नेपाली कथामा गुरुप्रसाद मैनालीले सामाजिक यथार्थ र आदर्शको उद्घाटन तथा मार्गदर्शन गरेपछि कथाको संरचना, शैली र स्वरूप परिवर्तन भएको इतिहास हामीसित सुरक्षित छ । आधुनिक कथालेखनको यस जगमा उभिएर धेरै कथाकारले इमानदार प्रयत्न गरेको वस्तुसत्यलाई नजरअन्दाज गर्न मिल्दैन । त्यहाँदेखि यहाँसम्म भइरहेका प्रयत्नमा डी.आर.को ‘खोक्पा’ पनि थपिएको छ ।

११ थान कथा संग्रहित उनको कथाकृति पढ्दा नेपाली समाजको वस्तुयथार्थको चित्रण उनको रुचिक्षेत्र भएको थाहा लाग्दछ । कथाहरूको अन्त्यमा आदर्शको स्थापना गरी गुरुप्रसाद मैनालीको आदर्शोन्मुख यथार्थवादी रीतिक्षेत्रलाई कथाकारले भुलेका छैनन् । उनले वर्तमान नेपाली समाजका अनेक विकृतिसित लड्ने हतियारका रूपमा कथालाई प्रयोग गरेका छन् ।

डी.आर.का कथामा मूलतः प्रकृति, पहिचान र प्रतिरोध प्रकट भएको पाइन्छ । आफूले बाल्यकाल बिताएको धरातलमा देखिएको पर्यावरणीय प्रदूषण, जलवायु परिवर्तनले ती क्षेत्रमा पारेको असर, आर्थराजनीतिक कुसङ्केतन सिर्जित प्राकृतिक विपत्ति, विकासका नाममा भएको प्रकृतिविनाश जस्ता विषय प्रस्तुत गरी कथाको फाँट विस्तार गरिएको छ । यी कथामा प्राकृतिक सङ्कटका कारण कृषिक्षेत्रले बेहोर्नु परेको क्षतिको लेखाजोखा गरिएको छ । वैदेशिक रोजगारीको संस्कृतिका कारण सिर्जित विकृति र त्यसका पृष्ठाधारमा निर्मित पारिवारिक विखण्डनको स्थिति विश्लेषण गरी नेपाली समाजको समीक्षा गरिएको छ ।

हाम्रो समाजको लाहुरे संस्कृतिलाई विकास तथा निर्माणका कोणबाट समेत चिन्न ढिलो गर्न नहुने आग्रह गरिएको छ । लाहुरेहरूलाई देशभित्र लगानीको उचित वातावरण तयार गरिदिन सके विकासका लागि कसैसित हात फैलाउनु नपर्ने सन्देशका साथ विकासमा युवावर्गको अपरिहार्य सहभागिताको सन्देश अघि सारिएको छ ।

डी.आर.का कथामा प्रकृति र मानिसका बीचको अन्तर्सम्बन्धका पृष्ठाधारमा प्रकृतिको महिमागान गाइएको छ । बूढो रूख कथामार्फत वनस्पतिसित जोडिएको मानव जातिको युगौं पुरानो सम्बन्ध केलाइएको छ । घरपालुवा प्राणीसित कायम भएको मानिसको सम्बन्धको विषय उठान गरी प्रकृति र मानिसका बीचको सम्बन्धको पृष्ठभूमि, यथार्थ, आवश्यकता र परिणामको समीक्षा गरिएको छ । जातीय संस्कृति, भाषा, लबज, पहिरन, परिकारजस्ता पक्षको उद्घाटन गरी पहिचानको सन्दर्भमाथि प्रकाश पारिएको छ । पर्यावरण प्रदूषण, रुखबिरुवा संरक्षण, सामाजिक विकृतिविरुद्धको आदर्श, अप्राकृतिक व्यवहार सिर्जित दुर्दशा, विघठित सामाजिक मूल्यमान्यता, कृत्रिमताले भिœयाएको विकृतिजस्ता विषयगत पक्षमा प्रतिरोधी आवाज अभिव्यञ्जित भएको पाइन्छ । वर्गीय, जातीय तथा लैङ्गिक प्रतिरोध भने साङ्केतिक रूपमा मात्र अभिव्यक्त भएको देखिन्छ ।

कथामार्फत ग्रामीण इलाकामा विकासका नाममा भित्रिएको आधुनिकता र त्यसका कारण सिर्जित प्रकृतिविनाशको अवस्थालाई प्रष्ट पारिएको छ । बूढो रुख कथामा सपना पालेर राजधानीको जीवन पछ्याइरहेको दीपेन्द्र आफ्नो जन्मभूमि पुगेको छ । उसले उजाडिँदै गएको प्रकृति अवलोकन गर्ने अवसर प्राप्त गरेको छ । उसले फुर्के तथा छिर्केजस्ता प्राणघातक रोगको सिकार भई अस्तित्व सङ्कटमा परेको अलैँचीखेतीको अवस्था अध्ययन गरेको छ ।

यस्तो दृश्य अवलोकन गर्न बाध्य भएपछि दीपेन्द्र भन्छ – “खोल्साखोल्सी र सेपिलो ठाउँका अलैंची बगानहरू खै त ? पाँच वर्षअघि फुर्के रोग लाग्दै थियो, अहिले त सिनिक्कै पारेछ रोगले” (पृ.९) ।

दीपेन्द्रको अभिव्यक्तिमा जलवायु परिवर्तनको असर प्रकटित छ । प्रस्तुत कथांशमा एकातिर पर्यावरणीय चेतनाको विषय प्रकटित छ भने अर्कातिर साहित्य मार्फत हाम्रो कृषिको समीक्षा गरिएको छ । दीपेन्द्र पात्रको यस अभिव्यक्तिमा नेपाली साहित्यमा फस्टाउन नसकेको कृषिलेखनतर्फ प्रवृत्त हुनका लागि स्रष्टाहरूलाई साङ्केतिक दबाब सिर्जना गरेको छ । कथामा दीपेन्द्रले हरियाली विनाशको कारण पनि प्रस्ट पारेको छ ।

दीपेन्द्र भन्छ – “वारिपारि देखिने जङ्गलका त्यत्रा रुखहरू काटेर सखाप ! चौतारीको एक साइडमा रूखका मुडाहरू डङ्गुर थुपारिएका । उतै काठमाडौं हुँदा सुनेको थिएँ, गाउँमा गोलियाको व्यापार खुब चलेको छ भनेर । तर हरियो वन मासेर स्वाहा” (पृ.१०) । दीपेन्द्रका माध्यमबाट पर्यावरण प्रदूषणमा पूँजीवादी अर्थसंस्कृतिले खेलेको भूमिकाको मूल्याङ्कन गरिएको छ । उद्धृत दृष्टान्तमा पर्यावरण विनाशको कारणका रूपमा आर्थिक कुसङ्केतनको अवस्था पनि प्रतिबिम्बित भएको पाइन्छ ।

मानिसले आफ्ना कार्यमा सहयोग होओस् भन्ने अभिप्रायले आवश्यकतालाई मध्यनजर गर्दै जङ्गलबाट प्राणीहरूलाई के, कसरी र कहिले घरमा ल्यायो भन्ने विषय अनुसन्धान र बहसको अलग पाटो हो । गाई, भैँसी, घोडा, भेडा, बाख्रा, कुकुर, बिरालोजस्ता थुप्रै पशु तथा हाँस, कुखुरा, परेवाजस्ता पक्षीसित मानिसको सम्बन्ध युगौं पहिले कायम भएको अनुमान गर्न सकिन्छ । यस्ता प्राणीलाई मानिसले आफ्नो स्वार्थसिद्धिका निम्ति अधिक प्रयोग गरेको देखिन्छ । प्रस्तुत कथाकृतिमा ‘लङ्गडो साथी’ शीर्षकको कथामार्फत घोडासँग जोडिएको मानिसको युगौं पुरानो सम्बन्ध केलाइएको छ । नेपाली समाजमा घोडा खेपेर जीविकोपार्जन गर्ने श्रमिक वर्गको यथार्थ यस कथामा उद्घाटन गरिएको छ । कथामा पूर्वी पहाडी इलाकाका घोडावालको कथा प्रस्तुत गरी श्रमिक वर्गको जीविकोपार्जनसित जोडिएको घोडाको श्रमको विषयलाई प्रष्ट पारिएको छ ।

नेपाली साहित्यमा पौराणिक तथा लोकसाहित्यको अधिक प्रभाव देखिन्छ । आधुनिक साहित्य तिनै साहित्यका जगमा उभिएको मानिन्छ । यसरी हेर्दा पौराणिक आख्यानको श्यामकर्ण घोडा तथा लोकआख्यानको वायुपङ्खी घोडा नै हामीले हाम्रो साहित्यमा प्राप्त गरेका प्रारम्भिक घोडाहरू हुन् । आधुनिक नेपाली साहित्यमा कर्नेलको घोडा, लट्टू मियाँको घोडी, उर्गेनको घोडा, अश्वमेध यज्ञका घोडाहरू, बुधनको घोडी आदि शीर्षकका कृति-रचना सार्वजनिक भएका छन् । हाम्रा कथाभित्र शासक र शासितका घोडाहरू थुप्रै अटाएका छन् । यस्ता घोडाहरू शासक वर्गको प्रभुत्व विस्तारको माध्यम तथा श्रमजीवीवर्गको श्रमसारथिका रूपमा चित्रित छन् ।

‘लङ्गडो साथी’मा श्रमजीवीवर्गलाई साथ दिने घोडाको विषय टिपिएको छ । टीके र साथी नामका घोडाले कर्णको वर्गीय लडाइँमा साथ दिएका छन् । घाइते भएको साथीले प्रतिकूल परिस्थितिमा पनि कर्णको भातको सपनालाई पूर्णता दिएको छ ।

कथाकार भन्छन् – “एक खुट्टाको पूरा भर नभए पनि साथीले कर्णको परिवारको अभाव र जिम्मेवारीलाई पूरा गर्दै गयो । खुट्टा खोच्याउँदै भए पनि उसले आफ्नो धर्म छोडेन । केही वर्षहरू भारी बोकेरै निभायो । साथीको कमाइका कारण छोराछोरीहरू हुर्के, बढे र पढे । खरको छानालाई च्यादरले विस्थापित गर्यो ।” (पृ.१४७) ।

उद्धृत कथांशमा प्राणी र मानिसका बिचको सम्बन्ध चित्रित छ । प्रस्तुत कथाको सन्देश यस कथाकृतिको पहिलो कथा बूढो रुखसित जोडिएको छ । बूढो रुख कथामा वनस्पतिसित जोडिएको मानिसको सम्बन्ध उद्घाटित छ । यसबाट वनस्पतिको अपरिहार्यताको विषय प्रस्टिएको छ । यस संग्रहको अन्तिम कथा लङ्गडो साथीमा मानवीय अस्तित्वरक्षाका निम्ति अद्वितीय योगदान दिने प्राणीको विषय प्रस्तुत छ । यी दुवै कथामा ध्वनित वैचारिकता र सन्देशलाई नियाल्दा प्रथम कथा अन्तिम कथामा पुगी पूर्ण भएको छ । ‘मानवीय अस्तित्वरक्षामा प्रकृतिले खेलेको भूमिका’ नै यी दुवै कथाको मुख्य भावभूमि हो । यसमा पर्यावरणीय चेतनाको ध्वनि गुञ्जिएको पाइन्छ ।

नेपाली समाजको वास्तविकता चित्रण गरी समाज सुधारको आदर्श स्थापना गर्न सबल देखिएका डी.आर.का कथाका जरा सतहमा सघन देखिए पनि गहिराइमा पुग्न भने सकेका छैनन् । उनका कथामा सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, पर्यावरणीय आदि कुसङ्केतनलाई यथेष्ट स्थान दिइए पनि उत्पन्न असरको वैचारिक समीक्षा हुन बाँकी नै छ । पर्यावरणीय विषयलाई प्रस्फुटन गरे पनि समाधान हुन सकेको छैन । श्रमजीवी वर्गको श्रमसारथिका रूपमा चित्रित घोडाको कथामा राज्यकोषबाट पालित–पोषित घोडा र त्यसका माध्यमबाट विकसित प्रभुत्वको सङ्कथनमा कथाकार पुगेका छैनन् । जहाँ कथाकार पात्रलाई स्वतन्त्र छोडी पात्रका पछि हिँडेका छन्, त्यहाँ कथाको संरचनागत अस्तित्व सबल बन्न पुगेको छ । बूढो रूख कथालाई यसको दृष्टान्त मान्न सकिन्छ ।

अन्य कथाका पात्रहरू कथाकारको नियन्त्रणमा गुज्रिएका छन् । आदर्श स्थापना गर्ने नाममा कथाको नाटकीय अन्त्यले कथाको मौलिकतालाई बिथोलेको देखिन्छ । कथाहरू विवरणात्मक र व्याख्यात्मक भइदिंदा बोझिला बन्न पुगेका छन् । कथा साहित्यिक विधा भएकाले साहित्यिक सौन्दर्ययुक्त भाषाको स्वभाविक अपेक्षा गरिन्छ । समकालीन कथालेखन पत्रकारिताको भाषाबाट अत्यधिक प्रभावित छ ।

यस संग्रहका कथाहरू पनि त्यस प्रभावबाट मुक्त हुन सकेका छैनन् । तथापि माटोको सुगन्ध प्रकट भएका यी कथामा जनजातीय लबजको सुन्दर भाषिक अनुगुञ्जन पाइन्छ । यस्तो मौलिकतालाई जगेर्ना गर्दै कथामा वैचारिक सामथ्र्यको जरालाई सतहबाट गहिराइतर्फ पठाउनु जरुरी छ । कथाको कसिलो अस्तित्व विकास गर्न बनोट र बुनोटमा पर्याप्त सचेतनाको आवश्यकता पर्छ । विचारको मजबुतीका जगमा कथायात्रा अघि बढ्ने सङ्केत गरेको छ ।