेके’ पनि भन्दा रहेछन । सन् १९६९ का फ्रान्सेली नोबल विजयी स्याम्युअल बेके आधुनिक विश्वकै एक महानतम बौद्धिक चिन्तक अस्तित्ववादीमा गनिन्छन् । उनको प्रशिद्ध नाटक वेटिङ फर गोदो नेपालीमा समेत ईश्वरी पाण्डेद्वारा अनूदित छ । उनका धेरै कृति हाम्रा पाठ्यक्रममा छन् । उनी विचार र शैलीले विश्वविजय गर्ने एक स्रष्टा हुन् । उनको नाटक र आख्यानको शैलीलाई “न्यूनतमवादी” (मिनिमालिष्ट) भनिन्छ । यो पदलाई चम्स्कीले चम्काए ।
यो आख्यान (सेप्टोलोजी) अघि भनिएका सातवटा थीम लिएर आए तापनि यसका तीनवटा अन्तर्सम्बन्धित आख्यान (अर्को कथा, अर्को र नयाँ नाम) लाई गाँसेर एउटै पुस्तक बनाइएको रहेछ । त्यसैले यसलाई आख्यान त्रयी (अर्थात् ट्रिलोजी) भनी पुकारिन्छ ।
यो आख्यान नर्वेको समुद्री तटमा बस्ने आश्ले नामक एक वृद्ध पात्रको केन्द्रीयतामा बनिएको कथा रहेछ । आश्ले आफ्नै जीवनको पूर्वभाग अर्थात् अतीतको स्मरण गर्दछ । ऊ अर्को पात्रसँग यी कुरा आदानप्रदान गर्छ तर ती दुई व्यक्ति एउटैको प्रतिच्छाया रहेछन । एउटा पात्रका दुई दुई स्वरूप— अतीत र वर्तमानको आपसी संवाद र वार्ता गर्छन् । एकै जीवनका दुईवटा संस्करण, दुवै पेन्टर पेशाका । यस्ता एकै आकृतिका दुईवटा स्वरूपलाई “डपलग्याङ्गर” भन्दा रहेछन तर नेपालीमा शब्द छैन । गतवर्ष प्रकाशित हाल अमेरिकी नेपाली नितिन मिश्रको म र ‘म’ भन्ने आख्यानमा पनि ठीक यसैगरी एक पात्रका दुई ‘स्व’ को संवाद र चित्र छ । एउटा छ भौतिक रसमा डुबेको, अर्को आध्यात्मिकता अन्य अमर आत्मिक चिन्तनमा हराएको । यो एक संयोग हो ।
फोसेका पात्र आश्लेहरूको अनुहार मात्र होइन यहाँ अतीत र वर्तमानका हुँदा उही जीवनका दुईवटा “संस्करण” बनेका छन ती । दुवैजना जीवन, प्रेम, प्रकाश, छायाँ, विश्वास, मृत्यु जस्ता “आस्तित्विक” प्रश्नसित संघर्ष गरिरहेका छन । ती विषयका समाधान खोजिरहेका । फोसेको सेप्टोलोजी यस प्रकारको सर्वोच्च वा सर्वोत्तम अन्वेषण हो । यसले युरोपेली दर्शन चिन्तनले बुझे अनुसारका मानव नियतिका अस्तित्वको अन्वेषण गर्ने प्रयत्न गर्दछ । फोसेले आफ्ना देशका साठी लाख जति नागरिकले बोल्ने भाषामा आधीजति क्रिश्चियन भएको देशमा आफ्नो जलवायु परिवेशले सिकाएका आपूmले पढेर बुझेका ज्ञानको परिमन्थन प्रस्तुत गरे । वरिपरिका छिमेकी मुलुकमा स्वेडिश, डेनिश, आइसल्याण्डिक, फारोसी जस्ता भाषा बोलिने ठाउँका वीचमा छ सानो नर्वे ।
यस्तो ससानो भौगोलिक सांस्कृतिक परिवेशमा हुर्केका कति स्रष्टाहरू आज विश्वव्यापी बनेका छन । उदाहरणका लागि आजभन्दा २०० वर्ष अघि नर्वेमा जन्मेका हेन्रिक इब्सेन (सन् १८२८–१९०६) विश्वसाहित्यमै “यथार्थवादका पिता” मानिन्छन् । उनको डल्स हाउसबाट प्रभावित गोपालप्रसाद रिमालदेखि यताका कति नेपाली स्रष्टा छन् । सुनिल पोख्रेलले आफ्नो संस्करण निर्माण गरी गुरुकुलमा कति सफल प्रदर्शन गरे । भर्खरै मात्र इब्सेनको हेड्डा ग्याब्लर ल्याएर घिमिरे युवराजले “शिल्पि थिएटर” मा प्रस्तुत गरे । यिनका अनुवाद बनिए । पचास वर्ष अघि आनन्ददेव भट्टको जनताको शत्रु (अनुवाद) छापियो । त्यो इब्सेनका नाटकको हेनरी मिलरको अंग्रेजी अनुवाद एन इनेमी अब् द पीपलको नेपाली अनुवाद थियो । द वाइल्ड डक, पीअर गिन्ट पाठ्यक्रममै छन कति ता ।
त्यसपछिका नर्वेली लेखकमा ह्याम्शन नट, व्योन्र्सन्, सिग्रिड उण्डसेट सबै विश्व परिचित छन् । जोस्टेन गार्डरको सोफिज वल्र्ड भन्ने विचित्रको उपन्यास ता चार दशक जति हाम्रो पाठ्यक्रममा बस्यो । यस “दर्शन इतिहास” बाट मैले पनि आफ्नो पनि कति दृष्टिकोण बनाएँ । यसको प्रभाव मेरा पछिल्ला उपन्यासमा हेर्नु होला ।
आजसम्म नर्वेले साहित्य तर्फ चार नोबेल पुरस्कार प्राप्त ग¥यो । सर्वप्रथम व्योनर््स्टिन व्योन्सनले सन् १९०३ को (नोबल स्थापनाको तेस्रो वर्षमा), दोस्रोमा नट ह्याम्सनले १९२० को, प्रथम नारी स्रष्टा सिग्रिड उण्डसेटले सन् १९२८ (सय वर्ष पुग्नै लाग्यो) को पुरस्कार प्राप्त गरिन । यही महान सिक्रीमा जोडिए जोन फोसे ।
एउटा महान स्रष्टाको नामले राष्ट्र नै कति माथि उचालिन्छ, कति व्यापक हुन्छ तर हाम्रा भने शक्तिशाली राष्ट्रप्रमुखहरू जंगबहादुरदेखि केपी ओलीसम्म साहित्यकला साधकलाई आफ्नो शक्ति र पाटिको जुक्ति प्रयोग गरी थला पार्दै आपूm र आफ्नालाई मात्र उचाल्ने विद्यालाई प्रयोगमा ल्याइरहेका छन । यो देशमा साहित्य÷कला साधकका दिन उदाउँदैनन— अधिनायकवादीहरूको बन्दुके चेतना समाप्त नभएसम्म । तिनीहरूका पछि कुद्ने झोलाहरू छींड नपरेसम्म । शरद भाइको लेख पढदा त्यही अर्थ लाग्छ ।
कत्रा महान् स्रष्टाको जन्म हुन्छ ठाउँठाउँ । तिनले आफ्नो भाषालाई उचालेर कहाँ पु¥याउँछन । हेन्रिक इब्सेनको नाम स्नातक गरेका प्रत्येक नेपालीलाई कण्ठ छ, उनका कामले विश्व चकीत छ । झन झन धेरै भाषामा बहुगुणित हुँदै जाने सृष्टिको अन्त्य नहुन्जेलसम्म यहाँको बतासमा नाम गुञ्जिरहनेहरूमा कि देउता छन कि स्रष्टा । त्यसो सँगसँगै प्रत्येक युगमा राक्षसको पनि नाम चलिरन्छ । यी तीन तत्व अभिन्न हुँदा रहेछन् । तर हाम्रो देशमा वनमाराले बालीनाली ठुट्याएजस्तै राक्षसी प्रवृत्तिले साहित्यकला ढट्याउँदैछ ।
समाजलाई प्रकाशवान् गराउने तत्व साहित्य रहेछ । साहित्य कला साधकको निश्वार्थ जीवन यही समाज र राष्ट्रलाई अर्पित छ तर कसले देख्छ ! सधै सत्ताको उपेक्षा खाएर एकथरीले तपस्या गरिरहेको हुन्छ । अर्को थरी पार्टीको वरिपरि घुम्दै ! सत्तालाई धुपवाति गरिरहेको हुन्छ ।
आज फोसे पढन आरंभ गरेको छु— यूरोपकै श्रेष्ठ सर्जक पढन पाउँदा मन कसरी रोमाञ्चित हुन्छ । यस्तो अथवा यस्ता (मैले प्रस्तुत आलेखमा नाम लिए जस्ता स्रष्टा मध्ये एक हुने सपना हाम्राले पनि देखिदिए हुने । तर एउटा समस्या, भाषा नै निम्छरो छ, त्यसमाथि यसको प्राण लिनेहरू जागेर नयाँ शब्दकोष र सरल व्याकरणको आविष्कार गरी नेपाली भाषाकै धेरै जरा उत्तानो पारे । यसै पनि अंग्रेजी भाषाले मार्न आटेको राष्ट्रवादको बाँकी प्राण लिने उद्देश्यले हाम्रा नव अभियन्ताहरूले नेपाली सभ्यता भत्काउने प्रयत्न गरेका छन । धन्य यतिबेला अलिक धरक मारेको बेला छ । भर्खरै सवाई, लोकभाका, भजन, गजलका खुडकिला पार गरेर यहाँ पुगेको नेपाली भाषालाई यसको कलिलो साहित्यलाई झन्डै उत्तानो पारिएको आजको अवस्थामा कसरी यूरोपेलीसँग दाँजिने सपना देख्नु !
साहित्य जोगाउने हुर्काउने यसको उन्नति गर्ने साहित्यकला साधकको रक्षा गर्ने सरकारले हो जहाँ पनि । तर नेपालमा भने सत्ताधारी भन्दा ठूलो कोही भएन, कोही छैन, केही छैन, हुन सक्दैन पनि । स्वच्छ साहित्यको चिन्तन र अभ्यास यहाँ असम्भव लाग्छ ।
विश्वभरिका सत्ताधारीहरूले नै मानव जाति माथि दुःख, कष्ट, संघर्ष खन्याउने कर्म गरेका छन् । सभ्यताको आरम्भदेखि आजसम्म अधिनायकवादीकै अत्याचारमा पिसिनु परेको छ । यो कुरा देख्ने र लेख्ने भनेका साहित्यकारहरू नै हुन्, कलाकारहरू नै हुन् । ती दरा र शक्तिशाली भए भने अत्याचारको कथा पनि लेखी छोड्छन् । त्यसैले अधिनायकवादीहरू तिनीहरूलाई निस्तेज बनाउन चाहन्छन्, सके निष्प्राण गराउन चाहन्छन् । त्यसैले सत्ताधारीलाई साहित्य–कला साधकको श्राप लाग्न सक्छ ।

२२ भाद्र, २०८१
सुकर्मटोल, कीर्तिपुर