तीन ओटा उपन्यासबाहेक एउटा कविता–सङ्ग्रह पनि प्रकाशित भइसकेका लेखक बुद्धिसागरको पछिल्लो किताबका रूपमा एउटा संस्मरण–सङ्ग्रह निस्केको छ, “उसले दिएको उमेर” । चौथो कृति एवं तेस्रो उपन्यास निस्केको दश महिना पनि नबित्दै (गत असोज २१ गते) सार्वजनिक भएको यो संस्मरण–सङ्ग्रह पहिले नै पत्र–पत्रिकामा छापिइसकेका आलेखहरूको सङ्ग्रह हो । तिनै प्रकाशित रचनामध्ये आफूलाई मन परेका संस्मरण छानेर केही परिमार्जन र परिष्कार गर्दै किताबको रूप दिइएको उनले नै जनाएका छन् ।
मैले उनका यी धेरैजसो संस्मरणहरू पत्र–पत्रिकामा छापिएको समयमै एकपछि अर्को गर्दै पढिसकेको हो । अभिव्यक्ति कौशल र भाषिक सबलताले गर्दा त्यति बेलै पनि यी संस्मरणहरू लोकप्रिय भएका थिए । कुनै किसिमको राजनीति र वैचारिकताभन्दा टाढै रहेका यी संस्मरणहरू बुद्धिसागरलाई केन्द्रमा राखेर उनकै वरिपरि घुम्दै कालिकोटको मान्म र कलैयाको गाउँबस्ती हुँदै काठमाडौँको शहरी बस्तीमा बिते बिताएका दिन औ घटनाक्रमहरूको लहरो मीठो गरी तानिँदा यी संस्मरण जन्मेका छन् । मीठो लेखनशैलीले गर्दा निश्चय पनि बुद्धिसागरको यो संस्मरण–सङ्ग्रह आनन्ददायक पठन हो भन्न सकिन्छ ।
सायद यही कारणले होला, एकथरी पाठकमाझ चर्चा पनि चल्न थालेको छ– के “उसले दिएको उमेर” को आशीर्वाद बुद्धिसागरको तेस्रो उपन्यास “एक्लो” लाई लाग्ला ? अथवा, अन्य केही भविष्यको सङ्केत हो ? जे होस्, यस्तो चिया वा ‘कफी गफ’ सुनेर मलाई रमाइलो पनि लाग्यो ।
त्यसैले गर्दा पनि म यहाँ अझै हात परी नसकेको यो संस्मरण–सङ्ग्रहभन्दा पनि उनको पछिल्लो उपन्यास “एक्लो” बारे चर्चा गर्न तम्सिएको छु । प्रकाशित समय केही महिना बितिसकेको भए पनि किताबको चर्चा वा समीक्षा कहिल्यै ढिलो हुँदैन । हो, किताब छापिएर बजारमा आउने बित्तिकै चर्चा, परिचर्चा वा समीक्षा हुँदा पाठकलाई त्यो किताब किन्ने वा नकिन्ने वा त्यो के कस्तो रहेछ भनेर निर्णय लिन तुलनात्मक तवरले धेरै सहयोग पुग्ने तथ्य भने निर्विवाद छ ।
बिसाउँदै, राख्दै, छोड्दै र फेरि पढ्दै गर्दा अन्ततः केही दिन लगानी गरेपछि बुद्धिसागरको पछिल्लो बृहत् उपन्यास “एक्लो” पढेर सकियो । आखिर, झन्डै पाँच सय पेज (४९४ पृष्ठ) मा विस्तारित यति मोटो किताब पढ्ने कुराले अतिशय समयको माग त गर्ने नै भयो । यसअगि पनि उनका प्रथम दुई उपन्यास क्रमशः “कर्नाली ब्लुज” र “फिरफिरे” आकारको हिसाबले उस्तै विशालकाय छन्, यद्यपि चर्चाको सन्दर्भ कोट्याउने हो भने उनको सुरुआती उपन्यास “कर्नाली ब्लुज” ले चर्चाको उच्चतम शिखर छोयो, लोकप्रियताको नयाँ मापदण्ड पनि बनायो र नेपाली वाङ्मयमा एक उम्दा एवं सदाबहार आख्यानको रूपमा स्थापित हुन गयो । पछि माइकल हटले त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि र भारतीय प्रकाशकले प्रकाशित गरेपश्चात् बुद्धिसागर नेपाली भाषागत सिमाना नाघेर अन्तर्राष्ट्रिय वाङ्मय बजारमा पनि पुगिसके । यसरी उनलाई उपन्यासकारका रूपमा चिनाउने र स्थापित गराउने महत कार्य पनि त्यही “कर्नाली ब्लुज”ले नै ग¥यो ।
तर उनको दोस्रो उपन्यास “फिरफिरे” कताकति मात्र पढियो, उस्तो विधि रुचाइएन र त त्यो किताब चर्चाको पीँधमा कतै अल्झिएर उतै कतै गुँडुल्किन पुग्यो । लेखक उही, भाषा उही, काया पनि करिब उत्रै, केवल विषयवस्तु मात्र फरक । तर उनै पाठकले आत्मसात् नगरिदिएपछि र उनै पाठकले माया नगरिदिएपछि कसको के लाग्छ र ! यहाँनिर एउटा नितान्त सत्य कुरा छ– कुनै पनि लेखकका जम्मै सिर्जना उस्तै वा समान किसिमले एकै स्तरका हुँदैनन्, हुन पनि सक्दैनन्, अगिल्लो अब्बल र पछिल्लो दोयम अथवा अगिल्लो दोयम र पछिल्लो अब्बल हुने सम्भावना जहिले पनि जीवन्त हुन्छ । अथवा, थुप्रै किताब प्रकाशित भइसकेपछि पुछारतिरको कुनै सिर्जना सगरमाथा बनेर मुस्कान छर्न सफल भएको हुन सक्छ । लगभग हरेक लेखकको नियति यही हो ।
नेपाली वाङ्मयमा अत्यधिक धेरै लेख्ने र प्रकाशित पनि गर्ने व्यक्तित्वको सूचीमा पर्ने एउटा नाम शङ्कर कोइराला हो । उनले सयभन्दा धेरै कथा, उपन्यास र अन्य सिर्जना–पुस्तक प्रकाशित गरेका छन् तर उनको एउटै सानो उपन्यास “खैरेनी घाट” मात्र चर्चायोग्य किसिमले पढिन्छ र सम्झिइन्छ पनि । त्यसमा पनि क्याम्पस स्तरीय पाठ्यक्रममा समेत समावेश रहेको यो उपन्यासलाई नेपाली वाङ्मयमा ‘प्रथम आञ्चलिक उपन्यास’ को दर्जा पनि प्राप्त छ ।
“अलिखित” उपन्यासका लागि मदन पुरस्कार पाइसकेर वि.सं.२०८० को अन्त्यसम्ममा करिब छ दर्जनको हाराहारी सङ्ख्यामा उपन्यास, कथा र संस्मरण–सङ्ग्रह मात्र प्रकाशित भइसकेका डा. धुव्रचन्द्र गौतमका के कतिवटा कृति पठनीय, स्मरणीय र सङ्ग्रहणीय छन् ?
लेखक बुद्धिसागर यस कुराको अपवाद हुन सक्दैनन् । त्यसकारण पनि उनलाई यस पैमानामा नहेर्नु उनीप्रतिको अन्याय हुनेछ ।
“एक्लो” सार्वजनिक भएपछि यो किताब आफैँमा के कस्तो भन्ने भन्दा पनि धेरैजनाले यसको स्तरीयतालाई लिएर आलोचना गरे । यसलाई “कर्नाली ब्लुज”सँग तुलना गरे, अझ “फिरफिरे”को दाँजोमा राखे र कमसल उपन्यासको दायराभित्र थन्क्याइदिए । यस्ता सबै आलोचक (अथवा, भनौं बुद्धिसागरका शुभचिन्तक)हरूले “एक्लो”मा खोजेर पनि “कर्नाली ब्लुज” नपाइएको विचार व्यक्त गरे ।
मेरो विचारमा, उनको उपन्यास “एक्लो”लाई सामान्य तवरले ‘एउटा नयाँ उपन्यास’को रूपमा मात्र पढ्नु पर्ने हो, र त्यसै गरी पढ्नु पनि पर्दछ । यसरी पढ्ने सन्दर्भमा उनका अगिल्ला दुई उपन्याससँग राम्रो वा नराम्रो भनेर दाँज्दै अगि बढ्ने हो भने त्यसको कुनै तुक हुँदैन, त्यो उचित पनि हुँदैन र त्यसले खासै आनन्द पनि दिँदैन । यो काम आफ्नो अध्यापन–वारिधि बढाउन लागिपर्ने महाविद्यालयहरूका अनेकानेक समालोचकको जिम्मामा छाडिदिए हुन्छ ।
यस प्रसङ्गमा, केवल “एक्लो” उपन्यास आफैँमा कत्तिको राम्रो लाग्छ, मन पर्छ–पर्दैन, पढ्न थालेपछि उपन्यासले तान्छ–तान्दैन, पढ्दा आनन्द दिन्छ–दिँदैन, पढूँ–पढूँ र पढिरहूँ जस्तो लाग्छ–लाग्दैन, समग्रमा आठ सय चालीस रुपैयाँ तिरेर किनेको झन्डै पाँच सय पृष्ठ लामो यो उपन्यास पढेर चित्त बुझ्यो– बुझेन आदि सवाल नै प्रमुख हुन् । यस्तो किन पनि हो भने “एक्लो” आफैँमा एक स्वतन्त्र उपन्यास हो, यो आप्mना कुनै पूर्ववर्ती उपन्यासको शृङ्खला वा ‘सिक्वेल’ होइन ।
उपन्यास पढेर सकिएपछि त्यसले खास कुनै सन्देश दिन्छ अथवा त्यो केवल ‘टाइम पास’ गर्ने किसिमको रह्यो वा त्यसभन्दा अलि माथि गएर केही पठन–आनन्द दिएरै चित्त बुझाउनुपर्ने बनायो भनेर सोच्नु बरु आवश्यक पक्ष हो ।
समग्रमा थोरै मात्र ठाउँहरूमा नै सही, केही हँसाउन, केही रुवाउन र अलिकति सोच्न (एक प्रमुख पात्र समीराका भनाइहरू पढ्दा) विवश पार्न सफल देखिएको उपन्यास हो, “एक्लो” । तर यो कुनै गम्भीर उपन्यास होइन, पटक–पटक पढ्नका लागि आकर्षित पनि गर्दैन ।
उपन्यासमा मूलपात्रका रूपमा श्री (धेरैले बोलाउँदा ‘सिरी’) नाम भएको युवक छ । एसएलसी पास गरेर ऊ गाउँबाट काठमाडौं शहर आउँछ र आरआर क्याम्पसमा भर्ना हुन्छ । (यहाँनिर, सुदूर गाउँबाट राजधानी शहर आएको एउटा किशोरले शुरुमै ‘आरआर कलेज’मा भर्ना भएको कुरा गर्छ ! नेपालमा त खासगरी गाउँक्षेत्रबाट आएकाहरूमा ‘क्याम्पस पढ्नेहरू’ हुन्छन्, उनीहरूमा ‘कलेज पढ्ने’ प्रचलन आइसकेको छैन । अझ त्यसमा पनि राजधानी शहरमा ‘कलेज पढ्ने’ भन्ने चलन पनि शहरिया जमातमै समेत उस्तो आइसकेको छैन, भने, एउटा सामान्य गाउँले टिठो भर्खर राजधानी आउने बित्तिकै कसरी ‘आरआर क्याम्पस’मा भर्ना नभएर ‘आरआर कलेज’मा भर्ना हुन्छ ! यद्यपि पछिल्लो समयमा ‘जेभियर कलेज’, ‘ट्रिनिटी कलेज’ र यस्तैयस्तै कतिपय शिक्षालय चल्तीमा आएका छन्, तर यो चाहिँ श्री आरआर क्याम्पसमा पढ्न आएकोभन्दा अलि पछिको समय हो ।) !
त्यसपछि उपन्यासका धेरैजसो घटनाक्रम कतिपय नाटकीयताबीच श्रीका सानातिना सफलता, धेरै असफलता, स्वाभाविक अनिश्चितता, प्राकृतिक निराशा, अस्वाभाविक लाग्ने रहर, अन्त्यतिर उसको अनपेक्षित आर्थिक कायापलट आदि यावत् प्रसङ्गहरूसँगै यही राजधानी शहरमा घटित हुन्छन् । श्रीका आमाबुबा र दाइ –जो गाउँमा बस्छन्– बाहेक उपन्यासका अन्य पात्रहरूमा शहरिया घरबेटी बा र आमा अनि बिदेसिएको उनको छोरो प्रताप, एवं अन्य पात्रहरूमा क्रमशः आदि, सूर्यबहादुर, टोप, नील, समीरा, प्रकाश, पसलसाहु, मगन्ते भीमसेन आदि आदि छन् । मूलपात्र श्रीको कथाका साथै उपन्यासलाई यथाशक्य लामो बनाउने काम गरेका छन् नील–समीराको रेडियो वार्तालापका अतिरिक्त आदि, टोप, सूर्यबहादुर र घरबेटी बाआमाहरूको गरी पाँच ओटा सहायक कथाले, जुन लगभग सँगसँगै जस्तो अगाडि बढाइएका छन् । मगन्ते भीमसेनको प्रसङ्ग पनि मनग्गे छ ।
उपन्यासमा माओवादी सशस्त्र–द्वन्द्व र दरबार हत्याकाण्डको प्रसङ्ग किन आएको छ भन्ने कुरा पाठकले बुझ्दैनन् । अङ्ग्रेजीमा लद्दू विद्यार्थी भए पनि श्री चाहिँ अङ्ग्रेजी उपन्यास “द गुड अर्थ” बोकेर ठमेलको रेस्टुराँ कली क्याफे जानु र त्यहाँको वेटरले ग्राहकको नाम बिलको पछाडि लेख्नु वा श्री मैतीदेवी मन्दिरमा भोकभोकै भिखारीसँग सुत्नु र घरबेटीले देखेर उसलाई आफ्नो घर लैजानु, उसको भाषिक विशेषज्ञताबारे उपन्यासमा कतै केही चुइँक्क उल्लेख नभए पनि श्रीले भाषा सम्पादनको काम पाउनु, श्रीले हिँड्दा–हिँड्दै सडकमा पैसा पाउनु, कुनै अज्ञात व्यक्ति (चोर ?) ले उसको डेराको ढोकामा महँगा सुन्दर जुत्ता छाडेर जानु आदिआदि अनेक प्रसङ्ग छन् जुन अपत्यारिला वा नाटकीय छन् ।
गीत–सङ्गीतमा रुचि राख्ने श्रीले सडकमा खसेको केही हजार रुपैयाँ अचानक फेला पार्छ र दश ब्यान्डको कालो रङ्गको रेडियो किन्छ, लगभग उपन्यासको थालनीतिरै । उत्साहित हुँदै राति रेडियो बजाउन थाल्दा अचानक त्यसको कुनै एफएम स्टेशनले एक जोर युवक–युवतीको फोनवार्ता टिप्छ । (भर्खर एफएम स्टेशनहरूको बाढी आएको बेला काठमाडौंमा सस्ता चाइनिज रेडियोको बजार–सुनामी आएको थियो र ती रेडियोमा एफएम स्टेशनहरू लगाउँदा अज्ञात व्यक्तिहरूको फोनवार्ता सुन्न सकिन्थ्यो । नेपाली उपन्यास वा कथाहरूमा यस्तो प्रयोग कमै मात्र भएको छ) ।
फोनवार्तामा युवक प्रेमी नील र उसकी प्रेमिका समीराबीच नियमित अन्तरालमा अक्सर लामा–लामा संवाद भइरहन्छन् । खासगरी समीरामा किताब पढ्ने रुचि भएको र उसको अङ्ग्रेजी औ फ्रेन्च समेत बहुल भाषा–ज्ञान पनि उम्दा भएको उनीहरूको संवादबाट थाहा हुन्छ । प्रेमी–प्रेमिकाबीचको संवाद सुन्दा–सुन्दा श्री चाहिँ समीराप्रति आकर्षित र सम्मोहित हुँदै जान्छ ! समीराका कुरा सुनेर श्री पनि समीरा जस्तै अङ्ग्रेजी उपन्यास “द गुड अर्थ”को ‘फ्यान’ बन्छ र किताब पनि किन्छ । उपन्यासको मूल कथानक एक वा अर्को स्वरूपमा यिनै प्रसङ्गमा अगाडि बढेको हुन्छ ।
कथानक अगाडि बढ्दै जाँदा घरबेटीको छोरा प्रतापले विदेशी युवती विवाह गर्छ । आदि भन्ने पात्र मोटरसाइकल दुर्घटनाको शिकार हुन्छ । सूर्यबहादुर ट्याक्सी चालन छाडेर सपत्नी गाउँ फर्किन्छ । अर्को पात्र टोप जोगी बन्न पुग्छ । केवल श्री मात्र आफू बस्दै आएको भुइँतलाको अँध्यारो कोठा छाडेर माथिल्लो तलास्थित सानदार फ्ल्याटमा सर्छ ।
उपन्यासमा सबैभन्दा नसुहाउँदो प्रसङ्ग मूलपात्र श्रीले एफएम रेडियोमा समीराको कुरा सुनेर उसमा पलाएको अङ्ग्रेजी पुस्तक “द गुड अर्थ” प्रतिको प्रेम हो । खासमा यो उपन्यासकारको भावुक कल्पना मात्र हो किनभने वास्तविक जीवनमा यस्तो हुँदैन, भलै बेलाबखतमा एफएमहरूमा कुनै कुनै बेला त्यस्ता वार्तालापहरू सुनिने गर्थे । तर यहाँ औपन्यासिकता नै प्रदान गरिएको भए पनि सधैँ एउटै समयमा लामालामा संवाद भइरहनु र एफएममा सुनिनु अलि बढी नै ‘पोएटिक जस्टिस’ अनुभव हुन्छ ।
“एक्लो”मा त श्रीले राति रेडियो खोलेपछि उही समयमा समीरा र नीलबीचको कुराकानी उसले सुन्न पाउँछ ! त्यसमा पनि, अङ्ग्रेजीमा अत्यन्तै कमसल भएर पहिले एसएलसीमा र त्यसपछि आई.ए.मा फेल भइरहेको श्रीले समीराले भनेका अनेक अनेक अङ्ग्रेजी शब्द र वाक्यहरू सहजै सुन्छ र बुझ्छ पनि ! अझ फ्रेन्च शब्दहरू एकै पटक सुनेको भरमा उच्चारण फटाफट बुझ्छ । त्यति मात्र नभएर, आफूले कहिल्यै नपढेको र नसुनेको एनिस निन र हेनरी मिलर जस्ता अङ्ग्रेजी साहित्यिक नामहरूको उच्चारण पनि कति सहजै बुभ्mछ ! (अङ्ग्रेजीमा अति नै कमजोर, तीन वर्षदेखि लगातार त्यही विषयमा फेल हुँदै आएको युवकले एकपटक सुन्दैमा कसरी त्यति छिटो बुभ्mन र सम्झिन सक्छ ?) । अझ त्यतिले नपुगेर, समीराले उच्चारण गरिरहने, अङ्ग्रेजी उपन्यास “द गुड अर्थ” पढ्न पनि अङ्ग्रेजी–नेपाली शब्दकोश समेत किन्छ । सायद उपन्यासकारलाई राम्रो हेक्का भएन– अङ्ग्रेजीको आधारभूत ज्ञान हासिल नभईकन केवल शब्दकोश पल्टाएर र शब्दार्थ हेर्दैमा भाषा र भाव बुझिँदैन ! किनभने साहित्य शब्दहरू थुप्रो होइन ।
फेरि, विडम्बना के भने उपन्यासकारले उपन्यासमा सायद एक ठाउँ मात्र “द गुड अर्थ” लेख्ने पर्ल एस. बकको नामोल्लेख गरेका छन् तर अन्यत्र कतै पनि यो उपन्यासको कथानक, घटना वा पात्रहरूबारे केही उल्लेख गरेका छ्रैनन् । अनि यो उपन्यास समीराका लागि किन महत्त्वपूर्ण भयो ? समीरालाई महत्त्वपूर्ण लागेकै कारण यो उपन्यास श्रीलाई पनि महत्त्वपूर्ण लागेको हो त ? बुद्धिसागरले यो उपन्यासको प्रचार–प्रसार त राम्रैसँग गरेका छन् तर “द गुड अर्थ” किन पठनीय छ भन्ने बारे भने पाठकलाई बुढी औंला देखाएका छन् । त्यसकारण, शङ्का पलाउँछ– श्रीको स्वरूपमा कतै यो उपन्यासकारको आफ्नै अव्यक्त कुण्ठा नै त होइन ?
मूल पात्र श्री कुनै स्वप्नजीवी व्यक्ति होइन । उसको कुनै सपना छैन । यो वा त्यो बन्छु भन्ने कुनै महत्वाकांक्षा छैन । कुनै विशेष जपना पनि छैन । काठमाडौँको डेरामा एक्लो बसे पनि ऊ खासमा एक्लो छैन । उसलाई माया–स्नेह गर्ने आफ्नै परिवार गाउँमा छ । गाउँबाटै उसका लागि भनेर नियमित मासिक खर्च पठाइरहने मायालु पिता छन् । पिता मात्र होइन, ऊ गाउँ जाँदा एक अर्काबाट लुकाएर उसलाई हजारौं रुपैयाँ दिने आमा र दाइ छन् ।
त्यसमा पनि ऊ एकान्तप्रेमी वा एकान्तजीवी मानिस भनेर उपन्यासमा कतै देखाइएको छैन । अनि ऊ कसरी एक्लो भयो ? कसरी एक्लो हुन सक्छ ? आदि, सूर्यबहादुर, टोप आदि सबै साथी सरह नै छन् । घरभेटी बा र आमाले पनि उसलाई एक्लो हुन दिएका छैनन् । त्यसमा पनि ऊ यी तमाम पात्रहरूलाई एक वा अर्को रूपमा एकापसमा जोड्न सेतुका रूपमा पनि रहेको देखिन्छ । त्यसै गरी क्याम्पस पढ्न थालेपछि बिस्तारै साथीहरू बन्ने क्रम त शुरू भइसकेकै हुन्छ र साथीहरू बन्दै जान थाल्दछन् । क्याम्पसमा श्रीका किन कोही साथी बनेनन् ? वा, स्वयं उसले नै पनि किन कुनै साथी बनाएन ? (किनभने उपन्यासकारले त्यस्तो देखाएनन्, यो पूर्णतः अस्वाभाविक हो ।)
उपन्यासले शहरको एक्लोपनको कथेसो पनि बोल्दैन । आखिर शहर होस् वा गाउँ, मानिस समूहमा बस्दैनन्, आ–आफ्नो एकल वा सगोल घरपरिवारमा बसेका हुन्छन् । हो, बस्ती चाहिँ सामूहिक हुन्छ । एक्लो हुनका लागि त कसैको सङ्गत नरुचाउने वा नचाहने वा आफैँमा रमाउने हुनुपर्दछ । तर “एक्लो” उपन्यासले पात्रहरू एक्लो हुँदाको न्यास्रोपन, निराशा, कुण्ठा, अवसाद, व्यथा, व्यग्रता आदि पनि भनेको छैन । भीडमा मानिस कसरी एक्लो हुन्छ भनेर पनि केही बोलेको छैन । क्याम्पसको क्यानटिनमा मालपुवा, चना र चिया खाने मूल पात्र श्री रुपैयाँ–पैसा भए मोज गर्ने, नयाँ कपडा र जुत्ता किन्ने, लगातार तीन शो सिनेमा हेर्ने, घरबाहिर खाने, आफूलाई लागेका रहर पूरा गर्ने तर पैसा नहुँदा बरु मन्दिर पुगेर मगन्तेको सङ्गतमा मगन्ते जस्तै बनेर भोकभोकै सुत्ने स्वभावको छ । यसले उसको खोक्रो स्वाभिमान त देखाउँछ तर करुणा उत्पन्न गराउँदैन । पैसा नहुँदा घरमा खबर गर्न सकिन्छ, श्रीले त्यसो पनि गर्दैन । त्यसकारण उसले पाएका दुःख र हन्डर त केवल “दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले” मात्रै हो भन्ने अनुभूति हुन्छ ।
योसँगै उपन्यासका अन्य तमाम पात्रहरूले आआफ्ना कथा र भोगाइहरू उही श्रीलाई भन्ने–सुनाउने गर्छन् । खासमा कोही पनि एक्लो छैन, सबैको आआफ्नो संसार छ– बोल्न मन लाग्दा संवाद गर्न मिल्ने परिचितहरू पनि छन् । यी सन्दर्भहरू नियालेर हेर्दा उपन्यासको शीर्षक “एक्लो” कसरी सार्थक हुन सकेको होला ?
श्री भन्ने पात्र लहडी, ढोँगी र आडम्बरी छ । पैसा हुने बित्तिकै सुकिलो–मुकिलो देखिन खोज्ने र आई.ए. मा फेल भएर पनि परिवार र अन्यलाई समेत आफूले त्यो तह पास गरेको र बी.ए. पढिरहेको छु भनेर ढाँट कुरा गरिरहने उसको स्वभावले यही बताउँछ । त्यसो त शहरमा बस्न ढाँटिरहनु पर्दैन, र ऊ शहरमा हराएको पनि छैन, यद्यपि अरूभन्दा अलग देखिन र तमाम परिचितहरूभन्दा बढी पढाकू औ ‘ट्यालेन्टेड’ देखिन उसले त्यसो गरेको बुझिन्छ ।
उपन्यासकारले श्रीमा पाठ्यक्रमभन्दा बाहिर साहित्यिक किताबहरू अध्ययन गर्ने स्वभाव कतै देखाएका छैनन्, ऊ कक्षामा अब्बल विद्यार्थी पनि होइन र आई.ए. मा फेल भइरहेको छ । यस्तोमा उसले “कथाहरू बोकेर हिँडेको मानिस कहिल्यै एक्लो हुँदैन”, “संसारको सबैभन्दा थकान र त्रासले भरिएको कर्म हो, अरूको गोप्य कुरा बोकेर हिँड्नु”, “उसलाई जेब्राक्रसमै अचानक अल्जाइमर भए जस्तो भएको थियो” आदि जस्ता अनेक सुन्दर एवं परिपक्व वाक्यहरू कसरी भन्न सक्छ ? स्वयं श्री मात्र होइन, उपन्यासका पसलेसमेत अन्य सामान्य पात्रले पनि कतिपय समयमा यस्तै अपत्यारिला भाषा प्रयोग गर्छन् । पात्र अति सामान्य तर भाषा अति असामान्य ! स्पष्ट बुझ्न सकिन्छ, ती पात्रहरूको मुखबाट स्वयं उपन्यासकार बुद्धिसागरले आफ्नो पासा चलेका छन् ।
यसका अतिरिक्त शाब्दिक पुनरावृत्ति र भाषिक अशुद्धिको पनि भरमार छ उपन्यासभरी । भाषाप्रेमी पाठकलाई यसले बारम्बार ठेस लगाइरहन्छ ।
जेहोस्, यी तमाम कमी कमजोरी र अनेक नाटकीयताबीच पनि “एक्लो” एक पटक पढ्न लायक भने छ । आखिर यसमा बुद्धिसागरको वर्षौंको परिश्रम पनि त छ । मलाई राम्रो हेक्का भएन, सायद “कर्नाली ब्लुज” निस्केपछि हो वा “फिरफिरे”, उनले कुनै अनलाइन पोर्टललाई दिएको अन्तर्वार्तामा आफूले “नयाँ किताब लेख्नुअगि अरू (थोरै स्वदेशी र र धेरै विदेशी) लेखकहरूले लेखेका एक सय ओटा किताब पढ्ने” कुरा भनेका थिए । थाहा भएन, “एक्लो” लेख्नुअगि उनले के कति ओटा ती किताब पढे ।
उसै पनि बुद्धिसागरमा केही त विशेष छ जसले उनलाई अन्य लेखकहरूभन्दा केही खास बनाउँछ, केही अलग देखाउँछ र केही पृथक् पनि । सुदूर जिल्ला कैलालीमा जन्मेर कालीकोटको सदरमुकाम मान्ममा किशोरावस्था बिताएका उनी वि.सं.२०६० सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएर स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसपछि उनले २०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार पनि पाए । अझ २०७६ साल (सन् २०१९) मा ‘इन्टरनेशनल राइटिङ प्रोग्राम’को मानार्थ फेलो भएर केही महिना अमेरिकामा बिताउँदै लेखनकला र लेखनशैलीका अनेक बान्की सिक्ने र जान्ने अवसर पनि पाए । स्वाभाविक छ, सानोतिनो प्रतिभा र यस्तोउस्तो व्यक्तित्वले यो उचाइ प्राप्त हुन सक्दैन ।
सायद कवि भएर पनि होला, बुद्धिसागर गद्य भाषा खेलाउन पनि उत्तिकै माहिर छन् । लेखनमा उनी साहित्यका ठूलाठूला जार्गन प्रयोग गर्दैनन्, बोझिला शब्दको झरी लगाउँदैनन्, बरु सामान्य र सबैले बुझ्ने शब्द–शब्दावली नै प्रयोग गर्छन् । त्यसकारण उनको उपन्यासको भाषाले शुरुदेखि नै पाठकलाई आकर्षित गर्छ र एक किसिमले बाँधेर राख्छ । कम्तीमा भाषाकै कारणले गर्दा पनि पाठकले उदेकिएर किताब थन्क्याउनेतिर सोच्न सक्दैन । यसो भए तापनि, कृतिको प्लट वा कथावस्तु, प्रस्तुतीकरण, पात्र–प्रवृत्ति एवं तिनले गर्ने संवाद, त्यसले उठाएका वा उठाउन खोजिएका विषय आदि अनेक तत्त्वले उपन्यासको स्तरीयता र पठनीयता निर्धारण गर्दछन् ।
जेहोस्, शङ्का छैन, धेरै वर्ष पहिले निस्केको र रातारात उनलाई सेलेब्रिटी बनाएको उपन्यास “कर्नाली ब्लुज”ले गर्दा बुद्धिसागरको लेखनप्रति पाठकको अपेक्षा चुलिएको हो । यसले गर्दा उनलाई यो पाठकीय अपेक्षा पूरा गर्नुपर्ने मौन चुनौतीले छाया जस्तै पछ्याइरहेको हो, पछ्याइ पनि रहन्छ । आगामी दिनहरूमा यस तथ्यलाई मनन गरी उनले अलि गम्भीर हुँदै गहकिला पनि र पृथक् विशेषतायुक्त पनि आख्यान लेख्नेतिर आफूलाई डोर्याउनुपर्ने भएको छ । पाठकको यो अपेक्षा, यो आशा, यो आत्मीयता र यो चुनौतीलाई के कसरी स्वीकार गर्ने भन्ने कुरा स्वयं बुद्धिसागरमै निर्भर छ ।
आशा गरौं, “उसले दिएको उमेर” बुद्धिसागर र भविष्यमा आउन सक्ने उनको (चौथो) उपन्यासलाई लागोस् । शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।