युवतीले पुलुक्क ऊतिर हेरिन् । त्यो हेराइमा प्रेम छ कि यौवनको उन्माद ? अनि प्रेम प्राप्ति हो कि त्याग ? यौन र प्रेम जीवनमा कहाँ जोडिन्छन् र कहाँ बिछोडिन्छन् ? प्रेम र यौन एउटै हुन् कि विपरीत ? जीवनमा प्रश्न र आकर्षणले जब नत्थी लगाउँछ तब मानिस हत्केलामा आयु बोकेर आकाश र धर्ती नाप्न हिँड्छ । त्यही धर्ती नाप्न हिँडेको युवकको कथा हो : तेजस्विनी सदन ।

यही यात्रामा भेटिन्छन् अनेक विवशता, महत्वाकाङ्क्षा, निराशा र अर्थहीन सम्बन्धका पछि लाग्दै जीवनको नाडी छाम्न नसक्ने पात्र र परिवेशहरू । उपन्यास न यथार्थ हो न कल्पना न त स्वैरकल्पना । बरु तीभन्दा पर जीवनको स्पन्दन बोकेर आआफ्नो सोच र विचारको परिधिमा घुमिरहेका छन् यहाँका पात्रहरू । यही आख्यानमा समेटिन्छन् दर्शन र विचारका बाछिटाहरू । पात्रको साहस र हुस्सुपनमा हराउँदै आफूलाई एकाकार गराउँदा पाठक लेखकको लेखनी सामर्थ्य अनुभूत गर्छ । जसरी युवक बोल्नुपर्ने बेला बोल्न सक्दैन र मनमनै कुरा गर्छ त्यसरी नै पाठकको दिल हल्लाउँछ यो उपन्यासले । विशेष छैन र पनि विशेष छ ।

युवकको नाम हो : एकराज कटवाल । ऊ युवतीप्रति यति आकर्षित हुन्छ कि आफ्नो जीवनको लय नै फेर्छ र युवतीको माया पाउन तेजस्विनी सदनभित्र प्रवेश गर्छ । ती युवतीप्रतिको आकर्षण र प्रेममा ऊ यसरी भिजेको छ कि उसलाई अपमान र परिश्रमको दुःख कत्ति पनि बिझाउँदैन । बिस्तारै ऊ तेजस्विनी सदनभित्र यसरी मिसिन्छ छ हरेक पात्रसँग ऊ नजिक हुन पुग्छ । आफ्नो तपस्याकी पात्रसँग ऊ नजिकिँदै जान्छ तर उससँग आफ्ना कुरा खोल्ने अवसर पाउँदैन, पाएको अवसर गुमाउँछ ।

उपन्यास एकराज, सुचित्रा, तेजस्विनी, मृदुल कश्यप, सिमरिका, शार्दूलको वरिपरि घुम्छ । तेजस्विनी सदनमा अधिपति भएर पनि प्रभाकर कश्यप प्रेमका भोका छन् । उनकी श्रीमती तेजस्विनीलाई कश्यपको भोकसँग कुनै चासो छैन । उनलाई चासो छ त आफ्नो दरबारको सीमा बढाउने कुरामा । प्रभाकर कश्यपका भाइ शार्दूल यौनको भोकका परिपूर्तिका लागि अनेकतिर भौँतारिन्छन् तर आफ्नै श्रीमतीसँग भने टाढिन्छन् । उता प्रेमको भोकमा रन्थनिएकी शार्दूलकी श्रीमती सुचित्रा आफूलाई सुन्दरी भनिदिएकामा एकराजप्रति आकर्षित हुन्छिन् ।

यसरी तेजस्विनी सदनभित्रका पात्रहरू बीचको द्वन्द्व, आकर्षण, अहम्भित्र एकराज हराउन थाल्छ । सिमरिकासँग नजिकिने उसको चाहनामा सदनभित्रको द्वन्द्वले अवसर ल्याउँछ तर उसकै हुस्सुपनले उसलाई सिमरिकासँग नजिक पुग्न दिँदैन । यही अन्तर्द्वन्द्व र द्वन्द्वमा उपन्यासको आख्यान अघि बढेको छ ।

एकराज सदनभित्र प्रेम, यौन र विवाहका सम्बन्धहरूलाई ऊ नजिकबाट अनुभूत गर्छ । यहाँभित्रको सम्बन्ध र क्रियाकलाप अमेरिकी समाजभित्र जस्तो देखिन्छ । विवाहको मर्यादा देखिन्न । यौन र प्रेमको द्वन्द्व यस उपन्यासमा देखिन्छ । नेपाली डायस्पोराले अमेरिकामा देखेको र भोगेको समाज उपन्यासमा देख्न सकिन्छ । तर, त्यो स्वैरकल्पनाको माध्यमबाट व्यक्त भएको छ । त्यसैले उपन्यासका पात्र र परिवेश नेपाली भएर पनि पाठकलाई उपन्यास नेपाली पृष्ठभूमिमा रचिएको छैन कि भन्ने आभास हुन्छ ।

कर्मभूमि अमेरिका बनाएका अतुल पोखरेलको पहिलो उपन्यास तेजस्विनी सदन नेपाली डायस्पोराको सशक्त लेखन बनेको देखिन्छ । ठेट नेपाली शब्दहरूको प्रयोग भएको यस उपन्यासमा कथा वाचनको शैली रोचक छ । आख्यान अघि बढ्दै जाँदा कतै कतै लेखक पनि भित्र पस्छन् र प्रस्तुतिमा नवीनता खोज्दछन् । यो विशुद्ध स्वैरकल्पनामा आधारित उपन्यास हो । स्वैरकल्पना भनेको भ्रमपूर्ण कल्पना हो । यसमा वास्तविकता हुँदैन तर जति नै कल्पनामा उनिए पनि त्यसमा पात्र र परिवेशले मानवको सीमा भने नाघ्दैनन् । उपन्यासमा डायस्पोरिक अनुभव र अनुभूति नै आख्यानको तन्तु बनेको पनि पाइन्छ । नेपाली पात्र छन्, परिवेश पनि नेपालकै तराईतिरको देखाउन खोजिएको छ ।

नेपाली डायस्पोरिक लेखनमा कि त नेपाली समाजलाई अमेरिकामा प्रस्तुत गर्न खोजिएको छ, कि त आफ्नो जन्मभूमिको स्मृतिमा लेखिएको छ कि नेपाली डायस्पोराले भोग्नुपरेका समस्या, सङ्घर्ष वा द्वन्द्व आदिका विषयमा लेखिएको पाइन्छ । तर तेजस्विनी सदन भने अलि पृथक् प्रस्तुति लिएर आएको छ । नेपालीले विदेशमा गएर त्यहाँको समाजमा रहेको प्रेम, विवाह र यौनको सम्बन्धमा देखेको विषयवस्तुलाई स्वैरकल्पनाका माध्यमबाट नेपाली परिवेशमा ढाल्न खोजेको देखिन्छ । त्यसैले पाठकले उपन्यास पढ्दा पात्र, परिवेश, संवाद आदि नेपाली देखे पनि यसभित्र नेपाली समाज भने देख्दैन । यसमा ऐतिहासिकताको झझल्को दिन खोजिएको कुरा त आवरणले नै देखाउँछ । तर, पाठक यसमा नेपाली समाजको आत्मा भने देख्दैन, कता कता अमेरिकी समाज हो कि भन्ने भ्रम हुन्छ ।

उपसंहारसहित ६२ अध्यायमा रचिएको यो उपन्यासको आकार बृहत् नै देखिन्छ । डिमाइ साइजमा ५३९ पृष्ठमा रचिएको उपन्यास सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो । उपन्यासकारले कुनै सन्देश दिन नखोजेको बताए पनि उपन्यासभित्र पात्रका अभिव्यक्तिहरूमा दर्शन र विचारका बाछिटा बग्रेल्ती पाइन्छ । पात्रहरूको पीडा र तीभित्र रहेका यौनका उकुसमुकुसहरू उपन्यासमा सुन्दर तरिकाले चित्रण गरेको पाइन्छ ।