महावीर पुनको नाम नसुन्ने मान्छे नेपाल अधिराज्यमा विरलै भेटिएलान् । पछिल्लो समयमा उनले आफ्नो आत्मकथाको पुस्तक ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ देशव्यापी रूपमा आफैँ बिक्री गर्दै हिँड्ने अभियान नै चलाएका छन् । यसबाट उनको चर्चा अझ चुलिएको छ । उनको यो अभियानको विशेषता के हो भने उनले पुस्तक बिक्री गरेर संकलन गरेको सबै रकम आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमा र वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनका लागि खर्च हुने घोषणा गरेका छन् । यसले गर्दा सम्पूर्ण नेपाली जातिको सहानुभूति उनमा खनिएको देखिन्छ । त्यसैले त पछिल्लो तथ्याङ्क अनुसार उनले हालसम्म दुई लाख ३० हजार पुस्तक बेचिसकेका छन् ।

यसै सिलसिलामा उनी करीब दुई-तीन महिनाअगाडि दमकमा आएका थिए । त्यसै बेला हो उनको पुस्तक मेरो हात परेको । यतिन्जेल मैले विभिन्न छापाका पढेका पुन आत्मकथाको रूपमा मेरो सामु आएका थिए । उनलाई म जति जति पढ्दै गएँ, उति उति नै उनीप्रति आकर्षित हुँदै गएँ । त्यसैले त ३ सय ६ पृष्ठको उनको पुस्तक पढिसक्ता पनि मेरो धीत मरेको थिएन ।

उनको कथा पढ्दै जाँदा मलाई यो सत्यकथा कम र काल्पनिक कथा नै ज्यादा हो कि लागेको थियो अर्थात् आत्मकथा भैकन पनि पुनको पुस्तक एउटा रोमाञ्चक उपन्यास पढेजस्तो लाग्छ पाठकलाई । मेरो मनमा बारम्बार ‘यस्तो पनि हुन सक्छ र ?’ भन्ने प्रश्न उठेको थियो ।

महावीर पुनको कथा म्याग्दी जिल्लाको एउटा विकट गाउँ नाङ्गीबाट शुरू हुन्छ । धन्न त्यो समयमा पनि त्यहाँका मानिसमा शिक्षाको चेत चाहिँ पसिसकेको रहेछ । त्यसैले त गोठाले जीवन बिताइरहेका महावीर पुनले नाङ्गीका बूढापाकाहरूले गाउँमै पाँच कक्षासम्म खोलेको स्कूलमा गई पढ्ने मौका पाए । हुन त त्यो स्कूल खोल्नुको उद्देश्य त्यहाँका केटाहरूलाई पल्टनमा भर्ती हुन सक्ने बनाउनु थियो ।

त्यति बेलाको समय सम्झेर पुन लेख्छन्— “स्कूल खोल्नुको मुख्य उद्देश्य नै हामीजस्ता केटाहरूलाई कम्तीमा पाँच कक्षासम्म पढेको प्रमाणपत्र’ दिलाउनु थियो । बूढापाका भन्थे, ‘हेर केटा हो, हाम्रा पालामा पल्टनमा भर्ती हुनका लागि केही नपढे पनि हुन्थ्यो । तर तिमीहरूले अबदेखि भर्ती हुन कम्तीमा पाँच कक्षा पढेकै हुनुपर्छ ।”

पुन पाँच कक्षामा पढिरहेकै बेला त्यो स्कूल सात कक्षासम्म भयो । सौभाग्यवश उनले गाउँमा स्कूल नभएकै कारण सात कक्षा पास भएपछि आफ्नो पढाइलाई पूर्णविराम दिनु परेन । उनका बाबाले उनलाई उनीहरूको गाउँबाट करीब पाँच घण्टा हिँडेपछि पुगिने मल्लाज नामको गाउँमा लगेर त्यहाँको स्कूलमा कक्षा आठमा भर्ना गरिदिए । उनले शायद शिक्षाको ज्योतिको शक्ति थाहा पाएका थिए होला । त्यसैले त महावीर पुनको अध्ययनलाई निरन्तरता दिन उनले छोरालाई नौ कक्षा पढाउन चितवन लगे । त्यहीँबाट पुनले एसएलसी परीक्षा पास गरे । अबको उनको अध्ययनको केन्द्र भनेको काठमाडौँ थियो । अमृत साइन्स कलेजबाट उनले आइ.एस्सी. उत्तीर्ण गरे । यो समयमा उनले गरेका संघर्षका कथाहरू पनि रोचक छन् । उनले पाएका सहयोगी हातहरू प्रशंसायोग्य छन् ।

थप अध्ययनका लागि छात्रवृत्ति उपलब्ध नभएपछि पुनको पढाइ रोकियो । उनका बाबाले त बी.एस्सी. पढाउन चाहेका थिए तर पुनले नै अब उप्रान्त आफ्ना बाबालाई आर्थिक भार बोकाउन चाहेनन् । त्यसैले उनी चितवन नै फर्किए र त्यहाँकै विद्यालयमा अध्यापन गर्न थाले । यसरी उनले शिक्षण पेशामा १३ वर्ष बिताए । पुन त्यति बेलादेखि नै महत्वाकांक्षी भएकाले नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्नका लागि गुणस्तरीय स्कूल तथा कलेजहरू खोल्ने सपना देख्न थालेका थिए । चितवनमा अध्यापनकै क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग झगडा पर्नाले महावीर पुनको जीवनको बाटो नै मोडियो ।

रीसको झोंकमा उनले आफ्नो जागीरबाट राजीनामा दिए र आफ्नो भविष्य खोज्दै काठमाडौँ छिरे । त्यस समयमा पुन ३१ वर्ष भैसकेका थिए । यहाँ आउनुको उनको मुख्य उद्देश्य कुनै सानोतिनो जागीर खोजेर खानु थियो । जीवन आफूले सोचेजस्तो कहाँ हुन्छ र ? उनी लामै समय काठमाडौँमा बेगारी भएर भौँतारिए । तैपनि उनको मनमा अब के गर्ने, कसो गर्ने भन्ने हुटहुटी चाहिँ निरन्तर चली नै रहेको थियो ।

काठमाडौँका गल्ली गल्ली चहार्दै हिँड्ने क्रममा उनलाई अब अमेरिका गएर पढ्ने इच्छा जागृत भयो । एउटा गाउँले मान्छे टेक्ने, समाउने केही छैन, छ त खालि दृढ इच्छाशक्ति— जसरी पनि अमेरिका गएर पढ्ने ।

उनी लेख्छन्, “अमेरिकन लाइब्रेरीमा बसेर छात्रवृत्तिको लागि अनुरोध गर्दै मैले एक सयभन्दा बढी कलेज र युनिभर्सिटीलाई पत्र लेखेको थिएँ होला,” (पृ. ५३) । यति गर्दागर्दै पनि उनले कतैबाट आशलाग्दो जवाफ पाउन सकेका थिएनन् । तर उनले छात्रवृत्तिका लागि निवेदन हाल्न छोडेनन् । अन्तमा उनलाई नेब्रास्काको कर्नी स्टेट कलेजबाट छात्रवृत्ति दिने किसिमको चिठी आयो । अमेरिकासम्म पुग्नका लागि लुगा, जुत्ता, टिकटको पैसा जुगाड गर्नै पनि पुनलाई निकै सकस परेको थियो ।

यहाँसम्म त महावीर पुनको कथा साधारण नै हो । उनले आफ्नै लागि संघर्ष गरिरहेका थिए । तर जब उनी अमेरिकाको अध्ययन सकी नेपाल फर्किए उनले गरेका असाधारण कामले जो कोहीलाई पनि प्रेरित गर्न सक्छ । अमेरिकाबाट चार वर्षे अध्ययन सफलतापूर्वक पूरा गरी उनी आफ्नै गाउँ म्याग्दीको नाङ्गीमा पुगे । परिबन्दमा परेर उनले त्यहाँको विद्यालयमा दुई वर्ष निःशुल्क पढाउने वचन दिए । तर त्यो ठाउँमा अध्यापन गर्ने बाहेक अरू धेरै समाजसेवाका महत्त्वपूर्ण काम गरेर पुनले नाङ्गीमा बीस वर्ष बिताए ।

आफूले अध्यापन गर्ने विद्यालयलाई आर्थिक रूपले सबल बनाउन उनले गोलभेडा खेती गरे, गाउँको मेलामा गएर मोमो बनाउने र बेच्ने काम गरे, गाउँमा नै उत्पादित आरुबखडाबाट जाम बनाए, नाङ्गीको पर्यटन विस्तारका लागि क्याम्पिङ् स्थल बनाए, विद्यालयका विद्यार्थीलाई हाते कागज बनाउने तालीम दिए, माछा पालन गरे, गाईको दूधबाट चीज बनाए । पुनले गाउँको स्वास्थ्य स्थिति सुधार्ने दिशातिर पनि केही काम गरे । उनी सधैँ के गरेर गाउँको विकास गर्न सकिन्छ भन्ने कुरामा दत्तचित्त भएर लागिरहन्थे र नयाँ नयाँ प्रयोग गरिरहन्थे । उनले आफ्नै गाउँमा बिजुली पनि निकाले । यसले गर्दा छात्रावासमा बस्ने विद्यार्थीले बिजुलीको उज्यालोमा पढ्न पाए । यस्ता खालका धेरै काम गरे पनि महावीर पुनको नाम उनले नयाँ सूचना तथा प्रविधिलाई म्याग्दीका गाउँ गाउँसम्म पुर्‍याउने अभियान थालेपछि प्रख्यात हुन थाल्यो— देशमा होइन विदेशमा । यसका लागि उनले कति कसरत गर्नुपर्‍यो  भन्ने कुरा उनले पुस्तकमा विस्तृत रूपमा वर्णन गरेका छन् ।

सन् २००१ मा बीबीसीले ‘भिलेज इन द क्लाउड्स इम्ब्रेसेज कम्प्युटर्ज’ शीर्षकमा पुनको समाचार छापेको थियो । यसपछि नै विश्वका आँखा उनीतिर तानिए । यसरी आफ्नो जीवनका उर्वर बीस वर्ष गाउँ विकासमा खर्च गरेपछि उनलाई अब राष्ट्र विकासका लाग्नुपर्छ भन्ने विचार आयो । यसै बीचमा उनले अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार पनि प्राप्त गरे ।

हुन पनि हो अब देशमा केही हुनेवाला छैन भनेर बाह्र कक्षा पढिसकेपछि विदेशतिर लाग्ने युवाहरूको संख्या बढ्न थालेको थियो । यसका अलावा वैदेशिक रोजगारका लागि जानेहरू पनि उति नै थिए । महावीर पुनले विभिन्न विकसित देशहरूको बारेमा गहिरो अध्ययन गरे । त्यसपछि उनी युवाहरूलाई नेपालमा नै रोक्नुछ र उनीहरूलाई उचित रोजगारी दिनुछ भने नयाँ नयाँ किसिमका विभिन्न उद्यमहरू सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । उनी लेख्छन्, “यसरी नेपाल फर्केर बीस वर्ष समाजसेवा गरिसकेपछि मात्र देशमा रोजगारी सिर्जना नगरी नहुने यथार्थ, रोजगारी सिर्जना गर्न उद्यमीहरू निकाल्नै पर्ने आवश्यकता र उद्यमीहरू उत्पादन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकता नदिई नहुने मूलमन्त्र मैले सिकेँ,” (पृ. २००) ।

अनि उनले राष्ट्रिय आविष्कार केन्द्र खोल्ने निर्णय गरे । यसको दर्ता गर्ने र आर्थिक सहयोग जुटाउने प्रस्तावना स्वीकृत गराउने क्रममा उनले कति दौडधुप गर्नुपर्‍यो भन्ने तीतो यथार्थ पनि पुनले पुस्तकमा वर्णन गरेका छन् । नेपालको अस्थिर सरकारले गर्दा पाँच वर्षसम्म सिंहदरवार धाउँदा पनि राष्ट्रिय आविष्कार केन्द्र अगाडि बढ्न नसकेको कुरा निकै नै पीडादायी छ । सरकारबाट कुनै सहयोग नपाइने छाँट देखेपछि पुनले जनताका सामु जाने उपाय निकाले ।  यसका लागि उनले सामाजिक सञ्जाल फेसबुक प्रयोग गरे ।

यसरी राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालनका निम्ति देश विदेशमा रहेका नेपालीले महावीरलाई यथासक्य आर्थिक सहयोग गरे । विशेषगरी कोरोना कालमा यो केन्द्रले पी.पी.इ, फेस सिल्ड, मास्क, स्वाव जम्मा गर्ने बुथजस्ता आवश्यक सामग्रीहरू उत्पादन गरी निःशुल्क वितरण गरेको थियो ।  राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालनका अतिरिक्त पुन तीस वर्षदेखि बन्द भएको वीरगन्जको कृषि औजार कारखानालाई मर्मत सम्भार र आधुनिकीकरण गरी सञ्चालनमा ल्याउने काममा पनि जुटेका छन् ।

जुन कामहरू सरकारी स्तरबाट नै सञ्चालन हुनुपर्थ्यो त्यस्ता काम पुन अनवरत रूपमा खटी व्यक्तिगत स्तरमा नै सम्भव बनाउँदैछन् । अझ बिडम्बना त के छ भने सरकारले उनलाई उचित हौसला र आर्थिक सहयोग समेत गरेको देखिएन । उनको आत्मकथा यही सरकारी असहयोगको उपज हो । सरकारले गर्नुपर्ने काम एक नागरिकले गरिरहेको देखेर पनि नदेखेजस्तो गर्ने सरकारलाई के भन्ने ?

समयचक्र पनि विचित्र हुँदो रहेछ । नियतिले अहिले तिनै सरकारले बेवास्ता गरेका महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन् । आशा छ, उनले राष्ट्रिय आविष्कार केन्द्रको दिगो विकासका लागि सरकारी तवरबाट स्थायी रूपमा आर्थिक श्रोत जुटाउने जुन प्रस्ताव अघि सारेका थिए, त्यसले मूर्त रूप पाउनेछ । अनि नेपाली युवालाई उचित रोजगार उपलब्ध गराउने यस्तै खालका अरू पनि धेरै कार्यक्रमहरू आउन सके वैदेशिक रोजगारमा जानेहरूको क्रम पनि बिस्तारै घट्ने थियो कि ?